बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु
प्रधानमन्त्री छँदा बीपी एक पटक मात्रै पशुपतिनाथ जानुभयो। मन्दिरको दक्षिणढोका सामुन्ने युवराज्ञी इन्द्र र बडामहारानी रत्नसहित महाराजाधिराज महेन्द्रको सानो आकारको ढलौटका प्रतिमाहरू उद्घाटनको अवसर थियो। उद्घाटनपछि बीपीले भन्नुभयो, “पशुपतिनाथसमक्ष हात जोडेर महाराजाधिराज राज भएको देख्ता ईश्वरका सामुन्ने सबै बराबर छन् भन्ने बताइरहेको छ।”
नेपालले १०४ वर्षमा ११ जना र ७० वर्षमा ४४ जना प्रधानमन्त्री पायो। तर, १७४ वर्षका ५५ प्रधानमन्त्रीमध्ये जंगबहादुर र बीपी मात्रै मरेपछि पनि जीवित रहनुभयो। एउटा तरबारको ताकतमा भर पर्ने, अर्को जनताको मतको आडमा उभिने।
विचारमा आधारभूत भिन्नता भएका यी दुईमध्ये एउटाले स्थायित्व दिएर नेपालको स्वतन्त्रता जोगाउनुभयो, सुगौली सन्धिबाट गुमेका केही भूभाग फिर्ता ल्याउनुभयो, देशको साँध–सिमाना सुनिश्चित गराउनुभयो। अर्कोले जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले शासन गर्ने प्रजातान्त्रिक पद्धति स्थापना गर्न जीवनभरि सङ्घर्ष गर्नुभयो। आफ्नो अटल निष्ठा, तपस्या र प्रेरक विचारद्वारा प्रजातन्त्रको पक्ष निरन्तर बलियो बनाइरहनुभयो।
तर, जंगबहादुरले स्थापना गरेको शासनले उहाँको परिवार सुरक्षित रहेन, बीपीको भने आफ्नै जीवन सुखद रहेन। तथापि दुवै मृत्युपछि पनि जीवित छन्।
प्रजातन्त्र स्थापनापछिको अधिकांश समय बीपीले सङ्घर्षमा अथवा जेलमा वा निर्वासनमा बिताउनुपर्यो। प्रश्न उठ्छ— के बीपी भाग्यमा विश्वास गर्नुहुन्थ्यो ? ईश्वरको सर्वोच्चतामा उहाँको अडान के थियो ? उहाँ आस्तिक हुनुहुन्थ्यो कि नास्तिक ?
बीपीसँग धर्मबारे म सोधिरहन्थें। उहाँ कहिले सामान्य र कहिले गम्भीरतासँग अलि खुलेर बताउनुहुन्थ्यो। शिवपुरी बाबासँग भएको कुराबारे मैले उहाँलाई चिठी पनि लेखें। २०२० सालको दशैंमा मैले शुभकामना पठाउँदा हिन्दू धर्मबारे प्रश्न गरेको थिएँ। होश सम्हालेदेखि ग्रहण गरेको संस्कार तथा दोस्रो पटक बिताएको जेल जीवनमा गरेको अध्ययनले म हिन्दू धर्ममा विश्वास र अलमलको दोसाँधमा थिएँ। त्यसैले बीपीलाई यसबारे सोधेर चिठी लेखें।
२०२० कात्तिक २९ को चिठीमा बीपीले लेख्नुभएको छ— ‘हिन्दू दर्शन प्रधानतः अन्तरमुखी भएकाले तेसले जीवनका वञ्चितताहरूको मध्यमा बहिर्जगतको वास्तविकताबाट मानिसको मनलाई ‘पलायन’ को सजिलो बाटो बनाइदिन्छ। तेसो हुनाले जेलको वञ्चितताको वातावरणमा हिन्दू दर्शनले नैराश्य र व्यक्तिको वियोजनबाट मान्छेलाई जोगाउँछ। नत्र मलाई हिन्दू दर्शनमा तर्कको प्रधानता र कल्पनाको आकाशी उफ्राइबाहेक केही लागेन। हो, पलायनको मर्म यसमा बडो विस्तृत छ र पलायनको उपयोगिता पनि छ, जीवनमा। हिन्दू दर्शनका प्रधानतः ६ प्रकारका विचार सिद्धान्त प्रणाली छन्।’ तर ती के हुन् ? बीपीले लेख्नु भएन।
मेरो जन्मदिनमा शुभकामना र आशीर्वाद दिने क्रममा बीपीको चिठीमा ईश्वर र हिन्दू धर्मबारे पनि उल्लेख थियो। उहाँ २०२० माघ २९ गतेको चिठीमा लेख्नुभएको छ— ‘आज महाशिवरात्रिको महापर्व हो। म जस्तो अनीश्वरवादी पनि मानिसहरूको स्तुतिपाठ, पूजा–आराधना, गायन, वादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्तैन। कुन श्रद्धाको स्रोत मानिसको अन्तरहृदयमा सरस्वती जस्तो अदृश्य भएर प्रवाहित भइरहेको छ, जसमा वेसुध भएर मानिस युगान्तरदेखि बग्दो छ, बग्दो छ। श्रद्धा र विश्वासको यत्रो महत्व दृश्यका सम्मुख नास्तिकताको स्थापना दर्प र अहङ्कारको भगि जस्तो लाग्छ।’
ईश्वर र हिन्दुत्वबारे बीपीमा स्पष्टता छैन। आफूलाई अनीश्वरवादी भने पनि धर्मप्रति विश्वासमग्न मानिसहरूबाट प्रभावित भएको कबुल गर्नुभएको छ। आफ्ना चिठीहरूमा ‘दैवी सन्तोष’ र ‘मेरो विवाद हुन्छ ईश्वरसँग’ जस्ता वाक्यांश परेका छन्। यसरी चिन्तन र वस्तुस्थिति तथा सोच र मानिसहरूको विश्वासबीच बीपीलाई अन्योलमा पाइन्छ।
अनीश्वरवादी हो भने ईश्वरका भक्तहरूद्वारा प्रदर्शित श्रद्धा र विश्वासबाट बीपी किन प्रवाहित हुनुभयो ? किन दैवी सन्तोषको अनुभूति अनि किन ईश्वरसँग विवाद ? आस्तिकहरूको ईश्वरभक्तिबाट बीपीलाई किन आफ्नो नास्तिकताको स्थापना दर्प र अहङ्कारको भगि जस्तो लाग्यो ? के बीपी धर्मबारे पनि दोधारमै हुनुहुन्थ्यो ? उहाँ धार्मिक प्रकृतिको हुनुहुन्थ्यो ? उहाँ ईश्वरको अस्तित्वमा विश्वास गर्नुहुन्थ्यो ? आस्तिक हुनुहुन्थ्यो कि नास्तिक ?
चिन्तन र वस्तुस्थिति तथा सोच र मानिसहरूको विश्वासबीच बीपीलाई अन्योलमा पाइन्छ।
२०१९ वैशाख २९ गतेको चिठीमा बीपीले लेख्नुभएको थियो— ‘यहाँ झ्यालखानमा म आफ्नो सामाजिक कर्तव्य क्षेत्रबाट टाढा राखिएको छु। एक प्रकारले थकाइ मारिरहेको छु। मेरो जीवन अर्थमय या व्यर्थका प्रयत्न र कोशिशले भरिएको छ, मानौं जीवन यौटा लामो विश्राम हो। समाजको व्यवस्था र धनी–गरीबको आवश्यक भेद र अनेक प्रकारका अवाञ्छनीय शोषणलाई मैले स्वीकार गर्न सकिनँ। तेसो हुनाले मेरो यो अस्वीकारले मेरो जीवनलाई यौटा लामो विवादमा परिणत गरेको छ।
यो मेरो विवाद मानिससँग छ। मेरो स्वीकार या अस्वीकार मानिसका प्रति सम्बोधित छ। तर, यहाँ झ्यालखानमा ऐले विश्राम गरिरहेको छु। मेरो यो विवाद ऐले स्थगित छ। तर मनमा अर्को विवाद खडा हुन्छ। यहाँको एक्लो अवस्थामा मेरो विवाद शुरू हुन्छ ईश्वरसँग। उसका कुराका प्रति मेरो अस्वीकारको सीमा छैन। मैले उसलाई सम्बोधन गरेर राखेका प्रश्नहरूको ऊसँग उत्तर छैन।’
यथार्थमा अस्तित्व स्वीकार गरेको शक्तिसँगै गुनासो गरिन्छ। बीपीले ईश्वरसँग विवाद गर्नु, गुनासो गर्नुले उहाँ नास्तिक होइन भन्ने पुष्टि गर्छ। ईश्वर र मानिसबीचको सम्बन्ध तथा धर्ममा आस्था र अनास्थासम्बन्धी बहस हजारौं वर्षदेखिको निरन्तरता हो।
सिद्धि हासिल गर्ने धुनमा बाल्यकालमा पचलीको नदी किनारमा एकाग्रताको अभ्यास गर्न थालेदेखि नै मेरो दिमागमा जन्मनु, बाँच्नु अनि मर्नुमा रूमलिएको मानव जीवनको लक्ष्य अथवा सत्य के हो भन्ने प्रश्न आइरहन्छ। तर, अध्ययन, अनुभव ज्ञानको कमीले यो प्रश्न अहिले पनि मेरा लागि अनुत्तरित नै छ। यसो त हिन्दू धर्म ‘मानिसको मृत्यु भए पनि उसको आत्मा मर्दैन’ भन्छ। मानिसको लक्ष्य मोक्ष प्राप्त गर्नु हो र यसका लागि आत्मज्ञान अनिवार्य छ तर यसले पनि मेरो अस्पष्टता शान्त पार्न सकेको छैन।
निकै धारिला यी प्रश्नले अचानक हिन्दू राष्ट्रको पहिचान गुमाएको नेपाली राजनीतिक वृत्तलाई घचघच्याइरहेछन्। बीपीको विचारलाई निर्देशक पक्ष मान्ने नेपाली कांग्रेसले सत्ता राजनीतिको सतरन्जमा हिन्दू राज्यलाई बलि चढाएर धर्मनिरपेक्षता अँगालेपछि जनतालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन।
प्रधानमन्त्री छँदा बीपी एक पटक मात्रै पशुपतिनाथ जानुभयो। बिहानको समय, काठमाडौं चिसोमा कठ्याङ्ग्रिन थालिसकेको थियो। शायद उहाँलाई चिसो लागेकाले ऊनीको टोपी र लामो कोट लगाउनुभएको थियो। समारोहमा पत्रकारको रूपमा म पनि उपस्थित थिएँ। पशुपति मन्दिरको दक्षिण ढोका सामुन्ने युवराज्ञी इन्द्र र बडामहारानी रत्नसहित महाराजाधिराज महेन्द्रको सानो आकारको ढलौटका प्रतिमाहरूको उद्घाटनको अवसर थियो।
रातो कपडा हटाएर प्रतिमाहरूको उद्घाटन गरेपछि बीपीले भन्नुभयो, “पशुपतिनाथसमक्ष हात जोडेर महाराजाधिराज राज भएको देख्ता ईश्वरका सामुन्ने सबै बराबर छन् भन्ने बताइरहेको छ। हामी सबैभन्दा माथि यस्तो शक्ति विद्यमान छ, जसको अगाडि सबै मानिसहरूले नतमस्तक हुनुपर्छ। त्यही शक्तिले सबैलाई असल काम गर्न प्रेरणा दिन्छ।”
ईश्वरको उपस्थिति, मानिसको जीवनमा सर्वोपरि स्थान स्वीकार गर्ने यो अभिव्यक्तिले बीपी अनीश्वरवादी नभएको, नास्तिक नरहेको र ईश्वरको सर्वशक्तिवान् हैसियतमा निष्ठा रहेको पुष्टि गर्छ।
“व्यर्थको मान्छे भाग्यमा भर गर्छ, सारयुक्त मान्छे कारण र प्रभावको मूल्याङ्कन गर्छ। संयोग भन्ने हुँदैन, संयोग जस्तो लागे पनि यथार्थमा केही अघिदेखि भैरहेको घटनाक्रमको उपज हुन्छ।” – बीपी काेइराला
ईश्वरको अस्तित्व मान्ने र नमान्नेबीचको विवाद धेरै पुरानो हो। यो विवाद अझै टुङ्गिएको छैन र कहिल्यै टुङ्गिन पनि सक्तैन। धर्ममा आस्था वा अनास्थाको आधार सोचसँग हुन्छ, विज्ञानसँग हुँदैन। ज्ञान र विज्ञानबीच असङ्गति पनि छैन। धर्म ज्ञान हो, विश्वासको निरन्तरताको शृङ्खला। ज्ञानको जगमा नै विज्ञानको विकास हुन्छ। यसैले ज्ञानलाई सार्थक बनाउन सक्रिय रहने विज्ञानबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ।
एकथरीको भनाइ छ— बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टिन ‘गहिरो रूपमै धर्ममा अविश्वास गर्थे। सर्वेश्वरवाद ईश्वरलाई ब्रह्माण्डको सीमाभित्र सीमित राख्तैन। मानव जाति अथवा भौतिक ब्रह्माण्डलाई ईश्वरको प्रकट रूप मात्र भन्दै ईश्वरलाई स्वरुपको रूपमा सनाखत गर्ने प्रवृत्ति अस्वीकार गर्छ।
आइन्स्टिनका लेख र अनुसन्धाताहरूले लेखेका शोधपत्रहरूको दाबी अनुसार ‘आइन्स्टिन निजी ईश्वरमा होइन, सर्वेश्वरवादी ईश्वरमा विश्वास गर्थे’— ‘सर्वेश्वरवादमा विश्वास गर्ने तर ईश्वरको व्यक्तिकरण होइन।’ उनको भनाइ अनुसार ‘सबै सुस्पष्ट घटनाक्रम पछाडि केही सूक्ष्म एवं कुशाग्र कुराहरू पनि हुन्छन् तर ती बुझ्न गाह्रो र व्याख्या गर्न कठिन हुन्छ। यो शक्तिको पूज्यभाव नै मेरो धर्म हो, र त्यस हदसम्म म धार्मिक हुँ।’
बीपीलाई पूजापाठमा रुचि थिएन तर धर्मको परम्परामा आदर थियो, गहन सांस्कृतिक र दार्शनिक पक्षमा रुचि थियो। धार्मिक समारोहमा होइन, आध्यात्मिक खुराकमा उहाँको रुचि थियो। सुन्दरीजल सैनिक जेलमा बस्ता उहाँले उपनिषद् र भगवतगीताको गहन अध्ययन गर्नुभयो। २०२० साउनमा राजा महेन्द्र र नजरबन्दमा रहेका बीपीबीच समझदारी बनाउने माध्यमको भूमिकामा सुन्दरीजल जाँदा नियतिबारे कुरा भएको थियो। निर्वाचित प्रधानमन्त्रीको ओहोदामा भएकै बेला जेल जानु ‘नियति हो अथवा संयोग’ भनेर सोधेको थिएँ। प्रश्नको तात्पर्य बुझेर हाँस्तै बीपीले भन्नुभएको थियो, “व्यर्थको मान्छे भाग्यमा भर गर्छ, सारयुक्त मान्छे कारण र प्रभावको मूल्याङ्कन गर्छ। संयोग भन्ने हुँदैन, संयोग जस्तो लागे पनि यथार्थमा केही अघिदेखि भैरहेको घटनाक्रमको उपज हुन्छ।”
ईश्वर र धर्ममा आस्था र अनास्था बीपी र नेहरूको सोच निकट लाग्छ। दुवैमा धर्मबारे बौद्धिक उत्सुकता थियो, दार्शनिक दृष्टिबाट बुझ्ने चाहना— ‘धर्म रहस्यवाद, तात्विक र दर्शनमा समाहित भएर अजङको रूप लिन्छ।’
प्रधानमन्त्री नेहरू दोस्रो पटक नेपालको राजकीय भ्रमणमा आउँदा २०१६ जेठ २९ गते पशुपतिनाथ मन्दिर जानुभएको थियो। तत्कालीन नेपालमा महत्वपूर्ण पाहुनालाई आम जनताबाट एक्ल्याएर अहिले जस्तो सशस्त्र पहराभित्र राखिंदैनथ्यो। पत्रकारको नाताले म नेहरू सँगसँगै उभिएर ध्यानपूर्वक अनुवीक्षण गरिरहेको थिएँ। नेहरूले पशुपतिनाथलार्ई चढाउन भारतीय दूतावासबाट ल्याइएको पूजा र अन्य सामग्रीमा सङ्कल्प गर्नु भएन। उहाँले सम्पूर्ण समय मन्दिरको बनोट, बुट्टा काटिएका चाँदीका चारओटै ढोका निकै उत्सुकतापूर्वक नियालेर बिताउनुभयो। त्यो दृश्य सम्झँदा मलाई अवसरको सदुपयोग गरेर नेहरूसँग धर्मका सम्बन्धमा प्रश्न गर्न नसकेकोमा अहिले पनि पछुतो हुन्छ। तर, मृत्युपछि नेहरूको अन्त्येष्टि वैदिक परम्पराबमोजिम गरिएको थियो।
नेहरू अनास्थावादी तर उहाँकी एक मात्र सन्तान इन्दिरा गान्धी ईश्वरमा विश्वास गर्ने, विशेष गरी नेपालको दक्षिणकालीको परमभक्त ! कुनै सङ्कट आउनेबित्तिकै आफ्ना विश्वास प्राप्त रेल मन्त्री ललितनारायण मिश्रलाई दक्षिणकालीका लागि पूजा सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं पठाउनुहुन्थ्यो। तर, बीपीलाई भने पूजापाठमा विश्वास थिएन, उहाँ समारोहमा उपस्थित हुनुबाहेक मन्दिर जानुभएको मलाई थाहा भएन। उहाँकी आमा दिव्या कोइराला र पत्नी सुशीला कोइरालासँग भएका कुराहरूले पनि यसलाई पुष्टि गर्छन्।
“आध्यात्मिक चेतनाले जीवनको उद्देश्य पूरा गर्ने बाटो देखाउँछ, यसले समाजको बृहत् हितमा सक्रिय रहन प्रेरित गर्छ। भाग्यको चक्रव्यूहभित्र पस्नुको सट्टा आफूसँग रहेको केही हासिल गर्ने क्षमता भएको ज्ञान ब्युँझाउनुपर्छ।” – बीपी काेइराला
बीपीको रुचि धर्मको दार्शनिक पक्षमा थियो। उहाँ गीतालाई मानवीय अस्तित्वको आध्यात्मिक जग मान्नुहुन्थ्यो। म दोस्रो पटक सुन्दरीजल जेल गएको बेला निर्णय गर्न नसकेर अलमलमा पर्नुभएका बीपीसँग नियति र कर्तव्यबारे कुरा भयो। उहाँले भन्नुभएको थियो, “आध्यात्मिक चेतनाले जीवनको उद्देश्य पूरा गर्ने बाटो देखाउँछ, यसले समाजको बृहत् हितमा सक्रिय रहन प्रेरित गर्छ। भाग्यको चक्रव्यूहभित्र पस्नुको सट्टा आफूसँग रहेको केही हासिल गर्ने क्षमता भएको ज्ञान ब्युँझाउनुपर्छ।”
अनिर्णय बीपीको स्वभाव होइन तर सुन्दरीजल जेलजीवनको मध्यतिर उहाँमा अनिर्णयलाई नै निर्णय ठान्ने कमजोरी बढ्दै गएको थियो। त्यसैले ढोका खोल्न शुरू गरेको प्रयासस्वरुप सकारात्मक निर्णय गर्न म जोड गर्दै थिएँ।
त्यस क्रममा अनिर्णयको जालोमा कुरा गुजुल्टिन थालेपछि गाँठो फुकाउन खोज्दा भाग्य, नियति, आध्यात्मिक चेतनाको कुरा उठेको थियो। अनि मैले भनें, “भाग्यले इच्छा गरेको परिणाम निकाल्न पनि पाइला त आफैंले सार्नुपर्छ नि !” मेरो तर्क सुनेर बीपी हाँस्नुभयो र मेरो कपाल सुमसुम्याउन थाल्नुभयो। केहीबेर मेरो कपाल सुमसुम्याएपछि भन्नुभयो, “सधैं सम्झिरहनु, भाग्य एउटा अवसरले बन्दैन, फेरिंदैन। जीवनका प्रत्येक घटना र त्यसमा तिम्रो क्रिया र प्रतिक्रियाले भविष्यलाई आकार दिइरहेको हुन्छ।”
सुन्दरीजल जेलमा सैनिक बन्दी अवस्थालाई बीपीले लेखपढ र आध्यात्मिक चिन्तनमा उपयोग गर्नुभयो। उहाँले रुचि लिएर पढेका किताबहरूमा चारओटै वेदका हिन्दी संस्करण, अङ्ग्रेजीमा उपनिषद्, हिन्दीमा भगवतगीतासँगै बट्र्रान्ड रस्सेलको ‘माइन्ड’ पनि थियो।
मैले एक पटक जीवनको अन्तिम सत्यबारे सोधेको थिएँ। २०१९ वैशाख २९ गतेको चिठीमा बीपीले लेख्नुभएको छ— ‘जीवनको यौटा पत्र कोट्यायो भने तल अर्को पत्र देखा पर्छ, तेस तल झन् आर्को र झन् आर्को। अनन्तसम्म। जीवनको तथ्यसम्म पुग्ने मेरो प्रयत्न कैले पनि भएन, किनभने यौटा कुरा छिटै मैले समयमै बुझिसकेको जस्तो छ, अर्थात् जीवनको अन्तिम सत्य भन्ने कुनै वस्तु छैन। जीवनको तहमा जुन कुरो हामी पाउँछौं, तेस्को गुभोभित्र पनि त्यै कुरा छ। यौटा कुरा भने निर्विवाद जस्तो लाग्छ— जीवनको महान् लक्ष्य भन्ने केही कुरो त छैन, तर प्रत्येक व्यक्तिलाई सुखको अधिकार छ। सुखको अधिकारले नै जीवनलाई केही अर्थ प्रदान गर्छ र हाम्रा प्रयत्नमा उत्साहको झल्को पाइन्छ।’
बीपीलाई पूजापाठमा रुचि थिएन तर धर्मको परम्परामा आदर थियो, गहन सांस्कृतिक र दार्शनिक पक्षको अध्ययनमा रुचि थियो। धार्मिक समारोहले होइन, आध्यात्मिक खुराक पाउने आशाले उहाँलाई सधैं आकर्षण गर्थ्याे ।
– रमेशनाथ पाण्डेको प्रकाशोन्मुख कृति क्रान्ति र प्रतिक्रान्ति मा समावेश बीपी कोइराला र हिन्दू धर्म शीर्षकको आलेखबाट। पुस्तक सांग्रिला बुक्समार्फत बजारमा आउँदैछ।
अरु पनि
कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’
अरु पनि
कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’
अरु पनि
बीपी भन्थे– म ईश्वरसँग विवाद गरिरहेको छु
अरु पनि
बीपी विचार र अवसान उन्मुख कांग्रेस
अरु पनि
बीपीका दुई आदर्शः गान्धी र कुमारप्पा
अरु पनि
मुखमा बीपी, बेवास्तामा विचार
अरु पनि
बीपीको कूटनीतिः सन्तुलनको सकस
अरु पनि
बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?
अरु पनि
बीपीका अन्तिम दिन
अरु पनि
के थियो बीपीको ‘नेपाली सपना?’