किसानको बहीखाता, जहिल्यै घाटा
व्यावसायिक कृषि गर्दै आएका चितवनका किसान हरेक वर्ष पुस र माघमा लगानी अनुसारको तरकारीको मूल्य पाउँदैनन्। अझ भारतबाट तरकारी आयात हुँदा सस्तो मूल्यमा बेच्नुपरेपछि घाटा बेहोर्नुपर्छ। चितवनका किसानले कसरी हरेक वर्ष घाटा बेहोरिरहेका छन्? गोलभेंडा र गाँजर खेती गरिरहेका दुई जना किसानले हिसाबकिताब सुनाएका छन्:
चितवनको भरतपुर महानगरपालिका-२५, पर्साढापका कृषक विष्णु खनाल माघ १९ मा गोलभेंडा बेच्न नारायणगढस्थित महानगर फलफूल तथा तरकारी थोक बजार पुगे। बजार भाउ सोध्दा उनलाई दिक्क लाग्यो, एकछिन त के गर्ने भनेर रनभुल्लमा परे।
किन? कृषक खनाल भन्छन्, “गोलभेंडा उत्पादनमा जति खर्च भएको थियो, बजार भाउ त्योभन्दा तीन गुणा कम थियो।”
उनी जस्तै चितवनका २०० भन्दा बढी किसानलाई माघको बजार भाउले निराश बनायो। त्यसपछि खेतीपाती छोडेर सडकमा उत्रिए। माघ २१ मा नारायणगढस्थित पुल्चोकमा तरकारी फाले। महीनौं माटोमा नङ्ग्रा खियाएर उत्पादन गरेको तरकारी किन सडकमा फाल्नुपर्ने स्थिति आयो?
यो प्रश्नमा कृषक खनाल गम्भीर भए। उनले घरभित्रबाट नीलो रङको रजिस्टर निकाले। पाना पल्टाउँदै गोलभेंडा खेती गर्दा भएको खर्च हिसाब गर्न थाले। जहाँ सामान खरीद गर्दा लागेको पैसाको हिसाब राखिएको थियो। रजिस्टरका पाना पल्टाउँदै बोले, “यसरी नै काम लाग्छ भनेर खेती गर्दाको हिसाबकिताब सुरक्षित राखेको छु।”
उनले एक बिघामा गोलभेंडा खेती गरेका छन्। गोलभेंडा खेतीमा गरेको लगानीको हिसाबकिताब बताए।
खर्च |
रु. |
ट्याक्टर |
१४,४०० |
घरेलु मल |
१,३०,००० |
रासायनिक मल |
२१,५०० |
ड्याङ उठाउन |
१०,००० |
प्लास्टिक |
४६,००० |
बीउ |
५०,००० |
पिटमस माटो |
२४,००० |
बिरुवा राख्ने क्यारेट |
२०,००० |
बाँस |
१,८०,००० |
डोरी |
१६,८०० |
श्रम |
२५,००० |
जम्मा |
५,३७,७०० |
गत असोज पहिलो साता लगाएको गोलभेंडा पाक्दासम्म पाँच लाख ३७ हजार ७०० रुपैयाँ खर्च भएको उनले सुनाए। त्यसबाट उनले २५ हजार किलो गोलभेंडा उत्पादन गरे। त्यसको प्रतिकिलो मूल्य निकाल्दै खनालले भने, “यसरी प्रतिकिलो गोलभेंडा हाम्रो लगानी २१ रुपैयाँ हुन्छ। तर, बजार भाउ एक तिहाइ पनि छैन।”
अहिले गोलभेंडाको बजार भाउ एउटा क्यारेटको २०० रुपैयाँ छ। एक क्यारेटमा २३ किलोग्राम अटाउँछ। जस अनुसार, एक किलो गोलभेंडाको मूल्य आठ रुपैयाँ पर्छ। “प्रतिकिलो २१ रुपैयाँ लगानी गरेर आठ रुपैयाँ उठ्छ,” कृषक खनाल भन्छन्, “सीधा सीधा हिसाब गर्दा पनि यो वर्ष लगानी उठेन। यत्रो घाटा भएको छ।”
उनले जोडेको लगानी रकममा आफ्नो र परिवारको श्रमको मूल्य भने राखेका छैनन्। प्रायः नेपाली किसानले आफूले गरेको श्रमलाई लगानी मानिरहेका हुँदैनन्। यसरी प्रतिक्यारेट २०० रुपैयाँ मूल्य पाउँदा आधाभन्दा बढी घाटाको हिसाब निस्किन्छ।
घाटाको मात्रै होइन, अर्को पनि समस्या छ। माघ १९ सम्म साढे आठ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको भए पनि माघ २१ पछि भने उनले त्यही भाउमा खरीद गरिदिने व्यापारी भेटेनन्। जसको कारण १० कट्ठा जमीनमा रातै भएर पाकेको गोलभेंडा बारीमै कुहिएर खेर गयो।
यो वर्ष बारीमै कुहिएको गोलभेंडा देखेर कृषक खनाल फेरि खेती गर्ने कि नगर्ने भन्ने अलमलमा छन्। पाँच वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका उनले २०७७ सालमा कोभिड-१९ का कारण एक गाडी गोलभेंडा पनि बजारमा पुर्याउन पाएका थिएनन्। त्यो लगानी उठ्न नपाउँदै यो वर्ष बारीमै कुहिएको खनाल सुनाउँछन्। उनी भन्छन्, “पुस र माघमा उब्जनी बढी हुन्छ, तर यही समयमा व्यापारीले भारतबाट तरकारी ल्याएपछि हाम्रो उत्पादनको मूल्य मिलेन, खरीद भएन। यो वर्ष पनि डुबियो।”
देशका ७७ वटै जिल्लामध्ये धेरै तरकारी चितवनमै उत्पादन हुन्छ। पाँच हजार हेक्टरभन्दा बढी जमीनमा तरकारी खेती हुन्छ। तर, यो उब्जनीको व्यवस्थापन र बजारको मूल्य नपाउँदा किसान खेतीपाती छाड्ने जोखिम बढेको भरतपुर-१५, श्रीपुरका कृषक कर्णबहादुर सुवेदी बताउँछन्। उनी श्रीपुरमा डेढ बिघामा गाँजर लगाउँदै आएका छन्।
यस वर्षको उब्जनी बजारमा गइसकेको छैन। गत वर्ष भने गाँजर खेतीबाट लगानी पनि नउठेको उनी सुनाउँछन्। “अन्य महीनामा भन्दा पुस र माघमा उब्जनी धेरै हुन्छ, तर मूल्य नै पाइँदैन,” सुवेदी भन्छन्, “पोहोर साल प्रतिकिलो १० रुपैयाँ मात्र पाइयो।”
सुवेदीले पनि लगानी अनुसार मूल्य नपाएको बताए। कृषक खनालले जस्तै सुवेदीले पनि हिसाबकिताब दुरुस्तै राखेका छन्। उनले डेढ बिघामा गाँजर खेती गरेका छन्।
खर्च |
रु. |
ट्र्याक्टर |
४४,५०० |
बीउ |
१४,७०० |
रासायनिक मल |
३५,००० |
घरेलु मल |
३०,००० |
रोडाभेटर |
८,००० |
श्रम |
३६,००० |
औषधि |
५,००० |
बोरा |
१५,००० |
धागो |
२,५०० |
खाजा |
३,००० |
सिंचाइ |
६०,००० |
ड्रम |
१२,००० |
जम्मा |
२,६५,७०० |
यसरी डेढ बिघामा गरिएको गाँजर खेतीमा दुई लाख ६५ हजार लगानी गर्दा दुई हजार ४०० किलोग्राम उत्पादन भयो। गाँजरले अन्य समयमा प्रतिकेजी १७ देखि २० रुपैयाँ पाउँदा गत वर्ष भने प्रतिकिलो १० रुपैयाँमा बिक्री गरेको सुवेदी सुनाउँछन्। जसबाट दुई लाख ४० हजार आम्दानी भयो।
गत वर्ष २५ हजार रुपैयाँ घाटा भएको उनी बताउँछन्। “पोहोर साल उत्पादन पनि कम भयो, बजारमा पनि खास मूल्य पाइनँ,” सुवेदी भन्छन्।
गत वर्ष भएको घाटा यस वर्ष उठाउने उनको योजना थियो। तर, यस वर्ष पनि गाँजरको भाउ प्रतिकिलो १० देखि १२ रुपैयाँ मात्रै छ। किसानको लगानीको आधारमा मूल्य तोक्नुपर्ने उनी बताउँछन्। सुवेदी भन्छन्, “कम्तीमा राज्यले किसानको उब्जनीको लागत अध्ययन गरेर मूल्य तोकिदेओस्। सरकारले तोकेको भाउमा तरकारी बेच्न चाहन्छौं।”
चितवनका न्यूनतम मूल्य तोकिएको कुनै तरकारी बजार छैन। कृषक सुवेदीले भरतपुर-१५, श्रीपुरमा प्रतिकिलो १० रुपैयाँमा बेचिरहेको गाँजरको मूल्य १५ किलोमिटर टाढाको नारायणगढस्थित पुल्चोकमा प्रतिकिलो ३० रुपैयाँ छ। “धेरै नाफा चाहिंदैन, १५ रुपैयाँ लागत हुँदा १७ रुपैयाँ भए पुग्छ,” उनी भन्छन्।
अर्कातिर, बजारसम्म तरकारी पुग्ने प्रक्रिया पनि लामो भएको उनी सुनाउँछन्। किसानबाट ठेकेदार, बजारका व्यापारी, खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा किसान बाहेक सबैले नाफा लिइरहेको उनी बताउँछन्। “बिचौलियाको खेल बन्द नहुँदासम्म किसान मर्कामा परिरहन्छन्,” सुवेदी भन्छन्।
त्यसमाथि भारतबाट सस्तो मूल्यमा तरकारी आएपछि स्थानीय उत्पादनको खपत कम हुने गरेको उनी बताउँछन्। भारतबाट आउने कमसल तरकारी सस्तोमा बिक्री हुँदा स्थानीय किसानले घाटा बेहोर्नुपरेको उनको भनाइ छ। “भारतबाट आउने तरकारी रोक्नुपर्छ,” समाधानको उपाय सुनाउँदै कृषक सुवेदी भन्छन्, “सरकारले न्यूनतम मूल्य तोक्नुपर्छ। मूल्य तोक्न सकिंदैन भने स्थानीय सरकारले तरकारी सङ्कलन केन्द्र खोलोस्, हामी त्यहीं बेच्छौं।”
चितवनका किसानको यो समस्या आजको मात्रै होइन, हरेक वर्ष यस्तै हुने गरेको छ। प्रत्येक वर्ष पुस र माघमा चितवनका किसानले तरकारीको लागत मूल्य र बजार नपाउने गरेको कृषक खनाल बताउँछन्। “बजार नपाउने गरेको आठ वर्ष भइसक्यो,” उनी भन्छन्, “अर्को वर्ष पनि यस्तै अवस्था आउन नदिन सरकारले ध्यान पुर्याओस्।”