खानेपानी शुद्धीकरणमा जुटेकी वैज्ञानिक टिष्टा
चीनमा पाएको अवसरलाई त्यागेर स्वदेश फर्किएकी वैज्ञानिक टिष्टा प्रसाईं जोशी ओडब्लुएसडी अवार्ड पाएपछि काठमाडौं उपत्यकाको खानेपानी शुद्धीकरण गर्ने अनुसन्धानमा जुटेकी छन्।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविस्कारको स्तरवृद्धि गर्न, विकसित र विकाशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी)।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अनुसन्धानमा सघाउँछ।
ओडब्लुएसडीले ‘अर्लि करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ। संसारका उम्दा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट पुरस्कृत भएकी हुन् उनी।
">http://
प्रशिक्षार्थीका रुपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) छिरेकी टिष्टा प्रसाईं जोशी अहिले वैज्ञानिकका रुपमा कार्यरत छिन्। उनले चीनको युनिभिरसिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट ‘इन्भाइरोमेन्टल इन्जिनियरिङ’मा विद्यावारिधि गरेकी छन्।
यतिवेला भने वैज्ञानिक जोशी काठमाडौं उपत्यकाको खानेपानीमा अनुसन्धान गरिरहेकी छन्। उपत्यकाको पानीको नमुना परीक्षण गरी पिउने योग्य छ वा छैन भनेर एकीन गर्ने उनको कार्यक्षेत्र हो। प्रयोगशालाबाट प्रयोगकर्तासम्म पुर्याउन जनचेतना फैलाउन पनि उनी तल्लिन छिन्। योसँगै पानीमा भएको प्रदुषणलाई हटाएर कसरी पिउन योग्य बनाउन सकिन्छ भने अनुसन्धानमा जुटेकी छन् उनी।
सन् २०१९ मा ओडब्लुएसडीको ‘अर्लि करियर फेलोसिप’ का लागि आवेदन गर्दा पनि उनले यहि विषय चुनिन्। नेपालमा ‘एरोमेटिक अर्गानिक आरसोजेनिक’ (पानी शुद्धीकरण गर्ने विधि) बारे अनुसन्धान गर्ने प्रस्तावले ५० हजार डलर भित्र्यायो।
छनोट भएपछि इटाली पुगेकी उनले आफ्नो प्रस्ताव के का आधारमा छनोट भयो भनेर सोधेकी थिइन्। त्यसको जवाफ पाइन्- अन्य देशका महिला वैज्ञानिकको भन्दा फरक र समाधान पनि सामेल भएकाले छनोट भयो। यहि वषियमा उनले चीनमा विद्यावारिधि पनि गरेकी थिइन्।
त्यतिवेला भने उनले निकै मेहेनत गरेकी थिइन्। घण्टौं प्रयोगशालामा बिताएकी थिइन्। अध्ययनमा तल्लिन रहेकी उनी विदामा घर समेत नआएको सुनाउँछिन्। त्यसैले त उनलाई विश्वविद्यालयले ‘एक्सिलेन्ट इन्र्टनेशनल स्टुडेन्ट अवार्ड’ प्रदान गरेको थियो। जसले गर्दा चीनमा पानी शुद्धीकरण गर्ने प्रसिद्ध वैज्ञानिक ज्युहुई क्यु र रुईपिङ ल्युसँग काम गर्ने अवसर पाइन्। उनीहरुसँग काम गर्दा पानी शुद्धीकरण गर्ने सामग्री समेत बनाएकी थिइन्।
नेपालमा पनि त्यसका लागि पानी शुद्धीकरण गर्ने सामाग्री तयार गरिन्। अर्गानिक आर्सेनिक शुद्धीकरण हुन्छ वा हुँदैन भनेर हेर्ने अध्ययनको विषय बनाइन्। संसारका कयौं वैज्ञानिकले इनअर्गानिक आर्सेनिकमा विभिन्न अध्ययन गरिसकेका छन्, तर अर्गानिक आर्सेनिकमा कमै अनुसन्धान भएका छन्। त्यसैले पनि उनको प्रस्तावलाई ओडब्लुएसडीले पनि मन परायो।
पानीको अनुसन्धान नयाँ प्रविधि
वैज्ञानिक जोशीको अनुसन्धान त पूरा भएको छ, तर कोरोनाभाइरसको महामारीका कारण सोधपत्र प्रकाशित गर्न थप ६ महीना पाएकी छन्।
अर्वाड पाएपछि अनुसन्धान शुरु गर्दा ‘नानोपार्टिकल एनालाइजर इक्युपमेन्ट- जेटा पोटेन्सियल’ खरीद गरिन्। यो प्रविधि ‘नानोपार्टिकल’ विश्लेषण गर्न प्रयोग गरिन्छ। अनुसन्धानका लागि निकै आवश्यक पर्ने यो प्रविधि नास्ट, विश्वविद्यालय तथा अनुसन्धान गर्ने कुनै संस्थासँग थिएन।
युनेस्कोमार्फत जेटापोटेन्सियल खरीद गर्दा कर तिर्नु नपरेकाले सस्तो परेको उनी बताउँछिन्। यसमा २७ हजार पाँच सय डलर (झण्डै ३३ लाख) परेको छ। यसलाई सघाउने कम्प्युटर सफ्टवेयर, ल्याब मिलाउन त्यहि अवार्डको रकम प्रयोग गरेको उनी बताउँछिन्। “यो प्रविधि भित्र्याएपछि धेरै विद्यार्थी तथा अनुसन्धानकर्तालाई सहयोग पुगेको छ,” उनी भन्छिन्।
उनले पानीको शुद्धीकरणको लागि बनाएका पार्टिकल तथा चीप्सलाई जेटापोटेन्सियलबाट विश्लेषण गर्न सजिलो भएको छ। तर, अध्ययनका लागि आवश्यक ‘स्क्यानिङ इलोक्ट्रोनिक माइक्रोसकोप’ नेपालमा नभएकाले चीन पठाउनु परेको उनी बताउँछिन्। “व्यक्तिगत रुपमा खरीद गर्न सकिन्न, राज्यले खरीद गरिदिनुपर्ने हो,” उनी भन्छिन्, “नास्टमा राखिदिए पनि धेरैलाई अनुसन्धान गर्न सजिलो हुन्थ्यो।”
वैज्ञानिकसँगको राष्ट्रपतिको त्यो फोटो
तर, राज्यले सहयोग नगर्दा वैज्ञानिक पलायन भइरहेको उनी सुनाउँछिन्। उनी पनि देशमा केही गर्छु भनेर चीनबाट फर्किएकी थिइन्। “चीनमै काम गर्ने अफर आएको थियो, देशमै केही गरौं भनेर फर्किएँ,” उनी भन्छिन्, “तर, यहाँको अवस्था देखेर रुन मन लाग्छ।”
नेपालमा र विदेशमा वैज्ञानिकलाई गर्ने व्यवहार तथा प्रोत्साहनको विषयमा एउटा सानो उदाहरण दिन्छिन्। उनीसँगै ओडब्लुएसडी अवार्ड पाएका बोलिभियाका वैज्ञानिकलाई त्यहाँका राष्ट्रपतिले सम्मान गरेका थिए। अवार्ड विजेता सबै महिला वैज्ञानिकसँग खिचेको तस्वीर ट्वीट गर्दै बधाइ दिएका थिए। “हामी अवार्ड पाएर स्वदेश फर्किँदा राष्ट्रपति त के भन्नु, अरु चिनजानका मान्छेहरुले पनि बधाइ समेत दिएनन्,” यति बोलेर उनी रोकिइन्। उनको अनुहार मलिन बन्यो।
राज्यले वास्ता नगर्दा वैज्ञानिक पलायन भइरहेको उनी सुझाउँछिन्। “नेपालमा विज्ञान विषय पढ्ने धेरै छन्, तर रोजगारको अभाव तथा अनुसन्धान गर्नका लागि प्रयोगशाला, प्रविधिको अभावका कारण विदेशीने गरेका छन्,” उनी थप्छिन्, “नेपालमा वैज्ञानिकहरुलाई कुनै प्रोत्साहन पनि छैन।”
तथापि, उनले आफैलाई हौसला दिन छाडिनन्। आफ्नै मेहेनतले नास्टको ल्याबमा सुधार ल्याउन कोसिस गरिरहेकी छन्। हतोत्साहित भएकी छैनन्, मेहेनत गर्नुपर्छ भन्ने अठोट लिएकी छन्। “आफूले पढेर, सिकेर पाएको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ,” वैज्ञानिक जोशी भन्छिन्, “राज्यले गरेन भनेर चुपचाप लाग्यौं, विदेशतिर गयौं भने नयाँ पुस्तालाई पनि काम सजिलो हुनेछैन। नयाँ पुस्तालाई बाटो बनाउन पनि हामीले सक्दो गर्नुपर्छ।”