‘भूगोलका पिता’ बुढाथोकी सरका आखिरी दिन
नेपालमा भूगोल शिक्षा विश्वविद्यालय तहमा विस्तार गरेका प्रा. जगतबहादुर सिंह बुढाथोकीले भूगोललाई प्राज्ञिक विषयका रूपमा स्थापित गर्दै आफ्नो अध्यापन कौशलबाट उम्दा विद्यार्थी उत्पादन गरे।
सन् १९४७ को कुरा हो, नेपालमै पहिलो पटक आईए (प्रवीणता प्रमाणपत्र तह)मा भूगोल विषय त्रिचन्द्र कलेजमा नेत्रबहादुर थापाले पढाए। त्यसपछि बंगाली शिक्षक रवीन्द्रनाथ रोय भूगोलको पहिलो प्राध्यापक बने। उनीहरूले एक वर्ष जति मात्र काम गरे। त्यसपछि त्रिचन्द्रको भूगोल विभाग नेतृत्वविहीन भयो।
ठीक त्यही वर्ष भारतको इलाहावाद विश्वविद्यालयमा जगतबहादुर सिंह बुढाथोकीले भूगोलमा स्नातकोत्तर पूरा गरेका थिए। सन् १९४८ अगस्ट ११ मा त्रिचन्द्र कलेजका प्रमुख रुद्रराज पाँडेले प्राध्यापकको माग गर्दै इलाहावाद विश्वविद्यालय भूगोल विभागका प्राध्यापक विनोद दुवेलाई पत्र पठाए। दुवेको सम्पर्क बुढाथोकीसँग भएपछि उनैलाई नेपाल पठाए। त्यसै वर्षको सेप्टेम्बर ८ मा बुढाथोकीले त्रिचन्द्रको भूगोल विभाग सम्हाल्ने गरी शिक्षा विभागबाट नियुक्ति पाए।
२४ वर्षीय ठिटोमाथि ठूलो जिम्मेवारी आएको थियो। तर, बुढाथोकीले शैक्षिक योग्यतासँगै अब्बल क्षमता सावित गरिसकेका थिए। उनी त्यति वेला इलाहावाद विश्वविद्यालयमा भूगोल विभागका उत्कृष्ट पाँच विद्यार्थीमा पर्थे।
भूगोल विभागको प्रमुख भएपछि उनले सबैभन्दा पहिले विदेशी शिक्षकहरूको नियुक्ति रोके। त्यति वेला नेपालका कलेजहरूमा गणित, अंग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, भूगोल लगायतका विषय पढाउन भारतसँगै अन्य देशका अध्यापकहरू ल्याउने गरिन्थ्यो। प्रा. बुढाथोकीले स्नातकोत्तर पढाएका पाँचौं ब्याच (सन् १९६६)का विद्यार्थी एव योजनाविद् प्रा. पीताम्बर शर्मा भन्छन्, “उहाँ एकदमै राष्ट्रवादी व्यक्ति हुनुहुन्थ्यो, भूगोलमा बाहिरका शिक्षक कहिल्यै ल्याउनुभएन।” शर्माका अनुसार, उनी भूगोलमा आफ्नै जनशक्ति बनाउन चाहन्थे।
नेपालमा आईएमा भूगोलको अध्यापन हुन थालेको दुई वर्षपछि प्रा. बुढाथोकीले १९४९ मा स्नातक तहमा यसलाई विस्तार गरे। भूगोल विषयमा केही गर्ने हुटहुटीका कारण बुढाथोकीले यो शुरूआत गरेको शर्माले समाज अध्ययन (अङ्क १७, २०७९) जर्नलमा प्रकाशित ‘त्रिभुवन विश्वविद्यालय पढ्दा, पढाउँदा’ शीर्षकको संस्मरणमा लेखेका छन्।
२०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो। त्यहाँ पनि भूगोल विषय अध्यापन शुरू गराउन प्रा. बुढाथोकी लागिपरे। फलस्वरूप त्रिवि खुलेको दुई वर्षपछि बुढाथोकीकै सक्रियतामा स्नातकोत्तर तहमा भूगोलको पठनपाठन शुरू भयो।
बुढाथोकी भूगोलको प्राध्यापक भएपछि त्यसमै एकोहोरिएर लागिरहे। अन्य प्राध्यापक जस्तो विभागको केही दिनका पाहुना पनि भएनन्। उनले नेपालको भौगोलिक स्वरूप र हिमालयको अध्ययन गरे। विशेष गरी उनले लेखहरू मार्फत नेपालका हिमालहरू चिनाउने, बुझाउने काम गरेको उनका अर्का विद्यार्थी एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्। उनी सम्झिन्छन्, “देशको भूभाग र हिमाल नचिन्ने पनि विद्यार्थी हुन्छ भन्दै पढाउनुहुन्थ्यो। भूगोल मात्र नभएर सबै विषयका विद्यार्थीले उहाँलाई सम्मान गर्थे।” प्रा. बुढाथोकीका कारण नेपालको भूगोल शिक्षा अहिलेको अवस्थामा आउन सकेको उनी बताउँछन्।
श्रेष्ठको कुरामा सहमत प्रा.शर्मा पनि नेपालमा भूगोल विषयको अध्ययनलाई व्यावहारिक शिक्षामा परिणत गर्ने बुढाथोकी नै भएको बताउँछन्। “भूगोललाई अध्यापनको विषय बनाउनुभएकाले उहाँलाई नेपालमा भूगोल विषयका पिता भनिन्छ,” उनी भन्छन्।
बुढाथोकीले भूगोलका विद्यार्थीलाई बहुआयामिक बनाउने गरी नक्शा बनाउन, प्रक्षेपण गर्न लगाउनुका साथै लेबलिङ सर्भे र टोपोग्राफी सर्भेलाई व्यापकता दिएका थिए। उनले आफ्नो जीवनको सम्पूर्ण कार्यकालमा देशको शैक्षिक स्तरोन्नतिका लागि काम गरे।
२००७ सालको क्रान्तिपछि नृपजंग राणा शिक्षा मन्त्री हुँदा पहिलो शिक्षा सचिव भएर काम गर्ने बुढाथोकी नै थिए। सीमाविद् श्रेष्ठका अनुसार, बुढाथोकी सन् १९६० मा ‘जिल्ला र अञ्चल निर्धारण विभाग कमिटी’ का सदस्य पनि भएका थिए, जुन कमिटीले देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेको थियो। बुढाथोकीका विद्यार्थी प्रा.डा. मंगलसिद्धि मानन्धरले सन् १९७५ को द हिमालयन रिभ्यू जर्नलमा बुढाथोकीबारे निधनालेख (अविच्यूरी) लेख्दै ‘उनले जिल्ला र अञ्चलको सीमा पुनर्गठन गर्न धेरै सघाएका’ लेखेका छन्।
पछि उनी त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर सन् १९७० सम्म काम गरे। त्यसपछि उच्च शिक्षा कमिटी, शिक्षा योजना आयोगमा रहे र जीवनको अन्तिम समयसम्म भूगोल विभागको प्रमुख भएर काम गरे। यसरी विभिन्न पदमा बसेर २४ वर्ष तीन महीना २८ दिन कार्य गरी अवकाश लिएको 'नेपालमा भूगोल शिक्षाको विकासमा भूगोलविद्हरूको योगदान' शीर्षकको भूगोल शिक्षा विभागका सिताराम रिमालको शोधपत्रमा उल्लेख छ।
बहुआयामिक व्यक्तित्व
भूगोल विषयको संस्थागत विकासमा योगदान गरेका कुशल गुरु प्रा. बुढाथोकी बहुमुखी प्रतिभाका धनी थिए। उनी कवि, चित्रकार र विभिन्न खेल कौशल भएका खेलाडी पनि थिए। विद्यार्थी जीवनदेखि नै खेलकूदमा लागेका उनको क्रिकेट, टेनिस, फूटबल, ब्याडमिन्टन, कुस्ती र रेस्लिङ खेलमा पकड थियो। विद्यालय, कलेज र विश्वविद्यालय अध्ययनका क्रममा दर्जनभन्दा बढी खेल विधाबाट पुरस्कृत भएका थिए। विश्वविद्यालयमा अध्ययन गर्दा उनले खेल समूहको सफलतापूर्वक नेतृत्व गरेको द हिमालयन रिभ्यू जर्नलमा प्रा.डा. मानन्धरले लेखेका छन्।
तत्कालीन समयका नामुद क्रिकेटर बुढाथोकी क्रिकेट मैदानमा अत्यन्तै हावी हुने गरेको बुढाथोकीबारे शोधपत्र लेखेका सीताराम रिमालले उल्लेख गरेका छन्। उनी नेपाल रेस्लिङ एसोसिएशनका 'अम्पायर' पनि थिए।
मुद्रा सङ्कलनमा पनि बुढाथोकीको रुचि थियो। प्राचीन कालदेखि शाह शासनकालसम्मका नेपाली मुद्राहरू र ५० भन्दा बढी देशका विभिन्न समयका मुद्राहरू उनले सङ्कलन गरेका थिए। उनी नेपालका गिनेचुनेकै मुद्रा सङ्कलक रहेको प्रमाण इतिहासविद् सत्यमोहन जोशीको पुस्तक नेपाली राष्ट्रिय मुद्रा (२०१९ साल) मा नेपाली मुद्रा सङ्कलकहरूको नामावलीको पहिलो नम्बरमै उनको नाम हुनुले जनाउँछ।
उनीसँग देश–विदेशका नौ सयभन्दा बढी मुद्रा रहेकोमा बिस्तारै घट्दै गएको छोरा विजय बुढाथोकीले बताए। “पछि पछि संरक्षकहरूलाई दिइयो, कसले कहाँ कहाँ पुर्याए, अहिले पनि अलि अलि घरमा छन्,” उनले भने। मुद्रासँगै टिकट सङ्कलनमा मोह थियो।
प्रतीकवादी चित्रकलामा प्रा. बुढाथोकीको विशेष दखल थियो। उनले बढीजसो मठमन्दिर र सांस्कृतिक चित्र बनाउँथे। भूगोलका विद्वान् भएकाले बुढाथोकीका चित्रमा प्राकृतिक संयोजन पनि मिश्रित हुन्थ्यो। उनका २० वटा चित्र अहिले पनि घरमा सङ्गृहीत छन्।
साहित्यमा कविता र निबन्ध विधामा रुचि राख्ने बुढाथोकीले पृथ्वीनारायण शाह खण्डकाव्य लेखेका थिए। उनका अप्रकाशित कविताहरू छोरा विजयले सुरक्षित राखेका छन्। उनले नेपाली साहित्य संस्थानको सदस्य भएर पनि काम गरेका थिए।
विभिन्न क्षेत्रमा क्षमता भएका र शिक्षणमा विशेष कौशल देखाएका बुढाथोकीले पढाएका विद्यार्थीले आफ्नो कार्यक्षेत्रमा बेग्लै पहिचान बनाएका छन्। उनका विद्यार्थीहरूले योजना आयोग, यूएनडीपी, एडीबी लगायत विभिन्न क्षेत्रमा काम गरे। हर्क गुरुङ, उपेन्द्रमान मल्लदेखि धेरै भूगोलविद्हरू उनकै विद्यार्थी हुन्। “विद्यार्थीलाई कडा अनुशासनमा राख्नुहुन्थ्यो, पढेर केही बन्नुपर्छ, केही गर्नुपर्छ भन्नुहुन्थ्यो,” प्रा. पीताम्बर शर्मा सम्झिन्छन्।
प्रा. बुढाथोकीलाई सम्झँदै छोरी चन्दन थापा भन्छिन्, “बुबालाई कडा, मन नभएको, गाली गर्ने प्राध्यापक भन्ने गरे पनि विद्यार्थीलाई असल बनाउने कोशिशमा उहाँ लाग्नुहुन्थ्यो। विद्यार्थीप्रति उहाँ कति समर्पित हुनुहुन्थ्यो भने, ट्युसन पढाएको पैसा पनि नलिने गरेको आमा बताउनुहुन्थ्यो।”
विद्यार्थीका सम्झनामा ‘कडा मिजासका गुरु’
सीमाविद् बुद्धिनारायण श्रेष्ठ सन् १९६४ मा एमए पढ्दा हर्क गुरुङ ‘गेस्ट लेक्चरर’ का रूपमा आएका थिए। प्रा. बुढाथोकीले गुरुङलाई चिनाउँदै ‘यो हर्के हो। राम्रो विद्यार्थी र शिक्षक हो’ भनेका थिए।
बुद्धिनारायणलाई गुरुले हर्कलाई हर्के किन भनेको होला भन्ने लागिरह्यो। पछि उनले मंगलसिद्धि मानन्धरबाट थाहा पाए, बुढाथोकी आफूलाई मन पर्ने विद्यार्थीको नाम तोडमरोड गरेर बोलाउँदा रहेछन्।
तर, बुढाथोकीले प्रिय विद्यार्थी भनेर छूट नदिने गरेको प्रा. शर्माको संस्मरण 'त्रिभुवन विश्वविद्यालय पढ्दा, पढाउँदा' को एउटा घटनाले प्रष्ट पार्छ। प्रा.शर्मालाई एमएमा हर्क गुरुङले पनि पढाउँथे। एक दिन गुरुङले अमेरिकाको हवाईबाट काठमाडौंको शहरी स्थितिबारे अध्ययन गर्न आएका भूगोलविद् डा. रोल्यान्ड फ्युक्सलाई कक्षामा लिएर गए। गुरुङले सामान्य परिचय दिएपछि फ्युक्सले आफ्नो अनुसन्धानको उद्देश्य, विधि र अनुसन्धान सहायकका रूपमा कक्षामा सविस्तार व्याख्या गरे।
अर्को दिन कक्षा शुरू हुनुभन्दा अगावै डा. गुरुङसँगै आएर फ्युक्सले शहरका पसलहरूमा गएर भर्नुपर्ने प्रश्नावलीबारे सिकाउँदै थिए, अचानक प्रा. बुढाथोकी कक्षामा प्रवेश गरेर जङ्गिए। उनले फ्युक्सलाई ‘ह्वाई ह्याभ यू कम हियर विदाउट माई पर्मिशन? गेट आउट’ भने। रातो मुख पार्दै फ्युक्स निस्किए। डा.गुरुङ केही भन्न खोज्दै थिए, तर बुढाथोकीले सुन्नै नमानेको प्रा. शर्माले लेखेका छन्।
बुढाथोकी आफ्ना विद्यार्थीलाई अदबमा राख्न कठोर रूपमा प्रस्तुत हुन्थे। उनको कडा मिजासदेखि विद्यार्थी पनि सजग हुन्थे। कलेजमा चुरोट खानेहरू त परपरै भाग्थे। प्रा. शर्माका अनुसार, उनले धेरैलाई सम्झाएर सुधारे र पढाइप्रति ऊर्जावान् पनि बनाए।
एमए पढ्दाको घटना स्मरण गर्दै सीमाविद् श्रेष्ठले सुनाए, “एक पटक म कक्षामा दश मिनेट ढिलो पुग्दा भित्र पस्न अनुमति मागें। उहाँले ‘कम इन एन्ड गो आउट’ भन्नुभयो। बुढाथोकी सरसँग थुरुरु भइन्थ्यो। यस्ता घटना कति भए कति।”
एक पटक साहित्यकार तारानाथ शर्मा त्रिविको निरीक्षक भएका वेला पाँच विद्यार्थीले गलत कार्य गरेको भन्दै तीन देखि पाँच वर्षसम्म निष्कासन गर्ने निर्णय बुढाथोकीले लिएका थिए। पछि उनीहरूलाई एक वर्ष निष्कासन गर्ने निर्णय भयो।
नेपालको जनजीवन र वातावरण बुझाउन सन् १९६६ को जाडोयाममा प्रा. बुढाथोकीले मध्य पहाड, भित्री मधेश र तराईको भ्रमण गराएको कहिल्यै नबिर्सने प्रा.शर्मा बताउँछन्। “१७/१८ दिन बाहिर पाटीपौवा, मन्दिरहरूमा पनि बसाउनुभयो। सबै मिलेर खाना पकाउन भन्नुहुन्थ्यो,” उनले सम्झिए।
प्रा. बुढाथोकी त्रिविका रजिस्ट्रार रहेका वेला सन् १९६१/६२ तिर नारायणहिटी दरबारमै गएर युवराज वीरेन्द्रलाई साताको एक दिन भूगोल पढाउँथे। वीरेन्द्रले उनलाई राम्रो गुरुका रूपमा सम्मान गर्ने गरेको छोरा विजयले सुनाए।
आखिरी दिनहरू
प्रा. बुढाथोकीले भूगोल शिक्षाको विकास र विस्तारमा ठूलो योगदान गरे पनि शिक्षा क्षेत्रमा उच्च पदमा पुगेर थप काम गर्ने उनको धोको थियो। तर, त्यो पूरा हुन सकेन। पेशाप्रति कर्तव्यनिष्ठ र उत्साही बुढाथोकी सन् १९६२/१९६३ पछि निराश भएको छोरा विजय बताउँछन्। यस्तै निराशाका कारण उनले आत्महत्याको प्रयाससम्म गरेको उनका साथी, विद्यार्थी र आफन्तजन बताउँछन्। उनले ४७ वर्षको उमेरमा २०२८ असार १३ गते आफैंमाथि गोली हानेका थिए, जसले उनको चिउँडो र ओठ छेडेको थियो। बुढाथोकीले चलाएको १२ बोरको बन्दुक त्रैलोक्यनाथ उप्रेती र नरेन्द्र बस्नेत अमेरिकाबाट फर्कंदा पानीहाँस मार्न किनेर ल्याएको त्रैलोक्यनाथसँग शोधकर्ता सीताराम रिमालले लिएको अन्तर्वार्तामा उल्लेख छ।
उनको उपचार वीर अस्पतालमा हुन नसकेपछि प्लास्टिक सर्जरीका लागि रसिया लगियो। सरकारले सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी रसिया पठाएको थियो। तर, त्यहाँ पनि शल्यक्रिया सम्भव नभएपछि फर्कनुपर्यो।
भूगोल विषयलाई विश्वविद्यालय स्तरमा संस्थागत गर्ने, कर्तव्यनिष्ठ, सकारात्मक र एक होनाहार अध्यापक बुढाथोकीले किन आत्महत्याको प्रयास गरे त? छोरी चन्दन पारिवारिक सम्बन्ध अत्यन्तै राम्रो भएको, बरु बुबाको क्षमता अनुसारको जिम्मेवारी विश्वविद्यालयमा नपाएपछि वेलावेला निराशा व्यक्त गर्ने गरेको सुनाउँछिन्।
सीमाविद् श्रेष्ठ पनि कडा स्वभाव र चाकडी गर्न नरुचाउने स्वभावका बुढाथोकी सरले रजिस्ट्रारबाट बढुवा नहुँदा निराश भएर त्यो कठोर कदम चालेको मान्छन्। श्रेष्ठ भन्छन्, “उहाँ आफू उपकुलपति हुनुपर्ने तर रजिस्ट्रारमै थन्क्याउन लागे भन्दै सहपाठीसँग भन्नुहुन्थ्यो। आफूभन्दा कम योग्यता र क्षमता हुनेले पद पाउने र आफू सक्षम भए पनि काम गर्न नपाएकोमा उहाँँलाई खिन्नता थियो।”
प्रा. बुढाथोकीको पूर्ण रूपमा उपचार नभएपछि उनलाई तीन वर्ष पाइपबाट खाना खुवाउनुपरेको थियो। त्यस्तो अवस्थामा पनि भूगोल विषयप्रति उनको मोह कम भएन। उनलाई भूगोलबारे लेख्नु थियो। उनले मसिनो आवाजमा भन्ने र श्रीमती पुरनदेवीले कापीमा लेख्ने गरेको छोरा विजयले सुनाए। झण्डै एक सय पृष्ठको उक्त नोट अप्रकाशित नै छ। उनले जीवनका आखिरी दिनहरूमा धेरै कविता लेखेका थिए। कविताका चार वटा डायरी छोरासँग सुरक्षित छन्।
काठमाडौं चाबहिल बस्ने उनका अर्का विद्यार्थी र साथी लक्ष्मण अधिकारीका अनुसार, प्रा. बुढाथोकी २०२८ सालमा ओछयान परेपछि प्रत्येक दिनजसो उनैको घरमा हुन्थे। बुढाथोकीले पीएचडी गर्ने आफ्नो रहर अपुरो हुने थकथकी वेलावेला पोख्ने गरेको अधिकारी सम्झन्छन्। उनका अनुसार, बुढाथोकीलाई ‘द जियोग्राफी एन्ड इकोनोमिक्स स्टडी अफ द काठमाडौं रिजन’ विषयमा विद्यावारिधि गर्ने प्रपोजल लेखेका थिए।
बुढाथोकीलाई टाढाबाट चिन्नेले सन्की, रिसाहा र कडा स्वभावको भने पनि नजिकबाट चिन्नेहरूले खुला हृदयका व्यक्ति मान्छन्। साहित्यकार तारानाथ शर्माले सन् १९९३ मा द राइजिङ नेपाल दैनिकमा बुढाथोकीबारे लेख्दै ‘रातको अन्धकारमा प्रकाशको चमक दिने व्यक्ति’ भनेका छन्। उनले भावुक हुँदै लेखेका छन्, “उनी जस्तो व्यक्तित्वको धनी मान्छे अब अरू कहाँ र कहिले पाउँला र?”
दुर्घटनापछि उनी झन् हतास बन्दै गए। शारीरिक रूपमा कमजोर भए। २०३१ असोजदेखि सिकिस्त बिरामी परे। साथीभाइ आएर अस्पताल जान बारम्बार आग्रह गर्दा पनि उनले मानेनन्। घरमै आइसकेको एम्बुलेन्स पनि फर्काउनुपरेको छोरा विजयले बताए। यस कुराले पनि उनी जीवनदेखि अत्यन्तै निराश रहेको देखाउँछ। उनले आत्महत्या गर्ने प्रयास गरेको १/२ दिनपछि परिवारका सदस्यले उनको ओछयानको सिरानीमुनि एउटा कागजमा ‘मर्सी किलिङ’ (मलाई कृपा गरेर मारिदेऊ) भन्ने लेखोट भेटेका थिए। अस्पताल जान नमान्ने, औषधि सेवन नगर्ने र बिसन्चोले दिन प्रतिदिन गाँज्दै लगेपछि अन्ततः २०३१ पुस १ गते उनको निधन भयो।
सम्झनामा गुरु
कडा स्वभाव, अब्बल अध्यापकः प्रा.डा. पीताम्बर शर्मा
प्रा.जगतबहादुर सिंह बुढाथोकीले मलाई आईएदेखि एमएसम्म पढाउनुभयो। म उहाँको पाँचौं ब्याचको विद्यार्थी हुँ। नेपालमा विश्वविद्यालय तहमा भूगोल विषय पठनपाठनको शुरूआत उहाँले नै गर्नुभएको हो। साथै, त्रिविमा धेरै कार्यकाल भूगोलको विभागीय प्रमुख रहनुभयो। भूगोललाई उहाँले प्राज्ञिक विषयका रूपमा स्थापित गर्नुभयो।
उतिवेला नेपालका विश्वविद्यालयहरूमा अंग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र लगायत प्रायः सबै विषयमा एमए पढाउने शिक्षक भारतबाट ल्याउने चलन थियो। उहाँले गरेको राम्रो काम हो, भूगोलमा कहिल्यै बाहिरका शिक्षक ल्याउनुभएन। उहाँको ध्येय थियो, भूगोलमा आफ्नै जनशक्ति बनाउने। उहाँ एकदमै राष्ट्रवादी हुनुहुन्थ्यो। विद्यार्थीलाई नेपालको परिचय गराउनुपर्छ भनेर ग्रामीण भेगको अध्ययन भ्रमणमा लैजाने चलन उहाँले नै शुरू गर्नुभयो।
प्रा. बुढाथोकीले स्नातक र स्नातकोत्तर तहमा भूगोल विषयको पठनपाठन शुरू गर्नुभएकाले उहाँलाई नेपालमा भूगोलका पिता भनिन्छ। उहाँ एकदमै कडा स्वभावको हुनुहुन्थ्यो। उहाँको काम, अध्यापन शैली, व्यस्थापकीय भूमिका र साहित्यिक जीवनको सधैँ प्रशंसा गर्छु।
विद्यार्थीको चौतर्फी क्षमता बढाउने गुरुः बुद्धिनारायण श्रेष्ठ
सन् १९५८ देखि २०६४ सम्म मैले आईएदेखि एमएसम्म बुढाथोकी गुरुसँगै पढें। उहाँले ‘फिजिकल भूगोल’ पढाउनुहुन्थ्यो। ‘कन्टिनेन्टलडिफ थ्यौरी’ पढाउनुभयो। नेपालमा हिमालय शृङ्खला कसरी बन्यो भन्नेबारे उहाँले जति राम्रो कसैले पढाएन। उहाँ अनुशासित शिक्षक भएकाले सबै विषयका विद्यार्थीले सम्मान गर्थे। विद्यार्थीले चुरोट खाएको देख्दा रिसाएर गर्जिनुहुन्थ्यो। विद्यार्थी मात्र हैन, प्रोफेसरहरू पनि उहाँदेखि डराउँथे। पहिले भूगोलको सैद्धान्तिक पढाइ हुने गरेकोमा व्यावहारिक शिक्षामा विद्यार्थीलाई ढाल्ने उहाँ नै हो।
नक्शाहरूको चित्रण गरेर बुझाउने हेतुले भित्ते नक्शा सबै कक्षामा राख्नुभएको थियो। आफ्नो देशको भूभाग नचिने कसरी शिक्षित भइन्छ भनेर विद्यार्थीलाई शैक्षिक भ्रमणमा वर्षमा एक वा दुई पटक लैजाने चलन उहाँले शुरू गर्नुभयो। उहाँ आएपछि भूगोल विषयमा सर्वेक्षण शुरू गर्नुभयो। अहिले काठमाडौं त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँमा त्यस वेला छाप्रो थियो, त्यहीं भूगोलको अध्यापन हुन्थ्यो। त्यो छाप्रोदेखि लेबलिङ सर्वे गराएर धरहरासम्म लगेर त्यसको उचाइ नाप्न लगाउनुभएको थियो। उहाँले झैं अभ्यास कसैले गराएन। विद्यार्थीको चौतर्फी क्षमता बढाउन उहाँ लाग्नुभयो।
भूगोल विभागमा बजेट थोरै आउँथ्यो। ब्यारोमिटर, थेरोलाइड, ठूलो ग्लोब जस्ता आवश्यक सामग्री पनि थिएनन्। पछि उहाँकै प्रयासबाट सहयोग जुट्यो र ती सामग्री, उपकरण चलाउन पाइयो। पहिला नेपालमा ३५ जिल्ला थियो। त्यस वेला जनतालाई दुःख थियो, तीन-चार दिन हिंडेर अड्डा अदालत पुग्नुपर्ने बाध्यता थियो। नेपालको प्रशासनिक विभाजन गरी १४ अञ्चल ७५ जिल्ला निर्धारणमा उहाँको योगदान पनि परेको छ। यस्ता व्यक्तिलाई ‘फादर अफ जियोग्राफी’ भन्दा गर्व लाग्छ।