पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण?
दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले खरीद गर्नु अनैतिक र आचरणहीन काम हो, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ।
केही दिनयता सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर कारोबार प्रकरणले शेयर बजारमा बहस तताएको छ। सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तमको शेयर धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखको परिवारको नाममा किनिएको समाचार सार्वजनिक भएसँगै विभिन्न प्रश्न उठेका छन्। विशेषत: उनीहरूले कानूनी रूपमा शेयर किन्न मिल्थ्यो वा मिल्दैनथ्यो र त्यो आचारसंहिता अनुसार थियो कि थिएन भन्ने मुख्य प्रश्न छ। शेयर कारोबारको समाचार आएसँगै बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयले १३ साउनमा (बुधबार) तीन दिनको समय दिएर स्पष्टीकरण सोधिसकेको छ।
सामान्यतया कुनै कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रियामा जाने भनेसँगै शेयर बजारको नियामक निकायको ध्यान ती कम्पनीको गतिविधिमा केन्द्रित हुन्छ। धितोपत्र बोर्ड पूँजी बजारको नियामक निकायका साथै कम्पनीलाई शेयर निष्कासन गर्न स्वीकृति दिने संस्था भएकाले सर्वसाधारणको हितको संरक्षण गर्न र कम्पनीका अनियमितता रोक्न पनि त्यस्ता गतिविधि शेयर जारी गर्नुअघि वा स्वीकृति माग्न आउनु अघिबाटै निगरानीमा रहन्छन्। पूँजी बजारको नियमन र लगानीकर्ताको पैसा तथा हितको सुरक्षा गर्ने प्रक्रियाको सामान्य सिद्धान्त यही हो।
सर्वोत्तम सिमेन्ट कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्छु भनेसँगै यो कम्पनीका गतिविधि बोर्डको जानकारी र निगरानीमा रहेको हुनुपर्छ। कम्पनीले सर्वसाधारणमा जाने सार्वजनिक रूपमा बताइसकेपछि त्यस्ता कम्पनीका सञ्चालक, संस्थापक वा व्यवस्थापकीय व्यक्तिसँग नियामक निकायका प्रमुख वा कर्मचारीले व्यक्तिगत रूपमा अलग्गै भेट गर्नु, पार्टी गर्नु, पार्टीमा जानु, कुनै प्रकारका लाभका वस्तु तथा सेवा लिनु पूँजी बजारको स्वच्छन्दता, पारदर्शिता र पदीय हिसाबले पनि मिल्दैन। तर, धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुखले कम्पनीले शेयर जारी गर्ने जनाइसकेपछि सर्वसाधारणमा आउनु अगावै कम्पनीका संस्थापकबाट परिवारका सदस्यका नाममा शेयर किनेर पदीय मर्यादाको दुरुपयोग मात्र गरेनन्, विश्वव्यापी रूपमा पूँजी बजारले व्याख्या गरेको 'जघन्य अपराध'को काम गरेका छन्। जसलाई शेयर बजारमा 'फ्रन्ट रनिङ' (व्यक्तिगत लाभका लागि अधिकारको दुरुपयोग गरी दौडिने) भनिन्छ।
फ्रन्ट रनिङ विशेषगरी दोस्रो बजारमा शेयर किनबेच गर्ने क्रममा बढी हुन्छ। उदाहरणका लागि, शेयर ब्रोकरले ग्राहकबाट कुनै कम्पनीको शेयरको ठूलो कित्ता खरीद आदेश प्राप्त गर्यो वा आदेश आउँदै छ भन्ने जानकारी पायो। उसलाई यो शेयरको माग र मूल्य बढ्ने लागेमा ग्राहकलाई शेयर किनिदिनुअघि आफूले किनेर फाइदा लिनु वा कुनै ग्राहकले ठूलो संख्यामा शेयर बिक्री गर्ने आदेश दिएको छ भने त्यो बिक्री गर्नुअघि आफ्नो शेयर बिक्री गरेर फाइदा लिनुलाई 'फ्रन्ट रनिङ' भनिन्छ। यसमा ब्रोकरले ग्राहकको भन्दा अगाडि आफ्नो आदेश राखेर अधिकार दुरुपयोग गरी ग्राहकलाई ठग्ने वा नोक्सान पुर्याउने काम गर्छ। यस्तो कार्य गर्नुलाई विश्व शेयर बजारमा जघन्य तथा दण्डनीय अपराध मानिन्छ। यो शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को एउटा प्रकार पनि हो।
बोर्डका अध्यक्ष र र नेप्सेका सीईओले सर्वसाधारणमा शेयर जारी गरिनसकेको कम्पनीको शेयर किनेर कानूनी रूपमा गल्ती नगरेको तर्क दिइरहेका छन्। तर, कानून बनाउन र कार्यान्वयन गर्न गएकाहरूले कानूनले गर्न हुन्न भनेर लेखेका मात्र हैन, कतिपय अवस्थामा कानूनमा नलेखेका कुरा पनि गर्न हुन्न। कानूनमा नलेखिएको तर अनैतिक र पदीय आचरणहीन काम शेयर बजारलाई स्वीकार्य हुन्न।
फ्रन्ट रनिङ गोप्य सूचनामा पहुँच हुने वा अधिकार प्रयोग गर्ने अधिकार पाएका ब्रोकर, लगानी व्यवस्थापक, मर्चेन्ट ब्यांक, कम्पनी सञ्चालक व्यवस्थापक वा नियामक निकाय कसैले पनि गर्न पाउँदैनन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २१ ले पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरूलाई दिन वा सोको भेद खोल्न वा त्यस्तो जानकारी वा सूचना निजी लाभका लागि प्रयोग गर्न बोर्ड अध्यक्षलाई बन्देज लगाएको छ।
शेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्दै गरेका कम्पनीको दोस्रो बजारमा मूल्य कस्तो होला भन्ने कुरा त्यस्तै प्रकारका वस्तु तथा सेवा उत्पादन गर्ने अन्य कम्पनीको मूल्य हेरेर पनि अनुमान लगाइन्छ। सर्वोत्तम जस्तै सिमेन्ट उत्पादक अर्को कम्पनी शिवम् सिमेन्टको शेयर प्रिमियम मूल्यमा निष्कासन गरी दोस्रो बजारमा समेत राम्रो मूल्यमा कारोबार भइरहेको अवस्थामा नाफा कमाइरहेको सर्वोत्तमको शेयरले पनि राम्रो मूल्य पाउने अपेक्षा बजारले स्वाभाविक रूपमा गरेको हुन्छ।
यही अपेक्षासँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदले कम्पनीले शेयर जारी गर्नु अगावै कम्पनीले भन्दै गरेको बुक बिल्डिङको अनुमानित मूल्यभन्दा धेरै गुणा कममा परिवारका सदस्यका नाममा शेयर किनेर वा किन्न सहयोग वा उत्प्रेरित गरी आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी 'फ्रन्ट रनिङ' गरेका छन्। जुन धितोपत्र सम्बन्धी ऐनको दफा २१ ले बन्देज लगाएको काम हो र जघन्य अपराधभित्र पर्छ।
बोर्डका अध्यक्ष र र नेप्सेका सीईओले सर्वसाधारणमा शेयर जारी गरिनसकेको कम्पनीको शेयर किनेर कानूनी रूपमा गल्ती नगरेको तर्क दिइरहेका छन्। तर, कानून बनाउन र कार्यान्वयन गर्न गएकाहरूले कानूनले गर्न हुन्न भनेर लेखेका मात्र हैन, कतिपय अवस्थामा कानूनमा नलेखेका कुरा पनि गर्न हुन्न। नीति र नियमले नतोकेका गर्न सकिने तर समाज, बजार वा प्रणालीले स्वीकार नगर्ने कुरा नैतिकताभित्र पर्छन्। कानूनमा नलेखिएको तर अनैतिक र पदीय आचरणहीन काम शेयर बजारलाई स्वीकार्य हुन्न। यसैले नियामकलाई कानूनमा नलेखिएका सबै काम गर्न छूट हुन्न।
बोर्ड र नेप्सेका प्रमुखले यस्तै अनैतिक र आचरणहीन काम गरेका छन्, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ। शेयर बजारलाई कतिपयले छलकपट, चलखेल हुने र पहुँचवाला एवम् जालीले पैसा कमाउने ठाउँ भनेर बुझ्ने र व्याख्या गर्ने गरेका छन्। बोर्ड र नेप्सेका प्रमुखको हर्कतले शेयर बजार साँच्चै त्यस्तै हो कि भनेर सर्वसाधारणलाई सोच्न बाध्य पारेको छ।
लामो समयदेखि विशेष गरी उत्पादनमूलक क्षेत्रको पर्खाइमा रहेको शेयर बजारलाई नियामकका यी गतिविधिले सशंकित बनाएको छ। बुक बिल्डिङ मार्फत शेयर जारी गर्ने सोच बनाएका कम्पनीहरू बोर्ड, नेप्से र सर्वोत्तम सिमेन्टका गतिविधिबाट त्रस्त हुनसक्ने देखिन्छ।
धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका सीईओका व्यवहारले बोर्ड र नेप्सेले गर्ने हरेक गतिविधिमाथि प्रश्न खडा गरेको छ। सामाजिक सञ्जालमा सर्वसाधारणले 'बोर्डका कर्मचारीले आर्थिक प्रलोभनमा परेर खराब कम्पनीलाई शेयर निष्कासनको स्वीकृति दिई सर्वसाधारण डुबाउने त हैनन्? शेयर बाँडफाँडमा अहिले प्रयोग भइरहेको सफ्टवेयर पारदर्शी छ? कतै बोर्डका अध्यक्ष, कर्मचारी र बिक्री प्रबन्धकले आफूलाई निश्चित शेयर पर्ने गरी प्रोग्रामिङ गरेर त शेयर बाँडिरहेका छैनन्?' भन्ने जस्ता सन्देह र प्रश्न गर्न थालिसकेका छन्।
यति मात्र हैन, लामो समयदेखि विशेष गरी उत्पादनमूलक क्षेत्रको पर्खाइमा रहेको शेयर बजारलाई नियामकका यी गतिविधिले सशंकित बनाएको छ। बुक बिल्डिङ मार्फत शेयर जारी गर्ने सोच बनाएका कम्पनीहरू बोर्ड, नेप्से र सर्वोत्तम सिमेन्टका गतिविधिबाट त्रस्त हुनसक्ने देखिन्छ। यसअघि २०७१ सालमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण लगानी गर्ने क्रममा माथिल्लो तामाकोसीसँग स्वार्थ बाझिने गरी शेयर पाए मात्र ऋण दिने किसिमले मोलमोलाइ गरेका थिए। ऋणदाताको यस्तो बेथिति रोक्न बोर्डका निवर्तमान अध्यक्षको पहलमा धितोपत्र बोर्डले शेयर निष्कासन नियमावली नै परिवर्तन गर्यो र जलविद्युत् कम्पनीमा हुने ऋण लगानीमा ऋण दिने संस्थाले आफ्ना कर्मचारीलाई शेयर दिए मात्र ऋण दिने शर्तको सम्भावित आतंक बन्द गरायो।
शेयर बजारमा विशेष गरी प्राथमिक निष्कासन गर्न चाहने कम्पनीबीच त्योभन्दा बढी आतंक धितोपत्र बोर्डका वर्तमान अध्यक्षले सिर्जना गरेका छन्। यिनको यो काम 'शेयर दिए मात्र शेयर निष्कासनको स्वीकृति दिन्छु, नत्र दिन्नँ' भन्ने जस्तो छ। यस्तै, नेप्सेका सीईओको काम 'शेयर दिए तिम्रो कम्पनी नेप्सेमा सूचीकरण गर्न सहयोग गर्छु, नत्र गर्दिनँ' भन्ने जस्तो छ।
शेयर जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको शेयर नियामक निकायका प्रमुखले परिवारका नाममा किन्नु भित्री कारोबार मात्र हो भनेर बुझ्न सकिन्न। यसलाई स्वीकृति दिने शर्तमा लिएको 'घूस' समान मान्न सकिन्छ र सर्वोत्तम सिमेन्टका संस्थापकले शेयर जारी गर्ने प्रक्रियामा गइसकेपछि निष्कासनको स्वीकृति दिने संस्थाका पदाधिकारीलाई पैसा लिएर वा नलिई त्यसरी शेयर बिक्री गर्नु नियामकलाई प्रभावमा पार्न घूस दिनु बराबर हो। कानूनत: घूस लिने र दिने दुवैलाई अपराधी मानिन्छ।
सर्वोत्तमको शेयर निष्कासन स्वीकृति प्रक्रिया यो प्रकरणको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गर्नुपर्छ। साथै, अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष र नेप्सेका सीईओलाई तत्काल बर्खास्त गरी छानबिन गर्नुपर्छ।
(शेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्राजुएट र शेयरबजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्स समेत गरेका छन्।)