वैज्ञानिक शोभाले कृषिमा देखाएका सम्भावना
अन्तर्राष्ट्रिय अवार्ड पाएपछि वैज्ञानिक शोभा पौडेलले गरेको अध्ययनले जलवायु परिवर्तनले असर नपार्ने गरी कसरी खेती गर्न सकिन्छ भन्ने जानकारी दिनेछ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविष्कारको स्तरवृद्धि गर्न, विकसित र विकाशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी)।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अनुसन्धानमा सघाउँछ।
ओडब्लुएसडीले ‘अर्ली करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ। संसारका उम्दा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट सन् २०१८ मा पुरस्कृत भएकी हुन् उनी।
सामान्य किसान परिवार जन्मिएकी शोभा पौडेलले चितवनको गीतानगरमै स्कूल अध्ययन गरिन्। स्थानीय अरुणोदय माध्यमिक विद्यालयबाट स्कूले शिक्षा हासिल गरेकी उनले चितवनबाटै स्नातकसम्म अध्ययन गरिन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोतर सकेपछि भने जापानको क्योटो विश्वविद्यालय पुगिन्। त्यहाँबाट उनले ‘इन्भाइरोमेन्टल म्यानेजमेन्ट’ मा विद्यावारिधि गरेकी हुन्।
जलवायु सम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) को दक्षिणएशियाको खाद्यसुरक्षा सम्बन्धी प्रतिवेदनको सहलेखकका रूपमा काम गरिरहेकी उनका अनुसन्धनात्मक लेख नेचर लगायत अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्। यस सम्बन्धी रिपोर्ट भने अर्को वर्ष प्रकाशन हुँदै छ।
उनले अन्तर्राष्ट्रिय अवार्ड पाउने विषय बन्यो नेपालको खेती र किसानहरूले प्रयोग गर्ने जलवायुमैत्री प्रविधि। उनले पठाएको ‘गण्डकी जलाधारको कृषि पर्यावरणीय क्षेत्रमा जलवायुमैत्री खेती प्रणालीको लागत-लाभ विश्लेषण’ मा अनुसन्धान गर्ने प्रस्ताव संसारका २०० महिला वैज्ञानिकका प्रस्तावलाई उछिन्दै उत्कृष्ट २० मा परेको हो। “यो प्रस्ताव बनाउन धेरै मिहिनेत गरेकी थिएँ,” पौडेल भन्छिन्, “यो अवार्ड पाउँदा धेरै खुशी भएँ।”
विकाशील मुलुकमा विद्यावारिधि गरेर अनुसन्धानरत महिला वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड पाएपछि उनलाई इटाली बोलाइयो, वर्कसपका लागि। ट्रेस्ट शहरमा पाइला टेकेपछि मात्रै यो अवार्ड कति प्रतिस्पर्धा गरेर पाएकी हुँ भन्ने महसूस भयो।
त्यो वेला संसारका दुई सय महिला वैज्ञानिकले पठाएका प्रस्तावबाट अनुसन्धानका लागि ७३ वटा छनोट भएका थिए। त्यसमध्ये पनि उत्कृष्ट २० मा परेको थियो, उनको प्रस्ताव। “विश्वभरका महिला वैज्ञानिकसँग भेटघाट गर्ने र उनीहरूबाट सिक्ने मौका पाएँ,” उनी भन्छिन्।
जलवायुमैत्री गाउँको अध्ययन
अनुसन्धानका लागि उनलाई दुई वर्षको समयावधि (जनवरी २०१९ देखि डिसेम्बर २०२० सम्म) दिइएको थियो। तर, कोरोनाभाइरसको महामारीले अनुसन्धान निष्कर्ष सहितको शोधपत्र प्रकाशन हुन सकेको छैन। शोधपत्र प्रकाशन गर्न ओडब्लुएसडीले एक वर्ष समय थपेको छ।
उनले इन्भाइरोमेन्ट म्यानेजमेन्ट अन्तर्गत ‘क्लाइमेट चेन्ज र फुड सेक्युरिटी’ मा विद्यावारिधि गरेकी थिइन्। त्यो अध्ययनका क्रममा जलवायु परिवर्तन र खाद्य सुरक्षाका नीतिको समीक्षा गरेकी थिइन्। त्यही क्रममा विश्वभर कृषिलाई जलवायु अनुकूल बनाउने सम्बन्धी ‘क्लाइमेट स्मार्ट अग्रिकल्चर’ नीति पनि अध्ययन गरेकी थिइन्।
नेपालमा पनि कसरी खाद्य सुरक्षा अपनाउन सकिन्छ भन्ने सोचेर यतातिर लागेको उनी सुनाउँछिन्। “जलवायु परिवर्तनले किसान र कृषि क्षेत्रमा असर गरिरहेको छ। केही महीनाअघि बेमौसमी वर्षाका कारण भित्र्याउनुपर्ने धान सबै नाश भयो,” उनी भन्छिन्, “यदि हामीसँग भिजेको धानलाई उत्तिनै वेला सुकाएर राख्न सक्ने प्रविधि भए जोगिने थियो। यस्तै सोचले यो अनुसन्धानको बाटो खुलेको हो।”
सरकारी तथा गैरसरकारी संस्थाले जलवायु परिर्वतनमैत्री कृषिको कार्यक्रम त ल्याएका छन्, तर यसरी ल्याइएका नीति तथा कार्यक्रम किसानका लागि कत्तिको फलदायी हुन्छन्? यसबाट किसान लाभान्वित हुन्छन् कि हुन्नन्? उनको मनमा यस्तै प्रश्न उब्जिए। नीति तथा कार्यक्रम ल्याउँदैमा किसान लाभान्वित हुन्छन् कि हुँदैनन् भन्ने उनलाई लागिरहेको थियो।
त्यही वेला नवलपुरको एउटा गाउँलाई ‘जलवायुमैत्री गाउँ’ भनेर घोषणा गरिएको थियो। त्यहाँ सबै खेती प्रणाली जलवायुमैत्री थिए। जलवायु परिवर्तसँग अनुकूलन पनि हुने र उत्पादन पनि बढाउन सकिने तथा कार्बन उत्सर्जन पनि घटाउने खेती प्रणाली प्रयोग गरिएको थियो। “त्यसबाट किसान कति लाभान्वित छन्? यस्ता कार्यक्रम आगामी दिनमा ल्याउनुपर्छ कि पर्दैन, निरन्तरता दिनुपर्छ कि पर्दैन? त्यसको लागत-लाभ विश्लेषण गर्न यो अनुसन्धान शुरू गरेकी हुँ,” उनी सुनाउँछिन्।
किसानले २०-२५ वटा वातावरणमैत्री प्रविधि प्रयोग गरेका थिए। अनुसन्धान गर्दा ६ वटा प्रविधि तथा कार्यशैली फेला पारिन्। यसमा जैविक मल, सोलारको माध्यमबाट गरिने सिंचाइ, मकैको लागि ज्याब प्लान्टर, जिरो टिलेज आदि थिए।
“कतिपय प्रविधि प्रयोग गर्दा लाभ नहुन पनि सक्छ। त्यसैले हरेक प्रविधिबाट उत्पादकत्व कति हुन्छ, खर्च तथा आम्दानी कति हुन्छ भनेर रेर्कड राख्न पनि सिकायौं,” अनुसन्धान अनुभव सुनाउँदै उनी भन्छिन्, “यसरी सिकाउँदा किसान आफैंले कुन प्रविधि प्रयोग गर्दा आफूलाई फाइदा भयो, खाद्य सुरक्षामा कत्तिको परिवर्तन आयो भन्ने पनि विश्लेषण गर्न सक्ने भएका छन्।”
हरेक मौसममा विभिन्न प्रविधि र प्रणाली प्रयोग गर्ने किसानको तथ्याङ्क राख्ने, नेपालमा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रयोग गर्ने किसानबारे अनुसन्धान गरिएको छ। अनुसन्धान पूरा गरिसकेकी पौडेल केही समयपछि शोधपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुने बताउँछिन्।
“किसानहरूले उत्पादन गरेका सामग्री सीधै उपभोक्ताको पहुँचमा पुगोस् भनेर अनलाइन प्लेर्टफर्म पनि खोलेका छौं,” उनी भन्छिन्।
उनीहरूले उपभोक्तासँग आफैं सम्पर्क गरेर सामान बिक्री गर्न सक्नेछन् । किसानहरूलाई कसरी अनलाइनमा सामान राख्ने, उपभोक्ताहरूसँग कसरी व्यावसायिक डिल गर्ने भनेर ‘डिजिटल लिट्रेसी ट्रेनिङ’ प्रदान गरिंदै आएको छ । हाल पनि यो कार्यक्रम चलिरहेको छ । कृषिप्रधान जिल्लाहरू पोखरा, नवलपरासी, चितवन, काठमाडौंका केही ठाउँमा तालीम दिइएको छ ।
उनले नेपालमा किसानदेखि उपभोक्तासम्म सीधै सम्पर्क गर्न डिजिटल माध्यमले काम गर्छ वा गर्दैन भनेर अध्ययन पनि गरिरहेकी छिन् ।
सोलार सिंचाइ मकैलाई महँगो
अनुसन्धानमा कुन खेती गर्न कुन प्रविधि ठीक छ भन्ने पत्ता लगाएको उनी बताउँछिन्। जस्तो सोलार सिंचाइ मकैका लागि राम्रो देखिएको छैन। “सोलार सिंचाइ मकैका लागि महँगो भयो। किसानलाई लागत धेरै पर्छ,” उनी भन्छिन्।
त्यस्तै, अर्गानिक मल धानका लागि एकदमै राम्रो देखिएको छ भने ज्याब प्लान्टर, खोपेर मकै रोप्ने प्रविधिले काबन उत्सर्जन कम गरेको पाइएको छ। यो प्रविधि नेपालका लागि राम्रो देखिएको उनी बताउँछिन्।
यो अनुसन्धानले नेपाल जस्तै भूभाग भएका देश वा अन्य जिल्लामा जलवायु परिवर्तन वा जलवायुमैत्री तथा कृषि नीति बनाउँदा कसरी किसान लाभान्वित हुन्छन् भन्ने सल्लाह सुझाव दिन मद्दत गर्ने उनी बताउँछिन्। त्यस्तै, किसानले कुन प्रविधि प्रयोग गर्दा आर्थिक लाभ हुन्छ भन्ने निर्णय गर्न सजिलो हुनेछ।