‘छापामार लेखकले इतिहासको अपव्याख्या गरे’
‘पहिले पहिले पञ्चायतलाई विरोधीले ‘स्याउले तन्त्र’ भन्थे। अहिलेको तन्त्रलाई ‘भेडातन्त्र’ भन्नु उपयुक्त होला कि! राजनीतिक महामारी र बेथितिले देशलाई कहाँ पुर्याउने हो, आकलन गर्न कठिन छ।’
त्रिभुवन विश्वविद्यालयमा लामो समय इतिहास, संस्कृति र पुरातत्त्व विषय प्राध्यापन गरेका इतिहासकार जगदीशचन्द्र रेग्मी अहिले पनि अध्ययन अनुसन्धानमै व्यस्त छन्। लिच्छवि संस्कृति, नेपालको धार्मिक इतिहास, नेपालको वैधानिक परम्परा र लिच्छवि इतिहास लगायत पुस्तकका लेखक रेग्मीले हालै गोविन्द टण्डनसँग मिलेर जंगबहादुर राणाको पालामा भएको जनगणनालाई पुस्तकाकार दिएका छन्। इतिहास लेखन र अध्ययनकै सेरोफेरोमा उनीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
इतिहासमा तपाईंको रुचि कसरी बस्यो?
काठमाडौंको पद्मोदय हाइस्कूलबाट विद्यालय तह पूरा गरेपछि म उच्च शिक्षा अध्ययनका लागि भारत गएँ। माहिला बुबाले बनारस हिन्दू विश्वविद्यालयमा नियुक्ति पाउनुभएको थियो- नेपाली भाषा, साहित्य र व्याकरण पढाउने। उहाँकै पछि लागेर मैले त्यहाँ नौ वर्ष जति भारतीय इतिहास, संस्कृति र पुरातत्त्व अध्ययन गरें। विद्यावारिधिको शोधकार्य लिच्छविकालको सांस्कृतिक पक्षबारे थियो। बनारसका गुरुलाई भारतीय इतिहास र संस्कृति पढेर यसले नेपालमा के काम पाउला र भन्ने लागेछ।
त्यसैले नेपालका शैव अभिलेखहरूबारे शोधकार्य गर्न लगाएका रहेछन्। त्यही जिम्मेवारीले मलाई नेपालको इतिहास अध्ययनतिर मोडिदियो। यसै क्रममा विद्यावारिधि पूरा गर्नुअघि नै २०२६ सालमै लिच्छवि संस्कृति पुस्तक निकाल्न सकें।
प्राचीन भारतीय र नेपाली संस्कृतिको अध्येताका रूपमा तपाईंले यी दुईमा हिमाली सभ्यताको योगदान कस्तो पाउनुभयो?
नेपालको उत्तरी हिमाली भेगमा तिब्बती संस्कृतिको प्रभाव देखिन्छ भने अन्य भूभागमा भारतीय संस्कृतिको। अर्थात्, नेपाल विविधतायुक्त संस्कृतिले संरचित छ। १२औं वा १३औं शताब्दीदेखि हिमाली संस्कृतिको विकास बढी भएको पाइन्छ। जस्तै- खस मल्लको समयमा लामा बौद्ध धर्म शुरू भइसकेको थियो। त्यसअघि हिमाली भेगमा यो धर्मको प्रभाव थिएन।
पहिले त व्यापारीले हिमाली भेगको यात्रा गरे, बौद्ध भिक्षु, लामा गुरु र साधु-सन्न्यासी उनीहरूको पछि लागे। यसरी अफगानिस्तानदेखि मध्यएशियासम्म हिन्दू तथा बौद्धधर्म र संस्कृति फैलिएको देखिन्छ। जाभा, बाली, सुमात्रा र कम्बोडियासम्म बौद्ध धर्म फैलियो। भारतीय र मङ्गोल सभ्यता जोड्नमा रेशम मार्गको सांस्कृतिक महत्त्व देखाउने ऐतिहासिक आधारहरू छन्। हिन्दूकुश अर्थात् हिमाली शृङ्खला यी दुई सभ्यतालाई जोड्ने सेतुबन्धन हो। सारमा भन्नुपर्दा, नेपाली सभ्यताको जग हिन्दू र बौद्ध संस्कृतिको समन्वयमा बसेको छ भने भारतमा हिमाली सभ्यताको महत्त्वपूर्ण भूमिका छ।
नेपालको पहिलो जनगणना चन्द्रशमशेरको पालामा भएको इतिहास पढिँदै आएकोमा तपाईंले जंगबहादुरकै पालामा भएको भनी भर्खरै पुस्तक नै प्रकाशन गर्नुभयो। यसको आधार के हो?
अध्ययनका क्रममा मैले धेरै हस्तलिखित ग्रन्थ सङ्कलन गरें। तीमध्ये विसं १९१०, १९११ र १९१३ मा भएको जनगणनाको हस्तलिखित ग्रन्थ महत्त्वपूर्ण लाग्छ जुन लगभग ४० वर्ष मसँग रह्यो। त्यसबीच यस सम्बन्धी केही काम गर्ने प्रयास गरें। नेपाल-एन्टिक्वायरी जर्नलमा त्यसको सारांश प्रकाशन गरेको छु। तर, पाठकको रुचि थाहा पाउन सकिएन। त्यसैले अहिले त्यसलाई ६०० पानाको पुस्तकका रूपमा सम्पादन सहित तीन भागमा प्रकाशन गरिएको छ, नेपालको पहिलो नमूना जनगणना शीर्षकमा।
त्यो जनगणनाका मुख्य विशेषता के थिए?
विशेष गरी भक्तपुर शहरका घरमूलीको नामथर, देवल-देवताहरूको पहिचान, तलाउ-पोखरी, पाटीपौवा लगायत विवरण छन्। पाटनमा अझ् बढी विषयको टिपोट गरिएको छ। विशेष गरी ज्यासः पसल, रक्सी पसल, कपास पसल, वैद्य पसल आदिको विवरण छ।
अध्येताका रूपमा तपाईं नेपालको समग्र इतिहासको अध्ययन कत्तिको पूर्ण वा अपूर्ण पाउनुहुन्छ?
इतिहास लेखिरहनुपर्ने विषय हो। विसंं २०४९ मा मालीगाउँबाट संवत् १०७ मिति रहेको अभिलेख सहितको राजा जयवर्माको मूर्ति पाइयो जुन लिच्छविकालको प्रथम प्रामाणिक राजा मानदेवको भन्दा २७९ वर्ष पुरानो हो। यस प्राप्तिले नेपालको इतिहास र विशेष गरी लेखन-कलाको इतिहासलाई (लुम्बिनीको सम्राट् अशोकको स्तम्भ अभिलेख बाहेक) लगभग दुई-तीन सय वर्षअघि पुर्यायो।
इतिहास पुनर्लेखन गर्नुपर्ने हो कि भन्ने जस्तो अवस्था आयो। हालसालै पनि पाटन दरबार स्क्वायर प्राङ्गणमा ढल खन्दा संवत् ५३६ अङ्कित अंशुवर्माको अभिलेख पत्ता लाग्यो। तर, अंशुवर्माको अभिलेखले जयवर्माको अभिलेखले जस्तो इतिहासको मूल प्रवाहमा तात्त्विक फरक पार्दैन।
इतिहासले शासनको वर्तमान संरचनामा कस्तो प्रभाव राख्छ? नेपाली शासकहरूले इतिहासबाट कत्तिको पाठ सिकेका छन्?
नेता-प्रशासकले इतिहास त पढ्नै पर्छ। यद्यपि, राजनीति सामाजिक अनुभवको विषय पनि हो। जंगबहादुर र भीमसेन थापाले कति नै पढेका थिए र? उच्च ओहोदामा पुगेका नेताहरूले सल्लाहकार पनि राख्न सक्छन्। यद्यपि, सल्लाहकार कति अध्ययनशील छन् भन्ने प्रश्न रहन्छ। हाम्रा नेताहरूलाई उद्घाटन-शिलान्यास गर्दैमा फुर्सद छैन। इतिहास नै नबुझेपछि आफैं उत्तानो पर्ने अवस्था आएको देखिन्छ, इतिहाससँग जोडिएका राजनीतिक सवालहरूमा।
शासकको मात्र इतिहास लेखियो, जनताको लेखिएन भनेर निकै बहस भएको सुनिन्छ नि?
शासकको भन्नु नै जनताको इतिहास हो। जनता छन् र पो राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू छन्। नेपालले राष्ट्रसंघको सदस्यता पाउनु नेपाली जनताले नै अन्तर्राष्ट्रिय स्तरको हैसियत पाउनु हो। यसमा कुनै तात्त्विक भिन्नता छैन। विश्वविद्यालयहरूमा विविध पाठ्यक्रम छन्। भूगोल, इतिहास, राजनीति, समाजशास्त्र, मानवशास्त्र, कानूनशास्त्र, शिक्षाशास्त्र लगायत मानविकी विषयका माध्यमबाट नेपाली जनताकै इतिहास अध्ययन गरिएको हुन्छ। यस कारण जनताको इतिहास लेखिएन भनिनु मलाई अमान्य छ।
इतिहास र ऐतिहासिक पात्रहरूबारे जस्तो बहस-विमर्श हुँदै आएको छ, त्यो कत्तिको सन्तुलित देखिन्छ?
पहिले त कसले कुन कालको इतिहास लेखेको हो, उसले कहाँ पढेको हो भन्ने कुराले अर्थ राख्छ। नबुझीकनै कुनै पनि कुराको वस्तुस्थिति मूल्याङ्कन गर्नु उचित हुँदैन। अध्ययन गरेर भन्दा पनि शोखैशोखमा लेखक बनेकाहरूले गरेको गलत व्याख्या वर्तमान विमर्शमा देखिएको प्रमुख समस्या हो। आलोचकहरू आधिकारिक तथ्यहरूको तुलनात्मक अध्ययन गरी वस्तुनिष्ठ निष्कर्षमा पुग्न नसक्दा भ्रम सिर्जना भएको छ।
पृथ्वीनारायण शाह र भीमसेन थापा जस्ता राष्ट्रिय विभूतिबारे कि अतिशय गाली कि त अतिशय प्रशंसा हुने गरेको छ। यस्ता ऐतिहासिक पात्रबारे तपाईंको दृष्टकोण के हो?
अधिकांश नेपालीलाई गाँस, बास र कपासको समस्या छ। त्यस्ता विषय छाडेर राष्ट्रिय विभूतिमाथि बहस गर्नु नै मलाई मिल्दो कुरा लाग्दैन। देशलाई विभूति नै किन चाहिन्छ? देश बनाउने कि विभूति? यी प्रश्नमा बहस जरुरी छ, पहिले त। सय-पाँच सय वर्षअघिका पात्रलाई अहिले अतिशय मान वा अपमान गरेर हुने केही होइन। न त विभूतिको गीत गाएर भोको पेट भरिन्छ। यो सबै विभूतिका नाममा गरिएको राजनीतिक प्रपञ्च मात्र हो। यस्तो बहसले कुनै सामाजिक प्रभाव राख्दैन।
तपाईंले आफ्नो पुस्तकमा लिच्छविकाललाई ‘स्वर्णयुग’ मान्नुभएको छ। तर, पछिल्ला आलोचकले स्वर्णयुगको भाष्यमाथि नै प्रश्न उठाएका छन् नि?
हामीले अलिकति जोशमा आएर त्यसो भन्यौं। यसका पनि केही कारण छन्। लिच्छविकालमा चाँगुनारायणको गरुड लगायत सयौं परिष्कृत मूर्ति बने। यस आधारमा लिच्छविकालमा सांस्कृतिक, सामाजिक एवम् आर्थिक समुन्नति रहेको तर्क गर्न सकिन्छ। हामीले स्वर्णयुगको परिकल्पना गर्नुको कारण त्यही हो। लिच्छविकालीन वैभवले पछि निरन्तरता पाएन।
पछिल्ला आलोचकले लगाएको आरोप जस्तो पञ्चायती व्यवस्थालाई खुशी पार्न स्वर्णयुगको कल्पना गरिएको कदापि थिएन। तत्कालीन वैभवको व्याख्या गर्न स्वस्फूर्त रूपमा निस्केको भावुक अलङ्कार थियो, स्वर्णयुगको कल्पना। त्यस सम्बन्धमा लिच्छविकालीन पाञ्चाली व्यवस्था र पछिल्लो पञ्चायती व्यवस्थाबीचको तुलनाले पनि केही आधार दिएकै हो।
नेपालमा को आदिवासी, को आप्रवासी भन्ने प्रश्नहरू उठिरहन्छन्। इतिहासले चाहिं के भन्छ?
को ठूलो-सानो, को आदिवासी-आप्रवासी भन्नुको अर्थ छैन। हामी सबै समान छौं। इतिहास खोज्दा भने तथ्यगत आधारमा जानै पर्छ। जस्तै, लिच्छविकालका अभिलेखमा नेवार समुदायको उल्लेख छैन। अब प्रश्न उठ्छ, नेवार समुदायलाई आदिवासी मान्ने कि नमान्ने त? त्यसै गरी थारू समुदायको पनि उल्लेख छैन। फेरि अर्को कोणबाट हेरौं, लिच्छविकालीन अभिलेखमा ब्राह्मण-क्षेत्री समुदायको भने उल्लेख छ।
यस्ता अभिलेख प्रमाणका आधारमा ब्राह्मण-क्षेत्रीलाई आदिवासी मान्ने कि नमान्ने त? प्रश्न गम्भीर छ। यस कारण अहिलेको अवस्थामा नियमपूर्वक जजसले नेपाली नागरिकताको प्रमाणपत्र धारण गरेका छन्, ती नेपाली हुन्। आदिवासी-आप्रवासीको बहस बेकार छ। प्राज्ञिक अनुसन्धानको विषयलाई ‘इस्यू’ बनाएर राजनीति गरिनु हुँदैन।
समकालीन इतिहासकारहरूप्रति तपाईंको कुनै सैद्धान्तिक विमति पनि छ कि?
पहिले त इतिहासकारको सैद्धान्तिक र सामाजिक पृष्ठभूमि बुझ्नुपर्छ। बनारस हिन्दू विश्वविद्यालयबाट पढेकाको एउटा पहिचान हुन सक्छ, त्रिविबाट पढेकाको अर्को। संशोधन मण्डलको आफ्नै पहिचान छ। छापामार शैलीमा इतिहासकार हुनु र इतिहास अनुसन्धानको नियमित साधक एवम् अन्वेषक हुनुमा फरक छ। छापामार शैलीको इतिहासकारलाई पछाडिको वस्तुस्थिति थाहा हुँदैन। वस्तुतः छापामार शैलीमा इतिहास लेखनमा प्रवेश गरेकाहरू नै इतिहास अपव्याख्याका कारक हुन्। इतिहासको साधना र अनुसन्धानलाई अध्यवसाय बनाउने र छापामारवालाहरूबीच कदापि तुलना हुन सक्दैन।
म भन्छु- मेरो किताबमा कुनै गल्ती पाइँदैन, पाइए पनि त्यसको केही कारण हुन सक्छ। तर, ठूला भनिएकै इतिहासकारहरूले समेत मैले ५३ वर्षअघि लेखेको पुस्तक नपढेकै कारण कुनै खास बिन्दुमा गल्ती गरेको देखिन्छ। जस्तै- लिच्छविकालका अभिलेख पुस्तकका विभिन्न सन्दर्भमा धनवज्र वज्राचार्यजीले मेरो नाम लिनुभएको छ। तर, मैले उठाएका सन्दर्भलाई उहाँले व्याख्या गर्नुभएको छैन।
त्यस्तै, अर्को प्रसङ्गमा गौतमवज्र वज्राचार्यसँग पनि केही विमति छ। हनुमानढोका राजदरबार पुस्तकमा उहाँले पशुपतिनाथ मन्दिर परिसरमा रहेको छत्रचण्डेश्वरको मूर्तिलाई हनुमानढोका दरबार परिसरको महेन्द्रेश्वर मन्दिरको पूर्वाेत्तर कुनामा रहेको मूर्तिसँग समान देखाउँदै नाङ्गो भएका कारण यसलाई कामदेवको मूर्ति भन्नुभएको छ। जबकि, उक्त मूर्ति छत्रचण्डेश्वरको नै रहेकोमा विवाद छैन।
यहाँ प्रश्न उठ्छ- उहाँले मलाई हेपेको कि सिद्धान्तलाई? समकालिक किताब नै नपढ्ने र तुलनात्मक अध्ययन नै नगर्नेलाई कुन स्तरको इतिहासकार मान्ने? धनवज्रले पनि यस विवादमा कुनै विमर्श गर्नुभएन। मैले छत्रचण्डेश्वरलाई लकुलिश सम्प्रदायको मानेको छु। वस्तुतः समकालिक पुस्तकहरूको अध्ययन नगरी कसैले पुस्तक लेख्छ भने त्यो अधुरो हुन सक्छ भन्ने दृष्टान्त हो यो।
इतिहासप्रति नयाँ पुस्ताको अभिरुचि कम देखिन थालेको हो?
विसंं २००७ देखि नै हेर्यौं भने नेपालको इतिहास र भूगोल विषयमा केही अध्ययन हुन थालेको देखिन्छ। ईश्वरराज अर्याल, रुद्रराज पाण्डे, टोपलाल पाण्डे लगायत इतिहासकारले नेपाल (भारत?) को इतिहास लेखेर नाम कमाउनुभयो। रामजी उपाध्यायले नेपालको भूगोल विषयमा लेख्नुभयो। उल्लिखित प्रसङ्ग इतिहास लेखनको प्रारम्भिक बिन्दु थियो। तर, उहाँहरू प्राज्ञिक रूपमै इतिहासको अध्ययन गरेर यस क्षेत्रमा लाग्नुभएको होइन। यस कारण उहाँहरूलाई ‘तालीमे इतिहासकार’ भन्न सकिन्छ। राणाहरू आफ्नै तरीकाले पढ्थे।
विसंं २०४६ पछि केही फरक कोणबाट इतिहासको अध्ययन गर्ने परिपाटी देखियो। तर, बजारमुखी अर्थात् प्राविधिक विषयमा विद्यार्थीको ध्यान तानिन थालेपछि मानविकी विषयमा इतिहास, संस्कृति र पुरातत्त्व पछि पर्दै गएको प्रतीत हुन्छ। त्रिविका इतिहाससँग जोडिएर अध्यापन गर्ने विषय-विभागहरूले पर्यटन र संस्कृति जोडेर पढाउन थालेको देखिन्छ।
प्राज्ञिक रूपमै इतिहास पढ्नेको संख्या त कम छ नि?
यसमा संस्थाको संगठन र उद्देश्यले पनि फरक पार्छ। त्रिविले शुरू शुरूमा इतिहासका राम्रा विद्यार्थी उत्पादन गरेकै हो। तर, अन्य विश्वविद्यालयले इतिहासमा ध्यान दिए जस्तो लाग्दैन। त्रिविका हकमा राजनीतिक हस्तक्षेपसँगै विभिन्न सामाजिक मुद्दासँग जोडेर इतिहास विषयको पाठ्यक्रम तयार गर्न नसकिएकाले पनि विद्यार्थीको अभिरुचि कम देखिए जस्तो लाग्छ। इतिहासको रटान लगाएर मात्र रोटी नपाक्ने भएपछि इतिहास किन पढ्ने त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। इतिहासलाई अनुसन्धानात्मक कामसँग जोड्न नसकिँदा पनि समस्या आएको देखिन्छ।
इतिहासको आँखाबाट हेर्दा नेपालको भविष्य कस्तो देखिन्छ?
पहिले पहिले पञ्चायतलाई विरोधीहरूले ‘स्याउले तन्त्र’ भन्थे। अहिलेको तन्त्रलाई ‘भेडातन्त्र’ भन्नु उपयुक्त होला कि! राजनीतिक महामारी र बेथितिले देशलाई कहाँ पुर्याउने हो, आकलन गर्न कठिन छ।
अहिले के गरिरहनुभएको छ? नयाँ पुस्तक कुन आउँदै छ?
म यसै पनि धेरै लेख्नेमा नाम वा बदनामी कमाएको पात्र हुँ। मसँग अझै विभिन्न विधाका पाण्डुलिपि छन्। तिनमा नेपालमा वैष्णव धर्म, पाटनको कृष्ण मन्दिर, मनकामनादेवीः ऐतिहासिक अध्ययन, इतिहासका पानामा पशुपतिनाथ, दक्षिणकाली पुनरावलोकन, नेपालका खस र ठकुरी, नेवार समाज-ऐतिहासिक मूल्याङ्कन, हिन्दू समाज र सुरा, नेपालको वैधानिक परम्पराको सम्पूर्ण खण्ड, इतिहासका पानामा दलितहरू, नेपाली समाजको पृष्ठभूमि, जंगबहादुको पालामा भएको नेपाल-तिब्बत युद्धको खर्च विवरण, श्री ५ सुरेन्द्रको पालामा हनुमानढोका दरबारको वर्षभरिको खर्च विवरण, विसंं १९४० तिर तयार पारिएको हस्तलिखित ग्रन्थहरूको संक्षिप्त विवरण, नेपाली इतिहासको सामान्य ज्ञान संग्रह, नेपालको ऐतिहासिक भूगोल आदि छन्। कति प्रकाशनको तयारीमा छन् त कति प्रकाशकको खोजीमा छन्।
(हिमालको २०७९ मंसीर अंकबाट।)