रेन्जोलामा खसेको खुशीको आँसु
रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।
९ मे २०२३। बिहानैदेखि मौसम सफा थियो। साढे ५ बजेतिर लोबुचे, गोरकशेप, कालापत्थर, सगरमाथा आधारशिविर वरपर सधैं झैं हेलिकोप्टर घुम्न थाले। लुक्लामाथिको भेगमा आपत्विपत्मा परेका पदयात्रीको उद्धार र सहयोगका लागि अपरिहार्य बनेका यी हेलिकोप्टर स्थानीय होटल अनि आधारशिविरसम्म खाद्यान्न पुर्याउने साधन पनि हुन्।
तर, यिनै हेलिकोप्टर यो क्षेत्रमा ध्वनि प्रदूषणको कारक बनिरहेछन्। स्थानीय बासिन्दा, पर्यटकसँगै चराचुरुङ्गी र सगरमाथा राष्ट्रिय निकुञ्जका जन्तुसम्म कर्कश आवाजले आक्रान्त छन्। पर्यावरणमा ध्वनि प्रदूषणको असरबारे कसैले ध्यान पुर्याएको देखिन्न।
खुम्बु हिमनदीको छेवैमा रहेको लोबुचे गाउँ ४९ सय मिटर हाराहारी उचाइमा पर्छ जहाँ पर्यटकका लागि स्तरीय होटलहरू छन्। यहाँबाट दुई-तीन घण्टा हिंडेपछि ५१ सय मिटर उचाइको गोरकशेप पुगिन्छ। गोरकशेपबाट अगाडि थप बस्ती छैनन्। आधारशिविर र कालापत्थर जाने पदयात्रीका लागि वास बस्ने अन्तिम बिन्दु यही नै हो।
हामी बिहान ११ बजेतिर आधारशिविर पुग्यौं। त्यहाँ पुगेको सूचकका रूपमा रहेको ढुङ्गे स्तम्भ भीडले घेरिइसकेको रहेछ। आधाभन्दा बढी भारतीय नागरिक देखिन्थे। ५ मेदेखि नै खुम्बु क्षेत्रको मौसम सफा रहेकाले गोरकशेपदेखि आधारशिविरसम्मै पदमार्ग निकै व्यस्त थियो। अहिले चाहिं स्तम्भ साक्षी राखेर तस्वीर खिचाउने हुटहुटी थियो सबैलाई। पहिले कसले तस्वीर खिचाउने र कति समय लिने भन्ने विवाद त्यहाँको नियमित उपक्रम नै रहेछ। हामीले पनि जसोतसो पालो पायौं। लाग्यो- यसरी नै भीड थुप्रिंदै गए एक दिन खुम्बु हिमनदीको पर्यावरण गहिरो सङ्कटमा पर्नेछ। आधारशिविरको महत्त्व हराउनेछ। र, यो तथ्य स्विकार्न ढिलो भइसकेको छ। तर, सत्य यो पनि हो कि व्यवस्थित गर्ने भन्दैमा पदयात्रामै रोक लगाउनु सही कदम हुन सक्दैन। न त आधारशिविर अन्यत्र सार्न सकिन्छ।
हिमाललाई टाढाबाट हेर्न र किताबमा पढ्न जस्तो सहज रहेनछ, यसको काखमा हिंड्न। हामी भने खुम्बु क्षेत्र र ग्रेट हिमालयन पदमार्गका तीन भन्ज्याङ (पास) काट्ने ध्येय बोकेर ४ मेको बिहान मन्थलीबाट लुक्ला उडेका थियौं। पाँच दिनपछि आधारशिविर पुग्दा सबभन्दा कठिन भन्ज्याङ खोङमाला (५५४० मि.) पार गरिसकेका थियौं। नाम्चेबाट हिंडेको तेस्रो बिहान खोङमाला चढ्ने हाम्रो निर्णयलाई अन्य पदयात्रीले दुस्साहस भनेका थिए।
हामीलाई आधारस्तम्भको भीडभाडमै अल्झिनु थिएन। तत्काललाई आधारशिविरको अन्तिम कुनो अर्थात् खुम्बु आइसफल नजिकै रहेको ट्याग नेपालको क्याम्प पुग्नु थियो। एक–डेढ सय मिटर थप चढ्नैपर्ने त्यो ठाउँमा लेक लाग्ने जोखिम थियो। तैपनि सगरमाथा चुचुरो ताकेर बसेका आरोही, तिनका वासस्थान, गतिविधि र त्यहाँको भूबनोट नियाल्न पाइने लोभले तानेको थियो। ट्याग नेपालका टेन्डी शेर्पाका अनुसार अहिले जुन ठाउँमा आरोहीका लागि टेन्ट गाडिएको छ, अर्को साल त्यहाँ नहुन सक्छ। खुम्बु हिमतालले बाटो फेरिरहने भएकाले ठाउँ पनि सार्नुपर्छ रे!
लुक्लामाथिको भेगमा आपत्विपत्मा परेकाको उद्धार र सहयोगका लागि अपरिहार्य बनेका हेलिकोप्टर स्थानीय होटल अनि आधारशिविरसम्म खाद्यान्न पुर्याउने साधन पनि हुन्।
हामी पुग्दा हेलिकोप्टरलाई समेत उडान र अवतरण गर्न मुश्किल पर्ने गरी जोडले हावा चलिरहेको थियो। यसले उत्साहसँगै अलि अलि डर पनि थपिदियो। तर, आधारशिविरमा कुनै चिन्ता थिएन। आरोहीहरू टेन्टभित्र आराम गरिरहेका थिए। सहयोगी यताउता टहल्दै थिए। देशी–विदेशी आरोही र सहयोगी शेर्पा सहित करीब ७०० जना १५ मेदेखि सगरमाथा चढ्ने आसमा कम्तीमा पाँच सातायता पर्खिरहेका रहेछन्। केही पर्वतारोही पहिल्यै क्याम्प २ मा पुगिसकेका अनि कोही चाहिं आधारशिविरदेखि त्यहाँसम्म ओहोरदोहोर गरेर आफूलाई हावापानीसँग घुलमिल गराइरहेका रहेछन्। संयोग हो वा नियमित बेथिति, हामीले देख्दा नेपाल सरकारको सम्पर्क र व्यवस्थापन कार्यालय भने बन्द थियो।
आधारशिविरबाट फर्केको भोलिपल्ट अर्थात् १० मेको बिहान म कालापत्थर पुगें। मान्छे उडाउला जसरी हावा चलिरहे पनि मौसम सफा थियो। सहयात्री कृष्णले त अघिल्लै साँझ त्यहाँ पुगेर सगरमाथामा सूर्यास्तका सुनौला तस्वीर कैद गरिसकेका थिए। बिहान पुग्नेलाई यस्तो अवसर हुँदैन। सूर्योदयसँगै घामको झुल्को हिमालमा त पर्छ। तर, खुम्बु पदमार्ग हिमालको पश्चिमी मोहडातर्फ पर्ने भएकाले पूर्वी मोहडाबाट जस्तो आकर्षक दृश्य देखिंदैन।
यही ठाउँमा केही वर्ष पहिले मन्त्रिपरिषद् बैठक भएको थियो। त्यो बैठकपछि के के काम गरिए, सरकारलाई नै थाहा होला। तर, त्यहाँको पर्यावरणीय नियति फेरिएको छैन। वरिपरिका नाङ्गा पहाड झन् कालाम्मे भई लमतन्न तेर्सिएका छन्।
अहिले चाहिं हिउँ घटेर कालाम्मे भए पनि सगरमाथा परैबाट मुस्कुरायो। खुम्बु पदयात्रामा यसरी सगरमाथा मुस्काएको देखिरहन कहाँ पाइन्छ र ? नाम्चेका निश्चित ठाउँ र डाँडाको होटल एभरेस्ट भ्यूबाट राम्रैसँग देखिने सगरमाथा अन्यत्र भने धेरैजसो लुकी नै रहन्छ। कुहिरो लागेका वेला त कहींबाट देख्न पाइन्न।
खुम्बु क्षेत्रका तीन वटा भन्ज्याङ पार गर्ने हाम्रो लक्ष्य थियो। साथमा थिए, अनुभवी पथप्रदर्शक प्रेम मोक्तान। हामी लुक्लाबाट नाम्चे पुग्यौं। त्यहाँ दुई दिन बस्दा खुम्जुङ उपत्यका घुम्न पाइयो। अनि अर्को दिन पाङबोचे पुगेर बस्यौं। त्यहाँबाट दिङबोचे हुँदै चुकुङमा बसेर अर्को दिन खोङमाला भन्ज्याङ कट्यौं। त्यहाँबाट फेरि लोबुचे, गोरकशेप अनि जोङ्ला पुगेपछि मात्र चोला (५४२० मि.) पार गर्न सकिन्थ्यो। चोला जान गोरकशेपदेखि लोबुचेको उही बाटो फर्कनुपर्छ। अलि तल लोबुचे पासबाट जोङ्लातिर जाने बाटो छुट्छ। अगाडि वास नपाइने भएकाले त्यस दिन जोङ्ला नै बसेर भोलिपल्ट मात्र चोला पार गर्नु उपयुक्त हुन्छ।
हामीले नाम्चे बाहेक अरू कुनै पनि ठाउँमा अतिरिक्त दिन आराम गरेनौं। आफूलाई स्थानीय हावापानीसँग अनुकूलन गराउन यो जरुरी रहेछ। तर, तिनै जनाको मतो एउटै बनिरह्यो– जोखिम मोलेरै अघि बढिरहने। परिणाम– ११ मेको बिहान ९ बजेतिर हामी चोलाको टुप्पोमा थियौं। त्यहीं ‘ब्रेकफास्ट’ गर्यौं। चोलाबाट खोङ्मालाको जत्तिको मनोरम दृश्य देखिएन। आधा घण्टा बसेर ओरालो लाग्यौं। खुट्टा नचिप्लियोस् भनेर जुत्तामा लगाइने ‘क्य्राम्पन’ र डोरीको सहायतामा हिउँको ठाडो ओरालो झर्दा खासै डर लागेको थिएन। तर, थाङनाक पुगेर तस्वीर र भिडिओ हेर्दा झसङ्ग भयौं। ओहो! कसरी काटिएछ त्यस्तो डरलाग्दो भीर!
थाङनाकदेखि गोक्यो उपत्यकासम्म पुग्दा ङोजुम्पा हिमनदीसँगैको हिंडाइ सबभन्दा कठिन र पट्यारलाग्दो रह्यो। चो-ओयु हिमालमुनिको ङोजुम्पा हिमनदी ३६ किमि लामो छ। यद्यपि गोक्यो जाँदा यो पूरै दूरी पार गर्न पर्दैन। गोक्यो पुगिसकेपछि भने तालको अद्भुत सौन्दर्यले सबै थकान मेटाइदिन्छ।
गोक्यो खासमा पाँच वटा तालको समूह हो। नाम नै गोक्यो दिइएको मुख्य ताल चाहिं दूरीका हिसाबले तेस्रो हो जुन पदयात्रीको वास बस्ने मुकाम पनि हो। नाम्चे–तेङबोचे खण्डको सनासाबाट २० किमि हिंडेर गोक्यो पुग्दा बाटोमा पहिलो र दोस्रो ताल भेटिन्छन्। चौथो र पाँचौं ताल हेर्न चाहिं चो-ओयु हिमालको आधारशिविरतिर जानुपर्छ। भोलिपल्ट हामी त्यतैतिर लाग्यौं। यसका पछाडिको एक मात्र लोभ थियो– सगरमाथाको पूर्ण दृश्यपानको अवसर। चो-ओयूको काख त्यसैका लागि प्रसिद्ध रहेछ। तर, हामी पुग्दा सगरमाथाको टुप्पो कुहिरोले छोपिसकेको थियो। यद्यपि रेन्जोलाबाट भोलि फेरि देख्न पाइने आशले हामी उति दुःखी भएनौं।
यति वेला हामी अघिल्लो दिन हिंडेको ङोजुम्पा हिमनदीको शिरमा थियौं। आँखाले भ्याउनेसम्म लम्पसार परेको हिमनदी बालुवा र ढुङ्गाको थुप्रोले साँच्चिकै उराठलाग्दो देखिन्थ्यो। ठाउँ ठाउँमा पहिरो खस्दा उडेर आउने धूलो मुखमा पर्दा हामीबीच हँसीमजाक चल्थ्यो, ‘शतप्रतिशत अर्गानिक हिमाली धूलो पो त, जसले पायो त्यसले यसलाई खाने त के, सुँघ्नेसम्म भाग्य लिएर आएको हुन्न।’
पाँचौं ताल पुगेर गोक्यो नै फर्कन पूरापूर पाँच घण्टा लाग्यो। हिंडाइ १३ किमि जतिको थियो। उचाइमा पाइलै नसर्ने, जोडले हिंडौं सास फुल्ने। तैपनि स्थानीय थाङ्का इनका सञ्चालक पासाङ भन्दै थिए, “तपाईंहरू त छिटै आउनुभयो। खासमा त्यहाँ पुगेर आउन सात घण्टा समय उपयुक्त हुन्छ।” पाँच हजार मिटर हाराहारीको मरुभूमि जस्तो ठाउँ छिटै हिंडेछौं भन्ने सुन्दा खुशी नै लाग्यो।
लुक्लाबाट हिंडेको दशौं दिन बिहान १० बजे रेन्जोला (५३६० मि.) को टुप्पोमा पाइला टेक्यौं। आँखैसामु थियो– सगरमाथादेखि मनासलु र गोक्योदेखि अन्य हिमालको मनोहर हिमसौन्दर्य। मन ढक्क फुल्यो। आँखा रसाए। तर यो दुःखको होइन, तृप्तिको आँशु थियो। हामी लगत्तै पुगेका न्यूजिल्यान्डका ६ पदयात्रीको मुखबाट एकैपटक निस्कियो– ‘वाउ !’ सहयात्री भाइ कृष्ण र सहयोगी प्रेम उस्तै दङ्गदास थिए। तीनै जनाले खुशीले अङ्कमाल गर्यौं। उनीहरूले थाहा नपाउने गरी मैले खुशीको आँशु पुछें।
मेरा लागि यो जीवनकै अविस्मरणीय र सपनाको पदयात्रा थियो। सन् २०२१ को अक्टोबरमा थोराङला सहित आधा अन्नपूर्ण परिक्रमा र तिलिचो यात्रा गर्दा यति रोमाञ्चक अनुभव गरिनँ। त्यति वेलाभन्दा उमेर डेढ वर्ष थपिए पनि खोङमालाबाट लोबुचे पुग्ने बेला नातागत भएर हिंड्न कठिनाइ भए बाहेक थप व्यवधान विनै खुम्बुका तीन भन्ज्याङ पार गर्ने लक्ष्य जो भेटिएको थियो।
रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। लुक्ला पुग्न अझै तीन दिन हिंड्नु थियो, तर अब ओरालो झरे मात्र पुग्थ्यो। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।
त्यो साँझ वास बस्न सोलुकै थामे पुगियो। भोलिपल्ट फाक्दिङ अनि अर्को दिन लुक्ला। १६ मेको बिहान ११ बजेतिर काठमाडौं झरेपछि एकपटक आफैंलाई चिमोट्न मन लाग्यो। गत अक्टोबरमा मौसमका कारण हाम्रो खुम्बु पदयात्रा स्थगन भएको थियो। मन्थली पुगेका हामी २ दिन कुरेपछि निराश हुँदै फर्केका थियौं। त्यसैले यसपालि ३ मेको साँझ मन्थली पुग्दा पनि भोलि लुक्ला उड्न पाउनेमा ढुक्क थिएनौं। जे होस्, यसपालि मौसम र समय दुवैले साथ दियो। जीवनमा एकपटक गर्नैपर्ने यात्रा पूरा गरेर आइयो। सँगै आधारशिविरबाट दुःखसुखका खबर मिसिएर आइपुगे– केही आरोहीले शिखर चुमेका अनि केहीले त्यही प्रयासमा जीवन गुमाएका।
यही मे २९ मा सगरमाथा आरोहणको ७० वर्ष पुगेकाे छ। यो अवधिमा आरोही र पदयात्रीको बढ्दो चापले सगरमाथा क्षेत्रको पर्यावरण जोखिममा पर्दै छ। थामेमा भेटिएका, ११ पटक सगरमाथा चढेका आइसफल डाक्टर थुप्तेन शेर्पाका अनुसार ‘सगरमाथामा पहिले जस्तो हिउँ छैन। सगरमाथा सस्तो भयो। पदयात्राबाट सरकार र व्यवसायीले पैसा कमाए, तर यस क्षेत्रको पर्यावरण र सम्पदा जोगाउन ध्यान दिएनन्। क्षमताभन्दा पनि पैसाको रवाफमा चढ्ने होडबाजीले सगरमाथा क्षेत्र प्रदूषित बन्दै छ। यसबारे काम गर्न ढिला भइसक्यो।’