समावेशी सुन्दरी
छालाको रङकै कारण अमेरिकाको ‘रनवे शो’ मा पटकपटक अस्वीकार गरिएकी वर्षा थापा अहिले विविधताकी प्रतिनिधि बनेकी छिन् ।
मिस नेपाल प्रतियोगिताको छनोट चरणमा एक सहभागीको ‘मेकअप’ बारे निर्णायकमध्येकी रचना गुरुङ शर्माले गरेको टिप्पणी गत साता सामाजिक सञ्जालमा चर्चित भयो । ‘मेकअप’ गर्न खासै नआउने ती सहभागीको जवाफप्रति आपत्ति जनाउँदै शर्मा ‘एक्काइसौं शताब्दीमा विना मेकअप मिस नेपाल प्रतियोगिताको अडिसनमा आउनु प्रतियोगिताकै अनादर भएको’ बताउँछिन् ।
यो भिडियो सार्वजनिक भएसँगै एक्काइसौं शताब्दी, सुन्दरी प्रतियोगिता र शृंगारको आवश्यकता बारे चर्चा भयो । अधिकांशले निर्णायक शर्माको टिप्पणीप्रति रोष प्रकट गरे ।
तीन वर्षअघिसम्म वर्षा थापाले पनि यस्ता थुप्रै विभेदको सामना गरेकी थिइन् । त्यो पनि अमेरिकामा । “छालाको रङकै कारण मलाई धेरैले हुन्न भने, अस्वीकार गरिएँ, तय भइसकेका शो पनि स्थगित गरिए”, एक अन्तर्वार्तामा वर्षाले भनेकी छिन् ।
वर्षा नेपालकी पहिलो अन्तर्राष्ट्रिय मोडल हुन् । न्यू योर्क फेसन वीक, पेरिस फेसन वीक जस्ता प्रतिष्ठित फेसन शोहरूमा ‘क्याट्वाक्’ गरिसकेकी, फेसन म्यागेजिन भोग को कभर गर्ल बनिसकेकी वर्षाको पछिल्लो उपलब्धि हो– अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादन कम्पनी नाइकीसँगको आबद्धता ।
यसै वर्षको जनवरीमा वर्षा ‘नाइकी वुमन क्याम्पेन’ की सदस्य बनेकी छिन् । यो अभियानमा आधारित ‘वी फ्लाई’ शीर्षकको २४ सेकेण्डको भिडियो युट्यूबमा देख्न सकिन्छ, जहाँ उनी नाइकीको एअरजुम पेगासस (३५) जुत्ता लगाएर मरुभूमिमा दौडिरहेकी छिन् । यसअघि उनले लाइकी टोकियो हाइपरफोलाका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।
काठमाडौं, ज्ञानेश्वरमा जन्मेर भारतको देहरादुनबाट कक्षा १० र मुम्बईबाट होटल व्यवस्थापनमा स्नातक गरेकी वर्षा त्यतिबेलै प्रष्ट थिइन्, अमेरिका गएर मोडलिङलाई पेशा बनाउने र संगीतको रुचि पूरा गर्ने । मुम्बईबाटै पठाएका तस्वीर हेरेर न्यू योर्क सिटीस्थित विल्हेल्मिना मोडल्स ले उनलाई निम्तो दिएको थियो । एकतर्फी टिकट, एक हजार डलर र सपनाको खात बोकेर उनी सन् २०११ मा न्यूयोर्क लागिन् ।
न्यू योर्कमा शुरूआती दिनहरूमा उनले नसोचेको दुःख भोग्नुपर्यो । विल्हेल्मिनाले खर्चवापत दिने साताको १०० डलर छेउटुप्पो लाग्दैनथ्यो । वर्षा प्रत्येक दिन नयाँ कम्पनी र एजेन्सीहरूमा कामका लागि आवेदन दिन्थिन् । तर, धेरैले इमेलको जवाफसम्म दिंदैनथे ।
खर्चिलो शहरमा विना काम भौंतारिनुपर्दा उनमा पटकपटक घर फर्कने सोच नपलाएको होइन । तर, संघर्षसँगै सहने शक्ति बढ्दै गयोे । उनी भन्छिन्, “सबैले अस्वीकार गरेका बेला म निराश नभएकी होइन, तर एक दिन मेरो समय आउनेछ भन्ने विश्वासमा प्रयास गरिरहें ।”
ती अप्ठ्यारा दिनहरूमा उनलाई नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले साथ दिएका थिए, तर त्यो मात्र पर्याप्त थिएन । त्यतिबेला न्यू योर्कमा पूर्वी एशियाली अनुहारका मोडल असाध्यै कम थिए । कारण– काम दिनेहरूका लागि गोरो छालाको रङ नै सौन्दर्यको मापदण्ड थियो ।
अक्टोबर, २०१६ ले वर्षाका लागि नसोचेको खुशी लिएर आयो । भोग इण्डिया म्यागेजिनले आफ्नो नवौं वार्षिकोत्सवमा ‘सेलिब्रेटिङ ब्यूटी इन डाइभर्सिटी’ विशेषांक निकाल्यो । जसको आवरणमा छानिएका ६ मोडलमध्ये वर्षा एक थिइन् । भारतको मोडलिङ उद्योगले उनलाई हार्दिकतापूर्वक स्वीकार गरेसँगै बन्द ढोकाहरू एकाएक खुल्न थाले ।
२०१८ सेप्टेम्बरमा भोग वल्र्ड म्यागेजिनले यिनै नेपाली युवती वर्षाको डोरी बाटेको चुल्ठो न्यू योर्क शहरका गल्लीमा फेसन बनिरहेको भन्दै ‘फिचर’ लेख्यो । एल, हार्पर बजार जस्ता पत्रिकाले उनीबारे चासो राख्दै स्टोरीहरू प्रकाशित गरे । फेसनका थुप्रै चर्चित ब्राण्ड, कम्पनीहरू वर्षासँग काम गर्न इच्छुक देखिए । वर्षाको व्यस्तता चुलियो ।
वर्षालाई लाग्यो– बल्ल विश्व ब्युँझियाे, बल्ल मोडलिङले आफूभित्रैको अर्को रङलाई देख्यो र विविधता स्वीकार्यो । तर, विश्व ब्युँझिएको के थियो, अमेरिकामा डोनल्ड ट्रम्प उदाए । आप्रवासीप्रतिको घृणा बढ्न थाल्यो । के विश्व फेरि निदाउँदैछ ? “छैन, फेसन उद्योग त अग्रगामी छ” वर्षा भन्छिन्, “त्यसैले मोडलिङ क्षेत्र पहिले भन्दा बढी समावेशी हुन थालेको छ, फरक अनुहारलाई स्वागत गर्न थालिएको छ ।”
मोडलिङको सफलतासँगै वर्षाले सांगीतिक यात्रालाई पनि अघि बढाएकी छिन् । ‘सीता भर्जिन’ उनको ब्याण्डको नाम हो । गएको वर्ष नै उनले आफ्नो ‘लाइभ’ प्रस्तुति पनि दिइन् ।
संक्रमणकालमा वर्षालाई संयमले सफलता दिलायो । तर, नेपालमा रहेकी उनकी आमा रमिला भने छोरीको संघर्ष र अन्तरद्वन्द्व बारे बेखबर थिइन् । गएको वर्ष तीन महीना छोरीसँगै अमेरिकामा बस्दा छोरीका शुरूआती संघर्षबारे थाहा पाएकी रमिला भन्छिन्, “अचम्म लाग्यो, यसअघि उसले मसँग दुःखका कुरा गरेकै थिइनँ ।”
सानो बजार र सीमित आकार भए पनि नेपालमा पनि फेसन, मोडलिङप्रति सचेतना बढ्दो छ । वर्षाको सफलताले पछिल्लो पुस्तालाई प्रेरणा दिएको छ । “तर, तपाईंसँग एउटा भोक हुनुपर्छ, आफ्नो सपना पछ्याउने भोक” उनी भन्छिन्, “दुःख हुन्छ, अत्यास लाग्छ तर, सपना पछ्याउन छोड्नु हुन्न ।”
पढ्नुहाेस्: