काठमाडौंको ढुङ्गेयुग: पृष्ठभूमि
पुरा र मध्य पाषाणकालमा नेपाल-खाल्डो आइपुगेका मानिसहरूले यहाँको दहको पानी भर्खरै सुक्दै गरेकाले उपत्यकाको मालभूमिभन्दा पाखाका दम्स्याइला भूखण्ड रुचाएको अनुमान हुन्छ, जहाँ बसोबासका लागि अनेक कन्दरा र शिकारका लागि घना जङ्गल थिए।
नेपालको प्राचीन इतिहास सम्बन्धी अध्ययन-अनुसन्धान मूलतः लिच्छविकालदेखिका शिलालेख र वंशावलीमा केन्द्रित र आधारित छ। मौखिक इतिहास-स्रोतको मिहिन अध्ययन र समीक्षाका प्रयत्नलाई प्रायजसो अप्रमाणित, आग्रही प्रस्तुति मानिन्छ। त्यसकारण यहाँका बहुधा इतिहासकार वंशावलीले सङ्केत गरेका लिच्छवि, किरात, महिषपाल र गोपालहरू कहाँबाट कसरी आए भनेर माथापच्ची गरी एकै घेरोमा घुमिरहेका देखिन्छन्, मानौं त्यस बाहेक काठमाडौं वा नेपालमा अरू केही छँदै थिएन र हुनै सक्दैन। हो, वरपरका अन्य ऐतिहासिक तथ्य-प्रमाणबाट पुष्टि नभएका मौखिक पुराना सामग्रीको सतही व्याख्या प्रायः पूर्वाग्रही हुन्छ। तर, यसको मिहिन अध्ययन विना शिलालेख आदि ठोस सामग्रीको अभाव रहेको क्षेत्रको ऐतिहासिकता आकलन गर्न सकिंदैन।
खासमा काठमाडौं उपत्यकामा गोपालहरूभन्दा अघिदेखि नै आवादी थियो। त्यतिखेरका सम्भावित अनेक आदिम जातिमध्ये नाग जाति एक रहेको पुराणहरूमा उल्लेख छ। पुराणका कथनमा यो उपत्यका विशाल दह रहेको र नागबारे पनि चर्चा गरिएको पाइन्छ। पुराणका कतिपय कथन इतिहास र विज्ञानको दृष्टिले अपत्यारिलो भए पनि पत्याउने आधार भएका प्रसङ्गबारे मसिनो मन्थन गरी इतिहास पहिल्याउन जरुरी छ। हिन्द उपमहाद्वीपका प्राचीन ज्ञाताहरूले यहाँको इतिहासलाई तिलस्मी शैलीमा प्रस्तुत गरी आफ्नो स्वार्थ पूरा गरे। अहिले हामीसित तिनै सामग्री बाहेक पुर्ख्यौली विगतको लिखत केही पनि छैन।
पुराणले बताउने काठमाडौं उपत्यकाको विगतबारे खोतल्दै गरौंला, यो विशाल दह थियो भन्ने पाटो चाहिं नपत्याई धर छैन। किन्तु त्यस दहको पानी पुराणले भने जसरी बाहिरिएको होइन। भौगोलिक रूपमा काठमाडौं खाल्डो दुई लाख वर्षअघि तालको रूपमा थियो (रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मी, नेपालको प्रागितिहास, पृ.३)। यहाँको पानी तीन चरणमा बाहिरिएको मानिन्छ। एक भूवैज्ञानिक सर्वेक्षणले प्रागैतिहासिक काठमाडौं खाल्डोमा करीब १० लाख वर्षअघिदेखि पानी जम्मा हुन थालेको र भूकम्प जस्ता कारणले लगभग ४८ र ३८ हजार वर्षअघि गरी दुई पटक पानी घटेको, १२ हजार वर्षअघि ताल सुक्ने गरी निकास भएको देखाएको छ (हारूताका साकाई, रिए फुजी, मिसा सुजिमोतो र मुकुन्दराज पौडेल; ‘टु टाइम्स लोवेरिङ अफ लेक वाटर एट अराउन्ड ४८ एन्ड ३८ केए, एन्ड बाई पोसिबल अर्थक्वेक्स, रेकर्डेड इन पालेओ-काठमान्डु लेक, सेन्ट्रल नेपाल हिमालय’, अर्थ, प्लानेट एन्ड स्पेस जर्नल, १८ जुलाई २०१६)। काठमाडौं उपत्यकाको पानी र भूसतहबारे भएका अनेक भौगर्भिक सर्वेक्षणका आधारमा भोगीराज चाम्लिङले लेखेको लेख (‘तालको पानी बगेर जानी’, कान्तिपुर, २०७८ असोज ९) मननीय भएकाले यहाँ यसबारे लामो चर्चा गरिएन।
भौगोलिक रूपमा बौद्ध पुराणमा वर्णन गरिए जस्तो काठमाडौं दहको पानी खड्गले डाँडा काटेर एकैपटक सुकाइएको होइन। बौद्ध र हिन्दू पौराणिक सन्दर्भ जोड्दा एउटा पक्षमा भूगर्भविज्ञानको पाटोसँग प्रतीकात्मक समानता रहन्छ। बौद्ध पुराण अनुसार मञ्जुश्रीले दहको पानी बाहिर पठाएका थिए भने हिन्दू कथन अनुसार वाणासुरले पानी थुनेर फेरि दह बनाएपछि भगवान् कृष्णले निकास खोलेर पानी सुकाए। कृष्णको उल्लेख हुनुले यो समय महाभारतकालीन भएको बुझिन्छ, तर कृष्ण नेपाल-खाल्डो आएकोबारे दन्त्य कथन र स्थानीय टिपोटहरूमा बाहेक महाभारत वा श्रीमद्भागवत जस्ता मूल ग्रन्थबाट सङ्केत पाइँदैन।
भूविज्ञान अनुसार यस दहको पानी सुकेर खेतीयोग्य बन्दा पश्चिम एशियाको मेसोपोटामिया सभ्यतामा नवपाषाणकाल शुरू भइसकेको थियो, जुन १२ हजार वर्षअघिदेखि ६ हजार ५०० वर्षअघि (१०,०००-४,५०० ईसापूर्व) सम्म रहेको मानिन्छ। संसारभर नवपाषाणकाल एकै समयमा शुरू र अन्त्य भएन, विभिन्न ठाउँमा भूगोल र मानव विकासको प्रवाह अनुसार फरक फरक समयमा फस्टायो र फरक फरक समयसम्म रह्यो। हिन्द उपमहाद्वीपमा मेसोपोटामियामा भन्दा तीन हजार वर्षपछि नवपाषाणकाल सबभन्दा पहिले उत्तर-पश्चिमी खण्डमा नौ हजार वर्षअघि देखा परेर पाँच हजार ३०० वर्षअघि (७,०००-३,३०० ई.पू)सम्म कायम रह्यो। त्यतिन्जेल पश्चिम एशियाबाट हिन्दकुश नाघेर हिन्द उपमहाद्वीपमा मानिसको आवागमन भइसकेको थियो। त्यो नयाँ ढुङ्गेयुगीन सभ्यता क्रमशः पूर्व र दक्षिण सर्दै वर्तमान इन्डियाको पन्जाब, राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश (यमुना-गङ्गा मैदान) हुँदै विन्ध्याचल-कैमुर-पारसनाथ पर्वतमाला नाघेर दक्षिणी अन्तरीपमा फैलियो। त्यसपछि मध्य एवं पूर्वी गङ्गा मैदानमा यसको विकास भएको हालसम्मको पुरातात्त्विक उत्खननले देखाउँछ। त्यसैले तुलनात्मक रूपमा वर्तमान नेपाल सरहदको दक्षिणमा रहेको मध्य गङ्गा मैदानमा नवपाषाणकाल ढिलो शुरू भयो।
यो सभ्यता विन्ध्याचल-कैमुर-पारसनाथ पर्वतमालाको फेदीमा फैलिई दक्षिण अन्तरीपतिर फैलिंदाको समय पाँच हजारदेखि तीन हजार ४०० वर्षअघिको (३,०००-१,४०० ई.पू.) मानिन्छ। त्यसभन्दा पछि मात्र उक्त पर्वतमालाको फेदीका नवपाषाणकालीन मानिस कृषिभूमिको खोजीमा विभिन्न समयमा मध्य र पूर्वी गङ्गा मैदानमा आएको अनुमान छ। यहाँ नवपाषाणकालीन वस्तु घाघरा (नेपालमा कर्णाली) किनारको चिराद (बिहार)मा सबैभन्दा धेरै भेटिए, जुन ई.पू. २५००-१३४५ को मानिन्छ।
मध्य गङ्गा मैदान भन्नाले मूलतः इन्डियाको वर्तमान विहार प्रान्त पर्छ र बुद्धकालीन हिन्द उपमहाद्वीपका मगध, अङ्ग, विदेह, वृज्जि, मल्ल, कोशल, उरुबेल (गया), वैशाली आदि पर्छन्। नेपालको सन्दर्भमा कर्णाली, गण्डकी र कोशीको तराई मालभूमि पर्छन्। यहाँ यस भूगोलको चर्चा गर्नुको कारण यही नै यस लेख सम्बद्ध नेपाल-खाल्डोदेखि नजिकैको भूगोल हो, जहाँबाट वा जुन बाटो हुँदै आएका मानिसले यस खाल्डोमा प्राचीन र मध्यकालमा सभ्यताको विकासमा महत्त्वपूर्ण भूमिका खेले। यसबाट काठमाडौं खाल्डोको प्रागितिहासमा मध्य गङ्गा मैदानको पृष्ठभूमि देखिन्छ।
मध्य गङ्गा मैदानमा नवपाषाणकाल कहिलेदेखि शुरू भयो यकीन भन्न नसकिए पनि यहाँ दक्षिण भारतमा भन्दा पछि थालनी भयो र ई.पू. ८०० मा फलामको प्रयोग भइसकेको देखिन्छ [कामेश्वर प्रसाद, ‘विहार में भौतिक संस्कृतिका पुरातात्विक अध्ययन- प्रस्तर युग से लौह युग तक’, इतिहास (भारतीय इतिहास संशोधन परिषद्की शोध पत्रिका), अंक १, भाग १, सन् २००३]। विश्व इतिहासमा फलाम युगलाई नवपाषाणकालको अन्तिम बिन्दु मानिन्छ।
नेपालको प्रागितिहास पुस्तकमा नेपालको सन्दर्भमा नवपाषाणकाल कहिले शुरू भयो भन्ने अज्ञात रहेको जनाउँदै ठोस प्रमाण नभेटिंदासम्म पूर्वी नेपालको नवपाषाणलाई ईसापूर्व २००० देखि १००० बीचको समयमा राख्नु उचित हुने उल्लेख छ। यस्तै, ‘पूर्वपाषाणकालदेखि नवपाषाणकालसम्म दाङ र नजिकैका केही स्थानमा मानव गतिविधि रहेको स्पष्ट हुने’ भन्दै ‘जुनसुकै अवस्थामा पनि ईसापूर्व १००० ताका यहाँ (नेपालमा) नवपाषाणकालीन बस्ती रहे होलान्। धातुको तार उपयोग गरी स्कन्धयुक्त उपकरण बनाउने मानव परवर्ती कालमा थिए होलान्’ भन्ने लेखिएको छ (पाण्डेय र रेग्मी, पृ.२८, ६६, र ७२)। यो अनुमान नेपालका विभिन्न ठाउँमा पाइएका पाषाणकालीन उपकरणहरूमा आधारित छ। ती उपकरण प्रायः भूसतहमा पाइएका र त्यसको कार्बोन परीक्षणभन्दा पनि विश्वमा अन्यत्र पाइएका पाषाण उपकरणहरूसित मिल्दोजुल्दो आकृतिका आधारमा समय अड्कलिएका कारण (ऐजन, पृ. ४६) पनि नेपालको नवपाषाणकालबारे यकीन रूपमा भन्न सकिन्न। पाण्डेय समेतको यस्तो निष्कर्ष भए पनि निकटस्थ भूगोल मध्य गङ्गा मैदानको अवस्थिति, काठमाडौंमा उपलब्ध सांस्कृतिक गतिविधि र किंवदन्तीहरूको मिहिन चिन्तनबाट काठमाडौंको प्रागितिहासबारे निकै भरपर्दो अनुमान गर्न सकिन्छ।
मानव सभ्यताको विकासमा नवपाषाणकाल निकै महत्त्वपूर्ण फड्को हो। नवपाषाणकाललाई प्रारम्भिक कृषियुगीन, मृत्तिकायुगीन र ताम्रयुगीन गरी तीन उपचरणमा विभाजन गरिएको छ। १२ हजार वर्षअघि मेसोपोटामियामा नवपाषाणकाल शुरू भएपछि त्यहाँ यो क्रम चरणबद्ध देखा पर्यो, तर पछि शुरू भएका अन्य ठाउँमा त्यसो भएन। मध्य गङ्गा मैदानमा नवपाषाणकाल ढिलो शुरू भएकाले यहाँ शुरूदेखि नै माटोका भाँडा र तामाको पनि प्रयोग देखियो। पाषाणकाल पुरा, मध्य र नवपाषाणकाल गरी तीन चरणमा विभाजित छ। यसबारे हेक्का नराखी बहुधा मानिसले पाषाणकाल अर्थात् ढुङ्गेयुग भन्ने बित्तिकै ढुङ्गाले नै जनावरको शिकार गर्ने पुरापाषाणकालीन मानव सोच्छन्। तर, त्यसो होइन। सिन्ध सभ्यता र वैदिक काल कृषियुगीनपछिको मृत्तिका-ताम्र पाषाणकालमा पर्ने हेक्का राख्नुपर्छ।
कामेश्वर प्रसादको आँकडाले विन्ध्याचल-कैमुर-पारसनाथको फेदीबाटै मानिसहरू उत्तरतिर बढेर गङ्गाको दक्षिणतर्फको मैदान पहिला आवाद गरेका र पछि मात्र गङ्गाको उत्तरी मैदानतिर लागेको छनक दिन्छ, यद्यपि विहारमा कसरी नवपाषाणकाल शुरू भयो भन्ने पूर्णतया निश्चित छैन। कामेश्वरका अनुसार दक्षिणी विहारका पहाड अर्थात् कैमुर-पारसनाथमा पुरापाषाणकालीन अवशेष प्रशस्त पाइए पनि उत्तर विहारमा वाल्मीकि नगरमा मात्र त्यस्तो अवशेष पाइएको छ।
मननीय कुरा के हो भने वाल्मीकि नगर नेपालसित सीमा जोडिएको क्षेत्र हो, इन्डियामा वाल्मीकि नगर पर्छ भने नेपालमा वाल्मीकि आश्रम पर्छ। दुवै नारायणी (गण्डकी) नदीपारि पर्छन्। पुरापाषाणकालमा गङ्गाको उत्तरी मैदानको दक्षिणी खण्ड घना जङ्गलले ढाकेको वा अन्य कुनै कारणले त्यहाँ मानव आवागमन धेरै पछि मात्र हुनुले पुरापाषाणकालीन मानवको आवादी त्यहाँ भएन भन्ने सङ्केत दिन्छ। हिन्द उपमहाद्वीपको भूगोलको अध्ययनले के देखाउँछ भने पुरा र मध्यपाषाणयुगीन मानिसको बसोबास गङ्गाको मूल समथर मैदानमा नभई यसको दक्षिणका विन्ध्याचल-कैमुर-पारसनाथका तथा उत्तरका भित्री र बाह्य हिमालय (महाभारत र चुरे)का पहाडी वनका पाखा र फेदीमा थियो। त्यसैले विन्ध्याचल-कैमुर-पारसनाथका फेदीबाट पाषाणकालीन सभ्यता गङ्गाको उत्तर अर्थात् नेपालतर्फ फैलिन समय लाग्यो र त्यो फैलिएको सभ्यता मृत्तिका र ताम्रयुगीन नवपाषाण थियो।
तर, नारायणी (गण्डकी) नदी किनारको नेपालमा रहेको वाल्मीकि आश्रमसँगैको इन्डियाको वाल्मीकि नगरमा पुरापाषाणकालीन अवशेष भेटिनुले यो विन्ध्याचल-कैमुर-पारसनाथका फेदीबाट नवपाषाणकाल गङ्गाको उत्तरी मैदानमा फैलिनुअघिको चुरे बाह्य हिमालको काखको पुरापाषाणकालीन मानवको हो भन्ने जनाउँछ, अर्थात् त्यो विन्ध्याचल-पारसनाथका फेदीका पुरापाषाण मानवको नभई काश्मीरबाट भित्री र बाह्य हिमाल तथा त्यसका फेदी हुँदै फैलिएको अर्को धारको पुरापाषाणकालीन मानवको अवशेष रहेको अनुमान हुन्छ, जुन काश्मीर, हिमाञ्चल, उत्तराखण्ड हुँदै नेपालका महाकाली, कर्णाली र गण्डकी जलाधारका बाह्य र भित्री हिमाली पाखा-दुनहरूमा फैलिएको थियो। त्यही धार काठमाडौं पनि पुगेको थियो। यो धार पुरा र मध्यपाषाणकालीन भएको हुँदा स्थायी घरबास बनाउनुभन्दा नदी किनारलाई आधार बनाएर शिकारका लागि बसाइँ सरिरहेको थियो। तीमध्ये नेपालसित सरोकार राख्नेमा मूलत: किरात (आदिम किरात) पर्छन्। यस क्षेत्रमा नेपालमा हाल बसोबास गर्ने आदिम जातिमध्येका थारूलाई किरात र नाग पनि भनिनु रोचक छ (भिक्टर प्रधान, ‘को हुन् किरात’, हिमाल, २०७८ फागुन र ‘को हुन् नाग’ हिमाल, २०७९ कात्तिक)।
गङ्गाको समथर मैदान, विशेषतः उत्तरी मैदानमा भने सम्भवतः दक्षिणी कैमुर-पारसनाथका फेदीबाट कृषिभूमि खोज्दै उत्तर लागेका कृषियुगीन नवपाषाणकालका मानिसले स्थायी बसोबास गरेर सभ्यताको विकास गर्दै लगे। यो विकास तीव्र थियो, किनभने उतिवेला मृत्तिका र ताम्र प्रविधि पनि समाविष्ट थियो। काठमाडौं वा बागमती सभ्यताको विकास पश्चिमबाट पहाडैपहाड पूर्व लागेका र दक्षिणबाट उत्तर उक्लेका दुवैथरी मानिसको मिश्रणबाट भएको हो। पुरा र मध्य पाषाणकालमा यहाँ आइपुगेका मानिसले यहाँको पाखोभूमि नै रूचाएको अनुमान हुन्छ, जहाँ बसोबासका लागि अनेक कन्दरा र शिकारका लागि घना जङ्गल थिए। काठमाडौं दहको पानी भर्खरै सुक्दै गरेकाले उनीहरूका लागि उपत्यकाको गहिराइको मालभूमिभन्दा पाखा र फेदीका दम्स्याइला भूखण्ड उपयुक्त थियो। उपत्यकाभित्र पाषाणकालीन उपकरण भेटिएको एक मात्र ठाउँ बुढानीलकण्ठको भूगोलले यसको सङ्केत गर्छ।
इन्डियाको बिहार प्रान्तको उत्खननमा पाइएका सामग्री नदी किनारका हुन्। उक्त उत्खननमा पाषाण सभ्यता भेटिएका प्रमुख स्थल चिराद, ताराडीह र सेनुआर हुन्। ताराडीह र सेनुआर दक्षिण बिहार अर्थात् गङ्गापारि पर्छन् भने चिराद गङ्गावारि घाघरा (कर्णाली) नदीको किनारमा छ। त्यसैले हाम्रो सरोकार चिरादसित बढी छ। गङ्गावारि नै वैशालीमा गण्डक (गण्डकी) नदीको किनारमा पनि केही मात्रामा नवपाषाणकालीन उपकरण भेटिएका छन्। चिराद र वैशाली दुवै नेपालभन्दा धेरै पर घाघरा र गण्डकी गङ्गामा मिसिनै लाग्दाको भूगोलमा परे पनि गङ्गावारि र पारिका उत्खनन स्थलका सम्बन्धमा महत्त्वपूर्ण अन्तर के छ भने गङ्गापारिका स्थानमा पुरा र मध्यपाषाणकालीन लक्षणहरू पनि उपलब्ध छन्। त्यहाँ पत्थरको उपलब्धताका कारण पुरा र मध्यपाषाणकालीन ढुङ्गे उपकरण बन्ने गरेका थिए। तर, वारितिर भने नवपाषाणकालीन छनक मात्र पाइन्छ।
गङ्गावारि र पारि दुवैतिरका उत्खननले नवपाषाणकालमा मानिसहरू स्थायी बसोबास गर्न थालिसकेका र आवासका लागि बाँस (पछि काठ पनि), खर र नरकटबाट झोपडी बनाउन जानिसकेका थिए भन्ने देखाउँछ। झोपडीको आकार गोलाकार र शीर्ष भाग शङ्खाकार हुन्थ्यो। नरकट वा बाँसको भाटाको भित्तामा भुस मिसाइएको माटोको लेप लगाइन्थ्यो। चिरादमा सम्भवतः पानीका सानातिना भल र जनावर आदिबाट सुरक्षाका लागि ७५ सेन्टिमिटर मोटो माटोको पर्खालले घर घेरिएको पाइयो, जुन अन्यत्र देखिएको छैन। पाको इँटाको प्रयोग विहारमा भेटिएको छैन। घरभित्र चुह्लो हुन्थ्यो र पकाउन तथा अन्य कामका लागि माटोका भाँडा प्रयोग गरिन्थ्यो। माटोका भाँडा हात र चाका दुवैबाट बन्थे र पोलेर टलकदार बनाइन्थ्यो। धेरै मात्रामा राता र केही मात्रामा फुस्रा र चिल्ला काला भाँडाको प्रयोग हुन्थ्यो। फुटेका भाँडा आँगन र बाटाहरूमा बिछ्याएर भुइँ मजबूत बनाइन्थ्यो। थाल, बटुका जस्ता भाँडाकुँडा कम गहिरा भेटिएका र ढुङ्गाका भाँडा नपाइएकाले त्यतिखेर ठोस खाना बढी खाइने र पकाउन माटोका भाँडा उपयोग हुने अनुमान गरिएको छ। अनाज जोगाउन माटाकै ठूला भाँडा पनि बनाइन्थे।
चिरादमा तरल पदार्थ पिउन प्रयोग गरिने टुटीदार भाँडा र कुल्फी जस्तो बीचमा प्वाल भएको उपकरण पनि भेटिएका छन्। उत्खननमा फेला परेका डढेका माटाका टुक्राहरूमा बाँस र नरकटको छाप तथा चटाईका बुट्टा भेटिएकाले घरका लागि बाँस र नरकट प्रयोग हुने र बस्न आसन बुनिने निष्कर्ष निकालिएको छ। चिरादका मानिस कपडा बुन्न पनि जान्दथे। उत्खननमा ढुङ्गाबाट बनाइएका जाँतो, मुसल, सिलौटा, वाणको टुप्पा, सुइरा, बल्छीको अंकुशे आदि पाइए पनि कृषि उपकरण नपाइएकाले त्यसका लागि जनावरको हाड वा मृगको सिङ प्रयोग गरिएको हुन सक्ने अनुमान छ। कछुवा, गाई, गैंडा, भैंसी, हरिण, हात्ती आदिका हाडबाट कोदाली, चक्कु, छिना, जाल बुन्ने सुइरो, वाणको टुप्पो, मोती आदि बन्थे। चिरादमा हाड र तामाका मोती फेला परेका छन्। बिहारमा कृषि, मृत्तिका र ताम्र नवपाषाणकाल एकसाथ मिसिएर देखिए पनि यहाँ तामा नपाइने हुँदा तामा संस्कृतिको विकास अन्यत्रको तुलनामा कम देखिन्छ।
काठमाडौं उपत्यकाको लिखित इतिहास शुरू भएदेखिको दस्तावेजले यहाँको सभ्यताको विकासमा योगदान दिने जमात बिहारको यही भूगोल पार गरी आएका दक्षिण भारत वा यसै भूगोलका मानिसको सङ्ख्या उल्लेख्य भएकाले उपत्यकाको प्रागितिहासमा यस क्षेत्रको सान्निध्य थियो भन्ने बुझिन्छ। उपत्यकाकै ढुङ्गेयुगीन दस्तावेज भने अहिलेसम्म खासै भेटिएको छैन। यहाँको भौगर्भिक उत्खननमा सरोकारवालाहरू दिलोज्यानले लागेको पाइँदैन र भएका केही प्रयासबाट पाषाणकालबारे गहकिलो जानकारी प्राप्त भएको छैन। यस सन्दर्भमा भविष्यमा पनि यहाँबाट पाषाणकालीन दस्तावेज खासै उपलब्ध हुन नसक्नेबारे यसमा संलग्न एक विद्वान् गुडरुन कोभिनसको भनाइ निकै घतलाग्दो छ:
नेपालमा कुनै स्थानमा प्रागैतिहासिक मानव फेला परेको छैन र प्रागैतिहासिक कालमा पुरा वा नवपाषाण मानवले नेपाल ओगटेको थियो भन्ने जानकारी पाइएको छैन। अनेक प्रयास गरिएका थिए र पहिला केही अनुसन्धान भएका थिए, तर ठोस दसी हात लागेन।
इन्डियाको काश्मीरमा जस्तै काठमाडौं उपत्यकामा पनि नवपाषाण बस्ती रहेको अपेक्षा गर्नुपर्छ। काठमाडौं उपत्यका र जहाँतहीं केही पालिसदार ढुङ्गे हतियारहरू फेला परेका छन्, तर ती कुनै पनि भूगर्भ तहभित्रका होइनन् न त तिब्बतबाट बसाइँ आएकाले ल्याएका, मूलतः ‘शालिग्राम’ जस्ता छन्।
तथापि नवपाषाण मानवले नेपालका केही उपत्यका ओगटेको हुनुपर्छ। काठमाडौं उपत्यकामा खोजी गर्दा अहिलेसम्म केही फेला परेको छैन, यसको कारण सम्भवतः सिङ्गो उपत्यकाको सतह धेरै शताब्दीदेखि खेती प्रयोजनका लागि गरा प्रविधिमा खनिएको हुँदा यसको प्रारम्भिक मूल भूसतहको माटो जोगिएको छैन। (रिपोर्ट अन द वर्क डन इन द प्रोजेक्ट अफ क्वाटर्नरी एन्ड प्रिहिस्टोरिक स्टडिज इन नेपाल, प्राचीन नेपाल, फागुन २०४१ - साउन २०४२)
गुडरुनको यो भनाइले काठमाडौं उपत्यकामा नवपाषाण बस्ती हुनुपर्ने तर त्यसको अवशेष फेला पर्ने सम्भावना कम भएको सङ्केत गर्छ। यो उपत्यका खासै ठूलो होइन तर प्रागैतिहासिककालदेखि यहाँ बसाइँ आउने क्रम आजपर्यन्त छ भने प्रागैतिहासिककालमा यहाँ सुरक्षित पर्यावरण र उर्वर कृषिभूमिकै कारण बसाइँ आएका मानिसले यहाँको सानो परिधिको माटोलाई अनवरत पल्टाइरहेका हुनाले प्रागैतिहासिक उपकरण फेला नपर्न सक्छ। तर, यसो भन्दैमा के हामीले आफ्ना जिज्ञासालाई दमन गरेर शान्त बस्ने? उत्खननबाट यहाँको प्रागैतिहासिक सामग्री र थलो फेला पार्न नसकिए पनि मलाई लाग्छ यहाँ उपलब्ध अन्य मौखिक इतिहासका सामग्रीबाट यहाँको प्रागितिहासका सम्बन्धमा अनेक प्राक्कल्पना गर्न सकिन्छ र यस क्रममा माथि उल्लिखित बिहारको उत्खननबाट प्राप्त त्यहाँको पाषाणकालको निचोड भरपर्दो सहायक सामग्री सावित हुनेछ। त्यस आधारमा हामी गोपालवंशभन्दा अगावै यहाँ अस्तित्वमा रहेको नाग जातिका बस्ती र जीवनशैलीबारे चिन्तन गर्न सक्छौं।