धरानवासीले पिउने पानीमा दिसामा पाइने जीवाणु
धरान खानेपानी व्यवस्थापन बोर्डले धरानवासीलाई वितरण गरिरहेको पिउने पानीमा दिसापिसाबमा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ।
धरान उपमहानगरपालिकाको कार्यालय अगाडि ‘स्पेक्ट्रम इन्जिनीयरिङ कन्सल्टेन्सी’ सञ्चालन गर्ने सुमन श्रेष्ठ साँझ कोठा फर्किंदा बजारबाटै बोतलको पानी किनेर लैजान्छन्। दुई साताअघि एक दिन बजारबाट पानी लान बिर्सिए। राति तिर्खाले व्याकुल भएपछि श्रेष्ठले घरकै धारामा आउने पानी थापेर पिए।
बिहान उठ्दा उनलाई हनहनी ज्वरो आयो। पाखाला पनि लाग्यो। खपिनसक्नु गरी टाउको दुख्यो। निकै दिन औषधोपचार गरेपछि तङ्ग्रिएका श्रेष्ठलाई राति धाराको पानी पिएपछि समस्या आएको प्रस्ट थियो। उनले चिनेजानेका धेरै जनालाई पनि पेट दुख्ने, जीउ चिलाउने, आँखा पाक्ने, ज्वरो आउने समस्या देखिएको थियो। उनले सोचे- पक्कै पनि पिउने पानीमै गडबड छ।
धरानमा चार महीनायता डेंगीको महामारी फैलिएको छ। भाइरल ज्वँरो, आँखा पाक्ने समस्याले पनि उत्तिकै गाँजेको छ। डेंगी महामारी फैलिएपछि धरानका कतिपय नेता तथा बुद्धिजीवीले खानेपानी बोर्डले फोहोर पानी वितरण गरेका कारण विभिन्न रोग फैलिएको आरोप लगाउँदै आएका छन्।
धाराको पानी पिउँदा बिरामी परेका श्रेष्ठलाई पनि शङ्का लाग्यो। त्यसपछि उनले आफ्नै खर्चमा पानीको गुणस्तर परीक्षण गर्ने निधो गरे। उनी भन्छन्, “धरानभन्दा बढी फोहोरमैला देखिने इटहरी र विराटनगरमा यस्तो समस्या नहुनु तर सफा भनिने धरानमा किन विभिन्न रोग आइरहन्छ भन्ने जिज्ञासा लागेर पानी परीक्षण गराएँ।”
उनले धरानवासीले पानी पिउँदै आएको पानी ट्यांकी, धारा र स्रोत गरी सात ठाउँको नमूना सङ्कलन गरेर साउन १५ मा खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा दिए। साउन १६ मा ल्याबले दिएको रिपोर्ट अनुसार खानेपानी बोर्डले जमीनमुनिबाट बोरिङ गरी निकालिएको पानीमा मात्र ‘कोलिफर्म’ देखिएको छैन। अन्य ६ ठाउँको नमूनामा ‘कोलिफर्म’ को मात्रा ५ देखि ३५ सम्म भेटिएको छ।
मानिस र जनावरको दिसापिसाबमा पाइने जीवाणुको समूह हो, कोलिफर्म। पानीमा कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ। राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयु) हुनुपर्छ। अर्थात् पानीको कोलिफर्म हुनु हुँदैन।
धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं. १७ र ११ को सीमा क्षेत्रमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुई वटा स्रोतको पानी मिसाइएको छ। त्यसमध्ये एउटा स्रोत जमीनमुनिबाट बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन।
त्यही ट्यांकीमा कोका खोलाबाट ल्याएको पानी मिसाइएको छ। कोका खोलाबाट ल्याइएको पानीमा कोलिफर्मको मात्रा ५ पाइएको छ। धरानका हर्कराज राई (हर्क साम्पाङ)को नेतृत्वमा अभियान सञ्चालन गरेर कोका खोलाबाट पानी ल्याइएको हो।
त्यस्तै, बोर्डको सर्दु खोलामा रहेको रिजर्भेशन ट्यांकीको नमूना परिक्षण गर्दा कोलिफर्मको मात्रा १० भेटिएको छ। सर्दु खोलाको पानी ट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ।
यसैगरी, निसाने खोलाको निर्माण गरिदिएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ। ब्रिटिश वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको हो। निसाने खोलाका ट्यांकीहरूमा विभिन्न खोलाबाट ल्याइएको पानी सोझै मिसाउने गरिएको छ।
ल्याबको परीक्षण रिपोर्ट अनुसार धरान-१३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट छ। त्यस्तै, धरान-१४ को विजयपुरस्थित ट्यांकीबाट धरान-३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ।
मेयर साम्पाङको नेतृत्वमा सञ्चालन गरिएका अधिकांश अभियानबाट ल्याइएको पानीको वैज्ञानिक परीक्षण गरिएको छैन। खोलाखोल्सीबाट सीधै पाइप जडान गरेर ल्याइएको पानी शुद्धीकरण नगरी ट्यांकीमा मिसाउने गरिएको छ।
धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माइक्रोबायोलोजी विभागका संयोजक धिरेन लिम्बूका पानीमा ‘फिकल कोलिफर्म’ देखिनुको अर्थ दिसापिसाब मिसिएको छ भन्ने बुझिन्छ। यस्तो पानी खान नमिल्ने लिम्बू बताउँछन्। “फिकल कोलिफर्म देखिएको पानी खान अयोग्य हो,” उनी भन्छन्, “यसबाट झाडापखाला, हैजादेखि विभिन्न रोग निम्तिन सक्छन्। शुद्धीकरण नगरी यस्तो पानी पिउनु हुँदैन।”
सरकारी प्रयोगशालामा गरिएको पानी परीक्षणको रिपोर्ट: