पुराना 'किल्ला' भत्किए, जितेका क्षेत्र खुम्चिए
स्थानीय तह निर्वाचनमा ठूला राजनीतिक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन्।
संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत हालसम्म ६२६ पालिकाको नतीजा आइसकेको छ। मतदाता बढी भएका, पछि निर्वाचन भएका र बीचमा विवाद भई रोकिएर मतगणना हुँदै गरेका पालिकाहरूको मतगणना भने अझै जारी छ। देशभरको पूर्ण नतीजा आउन केही दिन लाग्ने देखिए पनि हालसम्मको परिणामले अब कुन दलको ‘पोजिसन’ के हुने भन्ने तय गरिसकेको छ।
यो चुनावी परिणामबाट सत्तारूढ नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ३२२ पालिकामा जित हासिल गरेको छ भने मतगणना भइरहेका चार पालिकामा अग्रता कायम गरेको छ। २०७४ सालको स्थानीय निर्वाचनमा गुमेको विरासत फर्काउँदै कांग्रेस पहिलो दल बन्ने निश्चित भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने यो निर्वाचनबाट एक तह झरेर दोस्रो स्थानमा पुगेको छ। दुई दशकपछि २०७४ सालमा फर्काएको विरासत एमालेले पाँच वर्षमै गुमाएको छ। हालसम्म एमालेले २०२ पालिका जितेको छ भने तीन पालिकामा अग्रता लिइरहेको छ। अघिल्लो निर्वाचनमा २९४ पालिकामा जित हात पार्दै एमाले पहिलो दल बनेको थियो।
सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेको छ। २०७४ सालको निर्वाचनमा पनि माओवादी तेस्रो दल नै भएको थियो। माओवादीले १२१ पालिका जितेको छ भने एक पालिकामा अग्रता कायम गरेको छ। त्यस्तै, गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले २९ पालिका जित्दै चौथो स्थान सुरक्षित गरेको छ। तीन पालिकाको गणनामा जसपा अगाडि छ। एमालेबाट फुटेर गठन भएको गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) भने पाँचौं बनेको छ। एकीकृत समाजवादीले १८ पालिका जितेको छ भने एक पालिकामा अग्रता कायम गरेको छ।
निर्वाचनबाट दलहरूको नयाँ 'पोजिसन' बन्दै गर्दा विगतका वर्ष तथा लामो समयदेखि दलहरूले आफ्नो आधारक्षेत्र मान्दै आएका ‘गढ’ वा 'किल्ला' भने भत्किएका छन्। यो निर्वाचनबाट प्रतिपक्षी दल एमाले सबै महानगरपालिका गुमाउँदै शून्य हुने देखिएको छ।गत निर्वाचनमा ६ वटा महानगरमध्ये एमालेले पोखरा र काठमाडौं महानगर जितेको थियो।
यस पटक ६ वटा महानगरमध्ये विराटनगरमा गठबन्धनका तर्फबाट कांग्रेसका नागेश कोइरालाले जित हासिल गरेका छन् भने भरतपुरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र वीरगञ्ज महानगरमा गठबन्धनकै उम्मेदवार जसपाका राजेशमान सिंह विजयी भएका छन्। यस्तै, ललितपुर महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन र पोखरामा गठबन्धनबाटै एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम गरिरहेका छन्। काठमाडौं महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) फराकिलो मतान्तरले जिततर्फ लम्किंदै छन्।
उपमहानगरपालिकामा पनि एमालेले न्यून पालिका मात्रै जितेको छ। हालसम्म घोराही र कलैया उपमहानगरको मेयर एमालेले जितेको छ। घोराहीमा नरुलाल चौधरी र कलैयामा विनोदप्रसाद साह निर्वाचित भएका छन्। मतगणना जारी रहेको तुलसीपुर उपमहानगरमा एमालेकै टीकाराम खड्काले अग्रता कायम गरिरहेका छन्।
गठबन्धनले जम्मा ११ उपमहानगरपालिकामध्ये पाँच वटा उपमहानगर जितेको छ। जस अनुसार गठबन्धनका तर्फबाट इटहरीमा कांग्रेस उम्मेदवार हेमकर्ण पौडेल, बुटवलमा खेलराज पाण्डेय र नेपालगञ्जमा प्रशान्त विष्ट विजयी भएका छन्। गठबन्धनकै तर्फबाट हेटौंडामा एकीकृत समाजवादीकी मिनाकुमारी लामा विजयी भएकी छन् भने जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन्।
बाँकी तीन उपमहानगरमा भने स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। धरानमा हर्कराज राई (हर्क साम्पाङ), जनकपुरधाममा मनोजकुमार साह सुडी र धनगढीमा गोपाल हमालले विजय हासिल गरेका हुन्।
यो चुनावबाट दलहरूको नयाँ ‘पोजिसन’ बन्दै गर्दा सत्तारूढ दल कांग्रेसले पनि विभिन्न क्षेत्रमा आफ्नो ‘गढ’ मै पराजय बेहोरेको छ। प्रतिपक्षी दल एमालेले पनि विगतमा जितेको धेरै ठाउँ गुमाएको छ। सशस्त्र संघर्षबाट आएको माओवादीले पनि आफ्नो आधारक्षेत्र मानिने रोल्पा, रुकुम, कालिकोट लगायतका क्षेत्रमा आफ्नो विरासत गुमाएको छ।
अध्यक्ष ओलीकै पालिकामा एमाले पराजित
निर्वाचनमा दलको नेतृत्वमा रहेका नेताहरूको वडा, पालिका, क्षेत्रमा उक्त दलको पोजिसन के भयो भन्ने कुरा सर्वत्र चासोको विषय बन्ने गरेको छ। यो निर्वाचन पनि एमालेका लागि त्यस्तै देखियो। अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापास्थित गृहपालिका दमक नगरपालिकामा एमाले पराजित भयो। एमालेबाट दमकमा मेयरको उम्मेदवार गीताकुमारी अधिकारी राप्रपाका रामकुमार थापासँग पराजित भइन्।
एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको गृहपालिका मैवाखोलामा पनि एमाले पराजित भयो। यो पालिकामा अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा अध्यक्ष-उपाध्यक्ष सहित ६ वटा वडा जितेको एमाले यस पटक एउटा वडामा सीमित भएको छ।
संघीय राजधानी काठमाडौंसँगै जोडिएको काभ्रे जिल्लामा पनि एमालेले विगतको विरासत गुमाएको छ। काभ्रेका १३ वटा स्थानीय तहमध्ये एउटा पालिका मात्रै एमालेले जितेको छ। धुलिखेल नगरपालिकामा विजयी अशोककुमार व्याञ्जु काभ्रेमा एमालेबाट जित्ने एक्ला पालिका प्रमुख बनेका छन्। व्याञ्जु अघिल्लो निर्वाचनमा समेत मेयरमा निर्वाचित भएका थिए। काभ्रे एमाले नेता गोकुल बाँस्कोटाको गृहजिल्ला समेत हो। बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
अघिल्लो निर्वाचनमा धनकुटामा एमालेले क्लिन स्वीप गरेको थियो। तर, यसपालि जिल्लाका सात पालिकामध्ये एमाले तीन पालिकामा सीमित भएको छ। एमालेले धनकुटा नगरपालिका, चौबिसे गाउँपालिका, शहीदभूमि गाउँपालिका जित्दा पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिका गुमाएको छ। यी चार पालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारहरू पाख्रिबासमा ज्ञानबहादुर गुरुङ, महालक्ष्मीमा ध्रुवराज राया, छथर जोरपाटीमा छत्रबहादुर सुब्बा र साँगुरीगढीमा जितेन्द्र राई विजयी भएका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका २१ पालिकामध्ये एमाले पाँच वटा पालिकामा मात्र सीमित भएको छ। काठमाडौं र ललितपुर महानगरको मतगणना जारी छ। तर, अहिलेसम्मको नतीजाले एमाले पराजित हुने देखिएको छ।
काठमाडौंका दश, ललितपुरका पाँच र भक्तपुरका चार स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेसले १२, एमालेले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले एक–एक ठाउँमा जितेका छन्। गएको निर्वाचनमा एमालेले काठमाडौं महानगर सहित उपत्यकाका १२ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको थियो। तर, यो निर्वाचनमा महानगरमा शून्य हुँदै उपत्यकाका बाँकी पालिकाहरूमा पनि कमजोर बनेको छ।
अघिल्लो निर्वाचनमा युवा उम्मेदवार जिताएर पालिकामा राम्रो काम गरेको भनेर चर्चामा आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पनि एमाले यस पटक पराजित भएको छ। यो पालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सरोज बस्नेतले एमालेका ध्रुव राईलाई पराजित गरेका हुन्।
त्यस्तै, खोटाङको जन्तेढुंगा गाउँपालिकामा पनि एमाले पराजित भएको छ। अघिल्लो निर्वाचनमा विजयी भएको एमालेलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राईले पराजित गरेकी हुन्। एमालेका शंखरबहादुर राया पराजित भएका हुन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पनि एमालेका बालकृष्ण देउजालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आइतमान तामाङ मेयर बने। यो पालिकामा कांग्रेस र राप्रपाको चुनावी तालमेल थियो। मेलम्चीमा २०७४ सालको निर्वाचनमा एमालेका डम्बर अर्याल विजयी भएका थिए। त्यस वेला अर्यालसँग केही मतले पराजित आइतमानले यस पटक पुनः उम्मेदवारी दिएर दोस्रो प्रयासमा बाजी मारेका हुन्।
यसै गरी बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमाले तेस्रो भएको छ। यो पालिकामा माओवादी केन्द्रका नेत्रराम आचार्यलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार तिलकराम लम्साल विजयी भएका छन्। गएको निर्वाचनमा मेयरमा निर्वाचित भएका एमालेका घननारायण श्रेष्ठ यो निर्वाचनमा भने तेस्रोमा खुम्चिन पुगे।
बझाङमा पनि एमालेले दुई वटा पालिका गुमाएको छ। जयपृथ्वी नगरपालिका र छबिसपाथिभेरा गाउँपालिकामा एमालेले पराजय बेहोरेको हो। जयपृथ्वीमा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चेतराज बजालले एमालेका सुरतबहादुर सिंहलाई पराजित गरेका हुन्। २०७४ सालको निर्वाचनमा यो नगरपालिकामा एमालेका उम्मेदवारले ७४ मतान्तरले जितेका थिए। त्यस्तै, छबिसपाथिभेरामा एमालेका रामप्रसाद भट्ट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वसन्त चलाउनेसँग पराजित भए। गएको निर्वाचनमा यो पालिकाको अध्यक्ष/उपाध्यक्ष सहित पाँच वटा वडाध्यक्ष एमालेले जितेको थियो।
मुस्ताङको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा एमालेका उम्मेदवार दुई मतको अन्तरले पराजित भएका छन्। कांग्रेसका उम्मेदवार मोहनसिंह लालचनले एमालेका सञ्जयकुमार थकालीलाई पराजित गरेका हुन्। यसै गरी यसअघिको निर्वाचनमा जितेको गुल्मीको रेसुंगा नगरपालिका पनि एमालेले गुमाएको छ। कांग्रेसका खिलध्वज पन्थीले एमाले उम्मेदवार राजेन्द्र पाण्डेलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।
दार्चुलामा पनि एमालेले दुई पालिका गुमाएको छ। अपि हिमाल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) ले एमालेका धर्मानन्द सिंह मन्याललाई पराजित गरेका हुन्। यस्तै, नौगाड गाउँपालिकामा एमालेका प्रेमसिंह धामीलाई पराजित गर्दै सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार दलजित धामी अध्यक्ष निर्वाचित भएका छन्।
डोल्पाको दुई गाउँपालिकामा भने एमालेले मनोनयन नै दर्ता गराएन। अघिल्लो निर्वाचन जितेको काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। यी दुवै पालिकामा अघिल्लो निर्वाचन एमालेले जितेको थियो।
चितवनको खैरहनी नगरपालिका पनि एमालेले गुमाएको छ। एमालेले २५ वर्षदेखि आफ्नो गढका रूपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन्। २०५४ सालमा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित भएका पूर्व सांसद समेत रहेका एमालेका लालमणि चौधरी यस पटक ८५० मतान्तरले पराजित भए।
अघिल्लो निर्वाचन जितेको रोल्पाका दुई पालिकामध्ये एउटा पालिकामा एमाले पराजित भएको छ। रुन्टिगढी गाउँपालिका एमाले तेस्रो स्थानमा झरेको छ। यो पालिकामा कांग्रेसका जनक पुनले माओवादी केन्द्रका गोविन्द पुनलाई पराजित गरेका हुन्। एमालेले त्रिवेणी गाउँपालिकामा जित हासिल गरेको छ।
दैलेखमा पनि एमालेको गढका रूपमा चिनिएका र २०७४ को निर्वाचनमा उसले जितेका पालिकाहरू गुमाएको छ। त्यस वेला एमालेले जितेका चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, ठाँटीकाध गाउँपालिकामा यस पटक कांग्रेसले जितेको छ।
मधेशमा सुधारिएको एमाले
स्थानीय तहको चुनावी नतीजाले पहिलो दलबाट दोस्रो दलमा झरेको एमालेले केही स्थानमा भने मत बढाएको छ। गएको निर्वाचनमा पाँचौं स्थानमा खुम्चिएको एमाले यो निर्वाचन मार्फत मधेशमा दोस्रो दल बनेको छ। यो समाचार तयार पार्दासम्म मधेश प्रदेशका १३६ पालिकामध्ये १२६ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिलेसम्मको परिणाम अनुसार, मधेशमा कांग्रेस ४३, एमाले २६, जसपा २४, लोकतान्त्रिक समाजवादी पार्टी १४, माओवादी केन्द्र नौ, एकीकृत समाजवादी चार, जनमत पार्टी दुई, विवेकशील साझा एक र स्वतन्त्रले एक तहको प्रमुखमा जित हात पारेका छन्।
कांग्रेस २०७४ को जितलाई कायम राख्दै यस पटक पनि मधेशमा पहिलो दल बनेको छ भने २६ पालिका प्रमुख जित्दै एमाले दोस्रो स्थानमा छ। २०७४ मा २६ पालिका प्रमुख जितेको तत्कालीन मधेशी जनअधिकार फोरम (अहिलेको जसपा) ले २४ पालिकामा जित निकालिसकेको छ।
तर, मधेश प्रदेशमा यो निर्वाचनमा माओवादी केन्द्र र लोसपाको मत निकै कमजोर देखिएको छ। गत निर्वाचनमा २१ पालिका प्रमुख जितेको माओवादीले अहिलेसम्म नौ पालिका मात्रै जितेको छ भने तत्कालीन राजपाको प्रतिनिधित्व गरेर २५ पालिका जितेको लोसपाले जम्मा १४ पालिका प्रमुखमा मात्रै जित निकालेको छ।
कांग्रेसले पनि गुमायो 'गढ'
केही पालिकाको नतीजा आउन बाँकी रहँदा सत्तारूढ दलहरूले चुनावी गठबन्धन सफल भएको प्रतिक्रिया दिएका छन्। अघिल्लो निर्वाचनमा दोस्रो दल बनेको कांग्रेस यो निर्वाचनबाट आफ्नो स्पष्ट बहुमत सहित पहिलो स्थान बनाउन सफल भएको छ। तर, कांग्रेसले पनि विगतमा ‘गढ’ मानिंदै आएका क्षेत्रहरू गुमाएको छ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस पराजित भएको विषय चर्चाको विषय बन्यो। डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेस बीपीका उम्मेदवार नरेश भण्डारी ३५ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन्। यो क्षेत्रमा कांग्रेस बीपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो।
कांग्रेस नेता डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा पनि कांग्रेसले अघिल्लो निर्वाचनको उपलब्धि गुमाएको छ। कांग्रेसले अघिल्लो निर्वाचनमा भत्काएको 'लाल किल्ला' यसपालि एमालेको पोल्टामा सुम्पिएको छ। लेटाङ र केराबारीमा एमालेले जितेको छ। अघिल्लो निर्वाचनमा पाँच पालिकामा सीमित एमालेले यस निर्वाचनमा भने दुई पालिका गुमाउँदै ६ पालिका थपेर नौ पालिका जितेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका लेटाङ, केराबारीसँगै उर्लाबारी, सुनवर्षी, सुन्दरहरैंचा जित्न एमाले सफल भएको छ। त्यसै गरी माओवादी केन्द्रले जितेको रंगेली पनि एमालेले जितेको छ। एमालेले अघिल्लो निर्वाचन जितेको ग्रामथान र मिक्लाजुङ भने यो निर्वाचनमा कांग्रेसले जित हासिल गरेको छ। २०७४ को निर्वाचनमा नौ पालिका जितेको कांग्रेस यो निर्वाचनमा भने आठ पालिकामा सीमित भएको छ।
त्यसै गरी कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्रमै कांग्रेस पराजित भएको छ। गएको निर्वाचन हारेको सुनसरीको रामधुनी र गढीमा एमालेले यसपालि कांग्रेसलाई पाखा लगाउँदै साख फर्काएको हो। गच्छदारको आधार क्षेत्र गढी र रामधुनीमा विगतमा कांग्रेसले जित्दै आएको थियो। गढी गाउँपालिकामा कांग्रेसका महेश दत्तलाई पराजित गर्दै एमालेका आशनारायण चौधरी निर्वाचित भएका छन्। रामधुनी नगरपालिकामा पनि एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ।
बझाङको साइपाल गाउँपालिका पनि कांग्रेसको हातबाट गुमेको छ। यो पालिकामा एमालेका मानबहादुर बोहराले कांग्रेसका उज्ज्वल बोहोरालाई पराजित गरेका हुन्। यसै गरी अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा यस पटक एमाले विजयी भएको छ। एमाले उम्मेदवार किशोर लिम्बू कांग्रेसका गोपालदत्त भट्टलाई पराजित गर्दै नगरप्रमुख निर्वाचित भएका हुन्।
२०७४ को निर्वाचनमा जितेको जुम्लाको चन्दननाथ नगरपालिका पनि यसपालि कांग्रेसले जोगाउन सकेन। यो पालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले कांग्रेसका पदमबहादुर शाहीलाई पराजित गरेका हुन्।
दैलेखको नौमुले गाउँपालिकामा पनि कांग्रेस उम्मेदवार पराजित भएका छन्। माओवादी केन्द्रका छविराम सुवेदीले कांग्रेसका भदे बुढामगरलाई पराजित गरेका हुन्। गाउँपालिका उपाध्यक्षमा भने नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। यो पालिकामा माओवादी र समाजवादीको गठबन्धन थियो।
बाराको निजगढ नगरपालिका पनि कांग्रेसले गुमाएको छ। एमालेका सुरथ पुरीले कांग्रेसका सुरेशकुमार खनाललाई पराजित गरेका हुन्। यो पालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल थियो। २०७४ को निर्वाचनमा निजगढको मेयर कांग्रेसले जितेको थियो भने एमालेले उपमेयर जितेको थियो। त्यति वेला पनि यो पालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल थियो।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका पनि कांग्रेसले गुमाएको छ। सरावलको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका सुखाडीप्रसाद चौधरीले कांग्रेसका अनिलकुमार पौडेललाई पराजित गरेका हुन्।
नवलपुरमा पनि विगत लामो समयदेखि गढ मानिएका तीन पालिका कांग्रेसले गुमाएको छ। विनयी त्रिवेणी, बौदीकाली, बुलिङटार गाउँपालिका कांग्रेसले गुमाएको हो। यी पालिकाहरूमा विगतमा कांग्रेसले जित्दै आएको थियो। यस पटक यी तीन वटै पालिकाहरूमा एमाले उम्मेदवार विजयी भएका छन्। विनयी त्रिवेणीको अध्यक्षमा घनश्याम गिरी, बौदीकालीमा प्रकाश ओझा र बुलिङटार गाउँपालिकामा २८ वर्षे इन्जिनीयर दिपेन्द्र सुनारी मगर निर्वाचित भएका छन्। बुलिङटारमा यसअघि एमालेले जित्न सकेको थिएन।
म्याग्दीको मालिका गाउँपालिका पनि पनि कांग्रेसले गुमाएको छ। एमालेका उम्मेदवार वेगप्रसाद गर्वुजा मगरले कांग्रेसका श्रीप्रसाद रोकालाई पराजित गरेका हुन्। अघिल्लो निर्वाचनमा जित हासिल गरेको मुस्ताङका तीन वटा पालिकामा कांग्रेस पराजित भएको छ। थासाङ, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कांग्रेसले गुमाउँदा यी तीन वटै पालिका एमालेले जितेको छ। थासाङमा प्रदीप गौचन, लोमान्थाङमा टसी न्हुर्वु गुरुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। अघिल्लो निर्वाचन जितेको रोल्पाको लुङ्ग्री गाउँपालिकामा पनि यस पटक कांग्रेस पराजित भएको छ।
उद्गमस्थलमा कमजोर माओवादी
सशस्त्र संघर्षबाट आएको माओवादी केन्द्र आफ्नो उद्गमस्थलमै कमजोर देखिएको छ। माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिने रोल्पा, रुकुम र कालिकोटमा यो निर्वाचनको नतीजाले ऊ कमजोर देखिएको हो। माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिने रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसले विजयको झण्डा फहराएको छ। कांग्रेस रोल्पाका जिल्ला उपसभापति समेत रहेका हरिबहादुर पुनमगर गंगादेवको अध्यक्षमा निर्वाचित भएका छन्। हरिबहादुरले एमाले उम्मेदवार रोशनकुमार वलीलाई पराजित गर्दा गंगादेवमा माओवादी तेस्रो थानमा झरेको छ। केन्द्रको पाँच दलीय गठबन्धन रोल्पामा लागू नभएपछि गंगादेवमा कांग्रेस, एमाले र माओवादी-एकीकृत समाजवादीको गठबन्धन चुनाव लडेका थिए।
यस्तै, अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा माओवादीले विगतको पकड गुमाएको छ। सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामा माओवादी पराजित भएको छ। मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसीले माओवादीका वसन्तकुमार शर्मालाई १३ मतको झिनो अन्तरले पराजित गरेका हुन्। रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा मगरले माओवादीका चन्द्रबहादुर केसीलाई पराजित गरेका छन् । योसँगै रुकुम पश्चिममा माओवादीले अघिल्लो निर्वाचनमा जितेका दुई पालिका गुमाएको छ। पूर्वी रुकुममा भने माओवादीले निरन्तर जित्दै आएको छ।
कालीकोटको तिलागुफा नगरपालिका पनि माओवादी केन्द्रले गुमाएको छ। एमाले र कांग्रेसको गठबन्धनले यहाँ माओवादीलाई पराजित गरेको हो। कांग्रेसका शंकर प्रसादले माओवादीका दिनेश चँदारालाई पाखा लगाएका हुन्। कालिकोट कर्णालीका पूर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला हो।
त्यस्तै, माओवादीको गढ मानिने धनुषाको शहीदनगरमा पनि माओवादीले अघिल्लो निर्वाचनको उपलब्धि गुमाएको छ। यो निर्वाचनमा शहीदनगरमा जसपाले मेयर र कांग्रेसले उपमेयर जितेको छ। माओवादीको अर्को गढ मानिएको पालिका तनहुँको बन्दीपुर गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका सुरेन्द्रबहादुर थापाले माओवादी केन्द्रका पूर्णसिं थापालाई पराजित गरेका हुन्।
पर्साको ठोरी गाउँपालिकामा माओवादीको विरासत तोड्दै एमाले विजयी भएको छ। एमालेका लालबहादुर श्रेष्ठले २०७४ सालको निर्वाचनबाट अध्यक्ष निर्वाचित माओवादी केन्द्रका पदमलाल श्रेष्ठलाई पराजित गरेका हुन्। अघिल्लो निर्वाचन जितेको मोरङको रंगेली पनि माओवादीले गुमाएको छ। यहाँ एमालेका उम्मेदवार विजयी भएका छन्।