वर्षगणनाको मानक वर्षा र नेवार सभ्यता
आदिम ढुङ्गेयुगमा वर्षाकाललाई प्रकृतिको महाप्रलय र महाअवसर दुवै मानेर यही समयलाई हिन्द उपमहाद्वीपका मानिसले वर्षको अन्त्य र आरम्भको मानक मानेका थिए।
सभ्यताको गोरेटोमा मानिस बामे सर्दै गर्दाको समयमा प्राकृतिक याम नै वर्ष परिवर्तनको मुख्य सूचक थियो। खगोल विज्ञानको ज्ञान नहुँदैदेखि मानिसले सूर्योदय, चन्द्रकला र यामको आवृत्तिको आधारमा दिन, महीना र वर्षको व्यवहार गर्न थालिसकेका थिए। हिन्द उपमहाद्वीपका सन्दर्भमा नव पाषाणकालका पछिल्ला दुई काल गुफा र कृषिमा वसन्त सम्पात (सूर्यको उत्तरायण) र मनसुनी वर्षा वर्षारम्भका दुई सङ्केत थिए। गुफाकालभन्दा पछिल्लो कृषिकाल हो। त्यस बखतको ‘झोलुङ्गे सभ्यता’ कालमै खगोलशास्त्रको अध्ययन र विकास थालिसकिएको भए पनि त्यो ज्ञान मृगशृङ्गादि पाषाणकालीन औजारले माटो खोतल्ने कृषियुगीन आम माटेकोरी मानवका लागि भने थिएन। त्यसैले आम हिन्द उपमहाद्वीपीय माटेकोरी मानवका लागि मनसुनी झमझम वर्षा नै वर्ष गन्ने आधार थियो।
हिन्द उपमहाद्वीपको यस प्रचलनलाई वैदिक आर्यको आगमनपछि विकसित संस्कृत भाषा र खगोलविद्याले पनि सकारेको पाइन्छ। त्यसैले संस्कृत भाषामा ‘वर्ष’ को पहिलो व्युत्पत्तिमूलक अर्थ आकाशबाट पानी झर्नु (क्रिया) र झराइ (नाम) दुवै हो। यसलाई बुझाउने नामिक पर्याय ‘वर्षा’ मात्र अहिले प्राय: प्रयोग गरिन्छ। यसै शब्दबाट नेपाली भाषामा ‘बर्सनु’ क्रियापद बनेको छ। यही ‘वर्ष’ को विस्तारित अर्थ हो ‘साल’ अर्थात् लगातार लगभग ३६५ (सौर्य गणनानुसार) वा ३५४ (चान्द्र गणनानुसार) दिनको समूह।
यसरी सीधासादा मानिसको लौकिक परम्पराको ‘बर्सनु’ अर्थको ‘वर्ष’ शब्दबाटै सालजन्य ‘वर्ष’ शब्दको विकास भयो भने खगोल विज्ञानका पोख्तहरूले यसैलाई सकारेर वर्षारम्भको अमुक दिन ज्येष्ठ शुक्ल प्रतिपदा मानेर यस दिनदेखिको करीब ३० दिन (ज्येष्ठ कृष्ण आमावस्यासम्म: अमान्त गणनानुसार) लाई वर्षको पहिलो महीना जनाउन ‘ज्येष्ठ’ (जेठो) नाम राखे। अमान्त (अमावस्या अर्थात् औंसीमा सकिने) गणना वैदिक मान्यता अनुकूल हो (प्रमोदवर्धन कौन्डिन्न्यायन, ‘नेपाली पात्रो सुधार’, कान्तिपुर, २०६४ माघ १९)। अहिले नेपालमा प्रचलित पात्रो पूर्णिमान्त छ, त्यसैले अमान्तको जेठ महीना भनेको पूर्णिमान्तको जेठ शुक्ल र असार कृष्ण पक्ष समेटिने महीना हो जुन नेवार संस्कृतिको ‘तछला’ र ग्रेगोरी पात्रोको लगभग ‘जून’ महीना हुन्। नेवार मासगणनाको ‘तछला’ को ‘तः’ ले पनि ठूलो वा जेठो भन्ने अर्थ बोध गराउँछ।
सम्भवतः आदिमकालमा यहाँ तछला (जून वा अमान्त ज्येष्ठ) को उत्तरार्धमा मनसुनी वर्षा हुन्थ्यो। अहिले नेपालमा लगभग १० जूनदेखि मनसुनी वर्षा हुने आँकडा जलवायु विज्ञान विभागको छ। मनसुन बङ्गालको खाडीबाट उठेर इण्डियाको दक्षिणी भागमा पुगी उत्तरपूर्वी भाग हुँदै नेपाल पस्छ र पाकिस्तान पुगेर त्यही बाटो फर्कन्छ। नेपालमा करीब १०० देखि ११० दिन मनसुनको मौसम पर्छ। मनसुन सबभन्दा पहिला इण्डियाको केरलामा शुरू हुन्छ। त्यहाँ अचेल लगभग ३१ मेमा मनसुन शुरू हुन्छ। तर, जलवायुविज्ञहरूका अनुसार दक्षिणएशिया (हिन्द उपमहाद्वीप)मा जलवायु परिवर्तनका कारण मनसुन शुरू हुने समय झन् झन् पछि सर्दै छ। नेपालमा सन् १९८६ मा २७ जूनमा र अपवादमा १९९६ मा ३१ मेमा मनसुन शुरू भएको थियो (अब्दुल्लाह मिया, ‘मनसुन पछि सर्दै छ’, कान्तिपुर, २०६९ जेठ २७)।
आदिमकालमा नयाँ वर्षको शुरूआतको महीना तछला (अमान्त ज्येष्ठ)को उत्तरार्धमा शुरू हुने झमझम वर्षाको थालनीलाई नै मानिएको भन्ने सङ्केत मनसुन पछि सर्दै गएको जलवायुविज्ञहरूको भनाइले मात्र होइन, खगोलशास्त्रीय गणनामा हरेक ७२ वर्षमा एक दिन अहिले प्रचलित पात्रोको गणना अनुसार पछि पर्छ र त्यस हिसाबले हरेक २,१०० वर्षमा करीब ३० दिन यामभन्दा महीना पछि पर्ने तथ्यले पनि गर्छ। अहिले प्रचलित नेपाली पात्रोका दिन खास यामभन्दा २४ दिन पछि परेकाले नेपाल सरकारले २०६६ सालको चैत महीना हटाउने तयारी गरे पनि गणित र फलित ज्योतिषीहरूको मत बाझिएपछि लागू भएन। २०६६ मा चैत महीना हटाइएको भए अहिले पछि सर्दै गरेको भनिएको मनसुन एक महीना अघि सरेर जेठको उत्तरार्धमै मनसुनी वर्षाको सुरसार भइसक्ने थियो।
वर्षा यामको आङ सिरिङ्ग्याउने प्राकृतिक प्रकोप गुफायुगीन पाषाणकालका लागि र जीविकोपार्जन गर्न प्राणै त्यागेर गर्नुपर्ने श्रम कृषियुगीन पाषाणकालका लागि अविस्मरणीय घटना थियो। वर्षाकालको यही भौगोलिक विषमताका कारण इसापूर्व पाँचौं-छैटौं शताब्दीमा गौतम बुद्धले बौद्ध परिव्राजक संघमा वर्षाकालभर वर्षावासको नियम बसाएको पनि यहाँ स्मरणीय हुन्छ। किनभने त्यतिखेर खोलानालाको उर्लाइ र बाटाघाटामा वनस्पतिको झँगाइ आदिले एक गाउँबाट अर्को गाउँ जान डरलाग्दो हुन्थ्यो। त्यो विकरालता त्यसभन्दा करीब एक हजार वर्षअघिका ढुङ्गेयुगीन मानिसका लागि वर्ष बितेको गन्ने मानक थियो।
वर्ष गन्ने यो पद्धति आज सबै संवत् र रीतिथितिले भुसुक्क बिर्से पनि नेवार सभ्यताको पार्विक मान्यताले जीवन्त राखेको छ। नेवार चाडपर्व चक्रमा वर्षको अन्तिम पर्व ‘सिन्नखः’ (सिथि नखः तछला थ्व/ज्येष्ठ शुक्ल ६) र शुरू हुने क्रमको पहिलो चाड ‘गथाँमुगः’ (घण्टाकर्ण/घण्टासुर चतुर्दशी: दिल्लागा १४/पूर्णिमान्त श्रावणकृष्ण १४/अमान्त असारकृष्ण १४)लाई मानिन्छ। यी दुई पर्वबीचको करीब डेढ महीनाको अन्तर झमझम वर्षा हुने मनसुनी याम हो।
वर्षा यही दिन हुन्छ भन्न नसकिने हुँदा आदिम मानवका लागि सम्भवतः सिङ्गो याम नै वर्ष अन्त र आरम्भको मानक समय रहेको झल्को काठमाडौं उपत्यकाभित्रको चाडपर्व चक्रले दिन्छ। यस्तै, नवपाषाणकालीन आदिम बस्तीका रूपमा देखिने उपत्यकाको ठीक बाहिर आग्नेयमा रहेको पनवतीको ‘ज्याःपुन्ही जात्रा’ ले ज्येष्ठ पूर्णिमालाई वर्षान्त मानेको सङ्केत पाइन्छ। किनभने पूर्णिमाको पूर्णचन्द्र नै ग्रह-नक्षत्रको चालका अज्ञानी आदिम मानवका लागि महीना र वर्ष गन्ने चिनो थियो। खगोलविज्ञहरूले सुधार गरी वैदिककालमा ज्येष्ठ शुक्ल परेवालाई खगोलशास्त्रीय दृष्टिले वर्षारम्भको दिन निर्धारण गरे भन्नेमा कुनै शङ्का छैन, तथापि त्यसअघि सुधासोझा मानिसले पूर्णिमाको बाटुलो चन्द्रमालाई महीना गणनाको मानक बनाएका थिए। यसको अर्थ उनीहरू अहिले प्रचलित पूर्णिमान्त पञ्चाङ्ग गणनापद्धति मान्थे भन्ने मेरो भनाइ होइन। सूर्यले राशि परिवर्तन गर्ने आधारमा गणना गर्दा पूर्णिमान्त पञ्चाङ्ग बन्ने, यो पद्धति शक पद्धति भएको र मगब्राह्मणहरूले ल्याएका प्रमोदवर्धनको भनाइ छ। सूर्यको राशि परिवर्तन वा ग्रह-नक्षत्रको अवस्थिति जस्ता गणना आजका सर्वसाधारण जनलाई त थाहा छैन भने ढुङ्गेयुगका मानिसले त्यो जानेर पूर्णिमान्त महीना गणना गरेका अवश्य होइनन्। उनीहरूले त आफ्नो आँखै अघिल्तिर प्रतिमास बाटुलो हुने चन्द्रमालाई महीनाको अन्त्य मानेका हुन्। यो पद्धति विश्वभरकै आदिम कविलामा सामान्य थियो। त्यस बाहेकका अरू शास्त्रीय गणनासँग तिनीहरूको सरोकार वा जानकारी थिएन।
कुनै पनि प्राचीन चाडपर्व र संस्कारहरूमा समयक्रममा केकस्ता प्रभाव परे एवं परिवर्तन, विचलन वा सुधार भए भन्ने मिहिन अध्ययन विना पर्वको प्राचीनतम स्वरूप र उद्देश्य फेला पार्न सकिन्न। अतः नेवार संस्कृतिका उपर्युक्त पर्वहरूमा पनि क्रमशः हिन्दू धर्मका लघुदेव कुमार, असुर (दैत्य वा राक्षस), भैरव आदि जोडिन पुगेका छन्। यी रूप जोडिनाका साथै पर्व मनाउने पद्धतिमा समयानुसार विकास वा परिवर्तन भएको पाइन्छ, जसले पर्वका नाम, मान्यता र विधिविधानमा समेत परिवर्तन ल्याएको छ। समयानुकूल परिवर्तन भएका पाटो सर्लक्क पन्छाएर आदिम संरचनालाई मात्र पहिल्याउने हो भने यी पर्व मनसुनी वर्षाको ठीक अघि र पछि गरिने गाउँबस्तीको बचाउ र सरसफाइ तथा खेतीको तयारीसित सम्बन्धित सामूहिक पर्व थिए भन्ने स्पष्ट हुन्छ।
सिथि (सिठी) नखः र कुमार षष्ठी पनि भनिने सिन्नखः नेवार संस्कृतिको वर्षको अन्तिम चाड हो। यो पर्व अहिले लघुदेव कुमारलाई हिन्दूले जलसंरक्षक र बौद्धले क्षेत्रपाल देवका रूपमा पुजेर छोरीचेलीहरू समेत बोलाई मास, मुगी, केराउका मस्यौटा (भिजाएर पिसेको लेदो) तथा चामल, मकै र कोदोको पिठोका गरी ६ प्रकारका रोटी तथा अरू खाना सहितको भोजन गर्ने तथा इनार आदि जलस्रोतका मुहान, निकास र तत्सम्बन्धी द्रोणी सफा गर्ने दिनका रूपमा एक दिन मनाइन्छ। वसन्त ऋतु शुरू भएदेखि विभिन्न समुदाय वा घरपरिवारले विभिन्न समयमा मनाउने देवाली पूजा कुनै कारणले नमनाइएको भए वा त्यसरी दिन नतोकिएका घरपरिवारले सिन्नखःको दिन देवाली मनाउने गर्छन्, उप्रान्त त्यस वर्ष देवाली पूजा हुँदैन र यस दिनदेखि चाडपर्व सकिएको मानी विशेषतः ज्यापू समुदायले वाद्यवादनका साधन डेढ महीना नबजाउने गरी थन्क्याउँछ र खेतमा मल छर्छ।
सिन्नखःका यी मूलभूत विशेषतामध्ये कुमार देवता जस्ता विषय सभ्यताको विकासक्रममा जीवन-दर्शनको व्याख्याले र खाद्यभोज्य आदि विषय सम्पन्नताले थपिंदै गएका सन्दर्भ हुन् भने यसै दिन गरिनुपर्ने कामका रूपमा रूढ भएको पक्षले यसको आदिम उद्देश्यलाई सङ्केत गर्छ। यसै दिन गरे अनेक खाले राम्रो हुने भनाइ सहित जलस्रोतको सरसफाइ र मल छराइ यस पर्वको आदिम उत्थानक बीज हुन्। यो अहिले एकदिने पर्व भए पनि पहिले यसको शुरूआत साता दिनअघि हुन्थ्यो। सिन्नखःको ठीक अघिको चतुर्दशीलाई सिन्नखः चतुर्दशीका रूपमा ‘सिथि चह्रे पूजा’ भनेर प्रचलित कतिपय पञ्चाङ्ग (जस्तै ज्यो. तोयनाथ, सूर्यप्रसाद ढुङ्गेल आदिका पञ्चाङ्ग)ले अहिले पनि जनाइरहेकै छन्।
आजभन्दा करीब ३,५०० वर्षअघिको नवपाषाणकालका विभिन्न चरणमा काठमाडौंका बस्ती माच परेका नदी मालभूमि हुँदै टार वा पाटन (अग्लो ठाउँ) तिर विस्तार भएका थिए। किरातकालसम्ममा यहाँका बस्ती टार वा पाटनमा बसाल्ने र त्यसमुनिका फाँटमा खेती गर्ने सभ्यताको विकास भइसकेको थियो। अतः किरातकालसम्ममा दशौं-पन्ध्रौं किलोमिटर टाढाबाट जलद्रोणी मार्फत पानी ल्याएर नगरमा ढुङ्गेधाराबाट निरन्तर पानी झार्ने तथा वर्षाको पानीमा टार वा पाटन पहिरोको चपेटामा नपरोस् भनी गाउँबस्तीभन्दा केही तल पोखरीहरू बनाई बर्सातको पानी सङ्कलन गर्ने पद्धति आइसकेको थियो (पद्मसुन्दर जोशी, हिति प्रणाली, पब्लिकेशन नेपालय)। त्यसैले ३,५०० वर्षअघिदेखि नै पूर्णिमान्तको ज्येष्ठ कृष्ण चतुर्दशी (अमान्तको वैशाख कृष्ण १४) देखि गाउँबस्तीको पानीको मुहान र निकासको मर्मत गर्ने एकहप्ते सामूहिक पर्व चलाइएको देखिन्छ।
किरातकालभन्दा अघिको माच-बस्तीकाल नवपाषाणयुगीन कृषिकाल थियो। किरातकालमा फलामयुग शुरू भइसकेको छनक पाइन्छ। किरातकालदेखि नै टार-बस्ती बाक्लिँदै शहरमा परिणत हुन थालेको र लिच्छविकालसम्ममा नगरहरू बनिसकेको देखिन्छ। नगर बन्ने क्रममा गाउँ पूरै उठेर वर्षाको पानीको मुहान र निकास मर्मत गर्नुपर्ने स्थितिमा सुधार भई निश्चित समुदाय वा तोकिएका व्यक्तिहरू मात्र लाग्ने व्यवस्था भइसकेको हुनुपर्छ। त्यसैले हप्ता दिने सामूहिक पर्व सिन्नखः खुम्चेर आमनगरवासीका लागि परिवार बसेर मीठो-मसिनो खाने एकदिने पर्व बन्नेतिर प्रवृत्त भएको देखिन्छ। कृषियुगीन पाषाणकालमा कुनै एक वर्ग किसान नभई सबै किसान थिए। अतः बस्तीको पानीको मुहान र निकास व्यवस्थित गरिसकेपछि खेतमा मल छरेर रोपाइँको तयारीको परम्परा एक दिने चाडमा रूढ भएपछि यसै दिन मल छर्नुपर्छ भन्ने मान्यता रहेको हो, अन्यथा एक दिनमै जलस्रोत सफा गर्ने लगायत मल छरेर सकिंदैन।
नेवार सभ्यतामा बस्तीका टोलटोलमा सामूहिक रूपमा एकै ठाउँमा फोहोर थुपार्ने चलन थियो, त्यस ठाउँलाई सागाः (मल खाडल) भनिन्छ। सिन्नखःपूर्व नै यस्ता खाडलका मल निकालेर सुकाइएका हुन्थे र सिन्नखःदेखि खेतमा छर्न लगिन्थ्यो (श्रीकृष्ण महर्जन, ‘स्वनिगःया भूमि सिनाज्या व नेवा’, गोरखापत्र, २०७८ असार ८), अर्थात् रोपाइँ (सिनाज्या) को तयारी। त्यसै कारण यस वर्गले मनोरञ्जनका लागि बाजा बजाउने अवसर पाउँदैनन् र यस चाडदेखि बाजा थन्क्याइन्छ भन्ने भनाइ रहन गयो।
मनसुनी वर्षाभर खेतीको काम हुन्छ र त्यो सकिएपछि वर्षको पहिलो चाड गथाँमुगः आउँछ। यतिन्जेल रोपाइँका सबै काम सकिसकेको हुन्थ्यो। गथाँमुगःभन्दा अघि नै गाउँमा सबैको खेत रोपिसकेपछि मेलो सघाउन आउने छोरी-चेलीहरू समेत निम्त्याई सामूहिक ‘झादी नखः’ (याम बिसाइ भोज) मनाउने चलन थियो। त्यस दिनसम्म पनि कदाचित् गाउँमा कुनै वा कसैको खेत रोप्न बाँकी रहेको भए निम्तालु सहित गाउँले सबै मिलेर उक्त खेत रोपेर भोजमा सामेल हुने चलन थियो (श्रीकृष्ण महर्जन, ऐजन)। गाउँको परिधि विस्तार र नगरीकरणका साथै यो आदिम सौहार्दपूर्ण पर्व मासिइसकेको छ। झादी नखः तथा रोपाइँको चापाचापको वेला कोही दिवङ्गत भएमा पनि मृतकलाई ठाउँ-अवस्था हेरी घुम आदि केही वस्तुले दिनभर छोपेर साँझपख मात्र दाहसंस्कार गर्न लैजाने कृषकवर्ग मूलतः ज्यापू समाजको हाल कहावत बनेको पुरानो व्यवहारले आदिम कालमा रोपाइँलाई कति महत्त्व दिइएको थियो भन्ने छर्लङ्ग हुन्छ।
सिन्नखःमा लघुदेव कुमार जोडिए जस्तै गथामुगः पर्वमा घण्टाकर्ण वा घण्टासुर नामका असुर वा पिशाच जोडिएका छन्। हाल यस पर्वका सम्पूर्ण विधान ती राक्षस वा पिशाच मन्साउनका लागि हो भन्ने जनविश्वास छ। नेपाल भाषामा ‘गँ’ को अर्थ घन्टी र ‘था’ को बज्नु पनि हुने भएकाले यसै अर्थमा संस्कृतकृत गरी घण्टासुर वा घण्टाकर्ण भनी अनुवाद भएको वा विपर्यय भन्ने आजसम्म विज्ञहरूको भनाइ छ। यी अरू देवताको नाम सुन्न नपरोस् भनेर कानमा घण्ट झुन्ड्याएर हिंड्ने शिवभक्त व्यक्ति थिए भन्ने किंवदन्ती छ।
मननीय कुरा के छ भने नेपालका सबै भाषा ऐतिहासिक भाषावैज्ञानिक अध्ययनका दृष्टिले अत्यन्त दरिद्र छन् र अनेक शब्दको व्युत्पत्ति चलनचल्तीको आज उपलब्ध अर्थमा खुट्याउने लोकव्यवहार देखिन्छ। नेपालका भाषाहरूको खँदिलो ऐतिहासिक भाषावैज्ञानिक अध्ययन र तीबीचको तादात्म्यको खोजबिन विना नेपालका जातजातिको दबिएको इतिहास उधिनिंदैन। यस लेखसित सम्बद्ध कुरा गर्ने हो भने नेपाल भाषाको ‘गँ’ को अर्थ हाल चलनचल्तीमै पनि सुक्नु, सुक्खा आदि र ‘था’ (थाने) को अर्थ उठ्नु (उठाउनु, ठड्याउनु) पनि हुन्छ। तसर्थ ‘गँथा’ को अर्थ सुक्खा (मौसम) को थालनी वा उत्थान तथा ‘मू’ र ‘गः’ को पक्ष बदल्ने थलो भन्ने हुन्छ। यही नै यस पर्वको प्रकृतिसम्बद्ध प्राचीनतम अर्थ हो भन्ने मेरो ठहर हो। जसरी सिन्नखः त्यसपछि आउने सिनाज्या (रोपाइँ कर्म) सित सम्बद्ध छ, त्यसरी नै गँथामुगः सुक्खा मौसमको आगमनसित सम्बद्ध छ। सिन्नखःलाई सिथिनखः भन्नेहरू यस पर्वको नाम षष्ठी तिथिसित सम्बद्ध छ भन्छन्, तर षष्ठीबाट सिथिनखः भएको हुन सक्दैन, अन्यथा सबै षष्ठीलाई नेपाल भाषामा सिथि भनिनुपर्थ्यो। सिथिनखः नाम यस पर्वमा लघुदेव कुमार जोडिएपछि कुमारको पर्याय शिखवाहनको ‘शिख’ बाट रहन गएको मेरो जिकिर हो।
गथाँमुगः पर्वको मुख्य सामग्री नरकट हो। यस पर्वमा अहिले नरकट मुठा पारी गथाँमुगः भनेर घण्टाकर्ण वा घण्टासुरको प्रतीक दोबाटो, मूल बाटोको किनार वा छ्वासः (विशेष रछ्यान) आदिमा ठड्याइन्छ र दिनभर प्रदर्शनी गरी केटाकेटीहरूले त्यो बाटोमा हिंड्ने बटुवासित अन्त्येष्टिका लागि जगात माग्छन्। त्यस दिन घरको सरसफाइ, बढारकुँढार हुन्छ र घरका भत्के/बिग्रेका ठाउँहरू मर्मत पनि हुन्छ। बालिकाहरूले कपडाका पुतली लगेर गथाँमुगःमा झुन्ड्याउँछन्। सबैले फलामको औंठी लगाउँछन्। साँझपख गथाँमुगःको सन्ततिका रूपमा तथाकथित जातीय निचो वर्गको कसैलाई नाङ्गो शरीरमा अश्लील विद्रूप चित्रहरू बनाई गाउँबस्तीभर उनको कथित पुर्खाको अन्त्येष्टिका लागि जगात माग्न लगाइन्छ। त्यस क्रममा असुर सन्ततिरूपी ती नायकले ‘आजुद्यो (आजाजु = श्रद्धेय पुर्खा)’ र पछि लागेको जमातले ‘हाः’ भन्छन्। त्यसपछि गथाःमुग ठड्याइएको ठाउँमा राखेर उनलाई दहीचिउरा खुवाइन्छ र गथाँमुगः ढालेर उनलाई त्यसमाथि राखी दागबत्तीका रूपमा बलेको पराल वा छ्वालीको मुठा बोक्न लगाई तानेर घाटमा लगिन्छ।
शवयात्रा शुरू भएपछि हरेक घरमा बढारकुँढार, धूपधुवाँर हुन्छ तथा भूत मन्साउने भनेर कतारोमा चोकाबजी (निफनेर निकालिएको चिउराको धूलो), पोको (जाँडको छोक्रा), फोक्सो र रगतका टुक्रा, लसुन, छ्यापी, काँचो अन्डा तथा विशेष प्रकारका फूल आदि राखी सामूहिक रछ्यानमा फाल्न लगिन्छ। फर्कंदा घरको मूल ढोकामा फलामको तीन खुट्टा (सुइरा) भएको किलो ठोकेर घर पस्छ र परिवार बसी समयबजी खाइन्छ। यस पर्वको यो वर्णित बाह्य दृश्यावली कान्तिपुर नगरविशेषको हो, स्थान अनुसार यसमा केही फरक पाइन्छ। मननीय पक्ष चाहिं के हो भने ठड्याइएको गथाँमुगःको शवयात्राका लागि जगात दिने तथा शवयात्रामा पछि लाग्ने जस्ता बाह्य तमासामा सबै नेवार सहभागी भए पनि नरकट ल्याएर गथाँमुगः बनाएर ठड्याउने र भूत मन्साउने जस्ता कतिपय आन्तरिक विधिमा कतिपय नेवार संलग्न हुँदैनन्। अतः गथाँमुगः पर्वका विधिविधान जुन नेवार वर्गले बढीभन्दा बढी पालन गर्छन् त्यो जाति वा समुदाय यहाँका आदिम समयदेखिका हुन्, नगर्नेहरू नगरीकरणपछि यहाँ बसाइँ आएका वर्ग हुन् भन्ने देखिन्छ।
यसबाट पनि यो प्राचीन कृषियुगीन पर्व हो भन्ने बुझिन्छ र उद्भवकालमा यो भूत मन्साउने पर्व नभई गाउँबस्ती र आवास सरसफाइ गर्ने पर्व थियो। यो कुरा यस पर्वको मुख्य साधन नरकटले छर्लङ्ग जनाउँछ। यस पर्वमा घण्टाकर्ण वा घण्टासु र भूत मन्साउने प्रसङ्ग प्राचीन मल्लकालमा देखापरेको हुन सक्ने मनवज्र वज्राचार्यको सङ्केत छ (“‘घण्टाकर्ण’ गठेमंगलको रहस्य”, गोरखापत्र, २०२२ श्रावण ११) भने यस पर्वको मसान-यात्रा जुलूसमा ‘ओम शान्ति: जय नेपाल’ नारा लगाउने चलन २००७ सालको जनक्रान्तिको पूर्वसन्ध्याकालदेखि चलेको कथन भुवनलाल प्रधानको छ (नेपालको जनक्रान्ति २००७, हिमाल बूक्स)। अर्थात् पर्वहरूमा समय समयमा अनेक पक्ष थपिने या हराउने गरेको छ।
नरकट काठमाडौं दुनमा किरातअघिको नवपाषाणकालमा झोपडी-आवास बनाउने महत्त्वपूर्ण निर्माण सामग्री थियो। त्यस वेला माटाका भाँडा प्रयोगमा रहे पनि पाका इँटाका घर बनिसकेका थिएनन्। मानिसहरूले खेती गर्न जानिसकेका थिए र पानीको स्रोत राम्रो भएको ठाउँका माच परेका ठाउँमा झोपडी-आवास बनाई ससाना ग्रामीण समाज बनाइसकेका थिए। नरकटले गडगडाउँदो खहरे वेग नभएको काठमाडौं दुनका जस्ता खोला किनारमा तटबन्ध तथा झोपडी-आवासका लागि बार र भित्ताको काम गर्थ्यो। यसलाई इन्धनको रूपमा र छाना छाउन पनि उपयोग गर्न सकिन्छ। त्यसैले ३० दशक अघिसम्म पनि काठमाडौंका खोला र खेतको साँधमा नरकटको झाल पाइन्थ्यो। बर्सातको समयमा यो लगायत अन्य अनेक झार पनि बग्रेल्ती बढ्ने हुँदा रोपाइँ सकिने बित्तिकै यिनलाई फाँडिन्थ्यो तथा वर्षा र अन्य कारणले बिग्रेको बस्ती र आवासको मर्मत गर्न गथाँमुगः पर्व चलेको थियो। सिन्नखः वर्षाअघि पानीको व्यवस्थापनको सामूहिक पर्व भए जस्तै गथाँमुगः वर्षापछि उम्रेका नरकट र झारपातको फँडानी गरी गाउँ, बाटाघाटा सफा गर्ने तथा व्यक्तिगत झोपडी-घरमा भएको क्षतिको मर्मत गर्ने पर्व थियो। आदिम कालमा नरकटे भित्तामै भुस र माटो पोतेर अझ राम्रो आवास बनाइनुका साथै समय अनुसार माटोको कच्ची घर र पछि इँटाका पक्की घर बनाउन जानिएको हो।
यी कुराको मनन विना गथाँमुगः पर्वको आदिम स्वरूप बुझ्न सकिंदैन। केही दशक अघिसम्म माटा जडाइका घरमा यस दिन मुसाका दुला टाल्ने र चौकोस आदिमा खस्केका इँटा आदि मजबूत बनाउने गरिन्थ्यो, किनभने रोपाइँको बेफुर्सदीका कारण आवास असरल्ल र वर्षाले बिगारेको हुन्थ्यो। मानिसका घर जति जति पक्की र बलियो हुँदै गयो त्यति त्यति यो प्रथाको महत्त्व घट्यो र केवल परम्पराको रूपमा तमासा प्रमुख हुन गयो। यद्यपि रहलपहल परम्पराले के सङ्केत गर्छ भने गथाँमुगःका रूपमा दिनभर ठड्याइने नरकट मुठा वास्तवमा आदिमकालमा गाउँ वरपर फँडानी गरेका नरकटमध्ये आवास मर्मत वा निर्माणका लागि सग्ला नरकट गाउँको एक ठाउँमा सार्वजनिक रूपमा थुपारिएको हो र साँझ यो नरकट फाल्न लैजानु चाहिं आवास मर्मतपछि रहलपहल र झुरा नरकट सहित गाउँको बाटोघाटो सफा गर्दाको र आवासबाट निस्केका वस्तु मिल्काउन लैजानु हो। तर, थुपारिएको नरकट पछि पिशाच वा असुरको प्रतीक बन्न पुग्यो भने सरसफाइपछि निस्किएको रहलपहल अन्त्येष्टिका रूपमा साँझ फाल्न लैजाने प्रथा बन्यो।
केटीहरूले अहिले गथाँमुगःमा शृङ्गारका रूपमा झुन्ड्याउन ल्याइने पुतली समेत आदिम कालमा आवास सफाइमा फालिएका झुम्रा-थाङ्नाको विकसित संस्कार हो। घर-झोपडीको मर्मतपछि साँझको अन्तिम बढारकुँढार, धूपधुँवार र रहलपहल फोहोर मिल्काएर अहिले भूत मन्साउने परम्परा बनेको छ। चौकोसको माथिल्लो खण्डमा तीन खुट्टे फलाम ठोक्ने चलन वास्तवमा ढुङ्गेयुग लगत्तै पछिको फलामे युगमा चौकोसादिलाई फलामको किला ठोकेर बलियो बनाउने प्राविधिक विकासको प्रतीक हो। यस पर्वमा महिला वर्गले लैंचा (मेहन्दी) लगाउनु हिलोमाटोमा हेलिनुपर्ने खेती र बस्तीको सफाइ सकेपछिको आराम र सुकिला दिनको आगमनको छनक हो। यस वेलादेखि सुक्खा याम शुरू हुन्छ, खेतीबाट पनि फुर्सद हुन्छ र मानिस मनोरञ्जनतिर लाग्छन् त्यसैले गथाँमुगःपछि लाखे नाच पनि निकाल्न थालिन्छ।
पहिला गथाँमुगः पनि चतुर्दशीमा शुरू भएर झन्डै हप्ता दिनमा अन्त्य हुने गरेको सङ्केत हप्ता दिन नबित्दै आउने नागपञ्चमी (श्रावण शुक्ल ५) ले दिन्छ। त्यस दिनसम्म गाउँबस्ती जसरी पनि सफा भइसक्नुपर्छ र सफा थलोमा नागको पूजा गरिन्छ। नागपञ्चमीदेखि काठमाडौंमा जाडोयाम शुरू हुने मानिन्छ। यी पर्वसित सम्बद्ध अन्य अनेक पक्ष छन् तर लेखको शीर्षकसम्बद्ध पक्षलाई मात्र समेटेर सारमा के भन्न सकिन्छ भने आदिम ढुङ्गेयुगमा वर्षाकाललाई प्रकृतिको महाप्रलय र महाअवसर दुवै मानेर यही समयलाई हिन्द उपमहाद्वीपका मानिसले वर्षको अन्त्य र आरम्भको मानक मानेका थिए र संस्कृत भाषामा यस समयलाई मासका रूपमा ज्येष्ठ नामकरण गरियो। यो कुरा काठमाडौंको नेवार परम्परामा अझै जीवित वार्षिक पर्वको अन्त्य सिन्नखः र आरम्भ गथाँमुगःको अवधारणाले सङ्केत गर्छ। नयाँ वर्षको पहिलो चाड गथाँमुगः हो, यस दिनदेखि वर्ष शुरू हुने चाहिं होइन। सिन्नखः र गथाँमुगःले वर्षारम्भको निश्चित दिन खुट्याउँदैन, तर पनवती नगरको ज्याँपुन्हि जात्राले ज्येष्ठ पूर्णिमालाई वर्षान्त मानेको प्रतीत हुन्छ।
यो जात्रा ज्येष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमाको रातभर चल्थ्यो र त्यसको भोलिपल्टदेखि खेतको काम शुरू हुन्थ्यो। अहिले यस जात्राबारे जेजस्ता धारणा विकास भए पनि पूर्वकिरातकालमा यो जात्रा मनसुनी पानीसित नै सम्बन्धित थियो भन्ने छनक जात्रा मनाउन त्रयोदशीभन्दा अघि नै पाटन (ललितपुर)मा मत्स्येन्द्रनाथका साथ रहेका नागराज वासुकी पनवती आउने दिन ठूलो हावाहुरी चल्ने तथा जात्रान्तको दिन पनि पानी पर्ने र त्यसको केही दिनपछिदेखि निरन्तर वर्षा हुने किंवदन्तीले दिन्छ, जसको अर्थ हो जात्राकाल प्रि-मनसुनी वर्षाकाल हो। अतः रातभर जात्रा चल्नु प्रि-मनसुनी वर्षाकालको जुनेली रातमा काम गरेर भए पनि मनसुनमा रोपाइँका लागि खेत तयार गर्नु हो। यद्यपि यो पक्ष अहिलेको जात्राको संरचना र किंवदन्तीसित झ्वाट्ट हेर्दा मेल खाँदैन।
मननीय के छ भने यस जात्राका लागि साँखुमा प्रेमलीलामा भुलिरहेका उन्मत्त भैरवलाई फकाएर ल्याइएको कथाले साँखु बस्तीसित पनि जात्रा प्रकारान्तरमा जोडिन्छ। यी दुई बस्ती साँखु र पनवती किरातकालभन्दा पहिलेको नवपाषाणकालको माच-बस्तीका कृषि ग्राम हुन् भन्ने मेरो बुझाइ छ र त्यस युगदेखि नै वर्षायामलाई वर्षारम्भ अर्थात् प्रि-मनसुनलाई वर्षान्त र मनसुनलाई वर्षारम्भको याम मानिंदै आएको थियो। आदिम सुधासोझाको बाटुलो शशिमय मनसुनी पूर्णिमाको वर्षान्त मान शकपद्धति वा राशिपद्धतिको पूर्णिमान्त मास गणनापद्धतिसँग मेल खानु काकताली मात्र हो भन्ने तथ्यको साक्षी नेवार सभ्यताले पछि अपनाएको व्यवस्थित वैदिक अमान्त गणनापद्धति हो।