हाम्रो तरकारी नबिक्नुको कारण भारतीय तरकारी नै हो त?
किसानहरूले भारतबाट आयातीत तरकारीले गर्दा आफ्नो उत्पादनले मूल्य र बजार नपाएको दाबी गर्दै आए पनि सरकारी तथ्याङ्कले भने त्यस्तो देखाउँदैन।
माघको अन्तिम साता बिहान चितवनको भरतपुर नयाँबजारको कृषि अक्शन बजारको एक कुनामा मलिन अनुहार लिएर उभिरहेका थिए रत्ननगर नगरपालिका‚ कञ्चनबस्तीका बद्री मिया। अघिल्ला दुई दिन जस्तै त्यस दिन पनि आफूले लगेका बन्दा, काउली र धनियाँ नबिकेपछि उनी चिन्तित बनेका थिए। अक्शन बजार भरतपुर महानगरपालिकाले बनाइदिएको किसानले आफ्नो उत्पादन आफैं बेच्ने बजार हो।
“कति पटक ल्याइसकें, व्यापारीहरू किन्दै किन्दैनन्‚” बद्रीले सुनाए, “व्यापारीहरू किलोको चार-पाँच रुपैयाँमा किन्न खोज्छन्। आफ्नो लागत नै प्रति किलो १२-१३ रुपैयाँ पर्छ।”
आफूले फलाएको तरकारी नबिक्ने समस्या मियाको मात्रै होइन। हरेक वर्षको पुस र माघमा चितवन लगायत देशभरका किसानहरूले यस्तै समस्या भोग्दै आएका छन्। “हरेक वर्ष यस्तै हो,” बद्री भन्छन्‚ “दुःख गरेर फलायो, खर्च गरेर बजारसम्म ल्यायो, तर बिक्दैन।”
नेपालमा उत्पादित तरकारीले नेपालमै आखिर किन बजार पाउँदैन? किसानहरूको तर्क छ- भारतबाट आउने तरकारीले बजार खाएको छ। नेपालमा धेरै उत्पादन हुने सिजनमा भारतबाट सस्तोमा तरकारी आउने गरेको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसाल बताउँछन्।
पुस र माघमा मुख्य गरी फर्सी, काउली‚ बन्दाकोबी, गोलभेंडा र गाँजर गरी पाँच वटा तरकारी बढी उत्पादन हुन्छ। यस सिजनमा नेपाली बजारमा नेपालमा उत्पादित तरकारीलाई कम र भारतीय तरकारीलाई बढी स्थान दिंदा हरेक वर्ष आफ्नो उत्पादन खेर गइरहेको किसानहरूले जिकिर गर्दै आएका छन्।
“नेपाली किसानले पुस र माघमा सबैभन्दा धेरै उत्पादन गरेको समयमै भारतबाट सस्तो मूल्यमा तरकारी आउँछ‚” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन भरतपुरका सञ्चालक समिति अध्यक्ष समेत रहेका भुसाल भन्छन्‚ “भारतमा किसानले अनुदानमा फलाएको तरकारी व्यापारीले सस्तोमा पाउने भएपछि नेपाली उत्पादनलाई बजार दिइँदैन र मूल्य पनि कम हुन्छ।”
तर‚ सरकारी तथ्याङ्कले भने किसानहरूले दाबी गरे जस्तो भारत लगायत मुलुकबाट आयात भएका तरकारीका कारण नेपालमा उत्पादित तरकारीले बजार नपाएको देखाउँदैन। कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सञ्चालन गर्दै आएको नेपालको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो दुई महीनामा भारतभन्दा चितवनबाट दोब्बर बढी तरकारी आयात भएको तथ्याङ्कले देखाउँछ।
गत पुस र माघमा कालीमाटी फलफूल तथा तरकारी बजारमा चितवनबाट १३ लाख ८२ हजार किलो गाँजर आयात भएको छ। सोही अवधिमा भारतबाट दुई हजार किलो मात्र गाँजर आयात भएको छ। त्यस्तै, चितवनबाट पाँच लाख ५२ हजार किलो काउली आयात हुँदा भारतबाट ८१ हजार किलो आयात भएको समितिको तथ्याङ्कले देखाएको छ। यस्तै‚ नौ लाख १२ हजार किलो बन्दाकोबी आयात हुँदा भारतबाट २६ हजार किलो आयात भएको छ। फर्सी भने चितवनको तुलनामा भारतबाट बढी आयात भएको छ। चितवनबाट ७३ हजार र भारतबाट चार लाख ७१ हजार किलो आयात भएको थियो।
यस्तै‚ कालीमाटी फलफूल तथा तरकारी बजारको २०७८ को पुस र माघको तथ्याङ्कले पनि भारतभन्दा चितवनबाटै बढी तरकारी आयात भएको देखाएको छ। उक्त अवधिमा चितवनबाट पाँच लाख ९१ हजार किलो गाँजर र भारतबाट २४ हजार किलो आयात भएको थियो। यस्तै, चितवनबाट आठ लाख ६७ हजार किलो बन्दाकोबी आयात हुँदा भारतबाट २८ हजार र ६ लाख किलो काउली आयात हुँदा भारतबाट ४६ हजार किलो आयात भएको तथ्याङ्कले देखाएको छ।
उक्त वर्ष गोलभेंडा र फर्सी भने चितवनको तुलनामा भारतबाट बढी आयात भएको थियो। चितवनबाट दुई लाख ४१ हजार किलो गोलभेंडा आयात हुँदा भारतबाट १९ लाख २० हजार किलो आयात भएको थियो। यस्तै‚ भारतबाट १७ हजार किलो फर्सी आयात हुँदा चितवनबाट फर्सी नै आयात नभएको तथ्याङ्कले देखाउँछ।
दुई वर्षको पुस र माघमा फर्सी‚ गोलभेंडा, बन्दाकोबी, गाँजर र काउली गरी पाँच प्रकारका तरकारी भारतबाट तीन हजार टन र चितवनबाट ६ हजार टन आयात भएको तथ्याङ्कले देखाएको छ। त्यसैले नेपाली बजार भारतीय तरकारीले धानेको भन्न नमिल्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन्।
“यी पाँच वटा तरकारीको सिजनमा ९५ प्रतिशत आन्तरिक उत्पादनले ओगट्छ‚” उनी भन्छन्‚ “नेपाली बजार भारतको तरकारीले मात्र धानेको भन्न मिल्दैन। विशेष गरी यी दुई महीनालाई त झनै भन्न सुहाउँदैन।” आलु, भिन्डी, भेन्टा लगायत तरकारीमा भने नेपाल परनिर्भर नै भएको उपनिर्देशक श्रेष्ठ बताउँछन्।
नेपाल सरकारले सञ्चालन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार बाहेक अन्य ११ वटा सरकारी तरकारी बजारमा पनि नेपाली उत्पादन नै बढी खपत हुने कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेल बताउँछन्। कृषि बजार व्यवस्थापन समिति धरान, कृषि बजार व्यवस्थापन समिति वीरेन्द्रनगर, कृषि उपज थोक बजार व्यवस्थापन समिति नवलपरासी, कृषि थोक बजार व्यवस्थापन समिति सर्लाही, कृषि बजार व्यवस्थापन समिति झापा, कृषि बजार व्यवस्थापन समिति धनुषा, कृषि बजार व्यवस्थापन समिति बाँके, कृषि बजार व्यवस्थापन समिति पोखरा, कृषि उपज थोक बजार सञ्चालक समिति कैलाली, बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति रुपन्देही र कृषि उपज बजार व्यवस्थापन समिति सिन्धुली कृषि विभाग अन्तर्गत छन्।
यी सबै बजारमा ६५ देखि ७० प्रतिशत नेपालमा उत्पादित तरकारी खपत हुने र २५ देखि ३० देखि २५ प्रतिशत मात्र बाहिरबाट आयात गरिएको तरकारी बिक्री हुने विभागका वरिष्ठ कृषि अर्थविज्ञ पौडेल बताउँछन्। तर‚ प्रत्येक वर्षको पुस र माघमा नेपाली किसानले उत्पादन गरेका तरकारीले मूल्य र बजार नपाउनुमा मूल समस्या अन्त कतै भएको हुन सक्ने उनको अनुमान छ। “नेपाली उत्पादनले बजार पाउँदापाउँदै किसानले घाटा बेहोरेको पनि सत्य हो‚” वरिष्ठ कृषि अर्थविज्ञ पौडेल भन्छन्‚ “यसमा भारतको सस्तो तरकारीले केही फरक पारे पनि समस्या भारत मात्र होइन। समस्या बजार हो‚ सयौं निजी बजारको व्यवस्थापन व्यापारीको हातमा छ।”
पौडेलको तर्कमा सहमत छन् कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन। नेपाली बजार निजी व्यापारीहरूको हातमा भएकाले किसानले उचित मूल्य नपाएको उनको बुझाइ छ। “नेपाली उत्पादनले मूल्य नपाएकै वेला भारतबाट दुई-चार ट्रक तरकारी आयात गरेर बजार सस्तो बनाउने प्रयास चितवनमा भएको किसानहरूले बताएका थिए‚” पुन भन्छन्‚ “यस्तो हर्कतले आयात कम भएको देखिन्छ, तर कम आयातले पनि बजार प्रभावित पार्छ र किसान आन्दोलित हुनुपर्छ।”
नेपाली तरकारी बजारमा को कति हावी?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘नेपाली कृषिको तथ्याङ्कगत सूचना २०७७/७८’ का अनुसार नेपालमा ताजा तरकारी बालीहरूमध्ये काउली, बन्दाकोबी, ब्रोकाउली, गोलभेंडा तथा मुला बढी क्षेत्रफलमा खेती गरिने र बढी उत्पादन हुने तरकारी बाली हुन्। पुस र माघमा बढी उत्पादन हुने तरकारीमा काउली, बन्दाकोबी, गोलभेंडा, गाँजर र फर्सी हुन्। पछिल्ला वर्षहरूमा भने यी तरकारी उत्पादन गर्ने किसानहरूले आन्तरिक उत्पादनले नेपाललाई धान्ने भए पनि भारतबाट आयात गरिएको गुनासो गर्दै आएका छन्।
नेपाल सरकारको ‘नेपाली कृषिको तथ्याङ्कगत सूचना २०७७/७८’ का अनुसार‚ नेपालमा काउली, बन्दाकोबी, गोलभेंडा, गाँजर र फर्सी १५ लाख ९३ हजार टन उत्पादन भएको छ। सोही वर्ष अन्य देशबाट ४० हजार ९०० टन आयात गरिएको थियो। यो तथ्याङ्कले नेपालमा उत्पादन हुने यी तरकारीको तुलनामा विदेशबाट धेरै कम मात्र तरकारी आयात भएको देखाउँछ। विदेशबाट आयात भएको तरकारीमध्ये ९५ प्रतिशत भारतबाट ल्याइन्छ।
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेल भन्छन्, “नेपाली तरकारी नेपाली बजारमा धेरै खपत हुन्छ। नेपालमा उत्पादन कम हुने सीमित तरकारी मात्र भारतको उत्पादन ल्याउने गरेका छौं।” त्यसैले भारतको तरकारी नेपाली बजारमा हावी नभएको उनी बताउँछन। तर‚ नेपालको उत्पादनले मात्र नेपाली बजारको माग पूरा गर्न नसक्ने पौडेलको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक श्रेष्ठ नेपाली बजारको मागमध्ये ९० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको बताउँछन्। “नेपालमा किसानको तरकारीको समस्या पुस र माघको मात्र हो। अन्य समय सबै ठीक चलेको हुन्छ। उत्पादन राम्रो हुँदा यी पाँच तरकारी आयात गर्न आवश्यक पनि छैन‚” उनी भन्छन्‚ “किसानको समस्या भारतबाट आयातीत तरकारी होइन। अन्य खाद्यान्न आयातबारे गुनासो गर्न सुहाउँथ्यो‚ तरकारीमा सुहाएन।”
पुस र माघमै किन आन्दोलन?
प्रत्येक वर्ष पुस र माघमा आफूहरूले उत्पादन गरेको तरकारीले मूल्य र बजार नपाएको भन्दै किसानहरूले आन्दोलित हुन्छन। सडकमा तरकारी फ्याँकेर विरोध प्रदर्शन गर्छन्। भारतबाट आयातीत तरकारीका कारण आफ्नो उत्पादनले मूल्य र बजार नपाएको उनीहरूको दाबी छ।
तर‚ चितवनको ठूलो तरकारी बजार महानगर फलफूल तथा तरकारी थोक बजारका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले किसानको दाबी स्वीकार गर्दैनन्। ९० प्रतिशत स्वदेशी उत्पादन चितवनको थोकबजारबाट बिक्री वितरण भएको उनी बताउँछन्। “यो समस्या उत्पादन भएको तरकारीको व्यवस्थापन गर्न नजानेर उब्जेको समस्या जस्तो लाग्छ,” उनी भन्छन्‚ “यो सबै हुनुमा भारतीय उत्पादनले बजार कब्जा गरेको भन्ने चाहिं होइन।”
धितालको भनाइमा खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारी भने विमति राख्छन्। “नेपालमा खुला सिमाना भएकाले भारतबाट अनौपचारिक रूपबाट आयात भएको तथ्याङ्क नेपालमा छैन,” उनी भन्छन्‚ “जुन भारतबाट आयातीत सरकारी तथ्याङ्कभन्दा धेरै हुन सक्छ। जसले नेपाली बजार प्रभावित भएको हुन सक्छ।”
केही व्यापारीले बजार प्रभावित गर्न सस्तो मूल्यमा भारतीय तरकारी ल्याउने र त्यही भाउ नेपाली बजारमा स्थापित गराउन रणनीति खेल्ने गरेको हुन सक्ने अधिकारीको शङ्का गर्छन्। यही कारण किसान आन्दोलित हुनुपर्ने बाध्यता भएको उनको भनाइ छ। “बजारको अनुगमन नभएसम्म यो समस्या अर्को वर्ष पनि दोहोरिनेछ‚” अधिकारी भन्छन्‚ “नेपाली किसानको आन्दोलन उस्तै नै रहने देख्छु।”
कृषिविज्ञ कृष्णप्रसाद पौडेल किसानले मूल्य र बजार नपाउनुमा एक-दुई कारण मात्र नरहेको बताउँछन्। नेपालमा बढी उब्जनी हुने सिजनमा भारतबाट एक-दुई टन भए पनि सस्तो तरकारी ल्याइने‚ किसानबाट उपभोक्तासम्म तरकारी पुग्ने अव्यवस्थित प्रक्रिया जस्ता अनेक ससाना कारणले समस्या सिर्जना भएको उनको बुझाइ छ।
चितवनका किसानले दुई दशकदेखि यस्तै समस्या सुनाउँदै यसको समाधान खोज्न सल्लाह माग्ने गरेको कृषिविज्ञ पौडेल बताउँछन्। उनले जवाफमा बजारको दलाली प्रवृत्तिको अन्त्य र स्थानीय सरकारले बजार व्यवस्थापन जिम्मेवारी लिनुको विकल्प नहुने बताउने गरेका छन्। उनी भन्छन्, “बजार व्यापारीको हातमा रहेसम्म किसानको उब्जनीले न बजार पाउँछ न मूल्य। मेरो दुई दशकदेखिको अध्ययनले यही भन्छ।”