मतदाताको रुचि दल होइन, व्यक्ति
बालेनहरूले चुनावमा बढी मत पाउनुलाई संयोगका रूपमा बुझ्नु चुनाव मार्फत देशको राजनीतिक स्वास्थ्य जाँच्ने परिपाटी अस्वीकार गर्नु हो।
राजनीति मूलतः विचारधाराको प्रतिस्पर्धा हो। निश्चित विचारधारा र सिद्धान्तका आधारमा राजनीतिक दलको स्थापना र सञ्चालन हुने गर्छ। नेपाली कांग्रेसको स्थापना लोकतन्त्र, उदारता र समाजवादका लागि भएको हो भने कम्युनिष्ट पार्टीहरू समाजवाद र साम्यवाद स्थापनाको उद्देश्यले बनेका हुन्।
व्यक्ति, परिवारदेखि राज्यका अनेक अवयवबारे फरक फरक वैचारिक कोण भएका यी दलले संगठन, प्रचार र राजनीतिक गतिविधि मार्फत जनतालाई आफ्नो विचारधारामा सहमत बनाउँछन्। आफ्नो सिद्धान्तप्रति जनताबाट प्राप्त समर्थनका आधारमा राजनीतिक दलले फरक फरक तरीकाबाट समाजमा परिवर्तन र अगुवाइ गर्छन्।
यसका लागि केही राजनीतिक दल शान्तिपूर्ण संघर्षबाट राज्यसत्ता हातमा लिनुपर्ने विचार राख्छन् भने कोही सशस्त्र संघर्षबाट। यद्यपि, दलहरूले राजनीतिक परिस्थिति, सामाजिक–चेतनास्तर, देशको ऐतिहासिक विकासक्रम र अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा राजनीतिक कार्यनीति बदल्न सक्छन्।
नेपालका दलहरूले राजनीतिक विचारधारा अनुसार काम नगर्दा आज राज्य सञ्चालनको मूल शक्ति भनिएकाहरूभन्दा स्वतन्त्र व्यक्तिहरूप्रति जनताको आकर्षण बढ्दै गएको देखिन्छ। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको मतले यही सङ्केत गर्छ। उनको जित–हार अझै मतपेटिकाभित्रै कैद छ। तर‚ उनले अहिलेसम्म जति मत पाए, त्यो मुख्य राजनीतिक दलहरूप्रति संघीय राजधानीवासीको वितृष्णाको परिणाम रहेकोमा दुई मत नहोला।
बालेनहरूले चुनावमा बढी मत पाउनुलाई संयोगका रूपमा बुझ्नु चुनाव मार्फत देशको राजनीतिक स्वास्थ्य जाँच्ने परिपाटीलाई अस्वीकार गर्नु हो।
पञ्चायतकालपछिकै हिसाब गर्दा पनि दलहरूले तीन दशक शासन गरिसकेका छन्। यो अवधिमा मूलतः कांग्रेस, एमाले, माओवादी लगायतले बारम्बार सरकार चलाए। चुनावी प्रतिस्पर्धामा पनि यिनैले अधिक मत पाउँदै आएका छन्। तर, यसपालि राजधानीमा ती दलले ‘बलिया’ भनेर उम्मेदवार बनाएका व्यक्तिलाई जनताले पत्याएको देखिएन।
जमाना ‘पब्लिक अडिट’ को छ। राजनीतिक दलले कसैलाई उम्मेदवार भन्दैमा मतदाताले खुरुखुरु मत हाल्दैनन्। सञ्चारक्षेत्रको व्यापक विकासले हिजोआज सार्वजनिक क्षेत्रमा आउने जोकसैको विस्तृत परीक्षण हुने गरेको छ। जनतालाई कुनै कुरा लुकाउन सहज छैन। सामाजिक सञ्जालको व्यापकताले जुनसुकै उम्मेदवारको खोट व्यक्ति व्यक्तिलाई थाहा हुने अवस्था छ। ठीक त्यसै गरी व्यक्तिका सकारात्मक पक्ष पनि व्यापक बन्न सक्छन्। प्रजातान्त्रिक समाजको एउटा सकारात्मक पक्ष पारदर्शिता पनि हो।
त्यसो त सामाजिक सञ्जाल वा समग्र सञ्चार माध्यम आफैं पनि समाज र राजनीतिबाट निरपेक्ष छैनन्। तिनलाई तटस्थ शक्तिका रूपमा बुझ्नु आदर्श सोचाइ मात्र हो। सञ्चार माध्यम आफैंले पनि राजनीतिमा कसलाई माथि उठाउने/नउठाउने भन्नेमा भूमिका खेल्न सक्छन्। विशेषतः अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जाल यस्तो मामिलामा अग्रसर छन्। जे भए पनि चुनावमा उम्मेदवार बनेकाहरूबारे समाजमा खुला संवाद विस्तार हुँदै छ। यस्तो पारस्परिक क्रियाले राजनीतिमा कसी लगाउँछ। दलभन्दा पनि व्यक्ति हेरेर मत दिने परिपाटी बस्छ।
पञ्चायत विरोधी संघर्षमा राजनीतिक दल र विचारधाराप्रति जनताको जस्तो आकर्षण थियो, आज छैन। दललाई विचारधाराका आधारमा लेखाजोखा गर्दा जनता धेरै पटक झुक्किए। मतदाताले राजनीतिक दलको चुनाव चिह्न हेरेर मत दिंदा ठगिएको अनुभव गरे। फलस्वरूप आज दलभन्दा उम्मेदवार हेरेर मत दिनुपर्ने तर्क बलियो बन्दै छ। पाँच वर्षअघि रञ्जु दर्शना र अहिले बालेन साहले ल्याएको मतको पृष्ठभूमि यही हो।
कम्युनिष्ट पार्टीभित्र न मार्क्सवादबारे छलफल भइरहेको छ न त कांग्रेसभित्र उदारताका पक्षमा। यस्ता बहस सीमित रूपमा ‘किताबी किरो’ र ‘लेखनदास’ बनेका केही नेता–कार्यकर्ताबीच हुने गरेको छ।
यस्तो परिस्थिति प्रबल बन्दै जाँदा देशमा दलीय व्यवस्था कमजोर हुनेछ‚ जुन बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका निम्ति सुपाच्य पक्कै होइन। दलीय व्यवस्थामा दल कमजोर हुनु सिङ्गो व्यवस्था कमजोर बन्दै जानु हो। बालेनहरूले चुनावमा बढी मत पाउनुलाई संयोगका रूपमा बुझ्नु चुनाव मार्फत देशको राजनीतिक स्वास्थ्य जाँच्ने परिपाटीलाई अस्वीकार गर्नु हो। दलले जनतासामु व्यक्त गरेका विचारधारा र व्यवहार मेल नखाँदा आज चुनावमा विचारधाराबारे कम, व्यक्तिको चरित्रबारे बढी छलफल हुन्छ। कम्युनिष्ट र कांग्रेस दुवै सरकारका व्यवहार पार्टी सिद्धान्त अनुसार नहुनु नै यो अवस्थाको मूल कारण हो।
हिजोआज राजनीतिक दलभित्रै पनि विचारधाराबारे कम छलफल हुँदा सिद्धान्तनिष्ठता प्राविधिक कुरा बन्दै छ। पद पाउन वा चुनावमा उम्मेदवार बन्न सम्बद्ध दलको सिद्धान्त बुझ्नु र जनतालाई त्यसबारे व्याख्या गर्ने क्षमता हुनु जरुरी ठानिंदैन।
सिद्धान्त र विचारधारा हजारौं प्रयोग र अभ्यासको निष्कर्ष हो। सैद्धान्तिक बहसले दलका कार्यकर्ताको विचारधारालाई पनि समरूपतामा पुर्याउँछ। त्यही समरूपताले राजनीतिक दललाई सामाजिक र राजनीतिक परिवर्तनका निम्ति सक्षम बनाउँछ। तर, आज न राजनीतिक दल विचारधाराबारे छलफल गरिरहेको छ न जनता तिनका विचारधारामा चासो राख्दै छन्।
राजनीतिक दल एउटै भए पनि नेता–कार्यकर्ता बहुरूपी छन्। सिद्धान्त नेताहरूको आत्मगत बुझाइ मात्र बनेको छ। त्यसैले आज चुनावमा हुनुपर्ने राजनीतिक बहस ओझेल परेको छ। परिणाम– राजनीतिक सभा र गतिविधि व्यक्तिगत आलोचनादेखि गालीगलौजमा सीमित छन्।
दलभित्र केही पुराना पुस्ताका नेताबीच नेपाली समाजमा अनुकूल राजनीतिक विचारधाराबारे चियागफसम्म हुने गरे पनि नयाँ पुस्ताका कार्यकर्ताको बुझाइमा यस्तो बहस समयको बर्बादी मात्र हो। हिजोआज दलहरूले आफ्ना महाधिवेशनमा सिद्धान्त र कार्यक्रमबारे बहस गर्न आवश्यक ठान्दैनन्। कदाचित् भइहाले पनि त्यसबारे थप बहस र व्यवहारमा कार्यान्वयनको पाटो कमजोर देखिन्छ।
कम्युनिष्ट पार्टीभित्र न मार्क्सवादबारे छलफल भइरहेको छ न त कांग्रेसभित्र उदारताका पक्षमा। यस्ता बहस सीमित रूपमा ‘किताबी किरो’ र ‘लेखनदास’ बनेका केही नेता–कार्यकर्ताबीच हुने गरेको छ। यसले गर्दा नेपाली राजनीति र चुनावमा विचारधाराको मुद्दा छायामा पर्दै गएको छ। मनी र मसलले प्राथमिकता पाउँदा चुनाव महँगो बन्दै छ।
आज नेपालका राजनीतिक दलहरू अनेक तयारीमा लाग्दै गर्दा मूल विचारधारा बिर्संदै छन्। त्यही कारण राजनीति सतही बन्दै छ। राजनीतिक कार्यकर्तामा गम्भीरता हराउँदै छ। दल नै कमजोर बनेपछि बहुदलीय प्रजातन्त्र पनि कमजोर बन्नेछ। जनता स्वतन्त्र वा ‘नो भोट’ को पक्षमा गए पनि राजनीतिक व्यवस्था अर्को अराजकतातिर उन्मुख हुन सक्छ।