चुनाव प्रचार गर्न द्वारिकादेवी ठकुरानीले हातमा खोपेको त्यो ट्याटु
‘राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेपछि द्वारिकादेवी ठकुरानी सुदूरपश्चिमको मोर्चामा सम्हाल्न भारतको पिथौरागढ र झुलाघाट मुकाम बनाएर बस्नुभयो। सीमावर्ती क्षेत्रका प्रशासनिक क्षेत्रमा आक्रमण गर्ने क्रममा आत्मसुरक्षाका लागि पेस्तोल बोक्नुहुन्थ्यो।’
दुई दशकदेखि नेपालको इतिहास, भूराजनीति, भूगोल र जलस्रोत लगायतका विषयमा कलम चलाउँदै आएका लेखक हुन्, रतन भण्डारी। उनका सुस्तामा भारतीय अतिक्रमणको वास्तविकता (२०६२)’ र अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक (२०७३)’ पुस्तक प्रकाशित छन्।
हालै उनले पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीबारे पुस्तक लेखेका छन्। पछिल्लो पुस्तक द्वारिकादेवी ठकुरानीमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा उनै लेखक भण्डारीसँग अनिता भेटवालले गरेको कुराकानी:
सीमा, नेपाल-भारत सम्बन्ध लगायत विषयमा लेखिरहनुभएको थियो। त्योभन्दा फरक विषय द्वारिकादेवी ठकुरानीबारे पुस्तक ल्याउनुभएको छ। किन द्वारिकादेवी ठकुरानीलाई छान्नुभयो?
पहिले सीमा, जलस्रोत लगायत विषयमा लेख्थें। तर, पछिल्लो समय नेपालको ‘लेडी आइकन’ द्वारिकादेवी ठकुरानीको विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन लगायत आमसञ्चारमा गलत तथ्य आएको पाएँ। उहाँकै पार्टी कांग्रेसका नेताहरूमा पनि ठकुरानीबारे धेरै भ्रम थिए। नेपालको पहिलो महिला मन्त्री भए पनि उहाँबारे सत्यतथ्य जानकारी पाइएन। त्यसपछि खोजी गर्नुपर्छ भन्ने ठानें।
फेरि पहिल्यै पनि इतिहासका पुस्तक अध्ययन गर्दा होस् वा बुझ्दा द्वारिकादेवीको राजनीतिक यात्रा नियालेको थिएँ। उहाँबारे पत्रपत्रिकामा आएका समाचार त सङ्कलन नै गरेको थिएँ। पुस्तक नै लेख्छु भनेर होइन, तर उहाँबारे जानकारी बटुल्न मन लाग्थ्यो। जसले गर्दा पुस्तक तयार पार्ने ढोकाहरू खुल्दै गए।
त्यो समयमा, अझ सुदूरपश्चिमबाट राजनीतिमा निरन्तर लागिराख्न द्वारिकादेवी ठकुरानीलाई के कुराले हौस्याएको वा प्रेरणा दिएको पाउनुहुन्छ?
त्यो कालखण्डमा भए पनि उहाँकाे शिक्षित परिवार थियो। डोटीको विकट गाउँमा जन्मे पनि बुबाको सरकारी जागीर थियो। जसले गर्दा उहाँको परिवार डोटी सदरमुकाम सिलगढीमा बसेको थियो। त्यति वेला सिलगढी पाल्पापछि नेपालकै दोस्रो ठूलो सामरिक महत्त्वको ठाउँ थियो। त्यहींबाट प्रशासन सञ्चालन हुन्थ्यो।
त्यति वेला सुदूरपश्चिमको मात्र नभएर मध्यपश्चिमका जुम्ला, हुम्लाको पनि प्रशासनिक र न्याय निरूपणको काम डोटी गौंडाबाटै हुन्थ्यो। त्यसले गर्दा पनि डोटीको प्रशासनिक महत्त्व थियो, शक्ति केन्द्रका रूपमा स्थापित थियो। त्यस्तो स्थानमा द्वारिकादेवीले हुर्कने मौका पाउनुभयो।
घरमा सरकारी जागीरे भएपछि विभिन्न क्षेत्रका मानिसको आवातजावत हुने नै भयो। त्यसले उहाँलाई घर बाहिर देश र समाजको अवस्था बुझ्न सघायो। पुरुष पनि पढ्न नपाउने समयमा, डोटीमा विद्यालय नहुँदा पनि बनारसबाट घरमा नै शिक्षक ल्याएर बुबाले पढाउनुभयो। साक्षर पनि हुनुभयो। धार्मिक पुस्तक त बाल्यकालमै अध्ययन गर्नुभयो।
बाल्यकालमै समाज बुझेको र त्यसमाथि शिक्षाले उहाँको चेतनास्तर निकै माथि पुर्यायो। जसले गर्दा राजनीतिक चेत पनि विकास भयो। त्यसको प्रभाव जीवनभर रह्यो। राजनीतिक चेत कति स्थापित, कति आदर्शवान् र व्यावहारिक थियो भन्ने त जीवन नै सक्रिय राजनीतिमा बिताएको कुराबाटै थाहा हुन्छ।
नेपाली कांग्रेसको सदस्य भएर सक्रिय राजनीतिमा लाग्दा तत्कालीन सरकारबाट अन्य राजनीतिकर्मीले जस्तै दमनमा पर्नुपर्यो कि फरक अवस्था थियो?
२००७ सालअघि नै राजनीतिमा लाग्नुभयो। उद्धवबहादुर चन्दसँग विवाह भएपछि श्रीमान्को साथबाट अझै बल मिल्यो। राणाशासनको पतनभन्दा अघि नै राजनीतिमा जोडिनुभएकाले त्यो समयमा अन्य राजनीतिकर्मीले जति चुनौती भोगे, त्योभन्दा कम थिएन। उहाँले महिला भएर कुनै छूट वा सुविधा पाउने अवस्था नै थिएन। अरू राजनीतिकर्मीले जस्तै उहाँले पनि डर, धाक, धम्की लगायतको समस्या भोग्नु नै भयो। अझ महिला भएकाले अझ बढी गाह्रो भएको देखिन्छ, तर कम भने होइन।
राणा सरकारले दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमालाई मृत्युदण्ड दिंदा देश स्तब्ध थियो। तर, द्वारिकादेवीमा आगो बलिरहेको थियो भन्ने प्रसङ्ग पुस्तकमा उल्लेख छ। त्यो के भन्न खोज्नुभएको हो?
दशरथ चन्द सुदूरपश्चिमकै बासिन्दा हुनुहुन्थ्यो। १९९७ सालभन्दा अघि नै जयपृथ्वीबहादुर सिंह आफ्नो ससुरा प्रधानमन्त्री चन्द्रशमशेरको विरोध गरेर भारतमा निर्वासन गइसक्नुभएको थियो। जयपृथ्वी पनि सुदूरपश्चिमकै हुनुहुन्थ्यो। त्यसले गर्दा जसरी देशभरि राणाहरूले राम्रो गरिरहेका छैनन् भन्ने सन्देश फैलिएको थियो, सुदूर पनि यसमा जानकार थियो।
त्यही पृृष्ठभूमिमा १९९७ सालमा राणा सरकारले चार जनालाई मृत्युदण्ड दिंदा सुदूरपश्चिमका दशरथ चन्दको पनि प्राण गयो। त्यसको असर पूरै देशभर थियो, त्योभन्दा बढी सुदूरमा परेको थियो। खास गरी बैतडी, डोटी र डडेल्धुरा त्राहिमाम् भएका थिए। दशरथ चन्दलाई राणाले हत्या गरे भन्ने उच्चारण गर्नु हुँदैन भनेर गाउँमा हल्ला फैलिएको थियो। तर, यही कुरा द्वारिकाको परिवारमा भने छलफल भएको थियो।
घरमा मान्छे आउने-जाने भएकाले त्यो घटनाको सबै जानकारी द्वारिकादेवीले पाउनुभयो। राणाको अत्याचार विरुद्ध जागरण हुनुपर्छ भन्न थाल्नुभयो। राणाले जनताको हकहितमा लड्ने हाम्रो क्षेत्रको व्यक्तिको हत्या गर्यो भनेर चर्चा गर्न थाल्नुभयो। त्यसैले उहाँको मनमा आगो दन्किएको थियो।
द्वारिकादेवी पेस्तोल बोकेरै राजनीतिक लडाइँमा लागेका प्रसङ्ग पनि छन्। त्यो कुन अवस्थाको कुरा हो?
२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम कमान्डरमा रामशंकर शुक्ला, चन्द्रवीर सिंह लगायत विभिन्न नेतृत्वको मोर्चा भीमदत्त पन्तले सम्हाल्नुभएको भएको थियो। डोटी कब्जापछि बैतडी कब्जा गर्न भीमदत्त पन्तको टोली गएको थियो। बैतडी जाँदा बाटोमा द्वारिकादेवीको घर पर्छ। उहाँले भीमदत्त पन्तलाई दोनाले भरुवा बन्दूक पनि दिनुभएको थियो।
आफैंले पेस्तोल बोकेका सन्दर्भ भने २०१७ सालको राजनीतिक परिर्वतनपछि हो। राजा महेन्द्रले उहाँ सम्मिलित जननिर्वाचित सरकार विघटन गरेपछि कति नेता जेल परे। द्वारिकादेवी भने जेलमुक्त भएपछि भारत जानुभयो। पछि भारतबाट नै सशस्त्र संघर्ष गर्ने योजनामा लाग्नुभयो। त्यो आन्दोलनका क्रममा सुदूरपश्चिम मोर्चामा हुनुहुन्थ्यो। उहाँको मुकाम भारतको पिथौरागढ र झुलाघाट थियो।
नेपालका सीमावर्ती क्षेत्रका प्रशासनिक क्षेत्रमा आक्रमण गर्ने र फर्किएर भारत जाने गर्नुहुन्थ्यो। त्यो सिलसिलामा हतियार राख्नुहुन्थ्यो। आफ्नो सुरक्षाका लागि पेस्तोल बोक्थें भनेर अन्तर्वार्ताहरूमा पनि भन्नुभएको छ।
बीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर राजनीतिमा लाग्नुभयो। २०१५ सालको आम निर्वाचनपछि बीपी नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा स्वायत्त शासन मन्त्री हुनुभयो। बीपीको नजरमा द्वारिकादेवी कस्तो राजनीतिकर्मी हुनुहुन्थ्यो?
२००७ सालअघिको सुदूरपश्चिम कस्तो थियो होला? एकपटक त्यो कल्पना गर्नुहोस् त। त्यो वेला एक जना महिला ‘म पार्टीमा आबद्ध हुन्छु, देश र जनताको हितमा काम गर्छु’ भनेर सीधा सीधा बीपीसँग संवाद गर्ने कति आँटिली हुनुहुन्थ्यो होला। द्वारिकादेवीको आत्मविश्वासले बीपी पनि प्रभावित भएको बताइन्छ।
त्यस वेला बीपीले द्वारिकादेवीलाई दिदी भनेर बोलाउनुहुन्थ्यो। बीपीले ‘दिदी, राणाहरूले अहिले दुःख दिइरहेका छन्। हामी संघर्षको चरण पार गरेपछि सदस्यता लिनुहोला’ भन्दा द्वारिकादेवीले ‘म पनि संघर्ष नै गर्न आएकी हुँ’ भनेर जिद्धी गर्नुभएको थियो। उहाँमा केही गरूँ भन्ने हुटहुटी देखेपछि बीपीले सदस्यता दिनुभएछ। २००७ सालको क्रान्तिमा आफ्नो क्षेत्रबाट संघर्ष गर्नुभयो। बीपी २०१५ सालमा बैतडी पनि पुग्नुभयो।
कांग्रेसले द्वारिकादेवीको राजनीतिक संघर्ष हेरेरै टिकट दियो। पहिलो जननिर्वाचित महिला सांसद हुनुभयो। जहाँसम्म उहाँलाई आफ्नो मन्त्रिपरिषद्मा सहभागी गराउनुलाई बीपीको उद्धार प्रजातान्त्रिक आचारण मान्नुपर्छ।
पुस्तकमा एउटा रोचक प्रसङ्ग छ। द्वारिकादेवीले त कांग्रेसको चुनाव चिह्न रूखको हातमा ट्याटु नै खोप्नुभएको रहेछ। यसको कारण के होला?
हो, हातमा रूखको ट्याटु खोपेको सत्य हो। २०१५ सालको निर्वाचनमा डडेल्धुराबाट टिकट पाउनुभयो। त्यो वेला अहिलेको जस्तो पर्चा, पम्प्लेट छाप्ने अवस्था थिएन। फेरि सुदूरको बसाइ, छोटो समयमा टिकट पाएकाले पूर्वतिर जस्तो छपाइको उपलब्धता थिएन। पूर्वतिरका नेताले आफ्ना प्रचारमा कल्पवृक्षमा मत दिनुहोस् भनेर प्रचार गरे। तर, सुदूरमा जनतालाई के देखाएर मत माग्ने भन्ने नै नभएपछि उहाँले हातमा रूख चिह्नको ट्याटु खोप्नुभयो। त्यसपछि हात देखाउँदै मलाई यही चिह्नमा मत दिनुहोला भन्दै जनतासँग भोट माग्नुभएको थियो।
द्वारिकादेवीलाई चुनावमा टिकट पाएको पनि अन्तिम समयमा मात्र थाहा भयो, त्यो पनि घरमै पुर्याइयो। अहिले टिकटका लागि हानाथाप हुन्छ। घरमै टिकट पुर्याउनु उहाँप्रतिको सम्मान थियो कि संयोग?
त्यो वेला अरू महिला पनि टिकटको आकांक्षी नभएका हैनन्। जस्तो, चितवनबाट मैयाँदेवी श्रेष्ठ। उहाँले टिकट नपाएर विश्वबन्धु थापाले पाएका थिए। तर, सुदूरपश्चिमको सन्दर्भमा द्वारिकादेवीको कामको प्रभावकारितालाई विशेष महत्त्व दिइएको हुन सक्छ।
फेरि सुदूरपश्चिममा टिकट पाउने दाबेदारमा एनडीप्रकाश चटौत पनि थिए। चटौतको हवाई दुर्घटनामा निधन भएपछि द्वारिकादेवीको विकल्प कांग्रेससँग नभएको देखिन्छ। हुन त त्यस वेला लोकप्रताप सिंह विष्ट पनि टिकटको आकांक्षी हुनुहुन्थ्यो। त्यस वेला आफ्नो जिल्लामा द्वारिकादेवीको राम्रो पकड थियो। फेरि बीपीले उहाँको संघर्ष र महिला सहभागितालाई प्राथमिकता दिएको पनि मान्न सकिन्छ।
अरू प्रतिस्पर्धी उम्मेदवारले दुई-चार सय मत पाउँदा द्वारिकादेवीलाई तीन हजार ९०३ मत आयो। त्यो कांग्रेसलाई आएको मत हो वा द्वारिकादेवी ठकुरानीको प्रभाव थियो?
त्यो वेला सुदूरपश्चिमका सबै जनतामा कुन पार्टी राम्रो, कुन नराम्रो भन्ने राजनीतिक चेतनाको विकास भइसकेको थिएन। द्वारिकादेवीले आफ्नो पोस्टर नै छाप्न नसकेको वेला कांग्रेसको घोषणापत्रमा के छ भनेर आफ्नो धारणा बनाए होला भन्न सकिन्न।
नेपाल प्रजा परिषद्का तर्फबाट द्वारिकादेवीको निर्वाचन क्षेत्रबाट पुष्करनाथ उप्रेती पनि उठ्नुभएको थियो। तर, उहाँले दोस्रो स्थान पनि पाउनुभएन। त्यसैले द्वारिकादेवीलाई महिलाको सहानुभूति छँदै थियो, आफूलाई पनि कामबाट चिनाउनु भएको थियो।
चुनावकाे माहाेलमा निर्वाचन क्षेत्रमा सबै व्यक्तिलाई भेट्नुभयो। त्यो भेटमा जनताले विश्वास गरे। खास गरी त्यो वेलाको माहोलमा महिलाले सांसदको चुनाव लड्नुमा नै जनता धेरै खुशी थिए।
चुनाव जितेपछि १८ महीना १८ दिन नेपालको पहिलो महिला मन्त्री भएर स्वास्थ्य तथा स्वायत्त शासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो। उहाँको कार्यकाल कति फलदायी, उपलब्धिमूलक र सम्झनयोग्य रह्यो?
आफूले पाएको जिम्मेवारी राम्रोसँग पालना गरेको देखिन्छ। मन्त्री भएपछि बैतडीमा महेन्द्र औषधालय खोल्नुभयो। जुन अहिले पनि अस्तित्वमा छ। २०१६ सालसम्म बैतडीमा कुनै औषधि र अस्पतालको व्यवस्था थिएन।
त्यस्तै, आफ्नो निर्वाचन क्षेत्रमा अस्पताल बनाउनुभयो। त्यो वेला मेचीदेखि महाकालीसम्म औषधि लिएर डुलेको बताउनुभएको छ। रौतहटको कटहरबन्ददेखि नेपालगञ्जसम्म पुगेको देखिन्छ। उहाँकै कार्यकालमा भएको ऐतिहासिक काम भनेको नेपाल परिवार नियोजन संघको स्थापना हो। उहाँ संस्थापक अध्यक्ष हो। यस्ता अरू पनि काम भएका छन्।
अहिले संविधानमै हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ। यो व्यवस्थाका लागि द्वारिकादेवीको पदचापको भूमिका पनि छ?
२०१६ सालमा त्यसरी एक जना महिला निर्वाचित नभएको भए, त्यस वेला महिला पनि मन्त्री हुन सक्छन् भन्न सक्ने थिएनौं। २०१६ सालमा एउटा महिला मन्त्री हुँदा समाजलाई तरङ्गित बनाएको थियो। त्यसपछि महिला सशक्तीकरणको विषय उठ्न थाल्यो। उहाँले उदाहरण नै स्थापित गर्नुभयो।
महिला काम गर्न सक्छन् भन्ने धारणा स्थापित गरिदिएपछि अरू महिलालाई पनि राजनीति, समाजसेवा र आर्थिक उपक्रममा लाग्न सहयोग पुग्यो। उत्प्रेरणा पाए। बिस्तारै उहाँको पदचाप पछ्याउने महिलाले नै आफ्नो अधिकारका लागि आवाज उठाए। त्यसैले द्वारिकादेवी पहिलो महिला मन्त्री हुनुले महिला अधिकार प्राप्तिको लडाइँमा अर्थपूर्ण सहभागिता रहेको मान्नुपर्छ।
त्यो समयमा र अहिले पनि असल राजनीति गर्नेहरूले प्रायः पीडादायी दैनिकी गुजारिरहेको देखिन्छ। द्वारिकादेवी ठकुरानीले पनि अन्तिम दिनहरूमा औषधि र उपचार पनि नपाएर दुःख पाउनुभयो। यस्ता घटनाहरू किन हुन्छन्?
यो नहुनुपर्ने हो। आफैंमा ‘आइकन’ बनेका व्यक्तिहरूका आखिरी दिन पीडादायी हुनु राम्रो होइन। द्वारिकादेवीले महिलाका लागि मात्र नभएर प्रजातन्त्रका लागि लड्नुभयो। तत्कालीन शासकका विरुद्ध लड्नुभयो। राणाहरू विरुद्ध लड्नुभयो। मन्त्री पनि हुनुभयो। तर, जीवनका अन्तिम दिनहरूमा कांग्रेसकै सरकार हुँदा पनि बेवास्ता गरियो। सरकारले बिर्सिएर होइन, नहेरेकै हो। यस्तो गरिनु हुँदैनथ्यो। तर, भयो त्यस्तै।
मैले किताबमा लेख्न छुटाएको दुःखद घटना पनि छ। देशमा सङ्कटकालको अवस्था थियो। आफ्नो गुनासो सुनाउन जान सिंहदारबार प्रवेशका लागि गेटमा लाइन लागेर बस्नुपरेको थियो। २०१६ सालमा मन्त्री भएको नेता पास नपाएर गेटबाट फर्कनुपर्यो। त्यो लज्जास्पद कुरा हो। औषधोपचार पनि पाउनुभएन।
द्वारिकादेवीमा धनको आसक्ति थिएन। त्यही भएर हात थापेर भन्दा आफ्नो जमीन बेचेर उपचार गर्नुभयो। राज्य र उहाँकै पार्टीले पनि अन्तिम दिनतिर पनि वास्ता गरेनन्।
अन्त्यमा, द्वारिकादेवीको जीवन बुझेर यो पुस्तक तयार पार्नुभयो। ऐतिहासिक सामग्री जुटाउन, अनुसन्धान गर्न कति र कसरी मेहनत गर्नुपर्यो?
मलाई रुचि लागेको विषयमा पत्रपत्रिका वा अन्यत्र आएका सामग्री संगृहीत गर्ने बानी छ। केही सामग्री २०५३ साल यताका पत्रपत्रिकामा द्वारिकादेवीबारे लेखिएका सामग्री सुरक्षित राखेको थिएँ। त्यसपछि अभिलेखालय, त्रिभुवन विश्वविद्यालयको पुस्तकालय, मदन पुरस्कार पुस्तकालय लगायत धेरै पुस्तकालय चहारें।
त्यो क्रममा २००७ सालयताका हरेक गोरखापत्र हेरें। त्यहाँ पुस्तक लेखनलाई सघाउने धेरै सामग्री भेटिए। त्यस बाहेक पनि उहाँको परिवारका सदस्य, राजनीतिज्ञ, तत्कालीन समयका उहाँका सहपाठीहरूसँग कुराकानी गरेर थप सामग्री पाएँ। रुचि नै खोजबिन गर्ने भएपछि आवश्यक सामग्री सङ्कलित त हुने नै रहेछ ।