किन घट्यो भूगोल शिक्षाको आकर्षण?
भूगोल शिक्षामा विद्यार्थीलाई तान्न विश्वविद्यालयले विभिन्न देशको समेत अभ्यास हेरेर यस विषयको गहनता र विज्ञान अनुसार पठनपाठन योजना र प्राथमिकता तय गर्नुपर्छ।
विद्यालयमा पढ्दादेखि नै भूगोलमा मेरो रुचि थियो। उति वेला कक्षा आठमा भूगोल विषय अनिवार्य थियो। शिक्षकले विश्वको नक्शा देखाएर पढाउनुहुन्थ्यो। कुन देश कहाँ छ, सागर, महासागर र शहरहरू कहाँ कहाँ छन् भन्ने जान्दा रमाइलो लाग्थ्यो। त्यसबाट यो विषय पढ्ने इच्छा झनै बढ्यो। कक्षा ९ र १० मा ऐच्छिक विषय भूगोल नै लिएर पढें।
भूगोलमा उच्च शिक्षा हासिल गरेपछि प्रकृति र मानव जीवनका सन्दर्भलाई एकीकृत गरेर हेर्न सक्ने विधाको निर्माण भएको महसूस गरें। नक्शा र रेखाचित्र बनाउने हाम्रो छुट्टै कोर्स हुन्थ्यो। एकीकृत गरेर हेरेपछि त्यसलाई सरल रेखाचित्रमा प्रस्तुत गरी अरूलाई बुझाउन सक्ने क्षमता भूगोलविद्मा हुने रहेछ।
अरू विधा पढेका मानिसलाई आफ्नो बाहेकका विधाका कुरा थाहा हुँदैन। 'नेचुरल साइन्स' पढ्नेहरू मानवशास्त्रबारे र मानवशास्त्र पढ्नेहरू 'फिजिकल जियोग्राफी' बारे अनभिज्ञ हुन्छन्। जस्तै, कुनै क्षेत्रमा वायु प्रदूषण बढ्यो भन्ने कुरा आउँदा त्यसमा के कारणले बढ्यो भन्ने कुरा पनि जोडिन्छ। प्रदूषण बढ्नुको कारण मानिसहरूले चलाउने सवारी साधन, कलकारखाना आदि हुन्। अर्थात्, प्रदूषणको विषय विज्ञानसँग र त्यसको कारण भने मानवशास्त्रसँग गाँसियो। त्यसैले ती निश्चित विधाले कुनै पनि क्षेत्रबारे पूर्ण रूपमा वर्णन गर्न सक्दैनन्। तर, भूगोल विषय पढेकाहरूले यी विविध विषयको पनि ज्ञान राख्छन्।
भूगोल विषयमा स्थानको व्याख्या बढी गरिन्छ। यसको ठूलो प्रश्न हो- कहाँ। यसैसँग जोडिएर किन र कसरी भन्ने प्रश्न आउँछन्। हाम्रो विधाले बस्ती, ब्याङ्क, विद्यालय आदि कसरी विकास गर्ने र कहाँ बनाउँदा सबैलाई पायक पर्छ भन्ने कुरा नक्शा मार्फत हिसाब निकाल्छ। यस्तो जानकारी अरूको तुलनामा भूगोलविद्हरूमा बढी हुन्छ।
विद्यार्थी विकर्षणका कारण
मैले सन् १९८१ देखि भूगोल पढाउन थालेको हुँ। यस विषयका विद्यार्थी त्यो वेला पनि कम हुन्थे। किनकि, नियमित रूपमा कक्षा लिनुपर्ने र प्रयोगात्मक धेरै हुने भएकाले जागीर खाँदै पढ्ने अवस्था थिएन। यति मात्र हैन, प्रयोगात्मक कार्यका लागि दुई-तीन महीना फिल्डमा जानुपर्ने हुँदा छात्राहरूलाई असहजता हुन्थ्यो र नक्शा लगायतका रेखाचित्रका कारण यो विषय अलि खर्चिलो पनि पर्थ्यो।
भूगोलका विद्यार्थी घट्नुका अरू पनि कारण छन्। पहिले यो विषय पढिसकेपछि सीधै नापी विभाग, शहरी विकास, परराष्ट्र मन्त्रालय लगायत ठाउँमा काम पाइहालिन्थ्यो। तर, अहिले लोक सेवा आयोगको परीक्षा दिनुपर्छ। पछिल्लो समय चाहिं भूगोल पढ्ने विद्यार्थीको सङ्ख्या बढिरहेको छ भन्ने सुनिन्छ। किनभने, अधिकांश क्याम्पसमा यो विषय बिहान पढाइ हुने गरेकाले दिउँसो काम गर्ने विद्यार्थीलाई सजिलो भएको छ।
हुन त, अन्य देशहरूमा पनि भूगोल विषय पढ्ने विद्यार्थी धेरै हुँदैनन्। यो विषयलाई विशिष्टीकृत गरिनु यसको प्रमुख कारण हो भन्न सकिन्छ। विश्वमै 'स्पेशलाइजेशन' को चलन चलिरहेको छ।
चीनमा म पढाउन जाँदा त्यहाँ भूगोल विषयका धेरै प्रकार रहेको पाएँ। चाइनिज एकेडेमी अफ सोसल साइन्समा विद्यार्थीलाई फिजिकल, बायो, ह्युमन जियोग्राफी भनेर छुट्टाछुट्टै वर्गको प्रमाणपत्र दिइन्छ। भूगोल विषय साइन्स र आर्टस् दुवैमा आधारित छ। अमेरिकामा यो विषय अन्तर्गत आर्टस्को डिग्रीलाई एमए र साइन्सको डिग्रीलाई एमएस्सी गरी वर्गीकरण गरिएको छ। तर, नेपालमा यसलाई आर्टस्मा राखिएको छ, प्रमाणपत्र पनि एमए भनेर दिइन्छ।
अर्कातिर, भूगोललाई आर्टस्भित्र राखिंदा पठनपाठनमा स्रोतसाधन जुटाउन पनि समस्या हुने गरेको छ। प्रयोगात्मकका लागि कुनै उपकरण माग गर्दा आर्टस् फ्याकल्टीमा यस्तो किन चाहिन्छ र भनिन्छ, जबकि विज्ञान विषयका लागि सबै उपकरण उपलब्ध गराइन्छ। यस्तो कारणले पनि भूगोलप्रति विद्यार्थीको आकर्षण घटाउँछ। यस कारण हामीले अमेरिकी ढाँचा अवलम्बन गरेर अघि बढ्नु उचित हुन्छ।
स्थलगत अध्ययनमै कैंची!
हामीकहाँ शिक्षण संस्थाहरूभित्रकै कतिपय विकृति र गलत प्रवृत्तिका कारण भूगोल विषयको आधारभूत सौन्दर्य नै हरण भएको छ। जस्तै, यो विषयले विद्यार्थीलाई फिल्डमा लगेको देखेपछि अरू विषयले पनि फिल्डमा जाने माग गरे। त्यसो हुँदा विश्वविद्यालयले सबैलाई पैसा दिन सकेन र भूगोलबाट फिल्ड लैजानुपर्ने अधिकांश विषय हटाउनुपर्ने भयो।
फिल्डमा जाँदा पनि विषयगत कुरा अर्थात् अध्ययन क्षेत्रमा केन्द्रित नभई अन्यत्रै घुम्ने प्रवृत्ति देखियो। विज्ञान विषयमा प्रयोगात्मक सिकाइका लागि विद्यालयभित्र ल्याब भए जस्तै भूगोलको ल्याब भनेको त फिल्ड नै हो, तर त्यो कटौती गरिंदा यो विषयको मर्ममै प्रहार हुन्छ।
हामीकहाँ भूगोललाई आर्टस्भित्र राखिंदा पठनपाठनमा स्रोतसाधन जुटाउन पनि समस्या हुने गरेको छ। प्रयोगात्मकका लागि कुनै उपकरण माग गर्दा आर्टस् फ्याकल्टीमा यस्तो किन चाहिन्छ र भनिन्छ, जबकि विज्ञान विषयका लागि सबै उपकरण उपलब्ध गराइन्छ।
भूगोलबारे नेपालमा सञ्चारकर्मीदेखि सर्वसाधारणसम्ममा बुझाइको कमी छ। नक्शाको अध्ययन गर्ने ज्ञान भएका मानिस निकै कम छन्। नक्शा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा विभिन्न सूचना र समाचारमा त्रुटि देखिन्छ। त्यसैले यस विषयमा तालीम दिनु अत्यावश्यक छ।
नेपालमा भूगोल शिक्षालाई विस्तार गर्न विभिन्न व्यक्तिको भूमिका र योगदान छ। शरणहरि श्रेष्ठले नेपाल, विश्व र वाणिज्यको भूगोल सम्बन्धी किताब प्रकाशन गर्नुभयो, जसले भूगोल शिक्षालाई तल्लो तहसम्म पुर्याउन सघायो। ती किताबमा नक्शाहरू धेरै राखेका कारण विद्यार्थीलाई बुझ्न सहज हुन्थ्यो।
त्रि-चन्द्र क्याम्पसमा भूगोल विषय ल्याउन जगतबहादुर बुढाथोकीले ठूलो भूमिका खेल्नुभयो। त्यस्तै, राष्ट्रिय योजना आयोगमा गएर उपेन्द्रमान मल्ल, मंगलसिद्धि मानन्धर र चन्द्रबहादुर श्रेष्ठ लगायतले भूगोल विषयमा योगदान गर्नुभयो।
पुस्तक लेख्ने सोच
भूगोल शिक्षामा लामो समय आबद्ध भए पनि मलाई किताब लेख्न रुचि लागेन। अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख्दा नै रमाएँ। किनभने, जर्नलका लेखहरूमा भूगोल विषय सम्बद्ध मानिसहरूले यो वा त्यो भएन भन्दै टिप्पणी गर्छन्, जसले धेरै हौसला दिन्छ।
एउटा किताब निकाल्ने भने सोच छ। बाढीपहिरोले बिगारेका ठाउँहरू फेरि पुरानै अवस्थामा फर्कन कति समय लाग्ने रहेछ भनेर पुराना तस्वीरसँग दाँजेर किताब तयार पार्ने योजना छ। यो अध्ययन विदेशीहरूको सहयोगमा गर्ने सोचमा छु। यस विषयमा जापान, फ्रान्स र अमेरिकाका प्रोफेसरहरूसँग कुरा पनि गरेको थिएँ। त्यो कामलाई अब गति दिनेछु।
(प्रा. खनाल त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका पूर्व प्रमुख हुन्।)