‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘लेख्छु भन्दैमा मनगढन्ते कुरा लेखेर अबका पाठकले स्विकार्दैनन्। जति पाठक सचेत भएका छन्, त्यसभन्दा बढी सचेत हुन पनि लेखकले धेरैभन्दा धेरै पढ्नैपर्छ।’
तीन दशकदेखि साहित्य सिर्जनामा तल्लीन कवि
विमला तुम्खेवाको कविताकृति
हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेले प्रशंसा बटुलिरहेको छ। यसअघि पनि उनका
विमला तुम्खेवाका कविता,
समुद्र र उदास परी,
संस्मरण एउटा बूढो रूखको पुस्तक प्रकाशित छन्।
उनी पत्रकार पनि हुन्। अहिले सञ्चारिका समूहकी अध्यक्ष छन्। पछिल्लो कृति हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेसँगै लेखन तथा पठन संस्कृतिका विषयमा हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि कवि तुम्खेवासँग सम्झना विकले गरेको कुराकानी:
कविताकृति हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेले समीक्षकबाट प्रशंसा पाएको छ। पाठकबाट केकस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?
यो किताब आइसकेपछि फेसबूकमा मात्रै दुई लाख ४० हजार पल्ट ‘पोस्ट’ तथा ‘शेयर’ भएको देखिएको थियो। देश-विदेशबाट साथीभाइ तथा कविताका पाठकहरूले सकारात्मक विचार दिनुभएको थियो। यसमा राम्रै प्रतिक्रिया पाएँ, पाइरहेकी छु।
प्रायः पुस्तकको नाम एक-दुई शब्दको हुन्छ। यति लामो नाम किन रोज्नुभयो?
यो प्रश्न धेरैले सोध्नुहुन्छ। यो कविताकृतिको मात्र होइन, अरू किताबका नाम पनि लामा लामा छन्। पहिलो विमला तुम्खेवाका कविता, समुद्र र उदास परी, संस्मरण एउटा बुढो रूखको नाम पनि यस्तै लामै छन्।
लामो शीर्षक बनाउँछु भनेर राखेकी होइन। लेख्दै जाँदा आफूलाई पनि एक प्रकारको आत्मसन्तृष्टि हुनुपर्छ। कुन किताबमा कुन शीर्षक राख्ने भन्ने मनन गर्दै जाँदा जहिले पनि लामो नै हुन जान्छ। स्वाभाविक रूपमा लामो नाम रहन गएको हो।
युवावस्थामा त सबै कवि बन्छन् भनिन्छ। तपाईं कविता लेखनतिर कसरी लाग्नुभयो?
जति वेला मैले कविता लेख्न शुरू गरें त्यो वेला साहित्यप्रतिको सकारात्मक प्रभावले नै हो। युवावस्थामै लेख्न शुरू गरेकी हुँ। करीब तीन दशक हुन लाग्यो, निरन्तर कविता लेखिरहेकी छु।
अहिले मलाई के महसूस भएको छ भने कविता लेख्नका लागि मात्र कविता लेख्ने होइन। कविताले विषय बोल्नुपर्ने हुन्छ। जसरी शुरूआतका दिनमा कविता लेख्नकै लागि लेखियो, त्यस्तो होइन रहेछ। कविता एकदमै गहन कुरा हो जस्तो लाग्छ।
कविता लेख्न के कुराले प्रेरित गर्छ?
अहिलेको कुरा गर्नुहुन्छ भने हामीले बाँचेको समाज, राज्य व्यवस्था, न्याय प्रणाली पिंधमा रहेका नेपाली नागरिकको जीवनचर्या सबै कुराले कहीं न कहीं छोएका हुन्छन्। अब के गर्ने त भन्दा लेख्ने। केका लागि लेख्ने? समाजमा न्याय स्थापित गर्नका लागि पनि हो।
फर्किएर हेर्यौं भने संसारमा किताबले गर्दा समाज परिवर्तन भएको इतिहास छ। किताबले समाजमा परिवर्तनका लागि ठूलो भूमिका खेलेको हुन्छ। हाम्रो देशको कुरा गर्दा पनि ‘उठ दिदीबहिनीहरू’ भन्ने गीत सुनेर आएका थियौं नि। लोकतन्त्र आउनुअघि त्यो गीतले कत्रो ठूलो उमङ्ग, आकांक्षा र परिवर्तनको सन्देश बोकेको थियो। कतिपय बन्दूक बोकेर हिंडे, व्यवस्था परिवर्तनका लागि। व्यक्तिगत स्वार्थलाई छोडेर अगाडि आए। यही लेखनको शक्ति हो।
तपाईं त पत्रकार पनि हुनुहुन्छ। तथ्यमा टेकेर समाचार लेख्ने मान्छेलाई कल्पनामा उडेर कविता लेख्न केकति तालमेल मिलाउनुपर्छ?
एकदमै गाह्रो हुन्छ। धेरैले भन्ने गर्छन् नि पत्रकारिता पनि हतारको साहित्य हो। तैपनि साहित्य र पत्रकारितामा फरक छ। पत्रकारिताको आफ्नै सूत्र छ जहाँ तथ्यमा टेक्नुपर्छ। साहित्यमा कथा, कविता, उपन्यास लेखिन्छ। त्यसमा समाज त पक्कै बोल्नु नै परिहाल्यो। साहित्यमा कल्पनाशक्ति प्रयोग गर्न पाउनुहुन्छ, तर समाचारमा त्यस्तो गर्न पाउनुहुन्न। तथ्यमै टेकेर रिपोर्टिङ गर्नुपर्छ।
साहित्यमा त्यस्तो हुँदैन, पूरै कालखण्डको परिधिमा रहेर लेख्न सक्नुहुन्छ। अलिकति त्यसको तरीका फरक हो। दुवैले दिन खोज्ने सन्देश समाजमा सुशासन हो। सबै मान्छेले शान्तिपूर्वक बाँच्न पाऊन्, यो संसार सुन्दर होस् भन्ने नै हो।
लेखनका थुप्रै विधा छन्, किन कविता नै रोज्नुभयो?
लेख्ने मान्छेलाई कुन चाहिं विधाले छुन्छ भन्नेले अर्थ राख्छ। कसैलाई संस्मरण लेखनले छुन्छ, कसैलाई कथा, कसैलाई उपन्यास। मलाई कविता लेखेपछि नै एक प्रकारको आनन्द महसूस हुन्छ। हुन त म कथा, संस्मरण पनि लेख्छु। मलाई कवितामा जति सहज हुन्छ, अरूमा हुँदैन। त्यसैले होला, कविता लेखनमा लागें।
अन्य विधाको तुलनामा कविता कम पढिन्छ भनिन्छ। किन कविताका पाठक घटे जस्तो लाग्छ?
त्यस्तो चाहिं पटक्कै होइन। बरु अहिले राम्रा कविता नलेखिएका पो हुन् कि! २०३० को दशकमा राम्रा कवि हुनुहुन्थ्यो। जस्तो- द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, तोया गुरुङ, डा. बानिरा गिरी, भुवन ढुंगाना लगायत। अहिले सूचनाको पहुँच पनि आम जनतासम्म पुग्यो, आम पाठकसम्म पुग्यो। कविता लेखिरहने, लेख्न चाहने र पाठकबीचको परिस्थिति पहिलाको जस्तो रहेन।
अर्को, अहिले नराम्रो कविता लेखिएको पनि होइन। तैपनि पाठक कम भए, किन कम भए? यो ठूलो चुनौती हो। अझ २०५० को दशकपछि आएका कवि शक्तिशाली छन्। उनीहरूले लेखेका कवितामा आएको वैचारिक चेत अथवा शिल्पको सौन्दर्य राम्रो छ। समाजको जुनसुकै तह र तप्कामा रहेका नागरिकको सरोकारको विषय उठान भएको छ। त्यो धेरै राम्रो कुरा हो।
अन्य विधा बलियो हुँदै गएका छन्। कविता किन कमजोर भयो?
त्यस्तो होइन, कसले कसरी सर्भे गर्यो र त्यो कुरा भन्नुभयो? त्यो पटक्कै होइन। हामीले चर्चा-परिचर्चा गरिराखेको अथवा एकदमै चलेको किताबहरूको नाम लिंदै गर्दा कविता पनि आउँछ। राम्रो कविता कम लेखिन्छ। नेपालको मात्र परिवेशमा होइन, संसारभरिकै प्रवृत्ति त्यो खालको छ।
जति लेखिएको छ, त्यो फेरि कम होइन। पछिल्लो समयमा फेसबूकमै एकैदिन कति वटा कविता पोस्ट गरिराखेका हुन्छन्। कविताको गुदी के हो भन्ने मापन पाठकले गर्ने हो। यी सबै कुरालाई हाम्रा जिम्मेवार साहित्यसँग सम्बन्धित संघसंस्थाहरूले गर्नुपर्छ।
अर्को, हामी कति सच्चा छौं, कतिको संवेदनशील छौं, हाम्रा कविता अन्तर्राष्ट्रिय तहमा तुलना गर्दा कहाँ उभिएका छौं? यो विषयमा पनि मनन गर्नुपर्छ। नेपाली कविता अन्तर्राष्ट्रिय स्तरमा लेखिएका कविताभन्दा कम छैनन्। बजारको कुरामा सोच्नुपर्छ।
कवितासँगै अन्य विधामा पनि काम गर्नुभएको छ?
मेरो कथा संग्रह आउँदै छ। कथा लेख्न थालेको धेरै भयो। कवितामा जुन प्रकारको मेरो आत्मविश्वास छ त्यसरी कथामा आफूलाई महसूस गरेकी थिइनँ। एक-दुई वर्षअघि केही कथा प्रकाशित भए। एउटा हिमालमै प्रकाशित भयो। अर्को कान्तिपुर र नयाँ पत्रिकामा प्रकाशित भए। यी कथामा पाठकको एकदमै राम्रो प्रतिक्रिया पाएँ। त्यसपछि कथा संग्रह ल्याउन उत्साह मिल्यो। दुई वर्षदेखि त्यसमा काम गर्दै छु।
अलिकति प्रसङ्ग बदलौं। किताब कतिको पढ्नुहुन्छ?
म किताब पढ्ने नै मान्छे हो। सञ्चारिका समूहको अध्यक्ष भइसकेपछि फुर्सद नहुँदो रहेछ। त्यसैले पढ्ने कुरा कम भएको छ। भाषण गर्ने कुरा अलि ज्यादा भएको छ।
एउटा सर्जकका लागि किताब पढ्नु कति जरुरी छ?
एकदम जरुरी हुन्छ। समाज बुझ्नुपर्यो। कमसेकम अरू देशको नभए पनि आफ्नो देशमा लेखिरहेका अग्रज, समकालीन, अनुज सबैलाई एकैसाथ पढेर जानुपर्छ। नत्र कसरी लेख्न सक्नुहुन्छ? मनगढन्ते कुरा लेखेर त अहिलेका पाठकले स्विकार्दैनन् पनि।
पछिल्लो समयमा त पाठकहरू नै सचेत छन्। बरु लेखकहरू सचेत पो नभएका हुन् कि! त्यसले धेरै पढ्नुपर्यो, देश, काल, परिस्थिति, समाज बुझ्नुपर्यो।
तपाईंलाई प्रभावित पारेका पुस्तकहरू छन्?
मलाई बीपीको लेखनले प्रभावित पारेको छ। जति उमेर बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो। अघिल्लो पुस्ताका ध्रुवचन्द्र गौतम, नयनराज पाण्डे, बैरागी काइँला, भूपी शेरचन, इन्द्रबहादुर राई, ईश्वर बल्लभ लगायतलाई नपढी हुँदैन। कथाका लागि प्रेमा शाह, इन्दिरा प्रसाईंलाई पढ्नैपर्छ। उहाँका सबै त म भन्दिनँ, केही कथा त एकदमै राम्रा छन्।
आगामी लेखनको योजना के छ?
अहिले कथा संग्रहको तयारीमा छु। लेखन त जारी नै रहन्छ। समाजमा छुटेका विषयवस्तुलाई केन्द्रमा राखेर अघि बढ्नैपर्छ। हामी त विभिन्न संस्कृति, सम्प्रदाय भूगोलको देशमा छौं। हाम्रो यही विविधतालाई ध्यानमा राख्नुपर्छ। अबको लेखन त्यतैतिर हुनेछ।