त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा
विश्वविद्यालयमा प्राज्ञिक वातावरण निर्माण गर्न र शिक्षकको स्तरीय शिक्षा दिने दायित्व एवं विद्यार्थीको विश्वस्तरीय गुणात्मक शिक्षा प्राप्त गर्ने अधिकार स्थापित गर्न त्रिवि नेतृत्वबाट जुन र जति काम हुनुपर्थ्यो त्यसमा कहिल्यै न्यूनतम ध्यान पनि दिइएन।
(मार्टिन चौतारीले प्रकाशन गरेको ‘समाज अध्ययन’ को २०७९ अंकबाट।)
यो आलेख मूलत: त्रिभुवन विश्वविद्यालय (त्रिवि) कलेजमा भूगोल विषय लिएर एमए पढ्दा र पछि त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढाउँदाको मेरो अनुभवमा केन्द्रित छ। यसमा मैले कीर्तिपुरमा अध्यापन गर्दाका शुरूका केही वर्षको मात्र चर्चा गरेको छु। प्रारम्भमा, म कसरी भूगोलको विद्यार्थी हुन पुगें त्यसको छोटो प्रसङ्ग छ।
एमएको पढाइ सकिएपछि लगत्तै मैले भूगोल पढाइनँ; त्यसबीच केही वर्षको अन्तराल रह्यो। त्यसलाई पनि छोटकरीमा सिलसिला नटुटोस् भनेर उल्लेख गरेको छु। त्यस्तै, कीर्तिपुरमा पढाइरहँदा म फुलब्राइट छात्रवृत्ति पाएर कोर्नेल विश्वविद्यालयमा विद्यावारिधिका लागि गएँ। तीन वर्षमा विद्यावारिधि गरेर फर्केपछि सन् १९९८ मा त्रिविबाट स्वेच्छिक अवकाश नलिंदासम्मको अवधिको प्रसङ्ग पनि छोटकरीमा उल्लेख छ।
यो संस्मरण फगत पढ्ने-पढाउने कुरामा मात्र सीमित नभएर त्यो वेलाको मेरो जीवन र विश्वविद्यालय तथा समग्र मुलुककै परिस्थितिसँग जोडिएर आउने प्राज्ञिक र ‘गैरप्राज्ञिक’ सामाजिक-राजनीतिक परिवेश र प्रसङ्गतिर पनि फैलिएको छ। समग्रमा तात्कालिक नेपालको उच्च शिक्षा क्षेत्रको प्राज्ञिक परिवेश (पढ्ने-पढाउने-अनुसन्धान गर्ने-प्रकाशन गर्ने) बारे यसले पाठकलाई एक झलक दिनेछ। र, नेपालको उच्च शिक्षा र यसको इतिहासबारे चासो-खाँचो राख्ने अध्येतालाई केही सान्दर्भिक जानकारी समेत उपलब्ध गराउनेछ भन्ने ठानेको छु।
फलेवासदेखि फर्पिङ
सन् १९५१ मा राणा शासन समाप्त भएपछि देशैभरि ‘आधुनिक शिक्षा’ दिने स्कूल खोल्ने लहर चलेको थियो। त्यही मेसो सन् १९५३ मा मेरो जन्मस्थान पश्चिम पहाडको पर्वत जिल्ला, फलेवास खानीगाँउमा पनि अंग्रेजी पढाउने स्कूल-भवानी विद्यापीठ खुल्यो। मेरा हजुरबुबा विचारी भवानीप्रसाद शर्माले आफ्नै खर्चमा यो स्कूलको स्थापना गर्नुभएको हो, जुन पर्वतको सबभन्दा पुरानो र अग्रणी स्कूलमध्येमा पर्छ।
मैले तीन कक्षासम्म सोही स्कूलमा पढें। त्यसपछि म थप अध्ययनका लागि राजधानी पठाइएँ। र, काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालयमा झण्डै पाँच वर्ष आवासीय विद्यार्थीका रूपमा अध्ययन गरें। सन् १९६१ मा मैले प्रवेशिका परीक्षा अर्थात् एसएलसी द्वितीय श्रेणीमा पास गरें। त्यसपछि त्रिचन्द्र कलेजबाट मैले १९६३ मा आईए र १९६५ मा बीए पास गरें, दुवै द्वितीय श्रेणीमै।
आईएको पहिलो वर्ष फर्पिङको साँघुरो घेराबाट त्रिचन्द्रको खुला वातावरणमा अभ्यस्त हुन खोज्दैमा बित्यो। दोस्रो वर्षदेखि पढाइमा लय समात्दै गएँ र बीएमा पुगुन्जेल म कक्षाको राम्रो विद्यार्थीमध्ये गनिन्थें। अंग्रेजी, अर्थशास्त्र र भूगोल विषयमा साथीहरूलाई नबुझेका कुरा बुझाउने तहमा पुगिसकेको थिएँ। कति विद्यार्थी आफूले जानेको कुरा साथीहरूलाई सिकाउँदैनन्। तर, जानेको कुरा जति अरूलाई सिकायो त्यति नै आफ्नो बुझाइ तिखारिन्छ भन्ने मैले बीएमा पढ्दै गर्दा बुझें।
म साथीहरूलाई सिकाउँथें, जसले गर्दा साथीहरूको समूह पनि फराकिलो हुँदै गयो। तीमध्ये धेरै वामपन्थी विचार राख्ने साथीहरू थिए। परीक्षाका वेला सहपाठीसँग बसेर तीव्र तयारी गर्ने उपक्रम मैले गरिनँ। कक्षाका नोट र किताबबाट गरिएको नोटहरूलाई समय समयमा हेर्दै अद्यावधिक गर्ने बानीले गर्दा जाँचका वेला तिनै सामग्री दोहोर्याउने काम मात्र गर्दथें। बीएसम्मको पढाइमा शिक्षकहरूले लेक्चर नै गर्थे; नोट लेखाउने काम त्यति हुँदैनथ्यो।
बीएमा पढ्दा म निकै उत्सुक विद्यार्थी थिएँ। सधैं कोर्सका किताबमै तल्लीन रहनेहरूमा म पर्दैनथें। हरेक कुरा जान्ने चाख थियो। त्यसले गर्दा मेरो स्वाध्यायको दायरा फराकिलो हुँदै गयो। पाठ्यसामग्री बाहेक नेपाली र विश्व साहित्य, समसामयिक विषय, इतिहास, जीवनी आदि विभिन्न विधाका पुस्तक पढ्ने लत बस्यो। मौका मौकामा म अमेरिकन लाइब्रेरी, ब्रिटिश लाइब्रेरी तथा रसियन लाइब्रेरी जाने गर्थें।
गोर्की, दोस्तोएभ्स्की, गोगोल, चेखव, ओस्लोभ्स्की, आइत्मातोभ मैले यही वेला चिनें। यतिखेरै विश्व इतिहास, रुसी क्रान्ति, गान्धी, लेनिन, माओबारे पहिलोपल्ट पढ़ें। अंग्रेजी, अर्थशास्त्र र भूगोल लिएर मैले बीए उत्तीर्ण गरेकाले एमए पढ्नका निम्ति यी तीनमध्ये कुनै एक विषय रोज्न सक्थें। तीन ओटै विषयमा राम्रै अङ्क ल्याएको थिएँ। जुनसुकै विषय लिए पनि एमएमा राम्रो गर्न सक्छु भन्ने मलाई विश्वास थियो। बीएमा प्रथम श्रेणी ल्याउन केही अङ्कले छुटाएकाले एमएमा त्यो हासिल गर्ने मेरो धोको थियो।
पहाडबाट काठमाडौं आएर दु:ख गरी पढेकाले एमएमा राम्रो गर्नु मेरा निम्ति आवश्यक पनि थियो, किनभने त्यसले धेरै अवसर खोल्थ्यो। बुबाले पहिले मलाई बीएसम्म पढाउने कुरा थियो, तर बीएस्सीपछि कोलम्बो प्लान छात्रवृत्ति पाएर दाइ विदेश जानुभयो। त्यसपछि बुबाले मलाई एमएसम्म पढाउने हुनुभयो। त्यसपछि भाइलाई पढाउने जिम्मा मेरो हुने थियो।
त्रिवि कलेजमा भूगोलमा एमए
बीए उत्तीर्ण भएपछि एमए कुन विषय पढ़ने भन्ने सल्लाह दिने आफन्त कोही थिएनन्। त्रिचन्द्र कलेजका मेरा शिक्षकहरूसँग कुरा गर्दा प्रत्येकले आफ्नै विषय पढ्ने सल्लाह दिन भयो। माधवप्रसाद शर्माले अंग्रेजी, नरेशमान श्रेष्ठ र साम्बदेव पाण्डेले अर्थशास्त्र पढ्न सुझाउनुभयो भने उपेन्द्रमान मल्लले भूगोल पढ्ने सल्लाह दिनुभयो। उपेन्द्रमान मल्ल आईए र बीए तहमा हामीलाई पढाएका शिक्षकमध्ये सबैभन्दा अब्बल शिक्षक हुनुहुन्थ्यो।
त्यसैले पनि हुन सक्छ, खासै त्यस्तो रोजाइ नभए पनि भूगोल नै पढौं भन्ने लाग्यो, र म एमए भूगोलमा भर्ना भएँ। अरू विषयका शिक्षकभन्दा भूगोलका शिक्षकहरूसँग बढी नजिक भएकाले पनि मेरो रोजाइमा भूगोल परेको हो कि जस्तो मलाई अहिले लाग्छ। प्रयोगात्मक कक्षा र भौगोलिक भ्रमणको अनिवार्यताले गर्दा भूगोलका शिक्षकसँग विद्यार्थीको अलिक नजिकको सम्बन्ध हुन्थ्यो।
नेपालमा भूगोलको विद्यालय तहको औपचारिक पढाइ सन् १९३४ मा शुरू भएको हो। त्यो साल प्रवेशिका तह (एसएलसी) मा भूगोल विषयलाई १०० पूर्णांकको अनिवार्य विषयको मान्यता दिइएको हो (सुवेदी सन् २०१४)। त्यसको १३ वर्षपछि सन् १९४७ मा मात्र त्रिचन्द्र कलेजमा आईए तहमा भूगोलको पढाइ शुरू भएको हो। पटना विश्वविद्यालयको पाठ्यक्रममा आधारित आईए तहमा पढाउने पहिलो शिक्षक नेत्रबहादुर थापा हुनुहुन्थ्यो।
सन् १९४८ मा एक जना बंगाली शिक्षक रवीन्द्रनाथ रोयलाई त्रिचन्द्र कलेजका पहिलो भूगोलको प्राध्यापक तोकिएको थियो। तर उहाँ धेरै काल यहाँ बस्नुभएन, र त्यही साल भारतबाट मातृभूमि नेपाल फर्कनुभएका जगतबहादुर सिंह बुढाथोकीलाई त्रिचन्द्र कलेजमा भूगोल पढाउने जिम्मा दिइयो। उहाँले नै सन् १९४९ मा स्नातक तहमा भूगोलको पठनपाठनको शुरूआत गर्नुभयो (सुवेदी सन् २०१४)।
ज्ञान आर्जन गर्ने पूर्वी र पाश्चात्य दुवै परम्परामा देश-देशावरको बयानको आफ्नै स्थान छ। देश-देशावरको बयानप्रतिको अभिरुचि र नवीन अभियानहरूले जगाएको कौतूहल र उत्सुकता प्राचीन ग्रीसका पेट्रोक्लस, टोल्मे, स्ट्राबोदेखि लिएर आधुनिक युगका अभियन्ताहरूसम्म यथावत् छ। यूरोपेली साम्राज्यवाद चरमोत्कर्षमा पुगेको १९ भौगोलिक संस्था र समाजहरू त्यहाँका विश्वविद्यालयका भूगोल विभागहरूभन्दा जेठा हुन्।
वेलायतमा रोयल जिओग्राफिकल सोसाइटीको स्थापना सन् १८३० मा भएको हो। यसको मूल उद्देश्य नै भूगोल विज्ञानको अभिवृद्धि गर्नु थियो। सन् १८७३ मा रोयल डच जिओग्राफिकल सोसाइटीले डच वेस्ट इन्डिजमा महत्त्वपूर्ण भौगोलिक अभियानहरूको प्रायोजन गरेको थियो। प्राज्ञिक विषयका रूपमा भने विश्वविद्यालयहरूमा भूगोलको विशिष्ट अध्ययनले स्थान पाएको १९औं शताब्दीको उत्तरार्धतिर मात्रै हो।
यसको शुरूआत पहिला फ्रान्स र जर्मनीमा भयो र त्यताबाट संयुक्त अधिराज्य हुँदै अमेरिकातिर विस्तारित भएको हो। विद्यालय तहमा पढाउने शिक्षकको आवश्यकता पूरा गर्ने हेतुले यूरोपका विश्वविद्यालयहरूमा भूगोलको अध्ययन-अध्यापन शुरू भएको थियो। यसमा मुख्य चासो विशिष्ट राष्ट्रिय पहिचान, वातावरण, प्राकृतिक सम्पदाको वितरण, आर्थिक क्रियाकलाप र बन्द-व्यापार आदिमा नै बढी थियो।
भूगोललाई प्राज्ञिक विधाका रूपमा स्थापित गर्न १९औं शताब्दीका भौगोलिक अभियन्ताहरू-अलेक्जान्डर फोन हुम्बोल्ट (सन् १७६९-१८५९), कार्ल रिटर (सन १७७०-१८५९), फ्रेडरिक ऱ्याटजेल (सन् १८८४-१९०४) र भिदाल दला ब्लास (सन् १८४५-१९१८) को योगदान अतुलनीय रह्यो। हुम्बोल्टले प्रणालीगत (सिस्टम्याटिक) भूगोल, रिटरले क्षेत्रीय वा प्रादेशिक भूगोल र यटजेलले मानवशास्त्रीय भूगोलका पक्षहरूलाई समृद्ध पारे।
सन् १८८० तिर मात्रै संयुक्त अधिराज्यका क्याम्ब्रिज र अक्सफोर्ड जस्ता मूर्धन्य विश्वविद्यालयहरूमा भूगोलको पढाइ शुरू गरिएको हो। तर, यिनमा पनि भूगोलको पहिलो प्रोफेसरको पद स्थापना भएको धेरैपछि, सन् १९३० मा मात्रै हो। यूरोपेली साम्राज्यवादको विस्तारलाई सघाउने देश-देशावर बुझेको जनशक्ति तयार गर्न अनि नयाँ ठाउँहरूको अन्वेषण गर्न विश्वविद्यालयहरूका भूगोल विभागहरूको भूमिका अग्रणी रह्यो। सन् १९४५ सम्ममा ब्रिटिश साम्राज्यभरि नै प्राज्ञिक विधाका रूपमा भूगोल विषय विश्वविद्यालयहरूमा स्थापित भइसकेको थियो।
अमेरिकामा भने विश्वविद्यालयमा भूगोलको प्रवेश वाणिज्य विभागको बाटोबाट भएको हो। सन् १८९८ मा क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा स्थान पाएपछि क्रमश: शिकागो र क्लार्क विश्वविद्यालयमा पढाइ शुरू भयो। सन् १९४५ सम्म अमेरिकाका जम्मा ३० जति विश्वविद्यालयमा मात्र भूगोलका कार्यक्रम सञ्चालित थिए। अहिले पनि धेरै विश्वविद्यालयमा भूगोलका बेग्लै विभाग छैनन्, यद्यपि भूगोलका विषयहरू विभिन्न विभागमा पढाइन्छन्।
नेपालमा विश्वविद्यालय स्तरको भूगोलको पाठ्यक्रम सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघिको भारतको पटना विश्वविद्यालयबाट केही थपथाप सहित साभार गरिएको हो। शुरूमा एमएको पढाइ पनि नेपाल सम्बन्धी ५० अङ्कको पत्र बाहेक करीब करीब उस्तै देखिन्छ। प्रोफेसर बुढाथोकीकै सक्रियतामा सन् १९६१ मा भूगोल विषयमा एमए तहको पढाइ त्रिभुवन विश्वविद्यालय कलेज त्रिपुरेश्वरमा शुरू भएको हो।
त्यस ताका र धेरै पछिसम्म पनि राजनीतिशास्त्र, अर्थशास्त्र, इतिहास, अंग्रेजी, आदि विषयमा कोलम्बो प्लान अन्तर्गत आएका भारतीय शिक्षकको बाहुल्य थियो; कति विषयमा त उनीहरू नै विभागीय प्रमुख समेत थिए। भूगोल विभाग भने शुरूदेखि नै नेपाली शिक्षकहरूद्वारा सञ्चालित थियो; भूगोलमा कोलम्बो प्लानका शिक्षकको प्रवेश नै हुन दिइएन। यसको श्रेय मुख्यत: प्रोफेसर बुढाथोकीलाई नै जान्छ। यसले गर्दा विभागलाई चाहिने शिक्षकको आपूर्ति आफ्नै उत्पादनबाट गर्ने चलन बस्यो। शुरूमा एमए तहमा पढाउने चार जना शिक्षक हुनुहुन्थ्यो, जो त्रिचन्द्र कलेजमा पनि पढाउनुहन्थ्यो।
तात्कालिक समयमा एमएमा भूगोल विषय लिएर पढ्न बीएमा भूगोल विषय लिएर पढेकै हुनुपर्यो। देशभर भूगोल विषय पढाउने कलेज (अहिले क्याम्पस) काठमाडौं उपत्यकामै सीमित थिए। प्रयोगात्मक अभ्यास (प्राक्टिकल) र स्थलगत भ्रमण अनिवार्य भएकाले पनि भूगोल त्यति चल्तीको विषय थिएन। यसैले अरू समाज विज्ञानका विषयका तुलनामा भूगोल पढ्ने विद्यार्थीको सङ्ख्या कम हुन्थ्यो।
भूगोल विषयको सन् १९६६ को ब्याचमा हामी पाँच जना भर्ना भएका थियौं- आशारत्न शाक्य, हेमलाल श्रेष्ठ, प्रेमबहादुर प्रधान, विष्णु प्रधान र म। विष्णु र मैले त्रिचन्द्रबाट अघिल्लो वर्ष बीए पास गरेका थियौं, प्रेमले केहीअघि पास गरेर पछि एमए पढ्न आएका थिए। आशा र हेमले पाटन कलेजबाट बीए उत्तीर्ण गरेका थिए। हामीलाई पढाउने शिक्षकहरूमा जगतबहादुर बुढाथोकी, उपेन्द्रमान मल्ल, मंगलराज जोशी, नरमान श्रेष्ठ र सूर्यलाल अमात्य हुनुहुन्थ्यो।
डा. हर्क गुरुङ हामी दोस्रो वर्षमा प्रवेश गरिसकेपछि आउनुभएको थियो। बुढाथोकी सरले अलाहबादमा, मल्ल र गुरुङ सरले पटनामा, नरमान सरले राँचीमा र सूर्यलाल सरले बडोदामा अध्ययन गर्नुभएको थियो। मलाई जहाँसम्म लाग्छ, उहाँहरूमध्ये कोही पनि त्रिवि कलेजमा पूर्णकालीन शिक्षक हुनुहुन्थेन। एडिनबराबाट पीएचडी गरेर हर्क गुरुङ आउनुभन्दा अगाडिसम्म अनुसन्धानमा गहन अनुभव भएका शिक्षक विभागमा कोही थिएनन्।
अहिले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर रहेको त्रिवि कलेजको हातामा राणाकालमा बाहिरबाट आउने विभिन्न तहका पाहुनाहरूलाई राख्नका निम्ति बनाइएका ससाना कटेजहरूमा एमएका कक्षा सञ्चालन गरिन्थे। सबै विषयको पठनपाठन एकै पटक गराउन सम्भव नभएकाले विभिन्न विषयका कक्षाहरू फरक फरक समयमा हुन्थे। भूगोलका कक्षाहरू दिउँसो १:०० देखि ४:००-४:३० सम्म हुन्थे। म ठमेल क्वाबहालमा डेरा गरी बस्ने हुँदा एक बजेतिर हिँडे पनि १५-२० मिनेटमा कक्षाका निम्ति आइपुग्थें। त्यस ताका छोटो दूरीका बस-मिनिबस थिएनन् भने हुन्छ; प्राय: मानिसहरू आफू जानुपर्ने ठाउँ हिंडेरै पुग्थे।
त्रिपुरेश्वरको त्रिवि हातामै एउटा सानो पुस्तकालय थियो जसमा मुख्यत: कोर्सका पुस्तक हुन्थे। ‘भर्खरै आएका’ भनेर केही नयाँ पुस्तकको ज्याकेट पनि समय समयमा देखाएर राखिएको हुन्थ्यो। त्रिविको केन्द्रीय पुस्तकालय चाहिं हालको याक एन्ड यती होटल परिसरमा पर्ने लाल दरबारको पहिलो तलामा थियो। त्रिवि कलेज त्रिपुरेश्वरमा कक्षाकोठाहरू बाहेक उपकुलपति, रजिष्ट्रार र अन्य प्रशासकीय अधिकारीका कार्यालय थिए; कुल भौतिक पूर्वाधार भनेकै त्यत्ति थियो। चिया-खाजा खाने क्यान्टिन समेत थिएन।
उपकुलपति सरदार रुद्रराज पाण्डे हुनुहुन्थ्यो। उहाँको सरलता र सहजता म अझै सम्झन्छु। एक दिन कुनै कुरा लिएर म उहाँको कार्यकक्षमा पुगेको थिएँ। उहाँले झण्डै एक घण्टा राखेर मेरो पहाड घरको नालीबेली सोध्नुभयो र अन्तमा ‘टाढाबाट पढ्न आएका रहेछौ, मन लगाएर पढ्नू। केही समस्या भए मकहाँ सोझै आए हुन्छ’ भन्नुभयो। म दङ्ग परें। विश्वविद्यालय नै सानो भएकाले होला एक प्रकारको अनौपचारिकता र हार्दिकता थियो।
एमए भूगोलमा पढाइका कुल आठ विषय थिए। अन्तिम परीक्षामा यी बाहेक नवौं पत्र हुन्थ्यो-भाइभा भोसे (मौखिक परीक्षा)। एमए पहिलो वर्षमा फिजिकल बेसिस अफ जिओग्राफी; ह्युमन एन्ड इकोनोमिक जिओग्राफी; नेपाल एन्ड चाइनास र प्राक्टिकल जिओग्राफी गरी चार विषय थिए। दोस्रो वर्षमा पनि भाइभा बाहेक चार विषय नै थिए- अप्लाइड जिओग्राफी; यूरोप एन्ड नर्थ अमेरिका; रिजनल प्लानिङ एन्ड कन्जर्भेशन अफ रिसोर्सेज; र प्राक्टिकल जिओग्राफी। यीमध्ये रिजनल प्लानिङ ऐच्छिक विषय थियो।
जगतबहादुर बुढाथोकीले पहिलो पत्रको केही अंश र नेपालको केही अंश, मंगलराज जोशीले प्राक्टिकलको सर्भे र जिओलोजी, र उपेन्द्रमान मल्लले मानव भूगोल र भौतिक भूगोलको केही अंश र रिजनल प्लानिङ पढाउनुहुन्थ्यो। सूर्यलाल अमात्यले आर्थिक भूगोल र उत्तर अमेरिका, नरमान श्रेष्ठले मुख्यतः प्राक्टिकलको अधिकांश भाग र यूरोपको भूगोल पढाउनुभएको हो। हामी एमए दोस्रो वर्ष हुँदा हर्क गुरुङ भूगोल विभागमा नियुक्त हुनुभयो र मुख्यत: अप्लाइड जिओग्राफी र रिजनल प्लानिङको केही अंश पढाउनुभयो।
अप्लाइड जिओग्राफी र रिजनल प्लानिङमा खास पाठ्यपुस्तक र सामग्री त्यति थिएनन्, त्यसले गर्दा शिक्षकको आफ्नै अनुभव र भूगोलका विषयगत अवधारणा र विश्लेषण विधिलाई व्यावहारिक समस्या केलाउनमा गरिने प्रयोगका उदाहरणमा नै बढी निर्भर हुनुपर्ने खण्ड थियो। यही क्रममा एमएको दोस्रो वर्षमा एउटा सानो डिजर्टेशन (वास्तवमा एउटा स्थलगत अध्ययनमा आधारित विषयगत निबन्ध) पनि बुझाउनुपर्यो।
मैले गुरुङ सरको निर्देशमा थानकोट-चुनिखेलको कृषि भू-उपयोगको सानो अध्ययन गरेको थिएँ। अहिले फर्केर हेर्दा यो निबन्ध विधिका हिसाबले सामान्य थियो। वास्तवमा एमएको पढाइमा विद्यार्थीले गर्ने विषयगत एकल लेखन त्यत्तिमै सीमित थियो। यो बाहेक कुनै पनि विषयमा टर्म पेपर वा विषयगत लेख लेख्ने आवश्यकता थिएन। मौखिक परीक्षा १०० पूर्णाङ्कको हुन्थ्यो। प्राय: एक घण्टा जति चल्ने त्यस्तो मौखिक परीक्षामा विभागीय प्रमुख बुढाथोकी र भारतबाट बोलाइएका एक जना भूगोलका प्राध्यापकको संलग्नता हुन्थ्यो।
प्रश्न प्राय: आगन्तुकले नै सोध्थे। सोध्ने विषय भूगोलको बृहत् क्षेत्रसँग सम्बन्धित हुन्थ्यो, तर खास सिलसिला भने हुँदैनथ्यो। भूगोलमा आउने आगन्तुक प्राध्यापक बनारस, अलाहबाद, पटना, कलकत्ता, गोरखपुर मध्येबाट हुन्थे। हामीभन्दा अघिल्लो ब्याचमा पटनाका प्रोफेसर पी. दयाल आएका थिए। हाम्रो पालामा भने गोरखपुरका प्रोफेसर महातम सिंह आएका थिए।
माथि नै भनियो, भूगोलको पढाइ एक-डेढ बजेबाट शुरू हुन्थ्यो। त्यतिन्जेल सापेक्षिक धेरै विद्यार्थी हुने विषय, जस्तै राजनीतिशास्त्र, अर्थशास्त्र, नेपाली आदि विषयको पढाइ सकिन लागेको हुन्थ्यो। मुलुक बाहिरबाट आउने आगन्तुक विद्वान्का प्रवचन आक्कलझुक्कल (महीना-दुई महीनामा एक पटक) आयोजना गरिन्थे। यस्तो कार्यक्रम प्राय: दिउँसो ४:०० बजेतिर आयोजना गरिन्थे, जतिखेरसम्म धेरैजसो विद्यार्थी कलेजबाट बाहिरिइसकेका हुन्थे। त्यसैले ती प्रवचनमा हामीलाई जान एक हिसाबले बाध्यता जस्तो थियो। हामी जान्थ्यौं पनि।
तीमध्ये केही कार्यक्रमको अहिले पनि मलाई सम्झना छ। भारतबाट आएका कविहरूको एउटा गोष्ठी आयोजना गरिएको थियो, जुन रमाइलो थियो। त्यसमा केही नेपाली कविले पनि भाग लिएका थिए। एक पल्ट भारतीय संस्कृतिबारे प्रवचन दिन एक जना भारतीय विद्वान् आएका थिए। त्यो सभाको सभापतित्व केशरबहादुर केसीले गरेका थिए। ती पाहुनाले भारतीय संस्कृतिको महानताबारे लामै र अलि पट्यारलाग्दो वर्णन गरे।
समारोहको समापनमा सभापतिको आसनबाट केसीले दिएको मन्तव्यको पहिलो वाक्य म अहिले पनि सम्झन्छु: ‘इफ इन्डिया ह्याज एनी कल्चर, दयाट इज एग्रिकल्चर।’ त्यसपछि उनले भारतीय संस्कृति र कृषिको अन्योन्याश्रित सम्बन्धबारे राम्रै व्याख्या गरे, सिन्धुको सभ्यतादेखि गंगाको सभ्यतासम्म र कृषि र वास्तुकलादेखि तक्षशिला र नालन्दासम्म। ती भारतीय विद्वान् अलिक अन्यमनस्क भावमा हेरिरहेका थिए।
हामीलाई सुझाइएका पाठ्यपुस्तकमध्ये धेरै कम मात्र उपलब्ध थिए। यो एक हिसाबले एमए भूगोलको विशेषतै थियो। मानव भूगोल विषयमा ग्रिफिथ टेलरको जिओग्राफी इन द ट्वेन्टियथ सेन्चुरी; भौतिक भूगोलमा ऊलरिज र मोर्गनको एन आउटलाइन अफ जिओमर्कोलोजी; आर्थिक भूगोलमा अलेक्जान्डरको इकोनोमिक जिओग्राफी; ओएचके स्पेटको इन्डिया र पाकिस्तान; तथा डडूले स्टाम्पको अप्लाइड जिओग्राफी आदि अहिले मैले सम्झने केही किताबहरू हुन्। स्ट्रेहलर र स्ट्रेहलरको भौतिक भूगोलको विश्व प्रसिद्ध पाठ्यपुस्तक फिजिकल जिओग्राफी समेत पुस्तकालयमा भएको मलाई सम्झना छैन।
अद्यावधिक किताब कमै थिए। नेपाल सम्बन्धमा त पढ्ने सामग्री नै थिएन भने हुन्छ- प्राज्ञिक लेखहरूको खडेरी थियो। जर्नल थिएनन्। प्राय: पाठ्यपुस्तकको पुस्तकालयमा जम्मा एक प्रति हुन्थ्यो र विरलै हात पर्थ्यो। कतिपय विषयमा पाठ्यपुस्तकमा समावेश नभएका अन्य पुस्तक हेर्नुपर्थ्यो। शिक्षकहरूका लेक्चर र नोटहरू यसैले महत्त्वपूर्ण हुन्थे, तर ती पनि प्राय: पुरानै हुन्थे। अद्यावधिकताको समस्या तिनमा पनि थियो। सन् १९६० तिर बेलायतको ल्याङकाशायरका कटन मिल बन्द भइसकेका वा हुँदै थिए, तर हामी कटन मिलबारे यसरी पढ्थ्यौं, मानौं ब्रिटिश साम्राज्य जिउँदोजाग्दो छ। तसर्थ, पाठ्यसामग्रीका दृष्टिले स्थिति पटक्कै सन्तोषजनक थिएन।
सूर्यलाल अमात्य र हर्क गुरुङ बाहेक हामीलाई बीएमा पढाएकै शिक्षकले एमएमा पनि पढाउनुभयो। त्यसैले पनि पढाउने शैली र विधिमा खास विविधता थिएन। एमएमा केही नयाँ विषयवस्तु बाहेक धेरै कुरा सिकेको अनुभव भएन। मेरो डायरीका प्रविष्टिहरू हेर्दा तिन ताका म प्राज्ञिक हिसाबले निकै असन्तुष्ट रहेको पाउँछु। शिक्षकहरूमा सूर्यलाल अमात्य राम्रै तयारीका साथ आउनुहुन्थ्यो र सन्दर्भ सामग्रीमा आधारित लेक्चर दिनुहुन्थ्यो। प्रोफेसर बुढाथोकी र नरमान श्रेष्ठ नोट लेखाउनमै अधिक समय बिताउनुहुन्थ्यो।
उपेन्द्रमान मल्लको लेक्चर चाखलाग्दो हुन्थ्यो, तर नवीन सामग्रीको तिनमा कमी हुन्थ्यो। सम्भवत: भर्खरै विभाग प्रवेश गरेको र पढाउन दिइएको विषयमा पाठ्यसामग्रीको कमीको कारणले पनि होला, डा. गुरुङका कक्षाहरू त्यति सिलसिलाबद्ध हुन्थेनन्। नेपालमा कृषि, उद्योग आदिको विश्लेषण गर्ने भौगोलिक विधिबारे केही लेक्चर दिएको मलाई सम्झना छ। तर, हामी अनुसन्धानमा संलग्न भएनौं। प्राक्टिकलमा नरमान श्रेष्ठ एकदम कडा हुनुहुन्थ्यो र प्राक्टिकलको काम एकदम ठीक र दुरुस्त हुनुपर्थ्यो।
न्यूरोडस्थित अमेरिकी पुस्तकालयमा एसोसिएशन अफ अमेरिकन जिओग्राफर्सको जर्नल आनल्सका प्रति आक्कल-झुक्कल देखिन्थे। त्रिवि पुस्तकालयमा भूगोल विषय सम्बन्धी जर्नलहरू उपलब्ध भएको मलाई सम्झना छैन। पाठ्यसामग्रीको समस्याले गर्दा शुक्रबारको अधिकांश समय म लाल दरबारको केन्द्रीय पुस्तकालयमा बिताउथें- सन्दर्भ पुस्तक खोज्न र नोट बनाउन। यसै क्रममा मैले त्रिपुरेश्वरको पुस्तकालयसँगै जोडिएको सानो कार्यकक्षमा किरात जाति र संस्कृतिका अध्येता ईमानसिंह चेम्जोङलाई भेटेको हुँ।
मानव भूगोल पत्रको एन्थ्रोपोजिओग्राफी यूनिट अन्तर्गत नेपाल र भारतका कविलाई समुदाय र जनजातिको संस्कृति र भौगोलिक-आर्थिक परिवेशको अध्ययन गर्नुपर्थ्यो। उहाँको किताब हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपल (चेम्जोङ सन् १९६६) त्यतिखेर भर्खरै प्रकाशित भएको थियो जस्तो लाग्छ। किरात संस्कृति, इतिहास र रीतिरिवाजबारे उहाँबाट र उहाँको पुस्तकबाट धेरै जानकारी मिल्यो।
पछिसम्म पनि म उहाँको कक्षमा पसिरहन्थें। झिंजो नमानी आफ्नो अनुसन्धान र पूर्वी नेपालका जनजाति र खास गरी मुन्धुममा उल्लिखित सृष्टि सम्बन्धी कुरा निकै चाखका साथ गरेको म सम्झन्छु। आफू ईसाई धर्मावलम्बी भएर पनि किरात जातिको धार्मिक-सांस्कृतिक परम्परामा उहाँको गहिरो चाख र स्थलगत अध्ययन थियो।
भिलेज सर्भे भनिने ग्रामीण भेगको सर्वेक्षण र भौगोलिक भ्रमण (एक्सकर्शन) एमए भूगोलको पाठ्यक्रमको अभिन्न अंग थियो। मेरो ब्याचको भौगोलिक भ्रमण पहिलो वर्षको अर्थात् सन् १९६६ को जाडो याममा भएको थियो। प्रोफेसर बुढाथोकीको नेतृत्वमा पहिलो र दोस्रो वर्षका हामी १३ जनाले विदुर (नुवाकोट)-सामरी-सल्यानटार-आरुघाट-गोरखा-आँबुखैरेनी-मनकामना-बन्दीपुर-केशवटार-सराङघाट हुँदै नारायणघाटसम्म पैदल भ्रमण गर्यौं। आफ्नो सामान आफैं बोकेर धेरै दिन हिंड्दा अलिक अप्ठेरो त भयो, तर धेरै शिक्षाप्रद र रमाइलो पनि भयो।
नुवाकोट, गोरखा, बन्दीपुर, नारायणघाटमा एक-एक दिन बस्यौं। नारायणघाटबाट ट्रकमा हेटौंडा र त्यसै गरी वीरगञ्ज पुग्यौं। त्यहाँ एक दिन बसी सीमापारि रक्सौल घुम्यौं। फेरि ट्रकमा त्रिभुवन राजपथ हुँदै काठमाडौं आयौं। झण्डै १७-१८ दिनको यो भ्रमण मेरा निम्ति मध्य पहाड, भित्री मधेश र तराई भ्रमणको पहिलो अनुभव थियो। विभिन्न भौगोलिक क्षेत्रको जनजीवन, रहनसहन र वातावरणलाई अनुभव गर्ने राम्रो अवसर मिल्यो।
भूगोलको प्रयोगात्मक पत्रमा भिलेज सर्भे अनिवार्य थियो। यसका दुई पक्ष थिए- पहिलो, नापीका वैज्ञानिक विधिहरू (प्लेन टेबल, डम्पी लेबल, थियोडोलाइट) प्रयोग गरेर कुनै वस्तीको माप अनुसारको विस्तृत स्थलीय नक्सा बनाउने। र दोस्रो, सो गाउँको घरपरिवारमा आधारित सामान्य सामाजिक-आर्थिक सर्वेक्षण गर्ने। यी दुवै काम कक्षाका सबै विद्यार्थीले सामूहिक रूपमा गर्नुपर्थ्यो। सर्भेको काम प्रारम्भिक तहकै हुन्थ्यो।
हाम्रो पालामा एमए दोस्रो वर्षमा यो सर्भे थानकोटको बाहिरी बस्तीमा गरिएको थियो। मंगलराज जोशीले सर्भे सिकाउनुहुन्थ्यो। नक्सा प्रक्षेपण गर्ने तरीका, नक्सा बनाउने, र सर्भेको यो सामान्य र प्रारम्भिक परिचयको महत्त्व के थियो भने एमए सकेपछि भूगोलविद्हरू नापी विभागमा सेटलमेन्ट अफिसरका रूपमा प्रवेश गर्न पाउँथे।
हर्क गुरुङ बाहेक अनुसन्धानमा खासै चासो राख्ने गरी कक्षामा कसैले पढाएको पनि मलाई याद छैन।
त्यसपछि सर्भेमा अलि गहन तालीम लिएर वा डिग्री नै हासिल गरेर नापी विभागमा उच्च अधिकृतसम्म हुन पुग्थे। यसरी पढाइपछि नापीलाई नै व्यावसायिक वृत्ति बनाउने भूगोलविद्मध्ये श्यामविनोद गोपाली, शम्भु शर्मा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, रामनरेश सिंह र मेरै सहपाठी प्रेमबहादुर प्रधान थिए।
एमएको दुई वर्ष पढाइको समयमा भूगोल विभागमा कुनै गोष्ठी वा प्रवचन भएको मलाई सम्झना छैन। हर्क गुरुङ बाहेक अनुसन्धानमा खासै चासो राख्ने गरी कक्षामा कसैले पढाएको पनि मलाई याद छैन। त्रिवि कलेजका उपलब्धिबारे एउटा प्रदर्शनी भएको सम्झना छ, जसमा भूगोलबाट तुलसीराम जोशीले साइकल यात्राका भरमा राप्ती दून (चितवन) को प्रकृति र वातावरणबारे साहै मिहिनेतका साथ तयार पारेको डिजर्टेशन राखिएको थियो। पछि छात्रवृत्तिमा पीएचडी गर्न जोशी अमेरिका गए, र उतै बसे।
अनुसन्धानको प्रसङ्गमा जोडिएको एउटा नमीठो सम्झना चाहिं छ। हामी दोस्रो वर्षमा हुँदा एक दिन हर्क गुरुङले अमेरिकाको हवाईबाट काठमाडौंको शहरी स्थितिबारे अध्ययन गर्न आउनुभएका भूगोलविद् डा. रोल्यान्ड फ्युक्सलाई लिएर कक्षामा आउनुभयो। फ्युक्सको सहायक भएर काम गरे हामीलाई पनि अनुसन्धानको केही अनुभव हुन्छ भन्ने उहाँको सोच थियो।
डा. गुरुङले सामान्य परिचय दिएपछि फ्युक्सले आफ्नो अनुसन्धानको उद्देश्य, विधि र अनुसन्धान सहायकका रूपमा हामीबाट अपेक्षित कामबारे सविस्तार व्याख्या गर्नुभयो। भोलिपल्ट कक्षा शुरू हुनुभन्दा अघि नै डा. गुरुङसँगै आएर फ्युक्सले शहरका पसलहरूमा गएर भर्नुपर्ने प्रश्नावलीबारे हामीलाई सिकाउँदै हुनुहुन्थ्यो।
अचानक प्रोफेसर बुढाथोकी जङ्गिंदै कक्षामा प्रवेश गर्नुभयो। ‘ह्वाई ह्याभ यू कम हियर विदाउट माई पर्मिशन? गेट आउट’ भनेर कक्षाबाट फ्युक्सलाई निकाल्नुभयो। अपमानले रातो हुँदै फ्युक्स बाहिरिनुभयो। गुरुङ सर केही भन्न खोज्दै हुनुहुन्थ्यो, तर बुढाथोकी सरले सुने पो! त्यसै पनि बुढाथोकी सर रिसाउनमा नामी हुनुहुन्थ्यो।
यो घटनाले हामी सबैलाई एक प्रकारको ग्लानि भयो। साहै नरमाइलो लाग्यो। पछि थाहा भयो, वास्तवमा फ्युक्ससँगको रिसभन्दा गुरुङ सरले विद्यार्थीलाई अनुसन्धानमा संलग्न गराउन लिनुभएको पहलमा बुढाथोकी सरको चित्त नबुझेको रहेछ। यसपछि हामी कसैले पनि त्यो अध्ययनमा भाग लिएनौं। त्यसको करीब डेढ दशकपछि हवाईको इस्टवेस्ट सेन्टरमा समर स्कूलमा भाग लिन गएका वेला त्यहाँको भूगोल विभागमा कार्यरत फ्युक्ससँग मेरो भेट भयो।
उहाँको अनुहार मैले बिर्सेको थिइनँ। शायद उहाँले पनि त्रिवि कलेजको त्यो अनुभव भुल्नुभएको थिएन। तर, मैले त्यो नमीठो प्रसङ्ग उप्काइन। प्रोफेसर फ्युक्स कतिपय नेपाली विद्यार्थीका पीएचडी कमिटीका सदस्य हुनुहुन्थ्यो। पछि, सन् १९८५-१९८६ मा, डा. गुरुङ र म सो सेन्टरमा रिसर्च फेलो रहेका वेला उहाँले निकै सौहार्दता देखाउनुभएको थियो।
त्रिवि कलेजमा बडो उत्साह र जोशका साथ स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव हुने गर्थ्यो। मुख्य प्रतिस्पर्धा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच हुन्थ्यो। तर, सत्ताधारी पञ्चायत समर्थित राष्ट्रवादी विद्यार्थी मण्डलका उम्मेदवारले पनि च्याँखे थाप्थे। मुख्य चार पदका लागि हुने प्रत्यक्ष चुनावमा सन् १९६६ मा प्रगतिशील समूहबाट मेरा त्रिचन्द्रदेखिका सहपाठी निर्मलकुमार अर्याल अध्यक्ष चुनिए।
स्ववियूले त्रिपुरेश्वरमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा लामाको निकै रोचक भाषणको एक अंश थियो, ‘कसैले भनेका छन् भविष्यमा राजा पाँच ठाउँमा रहनेछन्- एउटा बेलायतमा र चार वटा तासका पत्तीमा।’
प्रत्येक विभागबाट पहिलो वर्षका विद्यार्थीमध्येबाट प्रतिनिधि चयन हुन्थे। सो वर्ष भूगोल विभागको पहिलो वर्षका विद्यार्थीमध्येबाट म सदस्य चुनिएको थिएँ। मलाई स्ववियूको प्रचार मन्त्रीको जिम्मेवारी दिइयो। कहिलेकाहीं सूचना निकाल्ने बाहेक मेरो खास काम केही थिएन। त्यस वेला स्ववियूको उपादेयता भनेकै पञ्चायतका विरोधमा प्रत्यक्ष-परोक्ष आवाज उठाइरहने मात्रै थियो।
त्यस ताका स्नातकमध्येबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व हुने व्यवस्था राखिएको थियो। त्यसमा प्रगतिशील फाँटबाट निर्मल लामा राष्ट्रिय पञ्चायतका निम्ति उम्मेदवार हुनुहुन्थ्यो। स्ववियूका प्रगतिशील समूहका हामी सबै लामालाई जिताउन निकै लाग्यौं। केही दिन चन्द्रानन्द नेवाको किलागलको घरमा प्रचार सामग्री बनाउन पनि जुट्यौं।
स्ववियूले त्रिपुरेश्वरमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा लामाको निकै रोचक भाषणको एक अंश थियो, ‘कसैले भनेका छन् भविष्यमा राजा पाँच ठाउँमा रहनेछन्- एउटा बेलायतमा र चार वटा तासका पत्तीमा।’ भाषणमा निकै ताली बज्यो; उहाँले जित्नेमा हामी ढुक्क थियौं। त्यस वेला परोक्ष रूपमै पनि त्यसो भन्नु अपराध सरह नै थियो। त्यसको लगत्तै लामालाई जेल हालियो र उहाँको उम्मेदवारी नै खारेज गरियो।
एमएको पहिलो वर्षको परीक्षा पाटनको हरिहरभवनमा भएको थियो। त्यो परीक्षाको एउटा स्मरणीय घटना छ। मेरो डेरा ठहिटीमा थियो। जाँचका लागि म एक घण्टाभन्दा अघि नै हिंडेको थिएँ, तर जमल हुँदै पाटन जाने बस आउन ढिलो गयो। हतार हतार बस चढें र, हरिहरभवन पाटनढोकानेर पर्ला भन्ने हिसाबले म पाटनढोकामा ओर्लें। त्यतिन्जेल १:१५ बजिसकेको थियो।
हरिहरभवनको खास ठेगाना मलाई थाहा थिएन। पाटनढोकातिर भन्ने अनुमान मात्र थियो। केही छिनको अलमलपछि सोधसाध गरेर हरिहरभवनको परीक्षा केन्द्र पुग्दा ४५ मिनट बितिसकेको रहेछ। भूगोलका सरहरू मलाई खोज्दै हुनुहुँदो रहेछ। सोधिएका सबै प्रश्नको जवाफ लेख्न सकिनँ, तर समग्रमा परीक्षा राम्रै गरेछु। सन् १९६७ मा भएको दोस्रो वर्षको परीक्षा पनि त्यहीं भए जस्तो लाग्छ।
यसरी दुई वर्षको एमएको पढाइ सकियो। एमएको परीक्षा मैले प्रथम श्रेणीमा उत्तीर्ण गरें। त्यो साल मसँगै प्रथम श्रेणीमा एमए गर्नेहरू अर्थशास्त्रमा ओमकार श्रेष्ठ, इतिहासमा फादर लुडविग स्टिलर र हेमन्त राणा, नेपालीमा वल्लभमणि दाहाल, आदि थिए। आफ्नो कक्षाको सबैभन्दा राम्रो विद्यार्थी भएर पनि आफूले हासिल गरेको ज्ञानसँग म बिल्कुलै सन्तुष्ट थिइनँ। मेरो अपेक्षा र एमएको पढाइको अनुभवबीच ठूलै खाडल थियो।
आफ्नो कक्षाको सबैभन्दा राम्रो विद्यार्थी भएर पनि आफूले हासिल गरेको ज्ञानसँग म बिल्कुलै सन्तुष्ट थिइनँ।
एमएपछिका तीन वर्ष
एमएको परीक्षा सकिएपछि पनि म गाउँ गइनँ। तिन ताका कक्षामा प्रथम हुनेलाई वर्षको १,००० रुपियाँको महेन्द्र छात्रवृत्ति दिने चलन थियो। भूगोलमा प्रथम भएकाले मैले त्यो छात्रवृत्ति पाएँ। यसले मलाई निकै महीना काठमाडौंमा बस्नका लागि हुने खर्चपर्चको जोहो भइहाल्यो। रणमुक्तेश्वर स्थित निर्मल विद्यालयको अनुरोधमा एसएलसीको ब्याचलाई अंग्रेजी, गणित, भूगोल, विज्ञान आदिमा तयारी कक्षाहरू चलाइदिने स्ववियूको हाम्रो समूहले निधो गरेको थियो। त्यसैले तिनलाई पढाउनु पनि थियो। यो स्कूलमा प्राय: गरीब परिवारका केटाकेटीहरू पढ़ने गर्थे। उनीहरूलाई मैले भूगोल र अंग्रेजी पढाएँ।
त्यहीबीच नेपाल भौगोलिक संस्था (नेभौस) को आयोजनामा भूगोल सम्बन्धी केही चाखलाग्दा गतिविधि भए। नेभौसं एक प्रकारले त्रिवि भूगोल विभागकै भगिनी संस्था थियो। सन् १९६२ मा यो संस्था स्थापित भए पनि यसको जर्नल द हिमालयन रिभ्यू सन् १९६८ मा मात्रै प्रकाशित भएको हो। भौगोलिक ज्ञान र अनुसन्धानको प्रवर्द्धन गर्नु यसको मूल उद्देश्य हो। सन् १९६७ को अक्टोबरमा जापानी वनस्पतिविद् जिरो कावाकिताको सम्मानमा भएको चियापान र सानो प्रवचन म सम्झन्छु।
कावाकिता सन् १९५२-१९५३ मा जापानीहरूको वैज्ञानिक अभियानका सहभागी थिए र हितोसी किहारा (सन् १९५२) ले सम्पादन गरेको फउना एन्ड फ्लोरा अफ नेपाल हिमालय भन्ने प्रतिवेदनका सहयोगी पनि। सन् १९६८ मै नेभौसंको आयोजनामा उपेन्द्रमान मल्लले ‘नेपालमा वन विनाश’ शीर्षकमा प्रवचन दिनुभएको थियो। त्यस्तै, अमेरिकी भूगोलविद् र भौगोलिक अभियन्ता र पर्वतारोही बेरी बिशपसँगको भेटघाट पनि म सम्झन्छु। उनी त्यस ताका कर्णाली प्रदेशको अध्ययनमा जाने तयारीमा थिए जस्तो लाग्छ।
संसारभरका भूगोलविद्हरूको बृहत प्राज्ञिक संगठन हो, इन्टरनेशनल जिओग्राफिकल यूनियन (आईजीयू)। यसको २१औं सम्मेलन भारतको नयाँ दिल्लीमा डिसेम्बर १-८, १९६८ मा भएको थियो। यो सम्मेलनमा संसारभरका ७१ देशका १,३०० भूगोलविद्ले भाग लिएका थिए। सम्मेलनको समापनपछि हुने स्थलगत अध्ययनको एउटा क्षेत्रमा नेपाल पनि थियो। ८ देखि १३ डिसेम्बरसम्मको नेपालको स्थलगत अध्ययनमा अमेरिका, क्यानाडा, बेलायत, स्वीडेन, जर्मनी, जापान, केन्या लगायत १२ देशका ४६ भूगोलविद्ले भाग लिएका थिए।
नेपालमा अन्तर्राष्ट्रिय भूगोलविद्हरूको त्यति ठूलो सहभागिता भएको त्यो पहिलो अवसर थियो। नेपालबाट मुख्य आयोजक र हर्ताकर्ता हर्क गुरुङ हुनुहुन्थ्यो। मलाई लाग्छ, उहाँकै पहलमा नेपालको स्थलगत अध्ययनको कार्यक्रम राखिएको थियो। त्यस ताका नेभौसंका अध्यक्ष उपेन्द्रमान मल्ल र महासचिव डा. गुरुङ हुनुहुन्थ्यो।
नेपालको स्थलगत अध्ययनमा आएका आईजीयूका भूगोलविद्का सहयोगीका रूपमा म लगायत अरू मभन्दा पहिले एमए पास गरेका नेपाली भूगोलविद्हरू थियौं। शंकर होटल, लाजिम्पाटबाट ८ डिसेम्बरको साँझ स्थलगत अध्ययनको शुभारम्भ गरियो। भोलिपल्ट मल्ल सर र डी.एन. रिमालले पाटन र गोदावरीको भ्रमण गराउनुभयो; साँझ नेपालको भूगोल र पोखरा उपत्यकाबारे डा. गुरुङले प्रवचन दिनुभयो। अर्को दिन (१० डिसेम्बर) पोखरा उड्नुपर्ने थियो।
हामी सबै जहाज चढ्यौं, जहाज रनवेतिर लाग्दै थियो, अचानक दौडदै आएको एउटा जब्बरको भैंसी जहाजको पखेटामा ठोक्कियो। उडानका साथै पोखराको कार्यक्रम रद्द भयो। फर्केर सबै टर्मिनल कक्षमा आएपछि गुरुङ सरले ठट्यौलो पारामा भनेको सम्झन्छु: ‘हु वुड ह्याभ थट द्याट अ बफेलो वुड टेक इट्स रिभेन्ज अन द डीसी थ्री अन दिस भेरी डे!’ परिमार्जित अध्ययन भ्रमणका क्रममा भक्तपुर-कटुञ्जे, दामनको यात्रा र एभरेस्टको हवाई अवलोकन भयो।
हामी सबै जहाज चढ्यौं, जहाज रनवेतिर लाग्दै थियो, अचानक दौडदै आएको एउटा जब्बरको भैंसी जहाजको पखेटामा ठोक्कियो।
सूर्यलाल अमात्य, चन्द्रबहादुर श्रेष्ठ र उपेन्द्रमान मल्लले प्रवचन दिनुभयो। नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय प्राज्ञिक संस्थाको यो नै पहिलो अध्ययन भ्रमण हुनुपर्छ र नेपालमा भूगोल विधाको पहिलो अन्तर्राष्ट्रिय चिनारी पनि। कार्यक्रमको सफलतामा सबै अन्तर्राष्ट्रिय सहभागी र हामी पनि सन्तुष्ट र हर्षित थियौं। यो सफलताको मुख्य श्रेय डा. गुरुङलाई नै जान्छ।
सन् १९६८ मा नै आईजीयूको अन्तर्राष्ट्रिय कंग्रेसको सन्दर्भ पारेर नेभौसंको जर्नल द हिमालयन रिभ्यूको पहिलो अङ्क प्रकाशित भयो। यो जर्नलमा हर्क गुरुङको नेपालको भौगोलिक आधार सम्बन्धी लेखका साथै जगतबहादुर बुढाथोकी, उपेन्द्रमान मल्ल, सूर्यलाल अमात्य आदिका लेखहरू र नेपाल सम्बन्धी पुस्तकहरू-प्रद्युम्न करणको नेपाल, टोनी हागनको नेपाल, डेबिड स्नेलग्रोभको हिमालयन पिलग्रिमेज, डोरबहादुर विष्टको पिपल अफ नेपाल–को हर्क गुरुङले गर्नुभएका समीक्षा समावेश छन्। सन् १९७० मा छापिएको द हिमालयन रिभ्यूको दोस्रो र तेस्रो अङ्कमा आईजीयूको नेपालको अध्ययन भ्रमणका क्रममा तयार पारिएका एक्सकर्शन नोट्स सङ्गृहीत छन् (हेर्नुहोस् द हिमालयन रिभ्यू सन् १९६८, १९६९-१९७०)।
सन् १९६८ को फेब्रुअरीमा म मेरो गाउँ फलेवासको स्कूलमा पढाउन जानुपर्ने भयो। तात्कालिक हेडमास्टरले अचानक विद्यालय छाडेकाले हेडमास्टरको अभावमा स्कूलको वातावरण नै अस्तव्यस्त होला कि भन्ने लागेछ विद्यालय सञ्चालक समितिका अध्यक्ष मेरा बुबा ईश्वर शर्मालाई। उहाँले मलाई केही कालका निम्ति आएर स्कूल सम्हाल्न भन्नुभयो। आफ्नै हजुरबुबाले स्थापना गरेको स्कूल भएकाले त्यो मेरो पारिवारिक दायित्वको कुरा पनि थियो। त्यसैले, १९६८ को फेब्रुअरीदेखि नोभेम्बरसम्म झण्डै १० महीना म भवानी विद्यापीठ पर्वतमा हेडमास्टर रहें। यसको विस्तृत चर्चा मैले अन्यत्रै गरेको छु (हेर्नुहोस् शर्मा २०६८)।
म फलेवासमा हेडमास्टरी गरिरहँदै ब्रिटिश काउन्सिलको छात्रवृत्ति सम्बन्धी एउटा सूचना हात पर्यो। प्लानिङ एन्ड हाउजिङ इन डेभलपिङ कन्ट्रीज विषयमा पोस्ट ग्र्याजुयट डिप्लोमाको डेढ वर्षे कोर्सका निम्ति सम्बद्ध विषयमा एमए गरेकाबाट निवेदन आह्वान गरिएको रहेछ। मैले त्यसमा आवेदन गरें, अन्तर्वार्ताका निम्ति काठमाडौं आएँ, छानिएँ, र गाँउ फर्केर स्कूलबाट बिदाबारी भई काठमाडौं फर्कें। पढ्न जाने समय अझै बाँकी थियो। त्यसै वेला त्रिविले भूगोलमा लेक्चररको आवेदन माग्यो। मैले पनि फाराम भरें, तर त्यसैबीच मेरो छात्रवृत्तिमा जाने दिन निश्चित भयो, र म अन्तर्वार्ता दिन गइनँ।
फलेवासबाट फर्केपछि छात्रवृत्ति पर्खंदै गर्दा झण्डै आठ महीना काठमाडौंकै बसाइ भयो। अन्तत: १९६९ को अक्टोबरमा स्कटल्यान्डको एडिनबरा विश्वविद्यालयको सिभिक डिजाइन एन्ड रिजनल प्लानिङ विभागमा पोस्ट ग्र्याजुयट डिप्लोमाको विद्यार्थीका रूपमा प्रवेश गएँ। एडिनबरामा पहिलोपल्ट टर्म पेपर लेख्नुपर्यो, पहिलोपल्ट कक्षामा प्रेजेन्टेशन दिनुपर्यो र पहिलोपल्ट हाम्रो शिक्षण पद्धतिका कमजोरी र आफ्नै ज्ञानका सीमाहरूबारे राम्रो अनुभूति भयो। मेरा सहपाठीहरू दक्षिण अमेरिका, एशिया, अफ्रिकाबाट आएका इन्जीनियर, आर्किटेक्ट, समाजशास्त्री र अर्थशास्त्री थिए।
म त्यहाँ भूगोलको विद्यार्थी थिइनँ। आवास र भौतिक योजना नितान्त नवीन विषय थिए, मेरा लागि। कोर्समा २०-२५ ओटा विभिन्न मोड्युलहरू थिए: निम्न आयका लागि आवासदेखि लिएर शहरी पूर्वाधार र योजनासम्म। सेमेस्टरको अन्तमा प्रोजेक्ट वर्क हुन्थ्यो, जसमा खास शहरको यथार्थ भौतिक-सामाजिक-आर्थिक तथ्याङ्क र जानकारी लिएर समग्र योजनाको अवधारणा र सोही अनुरूप भौतिक योजना बनाएर सोच र नक्सा प्रस्तुत गर्नुपर्थ्यो। बाहिरबाट आएका विज्ञले समालोचना गर्थे र त्यसको मूल्याङ्कन हुन्थ्यो। यो काम समूह समूहमा गरिन्थ्यो, तर विषयगत जिम्मेवारी हुन्थ्यो।
मेरा निम्ति यो एकदमै नौलो अनुभव थियो। यसले गर्दा बढी मिहिनेत गर्न, अनुशासित हुन र सन्दर्भ सामग्रीका निम्ति पुस्तकालयमा बढी समय व्यतीत गर्न सिकायो। एडिनबराका दिनहरू सबै हिसाबले (सानो बहुसांस्कृतिक पोस्ट ग्र्याजुयट स्टुडेन्ट हाउसमा बस्नाका कारणले र उमेरका कारणले पनि) रमाइला र स्मरणीय रहे। म बिदाका वेला स्वयंसेवकका रूपमा एडिनबराको बन्दरगाह क्षेत्रका गरीब परिवारहरूलाई सहयोग पुऱ्याउने सामाजिक काममा पनि लागें। एडिनबराको बसाइ र पढाइले मेरो आत्मविश्वास निकै बढायो।
सन् १९७१ को मध्यतिर मेरो कोर्स सकियो। तर, मलाई पोस्ट ग्र्याजुयट डिप्लोमा मात्र लिएर नेपाल फर्कन मन लागेन। मेरो अनुरोध र विभागको सिफारिशमा ब्रिटिश काउन्सिलले मेरो छात्रवृत्तिमा ६ महीना थप गरिदियो। त्यही अवधिमा नेपाल सम्बन्धी अनुसन्धानमा आधारित एउटा थेसिस तयार गरेर मैले त्यसैमा एमएस्सी उपाधि हासिल गएँ, र लगत्तै नेपाल फर्कें।
भूगोल पढाउन कीर्तिपुरमा
नेपाल फर्केपछि केही महीना पहाड घर फलेवास जाने र काम खोज्ने अलमलमा बित्यो। घर जानु अगाडि त्रिवि आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) का त्यस वेलाका निर्देशक पशुपतिशमशेर राणालाई भेटें। उहाँले मेरो थेसिस हेर्न माग्नुभयो। त्यो दिएर म घर लागें। घर छँदै बुलावा आयो- आवा मार्फत। त्रिविको भूगोल विभागबाट पनि बोलाए। गुरुङ सरको सुझावमा मैले भूगोल विभाग रोजें, र अप्रिल १४, १९७२ मा भूगोल विभागमा अस्थायी नियुक्ति पाएँ।
डा. गुरुङले राजीनामा गरेर खाली भएको ठाउँमा मेरो नियुक्ति भएको थियो। अस्थायी नियुक्तिपत्र अनुसार मेरो तलब मासिक रु.६०० थियो। त्रिविको कर्मचारीतन्त्र र लामो प्रक्रिया हुँदाहुँदै, र आफ्नो कुनै भनसुन गर्ने ‘सोर्स’ नहुँदानहुँदै पनि मेरो नियुक्तिमा देखिएको तदारुकताले म अचम्भित थिएँ। तर, त्यसको रहस्य चाँडै खुल्यो।
सन् १९७२ मा मैले पढाउन शुरू गर्दा सेमेस्टरमा आधारित अमेरिकी ढंगको नयाँ शिक्षा प्रणाली भर्खर लागू हुने क्रममा थियो। एमएका मेरा गुरु उपेन्द्रमान मल्ल नयाँ मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त हुनुभएकाले अध्यापनमा संलग्न हुनुहुन्थेन। अन्य दुई जना अध्ययन बिदामा हुनुहुन्थ्यो। डा. गुरुङ सन् १९६९ मै राष्ट्रिय योजना आयोग गइसक्नुभएको थियो। शिक्षकको चरम अभाव भएका वेला तात्कालिक अधिराजकुमार धीरेन्द्र शाह भूगोलमा एमए गर्न अर्को सत्रदेखि आउने निश्चित भएकाले प्राय: निद्रामा रहने त्रिविका पदाधिकारी अचानक जुर्मराएका रहेछन्। जे होस्, त्यसले मलाई चाहिं फाइदै भयो।
त्रिविमा मैले पढाउन शुरू गर्दा त्रिपुरेश्वरमा भएका सबै विभागहरू कीर्तिपुर सरिसकेका थिए। एमए दोस्रो वर्षको प्रयोगात्मक परीक्षा मैले कीर्तिपुरमै दिएको थिएँ। म विभागमा हाजिर हुँदा पुरानो शिक्षाका दुई ब्याच थिए। दोस्रो वर्षको पढाइ सकिने स्थितिमा थियो, र पुरानो एक ब्याच मात्र बाँकी थियो। केही महीना पढाएपछि म श्री ५ को सरकार, भवन विभागमा पाँच महीनाका लागि काजमा खटाइएँ, धनकुटाको नगर योजना सम्बन्धी अध्ययनका सिलसिलामा।
म विभागमा फर्कंदा जम्मा तीन जना शिक्षक थियौं। धेरै काल भक्तपुर कलेजमा प्रिन्सिपल रहनुभएका चन्द्रबहादुर श्रेष्ठले सन् १९६८ देखि विभागमा पढाउन शुरू गर्नुभएको थियो। सूर्यलाल अमात्य पीएचडीका निम्ति बनारस हिन्दू विश्वविद्यालय गएपछि चन्द्रबहादरले विभागीय प्रमुखको जिम्मेवारी पाउनुभएको थियो। मंगलराज जोशी पाटनबाट प्राक्टिकल र सर्भे पढाउन हप्ताका दुई दिन मात्र आउनुहुन्थ्यो। अन्य सबै कक्षाहरू लिने जिम्मा विभागीय प्रमुख र मेरो थियो।
आन्तरिक मूल्याङ्कन बाहेक नयाँ शिक्षा प्रणालीको पढाइ ‘नयाँ बोतलमा पुरानै रक्सी’ भन्दा खास फरक थिएन।
पुरानो बाँकी ब्याचमा बिदा लिएर पढ्न आएका एक जना स्कूले शिक्षक र सरकारी कार्यालयमा काम गर्ने एक जना ओभरसियर थिए। केही समयपछि नयाँ शिक्षा प्रणाली अन्तर्गतको ६ विद्यार्थीको पहिलो ब्याच थपियो, जसमा धीरेन्द्र शाह पनि एक थिए।
सन् १९७२-१९७३ को एमएको शैक्षिक वर्ष मेरा निम्ति असाध्यै चुनौतीपूर्ण रह्यो। एकतिर पुरानो ब्याचका बाँकी रहेका कोर्सहरू सक्नुपर्ने थियो, अनि अर्कोतिर सेमेस्टरको पहिलो ब्याचको नयाँ कोर्स अन्तर्गतका विषयहरू समेत पढाउनुपर्ने भयो। पुरानो पाठ्यक्रमको त म राम्रै जानकार थिएँ, तर नयाँ कोर्सको पढाइको प्रारूप र लेक्चर प्लान पहिलोपल्ट गर्नुपर्थ्यो, जसको कुनै पूर्व अनुभव थिएन। फेरि, केहीअघि भएको कोर्सको डिजाइनमा पनि म संलग्न थिइनँ।
सेमेस्टर प्रणालीको पहिलो ब्याच आउनुअघि हुनुपर्ने कोर्स बाहेकको पूर्व तयारी केही थिएन। मलाई त अभिमुखीकरण समेत राम्रोसँग भएको सम्झना छैन। सेमेस्टर प्रणालीले तीन कुराको अपेक्षा गर्छ- १) विभागीय पूर्वाधार, ताकि शिक्षक-विद्यार्थी दुवैले कतिपय प्राज्ञिक अभ्यास र तयारी विभागमै गर्न सकून्; २) स्वायत्तता, ताकि शिक्षकलाई कोर्स डिजाइन गर्ने, कक्षामा प्रस्तुति गर्ने र विद्यार्थीलाई मूल्याङ्कन गर्ने पूर्ण स्वतन्त्रता होस् र, ३) शिक्षकको क्षमता अभिवृद्धि, ताकि शिक्षकको प्राज्ञिक क्षमतामा मात्र हैन पेशाप्रतिको निष्ठा र उत्तरदायित्वमा समेत अपेक्षित वृद्धि होस् र शिक्षक र विद्यार्थीबीचको प्राज्ञिक अन्तरक्रिया सघन होस्।
सेमेस्टर प्रणाली लागू गर्दा यी कुनै पनि कुरामा ध्यान दिइएको थिएन। विभागीय पूर्वाधारको नाउँमा केही कक्षाकोठा र एउटा सामूहिक कोठा मात्र थियो। सिफारिश गरिएका कतिपय पुस्तक पुस्तकालयमा उपलब्ध थिएनन्, वा आइसकेका थिएनन्। एडिनबरामा जस्तो कक्षामा पढ्न सिफारिश गरिएका पुस्तक, लेखहरूका ३-४ प्रति विद्यार्थीका निम्ति पुस्तकालयमै बसेर पढ्ने गरी राखिदिने चलन थिएन। पुस्तकालयमा फोटोकपीको व्यवस्था पनि थिएन। विषयगत मूल्याङ्कनका नाममा २० नम्बरको कक्षा जाँच हुन्थ्यो, जसको नम्बर अन्तिम नतीजामा जोडिन्थ्यो। आन्तरिक मूल्याङ्कन बाहेक नयाँ शिक्षा प्रणालीको पढाइ ‘नयाँ बोतलमा पुरानै रक्सी’ भन्दा खास फरक थिएन।
जे होस्, पहिला दुई वर्ष मेरा निम्ति अत्यन्तै व्यस्तताका वर्ष रहे। दुई ब्याचका लागि एकपछि अर्को कक्षा भ्याउनुपर्थ्यो, दुई जनाले। नयाँ भएकाले पनि मैले आफूले पढाउने विषय रोज्न पाउने कुरा थिएन। त्यस ताका दिनको तीन-तीन कक्षा गरी हप्ताको १८ कक्षा लिनुपर्थ्यो। ती पहिला दुई वर्षमा मैले धेरै विषय पढाएँ- समग्र जिओमफोर्लोजी; क्लाइमेटोलोजी; नेपाल, भारत, चीन र सोभियत संघको प्रादेशिक भूगोल; इकोनोमिक जिओग्राफी; रिजनल प्लानिङदेखि लिएर अर्को विभाग गएर लिनुपर्ने 'माइनर' को डेभपलमेन्ट इकोनोमिक्स समेत।
त्यो शिक्षणभार सम्झेर अहिले पनि मलाई आश्चर्य लाग्छ: पुस्तकालय गएर भएका र चाहिने किताब ल्याउनु, ५ बजेतिर चिकमुग:को डेरा फर्केर भोलिको लेक्चरका लागि राति अबेरसम्म क्लास नोट बनाउनु, बिहान साफी गर्नु, साढे दशमा बस पक्डन शहीदगेट आउनु, अनि सकीनसकी साझाको हरियो बसमा कोचिएर कीर्तिपुर पुगेर १२ बजेदेखि एकपछि अर्को क्लासमा पढाउनु, अनि फेरि पुस्तकालय, र डेरा...। दिउँसो एकै छिन साथीहरूसँग क्याफेटेरियामा चिया खान गइन्थ्यो। त्यत्ति हो।
यो रुटिन मैले करीब दुई वर्ष निरन्तर पछ्याएँ। कहिल्यै फुर्सद भएन। चिकमुग:को डेरामा त्रिचन्द्रमा बीएस्सी र आईए पढदै गरेका दुई भाइहरू थिए। खाना बनाउने एक जना सहयोगी थिए, जसलाई हामीले स्कूलमा पढाउँथ्यौं। त्यसैले, काम बाहेक अन्य कुरामा त्यति ध्यान दिनुपर्दैनथ्यो। तर, मैले त्यसरी जोतिएर जीवनमा कहिल्यै काम गरेको थिइनँ। अहिले मलाई लाग्छ, त्यो जाँगर आफूलाई प्रमाणित गरिछाड्ने मेरो सङ्कल्पले दिएको थियो। त्यो जोताइको फाइदा पनि भयो, म सबैजसो विषयको जानकार भएँ, र कहिल्यै नगरेको काम पनि अलिक मिहिनेत गरे गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो।
‘पढ्दाभन्दा पढाउँदा बढी जानिन्छ’ भन्ने सूत्र त्रिविमा पढाउँदाका ती शुरूका वर्षहरूले सिकाए। प्रश्न गर्ने विद्यार्थीले पनि सिकाए, किनभने प्रश्नको जवाफ दिन पहिला आफैंले जान्नुपर्यो।
त्यो अनुभव पछि गएर धेरै काम लाग्यो- राष्ट्रिय जनसङ्ख्या आयोगमा प्रमुख सल्लाहकार हुँदा; पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा गैर-कृषि रोजगारी, पर्यटन, प्रादेशिक योजना र वातावरण सम्बन्धमा काम गर्दा; र त्यस्तै विविध विषयमा परामर्शदाताको भूमिकामा रहँदा। कति विषयमा मेरो चाख पनि बढ्यो।
भौतिक भूगोलमा पहिले त्यति रुचि नभए पनि त्रिविमा पढाउन्जेल आफैंले रोजेर मैले सधैं पेरीग्लेसियल जिओमर्कोलोजी पढाएँ। पछि क्वान्टिटेटिभ जिओग्राफी समेत पढाएँ। नयाँ आउने अध्यापकहरूलाई म सधैं ‘गाह्रो विषय पढाऊ, मिहिनेत पर्छ तर जान्ने हुन्छौ’ भनिरहन्थें। ‘पढ्दाभन्दा पढाउँदा बढी जानिन्छ’ भन्ने सूत्र त्रिविमा पढाउँदाका ती शुरूका वर्षहरूले सिकाए। प्रश्न गर्ने विद्यार्थीले पनि सिकाए, किनभने प्रश्नको जवाफ दिन पहिला आफैंले जान्नुपर्यो।
पहिलो वर्षको अन्ततिर अलिक सजिलो हुँदै गयो। धेरै कालसम्म कलेज तहमा पढाएर धेरै पाठ्यपुस्तक समेत लेख्नुभएका अग्रणी भूगोलविद् शरणहरि श्रेष्ठ विभागमा प्रवेश गर्नुभयो। हाम्रो शिक्षणभार अलिक हलुको भयो।
माथि भनिसकियो, सेमेस्टरको पहिलो ब्याचमा जम्मा ६ जना विद्यार्थी थिए, जसमध्ये तीन जना छात्रा थिए। तीन छात्रमध्ये एक तात्कालिक राजा वीरेन्द्र शाहका कान्छा भाइ धीरेन्द्र थिए। छात्रामध्ये एक पढाइमा मेधावी थिइन् भने अर्की एक अलिक कमजोर थिइन्। त्यस्तै, एक जना छात्र पनि अलिक कमजोर नै थिए। धीरेन्द्र शिक्षकहरूसँग अदवसाथ कुरा गर्ने, अल्पभाषी र पढाइका दृष्टिले औसत विद्यार्थी थिए। पढाइमा त्यति चाख भएको जस्तो मैले देखिनँ। मिहिनेत गर्ने उनको बानी थिएन। तर, कक्षा नियमित आउने गर्थे र साथीहरूप्रति उनको व्यवहार पनि राम्रै थियो।
बाहिर हिंड्दा कतै देखादेख भयो भने आएर अदवसाथ भलाकुसारी गर्थे। कक्षामा उनी त्यति प्रश्न सोध्दैनथे। उनका कुरा सुन्दा सोझा र सरल व्यक्ति जस्तो लाग्थे। विश्वविद्यालयमै पढ्दै गर्दा नै उनको बिहे भएको थियो। शीतल निवासमा आयोजित विवाहभोजमा दुई दिन जति हामी सबै निम्त्याइएका थियौं। विद्यार्थी कालपछि मेरो उनीसँग भेटघाट भएन। उनको उपस्थितिले विभागको पूर्वाधार वा सुविधामा कुनै फरक आएको थिएन।
जाडो याममा सेमेस्टरको पहिलो ब्याचका विद्यार्थीहरूलाई पश्चिम र मध्यपश्चिमाञ्चलको भौगोलिक भ्रमणमा लाने कार्यक्रम थियो। भ्रमणमा ६ विद्यार्थी, धीरेन्द्रका पार्श्ववर्ती र शिक्षकमा चन्द्रबहादुर श्रेष्ठ, शरणहरि श्रेष्ठ र म गरी तीन जना थियौं। करीब तीन हप्ताको यो भ्रमण विद्यार्थीका निम्ति मात्र नभएर हामी शिक्षकका निम्ति पनि शिक्षाप्रद रह्यो। गाडीबाट पोखरा हुँदै तानसेन, पाल्पा जाने र त्यहाँबाट पैदल भ्रमण शुरू गर्ने हाम्रो कार्यक्रम थियो। पोखरा र तानसेनमा एक-एक दिन बसियो।
तानसेनबाट अर्गली हुँदै रिडी-तम्घास-वाङला-असुरकोट-प्यूठान खलंगा-विजुवार-तिराम हुँदै दाङ घोराहीसम्म पैदल यात्रा गरौं। रिडी, तम्घास, प्यूठान, दाङ-घोराही, तुलसीपुर र अन्य एक-दुई ठाउँमा बस्तीको बनोट अध्ययन गर्न एक-एक दिन बिसायौं पनि। पाल्पा अर्गलीको सोह्रौं शताब्दीमा मणिमुकुन्द सेनका पालादेखिको राजकुलोको केही भाग हेर्यौं। बस्तीहरूको जातिगत विविधता, भूगोल अनुसारको उत्पादन क्षमता र गरीबी, पहाडको मोहडा अनुसार बाली र वनस्पतिको संयोजन र बस्तीको घनत्व जस्ता टड्कारै देखिने अन्तरसम्बन्धहरूको यो भ्रमणले राम्रो जानकारी दिएको अनुभव मैले गरें।
त्यस्तै, तम्घास, प्यूठान, दाङ-घोराही र तुलसीपुर जस्ता उदयोन्मुख बस्तीहरूमा देखिने सरकार र प्रशासनको दीर्घकालीन योजनाविहीन लगानी र विकासका विकृतिको पूर्वाभास पनि भए जस्तो लाग्यो। यी कुराको विद्यार्थीहरूसँग चर्चा पनि गर्यौं। सानै भए पनि तम्घास उपत्यका आकर्षक थियो त्यस वेला।
तुलसीपुरबाट हवाईजहाजमा भैरहवा आयौं। भैरहवा आउनुको मुख्य उद्देश्य महात्मा बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन गर्नु थियो। लुम्बिनी जाने एकदमै कच्ची बाटो थियो। ट्रक, लरी बाहेक साधारण गाडी जान सम्भव थिएन। तल क्लियरेन्स बढी भएको रसियन जीपले गर्दा मात्र त्यहाँ जानु सम्भव भएको थियो। केञ्जो टाङ्गेको लुम्बिनी गुरुयोजना त्यस वेला भ्रूणमै थियो; सन् १९७८ देखि मात्र सुस्त सुस्त कार्यान्वयनमा आएको हो।
भौगोलिक भ्रमणका क्रममा धीरेन्द्रको एउटा छद्म नाम राखेका थियौं हामीले। उनले आफ्नो हैसियतको दुरुपयोग कहिल्यै गरेनन्, न कुनै कुरामा नाइँनास्ति नै गरे।
लुम्बिनी परिसरमा अशोक स्तम्भ, बोधी वृक्ष, तलाउ, मायादेवीको मन्दिर र सम्भार नगरेका पुरातात्त्विक अवशेषहरू बाहेक केही थिएन। त्यो वेला लुम्बिनी जानुको फाइदा के भयो भने त्यसपछिका प्रत्येक १०-१२ वर्ष जस्तोमा म लुम्बिनी गएको छु र एक प्रकारले त्यहाँ भएको क्रमिक विकास देखेको छ। अहिले देखिने प्रभावशाली परिवर्तन धेरै लामो समयक्रममा भएको हो।
भैरहवाबाट हामी काठमाडौं जहाजमा फर्क्यौं। भ्रमण झण्डै १७-१८ दिन जतिको थियो। विद्यार्थीकालमा जस्तै आफ्नो सामान आफैं बोकियो, तर यसपालि गतिलो रुकस्याक थियो। धीरेन्द्र शाहको उपस्थितिले गर्दा भ्रमण कतै कतै केही असहज पनि रह्यो, सुरक्षा कारणले गर्दा। यद्यपि, त्यसले भ्रमणको रमाइलोमा कुनै फरक भने पारेन। धीरेन्द्र भएकाले होला, अरू वेलाभन्दा त्रिवि प्रशासनले भ्रमणका निम्ति प्रति विद्यार्थी रकम उदारताका साथ उपलब्ध गराएको थियो। यसले गर्दा यात्राको (खास गरेर हवाईजहाजको) भार विद्यार्थीले बेहोर्नु परेन। भौगोलिक भ्रमणका क्रममा धीरेन्द्रको एउटा छद्म नाम राखेका थियौं हामीले। उनले आफ्नो हैसियतको दुरुपयोग कहिल्यै गरेनन्, न कुनै कुरामा नाइँनास्ति नै गरे। खाने, बस्ने सबै कुरामा साधारण विद्यार्थी जस्तै व्यवहार गरे।
आफू एमए पढ्दाको विद्यार्थीकालको अनुभव त्यति सन्तोषजनक नभएकाले तयारीका साथ कक्षामा जाने र सन्दर्भ सामग्रीहरूको समेत जानकारी दिने प्रयत्न मैले गर्थें। विद्यार्थीहरूलाई टर्म पेपर लेख्ने र कक्षामा प्रस्तुति दिन लगाउने चेष्टा पनि गरें, तर त्यो त्यति सफल भएन किनभने त्यो प्रणालीगत थिएन। तर, कक्षामा क्विज गर्ने, सामग्री पढे/पढेनन् भनेर सोध्ने, ससाना गृहकार्य दिइरहने र खास गरेर विद्यार्थीको प्रगतिको आकलन गर्ने काम मैले गरिरहें।
सबैभन्दा सन्तोषको कुरा, सेमेस्टरको पहिलो ब्याचका शुरूमा निकै कमजोर रहेका एक छात्रा र छात्रले पहिलो वर्षमै उल्लेख्य प्रगति गरे। उनीहरूको बढेको आत्मविश्वासले म उत्साहित थिएँ। त्यस ताका भूगोलका कक्षाहरू नियमित हुन्थे। लामो हडताल गर्ने चलन आइसकेको थिएन। अनि, भूगोलका कक्षाहरू अलिक भित्रतिर पर्ने हुँदा ससाना गोलमालले पढाइमा कुनै प्रभाव पार्दैनथे।
अमेरिकाबाट राजनीतिक भूगोलमा पीएचडी गर्नुभएका मंगलसिद्धि मानन्धर सन् १९७४ मा विभाग प्रवेश गर्नुभयो। पीएचडी गर्न जानुभएका सूर्यलाल अमात्य पनि पढाइ सकेर सोही साल विभागमा हाजिर हुनुभयो। यसरी शरणहरि श्रेष्ठ, मंगलसिद्धि र सूर्यलाल अमात्य लगालग विभागमा आएपछि हामी दुईको (चन्द्रबहादुर श्रेष्ठ र मेरो) पढाउने बोझ निकै हलुका भयो। यसअघि ऐच्छिक रूपमा राखिएको तर शिक्षकको अभावमा नपढाइने राजनीतिक भूगोल अब पाठ्य विषयमा समावेश भयो। भौतिक भूगोलको केही भाग पनि मंगलसिद्धिले पढाउन थाल्नुभयो। त्यस्तै, आर्थिक भूगोल र नेपालको केही भाग सूर्यलाल अमात्यले। विभागको वातावरण पनि अलि फरक भयो। यद्यपि, विभागीय पूर्वाधारमा भने केही उन्नयन भएको थिएन।
विभागको आफ्नै पुस्तकालय (कोर्सका अत्यावश्यक पुस्तक सहज रेफरेन्सका लागि राखिने र त्यहीं बसेर पढ्नुपर्ने) थिएन; अहिले पनि केन्द्रीय पुस्तकालयसँग आबद्ध विभागीय पुस्तकालय छैन। त्यसबारे तात्कालिक केन्द्रीय पुस्तकालयाध्यक्षसँग कुरा गर्दा उहाँले त्यो प्रस्तावलाई यस्तो नकारात्मक हिसाबले लिनुभयो कि मैले कुरै गर्न छाडें। विभागीय पुस्तकालय भएका खण्डमा केन्द्रीय पुस्तकालय ओझेलमा पर्छ भन्ने उहाँलाई डर रहेछ।
केन्द्रीय पुस्तकालयाध्यक्षका हैसियतले उहाँको ठूलो धाक थियो। त्यो मानसिकता अहिले पनि हटेको छ जस्तो मलाई लाग्दैन। ती शुरूका पढाउने दिनहरूमा एडिनबराको पुस्तकालयलाई मैले पटक पटक सम्झें। हाम्रो विभागमा शिक्षक जम्मा हुने एउटा कोठा त थियो, तर शिक्षकले विभागमै बसेर अध्ययन गर्न मिल्ने कक्ष थिएन। विभागमा शिक्षक थपिएपछि म त्रिवि आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) ले सञ्चालन गरिरहेको प्रादेशिक विकास अध्ययनमा पनि संलग्न रहें।
त्यसै वेला जापानबाट फुमियो योनेचि नामका एक जना भूगोलका प्रोफेसर नेपालबारे अध्ययन गर्न हाम्रो विभागसँग आबद्ध भएका थिए। नेपालको भूगोलको कक्षामा लेक्चर सुन्न उनी बस्थे र कहिलेकाहीं लेक्चर पनि दिन्थे। पछि उनले हाम्रै सल्लाहमा मध्यपश्चिम नेपालको पहाडी भागको लामै पैदल भ्रमण गरे, र नेपाल सम्बन्धी केही प्राज्ञिक लेख लेखे।
त्यसैबीच विभागको गतिविधिमा केही नयाँपन थपियो। पहिलोपल्ट विभागीय अनुसन्धानको काम शुरू भयो। हर्क गुरुङ योजना आयोगमा उपाध्यक्ष हुनुहुन्थ्यो र उहाँकै सल्लाह र प्रेरणामा विभागले नेपालको जनसङ्ख्या वितरण सम्बन्धी अध्ययन र नक्सांकन गर्नका लागि एउटा परियोजना (हेर्नुहोस् सीडीजी सन् १९७४) प्राप्त गर्न सफल भयो। यसमा विभागका हामी सबैजसो शिक्षक र केही विद्यार्थी पनि संलग्न भयौं। मैले जानेसम्म त्रिविका मानविकी र सामाजिक विज्ञान संकायका कुनै पनि विभागले गरेको यो पहिलो विभागीय परियोजना अध्ययन थियो। विभागका निम्ति यसले एउटा नयाँ बाटो खोल्यो।
त्यस वेलादेखि भूगोल विभागले नेपाल सरकार र अन्य निकायका निम्ति धेरै अध्ययन प्रतिवेदनहरू तयार गरेको छ। विभागीय परियोजनाको यो अभ्यास विभिन्न उतारचढावका बीच अहिले पनि कायम छ। यस्ता अनुसन्धानहरूको कालान्तरमा दुइटा प्रयोजन हुने गर्छ-पहिलो, अध्यापनका क्रममा प्रयोग गर्न सकिने नयाँ ज्ञानको निर्माण, र दोस्रो, प्राज्ञिक लेखनको विस्तार। पहिलोबारे म त्यति जानकार छैन, तर दोस्रो काम भने विभागबाट प्रकाशित हुने जिओग्राफिक जर्नल अफ नेपालका वार्षिक अङ्कहरूको अवलोकन गर्ने हो भने स्पष्ट देखिन्छ।
नेभौसंको जर्नल द हिमालयन रिभ्यू १९६८ मा छापिन थालेदेखि नै भूगोल विभाग र संस्थाको नजिकको सम्बन्ध रहेको हो। नेभौसं र जर्नलका पदाधिकारी तथा सम्पादक विभागकै शिक्षक हुने भएकाले दुवै एकअर्काका परिपूरक जस्तै रहे। त्यसपछि, वर्षको एक-दुई पल्ट बाहिरबाट आएका वा नेपालभित्रै अनुसन्धानरत भूगोलविद्बाट नेभसं मार्फत प्रवचन आयोजना गर्ने चलन बस्यो।
सन् १९७३-१९७४ मा कलकत्ता विश्वविद्यालयबाट आएका प्रोफेसर एस.पी. च्याटर्जीले ‘प्रदेश र प्रादेशिक योजना’ सम्बन्धमा, पीएचडी सकेर आउनुभएका सूर्यलाल अमात्यले ‘नेपालमा नगदे बाली,’ र अलि अघि अमेरिकाबाट पीएचडी गरेर फर्कनुभएका रत्न राणाले ‘नेपालमा जनसङ्ख्याको बसाइँसराइ र समस्या’ विषयमा प्रवचन दिनुभएको मलाई सम्झना छ।
सन् १९७४ को शुरूमा ठूलो प्रयासपछि शिक्षक आवासको सुविधा पाएर म पहिला विद्यार्थी होस्टलको ‘क’ ब्लक र केहीपछि रिसर्च क्वार्टरमा सरें। ‘क’ ब्लकमा बस्दा विद्यार्थीसँगै मेसमा खाना खान्थें। कीर्तिपुरको बसाइले साझा बसको कोचाकोचबाट र काठमाडौंको भागदौडबाट छुटकारा मिल्यो। सेप्टेम्बर १९७४ मा त्रिवि सेवा आयोगको अन्तर्वार्तापछि स्थायी नियुक्ति पनि पाएँ।
संयुक्त राज्य अमेरिकाको सरकारले प्रदान गर्ने फुलब्राइट छात्रवृत्तिको आवेदन त्यसै वेला खुलेको थियो। मैले प्रादेशिक योजनामा पीएचडीका निम्ति आवेदन हालें। आवेदन स्वीकृत भएपछि पहिले एलेगु भनिने प्रारम्भिक अंग्रेजी भाषाको जाँच, त्यसपछि टोफल भनिने अर्को भाषिक जाँच, अनि जीआरई भनिने अमेरिकामा स्नातकोत्तर पढाइका लागि छनोटको जाँच हुन्थ्यो। छात्रवृत्तिमा छानिनका लागि यी तीनै जाँचमा सफल हुनै पर्थ्यो। एलेगु जाँचको मिति आवेदकको घरमै पठाउने गरिन्थ्यो। म त्यही पर्खिरहेको थिएँ; आएको थिएन। एलेगुको परीक्षण नेपालमै हुन्थ्यो; टोफल र जीआरईको परीक्षा बाहिरका संस्थाले गर्थे।
एक दिन विभागको मेरो कक्षाकोठाबाट निस्कंदै गर्दा संस्कृति तथा पुरातत्त्व विभागमा पढाउने मित्र मुकुन्दराज अर्यालसँग जम्काभेट भयो। मलाई देख्नेबित्तिकै उनले ‘एलेगु जाँच दिनजाने हैन?’ भने। मैले आफूलाई खबर नआएको बताएँ। तर, उनले ‘अब हिंड, गइहालौं, यो मिस भयो भने त गयो छात्रवृत्ति’ भन्दै मलाई तानेर उनको मोटरसाइकल पछाडि राखेर नयाँ सडकमा रहेको अमेरिकन लाइब्रेरी पुऱ्याए। हामी ठीकै समयमा पुगेछौं। दुवैले परीक्षा दियौं।
त्यसको केही समयपछि अन्तर्वार्ता पनि भयो र अन्तिम छनोटका पाँच जनामा म पनि परें। पीएचडीका निम्ति छानिने त म एक जना मात्र थिएँ। छात्रवृत्तिमा विश्वविद्यालय पनि रोज्न पाइन्थ्यो; पाउने-नपाउने कुरा भने विश्वविद्यालयमै भर पर्थ्यो। मलाई भीडभाड नभएको सानो शहरमा अवस्थित राम्रै मानिएको विश्वविद्यालयमा जाने मन थियो। फेरि प्रादेशिक योजना विषयमा छानिएकाले त्यही विषयमा पीएचडी प्रोग्राम भएको विश्वविद्यालय मैले रोज्नुपर्थ्यो।
टोफल, जीआरई आदि परीक्षा दिएर अन्तत: १९७५ को मध्यतिर विश्वविद्यालयको निधो पनि भयो- न्यूयोर्क राज्यको माथिल्लो भागमा पर्ने ग्रामीण परिवेशको सानो शहर इथाकामा अवस्थित कोर्नेल विश्वविद्यालय। यो मैले रोजेको विश्वविद्यालयमध्येमा पर्थ्यो। कोर्नेल जान मलाई उत्साहित गर्ने व्यक्ति हुनुहुन्थ्यो डा. रामप्रकाश यादव, जो कोर्नेलको कृषि अर्थशास्त्र विभागबाट पीएचडी गरेर नेपाल फर्केपछि कृषि आयोजना सेवा केन्द्र (एप्रोस्क) मा उपनिर्देशक हुनुहुन्थ्यो। कोर्नेलमा भूगोल विभाग भने थिएन।
मेरो छात्रवृत्तिको निधो भएकै वेलातिर विश्वविद्यालय प्रशासनको जानकारी र अनुमति विना पञ्चायत विरोधी विद्यार्थी आन्दोलन दबाउन त्रिवि परिसर कीर्तिपुरमा प्रहरी प्रवेश गर्यो। यो त्रिविको स्वायत्ततामाथि पहिले कहिल्यै नभएको ठाडो हस्तक्षेप थियो। विद्यार्थीहरूले त विरोध गर्ने नै भए, प्राध्यापकहरूले पनि त्यसको विरोधमा सभा गरे, र सरकारको कदमको विरोधमा प्रस्ताव समेत पास गरे।
त्यो सभा र विरोध प्रस्ताव तयार गर्ने तथा प्रस्तावमा सही गर्ने प्राध्यापकहरूलाई डीनको कार्यालयले एक हप्ते स्पष्टीकरण माग्यो। स्पष्टीकरण मागिनेमध्ये म पनि एक थिएँ। वास्तवमा, प्रस्ताव तयार गर्न अरू साथीहरूका अतिरिक्त मेरो पनि संलग्नता थियो। मैले डीन कार्यालय गएर मौखिक स्पष्टीकरण दिएँ, र भनें– त्रिविमा प्रहरीको प्रवेश विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भएकाले त्यसको विरोध गरेको हुँ।
त्यस ताका मेरा गुरु प्रोफेसर उपेन्द्रमान मल्ल डीन हुनुहुन्थ्यो। उहाँलाई म फुलब्राइट छात्रवृत्तिमा छानिएको कुरा थाहा थियो। उहाँले ‘कहिले उड्ने?’ भनेर सोध्नुभयो। मैले मिति बताएँ। उहाँले सकेसम्म चाँडै जान भन्नुभयो र सरकारले निकै गम्भीर कदम चाल्ने जस्तो बुझेको कुरा गर्नुभयो। म अन्यमनस्क भएर बाहिर निस्कें। सोझै फुलब्राइटको कार्यालय गएँ र मल्ल सरले भनेको कुरा बताएँ। प्रोग्राम अफिसर सुब्बाजीले टिकट अगाडि ल्याउन सकिने जति कोशिश गर्ने बताउनुभयो। नभन्दै मेरो निश्चित मितिभन्दा तीन दिनअघि नै काठमाडौंबाट उड्ने र तीन ओटा स्टप (दिल्ली-बेरुत-लन्डन) हुँदै चौथो दिन न्यूयोर्क पुग्ने गरी टिकट मिलाइदिनुभयो। सोही अनुसार म अमेरिका उडें।
म अमेरिका पुगेको दुई हप्ता पनि नबित्दै प्रोफेसर वासुदेवचन्द्र मल्ल, सहाना प्रधान लगायत काठमाडौंभित्र र बाहिरका क्याम्पसका ३० जनाभन्दा धेरै प्राध्यापकहरूलाई विश्वविद्यालयबाट निष्कासन गरियो। कीर्तिपुरका डा. मंगलसिद्धि मानन्धर, डा. प्रेमरमण उप्रेती, केदारभक्त माथेमा जस्ता अन्य कतिपय साथीहरूलाई ग्रेड रोक्का, नसिहत आदि दिइयो। कीर्तिपुरको घटना त पञ्चायतलाई चाहिएको एउटा सानो निहुँ मात्र रहेछ, र शिक्षकहरूको निष्कासन लामै समयदेखिको योजनाबद्ध कारबाही रहेछ।
अनौठो के भने, निकालिएकामध्ये कति त सो विरोध/हस्ताक्षरमा संलग्नै थिएनन्। म नेपाल छाडेर बाहिर गइसकेकाले ममाथि केही कारबाही नगरिएको हुन सक्छ। धेरैपछि तात्कालिक उपकुलपति सूर्यबहादुर शाक्यले यो कुरा भन्नुभएको जानकारी मैले पाएको हुँ। बहुदल आएपछि उहाँ ठूलो प्रजातन्त्रवादी हुनुभयो।
म अगस्ट १९७५ देखि कोर्नेल विश्वविद्यालयको सिटी एन्ड रिजनल प्लानिङ विभागको डक्टोरल प्रोग्राममा प्रवेश गरें। त्यसको तीन वर्षपछि १९७८ को अगस्ट अन्ततिर मेरो पीएचडीको अन्तिम मौखिक परीक्षा सकियो। प्राज्ञिक हिसाबले साहै व्यस्त र उपलब्धिपूर्ण तीन वर्ष कोर्नेलमा बिताएर म नोभेम्बर महीनामा नेपाल फर्कें, र लगत्तै केन्द्रीय भूगोल विभागमा हाजिर भएँ। धेरैले ‘यति चाँडो किन फर्केको?’ भनेर मलाई सोधे। प्रश्न स्वाभाविक थियो। तर, तीन वर्षको मेरो अमेरिका प्रवासमा मैले त्यस्तो कुरा त्यहाँ केही भेटिनँ, जसले मलाई मेरो देशभन्दा बढी आकर्षित गरोस्!
विद्यावारिधि गरेर फर्केपछि
अमेरिकाबाट फर्केपछिको मेरो प्राज्ञिक र व्यावसायिक अनुभव धेरै पृथक् र विविध रह्यो। त्यसपछि म अध्यापनमा मात्र सीमित रहिनँ। पढाउनुका अतिरिक्त विभाग र विश्वविद्यालयभित्र तथा बाहिरको अनुसन्धानमा मेरो संलग्नता बढ्यो। जनसाङ्ख्यिक अनुसन्धानकै सिलसिलामा राष्ट्रिय जनसङ्ख्या आयोगको अनुरोधमा सन् १९८२ देखि १९८४ सम्म झण्डै साढे दुई वर्ष त्यहाँ प्रमुख सल्लाहकार भएर काम गरें। नेपालको जनसङ्ख्या रणनीति, सो अनुरूपका कार्यक्रमको निर्माण, र डा. हर्क गुरुङको संयोजकत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बसाइँसराइको प्रतिवेदन लगायत अन्य जनसङ्ख्या सम्बन्धी विभिन्न अध्ययनहरू त्यही वेला गरिएका हुन्।
१८ वर्षजति प्राध्यापक आवासमा बसेका कारणले पनि होला त्रिवि, कीर्तिपुरको गेटभित्र पस्दा अहिले पनि पुरानो घर फर्के जस्तो लाग्छ।
जनसङ्ख्या आयोगकै वित्तीय र प्राज्ञिक सहयोगमा हालको त्रिवि केन्द्रीय जनसङ्ख्या अध्ययन विभागको प्रारम्भिक पठनपाठनको थालनी भएको हो। नेपालका सन्दर्भमा नीति-निर्माण र कार्यान्वयनको जटिलता र विदेशी सहयोगको अन्तर्य बुझ्न जनसङ्ख्या आयोगको अनुभव मेरा निम्ति निकै शिक्षाप्रद रह्यो भने विश्वविद्यालयका निम्ति पनि फलदायी नै रह्यो।
प्रारम्भिक नीति-निर्माण र अनुसन्धानका काम सकिएपछि आयोगबाट म स्वेच्छाले विश्वविद्यालय फर्कें। केही काल पढाएपछि सन् १९८५ को मध्यतिर स्वाध्याय बिदा (सबाटिकल) लिएर हवाईको इस्टवेस्ट सेन्टरमा १० महीना रिसर्च फेलो रहें। त्यहाँ तयार गरिएको र छापिएको हो, मेरो पुस्तक अर्बनाइजेशन इन नेपाल (शर्मा सन् १९८९)। स्वाध्याय बिदाको एउटा शर्त फर्केपछि आफ्नो अनुसन्धानको पाण्डुलिपि विश्वविद्यालयलाई बुझाउनुपर्ने भन्ने थियो। सोही अनुसार पाण्डुलिपि लिएर म त्रिपुरेश्वरस्थित त्रिविको अनुसन्धान शाखा गएँ। तर, त्यहाँ त्यस्तो पाण्डुलिपि कसले, कसरी बुझ्ने भन्ने व्यवस्थै रहेनछ। स्वाध्याय बिदामा बसेर फर्केपछि पाण्डुलिपि बुझाउने म नै पहिलो परेछु।
अमेरिकाबाट फर्केपछि नेपाल भौगोलिक संस्थाका क्रियाकलापमा मेरो संलग्नता बढ्यो। लामै समय म द हिमालयन रिभ्यूको प्रमुख सम्पादक रहें। त्रिवि कीर्तिपुर क्याम्पसको प्राध्यापक संघको गतिविधिमा पनि मेरो सहभागिता बढ्यो। सन् १९८८-१९८९ मा पूरा प्यानल सहित कीर्तिपुर इकाइको अध्यक्ष पनि चुनिएँ। प्राध्यापक संघ सर्वप्रथम शिक्षकहरूको गुणस्तरीय शिक्षा लिन र दिन पाउने अधिकार र वातावरणको सहजकर्ता र संरक्षक रहनुपर्छ भन्ने मान्यता व्यवहारमा स्थापित गर्नतिर सक्दो लागें।
सन् १९८९ को अन्त्यतिरदेखि विश्वविद्यालयको अनुमतिमा लामै समय पर्वतीय विकासका निम्ति अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा प्रादेशिक योजनाविद्का रूपमा कार्यरत रहें। इसिमोडमा रहँदा त्रिवि भूगोल विभागसँगको सहकार्य बढ्यो। हिन्दुकुश हिमाल क्षेत्रका साना शहर-बजार र बस्तीको अध्ययनका क्रममा नेपालका साना शहर-बजार र बस्तीको अध्ययन डा. मंगलसिद्धि र डा. चन्द्रबहादर श्रेष्ठले विद्यार्थीहरूको संलग्नतामा गर्नुभएको हो। यही अध्ययनको फलस्वरूप धेरै वर्षसम्म नेपाल सरकारको शहरी विकास विभागले जिल्लागत रूपमा बजार-बस्तीको सिलसिलेवार अध्ययनको जिम्मा भूगोल विभागलाई दिएको थियो।
त्यस्तै, नेपालको वातावरणीय स्थितिको प्रारम्भिक प्रतिवेदन पनि भूगोल विभागबाटै तयार गरिएको थियो। इसिमोडबाट एशियाली विकास बैंक र योजना आयोगका लागि गरिएको ‘बागमती अञ्चलको आर्थिक र वातावरणीय योजना’ को १० ठेलीको बृहत् अध्ययनमा भूगोल विभागका शिक्षक पनि संलग्न रहे (इसिमोड सन् १९९३)। इसिमोडबाट दिइएको प्राविधिक र कम्प्युटर उपकरणको सहयोग र प्राविधिक तालीमका आधारमा भूगोल विभागमा पहिलो पल्ट भौगोलिक सूचना प्रणालीको अध्यापन र तालीम शुरू गरियो। यो सहयोग केही वर्षसम्म निरन्तर रह्यो। अहिले नेपालमा भौगोलिक सूचना प्रणालीको अध्ययन, अध्यापन र तालीम प्रदान गर्ने र अनुसन्धानमा त्यसको प्रयोग गर्ने अग्रणी संस्थामध्ये केन्द्रीय भूगोल विभाग पर्छ।
सन् १९९० अगाडि, पञ्चायत कालमा, त्रिविका उच्च पदमा राजनीति थियो। त्यसपछि भने त्रिविका हरेक क्षेत्रमा राजनीति बढी हावी हुँदै गयो। लामै समय काजमा बाहिर काम गरिरहेको मलाई फेरि त्रिविमा फर्कन मन लागेन र सन् १९९८ मा अवकाश लिएँ। म त्रिविमा जति बसें, स्वेच्छाले नै साधारण शिक्षक मात्र भएर बसें। व्यक्तिगत हिसाबले त्रिविसँग मेरो कुनै गुनासो रहेन। त्रिविको तलबी अध्ययन बिदामा मैले पीएचडी गरें। बेतलबी काज बिदामा विभिन्न संस्थाहरूमा काम गरें, र अनुभव बटुलें। ती सबको साटो त्रिविले मसँग कुनै अपेक्षा नै गरेन।
गुनासो सधैं केमा रह्यो, र अहिले पनि छ भने विश्वविद्यालयमा प्राज्ञिक वातावरण निर्माण गर्न र शिक्षकको स्तरीय शिक्षा दिने दायित्व एवं विद्यार्थीको विश्वस्तरीय गुणात्मक शिक्षा प्राप्त गर्ने अधिकार स्थापित गर्न त्रिवि नेतृत्वबाट जुन र जति काम हुनुपर्थ्यो त्यसमा कहिल्यै न्यूनतम ध्यान पनि दिइएन। त्रिविमा पढाउँदादेखि नै मेरो एउटा सोच थियो- भूगोल विभाग र बाहिरका समेत भूगोलविद्को संलग्नतामा नेपालको भूगोलका विभिन्न पक्ष समेटिएको र लामो अनुसन्धानमा आधारित एउटा उच्च तहको सन्दर्भ पुस्तक तयार गरेर प्रकाशन गर्ने। त्यो काम अहिलेसम्म हुन सकेको छैन। त्यसको पहल म आफैंले पनि गर्न सक्थें; त्यो गर्न सकिनँ। त्यसमा आफैंसँग गुनासो छ।
त्रिविबाट बाहिर बस्दा पनि भूगोल विभागप्रतिको मेरो आन्तरिक लगाव र शुभेच्छा यथावत् छ। अहिले पनि कीर्तिपुर पुग्दा म विभाग नपसी फर्कन्नँ। विभागका गोष्ठी-सेमिनारहरूका निम्तोमा यथासम्भव भाग लिने गर्छु। यसले भूगोलको नयाँ पुस्तालाई चिन्ने र उनीहरूको कामबारे जान्ने मौका मिल्छ। १८ वर्षजति प्राध्यापक आवासमा बसेका कारणले पनि होला त्रिवि, कीर्तिपुरको गेटभित्र पस्दा अहिले पनि पुरानो घर फर्के जस्तो लाग्छ।