बीपी विचार र अवसान उन्मुख कांग्रेस
बीपी कोइरालाले कांग्रेसको ताल यही हो भने चीनको कोमिङताङ पार्टी जस्तै इतिहासबाट मेटिन्छौं भनेर उहिले नै लेख्नुभएको थियो। कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ।
नेपालमा समाजवाद गोलमटोल भएको छ। यसो हुनुको कारण आजको समग्र राजनीतिक दलको नेतृत्व एउटै वर्ग, जाति, सोच र संस्कारगत पृष्ठभूमिबाट आएका छन्। एकथरीले माक्र्सवाद–लेनिनवादको कुरा गर्छन्, अर्काथरीले लोकतान्त्रिक समाजवाद भन्छन्। तर विडम्बना के हो भने, नेपालको परिवेश र यहाँ देखापरेका समस्यालाई दुवै जीवनदृष्टिले समेट्न सकेको छैन।
यी दुवै जीवनदृष्टिको विकास यूरोपेली समाजमा भयो। माक्र्सवाद, लेनिनवाद मोटामोटी यूरोपमा जन्मियो भने लोकतान्त्रिक समाजवाद जर्मनी र इंग्ल्याण्डमा जन्मियो। त्यहींको झगडाको आधारमा यहाँ सोसल डेमोक्र्याट र कम्युनिष्ट पार्टी बनायौं।
आज नेपालमा वर्गमा सीमित नभएर पहिचानको आन्दोलन नयाँ उँचाइमा पुगेको छ। यो समाजलाई महेन्द्रीय आँखाबाट ‘एक राजा, एक भेष, एक भाषा, एक भेष’ ले मात्रै हेर्न हुँदैन भन्ने सन्देश ४० वर्षदेखि आइरहेको छ। २०६२/६३ को दोस्रो जनआन्दोलनले त्यस्तो सन्देशलाई झन् प्रष्ट बनाइदियो।
समाजवादकै सन्दर्भमा, बीपी कोइरालाको समाजवाद भन्न सजिलो छ। यसले नेपाली कांग्रेसलाई पहिचान दिएको छ। तर, बीपीको समाजवादबारे कांग्रेसले गहिरिएर सोचेको छैन, पटक्कै सोचेको छैन। बीपीले समाजवाद भनिदिनुभयो, त्यसैलाई भजाउने काम भएको छ। अरु त अरु, बीपीको रचना प्रकाशन गर्न समेत पार्टीले ध्यानै दिंदैन। यो अपसोचको कुरा हो।
अर्कातिर, मदन भण्डारीको जनताको बहुदलीय जनवादको बिजोग छ। पुष्पलाल श्रेष्ठको नौलो जनवादको झनै बिजोग छ। बहुदलीय जनवाद आएपछि नौलो जनवाद त छोडियो। बहुदलीय जनवादले संसदीय व्यवस्था मात्रै त खोजेको थिएन, त्यसैले त्यहाँ पनि बिजोग छ।
बीपीलाई आज बुझ्दा पहिलो कुरा वैचारिक पक्ष बुझ्नुपर्छ। देवत्वकरण गरेर काम छैन। बीपीलाई वैचारिक दायरा र सीमाभित्र बुझ्नुपर्छ। अहिले के देखियो भने, विविधताले भरिएको समाजले आफूलाई अनुकूल हुने समावेशी र समानुपातिक राज्य खोज्दैछ। कुरामा समावेशी र समानुतिक राज्यको चर्चा भए पनि व्यवहार त्यस्तो छैन। राज्य पनि भनेको जसरी बनेन।
बीपीलाई सम्झनु भनेको उहाँका कथा सुनाउने र किंवदन्ती भन्ने कुरा होइन। फोटो राखेर माल्यार्पण गर्नुको मात्र अर्थ छैन। बीपीले तत्कालीन परिस्थितिमा अगाडि सारेका कुरालाई आज समाजमा रहेको असमानता, विभेद, विचारहीनता, जडसूत्रवादका विरुद्ध लड्नु चाहिँ सही सम्झना हो।
अहिले बजारले र कथित उदार व्यवस्थाले असमान विनिमय, असमान आम्दानीको अवस्था खडा गरेको छ। सानालाई ऐन, ठूलालाई चैनको व्यवस्था छ। यहाँ साना र ठूला भन्नाले आर्थिक अवस्था मात्रै नभएर जातभात सबै हो। नेपाल झन्–झन् ध्रुवीकृत र सीमान्तकृत विवादको सिर्जना गर्ने थलो भएको छ।
बीपीलाई सम्झनु भनेको उहाँका कथा सुनाउने र किंवदन्ती भन्ने कुरा होइन। फोटो राखेर माल्यार्पण गर्नुको मात्र अर्थ छैन। बीपीले तत्कालीन परिस्थितिमा अगाडि सारेका कुरालाई आज समाजमा रहेको असमानता, विभेद, विचारहीनता, जडसूत्रवादका विरुद्ध लड्नु चाहिँ सही सम्झना हो।
बीपीलाई बेवास्ता
नेपाली कांग्रेसभित्र अहिले केही हुँदै नभएको चाहिं होइन। कुनै पनि पार्टीभित्र वा समूहभित्र बेग्लाबेग्लै सोच हुन्छ। पार्टीभित्र पुराना र नयाँबीच संघर्ष भइरहन्छ। बूढापाकाले परिवर्तन त्यति सजिलो छैन भन्छन् भने कोही परिवर्तनको धारमा हुन्छन्। हामीले पार्टीभित्र उमेरको हदबन्दी तोकेर पनि नयाँ–नयाँ नेता ल्याउने कोशिस गरेका छौं।
नेपालमा गणतन्त्र त्यति सजिलै आएको होइन। कांग्रेसलाई गणतन्त्रमा जान साह्रै गाह्रो थियो। गणतन्त्रको कुरा शुरुमा उठाउँदा कांग्रेसभित्र नरहरि आचार्य, गगन थापा लज्जित भए। हाम्रो पार्टीमा त्यसबारे कुरा गर्न थोरै सहज थियो। त्यसमा पनि बूढापाकाले कुरा उठायौं।
“नेपाललाई चाहिने अर्थ–राजनीतिक व्यवस्था विदेशको नक्कल गरेर हुँदैन। यहींको स्वदेशी साधन (रुपैयाँ पैसा मात्र होइन, प्राकृतिक स्रोत पनि) र सीप लगाएर मौलिक विधिबाट नेपाल बनाउनुपर्छ।” – बीपी काेइराला
त्यसवेला संघीय राज्य प्रणालीको विषय सबैभन्दा पहिले हामीले पारित गर्यौं। दलित, महिला र जनजातिलाई आरक्षण गर्नुपर्छ भनेर हामीले पारित ग¥यौं। हुन त सजिलो भएन र भनेजस्तो पनि भएन। तर, थोरै भए पनि परिवर्तन भयो।
अब कांग्रेस ऐतिहासिक परिवर्तनको मोडमा छ। कोरोनाभाइरस संक्रमण महामारी र विश्वको वातावरणीय आन्दोलनले पनि बीपीले भनेका कुरा दोहोर्याएको छ। बीपीले भन्नुभएको थियो, “नेपाललाई चाहिने अर्थ–राजनीतिक व्यवस्था विदेशको नक्कल गरेर हुँदैन। यहींको स्वदेशी साधन (रुपैयाँ पैसा मात्र होइन, प्राकृतिक स्रोत पनि) र सीप लगाएर मौलिक विधिबाट नेपाल बनाउनुपर्छ।”
तर, २०४६ साल पछाडिका कुनै पनि प्रधानमन्त्रीले यसतर्फ ध्यान दिनुभएन। गिरिजाबाबु, मनमोहन अधिकारी, शेरबहादुर देउवा कसैले ध्यान दिनुभएन। यो भन्न मलाई कुनै संकोच छैन।
इसा मसीहको उपदेश क्रिश्चियनहरुले बिर्से जस्तै, लेनिनको शिक्षा स्टालिनले बिर्से जस्तै, माओत्से तुङको सांस्कृतिक क्रान्तिलाई अहिलेको चीनले बिर्से जस्तै बीपीका कुरासँग अहिलेको नेपाली कांग्रेसलाई कुनै मतलब छैन।
खतरामा कांग्रेसः मूर्खताको ढोका बन्द कहिले ?
अहिले नेपाली कांग्रेसको अस्तित्व नै खतरामा छ। कांग्रेसले आफ्नो चालढाल, सोच्ने तरिका र क्रियाकलाप नबदल्ने हो भने अब समाप्त हुन्छ। बीपीले कांग्रेसको ताल यही हो भने चीनको कोमिङताङ जस्तै इतिहासबाट मेटिन्छौं भनेर उहिले नै लेख्नुभएको थियो। अहिले कांग्रेस त्यही बाटोमा देखिरहेको छु।
अहिले कांग्रेस के गर्दैछ भने, नीति नियम जति सबै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरण गरिरहेको छ। अमेरिकी परियोजना एमसीसी ल्याउन केपी शर्मा ओलीसँग तँछाडछाड गर्ने ! ओलीले रेल ल्याउँछु भन्दा त्यो भन्दा ठूलो हामी ल्याउँछौं भन्ने! बीपीको विचारप्रति एकरत्ति चासो नै छैन।
बीपीले सुन्दर, मौलिक र सिर्जनात्मक समाजको विचार पेश गर्नुभएको छ। यसबारे पढ्नुपर्यो, मनन गर्नुपर्यो नि! बीपीको त्यो विचार सम्झेन भने अब कांग्रेस बाँच्दैन।
अंग्रेजीमा उखान छ, ‘मूर्खताका सबै ढोका बन्द भएपछि मात्रै ऊ सही बाटोमा जान्छ।’ अहिले मैले त्यस्तै आशा राखेको छु।
प्रधानमन्त्री बन्ने भनेको लुई चौधौं जस्तै सुखसयल आराम गर्न दरबार बनाएर बस्ने हो भन्ने सोच नेपालमा मात्रै नभएर दुनियाँमा व्याप्त छ। जुन दुर्भाग्य हो। यसको विकल्पमा सरल जीवन पनि हुन सक्छ, सादा जीवन पनि हुन सक्छ, पौष्टिक खाए पुग्छ। विलासिताको पछाडि नलाग, पुरानोले हुन्छ भने नयाँ नखोज भन्ने चिन्तन धार्मिक परम्परामा पनि थियो।
अबको समाजवाद
विश्वमा बजारको सर्वोच्चता हावी छ। विश्व ब्यांकको सर्वोच्चता, ठूला देशहरुबाट पैसा ल्याउने, ठूल्ठूला विशाल उद्योग बनाउने, जलविद्युत् आयोजना बनाउने जस्ता कुरा प्रमुख बनिरहेका छन्। तर, यसको विकल्प पनि संभव छ भन्ने सोच दुनियाँमा प्रचलित छैन। दुनियाँमा विकास भनेको प्रकृतिको विनाश हो। विकास भनेको मानवभित्र लोभ–लालच थप्नु हो। मै लाऊँ, मै खाऊँ भन्ने चरम स्वार्थी सोच हुनु हो।
प्रधानमन्त्री बन्ने भनेको लुई चौधौं जस्तै सुखसयल आराम गर्न दरबार बनाएर बस्ने हो भन्ने सोच नेपालमा मात्रै नभएर दुनियाँमा व्याप्त छ। जुन दुर्भाग्य हो। यसको विकल्पमा सरल जीवन पनि हुन सक्छ, सादा जीवन पनि हुन सक्छ, पौष्टिक खाए पुग्छ। विलासिताको पछाडि नलाग, पुरानोले हुन्छ भने नयाँ नखोज भन्ने चिन्तन धार्मिक परम्परामा पनि थियो।
धार्मिक परम्परामा धेरै खराब कुरा पनि थिए, तर विश्वका सबै धार्मिक परम्पराले आवश्यकता भन्दा बढी चिजबिज नखोज्न सन्देश दिएका पाइन्छ। तर, यस विपरीत सञ्चय गर्ने र थुपार्ने प्रवृत्ति विद्यमान छ। सञ्चय र लगानी गर्ने लहर चलेको छ। उत्पादन गर भन्ने लहर चलेको छ।
बीपीले आफ्नो समयमा जेसुकै भने पनि अब हुने समाजवाद सञ्चय र उत्पादन गरेर मात्रै चल्दैन। अब हाम्रो समाजलाई वितरण चाहिएको छ। अहिले दूध उत्पादन गर्नेलाई समस्या छ। कृषिले धान्दै धान्दैन। हाम्रो जडिबुटीको आय आउँदैन। प्रश्न आयको मात्रै होइन, आत्मनिर्भरताको सवाल हो। सँगैै, प्रकृति संरक्षणको पनि सवाल हो। अबको समाजवादले यी पाटोलाई नबिराई बाटो तय गर्नुपर्ने हुन्छ।
(सइन्द्र राईसँगको कुराकानीमा आधारित।)