हिरासतभित्रबाट लेखिएका दुई चिर्कटो वरिपरि घुमेको बहस
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव केसीलाई सम्बोधन गरेर लेखिएको चिर्कटोमा ‘पाण्डेले अनुसन्धानमा हस्तक्षेप नगर्ने हो भने कोही पनि नबच्ने’ सन्देश पठाएका थिए।
सामान्यतः जिल्ला अदालतमा हुने बहस–पैरवीमा चल्तीका वकील, सञ्चारमाध्यमको चासो हम्मेसी हुँदैन। तर, तीन दिनयता काठमाडौं जिल्ला अदालतको २५ नम्बर इजलासमा भने अलग्गै दृश्य छ। गिनेचुनेका वकील, सञ्चारकर्मी र बर्दीधारी प्रहरीको भीडभाड बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मै हुन्छ। प्रहरीले सर्वोच्च अदालतले सञ्चारकर्मीलाई दिएको पास, वकालतनामामा सूचीकृत वकील, अदालतका कर्मचारी ठम्याएर मात्र इजलासभित्र छिर्न दिन्छ। जेठ २३ गते भने अपराह्न साढे ४ सम्म मात्र यो दृश्य रह्यो।
विरलै हुने यस्तो दृश्यका केन्द्रमा छन्, गम्भीर फौजदारी कसूरका ‘हाई प्रोफाइल’ अभियुक्तहरू। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा अदालतमा मुद्दा खेपिरहेका छन्, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृह मातहतकै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्व सांसद आङटावा शेर्पा जस्ता राज्य संयन्त्रको उपल्लो ओहोदाधारी।
सम्भवतः जिल्ला तहको अदालतमा राज्य संयन्त्रको उच्चपदस्थ यति धेरै व्यक्ति एकसाथ फौजदारी मुद्दामा अभियुक्त बनाएको पहिलो घटना हो, यो। २८ करोड ८१ लाख ७४ हजार ५०० रूपैयाँ बिगो सहित ३० जना विरुद्ध ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूर लागेको यो मुद्दा अभियुक्तहरूलाई थुनामा राखेर फैसला गर्ने कि धरौटी वा तारेखमा छोडेर भन्नेबारे निर्णय प्रक्रियामै छ।
तीन दिन चलेको बहसमा राज्य पक्षका आठ जना सरकारी वकील र पीडितका पाँच जना निजी वकीलले बहस गरे, जसले आरोपितहरूलाई थुनामा पठाउनुपर्ने जोडदार माग गरेका थिए। यो मागको प्रमुख आधार बन्यो, दुई वटा कागजी चिर्कटो।
जब यी चिर्कटोको कुरा इजलासमा उठ्थ्यो तब, अभियुक्तमध्येका टेकनारायण पाण्डेको अनुहारमा बदलाव देखिहालिन्थ्यो। अभियुक्तहरूलाई जेल चलान नगरी मुद्दाको सुनुवाइ गर्ने हो भने न्याय सम्पादनमा ‘कागजी चिर्कटो’ दोहोरिने र त्यसले न्याय सम्पादन प्रभावित हुने भन्दै वकीलहरूले खबरदारी गर्दा पाण्डे घरी टाउको मुसार्थे त घरी आफूप्रति इजलासमा उपस्थित भएका अरूको ध्यान परेको छ कि छैन भनेर सावधानीपूर्वक नियाल्थे।
यी तिनै चिर्कटो हुन्, जुन पाण्डेले प्रहरी थुनामै रहेका वेला अनुसन्धान प्रभावित तुल्याउने उद्देश्यले पूर्व गृहमन्त्री खाणलाई स्वकीय सचिव नरेन्द्र केसी मार्फत पठाएका थिए। खाणका स्वकीय सचिव केसीलाई सम्बोधन गरेर लेखिएको चिर्कटोमा ‘पाण्डेले अनुसन्धानमा हस्तक्षेप नगर्ने हो भने कोही पनि नबच्ने’ सन्देश पठाएका थिए।
एउटा चिर्कटोमा पाण्डे सुझाव दिन्छन्, ‘नरेन्द्रजी, ओलीबा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ।’
पाण्डेले पठाएको अर्को चिर्कटोमा छ, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउन पर्यो। नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ। अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन। मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुन कुराकानी नै भएको छैन। एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ। पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका छन्।’
निवासमा प्रहरी पुग्नसाथ खाणले एउटा कागज हतार हतार चपाएका थिए। खाणका स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको चिर्कटो च्यातचुत पारिएको थियो। च्यातिएको र चपाइएको चिर्कटो प्रयोगशाला परीक्षणबाट रिकभर भएपछि उल्लिखित बेहोरा खुलेको हो। आखिर नष्टप्रायः बनेको यही चिर्कटो हाई प्रोफाइल अभियुक्तको ‘कनेक्शन’ स्थापित हुने र पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बलियो स्रोत बन्ने सम्भावना भएको छ।
यही चिर्कटोले मन्त्री खाण यो प्रकरणमा जोडिएको एउटा प्रमाण दिन्छ भने अनुसन्धान नरोकिए अझै माथिसम्म जान सक्ने पनि औंल्याएको छ। पाण्डेले यो चिर्कटो आफूले लेखेको प्रहरी र अदालत दुवै बयानमा सकारेका छन्। परीक्षण प्रतिवेदनले पाण्डको अक्षर हो भनिसकेको छ। उक्त चिर्कटो पाण्डेले लेखेकोमा विवाद छैन।
अदालतको बयानमा चाहिं पाण्डेले चलाखीपूर्वक भनेका छन्, ‘पक्राउ पुर्जी जारी हुँदै छ भन्ने अनौपचारिक जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबूकमा लेखेको थिएँ।’ पक्राउ पर्ने सूचना पाएपछि राति बस्नका लागि घर बाहिर जाने क्रममा नोटबूक ट्याक्सीमा छुटेको र फोन नम्बर समेत भएकाले ट्याक्सीवालाले केसीलाई दिएको हुन सक्ने पाण्डेले बयानमा जिकिर गरेका छन्।
इजलासमा पाण्डे र खाणलाई सरकारी र पीडितका वकीलका अरूभन्दा चिर्कटो मिश्रित तर्कले बढी भयभीत, लज्जित तुल्याएको देखिन्थ्यो।
जेठ २३ गते बहस गरेका सरकारी वकील हिरालाल भोलनले यो उच्चपदस्थ जोडिएको ‘सफेद पाेश अपराध’ भएकाले अभियुक्तहरूलाई थुनामा नपठाउँदा न्यायिक प्रक्रिया बिथोलिने औंल्याए। संगठित अपराधमा सामेलहरूले समानान्तर सरकार चलाउन थालेकाले यसलाई न्यायालयले पनि परम्परागत अपराधभन्दा भिन्न दृष्टिकोणले हेर्नुपर्ने उनको जिकिर थियो।
“हिरासतभित्र रहँदा त कानून उल्लंघन गर्नेहरू मुक्त भए भने के हुन्छ? अनुमानयोग्य छ,” भोलानले यस्तो तर्क गर्दा डायरीमा केही टिपिरहेका पाण्डे झसङ्ग बने। पल्याकपुलुक हेरे र फेरि टिपोट गर्न थाले। भोलानले राज्य विरुद्धको अपराध अनुभूतिजन्य अपराध भएकाले यसका कतिपय तथ्य मिसिलमा खोजेर नभेटिने बताए।
“राज्यको गरिमामय पदमा बसेका यी अभियुक्तहरूको नागरिक बेच्ने संगठित धन्दाले विश्वभर भएका नेपालीको शिर झुक्ने अवस्था सिर्जना भएको छ,” भोलानले तर्क राखे, “योभन्दा लज्जाजनक महसूस नेपालीका रूपमा के हुन सक्छ?” भोलानको यो तर्कले चाहिं पाण्डे मात्र होइन, टोपबहादुर रायमाझी र बालकृष्ण खाण पनि चलमलाए। एकआपसमा हेरे र घोसेमुन्टो लगाए।
जाहेरवाला रामकुमार रेग्मीका तर्फबाट बहस गर्न उभिएका अधिवक्ता सुशीलकुमार शर्माले हिरासतबाट पाण्डेले प्रहरीको लेटर प्याडमा नेताहरूले पालन गर्नुपर्ने भनेर सुझावात्मक रूपमा लेखेको पत्र नै कसूर स्थापित गर्ने प्रमाण भएको तर्क राखे। “थुनामा पठाउन योभन्दा अर्को प्रमाण खोजिरहनै पर्दैन,” उनले भने, “हिरासतमा भएको व्यक्तिले बच्ने र बचाउने उपाय सहित पत्र लेख्न सक्छ भने बाहिर निस्किए झन् के के गर्लान्?” बिचौलिया र अमेरिका लैजाने विश्वास दिलाएर पैसा सङ्कलकको भूमिका देखिएका सन्देश शर्माले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग खिचाएको फोटो देखाएर पीडितलाई ढुक्क तुल्याएको प्रमाण पनि अधिवक्ता शर्माले इजलासमा देखाए।
“प्रभावित तुल्याउने भनेको यसरी नै हो,” उनले भने। न्यायाधीश न्यौपानेले उक्त प्रमाण मुसुमुस हाँस्दै मागेर मिसिलमा राखे। उपप्रधानमन्त्री, मन्त्री, मुलुकको स्थायी सरकार भनिने कर्मचारितन्त्रको सचिव पदमा भएका व्यक्तिले काम हुन्छ भन्ने सूचना संगठित गिरोहको तहगत सदस्य हुँदै नागरिककहाँ पुगेपछि उनीहरू पत्याउन बाध्य भएको उनले सुनाए।
अधिवक्ता स्वागत नेपालले अनुसन्धानकै क्रममा अभियुक्तहरूको पहुँच छरपस्ट भएको बहसमा बताए। रायमाझी, खाण, पाण्डे, आङटावा शेर्पा, इन्द्रजीत राई, टेकनाथ रिजाल, शमशेर मियाँलाई प्रहरीले अदालतमा म्याद थप्न ल्याउँदा हतकडी नलगाएको र अरूलाई लगाएकोप्रति नेपालले इंगित गरेका हुन्। साथै रायमाझी, खाण, शेर्पालाई प्रहरीका डीएसपीको कार्यकक्ष खाली गराएर हिरासत बनाइएको थियो। “अनुसन्धानको क्रममा दुष्प्रभावको सिर्जना त्यही वेला भएको हो,” उनले तर्क गरे, “हाई प्रोफाइल अभियुक्तलाई हत्कडी नलगाउने र अरूलाई लगाउने कानूनको विभेदकारी प्रयोग न्यायिक इतिहासमा कालो दिनका रूपमा सम्झिइनेछ।”
हिरासतभित्रबाट पत्र पठाउने कार्य हाई प्रोफाइललाई हत्कडी नलगाएकै कारण सफल भएको पनि नेपालले जिकिर गरे। पीडितहरू थुप्रै भए पनि अनुसन्धानको क्रममा देखिएको शक्तिको पहुँचको दुष्प्रभावका कारण जाहेरी आउन नसकेको पनि उनले बताए। “राज्यशक्तिमा अभियुक्तहरूको पहुँच कुन हदसम्म छ भन्ने त छरपस्ट भइसक्यो। राजनीतिक दलबाटै यो मुद्दाका प्रमाण दबाउने काम भइरहेको छ,” उनले थपे, “अनुसन्धान सकिएको छैन भनेर अभियोगपत्रमा छ। तर, यी अभियुक्त छुटे भने जाहेरी दिन थप कोही आउँदैन। यो मुद्दालाई सफल बनाएर फौजदारी न्याय प्रणालीमाथि विश्वास कायम राख्न पनि अभियुक्तहरूलाई थुनामा पठाउनुपर्छ।”
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले कानूनी, सामाजिक लडाइँका क्रममा आफू पूर्व गृहमन्त्री खाणको सहकर्मी भएको स्मरण गर्दै बहस थाल्दा खाणले पोडियमतिर हेरे। तर, यति गम्भीर अपराधको निर्णयकर्ता सहकर्मी भएकोमा भने उनीप्रति आफूलाई कुनै सम्मानभाव नभएको कुरा राख्दा रातो टीका लगाएका खाणको अनुहार कालोनिलो भयो।
“सरकारी प्रतिवेदन कीर्ते गरेर यति धेरै नागरिक बेचिने योजना चाल पाएपछि एक-एक गरेर अनुसन्धान गराउन सक्थे,” श्रेष्ठले भने, “मुलुकको अन्तर्राष्ट्रिय लज्जा हुने विषयमा छानबिन मार्फत अनुसन्धान गरेको भए देशको नेता हुन्थे। मेरो सम्मानजनक साथी हुन्थे। तर, विपरीत भयो।” पदमा छँदा यति गम्भीर कसूर गर्ने र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्नेहरू थुनामुक्त हुँदा गलत कामको सीमा नहुने भन्दै श्रेष्ठले सबैलाई जेल पठाउनुपर्ने तर्क गरे।
अघिल्ला दिनका बहसमा पनि हिरासतभित्रैबाट बच्ने उपाय खोज्नेले फुक्काफाल हुँदा न्याय सम्पादन प्रभावित हुने तर्क वकीलहरूले गरेका थिए। “हिरासतमा रहेका व्यक्तिले कागजमा चिर्कटो पठाएर अनुसन्धान प्रभावित पार्ने हर्कत गर्नेहरूलाई छोडियो भने न्याय सम्पादन के होला? पीडित, साक्षीहरूको सुरक्षा के होला?” जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जेठ २२ गते बहसमा भनेका थिए, “हिरासतको हर्कतले नै न्याय सम्पादनमा भोलि के हुन सक्छ भन्ने अड्कल गर्न सक्छ, सम्मानित इजलासले।”
जब जब पाण्डेले लेखेको चिर्कटोको प्रसङ्ग बहसमा उठ्थ्यो तब तब इजलासको पछिल्लो बेन्चबाट दोस्रो बेन्चमा लहरै बसेका ‘भीआईपी’ अभियुक्तहरूमा छटपटाहट शुरू हुन्थ्यो। तीन दिनको बहसमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजीत राई त्यही दोस्रो लहरमा बसेका थिए।
तेस्रो दिन शेर्पा भने पछिल्लो हारमा पनि घरीघरी बसेका थिए। त्यही वेला उनले यो संवाददातासँग भने, “त्यत्रो एनसेल काण्ड कहाँ गयो, ठूला ठूला भ्रष्टाचार के भए? जाबो दुई-चार करोडमा एउटै कुरा कति दोहोर्याएको?” यी हाई प्रोफाइल अभियुक्त गिरोहको तहगत संरचनामा त्योभन्दा तल्लो तहको भूमिकामा रहेकाको तुलनामा शान्त देखिन्थे।
अन्य अभियुक्त भने इजलास बाहिर-भित्र बढी गर्थे। इजलासभित्रै पनि मन्द स्वरमा बात मार्न ठाउँ साटासाट गरिरहन्थे। वकीलले बहसका क्रममा गिरोहका सदस्यबीचका संवाद, लेनदेनका दसी, अन्य प्रमाणबारे बताउँदा ‘त्यस्तो हो र?’ भावमा घोचपेचदेखि ठट्टासम्म गर्थे, कहिले मुख खोलेर त कहिले इशाराले। यी सब चीज त्यति वेला बन्द हुन्थे जतिखेर चिर्कटोको कुरा आउँथ्यो। न्यायाधीश न्यौपाने पनि चिर्कटो मार्फत भएको चलखेलबारे वकीलले बहस उठाउँदा मुसुमुसु हाँसिहाल्थे।