खेर गएका फलबाट औषधि बनाउँदै प्रतिभा
ओडब्लुएसडी अवार्ड पाएपछि वैज्ञानिक प्रतिभा पाण्डेले शुरू गरेको खेर गएका अम्लीय फलबाट औषधि बनाउने अनुसन्धान पूरा भएर प्रविधि हस्तान्तरणको चरणमा पुगेको छ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविष्कारको स्तरवृद्धि गर्न, विकसित र विकाशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी)।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अनुसन्धानमा सघाउँछ।
ओडब्लुएसडीले ‘अर्ली करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ। संसारका उम्दा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट सन् २०१९ मा पुरस्कृत भएकी हुन् उनी।
विज्ञान विषय लिएर कि चिकित्सक कि त इन्जिनियर पढ्ने भीडमा मिसिन मन नलागेपछि प्रतिभा पाण्डे अमेरिका उडेकी थिइन्। काठमाडौंको सेन्ट जेभियरस् स्कुलमा जीवविज्ञान अध्ययन गरेकी उनी १८ वर्षको उमेरमा अमेरिका पुगेपछि नर्थवेस्टर्न युनिभर्सिटीमा रसायनशास्त्र र गणित अध्ययन गर्न थालिन्। त्यसपछि ‘नानोटेक्नोलोजी केमेस्ट्री’ मा विद्यावारिधि गरिन्।
बायोलोजिकल इन्जिनियरिङ पढ्न अमेरिका पुगेकी उनको पढाइ रसायनशास्त्रतिर मोडियो। अनुसन्धानमा रुचि बढ्न थाल्यो। र, सन् २०१५ मा अमेरिकामै काम पनि पाइन्। उनको कामको क्षेत्र थियो, ‘सेमिकन्डक्टर’।
वैज्ञानिकका रूपमा काम गर्न थाले पनि उनलाई नेपाल फर्किन मन लाग्यो। यतै केही गर्ने हुटहुटी थियो। “अमेरिकाबाट त फर्किएँ, तर नेपालमा के गर्ने भनी अलमलमा परें,” उनी भन्छिन्।
त्यही अलमल मेट्न उनी देशका विभिन्न ठाउँ घुमिन। साेही क्रममा उनको आँखा जडीबुटीमा पर्यो। “जडीबुटी तथा बिरुवामा कमै मात्रामा अनुसन्धान भएका रहेछन्,” उनी भन्छिन्।
यही क्रममा रिर्सच इन्स्टिच्यूट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजीमा आबद्ध उनी खेर गएको अम्लीय फल (सिट्रस फ्रुट) जस्तै सुन्तला, कागती, ज्यामिरको उत्पादनलाई कसरी बजारमा ल्याउन सकिन्छ भनेर अनुसन्धान गरिरहेकी थिइन्। त्यही विषयमा पठाएको प्रस्ताव ओडब्लुएसडीले स्वीकृत गर्यो।
उनको अनुसन्धानको उद्देश्य खेर गएका अम्लीय फललाई प्रशोधन गरेर न्युट्रास्युटिकल उद्योगका रूपमा परिणत गर्नु हो। “सुन्तला जस्ता फलको खेर गएका बोक्रा, त्यसमा भएको औषधिका तत्त्वलाई प्राकृतिक रूपमै पानीको बढी प्रयोग गरेर उत्पादन हुने र खेर जाने ठाउँमै प्रशोधन गर्न सकिन्छ,” उनी भन्छिन्, “त्यसलाई सौन्दर्य उत्पादन (कस्मेटिक्स प्रडक्ट), औषधि वा सप्लिमेन्टका रूपमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर अनुसन्धान गरिरहेकी छु।”
यस्ता छन् अनुसन्धानका तीन विषय
वैज्ञानिक पाण्डेको अनुसन्धान मुख्य तीन विषयमा केन्द्रित छ। जसमा खेर गएको अम्लीय फलबाट तेल बनाउने, धूलो पार्ने र बोक्रालाई कुहाएर त्यसमा भएको ब्याक्टेरिया निकालेर अर्को ‘प्रपर्टिज’ बनाउने। “तेल निकाल्ने र एक्सट्र्याक्ट (धूलो निकाल्ने) काम सकिएको छ। यसको शोधपत्र पनि लेख्दै छु,” उनी भन्छिन्।
यो प्रोजेक्ट सकिएपछि पनि आफैंले लगानी गरेर खेर गएका फलबाट कस्मेटिक्स प्रडक्ट बनाउने उनको तयारी छ। यसका लागि हर्बेदा बोटानिकल्स कम्पनी स्थापना गरेकी छन्। कोरोनाभाइरसको महामारीका कारण ढिलाइ भएको बताउँदै उनी भन्छिन्, “हामीले उत्पादन गरेका सामान बजारमा लग्न मिल्ने गरी बनाउन साधन किन्दै छौं। उद्योग नै बनाएर उत्पादन गर्ने उद्देश्य पूरा हुँदै छ,” उनी खुशी हुँदै सुनाउँछिन्।
अम्लीय फलहरू सजिलै उपलब्ध हुन्छन्। अर्कातिर बोक्रा खेर जान्छन्। यसैलाई प्रयोगमा ल्याउन अम्लीय फल चुनेको उनी बताउँछिन्। विशेष गरी रुपन्देही, गुल्मी र पाल्पामा धेरै उत्पादन हुने र खेर जाने समस्या छ। उनको अनुसन्धान पनि यिनै जिल्लामा केन्द्रित छ।
उनले बनाएको प्रविधिले अन्य फलफूल, जडीबुटी, औषधिजन्य बिरुवा र गोलभेडालाई पनि प्रशोधन गर्न सकिन्छ। नेपालसँगै अन्य देशमा पनि यसरी प्रशोधन गर्न सकिने तथा कम लागतमा काम गर्न सकिने खालको प्रविधि भएको उनको भनाइ छ।
अहिलेसम्म नेपालमा अम्लीय फलको विशेषताबारे अध्ययन त भएका छन्, तर उत्पादन नै गर्न सकिने गरी अनुसन्धान भएका छैनन्। उनले आविष्कार गरेको नयाँ प्रविधिलाई बजारमा ल्याउन लागत अनुसन्धान गर्न बाँकी नै छ। “हामीले बनाएको प्रविधि हस्तान्तरण गर्न केही समय लाग्छ। लागत अध्ययन गरेर मात्र यसको प्रक्रिया अघि बढाउँछौं,” उनी भन्छिन्।
सामान्य विषयमा अनुसन्धान आवश्यक
वैज्ञानिक पाण्डेले किन यस्तो विषय रोजिन्? उनी भन्छिन्, “नेपालमा उत्पादन हुने कैयौं वस्तु भारतमा निर्यात गछौं, त्यही पुनः दोब्बर पैसामा नेपाल भित्र्याउँछौं। त्यही फरकबारे जानकारी दिन यो अनुसन्धान गरिरहेका छौं।”
उनी केही उदाहरण दिन्छन्। जस्तो पाल्पाबाट अदुवा भारत पठाइन्छ। भारतमा त्यसलाई पखालेर दोब्बरमा मूल्यमा नेपाल पठाइन्छ। अझ अदुवा टुक्रा पारेर वा धूलो गरेर ल्याउँदा पनि मूल्य फरक हुन्छ। “सामान्य विषयभन्दा पनि त्यसले मान्छेमा कति प्रभाव पार्छ भन्ने महत्त्वपूर्ण हुन्छ,” उनी भन्छिन्, “कतिपयलाई मैले सामान्य विषयमा अनुसन्धान गरेको लाग्न सक्छ। तर, नेपालमा अहिलेसम्म सामान्य विषयमै पनि अनुसन्धान भएको छैन भने ठूला आविष्कार कसरी हुन्छन्?”
त्यस्तै, प्रशोधन गर्ने ठाउँ नभएर कतिपय उत्पादन खेर जाने गरेको उनी सुनाउँछिन्। उदाहरणका लागि अलैंची। अलैंचीको धेरै उत्पादन गर्ने क्षमता भए पनि किसानले उचित मूल्य नपाएका कारण खेर जाने गरेको छ। त्यस्तै, कति ढुसी लागेर माटोमा गाड्ने गरिएको छ। “हामीसँग ढुसीको उपचार गर्ने ठाउँ पनि छैन, त्यसको व्यवस्था भए किसानलाई राहत मिल्थ्यो,” उनी भन्छिन्।
विज्ञान तथा प्रविधिलाई बेवास्ता गरिएकाले ससाना विषयमा पनि अध्ययन अनुसन्धान हुन नसकेको उनको बुझाइ छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भनिए पनि शिक्षाले मात्रै प्राथमिकता पाएको उनी बताउँछिन्। “नेपालमा वैज्ञानिकलाई अवसर त छैन। केही गर्छु भन्नेलाई पनि विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत दर्ता गर्ने व्यवस्था पनि छैन,” उनी गुनासो गर्छिन्।
केही काम गर्न पनि गैरसरकारी संस्थाका रूपमा दर्ता गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन्। “सरकारले वैज्ञानिक तथा अनुसन्धानमा सहयोग गरेको छैन। जति काम भइरहेका छन्, विदेशी फेलोसिपमा भइरहेका छन्,” उनी भन्छिन्।