मेयर साम्पाङको मनमौजी शासन
साम्पाङले राज्य संयन्त्रलाई पन्छाउँदै अलग्गै समूह मार्फत अध्ययन र मूल्याङ्कन विनै बनाइरहेका परियोजनाको दिगोपन र खर्चको पारदर्शिताबारे प्रश्न उठिरहेको छ।
धरानको मेयरमा उम्मेदवारी दिने तयारी गर्दै गर्दा हर्कराज राई (हर्क साम्पाङ) ले ‘धरान रेडियो ८८.९ मेगाहर्ज’ को अन्तर्वार्तामा आफ्नो परिचय दिएका थिए, ‘जनताले ऐया भन्दा सुनिने आवाज, उनीहरूको आर्तनाद।’ अर्थात् आफू जनताको दु:खमर्का सुनिदिने व्यक्ति रहेको उनको आशय थियो।
मेयर बनेपछिका गतिविधि भने यो परिचयसँग पटक्कै मेल नखाएको अनुभूति धरानवासीले गरेका छन्। मेयरले आफूले रुचाएका बाहेकका व्यक्तिका कुरै नसुनेको गुनासो गर्ने सेवाग्राही बढ्दै छन्। पछिल्लो उदाहरण हो- सर्दु जलाधार क्षेत्रमा वृक्षरोपणका क्रममा स्थानीय बासिन्दा रोजिना अधिकारीलाई साम्पाङको समूहले लछारपछार गरेको भिडिओ। निजी जग्गामा जबर्जस्ती वृक्षरोपण गर्न लागिएपछि उनले हात जोड्दै अनुनय गरिन्, ‘मेयर साप बिन्ती, कुरा सुनिदिनुस्। हामी पनि तपाईंकै जनता हौं।’
साम्पाङले ‘आर्तनाद’ सुनेनन्। बरु ‘हिंड्यो है हिंड्यो। रोपो है, रोपो’ भन्दै अघि बढिरहे।
यही सन्दर्भमा उच्च अदालत, विराटनगरले गत साउन ११ गते धरान उपमहानगरलाई ‘व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षरोपण नगर्न’ अन्तरिम आदेश दिएको छ।
एक वडाध्यक्षका अनुसार मेयर साम्पाङले गुनासो लिएर आउने सेवाग्राहीलाई राजनीतिक दलको मान्छे भन्दै हप्काउने गरेका छन्। “एउटी महिला आफूकहाँ पानी नआएको भन्दै उपमहानगरपालिका पुगेकी थिइन्। तर, मेयर साबले तपाईं कुन पार्टीको मान्छे हो भन्दै गाली गर्न थालेपछि त्यत्तिकै फर्किइन्,” नाम खुलाउन नचाहने वडाध्यक्ष भन्छन्।
साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ‘जनताको आवाज’ भन्दै आए पनि फरक विचार राख्नेहरूलाई वर्जित गर्ने गरेको एक स्थानीय बताउँछन्। उनी पनि साम्पाङको समूहले खेद्ने डरले आफ्नो नाम खुलाउन चाहँदैनन्। उनी भन्छन्, “साम्पाङले चलाएका अभियानमा पनि धेरै शङ्का हुन थालेको छ, तर बोल्न सकिने अवस्था छैन।”
संशयमा बहीखाता
साम्पाङ मेयर चुनिए लगत्तै उनकै समर्थकले चलाएको स्वतन्त्र नागरिक समाजको अगुवाइमा ‘हर्क साम्पाङ अभियान’ थालियो। अहिले नगरमा बन्दै गरेका खानेपानी परियोजना र वृक्षरोपण कार्यक्रममा यही समूह हावी छ। खानेपानीका आठ परियोजना र एक करोड वृक्षरोपण गर्ने कार्यक्रम रहेको अभियानलाई विदेशमा बस्ने नेपालीले करोडौं रकम सहयोग गरेका छन्।
स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राई धेरैजसो काम सोही रकमबाट भइरहेको स्वीकार गर्छन्। तर, यी परियोजना थाल्नुअघि पर्याप्त अध्ययन र मूल्याङ्कन गरिएको पाइँदैन। कुन परियोजनाबाट कति पानी आउँछ र त्यसले कति बासिन्दालाई पुग्छ भन्ने भरपर्दाे हिसाबकिताब छैन।
प्रवक्ता राई सर्दु-खर्दु-निशाने, पकुवा, भालु खोला, कोका, तामाखाम, माछामारन, सेउती, खर्दु गरी आठ स्थानबाट पानी धरान ल्याउने संरचना तयार भइरहेको बताउँछन्। सर्दु-खर्दु-निशानेबाट दुई लाख २३ हजार, पकुवा खोलाबाट ३६ हजार, भालु खोलाबाट एक लाख २८ हजार, कोकाबाट १७ लाख २८ हजार, तामाखामबाट १० हजार, माछामारनबाट चार हजार आठ सय र खर्दुबाट २० लाख तीन हजार २८ लिटर पानी दैनिक सङ्कलन गर्ने गरी काम भइरहेको उनी बताउँछन्। सेउतीबाट ल्याइने पानीको परिमाण भने उनलाई पनि थाहा छैन। राई भन्छन्, “सबै संरचना बनेपछि धरानको पानीको समस्या धेरै हल हुन्छ।”
खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क हेर्दा भने राईले भने जति पानी धरान झर्दा पनि सङ्कट उति कम नहुने देखिन्छ। बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार धरानलाई दैनिक तीन करोड लिटर पानी आवश्यक पर्छ। बर्खामा तीन करोड लिटरभन्दा बढी उपलब्ध हुने भए पनि हिउँदमा दुई करोड जति मात्र जुट्छ। यसरी हेर्दा थप एक करोड लिटरको प्रस्टै अभाव छ।
मेयर साम्पाङले केही समयअघि मात्र कोका खोलाको पानी ल्याएको भन्दै निकै चर्चा कमाएका थिए। विष्णुचोकको सुम्निमा ट्यांकीमा जम्मा गरिने उक्त पानी दैनिक तीन लाख ५० हजार लिटर जति मात्र आइरहेको छ। “हिउँदमा कति घट्ने हो थाहा छैन,” नगरपालिकाका कर्मचारी शंकर कार्की भन्छन्। प्रवक्ता राई स्वयं आफूहरूले चलाएको परियोजनाबाट हिउँदमा ३१ लाख लिटर जति मात्र पानी आउने अड्कल काट्छन्।
पोखरेल भने राईले दिएको खोलैपिच्छेको पानीको परिमाणलाई सही मान्दैनन्। उनका अनुसार कोका खोला बाहेक अन्य परियोजनाको क्षमता यकीन भइसकेकै छैन। “कुन योजनाबाट कति पानी आउँदै छ, अहिले भन्न सकिंदैन। किनभने त्यहाँ फ्लो मिटर राखिएको छैन,” उनी भन्छन्। यसबाट साम्पाङको समूहले हचुवामै परियोजना अघि बढाएको बुझिन्छ।
परियोजनाको खर्च विवरणप्रति पनि साम्पाङको समूह उति गम्भीर देखिंदैन। समाज अध्यक्ष दत्तकुमार लिम्बू कोका खोलाको अभियानमा काम भइरहेकाले सबै परियोजनाको हिसाब राख्न नभ्याएको बताउँछन्। “अरू कामले सबैको विवरण राख्न सकिएको छैन। नभ्याएको मात्र हो, दैनिक खर्च र आय चाहिं राखिरहेका छौं,” अध्यक्ष लिम्बू भन्छन्। उनी सहयोग बापत आएको १४ देखि १५ करोड रुपैयाँ खानेपानीमा खर्च भइसकेको अनुमान गर्छन्।
समाजले गत असार २१ गते कोका खानेपानी श्रमदान अभियान अन्तर्गत सात करोड चार लाख १८ हजार ६३२ सङ्कलन भएको सार्वजनिक गरेको थियो। त्यसमध्ये पाइपमा चार करोड ९४ लाख, इन्धनमा सात लाख, भाडा-ढुवानीमा २९ लाख, खाना तथा खाजा-पानीमा ५० लाख, विशेष प्राविधिक कामदारलाई ज्याला खर्च २७ लाख, टोचन तार र भल्ब खरीदमा ४२ लाख ९७ हजार गरी ६ करोड ५० लाखभन्दा धेरै खर्च भइसकेको हिसाब देखाइएको छ।
यसअघि कुनै हिसाब नदेखाएका उनीहरूले कोकाको हिसाब पनि खानेपानी बोर्डले भनेपछि मात्र सार्वजनिक गरेको नागरिक जवाफ सञ्जाल धरानका संयोजक राजेन्द्र शर्मा बताउँछन्। महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक समेत रहेका उनका अनुसार हिसाबको कुरा गर्दा अध्यक्ष लिम्बूले ‘कसैको राजस्व नलिएको, जनतासँग पैसा उठाएको’ भन्दै जवाफ फर्काउने गरेका छन्।
यी आयोजनाको दिगोपनमा वडाध्यक्ष र खानेपानी व्यवस्थापन बोर्डका सदस्यले नै प्रश्न उठाएका छन्। “अहिले चलिरहेका पानीका परियोजनामा न प्राविधिक पक्षलाई ध्यान दिइएको छ न त इन्जिनीयरिङमा। पाइप कतै रूखमा झुन्ड्याइएको छ त कतै ढुङ्गाले थिचेर अड्याइएको छ। यस्तो काम कसरी दीर्घकालीन होला?,” बोर्डका एक सदस्य भन्छन्।
उनका अनुसार यी काम गर्दा बोर्डसँग समन्वय त परको कुरा, सामान्य छलफलसम्म गरिएको छैन। “बोर्डमा पहिलो वर्ष एक पटक पनि बैठक भएको छैन। धरान मेयरको एकतन्त्रीय शासनले चलेको छ। अन्य आवश्यकतामा काम नभएको कुरा उठाइए बोल्नेमाथि नै अपशब्द प्रयोग हुन्छ,” उनी भन्छन्।
मेयर साम्पाङ भने आफूले बनाइरहेका संरचना सयौं वर्ष टिक्ने दाबी गर्छन्। उनी भन्छन्, “स्याहारसम्भार गरिरहनुपर्छ, नटिक्ने भन्ने नै छैन।”
ध्यान जति वृक्षरोपणमा
स्थलगत रिपोर्टिङका क्रममा मेयर साम्पाङसँग यस विषयमा हिमालखबरले कुराकानी गरेको थियो। धरानका मुख्य चुनौती र आवश्यकता के हुन् भन्ने प्रश्नमा मेयर साम्पाङ भन्छन्, “यही वृक्षरोपण हो। अरू के छ र यहाँ गर्नलाई, खै म त केही देख्दिनँ।”
धरानमा एक करोड बिरुवा रोप्ने घोषणा गरेका मेयरले तत्काललाई यसैलाई ठूलो चुनौती मानिरहेका छन्। तर, वडैपिच्छे अन्य कैयौं आवश्यकता र चुनौती रहेको वडाध्यक्षहरू बताउँछन्। धरान-१६ का वडाध्यक्ष मुरारिप्रसाद भट्टराईका अनुसार उनको वडामा खोला कटानको समस्या तीव्र छ। यो वडाको पश्चिम सिमानामा सर्दु र पूर्वमा खहरे खोला छन्। सार्वजनिक शिक्षा प्रभावकारी नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थी निरन्तर घटिरहेका छन्।
त्यस्तै, पूरै नगरलाई डेंगीले घेरिरहँदा देशकै ठूला स्वास्थ्य संस्थामध्ये पर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थेग्न सकिरहेको छैन। प्रतिष्ठान अहिले जस्तो अव्यवस्थित पहिले कहिल्यै नरहेको भट्टराई बताउँछन्। “तर, यस्ता समस्या उठाउँदा गालीको वर्षा हुन्छ,” वडाध्यक्ष भट्टराई भन्छन्, “आफ्नो मत राख्नकै लागि हिजो पञ्चायती व्यवस्था फालियो, तर धरान त्यही समयमा फर्किएको छ।”
यस्तै, धरान-१ मा बाँदर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनिरहेको छ। वडाध्यक्ष यज्ञमणि आचार्यका अनुसार स्थानीय बासिन्दा बाँदरको टोकाइबाट पीडित छन्। वडाले रेबिज भ्याक्सिन नि:शुल्क लगाइदिने घोषणा गरेको छ। तर, स्रोतसाधन अभावमा त्यसको पूर्ण कार्यान्वयन छैन। त्यसैले प्रत्येक साता बाँदरले टोकेका कम्तीमा तीन जना व्यक्ति रेबिज खोप लगाउन ३१ किमि टाढाको इनरुवा जाने गर्छन्।
अर्कातिर वडामा अव्यवस्थित रूपमा रहेका केबल टीभी, इन्टरनेट र विद्युत्का तार दुर्घटनाका कारक बनिरहेछन्। डेंगी उस्तै छ। यी समस्या समाधानमा सहकार्यका लागि मेयरलाई भनिए पनि काम नभएको आचार्य बताउँछन्। “मेयरले प्रस्ताव गरेका काम हामीले रोकेका छैनौं। रोके पनि स्वतन्त्रबाट जितेकाले काम गर्न दिएन भन्छन्। हाम्रा प्रस्तावलाई भने उति महत्त्व दिइएको छैन,” उनी भन्छन्।
चारकोसे झाडीबीच रहेको धरान-६ मा भने चोरीका घटना धेरै हुन्छन्। सुरक्षाका लागि दरबन्दी अनुसार प्रहरी नरहेको वडाध्यक्ष भूपेन्द्र भट्टराई बताउँछन्। यहाँका सामुदायिक विद्यालयका भवन जीर्ण छन्। १० पटक डीपीआर गरिसकिएको पानबारीस्थित सरस्वती माविको भवन दशौं वर्ष बित्दा पनि बनेको छैन। “वडाको बजेट पनि अघिल्लो वर्षको भन्दा आधा नै घटेको छ, एक्लो प्रयासले केही गर्न सकिने अवस्था छैन,” वडाध्यक्ष भट्टराई भन्छन्।
धरान-२ का वडाध्यक्ष रमेश राई धरानमा गर्न बाँकी विकासका काम अनेकौं रहे पनि नगर कार्यसमिति बैठक विवादमै टुङ्गिने गरेको बताउँछन्। “वडाध्यक्षले कसरी काम गरेका छन्, प्राथमिकता के हुन् भनेर कहिल्यै सोधिंदैन। जहिल्यै जुँगाको लडाइँमै बैठक सकिन्छ,” राई भन्छन्।
मेयर साम्पाङ भने समय पाउनासाथ बिरुवा बोकेर कहिले सर्दु त कहिले सेउती पुगिहाल्छन्। महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक शर्मा शुरूमा शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई ‘मिसन’ बनाएका साम्पाङले अहिले त्यसलाई छाडेको बताउँछन्।
उनका अनुसार साम्पाङ विज्ञको सुझाव लिंदैनन्। जस्तो- रोपिएका बिरुवा कस्ता हुन्, तिनले पानीको मात्रा घटाउँछन् वा बढाउँछन्, कुनै अध्ययन भएको छैन। “विकासका काम संस्थागत र योजनाबद्ध तरीकाले नगर्नु, आफैंलाई संसारको सबैभन्दा ठूलो योजनाकार मान्नु गलत छ,” शर्मा भन्छन्, “उहाँले कार्यालयमा सल्लाहकार वा विषयविज्ञ राख्नुभएको छैन। धरान विकसित हुन पानी मात्र भएर पुग्दैन।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव चन्द्र घिमिरे धरान ‘मृत शहर’ हुँदै गएको ठान्छन्। घिमिरेका अनुसार धरानको आयस्रोत खुम्चिएको छ। उद्योग, सेवा, कृषि, पर्यटन कुनै क्षेत्रले आम्दानी दिन सकेका छैनन्। बीपी प्रतिष्ठान बाहेक गर्व गर्न लायक अर्को कुनै स्वास्थ्य संस्था, पाँच वा तीनतारे होटल तथा प्राज्ञिक अभ्यास गर्ने थलो, नाट्यघर आदि पनि छैनन्। यी कुरामा धरानलाई इटहरी, दमक, बिर्तामोड, सुरुंगा लगायत भर्खरै उदाएका स्थानीय तहले उछिनिसकेको ठान्ने घिमिरे पहिले जसरी रेमिटेन्स नआउँदा खस्किएको अर्थतन्त्र उठाउन योजनाबद्ध विकास अघि बढाउनुपर्ने बताउँछन्।
खानेपानीमा केही राम्रो काम हुँदैमा त्यो पूरै शहरलाई चलायमान् बनाउन पर्याप्त नहुने उनको भनाइ छ। धरानको ‘टोपोग्राफी’ अनुसार विज्ञहरूसँग छलफल गरेर विकासको खाका बनाउनुपर्नेमा उनी जोड दिन्छन्। घिमिरे भन्छन्, “संसारमा कोही आफैंमा पूर्ण छैन। त्यसैले विज्ञलाई विश्वास गर्ने नेतृत्व नै सफल हुने हो, तर धरानमा त्यसको चरम अभाव छ।”
मेयर साम्पाङ भने सल्लाहकारले काममा अल्झो गरिदिने भन्दै आफू प्रस्ट भिजन भएको मान्छे भएकाले कसैको सल्लाह आवश्यक नपर्ने प्रतिक्रिया दिन्छन्। “म कसैको सल्लाह लिन्नँ। त्यसले अलमल्याउँछ। सल्लाह सुन्नुभन्दा अरू थप दश वटा बिरुवा रोप्छु,” उनी भन्छन्।
मिडिया ‘प्रोपगान्डा’
वडाध्यक्षहरू मेयरले आफूहरूसँग कुनै सल्लाह नगर्ने, नगरमा के हुँदै छ भन्ने जानकारी समेत मेयरकै सामाजिक सञ्जालबाट थाहा पाउनुपर्ने अवस्था रहेको बताउँछन्। आफ्ना अभिव्यक्ति, असन्तुष्टि र गतिविधि प्राय: सामाजिक सञ्जालबाटै प्रस्तुत गर्ने मेयर साम्पाङ वडाध्यक्षलाई ‘गुइँठे’ भनी सम्बोधन गरिरहेका हुन्छन्। “उनले गुइँठे भन्नु स्वाभाविक भइसक्यो, तर यसले हाम्रा परिवार र नातागोतामा नराम्रो असर परिरहेको छ,” एक वडाध्यक्ष भन्छन्। आफ्नो फेसबूक पेज ‘हर्क साम्पाङ द रिभोलुसन’ लाई जनप्रतिनिधि र फरक मत राख्नेहरूलाई गाली गर्न उपयोग गर्दै आएका साम्पाङ त्यसमा बिहान उठेदेखिकै क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन्।
सञ्चार अध्येता भानुभक्त आचार्य यसलाई साम्पाङले सामाजिक सञ्जालबाट गरिरहेको ‘प्रोपगान्डा’ मान्छन्। गरिएको कामभन्दा बढी सूचना दिनुलाई ‘प्रोपगान्डा’ भन्ने उनी साम्पाङले भएको कामभन्दा सयौं गुणा बढी गलत सूचना प्रचार गर्ने गरेको बताउँछन्। जस्तो, गत वर्ष सर्दु-खर्दु-निशाने खोलाबाट पानी ल्याएपछि साम्पाङले फेसबूकमा स्टेटस लेखे, ‘अब धरानको कायापलट भयो।’ जबकि त्यति वेला आएको दैनिक एक लाख लिटर दरको पानी पूरै धरानवासीलाई पुर्याउन पर्याप्त थिएन।
आचार्यका अनुसार साम्पाङका पोस्टहरू ‘पोस्ट ट्रूथ’ सिद्धान्तबाट परिचालित छन् जसले तर्क, सत्य र प्रमाणभन्दा भावनालाई महत्त्वपूर्ण देखाइरहेको हुन्छ। “साम्पाङले ढुङ्गा बोकेको फोटो हाल्नु, सरकारी गाडी चढ्दिनँ भन्नु, दिनरात बिरुवा रोपेको देखाउनु, आँसु झारेको फोटो हाल्नु पनि त्यही नै हो,” आचार्य भन्छन्।
सञ्चारमाध्यम र पत्रकारसँग कुरा नगर्ने, रूखो बोल्ने, फरक विचार रहेकाहरूलाई नभेट्ने साम्पाङको प्रवृत्तिलाई उनी ‘सनक’ भन्छन्।
साम्पाङले आफ्नो फेसबूकमा दैनिक ३३ देखि ४९ वटासम्म सामग्री पोस्ट गरेको पाइन्छ। साउन ७ देखि १३ गतेसम्म १९२ वटा सामग्री पोस्ट गरेकामा सबैभन्दा बढी वृक्षरोपण गरेकोबारे ६२ वटा, अरूलाई जवाफ फर्काएको ३२ वटा, अरू व्यक्तिलाई व्यंग्य गरेका १५ वटा, आक्रोशपूर्ण अभिव्यक्ति रहेका १४ वटा र अन्य विभिन्न गतिविधिका पोस्ट ६९ वटा छन्।
धरान सरोकार समाजकी सल्लाहकार सरू जोशी मेयर साम्पाङलाई सामाजिक सञ्जालबाट आक्रोश र घृणा व्यक्त गर्ने समय नगरका चुनौतीबारे छलफल गर्नमा खर्चन सुझाउँछिन्। जोशी भन्छिन्, “जनताले मेयरमा आफैं ढुङ्गा बोकेर हिंड्ने मात्र नभई समन्वय गर्ने, नैतिक-रणनीतिक भएर बोल्ने, सहकार्य गर्ने गुण पनि खोजेका हुन्छन्।”