धरानवासीले किन पत्याए हर्क साम्पाङलाई?
राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका हर्क साम्पाङले धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएका छन्।
धरान उपमहानगरपालिकाको मतगणना शुरू भएयता गणना स्थल पब्लिक हाईस्कूलको मैदानमा दैनिक पाँच सय हाराहारी मानिस जम्मा हुन्छन्। मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) पनि त्यही भीडमा यताउता टहलिइरहेका भेटिन्छन्।
बुधबार दिउँसो चर्को घामका कारण हाईस्कूल मैदानसँगैको मञ्चमा पछिल्लो मत परिणाम सुन्न जम्मा भएका स्थानीयहरूको भीड थियो। त्यही मञ्चको एउटा कुनामा उनै साम्पाङ थाकेर सुतिरहेका थिए। उनको वरिपरि समर्थक झुम्मिएका थिए। समर्थकहरू भन्दै थिए, “राति पनि राम्रोसँग सुत्न पाउनुभएको छैन। एकछिन रेस्टमा हुनुहुन्छ।”
विद्यालयको पल्लो भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट परिणाम घोषणा शुरू भयो। सुतिरहेका साम्पाङ दौडिंदै अगाडि गए र आफ्नो मोबाइलमा रेकर्ड गर्न थाले। मतगणना शुरू भएदेखि नै राजनीतिक दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरिरहेका उनले बुधबार भने सबै दलका उम्मेदवारलाई उछिने। यो सामग्री लेखिरहँदा उनको अग्रता जारी नै छ। हरेक वडाको मतगणनामा उनको चुनावचिह्न ‘लौरो’ को मत घोषणा हुने बित्तिकै ताली बज्छ। मतमा उनले अग्रता लिएसँगै वरिपरि झुम्मिने र सेल्फी खिच्नेहरूको सङ्ख्या पनि बढ्दो छ।
पहिला सडकमा एउटा हाते माइक बोकेर एक्लै पनि भ्रष्टाचार विरुद्ध आवाज उठाइरहने उनी अहिले धरानको सेलेब्रिटी बनेका छन्। हिजोसम्म उनलाई नपत्याउनेहरू आज उनलाई भेटेर बधाई दिइरहेका छन्। धेरैले हर्क साम्पाङ एक्कासि चर्चामा आएको ठान्छन्, तर उनी भन्छन्, “यो एक्कासि आएको माहोल होइन। यसका लागि मैले धेरै लामो संघर्ष गरेको छु।”
वैशाख ३१ मा मतगणना शुरू भएको दिन धरान वडा नं १ को सय मतको परिणाम सार्वजनिक हुँदा साम्पाङको सबैभन्दा बढी ३३ मत थियो भने नेपाली काङ्ग्रेसका उम्मेदवार किशोर राईको ३१ र एमालेकी मञ्जु भण्डारीको १६ मत आएको थियो। शुरूआती मतले सबैलाई चकित बनायो। किनभने, वडा नं. १ काङ्ग्रेसको गढका रूपमा परिचित थियो। त्यसमाथि साम्पाङले त्यो वडामा प्रचारप्रसार गरेकै थिएनन्। त्यसपछिका गणनामा पनि कहिले उनी पहिलो र कहिले दोस्रो स्थानमा आइरहे। यो मत परिणामबाट अरू मात्र होइन, साम्पाङ आफैं पनि अचम्मित बने। उनले बुधबार सुनाए, “वडा नं. १ देखि ६ सम्म यत्तिको मत आउला भनेर सोचेकै थिइनँ। तर, मैले धरानका लागि गरिरहेको संघर्ष सबैले बुझ्नुभएको रहेछ। अरू वडामा चाहिं मैले सोचे जस्तै मत आइरहेको छ।”
करीब १० वर्षदेखि साम्पाङ धरानका जनसरोकारका मुद्दा उठाएर आन्दोलन गरिरहेका छन्। कहिले उनी खानेपानी समस्याका विषयमा आन्दोलन गर्छन् त कहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृति विरुद्ध त्यहाँका अधिकारी समक्ष गएर प्रश्न उठाउँछन्, धर्ना बस्छन्। सरकारी निकायबाट प्राप्त हुनुपर्ने सेवा–सुविधामा ढिलासुस्तीका विरुद्ध खुलेर लागेका उनी बेरोजगारीबारे आवाज उठाइरहेका हुन्छन्। “मैले उठाएका विषय सबैका साझा समस्या हुन्,” उनी भन्छन्, “सबैको सरोकारका विषयमा आवाज उठाएकाले धरानवासीले मलाई साथ थिएको ठानेको छु।”
अभियानबाट आर्जित विश्वास
साम्पाङ एक समय वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका थिए। विदेशबाट फर्किएपछि राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरे। त्यस वेला उनी नामको पछाडि ‘क्रान्ति’ उपनाम लेख्थे। उनले आदिवासी मूलवासी एकता सञ्जाल, आम एकता अभियान पनि चलाए। उनले टेम्पो एकता संघ समेत खोलेका थिए। उनी आफैं पनि टेम्पो व्यवसायी हुन्। शुरूमा कहिले एक्लै र कहिले सानो समूहमा भ्रष्टाचार र विकृति विरुद्ध टोल टोलमा माइकिङ गरेका उनले समाजमा देखा परेका समस्याबारे खुलेर बोले। उनी आवाजविहीनहरूका आवाज बन्दै अघि बढे।
२०६८ सालमा धरान उपमहानगरपालिकाले सम्पत्ति करमा अत्यधिक वृद्धि गरेपछि धरानका स्थानीय आन्दोलित थिए। शुरूमा भूतपूर्व सैनिकहरू नन्दबहादुर राई, टंकराज राई, गजेन्द्रमान क्याक चोङबाङ, श्यामकुमार राई, ज्ञानबहादुर राई, तुलसा गुरुङ, पूर्णिमा राई लगायत आन्दोलनमा उत्रिए। धरान उपमहानगरपालिकाका पूर्व उपमेयर कृष्णनारायण पलिखे त्यस अघिदेखि नै भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा परिचित थिए। उनले पदमा छँदै तत्कालीन धरान नगरपालिकामा भ्रष्टाचार भएको भन्दै राजीनामा दिएका थिए। भूतपूर्व सैनिकहरूको यो आन्दोलनको नेतृत्व उनै पलिखेले गरे। त्यसपछि जनसरोकार मञ्च दर्ता गरेर उनीहरूले धरानको खानेपानीदेखि उपमहानगरको कर, अन्य सामाजिक समस्याबारे आवाज उठाउन थाले।
उता छुट्टै आन्दोलन गरिरहेका हर्क साम्पाङ पनि जनसरोकार मञ्चसँग मिलेर संयुक्त आन्दोलनमा सहभागी भए। केही वर्षअघि जनसरोकार मञ्चका अध्यक्ष पलिखेको निधन भयो। त्यसपछि भने त्यस्ता आन्दोलनको नेतृत्व साम्पाङले नै गर्न थाले। मञ्चका सचिव भक्तसिंह क्षेत्री भन्छन, “उहाँ पछि जोडिनुभएको हो, तर हामी मिलेर धेरै आन्दोलन गर्यौं। अहिले पनि हाम्रो अभियान सँगसँगै सञ्चालन भइरहेको छ।’
२०७४ सालको स्थानीय चुनाव जितेका मेयर तारा सुब्बाको निधन भएपछि २०७६ मा उपनिर्वाचन भयो। त्यस वेला साम्पाङले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यस वेला उनको चुनावचिह्न पानीको बोतल थियो। उनले ५४० मत मात्र पाए। तर, उनी निराश भएनन्। बरु उनले अर्को चुनावमा उठ्ने त्यसै वेला घोषणा गरेका थिए।
त्यसपछि उनले अभियानलाई झनै तीव्र बनाए। उनले खानेपानी समस्यालाई प्रमुख मुद्दा बनाए भने अन्य समस्याहरूमा पनि आन्दोलन गरिरहे। धरान उपमहानगरपालिका कार्यालय अगाडिको प्रदर्शनमा उनी जनप्रतिनिधिहरूलाई चुनौती दिंदै भन्थे, “खानेपानीमा किन समस्या भयो? भ्रष्टाचार किन बढ्यो? बाहिर आएर जवाफ देऊ।” तर, उनलाई कहिले प्रहरी लगाएर हटाइन्थ्यो, कहिले पक्राउ गरिन्थ्यो।
एक पटक उनी खानेपानी संस्थानका कर्मचारीहरूलाई लिएर पानीको मुहान अनुगमन गर्न गएका थिए। त्यस क्रममा पानीको पाइप तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गर्यो। यस्तै, खानेपानी संस्थान धरान शाखाका तत्कालीन प्रमुख रामकुमार श्रेष्ठ र कर्मचारी मदनकुमार राई विरुद्ध पनि मुद्दा दायर गरियो। साम्पाङ १५ दिन थुनामा परेर छुटेका थिए। पछि अदालतबाट सबैले सफाइ पाए।
२०६८ असार २६ मा धरानका खोलानालाबाट ढुङ्गा–गिटीको अनियन्त्रित उत्खनन रोक्न साम्पाङको समूह खोलामा गएको थियो। त्यस क्रममा टिपर चालकहरूले आक्रमण गर्दा उनको समूहका राजेश खिम्दुङ राई घाइते समेत भएका थिए। ढुङ्गा–गिटी उत्खनन रोक्न माग गर्दै २३ असारमा गएका साम्पाङ, कुमारबहादुर कटुवाल, दानबहादुर घिमिरे लगायतको समूह विरुद्ध मुद्दा लाग्यो। उक्त मुद्दा खेपेका कटुवाल सुनाउँछन्, “गलत कामको विरुद्ध आन्दोलन गर्दा उल्टै हामीमाथि नै मुद्दा लाग्यो। पछि सफाइ पाइयो।”
त्यस वेला घाइते भएका राजेश खिम्दुङ पनि यस पटकको चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मेयर पदकै उम्मेदवार छन्। पहिला जनसरोकार मञ्च मार्फत आन्दोलनमा सक्रिय पूर्णिमा राई भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरको उम्मेदवार छिन्।
साम्पाङको समूहबाट चाहिं भूतपूर्व गोर्खा सैनिक दत्तकुमार लिम्बू उपमेयरका उम्मेदवार छन्। बिहानसिंह श्रेष्ठ, बबी राई, अशोक बज्राचार्य लगायत धरानका विभिन्न वडाका अध्यक्ष पदका उम्मेदवार उठेका छन्। उनीहरू सबै भ्रष्टाचार विरुद्धको अभियानसँग जोडिएका हुन्। अरू उम्मेदवारहरूले न्यून मत पाए पाएका छन्, साम्पाङको मत भने बढ्दो छ। खोला उत्खनन विरुद्ध लाग्दा साम्पाङसँगै मुद्दा खेपेका कटुवाल भन्छन्, “साम्पाङजीले समाजका लागि धेरै मिहिनेत गर्नुभएको छ। बाटो बिग्रिए पनि, टेलिफोनको तार चुँडिए पनि वा अन्य समस्या पर्दा सबैले उहाँलाई सम्झिन्छन्। अरू पार्टीका नेतालाई यस्तो मतलबै छैन। अहिले उहाँको मत धेरै आउनुको कारण त्यो पनि हो।”
हुन पनि कुनै टोलमा खानेपानी आएन भने तुरुन्तै हर्क साम्पाङलाई फोन आउँथ्यो। उनी समस्या बुझेर धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुखलाई फोन गरी उनीसँग भएको कुरा फेसबूक मार्फत लाइभ गर्थे। सरकारी कार्यालयका सेवा–सुविधामा समस्या हुँदा पनि मान्छेहरू उनलाई नै गुहार्थे। उनी पनि समस्या भएका ठाउँमा गएर सम्बद्ध कर्मचारीसँग कडा कुरा गर्थे र समस्या समाधान गराउँथे। समाधान नभए आन्दोलन शुरू हुन्थ्यो।
पछिल्लो समय उनी खानेपानीको समस्यामा बढी केन्द्रित थिए। यस पटकको निर्वाचनमा उनले चुनावचिह्न धारा मागेका थिए। तर, धारा अर्कै उम्मेदवारले लगेपछि उनले चुनावचिह्न लौरो पाए। काठमाडौंमा बालेन्द्र साह (बालेन) को चुनावचिह्नसँग मिलेका कारण पनि उनलाई लौरोले फाइदै गरेको छ। संयोगले चुनावचिह्न मिले पनि उनीहरूबीच कुनै सम्बन्ध भने छैन।
धरान उपमहानगरमा लामो समय कम्युनिष्ट पार्टीले जित्दै आए पनि विकासको गति अघि बढ्न नसक्दा नगरवासी असन्तुष्ट थिए। त्यही असन्तुष्टिको अभिव्यक्ति स्वरूप २०७६ को उपनिर्वाचनमा मतदाताले कम्युनिष्टको गढ ढालेर काङ्ग्रेस उम्मेदवार तिलक राईलाई पहिलो पटक जिताएका थिए। तर, उनी शुरूदेखि नै विवादित बने। उनी मेयर बनेको केही समयमा विष्णुपादुकामा रूख कटान गरेपछि विवादमा परे। तिलक मेयर बन्नुभन्दा अघि खानेपानी संस्थानलाई बोर्डमा गाभ्नु हुँदैन भन्ने पक्षमै आन्दोलित थिए, तर मेयर बनेपछि उनकै सक्रियतामा संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभियो। तर, पानीको समस्या समाधान हुनुको साटो झनै चर्कियो।
बोर्डले दैनिक एक करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने र सर्दु जलाधार क्षेत्रको स्रोतबाट ४० लाख लिटर पानी जम्मा गरी वितरण गर्ने भनेको थियो। धरानमा अहिले दुई करोड ५० लाख लिटर पानीको माग छ। तर, अहिले बोर्डले दाबी गरे जति पनि पानी उत्पादन भएको छैन। बरु उनै तिलक राईले विना प्रक्रिया बोर्डमा आफन्त र कार्यकर्ता भर्ती गरे।
दलका नेताहरू नगरवासीको समस्या समाधान गर्नुको साटो बोर्डमा आफन्त र कर्मचारी भर्ती गर्न व्यस्त बने। उता हर्क साम्पाङ टोल टोलमा पुगेर स्थानीयका समस्या बुझ्दै, उनीहरूको समर्थन लिंदै आन्दोलनमा होमिए। त्यसैको परिणाम अहिलेको चुनावमा देखिएको छ। “जनतालाई राजनीतिक सिद्धान्त चाहिएको होइन, जीविका सहज होस्, सरकारी कार्यालयबाट सहजै सेवा पाइयोस् भन्ने मात्र चाहना छ,” साम्पाङ भन्छन्, “दलहरूले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नसकेको अवस्थामा मैले सहयोग गरें। अहिलेको मत परिणाम त्यसैको प्रतिफल हो। यसले दलहरू सच्चिएनन् भने समाप्त हुने देख्छु।”