विभूषणको राजनीति
लिच्छविकालदेखि नै प्रचलनमा रहेका विभूषण, अलङ्कार र मानपदवीले गणतन्त्रसम्म आइपुग्दा नाम र स्वरूप बदले पनि निहितार्थ एउटै छ- बहुलता निषेध गर्ने, शासकका कमजोरी लुकाउने र तिनको प्रशस्ति गाउने।
इतिहासमा वंशावली र विरुदावलीहरू प्रशस्तै भेटिन्छन् जसले शासकको स्वार्थ र रुचिमा केवल तिनकै महत्ता गाइरहेका हुन्छन्। शासकीय प्रशस्ति लेखाउने प्रवृत्तिलाई प्रोत्साहन गर्न पुरस्कार, पदक र प्रशंसापत्र बलियो हतियार बनेका छन्। शासक विरुद्धका प्रश्नलाई बन्देज लगाउने ध्येयले बाँडिएका पदक तथा पुरस्कार शासनसत्ता टिकाउन र कमजोरी लुकाउन दुरुपयोग समेत भएका छन्।
आफ्नो शासकीय छविलाई कीर्तिका रूपमा अतिशय प्रचार गर्न लगाउने भारतीय उपमहाद्वीपका राजाहरूमा सम्राट् अशोक अग्रपंक्तिमा पर्छन्। उनले राख्न लगाएका ४० वटाभन्दा बढी कीर्तिस्तम्भले यसलाई पुष्टि गर्छन्। नेपालमा पनि प्राचीन कालदेखि नै शासकहरूले यस्तो प्रवृत्ति अनुसरण गरेको पाइन्छ। राजा मानदेवले चाँगुनारायणमा राख्न लगाएको संवत् ३८६ को शिलास्मारक उदाहरण हो। यसमा उनले आफ्नो पुर्खाको गौरव र व्यक्तित्वको प्रशस्ति लेखाएका छन् जसमा वृषदेवलाई ऐश्वर्ययुक्त र लडाइँं कम गर्ने व्यक्तका रूपमा चित्रण गरिएको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख)।
मानदेवपछिका राजाहरूले लेखाएका अभिलेखका भाषा र व्यहोरा हेर्दा पनि तिनमा प्रशस्तिगान गराउने अभीप्सा नै झल्कन्छ। लिच्छविकालका अभिलेखमै उल्लेख भए अनुसार ललितपुर, लेलेस्थित शिवदेव प्रथम र अंशुवर्माले संयुक्त रूपमा राख्न लगाएको संवत् ५२६ को अभिलेखमा लिच्छविवंशको यशोगान गरेको र झन्डा फहराएको भावार्थमा शिवदेव प्रथमलाई ‘लिच्छवि कुलकेतु’ उपाधि दिइएको छ। त्यस्तै, अंशुवर्माले आफूलाई ‘भट्टारक महाराजाधिराज’ भनी चिनाएका छन् (शंकरलाल श्रेष्ठ, नेपाल अन्डर अंशुवर्माः गोल्डेन पिरियड)। पशुपतिस्थित जयदेव द्वितीयको विसंं ७९० को अभिलेखमा पनि विभूषण र विरुदावलीकै गन्ध छ।
स्वघोषित उपाधि
राजाहरूले आफ्ना प्रशस्ति लेखाउने चलन मल्लकालमा पनि निरन्तर देखिन्छ। मल्लकालीन अभिलेखमा राजाहरूले आफूलाई ‘दोलखाधिपति,’ ‘श्रीमत्काष्ठमण्डपस्याधिपति,’ ‘सिंहनृपस्य’, ‘सुमति’, ‘श्रीश्री कवीन्द्र,’ ‘नेपालेश्वर,’ ‘नेपालेश्वर राजेन्द्र,’ ‘नेपाल चूडामणि,’ ‘नेपालेश्वर चूडामणि,’ ‘संगीतार्णवपराग,’ ‘चूडामणिसम्राट,’ ‘शानइलाही-जहाँगिर शाह,’ ‘नेपालेश्वर गिरीन्द्र,’ ‘श्रीश्री जगत्चन्द्र,’ ‘महाराज नेपालेन्द्र’, ‘श्रीश्री लोकनाथ,’ ‘श्रीश्री करुणमय’ आदि उपाधि दिएको पाइन्छ (राजकुमार सुवेदीको ‘मध्यकालीन नेपाली मुद्राहरूमा धार्मिक तथा सांस्कृतिक प्रभाव’ नामक शोधप्रबन्ध)।
मल्लकालीन रानीहरूले पनि ‘पट्टमहादेव्या श्रीविजयलक्ष्मी महादेव्या,’ ‘श्री रूपमतिदेवी,’ ‘विहारी राजकन्या’, ‘महारानी जगत्माता’, ‘राज्यलक्ष्मीदेवी’ जस्ता ऐश्वर्यबोधक उपाधि लिएको देखिन्छ। विशेषतः अभिलेख, मुद्रा, ठ्यासफू, ताम्रपत्र, शिलालेख, भोजपत्र, ताडपत्र लगायतमा व्यक्त यी विरुदावलीमा तात्कालिक सामाजिक मनोविज्ञानभन्दा शासक परिवारकोे शक्ति र सामर्थ्यकै अभिव्यक्ति बढी पाइन्छ।
राजनीतिक श्रेष्ठताको वकालत
शाहकालमा पृथ्वीनारायणको राज्यविस्तार अभियानसँगै शासकको जयजयकार गर्ने प्रवृत्ति अझ तीव्र बन्यो। यस्तो काममा तत्कालीन कविहरूले आफ्नो समय निकै खर्चिएका छन्। शासक स्वयंले पनि विभिन्न उपाधि धारण गरेको अभिलेखहरूबाट प्रमाणित हुन्छ। पृथ्वीनारायण अघि उनका पूर्वजका नाममा लेखाइएका अभिलेख समेत पाइएका छन्। गोरखा दरबार परिसरमा प्राप्त शक संवत् १५३१ को अभिलेखमा छत्र शाहले आफूलाई महाराज उपाधिले विभूषित गरेका छन् (शाहकालका अभिलेख)।
त्यस्तै, अर्का चर्चित राजा रामशाहले शकसंवत् १५३६ को अभिलेखमा आफूलाई ‘विधुगिरिरसपृथ्वीचिह्नते (मानमर्यादा गर्ने, देशविदेशमा कीर्ति फैलाएका, धेरै विधिविधान जानेका) भनी लेखाएका छन्। राजा पृथ्वीपति शाहले आफूलाई ‘वैरी राजाहरूलाई सखाप पार्ने पवित्र राज्यलक्ष्मी’ समान देखाउन ‘श्रुतित्रिषडभूशाकेपि’ लेखेका छन्। नुवाकोटमा प्राप्त विसंं १७९६ को एक अभिलेखमा नरभूपाल शाहले आफूलाई ‘श्री गिरिराजचक्रचूडामणि’ उपाधिबाट विभूषित गरेका छन् (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा सम्पादित शाहकालीन अभिलेख)।
पृथ्वीनारायणपछिका राजाहरूले जारी गरेका मुद्रामा पनि ‘नेपाल गोर्षासरकार’ जस्ता पदावली जोडेर उनीहरूले आफ्नो सत्ता परम्परा र वंशको गौरवगानलाई निरन्तरता दिएका छन् (हिमालखबर, ‘वीरेन्द्रकालीन मुद्रामा समाज, संस्कृति र प्रकृति’)। नेपाल अधिराज्यका विभूषणमा पुस्तकमा राजा राजेन्द्रवीरविक्रमले विसंं १९०१ मा प्रधानमन्त्री माथवरसिंह थापालाई ‘कलाबहादुर’ उपाधि दिएको उल्लेख छ।
सत्यमोहन जोशीको पुस्तक नेपाली राष्ट्रिय मुद्रामा उल्लेख भए अनुसार शाह राजाहरूले धारण गरेका उपाधि तथा विरुदावलीमा हिन्दू तथा बौद्ध धर्म-संस्कृतिको प्रभाव देखिन्छ जुन लिच्छवि र मल्लकालीन शासकीय प्रवृत्तिकै निरन्तरता हो। शासकका वैभव र भव्यता उजागर गर्ने यस्ता विभूषण र विरुदावलीहरू जनस्तरको सभ्यता र संस्कृतिको वस्तुस्थितिबारे भने मौन छन्। अर्थात् शास्त्रीय र आलङ्कारिक शब्दावलीले राजनीतिक श्रेष्ठताको वकालत मात्र गर्छन्, जनताको प्रतिनिधित्व गर्दैनन्।
शासकको निगाहमा विभूषण
शासकले विभूषण लिने र विरुदावली लेखाउने परम्परा राणाकालमा झन् व्यापक बन्यो। यद्यपि त्यति वेलासम्म यो परम्परा व्यक्तिगत तजबिजीमै चलिरहेको थियो, संस्थागत बनिसकेको थिएन। तत्कालीन प्रधानमन्त्री वीरशमशेरले लेखाएको विरुदावलीमा ‘पृथुल अधीश गोरखा राज्य दक्षिण बाहु’ र ‘पृथुल अधीश गोरखा प्रसाद पट्ट’ जस्ता पदावली छन् (चित्तरञ्जन नेपाली, श्री ५ त्रिभुवन तथा नेपाली विभूषण परम्परा)।
चित्तरञ्जन नेपाली विभूषण दिने परम्परा विसंं १९७५ पछि संस्थागत भएको मान्छन्। सोही साल (त्रिभुवनको पालामा) स्थापना गरिएको ‘नेपालतारा’ मानपदवीलाई यसको उदाहरण दिन्छन्। उक्त विभूषण ‘शाही अधिपत्र, प्रतीक समूह, प्रशस्ति एवम् श्रेणीयुक्त हुनुका साथै यसमा परमाधिपति (महाधिपति) एवम् पृथुलाधीशको व्यवस्था भएबाट मानपदवीले वर्तमान परिभाषा अनुसार पूर्णता पाएको’ नेपालीको बुझाइ छ।
यसपछि भने मानपदवी र अलङ्कारहरू विभिन्न अवसर जोडेर वितरण गर्न थालिए। विसंं १९९१ मा ‘ओजस्विराजन्य’, विसंं १९९४ मा वर्ग र श्रेणी सहितको ‘त्रिशक्तिपट्ट,’ ‘नेपालप्रतापवर्द्धक’ र ‘ॐ रामपट’ जस्ता मानपदवी-अलङ्कार अस्तित्वमा आए जसमा नेपालको राष्ट्रिय चिह्न र आदर्शवाक्यसँगै कला-संस्कृति झल्काउने आकर्षक बुट्टा समेत अङ्कित गरिए (नेपाल अधिराज्यका विभूषणहरू)।
यिनमा लेखिएका ‘स्वर्गभन्दा पनि भारी आमा बाबु स्वदेश हुन्, विजय नै वीरहरूको शोभा हो, मित्रस्य चक्षुसा समीक्षामहे’ जस्ता वाक्यमा विशेषतः हिन्दू संस्कृतिको श्रेष्ठतालाई बढी जोड दिइएको देखिन्छ। जबकि यिनमा सांस्कृतिक बहुलता पनि समेटिन्थ्यो त ‘एउटै माला नेपाली’ भनिने राष्ट्रियताको भाष्य अझ मजबूत हुन सक्थ्यो।
२००७ सालयता
विभूषण धारण र वितरणमा शासकीय तजबिजीले २००७ सालमा प्रजातन्त्र स्थापनापछि पनि निरन्तरता पाइरह्यो। विसंं २०११ मा त्रिभुवनले रानी कान्तिराज्यलक्ष्मी र ईश्वरीराज्यलक्ष्मीलाई ‘ओजस्विराजन्य’ दिएका थिए । यही पदक उनले राणाकालमा बेलायती राजा जर्ज पञ्चमलाई पनि दिएका थिए।
यसैबीच विसंं २०१३ मा विभूषण समिति बनाइयो। २०२४ सालमा मानपदवी तथा पदकको निर्माण पद्धति, योग्य व्यक्ति चयनका आधार, विभूषितले पाउने सुविधा जस्ता विषय समेटेर नेपाल अधिराज्यका विभूषणहरू पुस्तक नै प्रकाशन भयो। विसं २०४८ मा विभूषण नियमावली नबन्दासम्म यही पुस्तकका आधारमा मानपदवी बाँडिन्थ्यो।
राज्यप्रदत्त विभूषणहरू तहगत रूपमा मानपदवी, अलङ्कार र पदक गरी तीन प्रकारका देखिन्छन् जुन हालसम्मै कायम छ (विभूषण ऐन- २०६४)। कुनै वेला महेन्द्रमाला र नेपालप्रतापभास्कर र ओजस्विराजन्य जस्ता मानपदवी विदेशी राजा-रानीलाई समेत प्रदान हुन्थ्यो। त्रिभुवनप्रजातन्त्रश्रीपद, नेपालश्रीपद, ॐ रामपट र त्रिशक्तिपट्ट सबैभन्दा उच्च तहका मानिन्थे। यी मानपदवी चाहिं विशेषतः राजपरिवार तथा राष्ट्रको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने नागरिकलाई दिइन्थे (नेपाल अधिराज्यका विभूषणहरू)।
गोरखादक्षिणबाहु राजपरिवार सदस्य, विदेशी नागरिक र राष्ट्रिय जीवनमा योगदान पुर्याउने नेपाली नागरिकलाई दिइन्थ्यो। त्यस्तै, सेना सौभाग्य भास्कर, नेपालमहाप्रतापवर्द्धक, नेपालप्रतापवर्द्धक, सुवीरपट्ट, नेपालयशोवर्द्धक, महेन्द्ररत्नसुभूषण, महेन्द्ररत्नआभूषण, महेन्द्ररत्नभूषण, महेन्द्र प्रहरी जस्ता अलङ्कार सेना-प्रहरीसँगै राष्ट्रिय जीवनमा योगदान नागरिकले पाउँथे। सुप्रशंसनीयपट्ट, सेवापट्ट, दुर्गमसेवा, परदेशसेवा, प्रहरीरत्न, प्रहरीपराक्रम, राजप्रासाददीर्घसेवापट्ट लगायत पदक भने विशेषतः सेना-प्रहरीलाई दिइन्थे। दरबारबाट प्रदान गरिने उपाधिमा पदकले विशेष मूल्य राख्थ्यो।
मुलुक गणतन्त्रात्मक शासनप्रणालीमा प्रवेश गरेपछि पञ्चायतकालीन केही मानपदवी हटाइएका छन्। महेन्द्रमाला र ओजस्विराजन्य लगायतको स्थानमा नेपालरत्न, राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्री जस्ता मानपदवी कायम गरिएका छन् भने केही अलङ्कार परिमार्जन गरिएका छन्। केही पदकलाई विस्थापन गरी लोकश्री, राष्ट्रसेवा, सत्कार्य, समाजसेवा पदक, शिक्षाज्योति पदक सगरमाथा, वीरता, शौर्य जस्ता नयाँ पदकको सिर्जना गरिएको छ। यी पदक राष्ट्रिय जीवनमा योगदान गर्ने जोसुकैले पाउन सक्छन्। त्यस्तै, परमपौरख भास्कर, अति पौरख भास्कर नेपाली सेनालाई मात्र दिइन्छ भने नेपालप्रताप सुभूषण, नेपालप्रताप आभूषण नेपाल प्रहरीलाई प्रदान गरिन्छ (नेपाल विभूषण ऐन, २०६४)।
स्वर्णयुगको सैद्धान्तिकी
विभूषण ऐन, २०६४ ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेहरूलाई मुलुकका तर्फबाट कदर तथा सम्मानस्वरूप प्रदान गरिने मानपदवी, अलङ्कार र पदकलाई विभूषण भनी परिभाषा गरेको छ। तर, पुरस्कार प्रदायक संस्थाले यस मर्मलाई अपवाद बाहेक मनन नगरेको आलोचकहरूको ठहर छ।
अर्कातिर, अहिले पनि पुरस्कार प्रोत्साहनका लागि नभई शासनसत्ताविरुद्ध प्रश्न गर्ने मुख थुनिदिने साधनका रूपमा प्रयोग भइरहेकै छ। खासगरी ऐतिहासिक वीरताको भाष्यलाई मजबूत बनाउन र पञ्चायती सत्ता टिकाइराख्न राष्ट्रिय संस्कृतिको सैद्धान्तिकीलाई कसरी प्रयोग गरियो र त्यसमा राज्यबाट वितरण गरिने मानपदवी र पुरस्कारको कस्तो भूमिका रह्यो भन्ने बहस महत्त्वपूर्ण छ। ‘निषेधित संशय: राष्ट्रिय इतिहास निर्माणमा पाठ्यपुस्तकको प्रयोग’ आलेखमा लेखक प्रत्यूष वन्तले पञ्चायती राष्ट्रवादको भाष्यबारे बहस गरेका छन् (नेपालमा विद्यालय शिक्षा: इतिहास, राजनीति र समाज)।
त्यस्तै, तारालाल श्रेष्ठले शक्ति, स्रष्टा र सबल्टर्न पुस्तकमा सधैंजसो सत्ताको प्रतिरोधमा कविता लेखेका भूपि शेरचनले प्रज्ञाप्रतिष्ठान प्रवेश गरेसँगै ‘वीरेन्द्र जिन्दावाद’ शीर्षक कविता लखेर सत्ताको गुणगान गरेको औंल्याएका छन्। यसबाट सत्ताले स्रष्टाहरूलाई कसरी प्रयोग गर्छ भन्ने समेत झल्कन्छ। विभूषणमा लेखिएका प्रशस्ति र आदर्श वाक्यहरूमा निहित राजनीति के हो र विभूषण निर्माण-वितरणमा सामाजिक तथा सांस्कृतिक बहुलतालाई किन सम्बोधन गरिएन भन्ने प्रश्नको उत्तर पनि यही नै हो।
विभूषणमा प्रयुक्त धार्मिक तथा सांस्कृतिक चिह्नले एकातिर हिन्दूत्वको वर्चस्व स्थापित गरे, अर्कातिर इतिहासका पानालाई ‘वीरगाथाका प्रशस्ति’ ले भर्न भूमिका खेले (युगपाठक, माङ्गेना)। इतिहासविद् योगेश राज इतिहासविद्हरूले लिच्छविकाललाई स्वर्णयुग देख्नुमा अति राष्ट्रिय भावुकतालाई कारण मान्छन् (इतिहासमा संक्रमणवाद)। र, त्यही अति भावुकताले पञ्चायती राष्ट्रवादको प्रारूपलाई मलजल गर्न सघाउ पुर्यायो।
सरकारी पाठ्यक्रममा विद्यार्थीलाई महेन्द्रमाला पढाएर सत्ता टिकाउन गरिएको स्वर्णयुगको परिकल्पनासँग पनि विभूषणसँग जोडिएका तिनै आदर्श वाक्यहरूकै हंस भेटिन्छ। पञ्चायत र लिच्छविकालबीच राजतन्त्रात्मक र सांस्कृतिक सम्बन्ध रहेकाले स्वर्णयुगको काल्पनिकीले पञ्चायतलाई फाइदा नै पुग्यो। यसका लागि पञ्चायती सत्ताले केही इतिहासकारलाई प्रत्यक्ष-अप्रत्यक्ष दुवै तरीकाले प्रयोग गर्यो। पछि केही इतिहासकारले लिच्छविकालीन स्वर्णयुगको कल्पना राष्ट्रिय भावुकताबाट अभिप्रेरित रहेको भन्दै लिखित रूपमै व्यक्त गरेका त्यस्ता विचार फिर्ता लिएका छन् (जगदीशचन्द्र रेग्मीसँगको अन्तर्वार्ता, हिमालखबर, २०७९ मंसीर)।
राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका भाषण सुन्दा र तिनले लिएका उपाधिको अध्ययन गर्दा ती पनि स्वर्णयुगको मादकताबाट मुक्त हुन नसकेको देखिन्छ। इतिहासकार बालचन्द्र शर्माले अंशुवर्मालाई स्वर्णयुगको नायक भन्दै जसरी उनको विभूतीकरण गरेका छन् (नेपालको ऐतिहासिक रूपरेखा) त्यसरी नै बालकृष्ण सम अंशुवर्माको गौरवीकरण मार्फत (हाम्रा राष्ट्रिय विभूतिहरू) राजा महेन्द्रलाई खुशी पार्ने अभीष्टमा लागेको प्रतीत हुन्छ। सार्वभौमसत्ताको संरक्षक र राष्ट्रियताको प्रतीकका रूपमा राजसंस्थाको संस्थापक लिच्छविकाललाई स्वर्णयुगको मान्यता दिलाउन राजसंस्थाले सक्दो प्रयास गरेको देखिन्छ (पञ्चायती स्मारिका)। शाहकालका मानपदवी, अलङ्कार र पदकमा प्रयुक्त नश्लीयतामा आधारित सांस्कृतिक चिह्न, अभिव्यक्त उद्गार र आदर्श वाक्यले पनि त्यस कथनलाई प्रमाणित गर्छन् (हिमालखबर, के लिच्छविकाल स्वर्णयुग नै थियो?)।
देश शासकद्वारा निर्मित विम्ब, प्रतीक र मिथकहरूमा बाँचेको हुन्छ जसमा धार्मिक, सांस्कृतिक र राजनीतिक इतिहास जोडिन्छ। तर, ती विम्ब र मिथकमा सांस्कृतिक बहुलतालाई स्वीकार गरिएको छ/छैन भन्ने कुरा अर्थपूर्ण हुन्छ। विश्लेषक सिकेलालले ‘नेपालीय हुनलाई’ आलेखमा उल्लेख गरे झैं राजतन्त्रको प्रमुखता स्थापित गर्ने गरी प्रयोगमा ल्याइएका प्रतीकको साटो सामूहिक पहिचानको प्रतिनिधित्व गर्ने प्रतीक समावेश गरिए मात्र राष्ट्रको मूलधारमा बहुल संस्कृतिले स्थान पाउँछ। राज्यप्रदत्त विभूषण तथा मानपदवीमा यसै सांस्कृतिक बहुलतालाई सम्बोधन गर्न सकिए मात्र यसमा रूढ भएर बसेको ‘स्वर्णयुगको सैद्धान्तिकी’ ले विश्राम पाउनेछ।