‘परनिर्भरताले दास बनाउँछ’
सुत्केरी अवस्थामा श्रीमान्ले बेवास्ता गर्दा कैयौं रात भोकै गुजारेपछि ड्राइभिङ सिकेर टेम्पो चालक हुँदै सवारी प्रशिक्षक बनेकी मीना चन्द ठकुरी भन्छिन्, “परनिर्भरताले दास बनाउँछ ।”
गैह्रीधारा, काठमाडौंमा रहेको ड्राइभिङ प्रशिक्षण केन्द्रमा मीना चन्द ठकुरी (३४) ले स्टेयरिङ समाउन सिकाइरहँदा धेरै महिला उनको हिम्मत र पौरखदेखि लोभिन्छन् । तर, अहिलेको सफलता हासिल गर्न उनले पार गरेको कहालीलाग्दो विगत जोकसैले कल्पना गर्न सक्दैनन् ।
दुर्गम गाउँबाट काठमाडौं आएपछि होटलमा गरेको कठिन बालश्रम, कलिलै उमेरमा विवाह भएर आमा बन्नासाथै श्रीमान्बाट खेप्नुपरेको हेलाँहोचोदेखि आफ्नै बलबुताले आत्मनिर्भर बन्दासम्मको सफर जति मर्मभेदी छ, उत्तिकै प्रेरणादायी पनि ।
गुल्मीको साविक जुभुङ गाविस–१ बाट १२ वर्षको उमेरमा मीना काठमाडौं आएकी थिइन् । रोजगारीका लागि भारत गएका बाबु दुर्गाबहादुर थापा सम्पर्कविहीन बनेको, क्यान्सर लागेकी आमाको स्वास्थ्य बिग्रिंदै गएको अवस्थामा माओवादी विद्रोहीले उनलाई युद्धमा हिंड्न दबाब दिन थालेपछि दाजु होमबहादुरले काठमाडौं ल्याएर मावली नातेदारको जिम्मा लगाएका थिए । गाउँमा ७ कक्षामा पढ्दै गरेकी मीनाको अध्ययनले त्यसपछि बिट मार्यो, उनको संघर्षको परीक्षा शुरू भयो ।
उनले धोबीखोला किनारमा रहेको सानीआमाको होटलमा काम गर्न थालिन् । बिहान ४ बजेदेखि राति ११ बजेसम्म खट्नुपथ्र्यो । त्यसै क्रममा १५ वर्षको उमेरमा सवारीचालक हरि चन्द ठकुरीसँग उनको विवाह भयो । त्यसपछिको कठिनाइले नै उनीभित्र स्वावलम्बी बन्ने आत्मबल भरेको हो ।
विवाह भएको डेढ वर्षपछि १८ कात्तिक २०५८ मा उनले जेठो छोरो पुजललाई जन्माइन् । काममा निस्किएका श्रीमान् हप्ता दिनसम्म कोठामा फर्कंदैनथे । “श्रीमान्ले घरमा कमाइ नल्याउँदा कैयौं रात भोकै सुत्नुपथ्र्यो”, उनी कष्टकर ती दिन सम्झन्छिन् । जेनतेन जीवन चल्दै गयो । १७ असार २०६३ मा उनले दोस्रो सन्तान जन्माइन् । घरखर्च जुटाउन सुत्केरी अवस्थामा पनि उनी अर्काको घरमा भाँडा माझ्न, भुईं पुछ्न् र लुगा धुन जान्थिन् ।
श्रीमान्ले घरखर्चमा भरथेग नगरेपछि मीनाले सुत्केरी अवस्थामै २०६३ असोजमा ड्राइभिङ सिक्ने सोच बनाइन् । तीन महीने शिशु र पाँच वर्षे छोरालाई कोठामा छाडेर तीन महीनासम्म दैनिक चार घण्टा ड्राइभिङ सिकिन् । त्यसपछि आफन्तबाट साढे २ लाख र फाइनान्सबाट साढे ३ लाख रुपैयाँ ऋण लिएर एउटा पुरानो टेम्पो खरीद गरिन् । यो उनको आत्मनिर्भरतातर्फको पहिलो यात्रा थियो ।
दिनभर टेम्पो चलाउँदा मीनाले ६ महीने बच्चालाई दैनिक १०–१२ घण्टासम्म दूध ख्वाउन पाउन्नथिन् । टेम्पो किन्दा लिएको ऋणको दैनिक किस्ता रु.२५०० तिर्नुपर्ने पिरलो छँदै थियो । “दूध चुस्न नपाएर एकातिर कोठामा बच्चाको घाँटी सुक्थ्यो, अर्कातिर दूध चुहिएर मेरो कपडा भिजेको हुन्थ्यो” उनी भन्छिन्, “मलाई धर्तीमा आफूभन्दा दुःखी कोही छैन जस्तो लाग्थ्यो ।” महिलाले चलाएको टेम्पो रमिता मानेर हेर्नेदेखि शरीरमा टाँसिन र छुन खोज्ने यौन हिंसाको पनि उनले सामना गर्नुपर्यो ।
जसोतसो ६ महीनामा उनले टेम्पो किन्दाको ऋण चुक्ता गरिन् । फेरि रु.६ लाख ऋणमा अर्को टेम्पो किनेर एकजना ड्राइभर राखिन् । दुई वटा टेम्पोको कमाइले यसपालि ऋण तिर्न सजिलो भयो । २०६६ सालसम्ममा पाँच वटा टेम्पो जोडिसकेकी उनले अर्को वर्ष चार वटा टेम्पो बेचेर माइक्रोबस चलाइन् ।
आफू मात्र आत्मनिर्भर बनेर उनको चित्त बुझेन, महिलाहरूलाई टेम्पोको प्रशिक्षण दिन थालिन् । टेम्पो प्रशिक्षणबाट शुरू उनको आत्मनिर्भर बनाउने यात्रा अहिले कार प्रशिक्षणमा मोडिएको छ । वित्तीय र गैरसरकारी संस्थाका जागिरे, चिकित्सकदेखि सर्वसाधारण महिलासम्म उनका प्रशिक्षार्थी छन् ।
सवारी चालकको लागि रोजगारीको अवसर बढिरहँदा हालसम्म उनले ५१३ महिलालाई प्रशिक्षित गरिसकेकी छन् । द्वन्द्वले गाउँबाट विस्थापित भएका, घरमा हेलाँ व्यहोरेका महिला प्रशिक्षण लिन आए निःशुल्क सिकाउने गरेको उनी बताउँछिन् ।
सफलताको सूत्र हिम्मत र बाध्यता !
जीवनमा दुःखबाट निस्कन हिम्मत जुटाउनुपर्ने मीनाको तर्क छ । यो कुनै दार्शनिकको सापटी बोलीभन्दा पनि उनको आफ्नै भोगाइ हो । “हिम्मत भएको मान्छेमा जिन्दगीको बाध्यता पनि थपियो भने उपाय खोज्दा कुनै न कुनै बाटो फेला परिहाल्छ”, उनी भन्छिन् ।
उनले कमाइ गर्न थालेपछि कुनै बेला सुत्केरी श्रीमती र बच्चालाई कोठामा छाडेर कैयौं दिनसम्म बेखबर बन्ने श्रीमान्काे स्वभाव बदलिएको छ । हिजोको तीतो सम्झेर श्रीमान्लाई नराम्रो मान्नुको साटो उनी सकारात्मक व्याख्या गर्छिन् । भन्छिन्, “उहाँ त्यति कठोर भएकै कारण मैले दुःखले आत्मनिर्भर हुने सीप सिकें ।” कसैप्रतिको अति निर्भरताले मान्छेलाई दास बनाउने उनको मान्यता छ ।
आफूले सवारी साधन चलाउन सिकाएका महिलालाई संगठित गरेर मीनाले २०७१ सालमा नेपाल यातायात महिला चालक समूह खोलेकी छन् । उनको योजना छ, राष्ट्रिय प्रशिक्षण केन्द्र स्थापना गरेर हेभी मोटर ड्राइभिङमा महिला आकर्षण बढाउने ।
सडक सञ्जाल विस्तार भइरहँदा सवारी चालकलाई रोजगारीको अवसर बढेको देख्ने उनी ड्राइभिङ पेशालाई इज्जतसाथ हेर्न आग्रह गर्दै भन्छिन्, “दैनिक सयौंलाई गन्तव्यमा सकुशल पुर्याउने चालकलाई कसैले हेलाँ नगरोस् ।”
पढ्नुहाेस्: