हिउँ थुप्रिनेभन्दा पग्लने दर ८० गुणा बढी
विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण नगरिए सन् २१०० सम्म हिन्दू-कुश हिमालय क्षेत्रका एक तिहाइभन्दा बढी हिमनदी हराउने चेतावनी वैज्ञानिकले दिइसकेका छन्।
सगरमाथाको पहिलो सफल आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई अहिले यो सर्वोच्च चुली र वरपरको फेरिंदो परिवेशले पिरोलिरहन्छ। ९० वर्षीय उनी भन्छन्, “पहिले हिउँका ढिक्का ठूला थिए, अहिले पग्लिँदै गए। आधारशिविर खाली थियो, अहिले त शहर बन्यो।”
कान्छा सहितको टोलीले ७० वर्ष पहिले अर्थात् २९ मे १९५३ मा सगरमाथामा पहिलो सफल आरोहणको विश्वकीर्तिमान बनाएको थियो। टोलीका तेन्जिङ नोर्गे र एडमन्ड हिलरी सबैभन्दा अघि चुचुरोमा पुगेका थिए।
त्यसयता कान्छाले सगरमाथा आसपास व्यापक परिवर्तन देखेका छन्, तर त्यो सुखद छैन। “हामी शेर्पाका लागि हिमाल भगवान् हो,” उनी भन्छन्, “हिउँ पग्लिँदै गयो, मान्छे थपिंदै गए। भगवान् रिसाउँछन् कि भन्ने डर लाग्छ।”
नाम्चेबजारका कान्छाको अनुभवसँग मेल खाने गरी हिमाली भेगमा विश्वव्यापी तापक्रम वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिइसकेको छ। गत वर्ष नेचर जर्नलको क्लाइमेट एन्ड एट्मसफियरिक साइन्समा प्रकाशित अमेरिकाको युनिभर्सिटी अफ मेनको नेतृत्वमा तयार पारिएको अध्ययन प्रतिवेदन अनुसार सगरमाथाको माथिल्लो भेगमा बरफ पग्लने गति अति तीव्र बनेको छ।
मानवीय कारणले उत्पन्न जलवायु परिवर्तनको प्रभावलाई यसको कारण औंल्याइएको छ। साउथ कोल हिमनदी क्षेत्रमा हिउँ जम्मा हुनेभन्दा पग्लिने दर करीब ८० गुणा बढेको प्रतिवेदनमा उल्लेख छ ।
हिमाली क्षेत्रमा बढ्दो मानवीय चाप र हिउँ पग्लने दरले जीविकाका लागि सोही क्षेत्रमा आश्रित रहेकाहरू र पर्यावरणको क्षेत्रमा काम गर्नेहरूलाई चिन्तित बनाएको छ। विज्ञहरूले पनि विश्वव्यापी तापक्रम वृद्धिको प्रभाव हिमाली क्षेत्रमै तुलनात्मक रूपमा बढी देखिने भएकाले सजग रहन सुझाउँदै आएका छन्। “हामीले स्थानीय स्तरमा गरेका अध्ययनले पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अन्यत्रभन्दा बढी परेको सङ्केत स्पष्ट देखिएको छ,” अनुसन्धाता सुदीप ठकुरी भन्छन्, “तापक्रम वृद्धिदर पनि हिमाली क्षेत्रमा बढी पाइएको छ।” मध्यपश्चिम विश्वविद्यालयका डिन तथा सहप्राध्यापक ठकुरीले हिमाली क्षेत्रमा तापक्रम वृद्धि तथा हिमनदी सहितमा पारेको प्रभावबारे अध्ययन गरेका छन्।
हिमाली क्षेत्र किन संवेदनशील?
ठकुरी सहितको टोलीले गरेको अध्ययनमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चार दशक (सन् १९७६ देखि २०१५ सम्म)मा तापक्रम वृद्धिको दर केही बढी देखिएको थियो। “त्यसको प्रमाण हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने सहितका स्वरूपमा देखिएका छन्,” उनी भन्छन्, “पछिल्लो चार दशकमा हिमतालको आकार औसतमा २५ प्रतिशतले बढेको देखिएको छ।” यही अवधिमा वरुण हिमतालको आकार त २०० प्रतिशतसम्मले बढेको पाइएको छ। “१९७० दशकको शुरूआततिरको स्याटेलाइट इमेजमा तल्लो वरुण हिमताल देखिंदैन,” ठकुरी भन्छन्, “अहिले १.५ वर्ग किमिभन्दा ठूलो भइसकेको छ।”
जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य निर्धारण गरेको छ। तर, हिमाली क्षेत्रका हकमा त्यो तापक्रम नै अति भइदिन्छ। अर्थात्, हिमाली क्षेत्रमा तापक्रम छिटो बढ्ने भएकाले अन्यत्र १.५ डिग्री हुँदा त्यहाँ २.१ डिग्रीसम्म पुगिसक्छ।
“हिमनदी तथा हिउँले ढाकिएका क्षेत्र तापक्रमका दृष्टिले निकै संवेदनशील हुन्छन्,” मिरियम ज्याक्सन भन्छिन्, “तापक्रम बढ्दा हिउँ पग्लिन्छ र हिमनदी तथा हिउँका ढिक्का घट्दै जान्छन्।” एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)मा वरिष्ठ क्रायोस्फेयर विशेषज्ञका रूपमा कार्यरत ज्याक्सनका अनुसार तापक्रम बढ्दा मौसमी रूपमा जम्मा हुने हिउँ चाँडो पग्लिने र स्थानीय बासिन्दा वा तल्लो तटीय क्षेत्रका समुदायलाई पानी उपलब्ध नहुने समस्या हुन्छ।
हिमाली क्षेत्रमा तापक्रम वृद्धि तुलनात्मक रूपमा बढी संवेदनशील हुनुको अर्को कारण हो, त्यहाँको जमीनमुनि जमेर रहेको ‘पर्माफ्रस्ट’। “जमेको जमीन अर्थात् पर्माफ्रस्ट हिमालय क्षेत्रको प्रमुख विशेषता हो, सामान्यतया नदेखिने हुँदा यसबारे धेरै थाहा छैन,” जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संस्था आईपीसीसीको समुद्र तथा क्रायोस्फेयर सम्बन्धी प्रतिवेदनकी मुख्य लेखक समेत रहेकी ज्याक्सन भन्छिन्, “तर तापक्रम वृद्धिले यसलाई अस्थिर बनाउँछ र पहिरो सहितका जोखिम निम्तिने सम्भावना रहन्छ।”
हिउँ संरक्षण निर्विकल्प
अध्ययन अनुसार विश्वव्यापी तापक्रम वृद्धि तोकिएको लक्ष्यमै सीमित राख्न सकिंदा पनि सन् २१०० सम्ममा नेपाल सहित हिन्दू-कुश हिमालय क्षेत्रका एक तिहाइभन्दा बढी हिमनदी हराउनेछन्। तापक्रम वृद्धिको कारक हरितगृह ग्यास उत्सर्जन कटौती नभए दुई तिहाइ हिमनदी लोप हुने चेतावनी हिन्दू-कुश हिमालय एसेस्मेन्ट रिपोर्टले दिएको छ।
अध्ययनमा सन् १९७७ देखि २०१० को बीचमा सगरमाथा क्षेत्रमा हिमतालले ओगटेको क्षेत्र ५१ प्रतिशतले बढेको देखिएको छ। अनुसन्धाता एवं इसिमोडका रिभर बेसिन तथा क्रायोस्फेयर सम्बन्धी क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरुणभक्त श्रेष्ठ भन्छन्, “हिमाली क्षेत्र तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि पानीको प्रमुख स्रोत हो। यसरी हिमनदी पग्लिँदै र हिउँले ढाकिएको क्षेत्र कम हुँदै जाँदा भविष्यमा पानीको अभाव गम्भीर हुन सक्छ।”
कसले के गर्न सक्छन्?
सगरमाथा आरोहणको सात दशकको अवधिमा हिउँले ढाकिएको क्षेत्र माथि सर्दै गएको छ। विज्ञानले अबको ७० वर्षमा हिमनदीको ठूलो अंश नाशिने भन्दै तापक्रम वृद्धि नियन्त्रणका लागि अपील गर्दै आएको छ। “हरितगृह ग्यासको उत्सर्जनमा यो क्षेत्रको भूमिका न्यून रहे पनि अन्तर्राष्ट्रिय रूपमा हुने प्रयासको प्रभाव यहाँ देखिन सक्छ। हामी त्यसका लागि दबाब दिन सक्छौं,” श्रेष्ठ भन्छन्, “स्थानीय समुदायको अनुभव र परम्परागत ज्ञानलाई अनुकूलन योजनामा सक्रिय स्थान दिए प्रभाव न्यूनीकरणमा सहयोग पुग्छ।”
स्रोतको दिगो व्यवस्थापनसँगै नीतिगत परिवर्तनको आवश्यकता पनि उनी औंल्याउँछन्। यसकै लागि इसिमोडले ‘सेभ आवर स्नो’ अभियान सञ्चालन गरेको जनाउँदै श्रेष्ठ भन्छन्, “स्थानीय ज्ञानले त्यहाँको जलवायु बुझ्न सहयोग गर्छ, समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउन सकिए हिउँ जोगाउने प्रयास सफल हुन सक्छ।”
स्थानीय ज्ञान र वैज्ञानिकका प्रक्रियागत अध्ययनबाट उत्पादित ज्ञानलाई परिपूरक बनाइनुपर्ने विज्ञहरूको भनाइ छ। ज्याक्सन भन्छिन्, “वैज्ञानिकले समुदायबाट सिक्ने र समुदायलाई विज्ञानले देखाएको कुरा बुझाउँदा परिवर्तन अनुसारको अनुकूलनका लागि सहयोग पुग्छ।”
हिउँले ढाकिएको पश्चिमी यूरोपका क्षेत्रभन्दा नेपालको पर्वतीय क्षेत्रमा तापक्रम वृद्धिको प्रभाव ठूलो रूपमा पर्ने हुँदा त्यससँग जुध्न भरपर्दो ज्ञान विकास गर्नुपर्नेमा उनी जोड दिन्छिन्। भन्छिन्, “यसबाट तापक्रम वृद्धिका कारण देखिइरहेको वा भविष्यमा आउन सक्ने जोखिमको दिगो समाधान खोज्न सकिन्छ।”
कान्छा शेर्पा हिमाललाई आराम दिएर त्यसले प्रदान गर्ने स्रोतहरूको दिगो उपयोग तथा व्यवस्थापन गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “हिमाल हिउँ मात्र होइन, हामी शेर्पाका लागि भगवान हो, संस्कृति हो। हिमाललाई राम्रो गरे मान्छेलाई राम्रो हुन्छ। हिमाल रिसाउने अवस्था नआओस्।”