अस्पतालमा भर्ना पाइएको छैन, तर अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ?
कोरोना संक्रमण भएर घरमै बसेको अवस्थामा अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ? कतिलाई आपत् परेको हुनसक्छ।
यस्तो बेला स्टेरोइड औषधि सेवन शुरू गरिहाल्न संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले सुझाव दिएका छन्। उनका अनुसार, यो कोभिड–१९ को सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।
“अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधि शुरू गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ,” डा. सुवेदीले आइतबार बिहान ट्वीटरमा लेखेका छन्, “अक्सिमिटरले अक्सिजनको लेभल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।”
त्यस्तो बेला कि त मिथायलप्रेड्निसोलोन (Methylprednisolone) ३२ एमजी (१६ एमजीका दुई चक्की वा ८ एमजीका चार चक्की) एकैचोटि दिनको १ पटक वा डेक्सामिथासोन (Dexamethasone) ६ एमजी (०.५ एमजीका १२ चक्की) एकैचोटि दिनको एक पटक वा प्रेड्निसोलोन (Prednisolone) ४० एमजी दिनको १ पटक खानापछि खान उनले सल्लाह दिएका छन्।
डा. सुवेदीका अनुसार, यी औषधिले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नापेर त्यसै अनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुनसक्छ। औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पताल भर्नाका लागि कोशिश जारी राख्न उनले आग्रह गरेका छन्।
यी औषधि शुरू गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन शुरू गर्नै नपर्ने पनि हुनसक्ने उनले ट्वीटमा उल्लेख गरेका छन्।
यी औषधि बजारमा प्रशस्तै पाइने भएकाले आवश्यक नपरेका बेला अत्तालिएर नकिनिहाल्न पनि उनले अनुरोध गरेका छन्। अनावश्यक रूपमा पहिले नै औषधि थुपार्न थाल्दा बजारमा कृत्रिम अभाव हुनेतर्फ उनले औंल्याएका छन्।
“असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकाले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आकलन गर्दै यो लेख्दै छु,” उनले थप लेखेका छन्, “लेख्नैपर्ने भएकाले र सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै यो लेखेको छु।”
संक्रमण हुनेको संख्या बढेसँगै अस्पतालमा भर्ना नपाएर होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता छ। संक्रमणले च्यापेपछि अस्पताल चहार्दा–चहार्दै कतिले ज्यान गुमाइरहेका छन्। कोही बेड पाउन अस्पताल हातामै पालो कुरेर बसिरहेका खबर दिनहुँ समाचारमा आइरहेका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार दुई सय ८७ नयाँ संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्यु भएको छ। यो अवधिमा तीन हजार तीन सय ७० संक्रमणमुक्त भएका छन्।