विकास बुझाउने विषयकाे उपेक्षा
विकासका योजना निर्माणमा सोझो सम्बन्ध राख्ने भूगोल शिक्षाको अध्ययन नेपालमा झन् झन् खस्कँदो छ। भूगोललाई बेवास्ता गरिंदा समग्र विकास योजना प्रभावहीन भएको विज्ञहरूको भनाइ छ।
नेपाल पहाडी मुलुक भएकैले विकसित भएन भनिनु भूगोलको अपर्याप्त ज्ञानको परिणाम ठान्छन्, प्राध्यापक रामकुमार पाण्डे। “त्यसो भए मैदानी मुलुक बाङ्लादेशमा समस्या छैन?” उनी भन्छन्, “पहाडका कारण विकास हुँदैनथ्यो त स्वीट्जरल्यान्ड पनि अविकसितै हुनुपर्ने हो।”
पाण्डेका अनुसार, हाम्रो भूगोलको विशेषता भनेकै उचाइ हो। एउटै अक्षांशमा पर्ने नेपालगञ्ज र नाम्चेमा उचाइकै कारण विपरीत हावापानी छ। भूगोलको यो पृथक्ता बुझेर पहाडमा पर्यटकीय प्रवर्द्धन तथा बेंसीमा खेतीको विविधता समेट्ने योजना ल्याउनुपर्नेमा उनी जोड दिन्छन्।
“सन् ५० को दशकमा अमेरिकी विज्ञहरूले शिक्षाको आधार तयार पार्दा नेपालको वस्तुस्थिति, धरातलीय यथार्थलाई प्राथमिकता दिएनन्,” पाण्डे भन्छन्, “हाम्रो आवश्यकता के हो? यहाँको राम्रो कुरा के हो? त्यसलाई कसरी प्रवर्द्धन गर्ने भन्ने नै सोचिएन।”
विगतमा ‘नेपाल परिचय’ विषय एसएलसीपछिको दुईवर्षे पढाइमा अनिवार्य गरिए पनि त्यसलाई हटाइएकोमा उनको असहमति छ। “धेरै विद्यार्थी फेल भएपछि त्यो विषय नै हटाइयो,” पाण्डे भन्छन्, “फेल हुनु भनेको विद्यार्थीलाई नेपालको जानकारी नभएको भन्ने हो नि। त्यसलाई सुधार्नु त कता हो, विषय नै हटाइयो।”
महत्त्वका दृष्टिले भूगोल र इतिहास मान्छेका दुई आँखा जत्तिकै मानिन्छन्। आफ्नो भूगोल र इतिहासको जानकारी नभएको व्यक्तिले देश विकासमा योगदान गर्न नसक्ने पाण्डेको भनाइ छ। “अहिले उठाइँदै आएको ‘इन्डिजिनियस नलेज’ भनेको पनि रैथाने ज्ञान र सीपको प्रवर्द्धन नै त हो,” उनी भन्छन्, “त्यसैले अब विगतमा हामीबाट गल्ती भएछ भनेर सुधार्न ढिलो गर्न हुँदैन।”
भूगोललाई पृथ्वीको अध्ययन गर्ने विषयका रूपमा मात्र बुझ्न नहुने तर्क पाटन संयुक्त क्याम्पसमा भूगोल अध्यापन गर्दै आएका छविरमण बरालको छ। “भूगोलको भौतिक पक्षलाई मात्र हेरियो। मानवीय पक्ष हेरिएन,” बराल भन्छन्, “पहाड फोडेर बाटोघाटो बनाइयो; नदी थुनेर बाँध बनाइयो। यस्ता मानवीय क्रियाकलापले मानव समुदायलाई चाहिं के प्रभाव पारे भनेर हेर्ने पनि भूगोल अध्ययनको पाटो हो। त्यसमा हाम्रो ध्यान पुगेको छैन।”
भूगोल मात्र होइन, कुनै पनि विधाले सम्पूर्ण प्राणी जगत्को समग्र हितलाई केलाउन सक्नुपर्ने उनी बताउँछन्। “अहिले जुन ‘इन्टिग्रेटेड एप्रोच’ को कुरा गर्छौं त्यो भनेको विषय-विधा र समाजको समन्वय खोजीको प्रयास त हो नि,” बराल भन्छन्, “हामी पनि त्यसतर्फ अग्रसर हुनैपर्छ।”
नेपालमा भूगोल अध्ययन
नेपालमा विद्यालय तहमा भूगोलको अध्यापन १९९० सालमा शुरू भएको हो। त्यस वर्ष एसएलसीमा भूगोललाई १०० पूर्णांकको अनिवार्य विषयको मान्यता दिइयो। विश्वविद्यालय तहमा भने २००३ सालमा त्रिचन्द्र कलेजमा पढाउन थालियो। प्रमाणपत्र तहमा उक्त विषय पढाउने पहिलो शिक्षक थिए, नेत्रबहादुर थापा। २००४ सालमा बंगाली शिक्षक रवीन्द्रनाथ रोय त्रिचन्द्र कलेजका पहिलो भूगोल प्राध्यापक तोकिए पनि उनी लामो समय नेपालमा बसेनन्।
२००४ सालमा भारतबाट पढेर फर्किएका जगतबहादुरसिंह बुढाथोकीले त्रिचन्द्र कलेजमा पढाउन थालेपछि भूगोल विषयले गति लियो। उनले नै २००५ सालमा स्नातक तहमा भूगोल अध्यापन शुरूआत गरे।
नेपालमा विश्वविद्यालय स्तरको भूगोलको पाठ्यक्रम २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना हुँदा तयार पारिएको हो। उक्त पाठ्यक्रम भारतको पटना विश्वविद्यालयको पाठ्यक्रममा आधारित रहेको त्रिवि केन्द्रीय भूगोल विभागका प्रमुख हृदयलाल कोइराला बताउँछन्। “त्रिवि स्थापना हुँदा एमएमा पढाइने आठ विषयमा भूगोल पनि थियो,” उनी भन्छन्, “एमएमा भूगोलको पढाइ शुरू गर्न प्रोफेसर बुढाथोकीको योगदान छ।”
अरू विभागमा कोलम्बो प्लान अन्तर्गतका विदेशी शिक्षक रहे पनि भूगोलमा शुरूदेखि नै नेपाली शिक्षक रहेकाले पछिलाई चाहिने जनशक्ति पनि विभागबाटै तयार हुन थाल्यो। स्नातकोत्तर तहमा भूगोल अध्ययनका लागि पहिल्यैदेखि सीमित सीट थियो।
“२०७८ सालदेखि विगतको २५ सीटलाई दोब्बर पारेर ५० जना पढाइरहेका छौं,” विभाग प्रमुख कोइराला भन्छन्, “विगतमा सङ्ख्या घट्दै गएर २०७३ सालमा शून्य भर्ना पनि भोगियो। अहिले नयाँ विषय समेटिएकाले एन्भाइरोमेन्ट, इन्जिनीयरिङ, जूलोजी लगायत धारबाट पढ्न आउनेहरू छन्।”
भूगोलमा विद्यार्थी घट्नुको कारण नयाँ नयाँ विषयको रुचि र माग हुन सक्ने पृथ्वीनारायण क्याम्पस पोखरामा भूगोल अध्यापनरत उपाध्याय बताउँछन्।
विद्यार्थीको प्रवाह बजारमुखी शिक्षा आर्जनमा केन्द्रित हुँदा सूचना प्रविधि, बजारशास्त्र, व्यवस्थापनमा भीड लाग्यो जुन स्वाभाविक पनि हो। मानविकीमा रुचि र चाप कम हुँदै जाँदा त्यसको मार भूगोललाई पनि पर्यो। भर्ना दर नै शून्यप्रायः हुने गरी विद्यार्थी घट्नुलाई स्वाभाविक मान्न नसकिने उपाध्यायको बुझाइ छ।
“हामीले भूगोलको महत्त्व बुझाउन सकेनौं होला,” उनी भन्छन्, “विदेशमा यसलाई विज्ञान अन्तर्गत राखिएको छ, हाम्रोमा मानविकी अन्तर्गत राखिंदा विषय साँघुरो भएको हुन सक्छ।” अर्कातिर ११ र १२ कक्षामा समाजशास्त्र र भूगोललाई एकै समूहमा राखिंदा दुवै विषय पढ्न चाहनेलाई छनोटको दायरा अझ साँघुरिएको छ।
भूगोल अध्यापन केही खर्चिलो र व्यवस्थापन जटिल भएकाले यो विषयलाई निजी कलेजले पनि खासै प्राथमिकतामा राखेका छैनन्। “देशभर ३० जति माविका ११-१२ कक्षाका विद्यार्थीले मात्र भूगोल पढ्न पाएका छन्,” प्राध्यापक कोइराला भन्छन्, “आधारभूत शिक्षा मानिने भूगोलले आधारभूत तहमै प्रवेश पाएको छैन। अहिले त भूगोललाई सामाजिक विषयभित्र पारेर ऐच्छिकको पनि ऐच्छिकमा राखिएको छ।” यस्तो अवस्था हटाउन पाठ्यक्रम पुनःसंरचना गरी आधारभूत तहदेखि नै भूगोल पढाइनुपर्नेमा उनी जोड दिन्छन्।
विगतदेखि नै भूगोल पढाइ हुँदै आएको भोजपुरमा पनि विद्यार्थी शून्यप्रायः रहेको भोजपुर क्याम्पसमा अध्यापनरत झमकबहादुर गुरुङ बताउँछन्। “एक-दुई जना भर्ना भए पनि पढ्न आउने विद्यार्थी छैनन्। भूगोलमा विद्यार्थी हराउन थालेको ५-६ वर्ष भयो,” उनी भन्छन्, “जुन धारमा १२ पास गरे पनि स्नातकमा भूगोल पढ्न पाइन्छ भन्ने थाहा नपाएर हो कि, विद्यार्थी आएका छैनन्।” तल्लो तहदेखि नै भूगोल पढाउन थालिए माथिल्लो तहमा पनि विद्यार्थीले यो विषय पढ्ने उनको अनुमान छ।
विद्यार्थीको अभाव वीरगञ्ज र जनकपुरमा पनि उस्तै रहेको सुनाउँछन्, प्राध्यापक राजेन्द्र ठाकुर। “जनकपुरमा त पढाउने शिक्षक नै छैनन् भने वीरगञ्जमा एक जना छन्, तिनले पनि अवकाश पाए शिक्षक नै हुँदैनन्,” उनी भन्छन्।
योजनामा अर्थशास्त्री हावी
विगतमा योजना बनाउँदा भूगोलविद्हरूको संलग्नता हुने गरेकामा अहिले त्यो चलन हराएको छ। “अहिले भूगोलविद्हरू अध्ययन अनुसन्धानमा सीमित भए, उनीहरूको अध्ययनको निष्कर्षलाई समेत कसैले साभार गर्दैन,” पाण्डे भन्छन्, “त्यसैले भूगोल अवहेलनामा परेको छ।”
बाहिर पढेर आएका योजनाविद्हरूले योजना बनाउँदा प्रभावकारी नभएको उनको ठम्याइ छ। “तिनले विदेशमा अरू विषय पढे, नेपाल पढेनन्। नेपालको ज्ञान नभई, भूगोल नचिनी बनाएको योजनाले कसरी काम गरोस्?” प्राध्यापक पाण्डे भन्छन्, “हाम्रो विविधता भनेको जैविक र सांस्कृतिक हुन्। तिनलाई सम्बोधन गर्ने कार्यक्रम र नीति बन्नुपर्ने हो, बनिरहेका छैनन्।”
योजना निर्माणमा अर्थशास्त्री हावी हुँदा भूगोलले प्राथमिकता पाउन नसकेको उपाध्यायको तर्क छ। “स्रोत विभाजन र बाँडफाँड, शहरी-ग्रामीण योजनामा भौगोलिक ज्ञान भएको मान्छे आवश्यक पर्छ, ती ठाउँमा त्यस्ता मान्छे नहुँदा समग्र विकासमा असर परेको छ,” उनी भन्छन्।
नेपालमा विकेन्द्रीकरण र क्षेत्रीय विकासको अवधारणा तयार पार्ने योजनाविद् हर्क गुरुङ त्रिवि भूगोल विभागबाट प्रतिनिधित्व गर्थे। विगतमा यस्ता विकास योजनामा भूगोलविद् मंगलसिद्धि मानन्धर, पीताम्बर शर्मा आदिको समेत योगदान रहे पनि अहिले अर्थशास्त्री मात्रै हावी हुँदै गएका छन्। “योजना निर्माणमा संलग्न अर्थशास्त्रीले जेलाई पनि लागतको दृष्टिकोणले मात्र हेरे,” कोइराला भन्छन्, “क्षेत्रीय र मानवीय दृष्टिकोणले कहिल्यै हेरिएन।”