अभियुक्तकै वकीलकाे माग- ‘हाई प्रोफाइल’ नेतामाथि अनुसन्धानकाे आदेश हाेस्
नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तकै वकीलहरूले बयानका क्रममा पोलिएका ‘हाई प्रोफाइल’ नेतामाथि अनुसन्धान गर्न आदेश दिनुपर्ने इजलाससँग माग गरेका छन्।
नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले अभियुक्त पक्षका कानून व्यवसायीले आफ्ना तर्क पेश गरिरहेका छन्। जेठ २१ गतेदेखि शुरू भएको बहसको शुरूआतका तीन दिन सरकारी वकील र जाहेरीकर्ताका कानून व्यवसायीले बहस गरेका थिए।
विपक्षी कानून व्यवसायी र सरकारी वकीलले तर्क र तथ्य राख्दा इजलासमा कहिले झोक्राउने त कहिले छटपटाहटमा देखिने गरेका अभियुक्तहरू आफ्नो पक्षका वकीलहरूले बहस गर्दा भने अलि टाठा देखिंदै आएका छन्।
जेठ २४ गतेदेखि प्रतिवादी पक्षका वकीलले गरिरहेको बहस सकिएको छैन। तर, सोमबार भने प्रतिवादीका वकीलहरूले बहस गर्दा अचानक ‘हाई प्रोफाइल’ अभियुक्त भने झस्किए, मानौं उनीहरू विपक्षी वकीलका तर्क सुनिरहेका छन्।
जेठ २९ मा रामशरण केसीका वकील बालकृष्ण नेउपानेले बहस गर्न थालेपछि इजलासको वातावरण अलग बन्यो। यही मुद्दाका अभियुक्त टेकनाथ रिजालले अनुसन्धानका क्रममा र अदालतमा स्विकारेको तथ्य कोट्याउँदै वरिष्ठ अधिवक्ता नेउपानले भने, “यो अपराध सरकारको माथिल्लो तहमा बस्नेले गरेका छन्, तर मुद्दा रामशरण केसी, जो आफैं अमेरिका जाने चक्करमा रकम डुबाएर पीडित छन्, उनलाई लगाइएको छ।”
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा ढुक्क हुन भूटानी शरणार्थी नेता रिजालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन नेकपाका नेता पुष्पकमल दाहाललाई भेटाउन भनेको बयान दिएका छन्। त्यसपछि केशवप्रसाद दुलाल र सानु भण्डारीले नेताहरूसँग रिजालको भेट गराएको अनुसन्धान र प्रहरी बयानमा बताएका छन्। “ढुक्क हुन रिजालले ओली, प्रचण्डलाई भेट्न चाहेका छन्। ओलीसँग भेट भएनछ। प्रचण्डसँग भेटेपछि रिजालले नेपाल सरकारबाट पाइरहेको सुविधा, जुन रोकिएको थियो, त्यो पनि पाउन थालेछन्,” वरिष्ठ अधिवक्ता नेउपानेले प्रश्न गरे, “अपराध बमोजिम अभियोग आयो त श्रीमान्?”
यो बयानले नै अपराधको ‘जरिया’ थाहा हुने वरिष्ठ अधिवक्ता नेउपानेले जिकिर गर्दा इजलासमा बसिरहेका रिजाल चकित परेका थिए। केही बेर त उनले आफ्नो सीटबाट उठेर बहस सुनेका थिए।
त्यस्तै, सचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पठाएको पत्रले आज पनि प्रवेश पायो। यो पत्रको सन्दर्भ बहसका क्रममा नउठेको कुनै दिन छैन।
“हिरासतबाट सचिवज्यूले चिठी लेख्नुभयो– यीभन्दा माथि अनुसन्धान नहोस्। भयो भने राजनीतिक रूपमा अप्ठ्यारो पर्छ। माथि अनुसन्धान रोक्न र पक्राउ परेकाको बयान फेराउन केपी बा, शेरबहादुर बालाई भेट भनियो,” नेउपानेको तर्क थियो, “प्रहरीले अनुसन्धान गरेर अभियोग त्यसरी नै ल्यायो। अनुसन्धान माथि गएन र जो होचो उसकै मुखमा घोचो भने झैं गिरोहका सदस्यलाई प्रलोभनमा परेर रकम बुझाउने रामशरण केसीहरू अभियुक्त बने।”
हिरासतबाट लेखिएको पत्रको प्रसङ्ग बहसमा उठ्दा निलम्बित सचिव पाण्डे र पूर्व गृहमन्त्री खाण मुखामख गर्न पुगे। खाणको छेउमै रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले लामो श्वास तान्दै दिक्दारी भाव पोखे भने न्यायाधीश प्रेमप्रसाद न्यौपाने सधैं झैं यो प्रसङ्ग आउँदा मुस्कुराए।
हिरासतभित्रबाटै चिठी लेखिए अनुसार नै अनुसन्धान अपूरो भएकाले इजलासले विशेष अधिकार प्रयोग गरी एक महीनाभित्र पूरक अभियोजन ल्याउन आदेश दिनुपर्ने माग पनि नेउपानेले गरे। अपराधीलाई छुटाउने र निरपराधलाई सजाय दिने मनसाय सहित अनुसन्धान गरेकाले अपूरो अनुसन्धान पूरा गर्न अदालत बोल्नुपर्ने उनको तर्क थियो। “अदालतमै रिजालले यो प्रकरणमा जोडिएका नामहरू खुलाएका छन्,” वरिष्ठ अधिवक्ता नेउपानेले थपे, “अभियोग कागजी बाघ होइन भन्नलाई पनि अदालतले आफूमा अन्तर्निहित अधिकार प्रयोग गरेर पूरक अभियोग दर्ता गराउन आदेश दिनुपर्छ।”
यो मुलुक सुधार्न नेताहरूले नचाहेकाले अदालतले यस्तो आदेश दिएर ‘बोल्ड’ निर्णय गर्नुपर्ने उनको तर्क थियो। “नेताहरूले हिजो मुलुक सिंगापुर, स्वीट्जरल्यान्ड बनाउँछु भने,” नेउपानेको भनाइ थियो, “यदि त्यस्तो समृद्ध बनाएको भए आज नेपालमा नक्कली भारतीय, नक्कली अंग्रेज वा नक्कली अमेरिकी शरणार्थी हाम्रो मुलुकमा रोजगारका लागि आउने थिए। नेताले गर्दा हाम्रो आगामी पुस्ताले पनि दुःख पाउने भएकाले अदालतले माथिकालाई अनुसन्धान गर भन्नुपर्छ।”
यसअघि जेठ २४ गते जाहेरवालाका वकील हरिप्रसाद कट्टेलले अभियुक्तले बयानमा झोसेका आधारमा थप उच्च पदस्थमाथि अनुसन्धान गर्नुपर्ने माग गरेका थिए। कट्टेलले ‘न्यायिक नोटिश गरिपाऊँ’ भन्दै बयानमा पोलिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउन इजलासले भूमिका खेल्नुपर्ने तर्क गरेका थिए। यसका लागि उनले काठमाडौं अदालतमै विचाराधीन रहेको एउटा मुद्दाको उदाहरण पेश गरे। आपराधिक विश्वासघात गरेर ठगी गरेको मुद्दामा एक जना प्रतिवादी नवराज ढकाल इजलासको आदेशपछि अनुसन्धानको दायरामा आएको उनको जिकिर थियो।
न्यायाधीशले यसप्रति चासो देखाएर मुद्दा नम्बर टिपेका थिए भने इजलासका सहयोगीलाई यकीन गर्न पनि भनेका थिए। ‘मुद्दा दर्तापछि अनुसन्धान गर्न इजलासले नै भनेको हो?’ न्यायाधीश न्यौपानेले आश्चर्यभावमा सोधेका थिए।
“मैले यो सम्मानित इजलासमा झूटो कुरा बोलेको होइन। मिसिल यहीं छ, ल्याएर अध्ययन गरियोस्,” कट्टेलले फेरि मुद्दा नम्बर सहित भनेका थिए।
इजलासलाई अनुसन्धानका लागि आदेश दिने विशेष र तजबिजी अधिकार हुने भन्दै कट्टेलले यो मुद्दामा पनि प्रतिवादीले नाम पोलेकाहरूलाई तुरुन्त अनुसन्धानको दायरामा ल्याउन आदेश दिनुपर्ने माग गरेका थिए।
प्रमुख बिचौलियाको भूमिकामा देखिएका अभियुक्त सानु भण्डारी, केशवप्रसाद दुलाल र अजेन्ट रामशरण केसीले यो प्रकरणमा आर्थिक लाभ लिएको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी एवं सांसद नैनकला थापा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अजयक्रान्ति शाक्य, ओलीकै प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि रकम बुझेको प्रहरीमा बयान दिएका छन्। प्रहरीसँगको बयानमा दुलालले त पूर्व गृहमन्त्री थापाको परिवारले नै रकम बुझेको भनेका थिए।
दुलालले ओलीका सल्लाहकार शाक्य र प्रमुख स्वकीय सचिव बज्राचार्य र पूर्व मेयर शाक्यका निजी सचिव स्थापितले पुल्चोकस्थित थापा बस्ने मन्त्री क्वार्टरमा रकम लिएको बयान दिएका थिए। मन्त्रिपरिषद्को सामाजिक समितिमा रहेका बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनबारे निर्णय गर्न माथि रकम अपुग भएको भन्दै शाक्य र स्थापितले एक–एक करोड लिएको उनको बयान थियो। काम नभएपछि रकम फिर्ता माग्दा पूर्व गृहमन्त्री थापका छोरा प्रतीक मार्फत ६० प्रतिशत रकम मात्र फिर्ता पाउने खबर पठाएको पनि दुलालले खुलाएका थिए।
दुलाल र भण्डारी दुवैले तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि इन्द्रजीत राई मार्फत तीन करोड रुपैयाँ लिएको बयान दिएका छन्। राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त छन्।
अर्का अभियुक्त रामशरणले बेचन झाले पनि राजनीतिक निर्णयका लागि भन्दै रकम लिएको बयान दिएका छन्। झा को हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन।
अधिवक्ता कट्टेलले यो मुद्दामा नाम आएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा र पूर्व गृहमन्त्री एवं अभियुक्त बालकृष्ण खाणकी पत्नी मञ्जु खाणलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे। यद्यपि अभियोगमा आरजु र मञ्जुको नाम भने कसैले पनि लिएको छैन।
तर, यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको अडिओमा भने यी दुई जनाले साढे आठ करोड रुपैयाँ बुझेको सुनिन्छ। अभियुक्त सन्देश शर्मा र एक जना पीडितबीच भएको भनिएको कुराकानीमा यो विवरण खुलेको हो। प्रहरी र अदालत दुवैमा भएको बयानमा आरजु र मञ्जुको नाम कसैले लिएको छैन।
नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले ३० जना विरुद्ध मुद्दा दायर गरेको छ। जसमध्ये १८ जना पक्राउ परेका छन् भने बाँकी फरार छन्। २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो सहित ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा चलिरहेको छ। अभियोगपत्रमै अनुसन्धान बन्द भइनसकेको र थप प्रमाण भेटिएमा पूरक अभियोजन लगाउने बाटो खुला राखिएको छ।
धरौटी वा तारेखमा छोड्ने वा थुनामा पठाएर मुद्दाको सुनुवाइ गर्ने भन्नेबारे बहस अन्तिम चरणमा पुगेको छ। सोमबार नरेन्द्र केसी, रामशरण केसीका वकीलले बहस सकाएका छन्।
पूर्व गृहमन्त्री खाण सहित हरिभक्त महर्जन, लक्ष्मी महर्जन लगायतका अभियुक्तको पक्षबाट मंगलबार बहस हुनेछ। सरकारी वकीलले जवाफी बहसका लागि समय मागेकाले इजलासको निर्णय आउन अझै केही दिन लाग्ने देखिन्छ।