हामी भेडा होइनौं
लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन।
बन्द कोठामा राजनीतिका बाह्रमासे जुवाडेहरूले कौडा हानिरहेकै बखत शहरमा आगो सल्कियो। वेवास्ता गरेरको एक झिल्कोले शहर सल्काएपछि केहि थान जुवाडे झल्याँस्स ब्युँझिएका छन्।
काठमाडौं शहर मात्र होइन, नेपालभरि नागरिकको मतको लौराले सोठ्याएपछि मदहोस जुवाडेहरू तिलमिलाउन थालेका छन्। राजनीति, मिडिया, बौद्धिक वर्ग र प्रशासन सबै मिलेर बनाएको अहङ्कारको लंकामा आगो लाउन एकपछि अर्को पात्र मैदानमा देखा परिरहेका छन्। नागरिक अभिमतको मूल्य नबुझी दलीय निरङ्कुश गठबन्धनमा रमाएकाहरूको एक्कासि होस आएको छ।
उनीहरूको लोकतान्त्रिक संरचना यति खेर खतरामा पर्न थालेको छ। नेताका गोजीमा लुसुक्क बसेका बौद्धिक विश्लेषकहरू फुत्त फुत्त निस्केर अखबारका पाना भरिरहेछन्। मतदाताहरूलाई भनिरहेछन्– तिमीहरू स्वाँठ–ल्वाँठ; लोकतन्त्रको मर्म नबुझ्ने भेडाहरू। चुनावको अघिल्लो दिनसम्म मतदाताको छनोटको अधिकारमाथि धावा बोल्दै थिए दलका नेताहरू। लोकतान्त्रिक प्रणाली त्यति वेला कता पानी खान गएको थियो?
काठमाडौंमा बालेन साहले लिएको अप्रत्याशित अग्रता र देशभरिमा स्वतन्त्र र ताजा अनुहारले देखाएको कमाल राजनीतिका बाह्रमासे खेलाडीहरूलाई चित्तै बुझेको छैन। रन्थनिएर बर्बराउन थालेका छन्। के यी सदाबहार खेलाडीले भने जस्तै जनता भेडा हुन्? काठमाडौं इन्द्रचोकका एक व्यापारीलाई एक यूट्युब पत्रकारले सोधे, “तपाईंहरू त हावाको तालमा स्वतन्त्र उम्मेदवारको पछि लागेको रे त! लोकतान्त्रिक प्रणालीलाई मतदाताले बुझेनन् रे! एउटा मान्छेले जितेर सबै थोक हुन्छ?”
स्थानीय व्यापारीको उत्तर यस्तो छ, “हामीलाई हाम्रो मतको महत्त्व थाहा छ। पटक पटक सबैलाई मौका दिएको हो। हामीले आफूले छानेको मान्छे रोज्न पाउनु लोकतन्त्र हो। एकै पटकमा सबै थोक खोजेको छैन। काठमाडौं व्यवस्थित होस्। हामीले हाम्रो काम सुबिस्ताले गर्न पाऔं। कसैले जित्दैमा थालमै भात आइपुग्छ भनेर भोट दिएको होइन। हामीलाई भेडा भन्नेलाई थाहा होस्, हामी भेडा होइनौं।”
नागरिक केवल एक भोट होइन। एक विचार, दर्शन र सिद्धान्त हो। यति कुरा चुनाव पहिला नबुझ्नेलाई मत परिणामपछि मात्र कसरी थाहा भयो? वैचारिक राजनीतिको होश कसरी आयो? जनतालाई भेडा भन्ने महामानवहरूको हिसाबकिताब शुरू भएको छ। नतीजा पाउने नै छन्।
मतगणनाको मेसोमा न्यूरोडका एक तन्नेरी बानेश्वरमा अड्डा जमाएर बसेका थिए। उनलाई पनि कसैले प्रश्न गर्यो, “नेवार भएर पनि मधेशीलाई यत्रो समर्थन?”
तन्नेरीले जवाफ दिए, “जातभन्दा माथि विकास हुन्छ।” काठमाडौंका तन्नेरीहरूमा नेवा र मिथिलाका युवा नेताले शहर सम्हालेको हेर्ने रहर मौलाइसकेको छ। वीरगञ्जको मितेरी पुलपारि गएर नाकाबन्दीलाई सघाउन धर्ना बसेकालाई भने पोलेको छ। समावेशिता नारामा होइन, व्यवहारमा हुन्छ; कान्तिपुरी नगरीले सुटुक्कै मतपेटिकामा भनिदियो। हल्ला शहरभरि फैलियो। दलहरूको अत्याचारमा दिक्दार भएका मानिसहरूलाई एकछिन खुशी हुन दिनुस्। खबरदारीको वेला हुँदै छ।
नागरिक मतले देखाएको विवेक
दशकौंदेखि अलमल र जालझेलको राजनीतिले दिक्दार भएका नागरिकले यो पटक थोरै उमङ्ग बाँच्न पाएका छन्। धेरै ठूलो कुरा खोजेका छैनन्। उम्मेदवारहरूको साना साना व्यावहारिक योजनामा आश साँचेका छन्। राम्रो काम गर्नेलाई जनताले मूल्याङ्कन गरेर बसिरहेका हुन्छन्। भक्तपुरमा भारी मतान्तरले जितेका उम्मेदवारलाई हेरे हुन्छ।
राम्रो कामलाई दोहोर्याएर अनुमोदन गरिदिन्छन् भन्ने कुरा ललितपुरका चिरिबाबु महर्जनलाई हेरे हुन्छ। देशभरिमा कति उम्मेदवार होलान् जसले दोहोरिएर उठ्दा यो हैसियत राख्लान्। मतगणना स्थलमा दोस्रो पटक उभिएर मुस्कुराउँदै आफूले गरेका काम, जनताले गरेको माया बताउन सक्ने चिरिबाबु जस्ता कति जनप्रतिनिधि छन् ?
मानिसहरू यस्तै लायकहरूको हातमा लोकतन्त्रको साँचो सुम्पन चाहन्छन्। लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन। मानिस हावा वा लहरको पछि छैनन्। उमेरको पछि मात्र पनि छैनन्। नत्र चिरिबाबु कसरी दोहोरिए? र्यापर वा ग्ल्यामरको पछि पनि छैनन्। मानिसहरूले के खोजिरहेछन्, हातमा लगाएको नीलो मसीले सुटुक्कै भनिसक्यो। उनीहरूको विचार शङ्खध्वनि बनेर गुन्जेको छ। मन पर्दैन कान थुन्नुस्। नागरिक मतको अवमूल्यन नगर्नुस्।
एमाले नेता रघु पन्तले भने जस्तो काठमाडौंंमा बालेन दलहरूको विरुद्धमा उठेका होइनन्। नागरिकका लागि उठेका हुन्। नागरिकले मत आफ्ना लागि हालेका हुन्। दलहरूको विरुद्धमा होइन। दलहरू के भगवान्का अवतार हुन् र, नागरिकहरू चरणदास भएर बसिरहनुपर्ने?
यी मानिस आए भने काम गर्न सक्दैनन् भन्ने पन्त र पन्त जस्ता मानिसहरूको कुराबाट हामीले बुझ्छौं– दलको ‘सिन्डिकेट’ भित्र नबस्ने मानिसलाई हामीले गरिखान दिंदैनौं।
दलीय सिन्डिकेट विना राजनीति मात्र होइन, कुनै पनि पेशाले एक कदम अघि बढ्न नसक्ने स्थिति भइसकेको छ। व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य विकास जहींतहीं दलको पासोमा नागरिक छन्। लोकतान्त्रिक संयन्त्रको नाम लिंदै गलामा पासो लाउँदै गरेपछि नागरिक फुत्कन खोज्छ।
लोकतन्त्रमा नागरिक सार्वभौम हो भन्ने कुरा मत परिणाम आउँदै गर्दा दलहरू र बौद्धिक बिर्संदै गएको देखिन्छ। नागरिक सर्वोच्चताको रक्षा गर्न नसक्ने दलहरूको रक्षा गरेर बस्न नागरिकले खाँचो ठानेको छैन। राजनीतिक दल जोगाउन केही भरौटे, झोले मात्र भएर पुग्दैन। नागरिक चाहिन्छ। जनता खोला हो। दलहरूलाई तिर्खा लागेको छ भने खोलातिर धाउने हो। खोला किन हामीकहाँ आएन भनेर विक्षिप्त हुँदै रिसाउने होइन।
धरानमा एक साधारण नागरिक दलीय सिन्डिेकटलाई आच्छु आच्छु पारेर मेयरको दौडमा छन्। उनै हर्क साम्पाङ एक वर्षअघि नदी दोहनको विरुद्धमा उत्रिंदा दलीय सिन्डिकेटको आक्रमणमा परेका थिए। नदीको बहावका लागि उनले खप्परबाट रगत बगाएका थिए। आज नागरिकले मत पुरस्कार दिइरहेछन्। आफ्नो मत कति अमूल्य हो भनिरहेछन्।
अघिल्लो स्थानीय चुनावमा नदी दोहन गर्नेहरू निर्वाचित भए। स्थानीय स्तरका देशभरका धेरै निकायहरू ठगहरूले भरिएको जनताले महसूस गरे। ठगहरू राजनीतिमा पसेर ठगीधन्दालाई संरचनागत रूपमै मलजल गर्दै थिए। यो पटक मानिसहरूले चूपचाप विद्रोह गरेका छन्। जनकपुरमा मेयरको दौडमा स्वतन्त्र उम्मेदवारले तरङ्ग ल्याएका छन्। कमला नदी जोगाउन खोज्दा हत्या गरिएका दिलीपकुमार महतोको ज्यान जोगिएको भए हामीले जनप्रतिनिधिका रूपमा देख्न पाउँथ्यौं कि?
अब आउने चुनावहरूमा नागरिक सतर्कता अझै बढेर जानेछ। यसै पनि स्थानीय निकाय दलीय दबदबाबाट मुक्त हुनुपर्छ। त्यही स्थानीय निकायमा दलका ठगहरूको मनपरी बढेपछि त्यसलाई सच्याउने काम नागरिकको हो। जनताका लागि दलहरू हुन्। जनता दलहरूका लागि होइनन्। दलहरूमा कस्ता मान्छे हावी भइरहेछन्, उनहिरूले गहिरो गरी नियाल्दै छन्। नागरिकहरूले विवेक देखाइरहेछन्। दलहरू सच्चिनुको विकल्प छैन।
लोकतन्त्रलाई कसले पार्यो खतरामा?
यता बौद्धिकहरूले लोकतान्त्रिक संरचना खतरामा परिरहेको भनिरहेछन्। देशैभरिबाट दलका लोकतन्त्र रक्षकहरूका रङ्गीन समाचारहरू आइरहेछन्। नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व वडाध्यक्ष फोनमा बोल्छन्, “पृथ्वी सुब्बाले बोलेपछि बोल्यो। भोलि बिहान म आफैं आउँछु पत्रिकामा पैसा बेरेर।”
अहिले अध्यक्षको चुनाव लडिरहेका बद्रीप्रसाद ढुंगानाका लागि उनी आधा रातमा फोन संवाद गर्छन्। पैसाको चिन्ता नलिन मतदातालाई ढुक्क बनाउँछन्। दुई लाखमा पच्चीस भोटको डिल हुन्छ। फोन संवाद सकिन्छ। आहा! लोकतान्त्रिक संरचना जोगाउने कति महान् कार्य! नुवाकोटको गठबन्धनको राजनीतिक तमासा हो यो!
यस्ता महान् कार्यका नमूना एक ठाउँबाट होइन, अनेक ठाउँबाट आइरहेछन्। पोखरामा एमाले र फुटेका एमालेको अडियो काण्ड अर्को नमूना हो। डेढ सय भोट सहित अन्तर्घात गर्ने योजना अडियोमा सुनिन्छ। भाषा मिलाई मिलाई पैसाको डिलिङ गरेको बुझिन्छ।
अब जाऔं रोल्पातिर। गंगादेव-५ मखानेटारका तुलाराम वली कचहरीतिर जाँदै छन्। माओवादी केन्द्रले बोलाएको कचहरी छ गाउँमा। चुनावको वेला चियापानी खाऊ भनेर दिएको पैसा फिर्ता माग्न बोलाएका रे! चुनाव हारेपछि मानबहादुर नामका उम्मेदवारले पैसा फिर्ता माग्न बोलाएका छन्। तुलाराम भन्छन्, “आउन त हामीकहाँ सबै आउँछन्। हामीले भोट दिन्नौं कसैलाई भन्दैनौं। हारेपछि पैसा मागे!”
यति भन्दा उनी मुसुमुसु गरेको यूट्युब भिडिओमा देखिन्छ। जनतालाई भेडा ठानेर किन्न खोज्ने नेतालाई जिल्याएकोमा उनलाई हर्ष पनि छ। कचहरी धाउन परेकोमा विस्मात पनि। यस्ता यस्ता नमूना काण्डहरू जनताले हेरेर, सुनेर बसेका छन्। अर्कातिर काठमाडौं महानगर जस्तो ठाउँमा एउटा सानो चुस्त टोलीको भरमा, बालेनले डेढ लाखमा चुनावी काम फत्ते गरेका छन्। जनतालाई भेडा ठानेर जनता किन्न हिंडेका छैनन्।
देशभरि धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारहरू मानिस किनबेच नगरी विजयी भइरहेका उत्साहजनक समाचार आइरहेछन्। स्थानीय सरकारको मोर्चा युवाहरूको काँधमा जाँदै गरेको देखिन्छ। यो सबै हुँदै गर्दा जनताको मनमा उत्साह छ। मरिसकेको आशमा पालुवा पलाएको छ। यो परिणाम दलीय सिन्डिकेटलाई सिस्नो भएको छ। कति विश्लेषकहरू अहिलेको पुस्ताले परिणाममुखी राजनीति होइन, हस्तक्षेपकारी राजनीति मात्र मन पराउन थालेकोमा चिन्ता पोख्दै छन्। आजसम्मको दलीय सिन्डिकेटले दिएको परिणाम के हो? पहिला उनीहरूले यो प्रश्नको उत्तर खोजून्।
उनीहरूले सोचेभन्दा ठीक उल्टो अहिलेको पुस्ता परिणाममुखी राजनीति चाहन्छ। भोटका लागि जे पनि गर्ने, जति पनि गिर्ने संरचनागत हेपाइलाई बहिष्कार गर्छ। पकेटबाट फुत्त टिकट निकालेर पैसामा भोट किन्दै हिंड्नेले कस्तो लोकतान्त्रिक प्रणालीको जगेर्ना गरिरहेछन्? यो प्रश्नको उत्तर हरेक राजनीतिक दल र तिनलाई मलजल गर्ने कोटरीका बौद्धिकहरूले दिनुपर्छ। पेशेवर बौद्धिकहरूले नागरिकको मत अधिकारको न्यूनतम मर्यादा पनि गर्न सकेको देखिंदैन। आफूकहाँ शिर झुकाएर आशीर्वाद लिन आउनेहरूलाई मात्र, नेता र बौद्धिकले मन पराएको देखिन्छ।
मुखमा लोकतन्त्र र गणतन्त्र चरित्रमा सामन्त। अहिलेको दृश्य यही हो। यही नवसामन्तवादीहरूको बलमिच्याइँ विरुद्धको विद्रोह अहिले देखिएको मत परिणामको सङ्केत हो। दलीय सिन्डिकेटले समाजले पत्याएको, समाजको हित गर्ने मानिसलाई टिकट दिंदैन। कोसँग कति पैसा छ, हेर्छ। कति छलछाम र गुन्डागर्दी जानेको छ, त्यो हेर्छ। लोकतन्त्र जोगाउन उसैको मुख ताक्छ। अनि आशलाग्दा मानिसहरू, राज्य संरचनामा कसरी जाने? कि यो सबै बदमासी टुलुटुलु हेरेर बस्ने?
हरकोहीले दल खोल्दै हिंड्न सक्दैन। उसो भए भनिदिनुस्– गाउँ–शहर राम्रो बनाउने सम्भावना भएको व्यक्तिको प्रवेशद्वार के हो? स्वतन्त्र उम्मेदवारमा उठेर मानिसहरूले के बिराए? काठमाडौंका स्वनामधन्य बौद्धिकहरूले बालेनको मत बढिरहँदा यसरी सरापिरहेछन्, मानौं उनी अपराधी हुन्। संरचनागत भ्रष्टाचार र अपराध गर्ने दलका गुन्डाहरू लोकतन्त्रका रक्षक कसरी भए? बालेन र उनलाई मत दिने नागरिक लोकतन्त्रका खतरा कसरी भए? तपार्ईंलाई मात्र आउँछ– लोकतन्त्रको परिभाषा?
अहिले आइरहेको नतीजाका आधारमा दलीय सङ्कीर्णता मतदाताहरूमा हट्दै गएको प्रस्ट देखिन्छ। बानेश्वरमा एक महिलाले भनिन्, “म कट्टर एमाले, मेरो परिवार एमाले। मैले भोट बालेनलाई हालें।” उनीसँगै उभिएका अर्का युवाले आफू कट्टर कांग्रेसी भए पनि भोट बालेनलाई हालेको बताए। चुनाव आयो कि कांग्रेस र कम्युनिष्टको रगडाझगडा, अब मत्थर हुँदै जान थालेको देखिन्छ। कट्टर पार्टी समर्थकहरू पनि दलीय दबदबाको विकल्प खोज्दै हिंडेको भेटिन्छ।
अघिल्लो चुनावमा स्थानीय निर्वाचनमा उठेका ठेक्कापट्टाका ठगहरूले राजनीतिलाई राम्रैसँग धमिल्याएको देखिन्छ। नेपालमा कि कांग्रेस हुन्छ कि कम्युनिष्ट हुन्छ भन्ने उखान फेरिंदै छ। उम्मेदवार कि पैसावाल हुन्छ कि ठेकेदार हुन्छ भन्ने भाष्य यो चुनावले फेर्दै छ। फलानो ठाउँ कांग्रेसको पकड, ढिस्कानो ठाउँ लालकिल्ला, दलहरूको यस्तो अभिमान आत्थु आत्थु भएको छ। अर्को पाँच वर्षमा यो अझै बढेर जानेछ। मानिसहरू कांग्रेस-कम्युनिष्ट कम, मानिस ज्यादा हुनेछन्। मानिसहरूको विचार कसैको सन्दुकको खजाना होइन। वैचारिक सर्वोच्चतालाई स्वीकार गर, सम्मान गर।