काठमाडौंको ढुङ्गे युगको धरातलीय जाति नाग
नेपाल-खाल्डोमा गोपालको ठीक अगाडि नागको वर्चस्व वा उपस्थिति मान्ने हो भने नाग जाति यहाँ तीन हजार वर्षअघि थियो भन्न सकिन्छ।
[यो लेख ‘काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि’ को पूरक हो।]
नेपाल-खाल्डो अर्थात् काठमाडौं उपत्यका विगतमा विशाल दह भएकाले यसको धरातल खेतीका लागि निकै मलिलो थियो। यसकै कारण काठमाडौं सभ्यताको विकासक्रममा कृषियुगीन पाषाणकालदेखि यहाँ प्रवेश गरेका मानिस सकभर अन्यत्र गएनन् र यहाँ बसाइँ आउने क्रम पनि बढ्दै गयो। विश्व फलाम युग हुँदै औद्योगिक युगमा प्रवेश गरे पनि काठमाडौं सहित सिङ्गो नेपाल आधा शताब्दी अघिसम्मै प्रारम्भिक फलाम युगीन कृषि सम्बन्धी आर्थिक पृष्ठभूमिमा रहेको यहाँको आर्थिक-सामाजिक संरचनाले छर्लङ्ग पार्छ। नेपाली जनजीवनमा आरन, घट्ट, सिलौटा, जाँतो, हाँडी, घैंटा, नल-पँधेरो आदिको पकड यसैका ज्वलन्त उदाहरण हुन्। केही दशक अघिसम्म शहरबजारमा पनि देखिने यी वस्तु दूरदराजका गाउँमा त अझै पनि जीवनपद्धतिकै रूपमा प्रयोगमा छन्।
प्रागैतिहासिक र ऐतिहासिककालमा नेपाल-खाल्डोको सुरक्षित पर्यावरण र उर्वर कृषिभूमिकै कारण बसाइँ आएका मानिसले सानो परिधिको माटोलाई ‘धेरै शताब्दीदेखि खेतीका लागि घना गरा प्रविधिमा खनिएको हुँदा यसको प्रारम्भिक मूल अर्थात् भर्खर खेती गर्न थाल्दाको भूसतहको माटो जोगिएको छैन’ भन्दै भौगर्भिक अनुसन्धाता गुडरुन कोभिनसले अनवतरण पल्टाइँदै गरेको यहाँको भूगोलमा प्रागैतिहासिक उपकरण नभेटिन सक्ने सङ्केत गरेका थिए। तर, काठमाडौं उपत्यकामा विकास भएको सभ्यता कृषियुगीन नवपाषाणकालदेखिकै निरन्तर हो भनेर यहाँको संस्कार, संस्कृति लगायत मौखिक इतिहासले देखाउँछ।
आधा शताब्दीयता चाहिं काठमाडौंमा कृषिका लागि भन्दा पनि अन्य आर्थिक सम्भावनाको खोजी र राजनीतिक कारणले जनघनत्व अचाक्ली बढेको र कृषियोग्य भूमि कंक्रिटका भवनले छोपिएको जगजाहेर नै छ। यसले गर्दा प्रागैतिहासिक उपकरणका अवशेष नबच्ने र मौखिक इतिहासका सङ्केत स्थलहरू बिलाउने अवस्था सिर्जना भएको छ। यद्यपि यहाँको भूगोल र भेटिएका केही प्रागैतिहासिक उपकरणका आधारमा विज्ञहरूले सिङ्गो नेपालका पहाडी भूभाग पुरापाषाणकालदेखिको र उपत्यका वा नदी मालभूमिहरू नवपाषाणकालदेखिको मानव बस्ती भएका ठाउँ हुन् भन्ने ठहर गरेका कारण यसकै आधारमा काठमाडौं उपत्यकाको नवपाषाणकालीन धरातलबारे आकलन गर्न सकिन्छ।
रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मीले अर्को ठोस प्रमाण प्राप्त नभएसम्म पूर्वी नेपालको नवपाषाणलाई इसापूर्व २००० देखि १००० बीचमा राख्नु उचित हुने भनेका छन्। यो नेपालको पूर्वी खण्डको पश्चिमी किनारमा पर्ने काठमाडौं उपत्यकाको नवपाषाणकालको समयावधि खोतल्ने दरिलो आधार हो। प्रामाणिक ऐतिहासिक दस्तावेजहरूकै आधारमा नेपालको इतिहास लिच्छविकालभन्दा अगाडि जान नसक्ने छर्लङ्गप्रायः छ। किनभने त्यसभन्दा अघि यहाँ लेख्ने परम्परा नै थिएन। लिच्छविभन्दा ठीक अगाडिका शासक भनिएका किरात किलाक्षर लिपिको दस्तावेज भएको आदिम मेसोपोटामिया सभ्यताको भूभागबाट बसाइँ आएका भन्ने एक अनुमान (भिक्टर प्रधान, किरात: शब्द, वंश र बसाइँसराइ, हिमाल, २०७९ भदौ) भए पनि ट्याब्लेट (माटोका फलेक जस्ता सम्म पाटा) मा किलाक्षर कुँदेर दस्तावेज सुरक्षित राख्ने सीप, सम्पन्नता र मनस्थितिको पर्यावरणका साथ आदिम किरात हिन्द उपमहाद्वीप छिरेको देखिंदैन। शुरूमा आएकाहरू खान-बाँच्नकै दु:खले पूर्व लागेका शिकारी युगीन यायावर थिए, पछि आएकाहरू चाहिं कुनै कारणवश आफ्नो थलो छोड्न बाध्य भएर आएका आदिम किरात थिए।
आदिम किरात भन्नाले आजभोलि किरात भनेर बुझिने जातिसमूहभन्दा फराकिलो अनेक जाति सम्मिलित समूह हो। बाहिरियाहरूले आदिम कालमा समग्रमा किरात भन्ने गरेको त्यो अनेक जातिको समूह हिन्द उपमहाद्वीपको उत्तरी पाखाभरि छरिएर बसेका थिए (भिक्टर प्रधान, ‘को हुन् किरात?’, हिमाल, २०७८ फागुन)। त्यस पृष्ठभूमिमा काठमाडौं उपत्यकामा किरातको कुनै एक समूह (इमानसिंह चेम्जोङका अनुसार सौमर किरात)ले धेरै पछि केही समय राज्य गरेको हो। त्यतिखेर सौमर बाहेकका अरू किरात पनि यस उपत्यकामा पक्कै थिए। किरात शासनभन्दा अगाडि नेपाल-खाल्डोका शासक भनिएका गोपाल र महिषपाल हुन्। त्यसभन्दा अघि यहाँ केकस्ता मानिस थिए भन्नेबारे यहाँका शिलालेखपछि ऐतिहासिक दस्तावेजका रूपमा प्रयोग गर्ने गरिएका कुनै वंशावलीले केही पनि भन्दैन। तर, पुराण आदि लिखतले यहाँ मञ्जुश्रीले दहको पानीको निकास खोलेर मानव बस्ती बसाल्नुअघि अमानव सरीसृप नागहरू थिए भन्ने सङ्केत गर्छ।
नाग नेपाल मात्र नभई हिन्द उपमहाद्वीपकै प्राचीनतम प्रमुख जातिमध्येको थियो। आर्य सभ्यताको व्यापक विस्तारका क्रममा यस उपमहाद्वीपमा प्रागैतिहासिक यो जातिको अस्तित्व लोप हुन पुग्यो। ‘नागको इतिहास मेटिनामा संस्कृत वाङ्मयका प्रतीकात्मक प्रकथन र त्यसैको सादृश्य अनुकरणमा अनुकृत अतिरञ्जनात्मक दन्त्य-लोकवार्ता आदिको भूमिका छ, जसमा तिनलाई रूप फेर्न सक्ने मायावी, पाताल वा पानीमुनि बस्ने, ऐश्वर्यवान्, फणाधारी सरीसृप जीवका रूपमा चर्चा गरियो। यसले नागको इतिहास दिग्भ्रमित बनायो’ (भिक्टर प्रधान, ‘को हुन् नाग ?’, हिमाल, २०७९ कात्तिक)। तर, कथाइतर मानव नाग जातिको अस्तित्व इन्डियाको प्राचीन इतिहासको राजवंश तथा वर्तमानमा त्यहाँका अनेक जात-थरमा उपस्थित छन्। त्यसै सिलसिलामा गाँसिएर नेपालको तराई क्षेत्रमा चिडियामार, पासवान, भारशिव आदि थरका नाग जातिका मानिस छन् (भिक्टर प्रधान, ऐजन)।
किसान सागा जातिको उत्पत्ति नागबाटै भएको कथा पनि पाइन्छ। प्रागैतिहासिक नेपाल-खाल्डोका नागहरूका सन्दर्भमा अहिले आफूलाई नाग भनेर किटान गर्ने चेतना नभएका तर नाग हुन सक्ने सम्भावनाका नेवार जातीय थरघरहरू हुनुपर्ने अनुमान छ। नाग र गोपालकालबीच अरू जातिको उपस्थिति जनाउने सङ्केत केही नभएकाले गोपालको ठीक अगाडि नेपाल-खाल्डोमा नागकै वर्चस्व वा उपस्थिति मान्ने हो भने नाग जाति यहाँ तीन हजार वर्षअघि अर्थात् इसापूर्व १५३५ देखि उताको समयमा थिए भन्न सकिन्छ।
जगदीशचन्द्र रेग्मीले मालीगाउँस्थित राजा जयदेव वर्माको शालिकमा रहेको इस्वी संवत् १८५ को अभिलेखलाई किरात शासनको अन्त्यको बिन्दु मानी गोपाल वंशावली अनुसार ३२ किरात राजाको कुल भोगवर्ष १९०३.८ मा १८५ कटाएर यलम्बरको राज्यकाल इसापूर्व १७१८ मानेका छन् (‘नेपाली किरात जातिको गौरवमय इतिहासको परिप्रेक्ष्यमा किरात येले संवत्को प्रचलन तथा संवैधानिक मान्यताको उपक्रम’, निप्सुड- किरात राई यायोक्खाको मुखपत्र, अङ्क २९, २०६७ जेठ)। बालचन्द्र शर्माले किरात शासक जितेदास्तीको समयमा बुद्ध नेपाल आएको इसापूर्व ५२० मानेर एक पुस्ता बराबर ४० वर्षको सालाखाला मानकमा आठ वा ६ पुस्ताअघिका यलम्बरको समय इसापूर्व ८४० रहेको हिसाब निकालेका छन् (नेपालको ऐतिहासिक रूपरेखा)। यद्यपि बुद्ध नेपाल-खाल्डो आएको तथा बुद्ध र जितेदास्ती एकै समयको भन्ने ऐतिहासिक रूपमा प्रमाणित नभएकाले बालचन्द्रको सङ्केत पूर्णतः सही मान्न सकिंदैन।
जगदीशचन्द्रको गणना ऐतिहासिक काल निर्धारणकै लागि गरिएको नभई पाँच हजार वर्ष पुरानो मानिने किरात येले संवतको समय संशोधन गर्नुपर्ने सन्दर्भको सङ्केतका लागि भएकाले उक्त मिति सबै प्रयोजनमा अक्षरश: सकार्न आवश्यक छैन। किनभने गोपाल वंशावली बाहेक अन्य वंशावलीले किरात राजाको संख्या ३२ भन्दा कम रहेको जनाउँछन् र वंशावलीपिच्छे ती राजाहरूको भोगवर्ष पनि फरक छन्। गोपाल वंशावलीका अनुसार ३२ राजामध्ये ७० देखि ९० वर्षसम्म राज्य गर्ने १३ जना र कम्तीमा ३१ देखि ४० वर्षसम्म राज्य गर्ने तीन जना भएको सन्दर्भमा त्यतिखेर मानिसको पूर्ण आयु १०० वर्ष मान्दा पनि ३२ मध्ये १३ जनाले ७० वर्षभन्दा बढी राज्य गरेको आँकडा सामान्यतया पत्याउन गाह्रो पर्छ। पत्याउने हो भने बाजेपछि नाति वा पनातिले बालककालदेखि वृद्धसम्मै राज्य गरेको मान्नुपर्ने हुन्छ।
जगदीशचन्द्रको किरात राज्यको अन्त्य इसापूर्व १८५ मान्नाको आधार भने किरात र लिच्छवि शासनबीच समयको अन्तराल नभएको भए अर्थात् किरात जाने बित्तिकै लिच्छवि आएका भए इतिहास मान्य हुन्छ। त्यसैले किरात राज्यकालको अन्त्य इसापूर्व १८५, किरात राजाहरू गोपाल वंशावली अनुसारका ३२ र भोगवर्ष बालचन्द्रले मानेको सालाखाला ४० वर्ष (इतिहासमा एक पुस्ता बराबर कसैले ४० र कसैले २५ मानेर कालगणना गरिएको पाइन्छ। यसरी आधुनिक नेपालको शाहवंशको १० पुस्ते कालगणना एक पुस्ताको भोगवर्ष ४० मानेर गर्न सकिंदैन, त्यसो गरेमा पृथ्वीनारायण शाहदेखि वीरेन्द्र शाहसम्मको राज्यकाल ४०० वर्षको हुन आउँछ) सकारी त्यसमा महिषपालका तीन र गोपालका आठ राजा थपेर ४३x४०-१८५ गरी १५३५ निकालिएको हो। यस लेखको चासो इसापूर्व १५३५ मा अर्थात् तीन हजार ५०० वर्षअघि यहाँ बसोबास गर्ने जातिहरूमा नाग पनि हुनुपर्छ र तिनको जीवनपद्धति कस्तो थियो होला भन्ने हो। राजवंशको पुस्ता गणना सालाखाला २५ राखेर गणना गर्दा ४३x२५-१८५ गरी ८९० इसापूर्व हुन आउँछ।
महिषपाल र गोपाल को हुन् भन्ने सन्दर्भका विद्वान्हरूको मत वर्गीकरण गर्ने क्रममा भोगीराज चाम्लिङले एक वर्ग बनाएका छन् जसमा ती नाग हुन् र नाग अस्ट्रोल हुन् भन्ने वर्गमा निरिश नेपाल, डीआर रेग्मी र गोपालसिंह नेपालीलाई राखेका छन्। (‘जो आए पाँच सय वर्ष अगाडि’, कान्तिपुर– कोसेली, २०७९ जेठ २१)। भोगीराजको यस तेस्रो वर्गीकरणमा महिषपाल, गोपाल र नाग एक ठाउँमा मिसिएका छन्। महिषपाल र गोपाल नाग भए वा नभए पनि नाग आस्ट्रिक (अस्ट्रोल) हुन् भन्नुमा कुनै समस्या छैन। तर, यो आस्ट्रिक, ककेसी, मङ्गोल र निग्रोजन्य नृवंश विभाजन नै आधुनिक जीववैज्ञानिक नृवंशशास्त्रीहरूले पुरानो वर्गीकरण मान्ने गर्छन् जुन उन्नाइसौं शताब्दीको उत्तरार्द्धदेखि बीसौं शताब्दीको पूर्वार्द्धमा निकै प्रचलित थियो। यस वर्गीकरणमा यूरोपेलीहरूको विश्व औपनिवेशिक कालको उच्चताभासको मिश्रण अनुभूत पनि गरिन्छ। परन्तु यही वर्गीकरणलाई हिन्द उपमहाद्वीपका जातजातिको अध्ययनका लागि हालसम्म पनि आधार बनाउने गरिएको छ। यसले कतिपय सन्दर्भमा अप्ठेरो सिर्जना गर्छ। उदाहरणका लागि नेवारलाई सामान्यतया मङ्गोल जातिमा राखिन्छ तर नेवार मङ्गोल हो र होइन पनि। नेवारमा आस्ट्रिक, आर्य र ककेसी पनि छन्। अहिले पनि प्रचलनमा रहेको यस वर्गीकरणलाई मान्दा नागलाई आस्ट्रिक मान्नुपर्छ।
वास्तवमा आस्ट्रिक शब्द अस्ट्रेलिया र त्यस पूर्वका प्यासिफिक समुद्रका अनेक टापुवासीहरूलाई जनाउन बनाइएको शब्द हो, जसलाई पछि दक्षिण र दक्षिण-पूर्वी एशियाका पुराना आदिवासीहरूलाई जनाउन पनि प्रयोग गरियो। बृहत् वर्गीकरणमा आस्ट्रिक निग्रो वर्गभित्र पर्छ। खाटी निग्रोको छालाको रङ निक्खर कालो हुन्छ भने आस्ट्रिकको हल्का फुस्रो भई रातोपन मिसिएको चाकुको जस्तो कालो रङको हुन्छ। हिन्द उपमहाद्वीपका पुराना आदिवासी यसै वर्गभित्र पर्ने सन्दर्भमा नागलाई पनि यसै नश्लका मान्न सकिन्छ। तर, आस्ट्रिक भनिएका सबै जाति एकै नश्लका हुन् भन्न मिल्दैन। यसभित्र पर्ने अनेक जाति फरक फरक हुन्। महिषपाल र गोपाल चाहिं पेशागत आधारमा नामकरण गरिएका जाति भएकाले जुनै नश्ल वा जातिका पनि गोपालक र महिषपालक हुन सक्छन्। नेपालका यिनीहरूलाई निरिश नेपालले नाग भने कमलप्रकाश मल्लले चाहिं मङ्गोल (भोगीराज चाम्लिङ, ऐजन)। अर्थात् महिषपाल र गोपालहरूभित्र नाग पनि थिए भन्ने सकार्न सजिलै सकिन्छ। यहाँ सरोकारको विषय चाहिं नाग जाति नेपाल-खाल्डोमा गोपाल-महिषपाल वंशकाल र त्यसभन्दा अघि लगभग इसापूर्व १५३५ वा ८९० भन्दा अघिदेखि नै थिए भन्ने हो।
हिन्द उपमहाद्वीपका कतिपय ठाउँमा सात हजार इसापूर्वमै नवपाषाणकाल शुरू भइसकेको भए पनि मध्य गङ्गा मैदानमा ढिलो शुरू भएकाले त्यहाँको दक्षिणी भेगको नवपाषाणकाल इसापूर्व ३००० - १४०० तिरको मानिन्छ। मध्य गङ्गा मैदानमा गङ्गावारि नवपाषाणकालीन उपकरण भेटिएको ठाउँ चिरादको नवपाषाण उपकरण इसापूर्व २५०० - १३४५ को मानिन्छ (भिक्टर प्रधान, ‘काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि’, ऐजन) भने त्यसै अनुपातमा काठमाडौंको नवपाषाणकाल त्यसभन्दा केही पछिको मान्न सकिन्छ। रामनिवास पाण्डे र दिनेशचन्द्र रेग्मीले पनि सकारे अनुसार यहाँको नवपाषाणलाई इसापूर्व २००० देखि १००० बीचको मान्नु उचित देखिन्छ, जुन कालखण्ड माथिको गणना अनुसार नाग जातिको वर्चस्व रहेको समय हो। त्यसो भन्नुको अर्थ यहाँ त्यस कालमा नाग बाहेक अरू जाति थिएनन् भन्ने चाहिं होइन। यस कालमा नागको बाक्लो उपस्थितिको आभास कथ्य इतिहासले पर्याप्त दिन्छ भन्ने मात्र हो र त्यतिखेर यहाँ नाग निगमहरू नै रहेको प्रतीत हुन्छ।
(प्रधान लेखक तथा समालोचक हुन्।)