‘एक्लोपन र प्रश्न गर्ने स्वभावले लेखक बनायो’
‘अरूले जस्तै स्थिति सामान्य छ भनेर चित्त बुझाउन सक्दिनँ। आफूले देखेको समस्या औंल्याइहाल्छु। आफूसँगको विद्रोह पनि लेखनबाटै पोख्छु।’
लेखक तथा सामाजिक अभियन्ता राधा पौडेलको पहिलो कृति खलङ्गामा हमलाले २०७० सालको मदन पुरस्कार प्राप्त गर्यो। त्यसयता पनि पौडेलका १० वटा पुस्तक प्रकाशित छन्।
उनी भीडभन्दा फरक मत राख्ने र प्रश्न गर्ने स्वभावले लेखक बनाएको बताउँछिन्। पहिलो कृति खलङ्गामा हमला र पछिल्लो मारियम मान्छे भई सँगै सामाजिक अभियान र लेखनयात्रामा केन्द्रित भएर लेखक पौडेलसँग हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा अनिता भेटवालले गरेको कुराकानी:
जुम्ला सदरमुकाम खलङ्गामा २०५९ कात्तिकमा माओवादीले हलमा गर्दा त्यहीं हुनुहुन्थ्यो। त्यो घटनाले त सबैलाई भयभीत बनाएको थियो। तपाईंलाई पुस्तक लेख्न सोच कसरी आयो?
मसँगै जहिल्यै दुई वटा डायरी हुन्छ। एउटा निरन्तर लेखिरहने, जहाँ दैनिक क्रियाकलाप लेख्छु। अर्कोमा घटनाहरूको व्याख्या गरेर लेख्ने गर्छु। यो घटनाको सन्दर्भमा २०५९ कात्तिक २८ गते खलङ्गामा युद्ध भयो। त्यही दिन लेख्ने अवस्था थिएन। केही दिनपछि घर फर्कें। घरमा केही समय बसेर फेरि खलङ्गा पुगेपछि तुरुन्तै लेख्न बसें। जुन घरमा आक्रमण भएको थियो, त्यही घरको बरन्डामा बसेर लेखिसकें।
यो लेख्न मलाई साढे दुई दिन मात्र लाग्यो। किनभने, एउटा कारण यो घटना लेख्नुपर्छ भन्ने मनैबाट लाग्यो। अर्को, त्यस घटनाले लामो समयसम्म मन विचलित बनाइरहेको थियो। लामो समयसम्म त्यो आक्रमणका कारण थाल भुइँमा खस्दा पनि बम पड्किए जस्तो लाग्थ्यो। त्यही डर र त्रासबीच लेखेकी थिएँ। सबै घटनाका दृश्य आँखैमा भएकाले पनि छिटो लेखियो होला।
अहिले नर्स प्रायः विदेश जान्छन्। त्यति वेला पनि तपाईंलाई विदेश जाने अवसर थियो, तर जुम्लाको सेवा गर्ने निर्णय गर्नुभयो। किन?
मैले बाल्यकालदेखि नै बुबाबाट जुम्लाबारे विभिन्न गुनासो र खुशीका कथा सुनें। बुबाले भारतदेखि नेपालका विभिन्न जिल्लाको सन्दर्भ सुनाउँदा जुम्लाको गरीबीले जहिल्यै छुन्थ्यो। उहाँले जुम्लाका मानिस हामीभन्दा बढी गरीब छन् भनेर सुनाउँदा, एक दिन त्यहीं गएर काम गर्ने सपना बुनेकी थिएँ।
नर्सिङ गरेपछि भरतपुर अस्पतालमा एनेस्थेटिक्स (बिरामी बेहोस बनाउने) नर्स भएर काम गरें। पाठेघर फुटेका महिला उपचार गराउन जुम्लाबाट पनि भरतपुर पुग्थे, सम्पन्न परिवारकै पनि हुन्थे। त्यस वेला लाग्थ्यो, सम्पन्न परिवारका मान्छेको नै उपचारमा पहुँच ढिलो छ भने निम्न वर्गको कुन अवस्था होला! त्यसैले बारम्बार जुम्ला जान अवसर खोजी गरिरहेकी थिएँ।
त्यस्तैमा, नर्सिङको स्नातक तहमा मेरो शोधपत्रको विषय महीनावारी विभेद थियो। गोकर्णेश्वर मन्दिर क्षेत्रमा महीनावारी विभेद अध्ययन गरिरहँदा पश्चिम नेपालमा हुने छाउपडी प्रथाबारे जानकारी पाएँ। त्यसपछि जागीरको सिलसिलामा नवलपरासी र जुम्ला छनोट गर्ने अवसर पाउँदा मैले जुम्ला रोजें।
सबैले द्वन्द्वको क्षेत्र भनेर जुम्ला रोजेनन्, मलाई भने त्यो अवसर थियो। बुबाले सुनाएको जुम्लाको तस्वीरलाई भुल्न नदिने जीवनमा विभिन्न घटनाहरू घटिरहनु र जुम्लालाई मेरो खाँचो छ भन्ने भावना सधैं आइरहनु जस्तो सन्दर्भले जुम्ला पुर्यायो।
सुरक्षित मातृत्व कार्यक्रमको अधिकृत भएर जुम्ला पुग्नुभयो। समाजसेवामा पनि लाग्नुभयो। लेखनमा चाहिं कसरी आउनुभयो?
मेरो लेखन रुचि बाल्यकालदेखि नै हो। विद्यालयदेखि नै कविता, निबन्ध, कथा लेख्थें। नर्सिङ पढ्दा पनि कविता लेखेर अरूलाई वाचन गर्न दिन्थें। त्यसैले लेखन मेरो साथी थियो।
मेरो स्वभावले पनि लेखनलाई साथ दियो। मलाई कहिल्यै भीडसँग हिंड्नु थिएन। भीडको विचारले कहिल्यै डोर्याएन। अरूले भन्दा फरक मत राख्थें र जहाँ पनि प्रश्न गर्थें। त्यसरी मैले गरेका प्रश्नको जवाफ कसैले दिएको थिएन। जुम्लाका मानिस किन गरीब छन् र त्यहाँ किन युगदेखि नै उही समस्या छ भन्ने मेरो प्रश्नलाई बेवास्ता गरिन्थ्यो। यस्ता कुरा घरमा आमाबुबा र साथीहरूलाई सोध्न पनि नसक्दा लेख्थें।
अर्को, भीडबाट अलग रहने भएकाले एक्लोपन महसूस हुन्थ्यो। त्यति वेला लेखेर नै आफ्नो भावना व्यक्त गर्थें। लेखन नै मेरो ‘भेन्टिलेशन’ बन्यो। आज पनि भीडसँग मेरो सहमति हुँदैन भने लेख्ने गर्छु। अरूले जस्तै स्थिति सामान्य छ भनेर चित्त बुझाउन सक्दिनँ। आफूले देखेको समस्या औंल्याइहाल्छु। आफूसँगको विद्रोह पनि लेखनबाटै पोख्छु। मेरो मन लेखनबाटै शान्त हुन्छ। लेखक बन्न भन्दा पनि मन शान्त बनाउन लेख्ने गरेकी हुँ।
त्यो आक्रमणपछि थुप्रै कर्मचारी जुम्ला फर्किएनन्। तपाईं अझै पनि त्यहीं हुनुहुन्छ। तपाईंलाई त्यो ठाउँले किन त्यसरी रोकिराख्यो?
यसको पनि छुट्टै पृष्ठभूमि छ। खलङ्गामा आक्रमणपछि म पनि काठमाडौं फर्कें। त्यसपछि भरतपुर घर गएर बसें। केही समयसम्म खलङ्गाको आक्रमण, घाइते र मृतकका तस्वीरले मन विचलित भयो। त्यसैले केही समय घरमै रहें। त्यही वेला मेरो अफिसले ‘परामर्श दिने वा काम नगर्दा पनि हुन्छ’ भन्यो। त्यसले मन दुख्यो। आखिर यु्द्ध त जुम्लामा मात्र भइरहेको थिएन। यो देशकै समस्या थियो, यहाँबाट उम्केर कहाँ जाने भन्ने लाग्थ्यो।
जुम्लामा जनशक्ति विकास अधिकृत भएर काम गरेपछि मेरो कामको शीर्षकमा सीमित थिइनँ। त्यहाँको परिवर्तन हेर्ने हुटहुटी भएकाले गाउँ गाउँ जान्थें। स्वास्थ्य सेवा दिन्थें, सामाजिक काममा सघाउँथें, सक्ने कोशिश गर्थें। त्यसैले मैले अफिसलाई जवाफ दिएँ- मैले यो काम द्वन्द्वकै कारण छाड्ने भए त पहिल्यै छाड्थें।
अर्को, मैले जुम्लामा कर्मचारीको काम गर्ने शैली परिवर्तन गरेकी थिएँ। केही घण्टा काम गर्नेहरू कार्यालय समयभरि सक्रिय हुन थालेका थिए। नर्स कक्ष, महिला र पुरुष कक्षको अवधारणा, बालरोग उपचार कक्ष र ओपीडी कक्ष लगायत बनाउन थाले। काम नगरी आनन्दले बसेका कर्मचारीलाई अप्ठ्यारोमा पारेको जस्तो पनि लागेको थियो। कतिले धम्की पनि दिएका थिएँ। २४ घण्टाभित्र खलङ्गा नछाडे ‘बलात्कार गर्छु, मारेर तिला खोलामा फाल्छु’ सम्म पनि भनेका थिए। तर, मैले जुम्ला छाडेकी थिइनँ। भौतिक रूपमा पनि कुटपिट सहें, फेरि पनि जुम्लाको विकास हुनुपर्छ भनेर ससाना परिवर्तन गर्न खोजिरहें।
त्यसैले खलङ्गामा हमला हुँदैमा त्यो ठाउँलाई छाड्नेवाला थिइनँ। बुबाले भनेको भन्दा जुम्लामा नाजुक अवस्था पाएको थिएँ। पछि जागीर छाडेर पनि धेरै समय त्यहीं बसें। अहिले पनि जुम्लासँग जोडिएकै छु। जुम्लाका मानिसको जीवन फेरियो भने नेपालको पनि मुहार फेरिन्छ भन्ने लाग्छ। जुम्लालाई उकास्न गर्नुपर्ने अझै धेरै काम त छँदै छन्।
जुम्ला परिवर्तन गर्ने सपना कति पूरा भयो, कति भएन?
एकदमै आशावादी भएर भन्दा जुम्लाका अस्पतालमा हिजो ‘ब्लड ब्यांंक’ थिएन। बच्चा पाउन नसकेर, साल अड्किएर थुप्रै आमाहरूको ज्यान जान्थ्यो। मैले ‘ड्रेसिङ रुम’ लाई ‘अपरेशन थिएटर’ बनाएर कर्णाली क्षेत्रमा पहिलो पेट चिरेर अपरेशन गर्ने व्यवस्था गरें। त्यो क्षेत्र आज मेडिकल कलेज बनेको छ। डाक्टर पढाइ हुन्छ। त्यो अर्थमा परिवर्तन भएको छ।
महिला पनि केही हदसम्म अघि बढेका उदाहरण छन्। पहिलो पटक महिला मेयर–उपमेयर पनि भइसकेका छन्। तर, जुन तरीकामा शान्ति सम्झौता भएपछि हामीले विकासको परिकल्पना र सपना देखेका थियौं, त्यो हिसाबले कामै भएन। १० दिनअघि मात्र जुम्लाको कोडारी, ढिमकोट पुगेको थिएँ। त्यहाँका बालबालिकाको अवस्था हेर्दा फेरि चकित भएँ। शिक्षा पाउने कुनै आधार नै छैन। जबसम्म काठमाडौंका बालबालिकाको जस्तो जुम्लाका बालबालिकाको अवस्था बन्दैन, तबसम्म मैले देखेको सपनाको जुम्ला बन्न सक्दैन।
आज पनि सदरमुकाम विकसित भयो, तर सदरमुकामसम्म आइपुग्ने मानिसको उस्तै अवस्था छ। गुणात्मक परिवर्तन भएकै छैन। स्वास्थ्य चौकी, भेटनरी, विद्यालय छन्। जनशक्ति पनि सरकारले पुर्याएको छ। तर, उनीहरूले प्रदान गर्ने सेवा गुणस्तरीय छैन। जुम्ला यस्तो ठाउँ भइदियो, जहाँ हिजो परम्परावादी सोचको समस्याले पनि उस्तै जकडिएको थियो, आजको बदलिंदो अवस्थाले पनि उस्तै ग्रस्त बनाएको छ। जस्तै- अहिले जलवायु परिवर्तनको समस्याले पनि त्यही ठाउँका महिला, बालबालिका बढी प्रभावित छन्। त्यसैले साँचो अर्थमा जुम्लालाई उकास्न सकिएको छैन।
जुम्लामा बसेर देशका अन्य भाग, विशेष गरेर मधेशको गरीबी, अशिक्षा र अभाव कसरी हेर्नुभएको छ?
केही मान्छे खलङ्गामा हमला पुस्तक लेखेकाले जुम्लाको मात्र वकालत गर्ने गरेको छ भन्छन्। तर, मैले द्वन्द्वकालमा केही वर्ष उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर लगायत क्षेत्रमा पनि काम गरेको थिए। अहिले पनि ती क्षेत्रमा बालबालिका र किशोरी सम्बन्धी कार्यक्रम गरिरहेका छौं। त्यसैले जुम्ला र मधेशका समस्या उस्तै लाग्छन्। तर, समाधानका लागि दुई व्यक्तिलाई एउटै ज्याकेट ‘फिट’ हुँदैन भने जस्तै हो। दुई भूभागका लागि छुट्टै काम गर्नुपर्छ।
पहिले लाग्थ्यो, जुम्लामा बाटो, सञ्चार, विद्यालय नभएर गरीब भयो। जब मधेश पुगें, त्यहाँ बाटो, विद्यालय, टेलिभिजन, सञ्चार सबै थियो, तर महिलाको अवस्था जुम्लाको भन्दा फरक थिएन। मानव विकास सूचकाङ्कमा आज पनि यी दुवै भूभागको अवस्था धेरै फरक छैन। त्यसपछि लाग्यो, भूगोलले भन्दा समुदाय परिवर्तनका लागि कति तयार छ भन्ने कुराले अर्थ राख्दो रहेछ।
यी दुवै क्षेत्रको विकास अहिले हामीले गरिरहेको तरीकाले नहुने देखिन्छ। विकास अभियान राजनीतिक स्वार्थसँग गाँसिएका छन्। आज पनि जुम्लामा र मधेशमा चिसोले मान्छेहरू मरिरहेका छन्। मानिस मर्न थालेपछि ब्लाङ्केट बाँडिन्छ। विनाश भइसकेपछि मात्रै सोचेको देखिन्छ। त्यसैले मधेश र कर्णालीको मुहार फेर्न समयमै काम गर्नुपर्छ।
पुस्तकमा मितेरी कार्यक्रम सम्बन्धी पनि चर्चा गर्नुभएको छ। त्यसले कसरी काम गर्छ?
‘मितेरी गाउँ, लेट्स लिभ टुगेदर’ भन्ने मेरो सिद्धान्त हो। यो मेरो ‘ड्राइभिङ फोर्स’ हो। सत्यमोहन जोशीको जुरेली दर्शन भने जस्तै मेरो मितेरी दर्शन हो। मितेरी भन्नाले त्यो कुनै गाउँ हैन। सेवामुखी काम गर्ने हो। चितवनमा मितेरी जैविक प्याड उद्योग, मितेरी शिक्षा केन्द्र, मितेरी बर्थिङ सेन्टर लगायत छन्। यो शब्दले समानता दिन्छ। त्यसैले मितेरी अभियान भनेर सामाजिक काम गर्दै आएका छौं। हामीसँग ठूलो कोष छैन। साथीहरूले चाडबाड, जन्मदिनमा उपहार भनेको पाँचदेखि १० रुपैयाँ समेत खुत्रुकेमा जम्मा गरेर यस्ता कार्यक्रम गर्दै आएको छौं।
अहिलेसम्म हामीले करोडभन्दा बढी रकमको काम गरिसकेका छौं। तर, सबै कामको प्रभाव पैसाले मात्र तौलन मिल्दैन। हाम्रो सानो साधनस्रोतबाट संसारभरका देशमा मर्यादित महीनावारीबारे छलफल चलाएका छौं। लेख्ने, अनुसन्धान गर्ने हाम्रो अर्को कामको पाटो हो। पेरुको नीति मर्यादित महीनावारी अनुरूप भएको छ वा छैन भनेर हामीलाई अनुसन्धान गरिदिन भन्नुहुन्छ। जर्मनीमा हामीबाट सिकेर मर्यादित महीनावारीको अध्ययन भइरहेको छ। हो, यो नै हाम्रो मितेरी अभियानको सफलता हो।
अब तपाईंको पछिल्लो कथाकृति मारियम मान्छे भईबारे कुराकानी गरौं। यसबाट किशोरीको कस्तो कथा भन्न खोज्नुभएको हो?
शैक्षिक पाठ्यक्रमका विषयवस्तुले आदर्शको कुरा मात्र गरेको पाएँ। पढ्दा रमाइलो लाग्ने तर पढिसकेपछि जीवनमा यसले के कुरा थप्छ भन्ने पाइनँ। त्यसमाथि हाम्रो देशमा बालबालिकामा लगानी भएकै छैन, तर उनीहरूबाट अपेक्षा बढी गरिन्छ। त्यसैले उनीहरूलाई सिद्धान्त मात्र नभएर व्यावहारिक नैतिक पाठ सिकाउन पनि मर्यादित महीनावारीको विषयवस्तु ‘मारियम मान्छे भई’ पुस्तक मार्फत उठाएकी हुँ।
खासमा महीनावारीबारे पेरु, सिरिया, नाइजेरियामा पनि यस्तै अवस्था छ। हिन्दूले मात्र महीनावारीमा विभेद खेप्नुपरेको छ भन्ने गर्छन्, तर मुस्लिममा पनि उस्तै सास्ती हुन्छ। अथवा धेरै धर्म, जातिका मानिसले यो समस्या भोगेका छन्। त्यसकारण पनि मारियम भन्ने मुस्लिम छोरीलाई नेपाल र विश्वको प्रतिनिधि बनाएर कथा लेखें। यसले स्कूले विद्यार्थीलाई सहज रूपमा चेतनशील बनाउँछ।
हिजो राजनीतिमा महिला, संसद्मा महिला, महिला सशक्तीकरणको नारा लिएर पनि हिंडें। तर, आज २० वर्षपछि पनि अवस्था उस्तै छ। अरूले सानो मानेको तर विभेदको मुख्य खाडल महीनावारीबाट शुरू हुने रहेछ भन्ने थाहा पाएपछि यसबारे छलफल अभियान चाल्ने क्रममा लेख्न थालें। खासमा मर्यादित महीनावारी बुझाउन पनि ‘मारियम मान्छे भई’ पुस्तक लेखिएको हो।
सामान्य भाषामा मर्यादित महीनावारी भनेको के हो?
मर्यादित महीनावारी भनेको महीनावारीका कारण कुनै पनि किसिमको विभेद नहुनु हो। अझ महीनाको २५ दिन महिला जसरी बाँच्छन्, बाँकी महीनावारी हुँदाको पाँच दिनमा पनि उसैगरी बाँच्न पाउनुपर्छ। भोक लागेको वेला आफैं भान्सामा भात खान हीनताबोध हुन्छ वा मन्दिर पस्न, पूजा गर्न पनि महीनावारी भएको सम्झनुहुन्छ भने त्यो मर्यादित महीनावारी हैन।
काठमाडौंमा नै हामीले धेरै ठूला विभेद छोेपेर राखेका छौं। अनि ठूला साहित्यकार, लेखक, बौद्धिक व्यक्तित्व भनेर कहलिन्छौं। हामीले गरिरहेको परिवर्तनको कामले किन सुधार भएन भनेर आफैंलाई प्रश्न चाहिं गर्दैनौं। किन छोरी बलात्कृत हुन्छन्? किन भ्रूणहत्या धेरै छ? किन महिलाको समान ज्याला छैन? त्यो भनेको छोरीहरू कमजोर हुन्छन् भनेर नै हरेक कुरामा विभेद गरिएकाले हो। त्यसैले विभेदको जरो महीनावारीबाट शुरू भएको हो। जसले महिलालाई कमजोर र सहारा चाहिने भनेर बुझाइदियो।
त्यसो भए यो समस्या कसरी समाधान गर्न सकिन्छ?
यी समस्या बुझ्न मधेश र सुदूरपश्चिम पुग्नै पर्दैन। काठमाडौंमा मर्सिडिज चढ्ने पनि महिला महीनावारी हुँदा भर्याङ छोइन्छ भनेर साडीलाई गुजुल्टाउँछन्। महीनावारी हुँदा भर्याङको छिंडीमा राखिएकी किशोरीसँग मैले नै कुरा गरेकी छु। मान्छे छाउगोठको संख्या घट्यो भन्ने कुरामा अल्झिएका छन्। मनैदेखि महीनावारी फोहोर र अपवित्र भन्ने सोच बाहिर ननिस्किएसम्म सुधार हुँदैन। हाम्रोमा महीनावारी बार्ने चलन नै छैन भन्ने तर मन्दिरमा पस्न हिचकिचाहट हुन्छ भने त्यो मर्यादित महीनावारी कसरी हुन्छ?
महीनावारीबारे खुलेर नै कसले बोल्ने? छलफल भएको खै? एक पटक अभिमुखीकरण कार्यक्रम गराएर पुग्दैन। समाजका सबै तहका मानिसले बालिका, किशोरी र महिलामाथि हुने विभेद हटाउनतिर लाग्नुर्पछ।
राज्यले काम नै थाल्ने हो भने जहाँ विभदे बढी छ, त्यहाँबाट थाल्नुपर्छ। त्यसरी जाँदा मधेशबाट काम थाल्नुपर्छ। स्थानीयदेखि संघीय सरकार छन्, विभिन्न निकाय छन्। धेरै लगानी चाहिंदैन, महीनावारी विभेदबाटै शुरूआत गर्नुपर्छ। छाउपडी एउटा नाम मात्र हो। यो सुदूरपश्चिमको मात्र समस्या भनियो, जसले गर्दा हाम्रो मानसिकताबारेको समस्या ढाकछोप भयो। आज त्यहींबाट जन्मिएका समस्याले झन् झन् गाँजेका छन्। ससाना समस्यालाई समस्या नठान्ने भएर काम बिग्रिएको हो।
अन्त्यमा, दुई दशकअघि जुम्लामा काम गर्ने सपना बोकेर गएदेखि आज मितेरी, मर्यादित महीनावारीबारे विश्वभर छलफल चलाउँदासम्म आफ्नो यात्रासँग कति सन्तुष्ट हुनुहुन्छ?
मेरो व्यक्तिगत जीवनमा गाडी, घर, ब्यांंक ब्यालेन्स छैन। यहाँसम्म कि मैले एटीएम कार्ड पनि लिएकी छैन। यो मैले नै छानेको जीवन हो।
अहिलेसम्म चालेका कदमको, अभियानको प्रभाव अमूल्य छ। हिजो नर्स पेशाको सरकारी जागीर छाडेर जुम्लाको स्वास्थ्य क्षेत्रमा जति काम गर्न सकियो, म एक जना व्यक्तिले गर्न सक्ने त्यति नै थियो। त्यसले म आफैंलाई सधैं हौसला दिन्छु।
आज किशोरी र महिला समस्याका सवाललाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पुगेकी छु। मर्यादित महीनावारी भनेर पहिलो पटक नेपालबाटै छलफल चलाएँ। आज विश्वका धेरै देश यो अजेन्डामा काम गरिरहेका छन्। त्यसैले मैले मेरो जीवन त यिनै काममा सुम्पिएकी छु। हिजो मेरोे लेखन बलियो छ भन्थे भने आज मेरो अभियान राम्रो छ भनिरहेका छन्। यसमा खुशी छु।
हामीले सिर्जना गरेका अभियान र अजेन्डामा विश्वभरबाट समर्थन र सकारात्मक प्रतिक्रिया आइरहेका छन्। ४० वर्षअघि महीनावारीकै कारण समाजमा भेदभाव भोगेर आत्महत्या गर्न हिंडेको समयदेखि आजसम्म आइपुग्दा मेरो अभियानले अरू धेरैलाई बचाएको छ भन्ने लाग्छ। यो त शुरूआत मात्र हो जस्तो लाग्छ। त्यसैले मेरो लेखन र सामाजिक जीवनका अँध्यारा पाटा र चहकिला पाटा दुवै छन्। आशा छ, एक दिन यी समस्याबाट महिलाले मुक्ति पाउनेछन्।