के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ?
लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।
नेपालको इतिहासमा लिच्छविकाललाई प्रथम प्रामाणिक इतिहास र त्यसअघिका गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक, मिथकीय वा आद्यइतिहास भनिन्छ। राजा मानदेवद्वारा जारी शक सम्वत् ३८६ (इ.सं. ४६४)को चाँगुनारायणस्थित अभिलेख नेपालको पौराणिक इतिहास र प्रामाणिक इतिहासबीचको सीमारेखा हो।
पशुपतिस्थित सम्वत् १५७ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को जयदेव द्वितीयको अभिलेख (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ५४८) बाट पुष्टि भएको राजा मानदेव लिच्छवि वंशका थिए भन्ने तथ्यका आधारमा मानदेव र उनका उत्तराधिकारीले शासन गरेको अनुमानित चार सय वर्षको इतिहासलाई लिच्छविकाल भनिन्छ। नेपालको प्रामाणिक राजतन्त्रात्मक इतिहास यसै युगदेखि प्रारम्भ भएको हो। प्रथम प्रामाणिक राजतन्त्रात्मक शासन पद्धति भएकाले शाहवंशीय शासकहरूले पनि लिच्छविकाललाई विशेष महत्त्व दिएका थिए।
नेपालको इतिहास राजसंस्था, धर्म र कला संस्कृतिको समन्वित इतिहास हो (पञ्चायत स्मारिका) भन्ने पञ्चायती दर्शन–भाष्यले परोक्ष रूपमा लिच्छविकालकै गरिमा गाएको छ। राजसंस्थाले पञ्चायती व्यवस्थाको माध्यमबाट आफ्नो सत्तालाई आदर्शीकरण गर्न केही इतिहासकारलाई परिचालन गरेर लिच्छविकाललाई ‘स्वर्णयुगीन सभ्यता’ लेख्न लगाएको भन्ने केही आलोचकको तर्क छ। (युग पाठक, मांगेना) कतिपय आलोचकले विश्वविद्यालयमा पढिने–पढाइने नेपालको इतिहास जनताको इतिहास नभएर आध्यात्मिक दृष्टिकोण र राजसंस्थाको वीरताको बखान गरिएको इतिहास हो त भन्ने प्रश्न उठाएका छन् (सीताराम तामाङ, नेपालः समाज विकासको ऐतिहासिक–भौतिकवादी निरूपण, पृष्ठः १)।
नेपालका इतिहासकारहरू भावुकता र वफादारिताबाट माथि उठ्न नसकेकाले विभूतीकरण र स्वर्णयुगको परिकल्पना गरिएको प्रतीत हुन्छ। वस्तुतः राष्ट्रियताको काल्पनिकीमा स्वर्णयुगको भाष्य बोकेर वर्तमान इतिहासलाई उपहास गर्ने कि आलोचनात्मक दृष्टिकोणबाट इतिहासको व्याख्या गर्दै वर्तमानलाई न्याय गर्ने भन्ने प्रश्न नै आजको बहसको बिन्दु हो।
इतिहासप्रति राजसंस्थाको कुनै चासो र अभिरुचि नभएकाले दरबारले कुनै पनि इतिहासकारलाई दरबार–राजसंस्था अनुकूलको इतिहास लेख्न लगाएको देखिँदैन भन्ने मत पनि छ (महेशराज पन्तसँगको फोनवार्ता)। शाह राजाहरू इतिहासबाट अनुप्राणित हुने खालका थिए भने उनीहरूले आफू अनुकूलको इतिहास लेखाउँथे भन्ने इतिहासकार महेशराज पन्तको तर्कले स्वर्णयुगको भाष्यमा राजसंस्थाको कुनै भूमिका छैन भन्ने कुरामा जोड दिन्छ।
मार्क्सवादी दृष्टिकोणबाट नेपालको इतिहास कमै मात्रामा लेखिएको छ। नेपालका इतिहासकारहरू भावुकता र वफादारिताबाट माथि उठ्न नसकेकाले विभूतीकरण र स्वर्णयुगको परिकल्पना गरिएको प्रतीत हुन्छ। वस्तुतः राष्ट्रियताको काल्पनिकीमा स्वर्णयुगको भाष्य बोकेर वर्तमान इतिहासलाई उपहास गर्ने कि आलोचनात्मक दृष्टिकोणबाट इतिहासको व्याख्या गर्दै वर्तमानलाई न्याय गर्ने भन्ने प्रश्न नै आजको बहसको बिन्दु हो।
पञ्चायती भूमिका
नेपालको इतिहास लेखनमा राणाहरूको भूमिका कमजोर थियो। राणाहरू मुलुकको इतिहास, पुरातत्त्व, संस्कृति र मानवशास्त्रीय अध्ययनमा अनिच्छुक हुँदाहुँदै पनि राणाकालमा केही प्रारम्भिक प्रयास भएका थिए। कतिपय राणा प्रधानमन्त्रीले आफ्नो प्रशस्ति लेखाउन विदेशीहरूलाई नेपालको इतिहास लेख्न लगाएका थिए (पर्सिभल ल्यान्डन– नेपाल)। भगवानलाल इन्द्रजी, हरप्रसाद शास्त्री, सेसिल वेन्डाल, सिल्भा लेभी र पर्सिभल ल्यान्डन लगायतका विदेशी विद्वान्ले पनि नेपालको इतिहासमा कलम चलाए (नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवी, पृष्ठः ३५, ४३, ६१, ८९)।
सार्वभौमसत्ताको संरक्षक र राष्ट्रियताको प्रतीकका रूपमा राजसंस्थालाई स्थापित गरेर राजतन्त्रको संस्थापक लिच्छविकाललाई स्वर्णयुग घोषणा गर्न पञ्चायती व्यवस्थाले सक्दो प्रयास गरेको हो भन्ने तर्कमा कतिपय इतिहासकारको असहमति भए पनि यो आफैंमा असत्य होइन।
२००७ सालमा प्रजातन्त्रको आगमनसँगै नेपालको इतिहास लेखनमा तीव्रता आयो। बाबुराम आचार्य, हेमराज पाण्डे, रुद्रराज पाण्डे, बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, अम्बिकाप्रसाद उपाध्याय, रामजीप्रसाद उपाध्याय र ढुण्डीराज भण्डारीहरूले राजसंस्थालाई केन्द्रमा राखेर इतिहास लेखनमा योगदान दिए (पञ्चायत स्मारिका, पृष्ठः ३५२)। आधुनिक नेपालको काल्पनिकीमा पञ्चायती राजसंस्थालाई मजबूत बनाउन उल्लिखित विद्वान्हरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनी आलोचकहरूले टिप्पणी गरेका छन् (मांगेना, पृष्ठः १६–९२)।
सार्वभौमसत्ताको संरक्षक र राष्ट्रियताको प्रतीकका रूपमा राजसंस्थालाई स्थापित गरेर राजतन्त्रको संस्थापक लिच्छविकाललाई स्वर्णयुग घोषणा गर्न पञ्चायती व्यवस्थाले सक्दो प्रयास गरेको हो (पञ्चायत स्मारिका, पृष्ठः १८) भन्ने तर्कमा कतिपय इतिहासकारको असहमति भए पनि यो आफैंमा असत्य होइन। राजसंस्थाले पृथ्वीनारायण शाहका पालादेखि सांस्कृतिक बहुलतालाई पूरै अस्वीकार नगरेको भए पनि पञ्चायती व्यवस्थाले एक भाषा–एक संस्कृतिको नीति अनुरूप निर्दलीय सत्ता टिकाउन हरप्रकारको प्रपञ्च गरेको आलोचकहरूको भनाइ छ।
पञ्चायतले जनताको मनोविज्ञानमा राजसंस्थाप्रति उत्तरदायित्वको भावना जगाउन नश्लीय एवम् जातीय श्रेष्ठतामा आधारित साहित्य, सङ्गीत र संस्कृतिको प्रयोग गरेको छ। देशको गौरवमय इतिहास र पुर्खाका महान् चरित्रप्रति जनताको हृदयमा श्रद्धा र कृतज्ञता जगाउने प्रसङ्गमा जनक, सीता, बुद्ध, अंशुवर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, बलभद्र, अमरसिंह, भीमसेन थापा लगायतका पौराणिक तथा ऐतिहासिक पात्रलाई विभूतीकरण गरेको छ (गाउँ फर्क अभियान, २०२४ मा प्रकाशित, २०२७ को संशोधित रूप, पृष्ठः ३)। जनक ऋषिको दार्शनिक एकता, सीताको सहनशीलता र सामाजिक एकता, बुद्धको सांस्कृतिक एकता र अंशुवर्माको धार्मिक एकताले (बालकृष्ण सम– हाम्रा राष्ट्रिय विभूतिहरू) नेपाली सभ्यताको शिलान्यास गरेको हो भन्ने तथ्यलाई जोड दिएर राष्ट्रियताको पञ्चायती भाष्य तयार गरिएको छ।
पञ्चायती व्यवस्थामै राजा महेन्द्रले राष्ट्रियताको प्रारूप बलियो बनाउन भाषा–साहित्यबाट कला–वास्तुकला, स्थापत्य, धर्म, संस्कृति एवम् प्रतीकहरूको भाष्य तयार गरेका थिए (सीके लाल, नेपालीय हुनलाई, नेपाली राष्ट्रियता चिन्तन र अभिव्यक्ति, पृष्ठः १४)। मिथकीय पात्रलाई ऐतिहासिक पात्रका रूपमा विभूतीकरण गर्ने प्रयास पञ्चायती राष्ट्रिय काल्पनिकीको आधार थियो। भृकुटीलाई राष्ट्रिय विभूति र लिच्छविकाललाई स्वर्णयुग बनाउने भाष्य पञ्चायती व्यवस्थाको प्रपञ्च थियो (हे. हामी कति भ्रममा छौँ भृकुटीको भाष्य मात्र हेरौं न) भन्ने आलोचकहरूको प्रतिकथन छ। कतिपय इतिहासकार अन्जानवश नै यस्तो प्रपञ्चमा फसेका देखिन्छ। शासकहरूको वफादारितामा केन्द्रित रही (सीके लाल, उही, पृष्ठः २४) राष्ट्रियतालाई परिभाषित गर्ने स्रष्टाहरूले पञ्चायती भाष्यलाई मलजल पुर्याएकै प्रतीत हुन्छ।
भाष्यकारका तर्क
लिच्छवियुगलाई स्वर्णयुग भनेर सर्वप्रथम इतिहासकार बालचन्द्र शर्माले लेखेका हुन् (शर्मा, नेपालको ऐतिहासिक रूपरेखा, वि.सं. २००८, पृष्ठः ९९)। प्रजातन्त्रको उदय लगत्तै २००८ सालतिर यो पुस्तक प्रकाशित हुँदा नेपालमा राष्ट्रियताको आधारभूत मानक बनेको थिएन। राजा महेन्द्रले नै यो मानकलाई बलियो बनाएको आलोचकहरूको तर्क छ (युग पाठक, मांगेना)। तर, लिच्छविकाललाई स्वर्णयुग भन्दा इतिहासकार शर्मामा आलोचनात्मक दृष्टिकोणको जग नबनेको प्रमाणित हुन्छ। राष्ट्रिय भावुकता र राजसंस्थाप्रतिको अतिशय वफादारिताका कारण उनले लिच्छविकाललाई स्वर्णयुग भनेको हुनुपर्छ।
लिच्छवियुगलाई स्वर्णयुग भनेर सर्वप्रथम इतिहासकार बालचन्द्र शर्माले लेखेका हुन् ('नेपालको ऐतिहासिक रूपरेखा', वि.सं. २००८। प्रजातन्त्रको उदय लगत्तै २००८ सालतिर यो पुस्तक प्रकाशित हुँदा नेपालमा राष्ट्रियताको आधारभूत मानक बनेको थिएन। राजा महेन्द्रले नै यो मानकलाई बलियो बनाएको आलोचकहरूको तर्क छ।
अंशुवर्माको परराष्ट्रनीति, धार्मिक सहिष्णुता, राजनीतिक दूरदर्शिताका आधारमा उनलाई एशियाको राजनीतिमा महत्त्वपूर्ण व्यक्तित्व ठान्नु बालचन्द्र शर्माको अतिशय भावुकता हो। यो भावुकताले भारतका सम्राट् राजा अशोकलाई पनि माथ गरेको छ। अंशुवर्माभन्दा अगाडि नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय उन्नति नभएको र उनकै शासनकालमा आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति भएकोले लिच्छविकाललाई स्वर्णयुग भनिनुपर्छ भन्ने इतिहासकार शर्माको तर्क छ।
इतिहासकार जगदीशचन्द्र रेग्मीले पनि २०२६ सालमा प्रकाशित पुस्तक लिच्छवि संस्कृति मा बालचन्द्र शर्माको तर्कमा जोड दिँदै लिच्छविकाललाई नेपालको स्वर्णयुग भनेका छन् (लिच्छवि संस्कृति, पृष्ठः ४७१)। लिच्छविकालमा नेपालको वैदेशिक सम्बन्ध बढेर विश्वजगत्मा नेपाली सभ्यताको क्षितिज उघारिएकाले यस काललाई स्वर्णयुग भन्नुपर्ने उनको धारणा छ। बालचन्द्र शर्माले अंशुवर्माको समयलाई स्वर्णयुग भनेका थिए भने जगदीशचन्द्र रेग्मीले नरेन्द्रदेवको पालादेखि स्वर्णयुगको उदय भएको तर्क पेश गरेका छन् ( ऐजन पृष्ठ)। तर, उनले पछिका पुस्तकमा स्वर्णयुगको परिकल्पना दोहोर्याइएको देखिँदैन।
अर्का विद्वान् सूर्यविक्रम ज्ञवालीले लिच्छविवंशलाई समकालीन भारतीय शासक गुप्तवंशसँग जोडेर लिच्छवि सभ्यतालाई स्वर्णयुग भनेका छन् (सूर्यविक्रम ज्ञवाली, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, पृष्ठ: ३१–३२)। गुप्त संस्कृतिको प्रोत्फुल्लताका कारण लिच्छविको वैभव वर्णन गर्नु उनको प्राज्ञिक भूल वा आलोचनात्मक क्षमताको कमजोरी मान्न सकिन्छ।
लिच्छविकालको सांस्कृतिक वैभवका आधारमा यो काल नेपाली सभ्यताको इतिहासमा स्वर्णिम युग थियो भन्ने ढुण्डीराज भण्डारीको पनि तर्क छ (नेपालको आलोचनात्मक इतिहास, पृष्ठः ८६–८७)। राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले लिच्छविकाल उन्नत अवस्थामा भएकाले स्वर्णयुग भन्नुपर्छ भन्ने तर्कलाई उनले आफ्नो दोस्रो पुस्तकमा समेत जोड दिएका छन् (नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास, पृष्ठः ११६)। विज्ञान र प्रविधिको क्षेत्रमा समेत समुन्नत भएकाले यस काललाई स्वर्णयुग भनिएको भन्नेमा उनको जोड छ (ऐजन पृष्ठ)।
नेपालको सामाजिक–सांस्कृतिक संरचनामा लिच्छविहरूको वैभवमा जोड दिँदै यिनीहरू नभएका भए नेपाली कला, संस्कृति र सभ्यता आजको अवस्थामा आउँदैनथ्यो भन्ने इतिहासकार बाबुराम आचार्यको तर्कले पनि स्वर्णयुगको भाष्यलाई नै स्थापित गर्छ (आचार्य, २०७०, नेपालको सांस्कृतिक परम्परा, पृष्ठः ६४)। यो तर्कबाट लिच्छविकाल स्वर्णयुग नै थियो भन्ने बाबुराम आचार्यको धारणा झल्किन्छ (आचार्य, २०६३, प्राचीनकालको नेपाल)।
अग्रज इतिहासकार मात्र होइन, पछिल्लो पुस्ताका लेखकहरूले पनि लिच्छविकालको स्वर्णयुगीन भाष्यमा जोड दिएका छन्। उनीहरूले धर्म, संस्कृति लगायत सभ्यताका समग्र क्षेत्रमा अत्यधिक विकास भएकाले नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्णयुग भन्नुपर्छ भन्ने पूर्वइतिहासकारहरूको धारणामा जोड दिएका छन् (सोमप्रसाद खतिवडा, नेपाली संस्कृति विश्वकोश, पृष्ठः १०६५)।
अग्रज इतिहासकार मात्र होइन, पछिल्लो पुस्ताका लेखकहरूले पनि लिच्छविकालको स्वर्णयुगीन भाष्यमा जोड दिएका छन्। उनीहरूले धर्म, संस्कृति लगायत सभ्यताका समग्र क्षेत्रमा अत्यधिक विकास भएकाले नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्णयुग भन्नुपर्छ भन्ने पूर्वइतिहासकारहरूको धारणामा जोड दिएका छन्।
३५ वर्ष जतिअघिको कुनै बौद्धिक सम्मेलनमा सङ्ग्रहालयविद् पशुपतिकुमार द्विवेदीले लिच्छविकाललाई स्वर्णयुग भन्दा उपस्थित श्रोताहरू हाँसेको इतिहासकार महेशराज पन्त आज पनि सम्झन्छन् (२०७८ जेठ ११ मा गरिएको फोनवार्ता)। सारमा नेपालीत्वले भरिएको सांस्कृतिक सभ्यतालाई भारतीय इतिहासको गुप्त सभ्यतासँग तुलना गरी लिच्छविकाललाई स्वर्णयुग भन्ने मिथकीय प्रयत्नमा केही इतिहासकार लागिपरेको देखिन्छ (पञ्चायत स्मारिका, पृष्ठः ३१३)।
संशोधन मण्डलको धारणा
नेपालको इतिहास लेखनमा संशोधन मण्डलको महत्त्वपूर्ण भूमिका छ। २००७ सालको पृष्ठभूमिमा लेखिएको गलत इतिहासको संशोधन–पुनर्लेखनमा संशोधन मण्डल आजपर्यन्त लागिरहेको छ। तर, युग पाठक लगायत केही आलोचकले संशोधन मण्डल पनि पञ्चायती इतिहासकार हुन् भनेका छन् (युग पाठक, मांगेना, पृष्ठ: ३१)।
ज्ञानमणि नेपालले आफू लगायत संशोधन मण्डलका सदस्यलाई ‘राष्ट्रिय दृष्टिकोणले विचार गर्ने’ इतिहासकार भनेका छन्। उनले संशोधन मण्डलका सदस्य–शिष्यहरू साधारण प्रकृतिका साहित्यिक स्रोतलाई साभार गरी सतही इतिहास लेख्छन् भन्ने कमलप्रकाश मल्लको धारणा (कन्ट्रिब्युसन्स् टु नेप्लिज स्टडीज, २०४०, वर्ष –११, अंक –१) लाई खण्डन गरेका छन् (ज्ञानमणि नेपाल, नेपाल निरूपण, पृष्ठः ३४–३५)। युग पाठकले संशोधन मण्डलमाथि लगाएको आरोपलाई उनी लेखक हुनुभन्दा धेरै वर्ष अगाडि महेशराज पन्तले नै खण्डन गरिसकेका थिए (पूर्णिमा, अंक–५८, पृष्ठः १–२९)।
संशोधन मण्डलले पञ्चायती व्यवस्थाको महिमा गान गाएको तर्क आफैँमा कमजोर देखिन्छ। २००४ सालमै नयराज पन्त र तोत्रराज पाण्डे लिखित नेपालको संक्षिप्त इतिहास पुस्तकमा वस्तुनिष्ठताको सिद्धान्त अपनाएर लिच्छविकाललाई स्वर्णयुग भनिएको र भृकुटीको उल्लेख गरिएको छैन। संशोधन मण्डलका प्रजातन्त्रपछि प्रकाशित कुनै पनि पुस्तक र जर्नल लेखमा सत्ता र शक्तिको भक्ति र चाकडी गरिएको देखिँदैन। यी तथ्यबाट संशोधन मण्डल पञ्चायती इतिहासकार होइन भन्ने तथ्य प्रमाणित हुन्छ र संशोधन मण्डलले राजसंस्थाको पञ्चायती नुन खाएर इतिहास लेखेको भन्ने एकपक्षीय भाष्य अमान्य हुन्छ (हे. संशोधन मण्डलमा राष्ट्रपति भ्रमणको अर्थ)।
लिच्छविकाल भन्दा पहिलेको इतिहासलाई प्रमाणित गर्ने पुरातात्त्विक प्रमाण एवम् ऐतिहासिक आधार नभएकाले त्यस युगलाई पौराणिक इतिहास भनिएको हो। पुष्ट्याइँ गर्ने पुरातात्त्विक आधार नभएकाले गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक काल भन्नुपर्छ भन्ने पौराणिक एवम् पुरातात्त्विक अध्येताहरूको तर्क छ।
पञ्चायती व्यवस्था लागू हुनु धेरै वर्षअघि संशोधन मण्डलले इतिहासको खण्डनमण्डन गर्न थालिसकेको थियो। त्यसकारण यसलाई नभएकी भृकुटीको विभूतीकरण र स्वर्णयुगको परिकल्पित भाष्यलाई मलजल तथा पृष्ठपोषण गरेर कथित विद्वान् बन्नु जरुरी छैन। आजका दिनसम्म पनि संशोधन मण्डलले लिच्छविकाललाई स्वर्णयुग भनेको छैन भन्ने कुरा यो संस्थाबाट प्रकाशित पूर्णिमाका १४४ वटा अङ्क हेर्दा पनि प्रमाणित हुन्छ।
लिच्छविकालको वस्तुस्थिति
नेपालको प्रामाणिक इतिहास लिच्छविकालदेखि शुरू भएको र त्यसकारण यसै युगदेखि नेपालको ऐतिहासिक काल शुरू भएको स्पष्ट छ। लिखित प्रमाण प्राप्त भएपछि ऐतिहासिक युग शुरू हुने मान्यताका आधारमा हेर्दा शक सम्वत् १०७ अर्थात् इस्वी १८५ को जय वर्माको अभिलेख प्राप्त भएको आधारमा यस कालदेखि नै प्रामाणिक इतिहास शुरू भएको मान्ने कि भन्ने प्रश्न उठाउन सकिन्छ।
लिच्छविकाल भन्दा पहिलेको इतिहासलाई प्रमाणित गर्ने पुरातात्त्विक प्रमाण एवम् ऐतिहासिक आधार नभएकाले त्यस युगलाई पौराणिक इतिहास भनिएको हो (दिवाकर आचार्य, नीपजन र नेपाल: एउटा छोटो आद्य इतिहास)। पुष्ट्याइँ गर्ने पुरातात्त्विक आधार नभएकाले गोपाल, महिषपाल र किराँतकाललाई पौराणिक काल भन्नुपर्छ भन्ने पौराणिक एवम् पुरातात्त्विक अध्येताहरूको तर्क छ (दिनेशचन्द्र रेग्मी र रामनिवास पाण्डेय, नेपालको पौराणिक इतिहास)।
नेपालमा लिच्छविहरूको आगमन कहिले भयो, स्पष्ट प्रमाण छैन। तर, किराँतीहरूको सत्ता हत्याउन केही समय लाग्ने हुनाले अनुमानित इस्वीको प्रथम शताब्दी आसपासतिर लिच्छविहरू नेपाल प्रवेश गरेको इतिहासकारहरूको धारणा छ (जगदीशचन्द्र रेग्मी, लिच्छवि संस्कृति, पृष्ठः १)। देशको निश्चित भूगोल, भाषा–लिपि, संस्कृति, साहित्य, सम्वत्, मुद्रा र सैन्य गतिविधि जस्ता राज्यका लागि चाहिने आधारभूत तत्त्व लिच्छविकालका अभिलेखमा पाइएकाले यस काललाई प्रामाणिक सभ्यताको युग भनिएको हो।
विशेषगरी हिन्दू दर्शन, धर्म, संस्कृतिका आचारसंहिताबाट निर्दिष्ट लिच्छवि शासन राजतन्त्रात्मक पद्धतिमा आधारित थियो। प्राचीन भारतीय समाजको समष्टिबोधका चिन्तन प्रणाली अर्थात् हिन्दू धर्म र संस्कृतिका निर्दिष्ट सिद्धान्तहरूबाट लिच्छवि समाज संरचित थियो, जसको मुटु वर्णाश्रम व्यवस्था थियो भन्ने तथ्य (प्रयागराज शर्मा, कुल, भूमि र राज्य– नेपाल उपत्यकाको पूर्वमध्यकालिक सामाजिक अध्ययन, पृष्ठः १७) लिच्छविकालका विभिन्न अभिलेखबाट प्रमाणित भएको छ।
आर्यमर्यादामा आधारित वर्ण व्यवस्थालाई लिच्छविहरूले सामाजिक संरचनाको आधार बनाएको अभिलेखबाट प्रमाणित हुन्छ। अंशुवर्माका टिस्टुङ र लेलेबाट प्राप्त अभिलेखमा वर्णाश्रम व्यवस्था सम्बन्धी कट्टर नीति अपनाइएको देखिन्छ। राजा वसन्तदेवको थानकोटको अभिलेखमा उत्कीर्ण ‘अष्टादशप्रकृति’ वाक्यांशले लिच्छविकालमा जातीय विविधता भएको देखिन्छ।
मैदानी सभ्यताबाट आयातीत सांस्कृतिक चिन्तनले उपत्यकामा जरो गाडेपछि एकातिर किराँतीहरूको सांस्कृतिक प्रणाली बिस्तारै कमजोर बन्न पुगेको र अर्कोतिर वैष्णव–शैव सभ्यता मजबूत बन्दै गएको देखिन्छ (डोरबहादुर विष्ट, भाग्यवाद र विकास– आधुनिकीकरण हेतु नेपालको जमर्को, पृष्ठः २०–२१)। शैव–वैष्णव प्रणालीलाई स्थापित गर्ने उपक्रममा सामाजिक प्रवर्गहरूलाई मजबूत बनाउन धार्मिक–सांस्कृतिक सम्पदाहरूको निर्माण गर्न थालिएको र ती सम्पदाको संरक्षण–सम्वर्द्धनका लागि गुठी जग्गाले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ (गोविन्द टण्डन, नेपालमा गुठी व्यवस्था)।
आर्यमर्यादामा आधारित वर्ण व्यवस्थालाई लिच्छविहरूले सामाजिक संरचनाको आधार बनाएको अभिलेखबाट प्रमाणित हुन्छ। अंशुवर्माका टिस्टुङ र लेलेबाट प्राप्त अभिलेखमा वर्णाश्रम व्यवस्था सम्बन्धी कट्टर नीति अपनाइएको देखिन्छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठः ३११,२८२–२८३,२९०–२९१)। राजा वसन्तदेवको थानकोटको अभिलेखमा उत्कीर्ण ‘अष्टादशप्रकृति’ वाक्यांशले लिच्छविकालमा जातीय विविधता भएको देखिन्छ। त्यसमा लिच्छविपूर्वको मानिने किराँत सभ्यताका अभिलेखात्मक सङ्केतहरू पाइएका छन्। अभिलेखमा प्रयुक्त संस्कृतइतर शब्दहरूबाट यो तर्क प्रमाणित हुन्छ। कुथेर, माप्चोक, शोल्ल, लिंग्वल, लगायत अन्य स्थानबोधार्थक शब्दहरू अभिलेखमा उल्लेख छन्।
किराँतपूर्व पनि गोपालवंशी, महिषपालवंशी जाति तथा वंशहरूले शासन व्यवस्थाको शुरूआत गरी सभ्यताको शिलान्यास गरेको मानिन्छ। तर, यो तर्कलाई प्रमाणित गर्ने पुरातात्त्विक आधार छैन। पारम्परिक एवम् आख्यानमा आधारित पौराणिक प्रमाणलाई आधार मान्दा आर्यवंशज भनिने गोपाल–महिषपाललाई नेपाली सभ्यताको प्रथम आदिवासी मान्ने कि नमान्ने भन्ने प्रश्नमा छलफल गर्न सकिन्छ।
अष्ट्रोल–निग्रो मूलका कोल–निषाद–किन्नर, किराँत, कश, खश र दरद लगायतका जातिहरूको अस्तित्व लिच्छविपूर्व नै थियो (रेग्मी र पाण्डे, नेपालको पौराणिक इतिहास, पृष्ठः ३०–४०)। यसकारण लिच्छविहरूको नेपाल प्रवेशसँगै उनीहरूलाई यहाँका आदिवासी जनजाति र तिनका सामाजिक–सांस्कृतिक गतिविधिसँग अन्तरक्रिया गर्नुको विकल्प थिएन। लिच्छवि–गुप्तहरूले मूलतः आफूसँगै ल्याएका वैष्णव संस्कृति, गुप्तलिपि र संस्कृत भाषालाई प्रयोग गरेर आफ्नो सांस्कृतिक आधिपत्य कायम गर्ने प्रयास गरे। तर, उनीहरूको यो प्रयास पूर्ण सफल हुन नसकेकाले सांस्कृतिक सम्मिश्रणबाट लिच्छवि सभ्यता शुरू भएको मानिन्छ। आदिवासीहरूसँगको सांस्कृतिक अन्तरसंघर्ष नै लिच्छवि सभ्यताको आधार हो। यसकारण लिच्छविकाललाई स्वर्णयुग मान्दै गर्दा आदिवासीहरूको इतिहासलाई बिर्सन कदापि मिल्दैन।
राज्य व्यवस्थापन, भाषा, साहित्य, कला, संस्कृति र सम्पदामा लिच्छविहरूको महत्त्वपूर्ण देन भएको तथ्यलाई बिर्सन सकिँदैन। परिष्कृत पाषाण मूर्तिहरूको निर्माण पद्धतिले उनीहरूको शिल्पी संस्कृति उजागर गर्छ भन्ने तथ्यलाई लिच्छविकालका सयौँ मूर्तिले प्रमाणित गर्छन्। बूढानीलकण्ठस्थित जलाशयन नारायणको मूर्ति, हनुमानढोकास्थित कालीयदमनको मूर्ति, राष्ट्रिय सङ्ग्रहालयमा भएकी पद्महस्तायुक्त लक्ष्मी मूर्ति लगायतका मूर्तिले लिच्छविकालीन कलाकारिताको भव्यतालाई प्रमाणित गर्छन्। तर, तिनको निर्माणमा आदिवासीहरूको देन भएको तर्कलाई अस्वीकार गर्न मिल्दैन।
लिच्छविकालको मौद्रिक तथा आर्थिक इतिहासको (रमेश ढुंगेल, प्राचीन अर्थव्यवस्था) अवस्थिति त्यस कालमा प्रचलित मुद्राहरूबाट पनि प्रमाणित हुन्छ। त्यस्तै, कृषि प्रणाली, पशुपालन र प्रस्तर, धातु, काष्ठ, कपडा आदि विभिन्न उद्योग तथा व्यापार विनिमय आदि गतिविधिले त्यस कालको आर्थिक इतिहासबारे जानकारी हुन्छ। लिच्छविकालीन दरबार वास्तुकलाको भव्यतालाई चिनियाँ यात्रीहरूले उल्लेख गरेका छन्। तर, ती चिनियाँ यात्रीले नेपाल नआई भारतमै बसेर सुनेको भरमा नेपालबारे लेखेका हुनाले तिनका लेखाइको प्रामाणिकता माथि प्रश्न गर्न सकिन्छ।
लिच्छविकाल एउटा सभ्यताका रूपमा विकास भएको तर्कलाई अस्वीकार गर्न मिल्दैन, तर उत्पीडित र पराजित आदिवासीहरूका आँखाबाट हेर्दा स्वर्णयुगको भाष्यमाथि प्रश्न उठाउन जरुरी हुन्छ। यसकारण स्वर्णयुगको काल्पनिकी आफैँमा सत्ताका लागि स्वर्णिम इतिहास भए पनि पराजितहरूका लागि यो एक भ्रम अर्थात् मिथिहास हो भन्ने तर्कमा छलफल गर्न जरुरी छ।
लिच्छविकालका अभिलेखहरूमा पनि उल्लेख भएका मानगृह, कैलाशकूट र भद्राधिवास दरबार कहाँ थिए भन्ने तथ्य अहिलेसम्म प्रामाणिक रूपमा जानकारी हुनसकेको छैन। तर, हालसम्मको पुरातात्त्विक उत्खननबाट उल्लिखित दरबार वास्तुकलाका भग्नावशेषहरू नपाइए पनि अभिलेखमा उत्कीर्ण कोट्ट (किल्ला), गुल्म (गढी), राजप्रासाद (दरबार) जस्ता शब्दको उल्लेख भएबाट दरबार तथा किल्लाको वास्तुकलाको सङ्केत मिल्छ। लिच्छविकालमा हिन्दू संस्कृति र सम्पदाका साथसाथै बौद्ध सम्पदा र संस्कृतिको पनि विकास भएको थियो। यसले लिच्छविकालीन सांस्कृतिक महत्तालाई प्रमाणित गर्छ।
सारमा लिच्छविकाल एउटा सभ्यताका रूपमा विकास भएको तर्कलाई अस्वीकार गर्न मिल्दैन, तर उत्पीडित र पराजित आदिवासीहरूका आँखाबाट हेर्दा स्वर्णयुगको भाष्यमाथि प्रश्न उठाउन जरुरी हुन्छ। यसकारण स्वर्णयुगको काल्पनिकी आफैँमा सत्ताका लागि स्वर्णिम इतिहास भए पनि पराजितहरूका लागि यो एक भ्रम अर्थात् मिथिहास हो भन्ने तर्कमा छलफल गर्न जरुरी छ।
प्रतिकथन
स्वर्णयुगको काल्पनिकी आफैँमा सिद्धान्तविहीन छ। स्वर्णयुगको मानकका आधार के–के हुन्? स्वर्णयुगका भाष्यकारले त्यसको वस्तुनिष्ठ तथ्य–तर्क प्रस्तुत गर्नुभन्दा पनि अतिशय भावुकता र कोरा परिकल्पनामा डुबेर स्वर्णयुगको इतिहास रचेका छन्। अंशुवर्मालाई एशियाकै महानायक ठान्ने बालचन्द्र शर्माको कल्पना आफैँमा भ्रामक छ। आफ्ना तर्कलाई प्रमाणित गर्न उनले कुनै बलियो आधार प्रस्तुत गरेका छैनन्।
भारतमा गुप्तशासकहरूको जगजगी भएका वेला अंशुवर्माको हैसियतलाई एशियाको महान् नेताका रूपमा तुलना गर्न सकिँदैन। अभिलेखहरूमा भृकुटीको कहीँ उल्लेख नभएकाले भृकुटीको प्रसङ्ग पनि आफैँमा भ्रम हो भन्न सकिन्छ। त्यसैले अंशुवर्माले तिब्बतका शासक स्रोङचोङ गम्पोसँग आफ्नी छोरी भृकुटीको वैवाहिक सम्बन्ध गाँसेर परराष्ट्र सम्बन्ध कायम गरेको प्रसङ्ग पनि तर्कसङ्गत छैन।
शासकहरूले दुई–चार वटा दरबार बनाएको र परराष्ट्र सम्बन्ध कायम राखेकै आधारमा लिच्छविकाललाई स्वर्णयुग भन्न सकिँदैन। स्वर्णयुग भन्नलाई जनताको जीवनस्तर कस्तो थियो, जनताका लागि जनताको दृष्टिकोणले त्यसको खोजी हुनुपर्छ।
अंशुवर्माले जारी गरेका अभिलेखमा उनलाई जनप्रिय देखाइएको छ। कसरी मेरा प्रजा सुखी होलान् भनी रातदिन दुनियाँको चिन्तन गर्ने व्यहोराको सम्वत् ३२ (अंशुवर्माले चलाएको मानिने दोस्रोथरी सम्वत्) को हाँडीगाउँको प्रशस्तिपरक अभिलेखका आधारमा अंशुवर्माको शासन समय स्वर्णिम थियो भन्ने बालचन्द्र शर्माको तर्कलाई विश्वास गर्न कठिन छ। अभिलेखमा लेखिएको हो भन्दैमा त्यो सत्यको कसी हुनसक्तैन। अभिलेखका पनि आफ्नै सीमा हुन्छन्। त्यसलाई प्रमाणित गर्ने अन्य आधारहरूको खोजी गर्नु आवश्यक हुन्छ। पञ्चायती व्यवस्था वा प्रशस्तिगान गाउने इतिहासकारले झैँ तात्कालिक अभिलेखका लेखकले पनि आफ्ना राजा वा शासकको प्रशस्ति गाएको अभिलेखका भाषाको अध्ययनबाट प्रमाणित हुन्छ।
यस सन्दर्भमा इतिहासकार जगदीशचन्द्र रेग्मीले प्रस्तुत गरेका तर्क पनि कमजोर देखिन्छन्। शासकहरूले दुई–चार वटा दरबार बनाएको र परराष्ट्र सम्बन्ध कायम राखेकै आधारमा लिच्छविकाललाई स्वर्णयुग भन्न सकिँदैन। स्वर्णयुग भन्नलाई जनताको जीवनस्तर कस्तो थियो, जनताका लागि जनताको दृष्टिकोणले त्यसको खोजी हुनुपर्छ। लिच्छविकाललाई विजेताका आँखाबाट स्वर्णयुग मान्न सकिए पनि पराजित आदिवासी किराँतहरूको आँखाबाट हेर्दा स्वर्णयुग मान्न सकिँदैन।
ढुण्डीराज भण्डारी र सूर्यविक्रम ज्ञवालीले लिच्छविहरूको सांस्कृतिक योगदानका आधारमा यस काललाई स्वर्णयुग भनेका छन्। तर, लिच्छवि सभ्यताको विकासमा आदिवासी जनजातिहरूको भूमिका नदेख्नु उनीहरूका आँखामा शासकीय चाप्लुसीको पट्टी बाँधिनु हो। लिच्छविकाललाई स्वर्णयुग मान्दा लिच्छविपूर्वका किराँत, शक, कश, दरद, नाग, कोल–निषाद लगायतका आदिवासी–जनजातिको सांस्कृतिक भूमिकालाई बिर्सन मिल्दैन। यसकारण नश्लीय आँखाबाट नेपाली संस्कृतिको शिलान्यासको मूल्याङ्कन गरिनु आफैँमा इतिहासप्रतिको उपहास हो। यहाँ आदिवासी जनजातिहरूसँगको सहकार्य विना लिच्छवि वैभवको विकास हुने थिएन भन्ने तथ्य बुझ्नु जरुरी हुन्छ।
स्वर्णयुगको भाष्य तयार गर्ने शासकहरूले नचाहँदा–नचाहँदै पनि लिच्छविपूर्वका आदिवासीको भूमिकालाई प्रश्नात्मक शैलीमा सम्झेको देखिन्छ। के लिच्छवि कला–संस्कृति किराँतकालीन कलाकारकै योगदान थियो त भन्ने प्रश्नलाई शून्यताको तिमिरबाट लिच्छविकला र सांस्कृतिक वैभवको आलोक कसरी भयो भन्ने उत्तरात्मक प्रश्नले निर्क्योल गरेको छ (पञ्चायत स्मारिका, पृष्ठः ३१३)। यो जवाफले शासक आफैँले तयार गरेका स्वर्णयुगको भाष्यलाई भत्काइदिएको छ।
लिच्छविकाललाई स्वर्णयुग देख्ने इतिहासकारले मल्लकालीन सांस्कृतिक वैभवलाई किन स्वर्णयुग भन्न सकेनन् भन्ने प्रश्नको जवाफ प्रष्ट छ। मल्ल शासकहरू शाहबाट पराजित भएका थिए। त्यसकारण पराजितहरूको सांस्कृतिक वैभव र इतिहासलाई विजेताहरूले स्वाभाविक रूपमै सम्मान गर्न सक्तैनन्, जसरी लिच्छविहरूले किराँती सभ्यतालाई हेय गरेका थिए।
लिच्छवि नभएका भए नेपालको सांस्कृतिक सम्पदा आजको अवस्थामा आउने थिएन भन्ने बाबुराम आचार्यको तर्कले जातीय श्रेष्ठतालाई जोड दिएको देखिन्छ। तर, नेपाली कला, संस्कृति र सम्पदा आर्य र मंगोलबीचको सांस्कृतिक अन्तर्घुलनबाट निर्दिष्ट दार्शनिक चेतनाको परिणाम हो भन्ने तथ्य बिर्सेको देखिन्छ। लिच्छविकाललाई किन स्वर्णयुग मानियो? त्यसका स्पष्ट आधारहरू इतिहासकार आचार्यले पनि प्रस्तुत गर्नसकेका छैनन्। उनको तर्कमा अतिशय भावुकता देखिन्छ। गुप्तशासकलाई लिच्छविसँग तुलना गर्नु आफैँमा परिकल्पित भाष्य मात्र हो।
अर्कोतिर, लिच्छविकाललाई स्वर्णयुग मान्दै गर्दा मल्लकालको सांस्कृतिक योगदानलाई बिर्सन कदापि मिल्दैन। लिच्छविकालका जति सांस्कृतिक सम्पदा जीवित छन्, मल्लकालका त्यो भन्दा धेरै मूर्त–अमूर्त कला–वस्तुकला, संस्कृति र सांस्कृतिक परम्परा आजपर्यन्त निरन्तर प्रवाहित छन्। नेवारी सभ्यताले मल्लकालीन सांस्कृतिक वैभवलाई आजपर्यन्त जीवन्त राखेको तथ्यलाई बिर्सन मिल्दैन। ऐतिहासिक सन्दर्भ हेर्ने हो भने, तुलनात्मक रूपमा लिच्छविकालभन्दा मल्लकाल बढी प्रामाणिक र राजनीतिक घटनाक्रममा स्पष्ट देखिन्छ। त्यसकारण मल्लकाललाई स्वर्णयुग मान्ने कि नमान्ने भन्ने प्रश्नमा पनि छलफल गर्नु जरुरी छ।
तर, लिच्छविकाललाई स्वर्णयुग देख्ने इतिहासकारले मल्लकालीन सांस्कृतिक वैभवलाई किन स्वर्णयुग भन्न सकेनन् भन्ने प्रश्नको जवाफ प्रष्ट छ। मल्ल शासकहरू शाहबाट पराजित भएका थिए। त्यसकारण पराजितहरूको सांस्कृतिक वैभव र इतिहासलाई विजेताहरूले स्वाभाविक रूपमै सम्मान गर्न सक्तैनन्, जसरी लिच्छविहरूले किराँती सभ्यतालाई हेय गरेका थिए। त्यसकारण निकटको नेवार सभ्यतालाई देखेको नदेख्यै गरी लिच्छविकाललाई स्वर्णयुग मान्नुको राजनीतिक अभिष्ट प्रमाणित छ। सूर्यवंशी लिच्छविहरूसँग आफूलाई चन्द्रवंशी नै ठान्ने शाहहरूले साइनो गाँस्नुमा नश्लीय निकटता नै प्रमुख कारक तत्त्व हो।
निष्कर्ष
इतिहासकारका तर्क र माथिका प्रतितर्कका आधारमा स्वर्णयुगको भाष्य निर्क्योल गर्नु जरुरी छ। लिच्छविकालअघिको नेपालको मानव सभ्यताको इतिहास अप्रमाणित छ। तथापि लिच्छवि सभ्यताको विकासमा यो युगको भूमिकालाई बिर्सन मिल्दैन। त्यसैले लिच्छविकालबाट नेपालको प्रामाणिक इतिहास शुरू भएकाले यस काललाई स्वर्णयुग भन्नुपर्छ भन्ने इतिहासकारहरूको तर्कमा आलोचनात्मक दृष्टि राख्ने कि नराख्ने भन्ने आजको प्रश्न हो।
अभिलेखात्मक एवम् पुरातात्त्विक वस्तुस्थितिको जानकारी भएको आधारमा यो युगलाई प्रामाणिक युग भनिनु बढी वैज्ञानिक र वस्तुनिष्ठ देखिन्छ। तर, स्वर्णयुग मान्ने कि नमान्ने, त्यो गहन छलफलको विषय हुनुपर्छ। भाषा, साहित्य, धर्म, संस्कृति, दर्शन, ज्योतिष, विज्ञान, गणित आदिको विकास, ग्रीक–रोमन सभ्यतासँगको सम्बन्ध र वैदेशिक व्यापार लगायतका आधारमा भारतीय इतिहासकारले गुप्तयुगलाई स्वर्णयुग भनेका हुन् (देवीप्रसाद चट्टोपाध्याय (अनु. निनु चापागाईं), भारतीय दर्शनमा के जीवित र के मृत छ?, पृष्ठ: ३९ / विकिपिडिया, द गोल्डेन एज अफ इन्डिया)। भारतीय इतिहास लेखनको परम्पराबाट प्रभावित भएर नेपाली इतिहासकारहरूले पनि लिच्छवियुगलाई स्वर्णकाल भनेको अनुमान गर्न सकिन्छ। तर, भारतीय गुप्तयुगको कसीमा लिच्छवियुगलाई तुलना गर्न सकिन्छ कि सकिँदैन, त्यो छलफलको विषय हो।
लिच्छविकाललाई स्वर्णयुग मान्ने कि नमान्ने भन्ने बहस आज पनि सान्दर्भिक छ। स्वर्णयुगका वस्तुनिष्ठ आधारहरू कमजोर नै देखिन्छन्। लिच्छविकाललाई जसरी आदर्शीकरण गरे पनि उनीहरूले यहाँका आदिवासीलाई पराजित गरी आफ्नो शासन व्यवस्था लागू गरेको तथ्यमाथि आँखा चिम्लिन मिल्दैन।
इतिहासकार बालचन्द्र शर्माको समयमा अभिलेख प्रमाणहरू निकै कम मात्रामा प्राप्त भएका थिए। सीमित अभिलेखका आधारमा उनलाई समग्र लिच्छवि सभ्यताको वस्तुस्थिति थाहा नहुनु स्वाभाविक हो। इतिहासकार बाबुराम आचार्य लिच्छवि इतिहासको अध्ययनमा भन्दा शाह इतिहासको अध्ययनमा केन्द्रित छन्। त्यस्तै, सूर्यविक्रम ज्ञवाली मध्यकालिक इतिहास लेखनमा केन्द्रित थिए। त्यसकारण लिच्छविकालको इतिहासबारे तत्तत् विद्वान्हरूको दृष्टिकोण पुनर्परिभाषित गर्नु आवश्यक छ।
शाहहरू इतिहासबाट अनुप्राणित हुने प्रवृत्तिका थिएनन्। त्यसकारण स्वर्णयुगको भाष्यसँग शाहवंशको सरोकार थिएन भन्ने इतिहासकार महेशराज पन्तको भनाइलाई इतिहासकार दिनेशराज पन्तले पनि समर्थन गरेका छन् (फोनवार्ता)। पञ्चायती शासन शुरू हुनुभन्दा पहिले नै विद्वान्हरूले स्वर्णयुगको परिकल्पना गरेकाले यो भाष्यसँग शाहवंशको साइनो थिएन कि भन्ने अड्कल गर्न सकिन्छ। तर, राजसंस्थालाई खुशी पार्न स्वर्णयुगको परिकल्पना गरिएको भन्ने केही इतिहासकारको तर्कलाई पनि अस्वीकार गर्न मिल्दैन।
लिच्छविकाललाई स्वर्णयुग मान्ने कि नमान्ने भन्ने बहस आज पनि सान्दर्भिक छ। स्वर्णयुगका वस्तुनिष्ठ आधारहरू कमजोर नै देखिन्छन्। लिच्छविकाललाई जसरी आदर्शीकरण गरे पनि उनीहरूले यहाँका आदिवासीलाई पराजित गरी आफ्नो शासन व्यवस्था लागू गरेको तथ्यमाथि आँखा चिम्लिन मिल्दैन। हिन्दू आदर्शलाई स्थापित गर्न वर्णाश्रम व्यवस्थाले सैद्धान्तिक भूमिका निर्वाह गरेको अभिलेखहरूबाट प्रमाणित छ। तसर्थ सारमा पुरातात्त्विक एवम् अभिलेख्य प्रमाणका आधारमा यस काललाई स्वर्णयुग मान्नुपर्छ। तर, यस कथनलाई स्वीकार गर्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदानलाई उचित मूल्याङ्कन गर्नैपर्छ।
आगन्तुकका रूपमा आएका लिच्छविले यहाँको सभ्यतामाथि आधिपत्य कायम गरेको तथ्यमा फरक मत नहोला। यसकारण आलोचनात्मक इतिहासको आँखाबाट लिच्छवि सभ्यताको भूमिकाको समालोचना हुनुपर्छ। स्वर्णयुगको कोणबाट लिच्छविकाललाई हेर्दै गर्दा मल्लकालीन नेवारी सभ्यताको देनलाई पनि इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको खोजी हुनैपर्छ। तत्कालीन सभ्यताका निमार्णकर्ता अर्थात् जनताको समग्र वस्तुस्थितिको मूल्याङ्कन नगरी गरिएको स्वर्णयुगको कल्पना आफैँमा कति न्यायिक हुन्छ भन्ने प्रश्नमा पनि छलफल गर्न जरुरी छ।
आगन्तुकका रूपमा आएका लिच्छविले यहाँको सभ्यतामाथि आधिपत्य कायम गरेको तथ्यमा फरक मत नहोला। यसकारण आलोचनात्मक इतिहासको आँखाबाट लिच्छवि सभ्यताको भूमिकाको समालोचना हुनुपर्छ। स्वर्णयुगको कोणबाट लिच्छविकाललाई हेर्दै गर्दा मल्लकालीन नेवारी सभ्यताको देनलाई पनि इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको खोजी हुनैपर्छ।
इतिहासको कसीमा लिच्छवि सभ्यताको देनलाई अवमूल्यन गर्नु यो लेखको नियत होइन। बरु सत्यको कसीमा स्वर्णयुगीन भाष्यको चिरफार गर्नु यसको ध्येय हो। सवाल स्वर्णयुगको भाष्यमाथि प्रश्न गर्ने कि भाषावंशावली र पञ्चायती चिन्तनको सैद्धान्तिक भारी बोकेर स्वर्णयुगको रटान लगाउने भन्ने हो। गंगा–मैदानको हिन्दू विश्व दृष्टिकोणबाट प्रभावित इतिहास लेखनको प्रवृत्तिले इतिहासको आलोचनात्मक व्याख्यामा वस्तुगत न्याय गर्नसक्तैन। पौराणिक परम्पराको परिधिबाट माथि उठेर ऐतिहासिक तथ्यहरूको वैज्ञानिक व्यख्या गर्नसके मात्र वस्तुगत सत्यको निकट पुग्न सकिन्छ।
भीमसेन थापाको गुणगान गरेर वा जंगबहादुरको आलोचना गरेर वा भृकुटीको विभूतीकरण वा स्वर्णयुगको कल्पना गरेर मात्र इतिहासको वैज्ञानिक व्याख्या र विश्लेषण हुनसक्दैन। यस प्रसङ्गमा इतिहासको प्रशस्तिपरक व्याख्याले शासकहरू समेत पीडित हुनपुग्छन् भन्ने राजा महेन्द्रको कथन सम्झिनु उचित हुन्छ (राजेश गौतम, इतिहासको पनि इतिहास,२०४१, पृष्ठ:११)। पराजितहरूको न्यायका लागि आलोचनात्मक दृष्टिकोणबाट इतिहासको व्याख्या गर्नुको विकल्प छैन। प्रामाणिक इतिहासको आधारबाट लिच्छविहरूको सांस्कृतिक वैभवलाई जसरी बिर्सन मिल्दैन, त्यसरी नै उनीहरूको सांस्कृतिक वैभवमा आदिवासीहरूको सांस्कृतिक भूमिकाको खोजी हुनुपर्छ।
अतः स्वर्णयुगको भाष्यलाई सापेक्षिक कोणबाट हेर्ने कि निरपेक्ष कोणबाट भन्ने सवालको मूल्याङ्कन गर्ने जिम्मा प्राज्ञ, संस्कृतिविद्, इतिहासकार तथा विज्ञ पाठकहरूलाई दिइएको छ।