अन्तर्राष्ट्रिय अवार्ड भित्र्याउने उम्दा पाँच वैज्ञानिक
देशले नचिने पनि विदेशले पत्याएका पाँच वैज्ञानिक महिला झण्डै तीन करोडको अन्तर्राष्ट्रिय अवार्ड भित्र्याएर स्वदेशमै अनुसन्धान गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविष्कारको स्तरवृद्धि गर्न, विकसित र विकासशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी) ।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अध्ययन अनुसन्धानमा सघाउँछ। ‘अर्ली करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ।
संसारका उम्दा युवा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रूपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट पाँच जना नेपाली महिला वैज्ञानिक पुरस्कृत भएका छन्। यो अन्तर्राष्ट्रिय अवार्ड भित्र्याउने नेपाली युवा वैज्ञानिक हुन् हेमु काफ्ले, शोभा पौडेल, प्रतिभा पाण्डे, टिष्टा प्रसाईं जोशी र ज्योति भण्डारी। उनीहरूले सन् २०१८ देखि २०२० सम्म लगातार यो अवार्ड भित्र्याएका हुन्।
सन् २०१८ मा काफ्लेले एस्ट्रोनमी, स्पेस एन्ड अर्थ साइन्समा र पौडेलले सोसिअल एन्ड इकोनोमिक साइन्समा यो अवार्ड पाएका हुन्। त्यस्तै, सन् २०१९ मा पाण्डेले केमिकल साइन्स र जोशीले बाइलोजिकल सिस्टम एन्ड अर्गानिज्ममा अवार्ड भित्र्याएका हुन्। सन् २०२० मा भण्डारीले एग्रिकल्चर साइन्समा अवार्ड पाएकी छन्।
भण्डारी यही वर्ष अनुसन्धान पूरा गर्ने क्रममा छिन्। दुई जना आफ्नो अनुसन्धानलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने अन्तिम तयारीमा छन् भने दुई जना अनुसन्धानको अन्तिम चरणमा छन्।
सन् २०१८ मा पौडेलले अन्तर्राष्ट्रिय अवार्ड पाउने विषय बन्यो नेपालको खेती र किसानहरूले प्रयोग गर्ने जालवायुमैत्री प्रविधि। उनले पठाएको ‘गण्डकी जलाधारको कृषि पर्यावरणीय क्षेत्रमा जलवायुमैत्री खेती प्रणालीको लागत-लाभ विश्लेषण’ मा अनुसन्धान गर्ने प्रस्ताव संसारका २०० महिला वैज्ञानिकका प्रस्तावलाई उछिन्दै उत्कृष्ट २० मा परेको हो। “प्रस्ताव धेरै मिहिनेत गरेर तयार पारेकी थिएँ,” पौडेल भन्छिन्, “अवार्ड पाउँदा धेरै खुशी छु।”
विस्तृत रिपोर्ट पढ्नुहोस् :
त्यही वर्ष अवार्ड पाएकी काफ्लेको अनुसन्धानको विषय हाे, खडेरी। नेपालमा मौसम पूर्वानुमान गर्ने मेट्रोलोजिकल ग्राउन्ड स्टेशन पर्याप्त छैन। त्याे अभाव पूरा गर्न काफ्लेले मोबाइल स्टेशनको जुक्ति निकालिन्।
उनी गाडीमा मेट्रोलोजिकल स्टेशन, कम्प्युटर राखेर अनुसन्धान गर्ने ठाउँमा १० दिनसम्म राख्ने र त्यसमा रेकर्ड भएका डेटालाई विश्लेषण गरिएकाे बताउँछिन्।
यो अध्ययनले मौसम अनुमान गर्न सकिने उनी बताउँछिन्। “हाम्रो स्टेशनबाट सङ्कलन गरिएको वायुको चाप तथा आर्द्रताको तथ्याङ्कले किसानलाई सीधै फाइदा त हुँदैन, तर सरकारले वडा वडामा यस्ताे स्टेशन राख्यो भने अहिले देखिएको नतीजाले मौसमबारे अनुमान गर्न सकिन्छ,” उनी भन्छिन्।
त्यस्तै, लामो समयसम्म स्टेशनमा तथ्याङ्क सङ्कलन गरिएको आधारमा उक्त ठाउँमा खेती गर्न सकिन्छ कि सकिन्न, कति वर्षपछि खडेरी हुन्छ, वा कसरी सिंचाइको तयारी गर्ने भनेर काम गर्न सकिने उनी बताउँछिन्।
विस्तृत रिपोर्ट पढ्नुहोस् :
त्यस्तै, सन् २०१९ मा अवार्ड पाएकी वैज्ञानिक जोशीको अनुसन्धान त पूरा भएको छ, तर कोरोनाभाइरसको महामारीका कारण शोधपत्र प्रकाशन गर्न थप ६ महीना पाएकी छन्। अर्वाड पाएपछि अनुसन्धान शुरू गर्दा ‘नानोपार्टिकल एनालाइजर इक्युपमेन्ट- जेटा पोटेन्सियल’ खरीद गरिन्।
यो प्रविधि ‘नानोपार्टिकल’ विश्लेषण गर्न प्रयोग गरिन्छ। अनुसन्धानका लागि निकै आवश्यक पर्ने यो प्रविधि नास्ट, विश्वविद्यालय तथा अनुसन्धान गर्ने कुनै संस्थासँग थिएन।
युनेस्को मार्फत जेटापोटेन्सियल खरीद गर्दा कर तिर्नु नपरेकाले सस्तो परेको उनी बताउँछिन्। यसमा २७ हजार पाँच सय डलर (झण्डै ३३ लाख रूपैयाँ) परेको छ। यसलाई सघाउने कम्प्युटर सफ्टवेयर, ल्याब मिलाउन त्यही अवार्डको रकम प्रयोग गरेको उनी बताउँछिन्। “यो प्रविधि भित्र्याएपछि धेरै विद्यार्थी तथा अनुसन्धातालाई सहयोग पुगेको छ,” उनी भन्छिन्।
विस्तृत रिपोर्ट पढ्नुहोस् :
सन् २०१९ मै अवार्ड पाएकी पाण्डेको अनुसन्धानको उद्देश्य खेर गएका अम्लीय फललाई प्रशोधन गरेर न्युट्रास्युटिकल उद्योगका रूपमा परिणत गर्नु हो।
“सुन्तला जस्ता फलको खेर गएका बोक्रा, त्यसमा भएको औषधिका तत्त्वलाई प्राकृतिक रूपमै पानीको बढी प्रयोग गरेर उत्पादन हुने र खेर जाने ठाउँमै प्रशोधन गर्न सकिन्छ,” उनी भन्छिन्, “त्यसलाई सौन्दर्य उत्पादन (कस्मेटिक्स प्रडक्ट), औषधि वा सप्लिमेन्टका रूपमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर अनुसन्धान गरिरहेकी छु।”
विस्तृत रिपोर्ट पढ्नुहोस् :
सन् २०२० मा अवार्ड पाएकी भण्डारीले नेपालको परम्परागत जडीबुटी (आयुर्वेद) को महत्त्व, प्रयोग, संरक्षण तथा व्यवसायमा लागेका व्यक्तिको आर्थिक उन्नतिबारे अनुसन्धान गर्न ओडब्लुएसडी अवार्ड पाएकी हुन्। त्यसमा अन्नपूर्ण क्षेत्र (सिक्लेस, घान्द्रुक, लमजुङ, तल्लो मुस्ताङ) मा पाइने जडीबुटीको विस्तृत अध्ययन गरिरहेकी छन्।
यो क्षेत्रमा के कस्ता जडीबुटी पाइन्छन्? केका लागि प्रयोग गरिन्छ? व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन? नयाँ पुस्ताले यसको प्रयोगमा रुचि राखेको छ वा छैन? यिनै विषयमा उनको अनुसन्धान केन्द्रित छ।
सन् २०२२ मा सक्नुपर्ने उनको अध्ययन कोरोनाभाइरसको सङ्क्रमणका कारण केही ढिला भएको छ। “प्रयोगशालामा परीक्षण गर्नुपर्ने काम कमै छ। फिल्डमै गएर अनुसन्धान गर्नुपर्ने काम धेरै छ,” उनी भन्छिन्, “कोरोनाका कारण फिल्डमा जान नपाउँदा ढिलाइ भयो।”
विस्तृत रिपोर्ट पढ्नुहोस् :