बीपीका दुई आदर्शः गान्धी र कुमारप्पा
दक्षिण एशियाका महान विचारक गान्धी, कुमारप्पा र बीपी तिनैले मेशिनलाई होइन मान्छेलाई माया गर्न प्रेरित गरेका छन् तर हामी ठीक उल्टो बाटो हिंडिरहेका छौं। मान्छे ‘मान्छे’ नबनेर या श्रमिक बनेको छ या मालिक।
मैंने शहर को देखा और मैं मुस्कराया
वहाँ कोई कैसे रह सकता है
यह जानने मैं गया
और वापस न आया ।
– मंगलेश डबराल
विदेश जाँदा देश र शहर छिर्दा गाउँ फर्कन्छु जस्तो लाग्नु अनौठो होइन । बाध्यता र विवशताले थातथलो छाडेर हिंड्नेहरूलाई पनि जीवनको कुनै मोडमा आफ्नै ठाउँ फर्कुं जस्तो नलाग्ने होइन । तर धेरैलाई एकपटक हिंडिसकेको बाटो फेरि हिंड्न रमाइलो लाग्दैन।
मङ्गलेशको कविता जस्तै हामी शुरूमा शहर देखेर हाँसे पनि विस्तारै शहरसँगै रमाउँछौं र त्यतै हराउँछौं । चार लाइनको यो कविताले गाउँ र शहरबीचको सम्बन्ध र त्यसमा अल्झेको हाम्रो विरोधाभासपूर्ण जिन्दगीको वर्णन गर्छ ।
संसारमा थोरै मान्छे छन् जसले गाउँको विषयमा चिन्ता गर्छन् र गाउँ बुझ्न खोज्छन् । हामी छौं, जो गाउँका ढुङ्गा, माटो, वन–जङ्गल, खनिज, पानी, खेतबारी र सम्पदामाथि शहर निर्माण गरेर गाउँकै महत्वका विषयमा क्रान्तिकारी वा भावुक कविता लेख्न र पढ्न रमाउँछौं ।
दक्षिणएशियामा गाउँ र गाउँलेको चिन्ता गर्ने, त्यसका लागि योजना बनाउने र कार्यान्वयन गर्न खोज्ने अग्रणीहरू महात्मा गान्धी र जे.सी. कुमारप्पा नै हुन् । नेपालका सन्दर्भमा भने व्यवहारमा नदेखिए पनि बोली र विचारमा गाउँको विकासको वकालत गर्दै ठूला–ठूला भौतिक संरचना र पश्चिमी देशहरूमा भइरहेको विकासको नक्कल गर्ने प्रवृत्तिको विरोध गर्ने काम बीपी कोइरालाले मात्र गरे ।
मंगलेशले शहरको कविता सन् १९७४ मा लेखेका थिए । गान्धीको निधन १९४८ मा, कुमारप्पाको निधन १९६० र बीपी कोइरालाको निधन सन् १९८२ मा भइसक्यो । त्यसपछिको समयमा संसारमा भएका अनेकौं परिवर्तनले हामीलाई पुनः गान्धी वा कुमारप्पा पढ्नलाई प्रेरित गर्दैन । सोही बाटो हिंड्ने साहस दिंदैन ।
नेपालकै बीपी पनि स्मृति ग्रन्थ वा सभामा सीमित छन् । तीव्र शहरीकरण, प्राकृतिक स्रोत–साधनको अत्यधिक खपत र भौतिक संरचना निर्माणको होडले हामीलाई विकासको नयाँ उँचाइ छुने रहर जगाएको छ । कृषिले हातमुख जोर्न धौधौं भएको मात्र होइन कृषि पेशा नै अपहेलित बनिरहेको सन्दर्भमा पैसा कमाउने धुन र बाध्यता दुवैले हामीलाई शहर वा विदेश पस्न बाध्य तुल्याएको छ । त्यसैले नै हाम्रा लागि गान्धी वा कुमारप्पा विस्तारै असान्दर्भिक भएका हुन् ।
आदर्शका कुराले व्यवहार चल्दैन भन्न थालेका हौं । तैपनि आफ्नो महत्वपूर्ण जीवन गाउँ र गाउँमा आधारित जीवनपद्धतिको पक्षमा उभिएका यस्ता व्यक्तिहरूलाई समय–समयमा सम्झने र पढ्ने बाध्यता भने प्रकृति आफैंले दिनेरहेछ । कोरोनाभाइरसले हाम्रो दैनिक जीवन पद्धति र कतिपय मान्यताहरूलाई नराम्रोसँग हल्लाइदिएको छ । यसैसँग कृषि, आत्मनिर्भरता र गाउँको चर्चा पनि चलेको छ ।
तर, यी सबै चर्चा चुनाव अगाडिका घोषणापत्र जस्तै हुन् जुन चुनावपछि कसैलाई याद हुने छैन । कसैले लेख्नुपर्ने, कसैले भाषण गर्नुपर्ने र कसैले सुन्नुपर्ने छैन ।
जमीनसँग जोडिने आधार
महात्मा गान्धीसँग बीपी कोइराला (तस्वीरको मध्यभागमा गलबन्दी लगाएको जस्तो देखिएका) । यो तस्वीर गान्धीको हत्या हुनुभन्दा दुई दिन अघि २८ जनवरी १९४८ मा लिइएको बताइएको छ। स्रोतः फरवार्ड प्रेस ।
गाउँ र कृषिसम्म नजोडिए पनि अघिल्ला पुस्ताका धेरै नेताले आफ्नो थातथलो पूरै छोडेका थिएनन् । बीपी कोइराला वा भीमबहादुर तामाङले कर्मथलो काठमाडौं त बनाए तर काठमाडौंमै घर बनाउन र सधैं बसिरहन चाहेनन्। लामो समय सत्तामा बसेका गिरिजाप्रसाद कोइरालाले पनि विराटनगर छाडेर काठमाडौंमै घर बनाएर बस्ने लोभ गरेनन् । तर, अब त्यो समयको लगभग अन्त्य भइसकेको छ ।
अब शहरमै पसेर, बसेर गाउँमा क्रान्ति गर्ने क्रान्तिकारीहरूको जन्म भइसकेको छ । तर गाउँ वा कृषिको समस्या भने झन् विकराल बन्दैछ । कृषि क्रान्तिका ठूला–ठूला कुरा गर्ने र विकसित मुलुकको नक्कल गर्नेहरूले बीउ, मल, औषधि, उपकरण, उपकरण चलाउने इन्धन, कीटनाशक औषधि मात्र होइन ती सङ्कलन र भण्डारण गर्ने प्लाष्टिकका भाँडाहरू र उस्तै परे श्रमिकको पनि मूल्य तिरेर छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सकिने कृषि प्रणालीको सपना देखिरहेका छन् ।
अनुदान, बाहिरी मुलुकका कृषि सामग्रीमाथि प्रतिबन्ध वा उत्पादित कृषि उपजको मूल्य अत्यधिक नबनाई बीउदेखि मलसम्मका सामग्री किनेर गरिने खेतीले कृषकहरूलाई कुनै फाइदा गर्दैन भन्ने बुझ्न कृषि विज्ञ हुन पर्दैन । तर राजनीतिज्ञ, प्रशासक वा कृषिविज्ञहरू आत्मनिर्भरताको खेती गरिरहेका छन् ।
स्थानीय बीउ, मल र श्रममा आधारित उपजमा आत्मनिर्भर हुनु एउटा कुरा हो तर कुखुरा पाल्न आवश्यक दाना, औषधि र प्रविधि लगायतका सबै कुरा अन्य मुलुकबाट ल्याएर खुला प्रतिस्पर्धा नगरी महङ्गोमा कुखुरा बेचेर आत्मनिर्भरताको भ्रम छर्नु अर्कै कुरा हो । यसले लगानी गर्न सक्ने सीमित व्यापारी र बिचौलियालाई जति नाफा दिन्छ आम कृषकलाई दिन सक्दैन । समग्र स्थानीय कृषि प्रणाली यति ध्वस्त भइसकेको छ कि बजारमा आयातित बीउ, मल वा औषधि भएन भने कृषि प्रणाली नै नचल्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष लगानी गर्नुपर्ने बीउ, मल, औषधि वा उपकरणले थोरै जमीनबाट गुजारा चलाउने किसानलाई कुनै फाइदा छैन।
आधुनिक खेती वा यान्त्रिक प्रणालीको प्रयोगबाट कतिपय फाइदा होलान् तर यसले फरक–फरक किसानहरूले आफ्नो क्षमता, रुचि र चाहना अनुसार उत्पादन गर्ने विविध प्रकारका उत्पादन चक्रलाई ध्वस्त पार्छ । समुदायमा रहेको विविधता र फरक खालका रैथाने बीउ समूल नष्ट नगरी धेरै फल्ने, एकैपटक रोप्न, उत्पादन गर्न र बिक्री–वितरण गर्न सकिने एकैखालको सामग्री उत्पादन गर्न सम्भव छैन । र, एकैखालको खेती नगरी व्यापक नाफा हुने सम्भावना पनि कम छ ।
यान्त्रिक वा ‘मास प्रोडक्सन’ मा आधारित कृषि प्रणालीले समुदायकै हित गर्छ भनिए पनि वा केही हदसम्म आर्थिक स्थिति राम्रो बनाए पनि अन्ततः यसले किसानहरूलाई खेत–खलिहानबाट टाढा पु¥याउँछ र समग्र कृषि क्षेत्रलाई कुनै कर्पोरेट कम्पनीको जिम्मा लगाइदिन्छ ।
गान्धी र कुमारप्पा (चश्मा लगाएका, लाठी बोकेका)
तर, यसो भन्दै गर्दा परम्परागत कृषि प्रणालीबाट पनि किसानहरू टाढा बन्दै गएको कुरा भने बिर्सन मिल्दैन । त्यसो भए कस्तो कृषि प्रणाली उपयुक्त हुन सक्छ ? वा के ग¥यो भने कृषि प्रणालीले कृषकलाई फाइदा मात्र दिंदैन बरू गौरव गर्न पनि सिकाउँछ ? भन्ने विषयमा बहस आवश्यक देखिन्छ ।
विकासको नमूनामा बहस
कृषिको कुरा गर्दा हामीले कस्तो खालको विकास खोजेको हो ? कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने हो ? भन्ने विषयमा प्रशस्त बहस हुन जरूरी छ ।
यसका लागि या त अहिले भइरहेको विकासलाई नै हामीले विकास मान्नुपर्छ र भएका स्रोत, साधन, प्रकृति र सम्पदाको सक्दो दोहन गरेर शहर र भौतिक पूर्वाधारको निर्माणमा जोड दिनुपर्छ । या त यसैभित्र कुमारप्पा, गान्धी वा बीपीले उठाएका कतिपय विषयहरूलाई पनि ध्यान दिंदै जानुपर्छ ।
कृषि वा विकासका कतिपय सन्दर्भमा बीपी आफैंले स्वीकारेका छन् ‘यो मेरो मौलिक विचार होइन, गान्धीजीको विचार हो । म कुनै अर्थविद् होइन, तर गाउँलेलाई बेवास्ता गर्ने कुनै पनि विकास, विकास नै होइन भन्ने मेरो विचार छ । शहरी सुविधालाई ध्यान दिई गाउँले जनतालाई वास्ता नगर्ने कुनै पनि विकास कमसेकम मेरो हिसाबमा विकास हुनै सक्तैन ।’
हुन पनि कतिपय सन्दर्भमा बीपी गान्धीसँग कति प्रभावित छन् भने गान्धी र बीपीलाई सँगै राखेर पढ्दा गान्धीले लेखेका कुरा बीपीले भावानुवाद गरिरहेका छन् जस्तो लाग्छ ।
“ईश्वर न करें कि भारत कभी पश्चिम ढंग के उद्योगवाद को अपनाए । अगर तीस करोड की आवादी वाला समूचा राष्ट्र पश्चिमी ढंग के आर्थिक शोषण पर उतर आए तो वह टिड्डी दल की तरह सारी दुनिया को चट कर जाएगा ।” (महात्मा गांधीके विचार, पृ. २३२)
“हाल संयुक्त राज्य अमेरिकाको जनसंख्या विश्व जनसंख्याको ६ प्रतिशत मात्र छ । यिनै ६ प्रतिशत जनताको हालको सम्पन्नता कायम राख्न अमेरिकाले विश्वको ३० देखि ३५ प्रतिशतसम्म प्राकृतिक स्रोत एक्लै उपयोग गर्ने गर्दछ । विश्व जनसंख्याको ६० प्रतिशत आवादी भएका चीन र भारतले पनि यसै नमूनामा आफ्नो अर्थतन्त्रलाई ढाले भने पर्याप्त साधन उपलब्ध हुने छैन” (बी.पी. कोइराला एक क्रान्तिकारी व्यक्तित्व, पृ. १७२) ।
गान्धी र कोइराला दुवैले मेशिनलाई होइन मान्छेलाई माया गर्न प्रेरित गरेका छन् तर हामी ठीक उल्टो बाटो हिंडिरहेका छौं । मान्छे ‘मान्छे’ नबनेर या त श्रमिक बनेको छ या त मालिक ।
बीपीले नेपालका योजनाका विषयमा सचेत गराउँदै भनेका छन्, “यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको परिवर्तन आएन र उनीहरूले विकासको परिभाषालाई बदलेनन् भने हामीले विकासको प्रक्रियाको शुरूआत पनि गर्न सक्ने छैनौं– त्यहींबाट नै हाम्रो बाटो छुट्टिन्छ । म योजनाकारहरूलाई गाउँ र गाउँलेको पक्ष लिन अनुरोध गर्छु– गाउँलेहरूका सम्बन्धमा सोच्न र उनै गाउँलेहरूको प्रयोग गर्न अनुरोध गर्छु । जस्तो कि साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने तर ट्रयाक्टर प्रयोग गर्ने होइन । ठूल्ठूला मेशीन, बुल्डोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन । विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालिम पाएका प्राविधिकहरूद्वारा ठूल्ठूला सडकमा दौडाउन किन प¥यो र !”
त्यसो त विकासको वर्तमान गति, प्रक्रिया र हामीले चाहेको विकासको परिकल्पनासँग बीपी वा गान्धीका यस्ता भनाइहरू हास्यास्पद लाग्ने गर्छन् । त्यसैले नै उनका विचारहरूले कतै स्थान नपाएको हुन सक्छ तर यसलाई व्याख्या र उपयोग गर्ने प्रशस्त ठाउँहरू नभएका भने होइनन्।
शायद आत्मनिर्भर खेती प्रणालीलाई हामीले ‘निर्वाहमुखी खेती’ भयो भनेर ‘आधुनिक’ बनाउने होडमा आत्मनिर्भर र आधुनिक दुवै बनाउन नसकेको कुरा स्वीकार्न ढिला भइसकेको छ । स्थानीय स्तरमा साना योजना, रैथाने प्रविधि, सीप तथा ज्ञानको महत्वपूर्ण भूमिका हुन सक्छ भन्ने कुरालाई बिर्सिएर केन्द्रबाट निर्देशित र प्रायोजित रेडियो, कृषि पत्रिका वा कृषिका किताब मार्फत जताततै एकै किसिमको कृषि प्रणाली लागू गर्ने योजनाले न केन्द्रबाट लादिएको कृषि कार्यक्रम सफल भएको छ न त परम्परागत कृषि प्रणालीले निरन्तरता नै पाएको छ ।
फलस्वरूप ‘विकास’ वा ‘आधुनिक कृषि’ का नाममा आयातित प्रविधि, सामग्री, स्रोत तथा साधनको प्रयोग नगरी हुने हाम्रा दैनिक जीवनयापनका कृषि कर्मलाई हामीले विकास वा कृषि नै देख्न छाडिसकेका छौं ।
कुमारप्पा र गाउँ
कृषि प्रणाली मात्र होइन गाउँ र शहरका विषयमा हाम्रा मान्यताहरू, हामीले देखेको र कल्पेको विकास, समस्या र समाधानका उपायहरूका विषयमा गान्धी र बीपीलाई छाडेर कुमारप्पालाई एकपटक पढ्न र सुन्न आवश्यक छ ।
कुमारप्पा नपढी गान्धी र बीपीका अवधारणाहरू अपुरा हुन्छन् किनभने गान्धीका कैयौं विचार र मान्यताहरूको सर्वोत्तम व्याख्या कुमारप्पाले गरेका छन् । त्यो पनि अध्ययन, अनुसन्धान र प्रयोगमा आधारित रहेर ।
सन् १८९२ मा तमिलनाडुको तंजावुरमा जन्मिएका जे. सी. कुमारप्पा (जोसफ चेल्ला दुरै कार्नेलियस) ले चार्टर्ड एकाउन्टेन्टका रूपमा सन् १९१० को दशकमा लण्डनमा काम गरे । केही समय बम्बईमा पनि काम गरेका उनी सन् १९२७ मा अमेरिका पुगे र कोलम्बिया विश्वविद्यालयबाट ‘सार्वजनिक वित्त एवं भारत की निर्धनता’ विषयमा शोधपत्र लेखे ।
कुमारप्पाको शोधपत्र गान्धीको दांडी यात्रा (सन् १९३०) गरेको समयमा ‘यंग इंडिया’ मा धारावाहिक रूपमा प्रकाशित भयो । गान्धी र कुमारप्पा दुवै एकअर्कासँग प्रभावित भएकाले होला सन् १९३४ मा गान्धीले कांग्रेसको राजनीति छाडेपछि गठन भएको अखिल भारतीय ग्रामोद्योग संघको जिम्मेवारी कुमारप्पालाई दिइयो । यो संघको उद्देश्य गाउँमा विस्तारै बन्द हुँदै गएका उद्योगहरूको पुनस्र्थापना गर्नु पनि थियो । यही बेला कुमारप्पाले ग्रामीण क्षेत्रको आर्थिक सर्वेक्षण, अध्ययन तथा त्यसमा आधारित रहेर सामाजिक, आर्थिक, कृषि तथा ग्रामीण विकासका अवधारणाहरूमा काम गरे ।
किसान र कार्यकतासँग बीपी । तस्वीर स्रोतः नेपाल कल्चरल म्युजियम
आर्थिक चिन्तकका रूपमा कुमारप्पाका विचारले मूलतः व्यक्तिको स्वभाव, मूल्य, कामको स्वरूप, श्रम विभाजन, राज्यको काम, सम्पत्तिको अधिकार र लेनदेनका विषयहरूलाई समेटेको छ । उनी र गान्धीलाई एकै पटक बुझ्नका लागि इकोनमी अफ पर्मनन्स, ह्वाइ द भिलेज मुभमेन्ट ?, गान्धीयन इकोनोमिक थट, लेसन फ्रम युरोप आदि महत्वपूर्ण सन्दर्भ सामग्री हुन सक्छन् । उनको किताब गाँव आन्दोलन क्यों ? लाई गान्धीको आर्थिक सामाजिक विचारको सबैभन्दा महत्वपूर्ण व्याख्याका रूपमा लिइन्छ ।
गान्धीका धेरैजसो अवधारणाको सैद्धान्तिक व्याख्या र प्रयोगात्मक परीक्षण गर्ने काम उनले नै गरे । उनको आर्थिक चिन्तन पनि गान्धीवादी अहिंसा पद्धतिमै आधारित छ, जहाँ व्यक्तिगत स्वतन्त्रता, सृजनशीलता तथा दैनिक कामका आधारमा नै सबै आदर्श, सिद्धान्त र धर्म प्रकट हुने मान्यता राखिन्छ ।
खास समय र संकटको अवस्थामा आधुनिक ‘विकास’ नै सबै कुराको समाधान हो भन्ने मान्यतामा हलचल आएको देखिन्छ । असहमतिका स्वर देखिन थाल्छन् । नयाँ सम्भावना, परिभाषा र समाधानका विषयमा बहस हुन थाल्छ । त्यसैले पनि बेलाबखत कुमारप्पालाई पुनः पढ्न र उनका अवधारणाहरूमाथि बहस चलाउन चाहनेहरूको जमात तयार हुन्छ ।
कुमारप्पा, गान्धी र बीपी कोइराला अत्यधिक यान्त्रीकरणले निम्त्याउने समस्यामा धेरै चिन्तित देखिन्छन् । यान्त्रीकरण र केन्द्रीकृत विकासको सट्टा विकेन्द्रित व्यवस्था स्थायी, सहभागितामूलक र गाउँ केन्द्रित हुने तर्क उनीहरूको छ । कुमारप्पाका विचारमा केन्द्रीकृत उत्पादन व्यवस्थाले ‘आवश्यकता अनुसारको उत्पादन’मा होइन ‘बजारको लागि उत्पादन’ गर्ने कुरामा ध्यान दिन्छ जसले युद्ध, उपनिवेशवाद र अन्याय–अत्याचारको शृङ्खलालाई बढाउँछ ।
वर्तमान सन्दर्भमा कुमारप्पा, गान्धी वा बीपीका कैयौं कुरामा सहमत हुन नसकिएला तर ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त दिएको छ तर प्रत्येक व्यक्तिको लोभ पूरा गर्न होइन’ भन्ने गान्धीको अभिप्रायमा सहमत हुन नसकिएन चाहिँ शहर र गाउँ तथा देश र देशबीचको दूरी कायमै रहनेछ।
जीवनको उत्तराद्र्धमा कुमारप्पाले ग्रामीण जीवन प्रत्यक्ष जिउने र केही प्रयोग गर्ने प्रयास पनि गरेका थिए । तर खराब स्वास्थ्यका कारण आफूले शुरू गरेका प्रयोगहरूको परिणाम भने उनले देख्न पाएनन् ।
कुमारप्पाले ग्रामीण विकास र उत्थानका लगि पाँचवटा मुख्य क्षेत्रलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् (ब्याक टु बेसिक्स, पृ.२४२) ।
– कृषि र ग्रामीण उद्योग
– सफाइ, स्वास्थ्य र घर
– ग्रामीण शिक्षा
– ग्रामीण संगठन
– र ग्रामीण संस्कृति
कृषि र ग्रामीण उद्योग अन्तर्गत कृषि, मल, जमीन व्यवस्थापन, बीउ–विजन, अनुसन्धान, आत्मनिर्भरतामा आधारित सन्तुलित खेती, पशुपालन, गोदाम, कच्चा पदार्थको संरक्षण, भाडादर, उपकरणहरूको आपूर्ति र प्रयोग, प्रदर्शनीस्थल आदिका विषयमा उनले व्याख्या गरेका छन् । ग्रामीण संगठनका रूपमा बहुउद्देश्यीय सहकारी संस्थाको कल्पना र त्यसले गर्ने कामहरूको चर्चा पनि गरेका छन् (पृ. २४२–२४८)।
त्यसो त कुमारप्पाले कृषि अर्थशास्त्र, जमीनमाथिको पहुँच, अधिकार, कृषि कर्मका फरक–फरक विधिहरू, ग्रामीण वित्त तथा बजार, श्रम, मूल्य लगायतका अनेकौं विषयमा खोज, अनुसन्धान र व्याख्या गरेका छन् । समग्रमा गान्धी र कुमारप्पाले विकास आर्थिक वृद्धितर्फ केन्द्रित नभएर मानव केन्द्रित हुनुपर्नेमा विशेष जोड दिएका छन् । जसलाई नेपालका सन्दर्भमा बीपीले पछ्याउने प्रयास गरे।
वर्तमान सन्दर्भमा कुमारप्पा, गान्धी वा बीपीका कैयौं कुरामा सहमत हुन नसकिएला तर ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त दिएको छ तर प्रत्येक व्यक्तिको लोभ पूरा गर्न होइन’ भन्ने गान्धीको अभिप्रायमा सहमत हुन सकिएन भने चाहिँ शहर र गाउँ तथा देश र देशबीचको दूरी कायमै रहनेछ।