‘मेरो दिशानिर्देशनमा धरान चल्ने हो’
‘यत्ति कुरा बुझ्नुस्, विरोधीहरूले हर्क साम्पाङलाई चिन्न मात्र १० वर्ष मेरो पछि हिंड्नुपर्छ। १० वर्ष हिंड्दा पनि उहाँहरूले मलाई ३० प्रतिशत मात्र चिन्नुहुन्छ। उहाँहरूलाई आज मैले बोलेका कुराहरू थाहा पाउन २० वर्ष लाग्छ।’
२०७९ काे निर्वाचनमा धरान उपमहानगरपालिकामा मेयरकाे उम्मेदवार बनेसँगै चर्चामा आए, हर्कराज राई (हर्क साम्पाङ)। चुनाव जितेसँगै देश र विदेशमा रहेका नेपालीमाझ साम्पाङको हाइहाइ चल्यो। अझ खानेपानीका लागि श्रमदान अनि वृक्षरोपण जस्ता जनसहभागितामूलक कामले त उनको चर्चा झन् चुलियो।
तर, विवादास्पद अभिव्यक्ति, वडाध्यक्षहरूसँगको मनमुटाव, प्रशासनिक काममा बेवास्ता लगायतका कारणले पछिल्लो समय उनको आलोचना पनि हुन थालेको छ। सार्वजनिक रूपमा उठेका प्रश्नलाई लिएर साम्पाङसँग संवाद गर्न हिमालखबरको टोली धरान पुगेको थियो। उपमहानगरको कार्यालयमा रहेको आफ्नो कार्यकक्षभन्दा पनि धेरै समय जनसहभागितामूलक कार्यक्रम स्थलमै व्यस्त देखिए।
उनी वृक्षरोपण स्थलमा संवाद गर्न राजी भए। सर्दु जलाधार क्षेत्रमा चलिरहेको वृक्षरोपण क्षेत्रमा हिमालखबरका लागि अनिता भेटवालले साम्पाङसँग गरेको संवाद:
धरानको मुख्य प्राथमिकता वृक्षरोपण नै हो?
हो। बिरुवा रोप्नु नै यहाँको काम हो। अरू त के काम छ र?
बैठक बस्यो, भत्ता पचायो, फेरि बैठक बस्यो, भत्ता पचायो भन्दा त मलाई सबैले यसरी बिरुवा मात्र रोपेर हिंडे हुन्थ्यो भन्ने लाग्छ। जस्ताे असार १० मा पनि नगर समिति बैठक बसेको थियो। केही पनि उपलब्धि भएन। चियानास्ताको पैसा मात्र सकियो। यहाँ आएर काम गरेको भए मेलो अगाडि बढ्थ्यो। वातावरण र प्रकृतिको संरक्षण नै विकास हो।
धराने जनतालाई पानी खुवाउने योजना चाहिं कहाँसम्म पुग्यो?
पानीका लागि थुप्रै काम गरिरहेको छु। साना साना खोलाको पानी ल्याएर धरानका जनतालाई खुवाउने प्रयास गरेको छु। कोशीबाट पनि पानी ल्याउँदै छौं। तर, त्यो संघीय आयोजना हो। हाम्रो अनुरोधमा केन्द्र सरकारले काम गरिरहेको छ।
भर्खरै, कोका खोलाबाट पनि पानी ल्याएका छौं। अहिले तिनै पानीको मुहान सुधार्न वृक्षरोपण गरिरहेका हौं।
धरानका जनतालाई पानी खुवाउन तपाईंले गरेको काम प्रशंसायोग्य र उदाहरणीय नै मानिन्छ। यद्यपि यसको संरचनाको दिगोपनलाई लिएर आशङ्का पनि त गरिन्छ नि?
त्यसका लागि हामीले स्याहारसम्भार गर्दै जानुपर्छ। त्यसपछि नै त्यसले उपलब्धि दिने हो। यसको व्यवस्थापनमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। धरानले अहिले पानी पाइरहेको छ। कहिलेकाहीं खडेरीमा भने अभाव हुन्छ।
नगरपालिकाभन्दा बाहिर अभियान अन्तर्गत खानेपानीको काम गर्दा पनि यिनको विश्वसनीयतामा प्रश्न उठेको हो कि?
त्यसो भन्ने व्यक्तिहरूलाई म सोध्न चाहन्छु, कोशीको प्रोजेक्ट कसले ल्याउँदै गरेको हो? पहिला कसैले यसमा संघको बजेट पार्न सक्यो? म यति वेला धरानको साधारण मेयर मात्र होइन, मैले बोलेका कुराहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि सुनिन्छन् र बुझिन्छन्। त्यो स्तरमा धरान पुग्नमा मेरै कारण नै होला नि, हैन त?
पहिला धरानलाई कसैले चिन्दैनथ्यो। आज तपाईं (अन्तर्वार्ताकार) पनि बगरमा आइपुग्नुभएको छ। त्यसैले आज एउटा व्यक्ति मात्र नभएर अरूले पनि माया गरेर पानीको काम भएको छ। यसको दीर्घकालीन प्रभावकारिताको प्रश्न उठाए पनि यसअघि अरूले यो काम गर्न सकेका थिएनन्। अरूले गर्न नसकेको कुरा हामीले एक वर्षमा गरेर देखाएका छौं।
म अरूभन्दा फरक छु। जुन बजेट विदेशी ऋणबाट लिइएको छ, जुन बजेटबाट हुने काम फितलो र कच्चा हुने गरेको छ म त्यस्ता बजेटको खासै चर्चा गर्दिनँ।
बजेट हाम्रो पनि छ। त्यहाँबाट बाटो निर्माण लगायत धेरै काम भइरहेको छ। त्यो भनेको ठेक्कापट्टाबाट हुने काम हो जुन मेरो महाशाखाबाट हुन्छ। तर, म त्यताको खासै चर्चा गर्दिनँ। त्यो केही न केही भइरहेकै हुन्छ जुन प्रक्रियागत काम नै हो। अरू भनेको अहिले हामीले केही अभियान नै बनाएर काम गरेका छौं।
अभियानमा जोडिएर काम गर्न केकस्तो योग्यता चाहिंदो रहेछ?
म जस्तो हुनुपर्छ। सोचपछि बोल्ने, बोलेपछि गर्ने। म बोल्नुभन्दा पहिला सोच्छु, सोचेपछि गर्छु। गरेपछि सम्पन्न नै हुन्छ, सफल नै हुन्छ।
म एक जीवन्त मान्छे हुँ। म त ढुङ्गामा पनि प्राण देख्छु। हरेक कुरामा म भावनात्मक कुराले जोडिएको छु। हरेक मान्छेलाई म हरेक कुरासँग भावनात्मक रूपमा जोडिनुपर्छ भन्छु।
म उहाँहरू (श्रमदान गर्नेहरू)लाई ‘बिरुवा रोप्नू’ भन्नुभन्दा ‘तपाईंको बित्नुभएको कोही परिवारजन बा, आमा, काका, काकी हुनुहुन्छ भने उहाँलाई सम्झेर बिरुवा रोप्नू’ भन्छु। त्यसरी वृक्षरोपण गर्यो भने उसको बिरुवासँग लगाव हुन्छ।
म ठूलो गीतकार त होइन, तर गीतद्वारा पनि मान्छेलाई प्रेरणा दिइरहेको हुन्छु। मेरो मुखबाट निस्किएको शब्द सन्देश बनोस्, त्यो सन्देशमा यो देश होस् भन्ने चाहन्छु। देशलाई अत्यन्तै माया गर्नुपर्छ भन्ने सबैमा बुझाइ होस् भन्ने अवस्थामा पुर्याउन चाहन्छु।
तपाईं त जनसहभागिता र समूहमा काम गर्न मन पराउने मान्छे, आफ्नै वडाध्यक्षहरूसँग भने किन मिलेर काम गर्न सक्नुहुन्न?
उहाँहरूका मुख्य टाउकेहरू मसँग चुनावमा हारे। ती टाउकेहरूले उहाँहरूलाई यसो र त्यसो गर भन्छन्। उहाँहरू स्वचालित होइन, परिचालित भएर समस्या आएको हो।
लोकतन्त्रमा सबैको कुरा सुनेर, चित्त बुझाएर काम गर्न सक्नुपर्छ भनिन्छ। तर, यहाँको स्वभाव नै कुरा नसुन्ने छ भन्छन् नि?
नहुने कुरा त म कहाँ सुन्छु! म ‘लिडर’ हो। बजारमा दिनभर चिया खाँदै, गफ गर्ने ती व्यक्तिहरू लिडर होइनन्। ‘आई एम दी लिडर’ (म नेतृत्वकर्ता हुँ)।
मैले जे भन्छु, मेरो दिशानिर्देशनमा धरान चल्ने हो। म ‘कन्फ्यूज्ड’ मान्छे होइन। म त प्रस्ट ‘भिजन’ भएको मान्छे हो। मलाई कसैको सल्लाह पनि चाहिंदैन। म कसैको सल्लाह पनि लिन्नँ। त्यसले अलमल्याउँछ मात्र। सल्लाह सुन्नुभन्दा १० वटा बिरुवा रोप्छु। धरान र यो देशलाई कसरी उठाउने भन्ने भिजन मसँग छ।
त्यो भिजन मैले कुनै दिन भन्नुपर्छ भने त्यो म भन्छु पनि। यो देशलाई कसरी उन्नति र प्रगतिको पथमा डोर्याउने भन्ने भिजन मसँग छ। त्यसैले गर्दा मलाई कसैको सल्लाह चाहिंदैन, मलाई सहयोग चाहिन्छ।
खानेपानी परियोजनाका लागि श्रमदानमा भइरहेको काम प्राविधिक विषय भएकाले यसमा प्रविधिको प्रयोग भएको भए अझै दिगो र भरपर्दो हुन्थ्यो होला नि?
यो महेश बस्नेतज्यूहरूले (एमाले पोलिटब्यूरो सदस्य) पनि उठाएको प्रश्न हो। कोका खोलाको पानी ल्याएको सन्दर्भमा यस्तो भनिएको छ। तर, जसले यो भन्छ उसले झन्डी र बाहुन्नी भीरमा आएर हेर्नुपर्छ। त्यहाँ मैले कुन प्रविधि प्रयोग गर्नु? त्यहाँ भीर मात्र छ। बाँदरहरू नै लडेर तल तल पुग्ने भीर मात्र छ।
त्यहाँ के चाहिं मशिन प्रयोग गर्ने होला भनेर म सोच्छु पनि। अस्ट्रेलियामा आगो लाग्दा ठूला हेलिकोप्टरबाट आगो निभाएको देखेको थिएँ। त्यस्ता पाइपहरू ल्याएर पो मैले यहाँ काम गर्नुपर्थ्यो कि भनेर उनीहरू (बस्नेत सहितका विरोधीहरू)लाई नै सोध्छु। त्यसो गर्न मलाई कति अर्ब पैसा चाहिन्थ्यो होला त। त्यो पनि हेर्नुपर्छ।
मलाई विज्ञान तथा प्रविधि सबै सबै थाहा छ। यत्रो ठूलो उपमहानगरपालिकाको मेयरलाई त्यति नाथे कुरा थाहा नहुने हुँदैन। सारा कुरा देखेको छु। यसरी रोपेको यो बिरुवा नै मैले कुन मशिनले रोप्ने त? यस्तो भीरमा आएर झाडी फाडेर, बिरुवा रोप्न मलाई अर्बौंको मशिन चाहिएला। तर, त्यो कसले दिने?
यत्ति कुरा बुझ्नुस्, विरोधीहरूले हर्क साम्पाङलाई चिन्न मात्र १० वर्ष मेरो पछि हिंड्नुपर्छ। १० वर्ष हिंड्दा पनि उहाँहरूले मलाई ३० प्रतिशत मात्र चिन्नुहुन्छ। उहाँहरूलाई आज मैले बोलेका कुराहरू थाहा पाउन २० वर्ष लाग्छ।
यहाँ मैले मान्छेहरूलाई माटो छुन लगाएको छु। तर, एक रुपैयाँ दिएको छैन। किनभने यो उहाँहरूलाई देशसँग जोड्नका लागि हो। अब यहाँ म मात्र हर्क साम्पाङ हैन, सबै हर्क साम्पाङ भइसके। त्यसैले लिडर भनेको म जस्तो हुनुपर्छ भन्दा खेर जाँदैन। धरानमा पदको हिसाबले मभन्दा अर्को ठूलो मान्छे छैन होला तर पनि म धरानको जनतासँगै माटोमा बिरुवा रोप्न हिंड्छु।
मैले अफिसको कुर्सीमा बसेर, एसी कोठामा बसेर धराने जनतालाई बिरुवा रोप्नू भनें भने रोप्दैनन्। म लागें भने लाजै लागेर पनि मसँगै रोप्न हिंड्छन्। मेयर त मल बोकिरहेको छ भने मलाई देखेरै सबैले काम गर्ने भएकाले पनि श्रमदान अभियान चलाइएको छ।
अबको पाँच वर्ष यसरी नै बिताउने हो?
पाँच वर्ष मात्र होइन सधैंभरि अब यसरी नै काम हुन्छ। यहाँ श्रम गर्न नपाए आन्दोलन गर्छौं भन्नेहरू भइसके।
धरानमा वृक्षरोपण र खानेपानी बाहेक अन्य गर्नुपर्ने केही छैन?
खै के छन् त? म त केही देख्दिनँ।
म त बहुमुखी प्रतिभा भएको व्यक्ति हो। म सबैतिर भ्याउँछु। एकैछिनमा गीत पनि बनाइहाल्छु। फेरि टिकटकमा एक घण्टा बोल्नु पनि पर्छ। यत्तिकै मैले कहाँ सुत्न पाउँछु! सबै कुरा गर्न सकिन्छ। यो इच्छाशक्तिको काम हो।
अब बजेट बनाउने, कार्यान्वयन गर्ने, योजना तर्जुमा गर्ने लगायत सबै मैले नै गरेको छु। यो चाहिं कामप्रतिको लगाव नै हो।
तपाईं सामाजिक सञ्जालमा धेरै सक्रिय हुनुहुन्छ। धेरै प्रतिक्रिया जनाउनुहुन्छ। धेरै ‘फलोअर्स’ पनि छन्। सामाजिक सञ्जालबाट उदाएका मान्छे सामाजिक सञ्जालबाटै अस्ताउँछ पनि भन्छन् नि?
हो र! खै, म त सामाजिक सञ्जालबाटै चुनाव जितेको मान्छे हुँ।
म प्रविधि बुझ्ने मान्छे हुँ। हिजो चुनाव जित्नुअघि खासै मेरा मान्छे कोही पनि थिएनन्। स्थायी समिति थिएन, पार्टीका मान्छे थिएनन्। १२ हजार पार्टीका कार्यकर्ता छन् भन्नेहरू १२ हजार मतले मसँग चुनावमा हारेका छन्। फेसबूक नै मेरो हरेक अभियानको साथी थियो। र, मैले त्यसको प्रयोग गर्न जानेको छु।
आज मलाई प्रविधिबारे सिकाउनेलाई जवाफ दिनु र बुझाउनु भनेको मेरो समय खेर फाल्नु हो भन्ने लाग्छ।
अबको पाँच वर्षपछि धरानलाई कस्तो रूपमा देख्न पाइन्छ?
एक करोड बिरुवा रोपिनेछन्। त्यसमा ५० लाख मर्छन्, ५० लाख बाँच्छन् होला। त्यस वेलासम्म पानीको समस्या समाधान भइसकेको हुनेछ। धरानमा शान्तिसुरक्षा पनि सुदृढ भइसकेको हुन्छ।
लागूऔषधमा युवाहरू फसिरहेका छन्, त्यस्ता युवालाई सुधार्नेछौं। चेतनाको खेती हुनेछ।
सबैभन्दा राम्रो कुरा, मैले धरानमा श्रमदान शुरू गरें जसको चर्चा देशभर भयो। मैले जीवनमा केही गरें भन्नुपर्दा दुई वटा काम गरें भन्छु। एउटा, यो देशमा श्रमदान गर्ने जनताहरू जन्माएँ र अर्को बिरुवा रोपें।
अरू मैले कति किलोमिटर बाटो बनाएँ, कति ट्र्याक खोलें, भवन कति बनाएँ र अरू के के भयो भन्ने खासै चर्चा गर्दिनँ। विकास भन्ने कुरा गरेर कहिल्यै पनि सकिंदैन। यहाँ मैले खानेपानीमा गरेको कामको पनि खासै कुरा गर्दिनँ। सामाजिक परिवर्तन र सामाजिक चेतना कति ल्याउन सकें भन्ने हेर्नेछु।
यहाँ श्रमदान गर्नेहरूमा मैले देशभक्ति भरिदिएको छु। अब म मात्र छैन, देशभरि धेरै हर्क सम्पाङ जन्माइसकेको छु। त्यो नै मैले गर्न सकेको मुख्य उपलब्धि हो भन्ने ठान्नेछु।
थप स्थगलत रिपोर्ट: