को हुन् असुर?
आफूलाई असुर भन्ने जाति हालसम्म नेपालमा स्पष्ट नभए पनि प्रकारान्तरले असुर सम्बद्ध सीमान्तकृत अनार्य जाति पाइने सम्भावना छ।
भिक्टर प्रधान
नेपालमा आफूलाई असुर भन्ने जाति इन्डियामा जसरी भेटिएको छैन, तर असुर सम्बद्ध स्थाननाम छन्। मैलौली नगरपालिका, बैतडीमा असुर गाउँ छ। फर्पिङ, काठमाडौंमा गुरु पद्मसम्भवले निवास गरेका मानिने असुर गुफा छ।
बैतडीको असुर गाउँमा पहिलो बेतमै छोरो जन्मेका हरेक परिवारले प्रत्येक वर्ष तिहारको औंसीमा गाउँलेलाई खसी काटेर खुवाउनैपर्ने, त्यसो नगरे छोरालाई अशुभ हुने विश्वास छ। दलित परिवारले पनि यो परम्परा मान्दछ, तर काटिएको खसी गैरदलितले बाँडेर खान्छन् (गोरखापत्र, २७ असोज २०७४)। यी नमूना उदाहरण हुन् जसले नेपालसित असुरको सम्बन्ध पौराणिक कथाले मात्र नभई जातिगत रूपमा हुनुपर्ने प्रतीति दिन्छ।
नेपाली समाज र भाषा मूलतः उत्तर वैदिककालीन पुराण र संस्कृत वाङ्मयको प्रभावमा रहेकाले यिनले असुरलाई निकृष्ट, निर्मम, विरूप, परपीडक असत् जीवको पर्याय मानेको पाइन्छ। नेपाली शब्दकोशहरूले असुरको अर्थ दैत्य, दानव, राक्षस दिने गरेका छन् किनभने हिन्दू पुराणहरूले त्यस्तै प्रतिबिम्ब दिन्छन्।
नेपाली बृहत् शब्दकोशले यसको दोस्रो अर्थमा नीच वा हिंस्रक प्रवृत्तिका मानिस भनेर तपाईं-हामी पर्यन्त असत् प्रवृत्तिका भयौं भने असुर हुनसक्ने नामपद जनाएको छ। उत्तर वैदिककालीन संस्कृत वाङ्मयले असुरको दिग्भ्रमित अर्थ विस्तार गरिसकेकाले कोशहरूमा असुरको इतिहासगत वास्तविक अर्थ लोप भई विस्तारित अर्थ मात्र अङ्कित भयो।
नेपाली समाज र भाषा मूलतः उत्तर वैदिककालीन पुराण र संस्कृत वाङ्मयको प्रभावमा रहेकाले यिनले असुरलाई निकृष्ट, निर्मम, विरूप, परपीडक असत् जीवको पर्याय मानेको पाइन्छ।
हिन्द उपमहाद्वीपभरि आर्य र अनार्य संस्कृतिको व्याप्ति छ। आर्य संस्कृतिको उदय र विस्तारपूर्व ऋग्वैदिक आर्यहरूले यहाँको अनार्य जातिहरूसित सङ्ग्राम गर्नुपरेको कुरा देवासुर सङ्ग्रामजन्य ऋग्वेदका ऋचाहरूले स्पष्ट पार्दछन्। देवासुर भनिए पनि सङ्ग्राम ऋग्वैदिक आर्य र असुरबीचको थियो।
कुलचन्द्र गौतमका अनुसार, समृद्धि र युद्धविजयका लागि ऋग्वैदिक आर्य राजाहरूले इन्द्रको प्रार्थना गरेका अगणित मन्त्रहरू ऋग्वेदमा छन् र युद्ध विजयको श्रेय प्रार्थित देवलाई दिने ऋग्वैदिक आर्य ऋषिहरूको शालीनताले गर्दा युद्ध इन्द्र र उनका मातहतका देवताहरूले नै लडेर जितेको मानी सङ्ग्रामलाई देवासुर भनेर अङ्कन गरे (गोरखापत्र, २० भदौ २०४९)।
सङ्ग्राम लरतरो थिएन। असुरराज शम्बरलाई परास्त गर्न ४० वर्ष लागेको थियो भने यस्ता सयौं असुरराजहरू यत्रतत्र थिए। ऋग्वेदकालीन यो युद्ध कम्तीमा ३०० वर्ष भएको अनुमान छ (मदनमणि दीक्षित, रूपरेखा, पूर्णाङ्क २०३)। उत्तर वैदिककालीन संस्कृत वाङ्मयले असुरलाई दाह्रा-नङ्ग्रा भएका दानवादि जीव बनाइसकेको र उनलाई दमन गर्न देवी महाकाली जाग्नुपरेको जस्ता कथा सिर्जना गरिसकेको थियो।
देवासुर सङ्ग्रामका यी असुर को थिए? विश्व इतिहासको प्राचीनतम सुमेर सभ्यता (३५००-१७५० ईपू) मेसोपोटामियामा चुलिएकै समयमा हिन्द उपमहाद्वीपमा विश्वको तेस्रो ठूलो सभ्यता मानिने सिन्ध सभ्यता (लगभग २५००-१७०० ईपू)को विकास भइसकेको कुरामा अब दुईमत हुँदैन। यसमा द्रविड, असुर र बृहत् किरात जस्ता साना-ठूला अनेक जात-जाति र समुदायको सामेली थियो। तत्कालीन सिङ्गो हिन्द उपमहाद्वीप यसै सभ्यताको प्रभावमा थियो।
ऋग्वैदिक आर्यहरूका प्रारम्भिक जत्थाहरू सिन्ध प्रवेश गर्दा सिन्ध सभ्यता कायम थियो। यसको पतनारम्भ १९०० इपू तिरदेखि भएको मानिन्छ। यसको पतन कसरी भयो भन्ने कुरा यकिनै नभए पनि आर्य आक्रमणले भएको भन्ने जर्मन विद्वान् मैक मुल्लरको ठनाइलाई पुरातात्त्विक उत्खननले विस्थापित गरी पटक पटकको महाबाढीले भएको मान्यता हाल स्थापित गरेको छ।
सङ्ग्राम चाहिं अरू जातिसित पनि भएको थियो, किनभने ऋग्वैदिक आर्यहरू युद्ध जित्दै गङ्गा मैदानतिर बढ्ने क्रममा धपिँदै पूर्व सरेका जाति असुर मात्र नभई अरू रैथानेहरू पनि थिए।
ऋग्वैदिक आर्यहरू सिन्धमा आउँदा उनीहरूले मेसोपोटामिया र फारसदेखि चिनेको जाति असुर यहाँ सत्तामै रहेको ऋग्वेदले जनाउँछ। यहाँका अन्य रैथाने जाति नवागन्तुक आर्यहरूका लागि नयाँ थिए। त्यसैले आफ्नो सङ्ग्राम मूलतः असुरसित नै भएको माने। सङ्ग्राम चाहिं अरू जातिसित पनि भएको थियो, किनभने ऋग्वैदिक आर्यहरू युद्ध जित्दै गङ्गा मैदानतिर बढ्ने क्रममा धपिँदै पूर्व सरेका जाति असुर मात्र नभई अरू रैथानेहरू पनि थिए।
आर्यले हिन्द उपमहाद्वीपका सारा गैर-आर्यलाई असुर भन्ने गरेको कुरा मदनमणि दीक्षितका यी पङ्क्तिले स्पष्ट जनाउँछ, ‘असुर भन्नाले गैर-आर्य सबै भारतीय जाति र प्रजातिलाई जनाउँछ, द्रविडहरूलाई मात्र होइन। त्यसरी असुरहरू कश्मीरका खस, दरद र पिशाचहरूदेखि लिएर आजको मेघालयका नागहरूसम्म, हिमालयका यक्ष र गन्धर्वदेखि लिएर दक्षिणका राक्षस र दानव तथा कालय र कालकेय जस्ता समुद्रगामी दैत्यहरू समेत पर्दछन्।’ (पूर्ववत्) ‘हिमालयका यक्ष र गन्दर्भ’ को सङ्केतले यहाँका बृहत् किरातलाई पनि असुर नै भनिने गरेको स्पष्ट हुन्छ।
असुरको उत्पत्ति र सभ्यता
ऋग्वैदिक आर्यहरूको आँखाको सगोलजन्य ‘असुर’ बाट छुट्याएर सिन्ध सभ्यताकालीन शुद्ध असुरको कुरा गर्ने हो भने यो जाति मेसोपोटामियाबाट सम्भवतः व्यापारको सिलसिलामा सिन्ध आइपुगेको हो। त्यहाँबाट अरू जाति पनि यहाँ आएको देखिन्छ। असुर विश्वको सर्वप्राचीन सुमेर सभ्यताको एक अंश थियो। मेसोपोटामियाको दक्षिणी भागमा सुमेर सभ्यताको विकास हुँदा उत्तरी खण्डमा असुर थिए जुन करीब आठ हजार वर्षअघिको पछिल्लो नियोलेथिक संस्कृतिबाटै विकसित हुँदै कृषिग्राममा बसोबास गर्थे।
एक ग्रामदेवताको नाम थियो असुर जसलाई अस्सुर, अशुर र अस्हुर पनि भनिन्थ्यो। यिनैको नामबाट असुरिया नगर बन्यो र यहाँका अफ्रो-एशियाली भाषी बासिन्दालाई नै असुर भनिन थालियो।
त्यहींको एक ग्रामदेवताको नाम थियो असुर जसलाई अस्सुर, अशुर र अस्हुर पनि भनिन्थ्यो। यिनैको नामबाट असुरिया नगर बन्यो र यहाँका अफ्रो-एशियाली भाषी बासिन्दालाई नै असुर भनिन थालियो। यी असुरियालीहरू असुरदेवका पुजारीलाई देव-प्रतिनिधिका रूपमा नगर-शासक मान्दथे।
पछि असुर-नगरहरू साम्राज्यका रूपमा विस्तार भयो र असुर जाति इराक, इरान, सिरिया, टर्की आदि मध्यपूर्वमा व्याप्त भयो र व्यापारका लागि जलमार्ग सुलभ गर्न साम्राज्य पश्चिमतिर इजिप्टसम्म पुग्यो। असुर साम्राज्य कुनै न कुनै रूपमा इपू २०२५ देखि ६०९ सम्म वेलावेला खुम्चँदै कायम थियो। साम्राज्य विस्तारसँगै असुर-देव साम्राज्यको महत्त्वपूर्ण देवता बने र सुमेर, बेबिलोन र इजिप्ट लगायत इरानमा यिनको प्रभावको विस्तार भयो तथा यिनलाई सुमेरियाली र बेबिलोनियाली देवताका पनि समरूप-समकक्षीय ओहदा दिइयो। इरानमा अडेका अग्निपूजक आर्यको पुरानो जराथ्रुस धर्ममा अहुर-मज्दा देवता देखापरे जो उनीहरू ऋग्वैदिक समकक्षी देवता मित्र-वरुण मान्दछन्।
आफूलाई आर्य भन्न रुचाउने जाति भने उर्वर चरणभूमि खोज्दै डियाँहरूका साथ पूर्व लाग्दै गरेको युरोपेली मूलको थियो। मध्यपूर्वमा यिनीहरू इपू २००० सहस्राब्दीको शुरूतिरै आइपुगिसकेका थिए। यीमध्ये कति मध्यपूर्वमै अडे। लगभग इपू १४७५-१२७५ तिर यिनीहरूले त्यहाँका रैथानेलाई दबाएर सानातिना राज्यहरू खडा गरिसकेका थिए।
यिनीहरूको मितान्नी राज्यमा इन्दर, उरुवन, मितिर आदि देवता देखिन्छन् जो ऋग्वेदमा इन्द्र, वरुण, मित्र आदिका रूपमा छन्। इरानबाट पनि अझै पूर्व बढ्नेहरू आर्यका अनेक जत्था इपू २,००० सहस्राब्दीकै कालखण्डमा सिन्ध क्षेत्र आइपुगेका थिए।
ऋग्वैदिक आर्यहरूले मेसोपोटामिया र इरानमै असुरियाली चकचकी देखेका थिए। सिन्ध मालभूमिमा १५०० इपू तिरैदेखि नै ऋग्वेदका प्राचीन ऋचाहरू निर्माण हुन थालिसकेको प्रतीत हुन्छ। मिति विवादमध्ये सबभन्दा पछिल्लो आँकडालाई मान्दा १५००-१००० प्रारम्भिक र १०००-६०० इपू पछिल्लो ऋग्वैदिककाल हुन्छ।
पछिल्लो कालमा विरोधी शक्तिलाई पूर्वतर्फ लगार्दै ऋग्वैदिक आर्यहरू गङ्गा मालभूमितिर बढिसकेका थिए। यसैको वर्णन हो देवासुर सङ्ग्राम। तर, यो असुर हिन्द उपमहाद्वीपका अरू रैथाने जाति सहितको सगोल नाम थियो। त्यतिखेर यहाँ असुरका जब्बर दुर्ग सहितका सयौं नगर राज्यहरू थिए। ती ध्वस्त गरी गङ्गा मैदान पुगेपछि भने वैदिक आर्यहरूले सङ्ग्रामको तरिका बदले।
उत्तर वैदिककालमा युद्ध नगरी स्थानीय देवदेवीलाई नै आर्य आवरण दिएर स्थानीय अनार्यहरूलाई आर्य धर्म अर्थात् हिन्दू धर्ममा सामेल गर्ने नीति लिँदै सनातन नाममा धार्मिक संस्कृति विस्तार गर्न आर्यहरू सफल भए।
कमल रिजाल महाभारतकालमा कृष्णले सत्यभामालाई सम्झाउने क्रममा भनेका संवाद यसरी लेख्छन्, ‘एक पटक देवताका राजा इन्द्रले रिसाएर वृत्रासुरलाई मार्न खोजेका थिए, तर उनी आफैं उसको कैदी हुन पुगे। तिनै इन्द्र हुन्, जसले एकताका असुर सभ्यता भन्दै आठ हजारभन्दा बढी नगर ध्वस्त पारेका थिए, तर अन्त्यमा उनी आफैं त्यही नगर सभ्यताको अनुयायी हुन पुगे। देवताहरू पहिले लिङ्गपूजक भन्दै असुरको निन्दा गर्थे। पछि उनीहरू आफैं तीन बित्ता उफ्रेर लिङ्गको उपासक बन्न पुगे। यी सबै रिसका नतीजा हुन् बुझ्यौ? जसले पछि आफैंलाई पछुतो गराएको छ।’ (गोरखापत्र, ५ असार २०७८)
विकृतिसँगै बुद्धवाद
यस छोटो संवादले असुर राज्य थुप्रै भएको कुरा मात्र होइन, आर्यहरूले सिन्ध सभ्यताबाट धेरै कुरा ग्रहण गरेको र पछुताउनु परेको इतिहासको पनि सङ्केत गर्छ। योग, लिङ्गपूजा, ध्यानस्थ देव (शिव), मातृसत्तापूजा आर्यहरूले सिन्ध सभ्यताबाटै लिएका हुन्। यसका साथै उत्तर वैदिककालमा युद्ध नगरी स्थानीय देवदेवीलाई नै आर्य आवरण दिएर स्थानीय अनार्यहरूलाई आर्य धर्म अर्थात् हिन्दू धर्ममा सामेल गर्ने नीति लिँदै सनातन नाममा धार्मिक संस्कृति विस्तार गर्न आर्यहरू सफल भए। तर, ईपू ६०० पछि यो प्रवृत्तिले ऋग्वैदिक आर्य संस्कारहरू विकृत बन्दै गए र त्यही विकृतिको विरोधमा गौतम बुद्धबाट बुद्धवादको प्रादुर्भाव भयो।
देवासुर सङ्ग्रामकालमा पराजितलाई दास बनाउन आर्यहरू सफल थिए। दास निजी हुन्थे, विकृति उन्मुखताकै सिलसिलामा नागरसभ्यताको कार्य विभाजनमय जीवन पद्धतिलाई आर्यहरूले पछि वर्ण व्यवस्थामा परिणत गरी सामाजिक दास वर्ग शूद्र खडा गरे। यही विकृति उन्मुख उत्तर वैदिक संस्कृतिको विस्तारमा दोस्रोदेखि पाँचौं शताब्दीमा लेखिन नै थालिसकेका पुराणहरूले थप सघाए। उत्तर वैदिक संस्कृति नअपनाउने अनार्यहरू सीमान्तकृत हुँदै गए। कतिपयले आर्य संस्कृति अङ्गीकार गरे।
इन्डियामा अहिले पनि सीमान्तकृत असुर जाति ईपू ६०० भन्दाअघि नै पूर्व-दक्षिण धपिएर झारखण्डको जङ्गलमा पुग्यो। सारा हिन्दूकी देवी कालीको विजयोत्सव पर्व बडादशैंमा झारखण्डका असुर महिषासुरको वधमा शोक मनाएर घरभित्र रहन्छन्। आफूलाई असुर भन्ने जाति हालसम्म नेपालमा स्पष्ट नभए पनि प्रकारान्तरले असुर सम्बद्ध सीमान्तकृत अनार्य जाति पाइनसक्ने सम्भावना यथेष्ट छ।
बैतडीको असुर गाउँका दलितहरूले तिहारमा आफूले भाग नपाउने गरी ठूला जातलाई बुझाउने खसी नै दलितमा परिणत असुरले आर्यलाई बुझाउने कर हुनसक्ने सम्भावना छ। यस्ता प्रागैतिहासिक अनुसन्धानमा राज्य र गम्भीर अध्येताहरूकै उदासीनताका कारण नेपालतिरको इतिहास गर्भभित्रै अलप छ।