राजा वीरेन्द्रकालीन मुद्रामा समाज, संस्कृति र प्रकृति
मुद्राले ऐतिहासिक र राजनीतिक सन्दर्भलाई तथ्यगत र वस्तुगत रूपमा व्याख्या गर्छ नै, सामाजिक, भाषिक, आर्थिक, सांस्कृतिक लगायत कोणबाट इतिहासको व्याख्या गर्न पनि यसको भूमिका रहन्छ।
इतिहास र संस्कृतिको व्याख्यामा मुद्रालाई महत्त्वपूर्ण प्रामाणिक र पुरातात्त्विक आधार भनिन्छ। त्यसकारण सैद्धान्तिक रूपमा मुद्राको विधातात्त्विक अध्ययन हुँदै आएको छ, जसलाई मुद्राशास्त्र भनिन्न्छ। मानविकी विषयहरूको अध्ययनमा मुद्राले ऐतिहासिक आधारको भूमिका खेल्छ, त्यसकारण यसलाई सैद्धान्तिक विषयलाई प्रमाणित गर्ने वस्तुसाक्षका रूपमा पनि हेर्न सकिन्छ।
नेपालको सन्दर्भमा लिच्छवि र मल्लकालको सामाजिक तथा सांस्कृतिक भूमिकाहरूको विवेचना गर्दा तात्कालिक प्रमाणहरूमध्ये मुद्रालाई भरपर्दो आधारका रूपमा लिइएको देखिन्छ। शाहकालीन इतिहासको व्याख्या सन्दर्भमा मुद्रालाई कम महत्त्व दिइएको देखिन्छ। यस कोणबाट अध्येता सत्यमोहन जोशीले कलम चलाएका छन् जसमा उनले आलोचनात्मक विमर्शभन्दा पनि विवरणात्मक प्रस्तुतिलाई जोड दिएका छन्।
शाहकालप्रतिको नकारात्मक दृष्टि वा अतिशय पूर्वाग्रहका कारणले हुन सक्छ। विशेषतः पछिल्लो शाहकालीन समाज, संस्कृति र राजनीतिको बहसमा मुद्राको भूमिकाबारे आलोचकहरूले कमै महत्त्व दिएको प्रतीत हुन्छ, जबकि मुद्रा एउटा महत्त्वपूर्ण पुरातात्त्विक आधार हो भन्ने कोणबाट हेर्दा। मुद्रा मात्र होइन कि, पञ्चायती व्यवस्थाले प्रकाशित गरेको पुस्तक पञ्चायत स्मारिकालाई समेत पछिल्ला चरणका सामाजिक बहसहरूमा कुनै पनि विद्वान्ले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेको देखिंदैन।
यस प्रकारको दृष्टिदोषी आँखाबाट हेर्दा इतिहासमाथिको बहसका धेरै कुराहरू छुट्न सक्छ। यस कथनलाई आधार मानी राजा वीरेन्द्रले प्रचलनमा ल्याएका (राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शित मुद्राहरूलाई अध्ययनको केन्द्र बनाइएको छ) मुद्राहरूको माध्यमबाट उनको सामाजिक र सांस्कृतिक दृष्टिकोणलाई यस आलेखमा संक्षिप्त छलफल गरिएको छ।
राजनीतिक तथा सामाजिक व्याख्याकारहरूले राजा वीरेन्द्रलाई जेजस्तो आरोप लगाए पनि उनी आफूलाई जनप्रेमी राजाका रूपमा चिनाउन चाहन्थे। यस कुरालाई उनले जारी गरेका मुद्राहरूमा साङ्केतिक रूपमा व्यक्त गर्न खोजेको देखिन्छ। विशेषतः शुभराज्याभिषेकको अवसर तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव, दिवस र अवसरहरूमा जारी गरिएका मुद्राहरूमा उनको सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणहरू व्यक्त भएको देखिन्छ।
त्यस्तै, अन्तर्राष्ट्रिय नारी वर्ष (नारी दिवस), अन्तर्राष्ट्रिय बाल वर्ष (बालदिवस), अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष, विश्व खाद्य दिवस, सामाजिक सेवा दिवस, पन्ध्रौं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (२०४३ सालमा भएको), विश्व वन्यजन्तु कोष स्थापना दिवस, युवराज दीपेन्द्रको उपनयनको अवसर (२०४४), तेस्रो सार्क सम्मेलन (२०४४), नेपाल ब्यांक लिमिटेडको स्वर्णजयन्ती (२०४४), ओलम्पिक्स खेल (२०४८), वर्ल्डकपको अवसर (२०४९), सगरमाथा विजय दिवस (२०५०), संविधान दिवसको अवसर (२०५१) र गद्दी आरोहण वर्ष लगायतका अवसरहरूमा उनले विभिन्न ढाँचा र बनोटका मुद्राहरू जारी गरिएको देखिन्छ। यसका माध्यमबाट उनको सामाजिक र राजनीतिक चरित्रबारे जान्न सकिन्छ।
संस्कृति
मुद्रामा सांस्कृतिक एवम् धार्मिक चिह्नहरू उत्कीर्ण गर्ने पुरानो परम्परा हो, जसलाई राजा वीरेन्द्रले निरन्तरता दिएका छन्। मुद्रामा श्री, श्री गोरखनाथ, श्री भवानी जस्ता पदावलीहरू प्रयोग गरी आफूलाई शैवधर्मको अनुयायी भनी झल्काएको देखिन्छ। त्यसो त राजाहरूले आफूलाई विष्णु भगवान्को अंश अवतारका रूपमा माने पनि उनीहरू शैव धर्म र दर्शनमा उत्तिकै श्रद्धावान् र अनुयायी थिए। लिच्छविकाल र मल्लकालका अभिलेख तथा मुद्राको अध्ययनबाट पनि यसबारे थाहा हुन्छ जसको प्रभाव शाहकालसम्म पनि पर्न गयो।
पृथ्वीनारायण शाहका मुद्रामा शैवदर्शन अन्तर्गतको नाथ सम्प्रदायको प्रभाव बढी देखिन्छ जसलाई राजा वीरेन्द्रले पनि पछ्याएको देखिन्छ। उनले जारी गरेका समग्र मुद्राहरूको अध्ययन गर्दा मुद्रामा हिन्दू धर्म र संस्कृतिको प्रभाव बढी देखिन्छ। मुद्रामा उत्कीर्ण प्रतीकात्मक चिह्नहरू (गाई), धारण गरेका उपाधिहरू, श्रीश्रीश्री पदावली आदिले त्यस उक्तिलाई समर्थन गर्छन्। उनले जारी गरेका एकथरी मुद्राहरूमा हिन्दू संस्कृति एवम् धार्मिक व्यवहारलाई सम्बोधन गरिएको देखिन्छ।
२०५३ सालमा बालदिवसको सन्दर्भमा जारी गरिएको मुद्रामा भाइटीकाको अवसरमा भाइलाई टीका लगाउँदै गरेको परिदृश्य अङ्कित छ। त्यस्तै गरी मुद्राको ढाँचा तयार गर्दा प्रयुक्त बिन्दुयुक्त गोलाइ, चतुष्कोणाकार, त्रिकोणाकार, वर्गाकार, षट्कोणाकार लगायत ज्यामितीय आकारहरू शैव-शाक्त तन्त्रबोधार्थक चिह्न हुन् जो हिन्दू संस्कृतिको द्योतक हो। उनले हिन्दू धर्म र संस्कृतिको साथसाथै बौद्ध धर्म र संस्कृतिलाई पनि आफ्ना मुद्राहरूमा स्थान दिएको देखिन्छ। मल्लकालमा झण्डै राजकीय स्थान प्राप्त गरेको बौद्ध धर्म र संस्कृतिलाई राणाकालमा उपेक्षाभावले हेरिएका उदाहरणहरू पाइन्छन्।
जबकि, काठमाडौं उपत्यका बौद्ध संस्कृति र सम्पदाको दृष्टिकोणले आज पनि सम्पन्न देखिन्छ। प्रजातन्त्र आएपछि शाहजाहरूले बौद्ध धर्म र संस्कृतिलाई विशेष सम्बोधन गरेको देखिन्छ। राजा महेन्द्रले २०१३ सालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरेको इतिहासका पानामा पढ्न पाइन्छ। तर, यस अवसरमा बुद्धको सम्मानमा उनले मुद्रा प्रसारण गरेको देखिंदैन। २०४३ सालमा राजा वीरेन्द्रले पन्ध्रौं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरेको तथ्य यस अवसरमा प्रसारण गरेको मुद्राबाट प्रमाणित हुन्छ।
यस मुद्राको पृष्ठ भागमा पन्ध्रौं विश्व बौद्ध सम्मेलन लेखिएको देखिन्छ जुन अंग्रेजी भाषा र रोमन लिपिमा लेखिएको छ। त्यस्तै, २०५४ सालमा मायादेवी र गौतम बुद्धको सम्मानमा मुद्रा जारी गरिएको देखिन्छ। यस मुद्रामा गौतम बुद्धलाई मायादेवीले जन्म दिंदै गरेको जन्मस्मारकको परिदृश्य उत्कीर्ण गरिएको देखिन्छ। त्यस्तै, २०५२ सालमा जारी गरिएको मुद्रामा चैत्य सहितको शाक्यमुनि गौतम बुद्धको मूर्ति उत्कीर्ण गरिएको देखिन्छ।
समाज
पञ्चायतकालमा पञ्चायती राजनीतिको प्रारूपलाई टिकाउन राष्ट्रिय एकताको भाष्यलाई बढी जोड दिइन्थ्यो। त्यसका लागि समाजसेवालाई नैतिक शिक्षासँग जोडेर पठनपाठन गराइन्थ्यो (हेर्नुहोस् मार्टिन चौतारीबाट प्रकाशित नेपालमा विद्यालय शिक्षाको इतिहास)। समाजलाई जोड्ने आधार समाजसेवा नै हुँदा पनि यस चिन्तनलाई बढी जोड दिएको देखिन्छ। २०४२ सालमा सामाजिक सेवा दिवसका अवसरमा प्रसारण गरिएको मुद्रामा समाजसेवाको भावलाई उद्धृत गरिएको छ।
विशेषतः समाजसेवा गर्नु नागरिक दायित्व हो। प्रत्येक नागरिकले ‘आत्मा साक्षी राखि मन, वचन र कर्मले देशको सेवा गरौं’ भन्ने पदावली यस मुद्रामा उत्कीर्ण छ। मुद्रा आफैंमा अनौपचारिक पुस्तक समेत भएकाले यस पुस्तक अर्थात् मुद्रा मार्फत नागरिकलाई समाजसेवामा लाग्न अभिप्रेरित गरेको देखिन्छ। सैद्धान्तिक रूपमै समाजमा समानता र समता हुनुपर्छ भन्ने तर्कलाई पञ्चायती शासकले पनि अनुसरण गरेको प्रतीत हुन्छ।
२०३२ सालमा अन्तर्राष्ट्रिय नारी वर्षको अवसरमा प्रसारण गरिएको मुद्रामा समानता, शान्ति र विकासलाई जोड दिइएको छ। दिगो विकासले मात्र शान्तिको सम्भव छ, यसका लागि नारीपुरुष लगायत अन्य सामाजिक एवम् सांस्कृतिक विविधताबीच एकता हुनुपर्छ भन्ने विचारलाई यस मुद्रा मार्फत अभिव्यक्त गर्न खोजिएको छ। ‘खाद्य सुरक्षा’ व्यक्तिको मौलिक अधिकार हो। यसलाई अन्तर्राष्ट्रिय मानव अधिकारको बडापत्र र नेपालको संविधान, २०७२ मा मौलिक हकका रूपमा स्थापित गरिएको छ।
तर, पञ्चायतकालमै राजा वीरेन्द्रले गाँस, बास र कपास अर्थात् खाद्य सम्प्रभुतालाई सम्बोधन गरेको कुरा यस अवसरमा प्रकाशित मुद्रामा अङ्कित गरिएको छ। त्यसो त राजा महेन्द्रले पनि यसै व्यहोरा उल्लेख गरी मुद्रा प्रसारण गरेका थिए। २०२५ सालमा उनले जारी गरेको मुद्रामा ‘सबैका लागि खाद्य’ भन्ने पदावली उल्लेख छ, जुन राजा वीरेन्द्रले पनि पछ्याएका हुन् (सत्यमोहन जोशी, नेपाली राष्ट्रिय मुद्रा, पृष्ठ १५७)।
बालबालिका देशको भविष्यका मेरुदण्ड हुन्। बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको भविष्यका लागि लगानी गर्नु हो भन्ने तर्कलाई पञ्चायती शासकहरूले मनन गरेको देखिन्छ। त्यसकारण नेपालमा पञ्चायतकालदेखि नै बालदिवस मनाउन थालिएको इतिहास छ। २०५३ सालमा प्रसारण गरिएको एक प्रकारको मुद्रा बालबालिकाको विषयमा केन्द्रित छ। जसमा मुद्राको पृष्ठभागमा अंग्रेजी अक्षरमा ‘फर द चिल्ड्रेन अफ वर्ल्ड, १९९७ नेपाल’ अभिलेख सहित युनिसेफको लोगो अङ्कित गरिएको देखिन्छ।
देशको समृद्धिका लागि विकास महत्त्वपूर्ण छ भन्ने भावलाई जोड दिएर उनले २०३१ सालमा जारी गरेको मुद्राको पृष्ठभागमा ‘विकासको मूल फुटाऔं’ भन्ने भाव उत्कीर्ण छ। दक्षिणएशियाली देशहरूबीच एकता हुनुपर्छ भन्ने राजा वीरेन्द्रको चिन्तन थियो। उनकै पहल र प्रयासबाट सार्क राष्ट्रहरूको संगठन स्थापना भएको थियो। तेस्रो सार्क सम्मेलन नेपालमा २०४४ सालमा सम्पन्न भएको थियो।
यसै अवसरमा उनले अर्को एक प्रकारको मुद्रा जारी गरेका छन् जसको पृष्ठभागमा अंग्रेजी अक्षरमा ‘थर्ड सार्क समिट १९८७’ उत्कीर्ण छ। यसबाट पनि उनी विश्व परिवेश र खास गरी दक्षिणएशियाली राष्ट्रहरूको विकासमा कटिबद्ध थिए भन्ने तर्क गर्न सकिन्छ। त्यस्तै, अन्तर्राष्ट्रिय जगत्का सरोकारहरूमा पनि उनको चासो रहेको देखिन्छ। २०४८ सालमा भएको ओलम्पिक्स खेलको अवसरमा उनले मुद्रा जारी गरेका छन्। यस मुद्राको पृष्ठभागमा अंग्रेजी अक्षरमा ‘ओलम्पिक्स गेम्स, १९९२ आरएस’ उत्कीर्ण छ।
त्यस्तै, विश्वकप खेलको अवसरमा पनि उनले मुद्रा प्रसारण गरेका छन्। २०४९ सालमा भएको वर्ल्डकपको अवसरमा जारी मुद्राको पृष्ठभागमा अंग्रेजी अक्षरमा ‘वर्ल्डकप- ९४’ अङ्कित गरिएको छ। त्यस्तै, सगरमाथा विजय दिवसको अवसरमा जारी मुद्राको पृष्ठभागमा ‘सगरमाथा विजय दिवस २०१०-२०५०’ अभिलेख अङ्कित छ। यसबाट सगरमाथा शिखर चुमेको ४० वर्ष पूरा भएको अवसरमा मुद्रा प्रसारण भएको जानकारी मिल्छ।
संविधान दिवसका अवसरमा २०५१ सालमा जारी मुद्राको पृष्ठभागमा ‘नेपाल अधिराज्यको संविधान, २०४७, १० रुपियाँ नेपाल’ अङ्कित छ। अपाङ्गता भएको व्यक्तिहरूका लागि राजा वीरेन्द्र चिन्तित थिए भन्ने कुरा उनले प्रसारण गरेको अर्कोथरी मुद्राबाट पनि प्रमाणित हुन्छ। २०३८ सालमा जारी यस मुद्राको पृष्ठभागमा ‘अन्तर्राष्ट्रिय अपाङ्ग वर्ष’ लेखिएको छ। तसर्थ, राजा वीरेन्द्रको संस्कृति, समाज र अन्तर्राष्ट्रिय जगत्बारेको उनको चासो झल्किन्छ।
प्रकृति
संस्कृतिको अङ्ग प्रकृति पनि हो। प्राकृतिक सम्पदालाई धार्मिकीकरण एवम् सांस्कृतिकीकरण गर्ने मानवीय प्रवृत्ति पनि हो। लिच्छविकालदेखि गणतन्त्रकालसम्मका मुद्राहरूको अध्ययनबाट मुद्राहरूमा प्राकृतिक दृश्यावलीलाई स्थान दिइएको देखिन्छ। मानव प्रकृतिप्रेमी भएकाले यसो हुनु स्वाभाविक छ। राजा वीरेन्द्रले जारी गरेका मुद्राहरूमा पनि प्रकृतिलाई स्थान दिइएको देखिन्छ। सगरमाथा आरोहण वर्ष अर्थात् विजयदिवसको अवसरमा जारी गरिएका मुद्राको पृष्ठभागमा सगरमाथाको चित्र अङ्कित छ, जसले साङ्केतिक रूपमा नेपालको स्वाभिमानलाई प्रतिविम्बित गरेको हुन सक्छ।
त्यस्तै, विश्व खाद्य दिवसको अवसरमा जारी गरिएको मुद्राको पृष्ठभागमा मकैको घोगाको चित्र अङ्कित छ जसले जीवनयापनका लागि प्रकृतिको महत्ता र किसानको भूमिकालाई झल्काउँछ।विश्व वन्यजन्तु कोष स्थापनाको २५औं वर्षको अवसरमा २०४३ सालमा जारी गरिएको मुद्राको पृष्ठभागमा जोडी मृगको चित्र अङ्कित छ। त्यस्तै, केही मुद्रामा गाईको चित्र अङ्कित छ, जसले हिन्दू धर्मको प्रतीकात्मक भाव व्यक्त गर्दछ। केही मुद्रामा लालीगुराँस, डाँफेलाई राष्ट्रिय फूल र राष्ट्रिय चराका रूपमा अभिव्यक्त गरिएको हुनुपर्छ।
मुद्रामा उत्कीर्ण विभिन्न प्राकृतिक दृश्यावलीमध्ये झुलिरहेको धानको बालाले देश समृद्ध हुनुपर्ने वीरेन्द्रको सपनालाई सङ्केत गर्दछ भने अर्कातिर कृषिप्रधान देशमा कृषकहरूको भूमिकालाई सम्बोधन गर्नुपर्ने विषयमा सङ्केत गरेको देखिन्छ। केही मुद्रामा हात्ती र सिंहको चित्र अङ्कित छ। हिन्दू धर्ममा हात्तीलाई इन्द्र भगवान्को वाहनका रूपमा पूजा गरिन्छ भने बौद्ध धर्ममा गौतम बुद्ध सेतो हात्तीका रूपमा मायादेवीको गर्भमा प्रवेश गरेको प्रसङ्ग छ।
त्यस्तै, मुद्रामा प्रयुक्त सिंहले शाहीसत्ताको वैभवलाई प्रतीकात्मक स्वरूपमा अभिव्यक्त गरेको देखिन्छ। राजा वीरेन्द्रले जारी गरेका मुद्राहरूको संक्षिप्त अध्ययनबाट साङ्केतिक रूपमा उनको चिन्तन र दृष्टिकोणबारे जान्न सकिने आधार मिल्छ। महिला तथा बालबालिका, प्रकृतिको संरक्षण र समाजसेवा जस्ता विषयमा अध्ययन गर्न पञ्चायतकालीन प्रतिवेदन र पुस्तकहरूको तुलनात्मक अध्ययनबाट थप जानकारी प्राप्त गर्न सकिन्छ।
निष्कर्ष
मुद्रा कुनै पनि राष्ट्रको सार्वभौमिक आधार हो। पुरातात्त्विक कोणबाट राजनीतिक इतिहासको व्याख्या गर्दा त्यसको ऐतिहासिक पक्षहरूमा प्रकाश पार्ने काम मुद्राले गर्छ। मुद्रा शासक वा सरकारले जारी गर्छ। यसकारण राजनीतिक एवम् ऐतिहासिक विमर्शहरूमा मुद्राको महत्ता झल्किन्छ। अभिलेख र ऐतिहासिक दस्तावेजहरूमा (कहिलेकाहीं अभिलेख र दस्तावेजहरूमा अतिशय प्रशंसा देखिन्छ जसका कारण सत्य छायामा पर्छ) जस्तो मुद्रामा शासकहरूको झूटो प्रशंसा र अतिशय भावुकता हुँदैन।
वस्तुपरक सत्यताको कसीबाट मुद्रामा ऐतिहासिक सन्दर्भ अभिव्यक्त भएको हुन्छ। यसकारण मुद्रालाई अतीत र वर्तमान जोड्ने पुरातात्त्विक पुल मान्न सकिन्छ। मुद्राले ऐतिहासिक र राजनीतिक सन्दर्भलाई तथ्यगत र वस्तुगत रूपमा व्याख्या गर्छ नै, सामाजिक, भाषिक, आर्थिक, सांस्कृतिक लगायत कोणबाट इतिहासको व्याख्या गर्न पनि यसको भूमिका रहन्छ।
लिच्छविकाल र मल्लकालका समाज र संस्कृतिको व्याख्यामा मुद्राले पुरातात्त्विक भूमिका निर्वाह गर्दछ। लिच्छवि, मल्ल र शाह शासकहरूको साझा विशेषता हो- मुद्रामा समाज, संस्कृति र प्रकृतिको चित्रण गर्नु। विशेषतः मल्लकालका मुद्रामा प्रयुक्त धार्मिक र सांस्कृतिक चिह्नहरूले शाहकालीन मुद्राहरूमा पनि निरन्तरता पाएको देखिन्छ। राजनीतिक दृष्टिकोणबाट मल्लहरू शाहबाट पराजित भए पनि सांस्कृतिक रूपमा पृथ्वीनारायण शाहको हार भएको परिस्थितिलाई यस कोणबाट हेर्न सकिन्छ।
यस अध्ययनमा राजा वीरेन्द्रले जारी गरेका मुद्राहरूलाई अध्ययनको केन्द्र बनाइएको छ। सारमा वीरेन्द्रले जारी गरेका मुद्राहरूमा हिन्दू, धर्म र संस्कृतिलाई बढी जोड दिएको देखिन्छ जुन लिच्छवि र मल्लकालको सांस्कृतिक निरन्तरता हो। राजा महेन्द्रले तयार गरेको पञ्चायती राष्ट्रवादको प्रारूपलाई अझ मजबूत बनाउन हिन्दू धर्म केन्द्रित सांस्कृतिक चिह्नहरूले भूमिका खेलेका छन्।
पञ्चायतले तयार पारेको वीर इतिहासको काल्पनिकीलाई राष्ट्रिय संस्कृतिको मूल विषय बनाउनमा (प्रत्यूष वन्त, ‘निषेधित संशयः राष्ट्रिय इतिहास निमार्णमा पाठ्यपुस्तकको प्रयोग’, पृष्ठः २३३, नेपालमा विद्यालय शिक्षाको इतिहास) मुद्राहरूको उपयोग गरिएको देखिन्छ, जसमा धन र श्रीको प्रतीक राष्ट्रिय जनावर गाई, वैभव र निर्भीकताको प्रतीक सिंह, खड्ग, त्रिशूल, डमरु, सूर्य र चन्द्र जस्ता चिह्नहरू यस्ता केही उदाहरणहरू हुन् जुन सांस्कृतिक प्रतीकका रूपमा मुद्रामा अङ्कित छन्।
मुद्रामा प्रयुक्त देवनागरी लिपि जुन नामले समेत हिन्दू संस्कृतिको बोधार्थ गर्छ। मुद्रामा प्रयुक्त प्राकृतिक दृश्यावलीहरू हिन्दू सांस्कृतिक सौन्दर्यबाट अभिव्यक्त भएका छन्। राजा वीरेन्द्रले मुद्रामा व्यक्त गरेका सामाजिक सेवा, समानता र समताका भावनाहरू हिन्दू आदर्शबाट अभिप्रेरित भएको देखिन्छ।
नेपालको सामाजिक तथा सांस्कृतिक व्यवहारमा बौद्ध धर्म र संस्कृतिको प्रभाव हुँदा त्यसतर्फ पनि राजा वीरेन्द्रको सम्मानभाव झुकेको देखिन्छ। सारमा, उनका मुद्राहरूमा विविधताको प्रतिविम्ब भने देखिंदैन। हिन्दू सांस्कृतिक आदर्शको आधारबाट मात्र राष्ट्रियताको खोजी गर्दा उनले सामाजिक-सांस्कृतिक विविधतालाई समेट्न नसकेको उनको मुद्राहरूको अध्ययनबाट पुष्टि हुन्छ।