सर्वोत्तम सिमेन्टको शेयरमा यस्तो छ नियामक, पहुँचवाला र ठूला लगानीकर्ताको सम्बन्धको जालो
सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशंका उब्जाएको छ।
८ पुस २०७७ मा बसेको सर्वोत्तम सिमेन्ट लिमिटेड सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको ६ माघको साधारणसभाले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने निर्णय गर्यो। कम्पनीले ६० लाख कित्ता शेयर रु.७५० हाराहारीमा बिक्रीको प्रस्ताव अगाडि सारेको थियो। कम्पनीको कुल चुक्ता पूँजी रु.४ अर्ब ६५ करोडमध्ये १२.९ प्रतिशत शेयर मात्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका सीईओ चन्द्रसिंह साउद तथा धितोपत्र बोर्डका सदस्य र सर्वोत्तम सिमेन्टको शेयर बिक्री प्रबन्धनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलको माउ संस्था ग्लोबल आईएमई ब्यांकका अध्यक्ष चन्द्र ढकालका पारिवारिक सदस्यका नाममा हस्तान्तरण गरिएको थियो।
सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव राखेको कम्पनीमा सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै शेयर साझेदारका रूपमा भित्र्याइयो, नियामक निकायका प्रमुखदेखि शेयर बिक्री प्रबन्धक, शेयर ब्रोकर र बजारका ठूला लगानीकर्तासम्मलाई। उनीहरूलाई बढीमा रु.२५० सम्ममा शेयर बिक्री गरिएको बताइएको छ। तर, कतिपय प्रभावशाली व्यक्तिलाई ‘उपहार’का रूपमा शेयर बाँडिएको आशंका छ।
सर्वोत्तम सिमेन्टको शेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद तथा सर्वोत्तम सिमेन्टको शेयरको बिक्री प्रबन्धनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलको माउ संस्था ग्लोबल आईएमई ब्यांकका अध्यक्ष चन्द्र ढकालका पारिवारिक सदस्यका नाममा हस्तान्तरण गरिएको थियो।
लगानी सम्बन्धी संस्था हाथवे इन्भेस्टमेन्टको नाममा पनि सर्वोत्तमको शेयर बिक्री गरियो, जसमा व्यवसायी चन्द्र ढकालका भाइ हेमराज ढकालको ३०.०१ प्रतिशत शेयर स्वामित्व छ। हाथवे कम्पनीमा शेयर बजारका ठूला लगानीकर्तामध्ये एक अम्बिकाप्रसाद पौडेलको पनि ९.२ प्रतिशत लगानी छ। पौडेलले आफ्नै नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर पाएका छन्। त्यसैगरी, शेयर ब्रोकर अनलाइन सेक्युरिटिजका सञ्चालक अनन्त पौडेलको नाममा पनि सर्वोत्तमको शेयर छ। ठूला निर्माण व्यवसायीमध्ये एक तथा सांसद मोहन आचार्यको पारिवारिक कम्पनी रसुवा कन्स्ट्रक्सन तथा अर्को निर्माण व्यवसायी कम्पनी शर्मा एन्ड शर्माको पनि सर्वोत्तममा शेयर स्वामित्व छ।
सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर : कसको नाममा कति?
कम्पनीका संस्थापकले शेयर निष्कासन गर्ने घोषणा गरिसकेपछि शेयर बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिहरूलाई शेयर हस्तान्तरण गरेको देखिएको छ। के भविष्यमा यो कम्पनीको शेयर मूल्यलाई प्रभावित पार्ने उद्देश्यले सर्वसाधारणलाई निष्कासन गरिनुअघि यस्तो मिलेमतो गरिएको थियो?
कम्पनीका संस्थापकले शेयर निष्कासन गर्ने घोषणा गरिसकेपछि शेयर बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिहरूलाई शेयर हस्तान्तरण गरेको देखिएको छ। के भविष्यमा यो कम्पनीको शेयर मूल्यलाई प्रभावित पार्ने उद्देश्यले सर्वसाधारणलाई निष्कासन गरिनुअघि यस्तो मिलेमतो गरिएको थियो? शेयर बजारका विज्ञ रविन्द्र भट्टराई शेयर बजारका प्रमुख सरोकारवाला समूहहरूलाई प्रभावमा पारेर निष्कासन गर्न लागिएको प्रष्ट देखिने बताउँछन्।
उनी भन्छन्, “प्रिमियम मूल्यमा शेयर जारी गर्न लागेको कम्पनीको शेयर शुरूमै स्वार्थ बाझिने व्यक्तिहरूले हात पार्नुले नीतिगत रूपमा र बजारमा प्रभाव पार्न खोजेको प्रष्ट देखिन्छ।”
ढकाल परिवारको प्रभुत्व
चन्द्र ढकाललाई नियामक निकाय बोर्डका सदस्यका रूपमा आफ्नै लगानीका संस्थाको नियमन गर्नुपर्ने विरोधाभासपूर्ण जिम्मेवारी छ। उनी शेयर बजारमा सूचीकृत कम्पनीहरू ग्लोबल आईएमई ब्यांक, चन्द्रागिरी हिल्सका अध्यक्ष हुन् भने नेपाल इन्फ्रास्ट्रक्चर ब्यांक, हिमालयन पावर पार्टनरका सञ्चालक छन्। उनको समूहको लगानी रहेको आईएमई लाइफ इन्स्योरेन्स र डिसहोम पनि शेयर निष्कासनको तयारीमा छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल महासंघलाई प्रतिनिधित्व गर्दै धितोपत्र बजारको नियामक धितोपत्र बोर्डमा सदस्य छन्। तर, उनी आचारसंहिता नाघेर पदासीन भएको देखिन्छ। नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ को दफा ५ को उपदफा १ मा ‘बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्कासन प्रक्रियामा रहेका संगठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालीन पदाधिकारीको रूपमा रहनु हुँदैन,’ भन्ने लेखिएको छ।
ढकाललाई नियामक निकाय बोर्डका सदस्यका रूपमा आफ्नै लगानीका संस्थाको नियमन गर्नुपर्ने विरोधाभासपूर्ण जिम्मेवारी छ। उनी शेयर बजारमा सूचीकृत कम्पनीहरू ग्लोबल आईएमई ब्यांक, चन्द्रागिरी हिल्सका अध्यक्ष हुन् भने नेपाल इन्फ्रास्ट्रक्चर ब्यांक, हिमालयन पावर पार्टनरका सञ्चालक छन्। उनको समूहको लगानी रहेको आईएमई लाइफ इन्स्योरेन्स र डिसहोम पनि शेयर निष्कासनको तयारीमा छन्। यी कम्पनीको प्रतिनिधित्व गर्ने ढकाल सीधै स्वार्थ बाझिने गरी बोर्ड सदस्यका रूपमा नियामक निकायमा छन्। यी विषयमा कुरा गर्न पटकपटक प्रयास गर्दा ढकाल सम्पर्कमा आएनन्।
उनै ढकालका सहोदर भाइ (जसको व्यवसाय छुट्टिएको छैन) हेमराज ढकालले सर्वोत्तम सिमेन्टको दुई लाख कित्ता शेयर खरीद गरेकोमा ५ चैत २०७७ को लिखतबाट यसमध्ये आधा अर्थात् एक लाख कित्ता हाथवे इन्भेस्टमेन्टलाई बिक्री गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ को लाभांशसहित ढकालका नाममा अहिले पनि सर्वोत्तम सिमेन्टमा १ लाख १९ हजार ११८ कित्ता शेयर छ। सर्वोत्तममा लगानी गरेका ढकालको स्वार्थ शेयर बिक्री प्रबन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलमा पनि बाझिएको देखिन्छ। सर्वोत्तम सिमेन्टले जारी गर्न लागेको शेयर बिक्रीका लागि २०७७ चैत ४ गते कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई प्रमुख बिक्री प्रबन्धकको जिम्मेवारी तोक्यो। ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई ब्यांकको सहायक कम्पनी हो। यो ब्यांकमा ढकाल दाजुभाइको प्रमुख शेयर लगानी छ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले दोस्रो बजारमा प्रिमियम मूल्यमा जारी हुन लागेको शेयर शुरूमै पारिवारिक सदस्यको नाममा हात पारेका थिए। ढुंगानाले छोरीले अमेरिकाबाट पैसा पठाएर शेयर खरीद गरेको बताए पनि उनले निःशुल्क यस्तो शेयर हात पारेको आशंका कतिपयको छ।
शेयर बजारका विज्ञ मुक्ति अर्याल स्वार्थ बाझिने गरी कोही पनि धितोपत्र बोर्डको सञ्चालकमा बसिरहन नमिल्ने बताउँछन्। उनी भन्छन्, “यस्तोमा उहाँले धितोपत्र बोर्डको सञ्चालक पद छाड्न आवश्यक हुन्छ। स्वार्थ बाझिने कम्पनीको अध्यक्ष/सञ्चालक छोडे पनि ती कम्पनीमा मुख्य शेयर लगानी रहिरहने कारणले बोर्डको सञ्चालक छाड्नु नै उचित हुन्छ।”
प्रभावशाली लगानीकर्ता
सर्वोत्तम सिमेन्ट कम्पनीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा ११ हजार ९१२ कित्ता शेयर स्वामित्व छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २१ ले पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरूलाई दिन वा सोको भेद खोल्न वा त्यस्तो जानकारी वा सूचना निजी लाभका लागि प्रयोग गर्न बोर्ड अध्यक्षलाई बन्देज लगाएको छ। तर, बोर्ड अध्यक्ष ढुंगानाले भने दोस्रो बजारमा प्रिमियम मूल्यमा जारी हुन लागेको शेयर शुरूमै पारिवारिक सदस्यको नाममा हात पारेका थिए।
ढुंगानाले छोरीले अमेरिकाबाट पैसा पठाएर शेयर खरीद गरेको बताए पनि उनले निःशुल्क यस्तो शेयर हात पारेको आशंका कतिपयको छ। नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ ले ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख गरेको छ।
शेयर बजारका ठूला खेलाडी तथा शेयर बजारमा लगानी गर्ने कम्पनी हाथवे इन्भेस्टमेन्ट सम्बद्ध अम्बिकाप्रसाद पौडेलका नाममा पनि सर्वोत्तम सिमेन्टको एक लाख ७८ हजार ६७६ कित्ता शेयर छ। त्यसैगरी, हाथवे इन्भेस्टमेन्टका नाममा एक लाख १९ हजार ११८ कित्ता शेयर छ।
सर्वोत्तम सिमेन्टमा सीधै स्वार्थ बाझिने गरी कारोबार गर्ने प्लेटफर्म नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि श्रीमती सुशीलाकुमारी बोहराको नाममा ११ हजार ९१२ कित्ता शेयर राखेका छन्। शेयर बजार विज्ञ रविन्द्र भट्टराईको भनाइमा प्रिमियम मूल्यमा शेयर जारी हुन लागेको पूर्वसूचनाका आधारमा आफू मातहतको बजारमा श्रीमतीका नाममा शेयर खरीद गर्नु अनैतिक मात्र नभई गैरकानूनी नै हो।
शेयर बजारका ठूला खेलाडी तथा शेयर बजारमा लगानी गर्ने कम्पनी हाथवे इन्भेस्टमेन्ट सम्बद्ध अम्बिकाप्रसाद पौडेलका नाममा पनि सर्वोत्तम सिमेन्टको एक लाख ७८ हजार ६७६ कित्ता शेयर छ। त्यसैगरी, हाथवे इन्भेस्टमेन्टका नाममा एक लाख १९ हजार ११८ कित्ता शेयर छ। हाथवेमा विभिन्न ब्यांक तथा वित्तीय संस्थाका उच्च तहका व्यवस्थापकको पनि लगानी छ।
पौडेलको समूह शेयर बजारमा प्रभावशाली मानिन्छ। उनी चन्द्रागिरी हिल्ससहित विभिन्न व्यवसायमा ढकाल परिवारका व्यावसायिक साझेदार पनि हुन्।
त्यस्तै, शेयर किनबेचको कारोबार गर्ने अनलाइन सेक्युरिटिजका सञ्चालक अनन्तकुमार पौडेलको नाममा पनि एक लाख १९ हजार ११८ कित्ता शेयर छ। ठूला व्यवसायी दीपककुमार मल्होत्राका नाममा ८९ हजार ३३८ कित्ता, निर्माण व्यवसायी तथा सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सनका नाममा ५९ हजार ५५९ तथा अर्को निर्माण व्यवसायी शर्मा एन्ड शर्मा कम्पनीका नाममा ५९ हजार ५५९ कित्ता शेयर छ। कानूनतः उनीहरूलाई सर्वोत्तमको संस्थापक शेयरमा लगानी गर्न कुनै बारबन्देज छैन, तर बजार सम्बद्ध ठूला लगानीकर्ता तथा कारोबार गर्ने शेयर ब्रोकरले शुरूमै आफ्ना नाममा शेयर राखेर भविष्यमा बजारमा सानो संख्यामा निष्कासन हुने शेयरमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्नसक्ने जोखिम हुने विश्लेषक भट्टराई बताउँछन्।
शेयर बजारका एक ठूला लगानीकर्ता पनि सार्वजनिक निष्कासनको तयारीमा रहेको कम्पनीमा बजारसँग सम्बद्ध विभिन्न पक्षलाई शुरूमै शेयर दिइनुले भविष्यमा बजारमा सर्वोत्तम सिमेन्टको शेयरमा चलखेल हुनसक्ने आशंका बढाएको बताउँछन्। उनी भन्छन्, “ठूला लगानीकर्ता, ब्रोकर, नियामक, नेप्सेका प्रमुख सबैको मिलेमतोमा बजारमा शेयरको मूल्य बढाउने जोखिम हुन्छ, जसको पासोमा यसबारे सूचना नभएका सर्वसाधारण फस्छन्।”