अक्सिजन सिलिन्डरमा अड्किएको जीवन : बहिनी माफ गर !
हामीले जुन दिन बहिनीलाई अस्पताल भर्ना गरेका थियौं, त्यही दिन अस्पतालमा अक्सिजनको अभाव छैन भन्ने समाचार छ्यापछ्याप्ती थियो। तर, अक्सिजनका लागि भागदौड गर्दागर्दै बहिनीलाई गुमाउनुपर्यो।
देशभरका अस्पतालहरूमा कोरोना संक्रमितका लागि शय्या र अक्सिजनको हाहाकार भएका खबर आइरहँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अवस्था पनि त्यसभन्दा फरक रहेन। अस्पतालले संक्रमित धान्न नसकेकोबारे १८ वैशाखमा हिमालखबरमा एउटा समाचार लेखेँ, ‘संक्रमितले भरिए शय्या, घरबाटै बेड लिएर ग्यालरीमा उपचार’।
त्यसअघि प्रादेशिक अस्पतालमा शय्या र अक्सिजनको अभाव भइरहेको कुरा सामाजिक सञ्जालमा आइरहेको थियो। अस्पतालमा उपचाररत संक्रमितहरूका आफन्तसँग कुरा गरेर अवस्था बुझेँ। प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठसँग पनि फोनमा कुराकानी गरेँ। उनका अनुसार, ५५ शय्या भएको कोभिड अस्पतालमा गम्भीर बिरामी मात्रै ५७ जना भर्ना भएका थिए।
संक्रमित थपिँदै गएकाले अस्पतालमा चाप बढ्दा एउटा शय्यामा दुई–तीन जना राखेर पनि उपचार हुन्थ्यो। सामान्य लक्षण देखिएका संक्रमितलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको श्रेष्ठले बताएका थिए। त्यस दिन आकस्मिक कक्षका १६ शय्या पनि भरिएका थिए। बिरामीहरू घरबाटै बेड लिएर ग्यालरीमा बसेर पनि उपचार गराइरहेका थिए। त्यसै विषयमा समाचार लेखेकी थिएँ।
त्यसको दोस्रो दिनदेखि कैलालीका अन्य पत्रकारले पनि सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भनेर समाचार प्रकाशन र प्रसारण गरे। समाचारको प्रभावले होला, विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा अस्पताललाई अक्सिजन प्राप्त हुन थाल्यो।
संक्रमितको संख्या भने घट्ने नामै थिएन। दिनप्रतिदिन जटिल अवस्थाका बिरामी अस्पतालमा थपिइरहेका थिए। महामारी सम्बन्धी समाचार लेख्दै, पढ्दै गर्दा मनस्थिति कस्तो हुन्थ्यो भने, कहिलेकाहीँ त आफू पनि संक्रमित भइसकेँ कि भन्ने शंका लाग्थ्यो।
के पर्ला भनेर मैले भैपरी आउँदा चाहिने औषधिहरू किनेर राखेकी थिएँ। भाडाको एउटा कोठामा बस्छु म। घरको भुइँतलामा भाडा लगाइएका चार वटा कोठामध्ये बाँकी तीन कोठाका बहिनीहरू निषेधाज्ञामा आआफ्नो गाउँ गएका थिए। त्यसैले एक हिसाबले मेरो बसाइ आइसोलेसन जस्तै थियो।
२१ वैशाखमा मिल्ने साथी कोठामा आइन्। दिनभरि सँगै बस्यौं। खाजा खुवाएर साथीलाई पठाएँ। राति एक्कासी ज्वरो आए जस्तो भयो। शरीर पूरै दुखिरहेको थियो।
बिहानै साथीले फोन गरिन्, “साथी, स्वास्थ्य कस्तो छ?”
मैले गलेको स्वरमा भनेँ, “राति हल्का ज्वरो आयो, पूरै जिउ दुखिराखेको छ।” उनको बारेमा सोधेँ। उनले आफू रातभरि सुत्न नसकेको, ज्वरो आइरहेको, शरीर र टाउको दुखिरहेको बताइन्।
साथीको कुरा सुन्ने बित्तिकै झसंग भएँ। साथीलाई स्वास्थ्य जाँच गर्न नजिकैको मेडिकलमा जान सुझाव दिएँ। उनलाई टाइफाइड देखिएछ।
अब दुई सातापछि घर आउँछु भनेकी थिएँ। घरका सबै जना खुशी भएका थिए। तर, दुई साता नपुग्दै गाउँबाट संक्रमित बहिनीलाई लिएर भाइ धनगढी आएछ। ४ जेठ राति १० बजेतिर भाइको फोन आयो, “हामी सारथि अस्पतालमा छौं, छिटै अक्सिजन खोज्नुपर्यो।” बहिनीको अक्सिजन लेभल निकै घटिसकेछ।
हामी दुवै जना भिडिओ कल गरेर के खाने, के नखाने सल्लाह गर्थ्यौं। हामीलाई देखिएको समस्या कोभिडको लक्षणसँग मिल्दोजुल्दो भएकाले साथीलाई आफ्नो स्वास्थ्यबारे सजग भएर बस्न भनिरहेँ।
साथीलाई अलि बढी नै च्याप्यो। उनलाई कोभिड जाँच गराइहाल्न भनेँ। २५ गते उनको रिपोर्ट पोजेटिभ आयो। त्यतिन्जेल मलाई भने केही सहज हुन थालेको थियो। कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएकाले होला, गाह्रो नभएको।
तर, ग्यास्ट्राइटिसको समस्या देखिन थाल्यो। जाँच गराउँदा आन्द्रामा सानो घाउ देखियो।
मलाई घरबाट आमा–बुवाले फोन गरेर यस्तो बेला बाहिरतिर नहिँड्नू है भनेर सम्झाइराख्नुहुन्थ्यो। आमाले मायामिश्रित गाली गर्नुहुन्थ्यो, “कोठामै बस्छु भन्छे, तर कहाँ कहाँ हिँडिराख्छे होला। पत्रकारलाई त निषेधाज्ञामा पनि हिँडडुल गर्न छूट हुन्छ रे!”
अब दुई सातापछि घर आउँछु भनेकी थिएँ। घरका सबै जना खुशी भएका थिए। तर, दुई साता नपुग्दै गाउँ (कैलारी गाउँपालिका-९) बाट कोरोना संक्रमित बहिनी (काकाकी छोरी, २४ वर्षीया) लाई लिएर भाइ धनगढी आएछ।
४ जेठ राति १० बजेतिर भाइको फोन आयो, “हामी सारथि अस्पतालमा छौं, छिटै अक्सिजन खोज्नुपर्यो।” बहिनीको अक्सिजन लेभल निकै घटिसकेछ। गाउँमा कोभिडको रिपोर्ट आउनै २/३ दिन लाग्दा परीक्षण गराएर ल्याउँदासम्म उसको स्वास्थ्य निकै खस्किसकेको थियो।
हतारिँदै एक जना दाइलाई फोन गरेर गुहार मागेँ। उनले बिरामीको अक्सिजनको लेभल सोधे। मैले भनेँ, “३५/३६ मात्रै।”
उनले आफ्नो घरमा एउटा सानो सिलिन्डर रहेको बताउँदै स्कुटी लिएर आइहाल्न भने। म हुइँकिँदै गएर सिलिन्डर ल्याएँ। त्यतिन्जेल अस्पतालमा पनि एउटा ठूलो सिलिन्डर पाइसकेको रहेछ।
बहिनीको स्वास्थ्य अवस्थाबारे सोधेँ। डाक्टरले बिरामीको अवस्था एकदमै नाजुक रहेको जानकारी दिए। त्यसपछि आफ्नो कोठा फर्किएँ। थप अक्सिजन जोहो गर्न रात छिप्पिउन्जेल विभिन्न व्यक्तिसँग आग्रह गरेँ। तर, अक्सिजन जुट्ने कुनै छेकछन्द देखिएन।
बहिनीका लागि अक्सिजन जुटाउन कति सास्ती भोग्नुपर्यो, शब्दमा भनिसाध्य छैन।
अस्पतालबाट भाइको फोन आयो, “अक्सिजन त सकिन लाग्यो!”
मैले भाइलाई निराश हुन दिइनँ, “व्यवस्था भइहाल्छ नि। म खोज्दै छु।”
त्यसपछि एक जना प्रहरी जवानलाई फोन गरेँ। उनको फुपाजु कोभिडकै कारण बितेको एक दिन मात्र भएको थियो। अक्सिजन पाइने ठाउँबारे केही जानकारी होला भनेर सोधेँ। उनले आफ्नो घरमा आधा सिलिन्डर बाँकी रहेको बताए। तर, उनको घर निकै टाढा भएकाले लिन जान सम्भव देखिएन। उनले विकल्प दिए, “खाली सिलिन्डर खोज्दै गर्नू। म मालिका ग्यास उद्योगमा साथीहरूलाई भनिदिन्छु।”
सारथि अस्पतालले अक्सिजन नभएपछि बिरामीलाई डिस्चार्ज गर्न आग्रह गरेकैगर्यै थियो। राति एक बजे एम्बुलेन्स खोज्यौं, तर पाएनौं। धन्न एउटा अटोरिक्सा पायौं र बहिनीलाई सेती प्रादेशिक अस्पताल लग्यौं।
आपत्मा एउटा विकल्पमा ढुक्क भएर बस्न मिल्ने कुरै भएन। लगत्तै कैलालीका वरिष्ठ पत्रकार दाइलाई फोन गरेँ। तर, फोन नउठेपछि उहाँकी श्रीमतीको मोबाइलमा घण्टी बजाएँ। बल्ल दाइसँग कुरा भयो। मैले रुँदै अक्सिजन जुटाइदिन बिन्ती बिसाएँ।
उहाँले अक्सिजनको व्यवस्था त गरिदिन सक्नुभएन, तर देव चौधरी नाम गरेका एक व्यक्तिको फोन नम्बर दिनुभयो। तर, देव सरबाट पाएको सहयोगले देवता नै भेटे जस्तो भयो। उहाँ सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापन गर्ने जिम्मेवारीमा हुनुहुँदो रहेछ।
उता, सारथि अस्पतालले अक्सिजन नभएपछि बिरामीलाई डिस्चार्ज गर्न आग्रह गरेकैगर्यै थियो। राति एक बजे एम्बुलेन्स खोज्यौं, तर पाएनौं। धन्न एउटा अटोरिक्सा पायौं र बहिनीलाई सेती प्रादेशिक अस्पताल लग्यौं।
झमझम पानी परिरहेको थियो। बिरामीलाई अस्पतालको प्रांगणमा पुर्याएर रिक्सा आफ्नो बाटो लागिहाल्यो। उता अस्पतालमा बेड छैन। भाइले दिक्क मान्दै भन्यो, “यहाँ बेड छैन। पानी परिरहेको छ। अब कहाँ जाने?”
मैले संयम अपनाउँदै भनेँ, “ह्वीलचेयरमा भए पनि ग्यालरीमा लगेर राखौं, एकछिनमा अक्सिजन आउँछ।”
देव चौधरीलाई फेरि फोन गरेँ, “बिरामीको अक्सिजन सकियो, छिटो गर्नु सर।” उहाँले भइसक्यो भन्दै एकैछिनमा जोडिदिने बताउनुभयो।
मैले राहत मान्दै लामो सास फेरेँ। अब केही घण्टाका लागि ढुक्क भयो।
त्यसपछि बेडका लागि फोन गरेँ। कतै पनि बेड पाएनौं। इमर्जेन्सीको ग्यालरीमा राखिएको बिरामीलाई अस्पतालका कर्मचारीले कोभिड अस्पतालमा लैजाऊ भन्दै रातभरि तनाव दिए। अक्सिजन लगाउनेबाहेक उपचार केही पनि भएन।
रातको ३ बजिसकेको थियो। बिरामीलाई कोभिड अस्पताल लैजाने साधन नभएर हामी निरुपाय बस्यौं। ह्वीलचेयरमै बिहान पाँच बजेसम्म इमर्जेन्सीको ग्यालरीमै राख्यौं बहिनीलाई। देव सरले चाँजोपाँजो मिलाइदिँदा अक्सिजनको कमी भएन।
कोभिड अस्पतालमा एउटा बेड खाली छ भन्ने खबर पाएपछि बिहान ६ बजे गयौं। त्यसपछि बल्ल बिरामीको उपचार शुरू भयो। डाक्टरले बहिनीको फोक्सो धेरै खराब भइसकेको बताए।
बहिनीको जीवन प्राणवायु अर्थात् अक्सिजनमै टिकेको थियो। त्यसैले त्यसबारे खोजखबर निरन्तर गरिरहेकी थिएँ।
अक्सिजनको अवस्था के छ भनेर देव सरलाई सोधेँ। उहाँले भन्नुभयो, “एउटा जोडिदिएका छौं। अक्सिजन फुलमा दिनुपरेको छ, दुई घण्टाभन्दा बढी धान्दैन। अब १ बजेभन्दा अगाडि अक्सिजन उपलब्ध गराउन सक्दिनँ। आफैं जोहो गर्नुस्।”
म फेरि अक्सिजनका लागि फोन घुमाउन थालेँ। एक ठाउँमा आधा सिलिन्डर अक्सिजन पाइयो। त्यसपछि कैलालीका सहायक सीडीओ हिरालाल चौधरीलाई फोन गरेँ। उहाँले खाली सिलिन्डर लिएर उद्योगमा जानु, आफूले भनिदिने भन्नुभयो। भाइलाई दुई वटा खाली सिलिन्डर लिएर उद्योगमा पठाएँ। भरेर ल्यायो।
बहिनी अन्तिम अवस्थामा पुगिसकेकी थिई। फोक्सो पूरै खराब भइसकेको थियो। उसको प्राण अक्सिजन सिलिन्डरमा अडिएको थियो। त्यसैले हामी अक्सिजन मात्रै खोजिरहेका थियौं।
ठूलो सिलिन्डरको अक्सिजन पनि २/३ घण्टाभन्दा बढी चल्दैनथ्यो। भाइले अस्पतालबाट दिउँसो १ बजेतिर फोन गर्यो, “अक्सिजनको पाइयो कि पाइएन। यहाँ सकिन लाग्यो।”
अब म पनि निराश हुन थालेकी थिएँ। अक्सिजन खोज्न कहाँ जाऊँ, कसलाई भनूँ भन्ने अलमलमा परेँ।
फोन घुमाउँदै गर्दा एक ठाउँमा पत्ता लाग्यो। तर, आफैं लिन आउनुपर्छ भन्यो।
अक्सिजन लिन जान स्कुटी स्टार्ट गरेँ। भाइले भन्यो, “अब अक्सिजन ल्याउनु पर्दैन। सोझै अस्पताल आइज।”
दिमागले काम गरेन। निःशब्द भएँ।
हामी जस्ता साधारण जनताले प्रतिसिलिन्डर रू.१५०० हाल्दा समेत अक्सिजन पाउन सकस भोग्नुपर्छ। तर, पहुँच भएकाहरूलाई बिरामीसँगै दर्जनौं सिलिन्डर अस्पतालमै उपलब्ध हुनसक्दो रहेछ।
आत्तिँदै कोभिड अस्पताल पुगेर भाइलाई फोन गरेँ। उसले शवगृहमा भएको बतायो।
म पुग्दा भाइहरू आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। मनले भन्यो, सबैलाई अँगालो हालेर मन अघाउन्जेल रोऊँ। तर, समय परिस्थितिको कारण त्यो गर्न सकिनँ। उनीहरूलाई सम्झाएँ।
शवगृहमा चार घण्टा पर्खियौं। त्यसपछि नेपाली सेनाको शव व्यवस्थापन टोली आयो र शव बुझेर लग्यो।
त्यो चार घण्टामा अस्पतालमा बिरामी ल्याउने र शव लैजाने क्रम चलिरह्यो। त्यही समयमा एक जना बिरामी बोकेको एम्बुलेन्स आयो। एम्बुलेन्सको पछिपछि अक्सिजन बोकेको एउटा गाडी पनि आयो। त्यो गाडीमा १३ वटा ठूला सिलिन्डर र २ वटा सानो सिलिन्डरभरि अक्सिजन थियो। मनमनै सोचेँ, यस्तो बिरामीका लागि पो अक्सिजन उपलब्ध हुँदो रहेछ, हाम्रा लागि होइन।
हामीले जुन दिन बहिनीलाई अस्पताल भर्ना गरेका थियौं, त्यही दिन अस्पतालमा अक्सिजनको अभाव छैन भन्ने समाचार छ्यापछ्याप्ती थियो। संघसंस्थाले अस्पताललाई दैनिक सयौंको संख्यामा अक्सिजनसहितको सिलिन्डर सहयोग गरिरहेको समाचार यिनै औंलाले टाइप गरेका थिए। तर, अक्सिजनका लागि भागदौड गर्दागर्दै बहिनीलाई गुमाउनुपर्यो।
हामी जस्ता साधारण जनताले प्रतिसिलिन्डर रू.१५०० हाल्दा समेत अक्सिजन पाउन सकस भोग्नुपर्छ। तर, पहुँच भएकाहरूलाई बिरामीसँगै दर्जनौं सिलिन्डर अस्पतालमै उपलब्ध हुनसक्दो रहेछ। यो देख्दा संविधानको भाग ३ को (३५) मा स्वास्थ्य सम्बन्धी हकको (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भन्ने वाक्य परिमार्जन गरेर पहुँचवाला र साधारण नागरिकले पाउने सेवामा भिन्नता हुनेछ लेख्नुपर्ने महसूस भयो।
अस्पतालमा बिरामी कुरुवाले स्वास्थ्य मापदण्डको पालना गरे पनि संक्रमण भएको हुनसक्छ। अस्पतालमा खटिएका सबै जना गाउँकै विद्यालयमा क्वारेन्टिन बनाएर बसेका छौं। संक्रमणबाट परिवारको एक जना त गुमायौं, अरूलाई संक्रमणले नछोओस् र गुमाउनु नपरोस् भनेर यस्तो सावधानी अपनाएका हौं।
केही दिनमा पीसीआर रिपोर्ट आउँछ, अनि बल्ल परिवारको अँगालोमा बाँधिनेछौं।