सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी नेप्सेका सीईओ साउदको पनि शेयर
शेयर बजारको कारोबार गर्ने प्लेटफर्म नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पनि स्वार्थ बाझिने गरी दोस्रो बजारमा आउने तयारीमा रहेको एक कम्पनीको शेयर खरीद गरेको फेला परेको छ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेका वेला साउदले पारिवारिक सदस्यका नाममा यो कम्पनीको शेयर हात पारेको प्रमाण हिमालखबरको खोजले देखाएको हो। साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए।
आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर संख्या ११ हजार ९१२ पुगेको छ। बोहराको ठेगाना बैतडीको शिवलिङ्ग-१ देखाइएको छ।
स्टक एक्सचेन्जका सीईओ साउदले हिमालखबरसँग कुरा गर्दै कानूनले नरोकेका कारण श्रीमतीको नाममा शेयर खरीद गरेको स्वीकार गरेका छन्। उनले प्रतिकित्ता रू.२५० तिरेर शेयर खरीद गरेको, तर यकिन मूल्य कति हो भन्ने चाहिं बिर्सिएको बताए।
उनले पहिले नै शेयर खरीदको तय भए पनि कारोबार भने सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरेपछि मात्रै भएको बताए। “दोस्रो बजारमा मात्रै किनबेच गर्न नमिल्ने हो, बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको कम्पनीको शेयर लिन नमिल्ने भन्ने व्यवस्था छैन,” साउदले भने।
तर, शेयर बजार सम्बन्धी विज्ञ मुक्ति अर्यालले भने स्टक एक्सचेन्जका सीईओ र अन्य कर्मचारीले बजारमा आउन लागेको कुनै कम्पनीको शेयर खरीद गर्नु सीधै 'स्वार्थको द्वन्द्व' (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुने बताए। उनले भने, “भविष्यमा आफ्नै प्लेटफर्म मार्फत कारोबार हुने कम्पनीको शेयर किनेर राख्दा कारोबार तथा मूल्यमै चलखेल गरिदिन सक्ने जोखिम हुन्छ, यसमा सीधै स्वार्थको द्वन्द्व देखिन्छ।”
अर्कातिर, नेप्सेको 'ओभर द काउन्टर (ओटीसी)' बजार मार्फत सर्वोत्तम सिमेन्टको शेयर किनबेच भएको हो। दलालको आवश्यकता विना सीधै बिक्रीकर्ता र खरीदकर्ताको आपसी समझदारीमा शेयर किनबेच हुने बजार नै ओटीसी बजार हो। शेयर बजार विज्ञ रवीन्द्र भट्टराईले पूर्व सूचनाका आधारमा आफू मातहतको बजारका श्रीमतीका नाममा शेयर खरीद गर्नु अनुचित मात्र नभई गैरकानूनी नै हुने बताए।
शेयर बजारका विज्ञ अर्यालले भने सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्तासँग बुक बिल्डिङ प्रक्रियाका लागि शेयरको बिडिङ गर्दा नेप्सेको प्लेटफर्म मार्फत गर्ने भएकाले यसका सीईओ र अन्य कर्मचारीले त्यस्तो कम्पनीको शेयर धारण गर्नु स्वार्थको द्वन्द्व हुने बताए।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। बुक बिल्डिङ भनेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया हो, जसमा पूँजी बजारका संस्थागत लगानीकर्ताले निष्कासन गरिन लागेको कम्पनीको शेयरलाई आफूहरूले तिर्नसक्ने मूल्य तोक्छन्।
यसैका आधारमा मूल्य तय भएर उक्त कम्पनीको शेयर निष्कासन हुन्छ। सर्वोत्तमले प्रतिकित्ता रू.७५० को दरमा शेयर बिक्रीको प्रस्ताव गरेको छ।
साउदले पूर्व सूचनाका आधारमा किनेको शेयरको भित्री कारोबार समेत हुनसक्ने सम्भावना छ। धितोपत्र ऐनको दफा ९१ ले भित्री कारोबारका सम्बन्धमा व्याख्या गर्दै ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भन्ने व्यवस्था गरेको छ।
धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत काम गरेको प्रमाण हिमालखबरले मंगलबार सार्वजनिक गरेको थियो। ढुंगानाले बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर अमेरिका बस्ने छोरी रेबिका ढुंगानाको नाममा राखेको भेटिएको थियो।