कसरी भयो अक्सिजन अभाव? दोषी को?
कोभिड-१९ महामारीले ल्याउने सम्भावित संकटबारे सरकारी निकायहरूबीच समन्वय नहुँदा अक्सिजन समेतको अभावमा नागरिकहरूले ज्यान गुमाउन परिरहेको छ।
२९ वैशाखमा अक्सिजनको अभावकै कारण कोरोना विशेष अस्पताल, बुटवलमा उपचार गराइरहेका पाँच जनाको मृत्यु भयो। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार, अस्पतालको अक्सिजन सकिएको र बाहिरबाट आउनुपर्ने अक्सिजन समयमा नआउँदा आईसीयूमा उपचार गराइरहेका उनीहरूको ज्यान गएको हो।
भैरहवाको भीम अस्पतालमा पनि २९ वैशाखमा अक्सिजन अभावकै कारण तीन जना बिरामीले ज्यान गुमाउनुपर्यो।
कोरोना भाइरसका बिरामी बढेसँगै मुलुकभरका अस्पतालमा अक्सिजनको चरम संकट छ। काठमाडौंका ठूला मेडिसिटी, ग्रान्डी लगायतका निजी अस्पतालहरूले अक्सिजन अभावको कारण देखाउँदै विज्ञप्ति मार्फत थप बिरामी भर्ना नलिने घोषणा गरिसकेका छन्। काठमाडौं मात्र होइन, धनगढी, नेपालगन्ज, चितवन, बुटवल लगायतका ठाउँमा अक्सिजन अभावका कारण उपचार असम्भव भएको भन्दै अस्पतालहरूले हारगुहार गरिरहेका छन्।
तर, जति हारगुहार गरे पनि अस्पतालले आवश्यक मात्रामा अक्सिजन पाउने छाँट छैन। अक्सिजन नपाएकै कारण थुप्रै कोरोना संक्रमितको ज्यान जाने जोखिम बढेको छ।
काठमाडौंस्थित ग्रान्डी अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेका अनुसार, अहिले अस्पतालमा कोरोना भाइरसबाट संक्रमित ८० जना बिरामी उपचाररत छन्। यी बिरामीका लागि दैनिक न्यूनतम पनि २०० सिलिन्डर अक्सिजन आवश्यक पर्दछ।
तर, उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठकले अस्पताललाई दैनिक एक सय सिलिन्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा तोकेको छ। “हामी बेड खाली भएर पनि अक्सिजन अभावका कारण थप बिरामी भर्ना लिन नसक्ने अवस्थामा छौं। सरकारको कोटाले ५० जना बिरामीको उपचारका लागि पनि पुग्दैन,” उनी भन्छन्।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले दैनिक सात सय सिलिन्डर अक्सिजनको माग छ। तर, आपूर्ति आधा मात्र छ।
भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार, अस्पताललाई दैनिक ६०० सिलिन्डर अक्सिजन आवश्यक छ। अस्पताल र जिल्ला प्रशासन कार्यालयबीच दैनिक ४०० सिलिन्डर अस्पताललाई उपलब्ध गराउने सहमति भएको थियो। तर, अहिले २०० सिलिन्डर पनि नपाएको उनी बताउँछन्। यो अस्पतालले पनि २६ वैशाखदेखि नै नयाँ बिरामी भर्ना लिन छोडेको छ।
किन भयो यस्तो ?
वैशाखको पहिलो सातासम्म नेपालका अक्सिजन ग्यास उत्पादकहरू अक्सिजनमा नेपाल आत्मनिर्भर भएको बताइरहेका थिए। उनीहरूको गुनासो सिलिन्डर अपुग भन्ने मात्र थियो।
१३ वैशाखमा नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिनाले हिमालखबरसँगको कुराकानीमा १२ वैशाखको माग अनुसार नेपाली उत्पादकहरू अक्सिजनको माग धान्न सक्ने र आत्मनिर्भर भएको बताएका थिए। तर, त्यसयता कोरोना संक्रमितको संख्या यसरी ह्वात्तै बढ्यो, जुन व्यवसायी तथा सरकारी अनुमान विपरीत थियो।
जस्तो कि, १२ वैशाखमा ९२९२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१२२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १२ वैशाखमा आइसीयूमा रहेका बिरामीको संख्या २५२ थियो भने भेन्टिलेटरमा जम्मा ६५ जनाको उपचार भइरहेको थियो। उक्त दिनसम्म आइसोलेसनमा रहेका बिरामीहरूको संख्या १७ हजार ७८८ थियो। संस्थागत आइसोलेसनमा १ हजार ५९४ जना थिए।
तर, त्यसपछि अवस्था विकराल बन्दै गयो कि, दैनिक संक्रमितको संख्या पनि ८ हजारको हाराहारीमा हुन थाल्यो। मन्त्रालयका अनुसार, २९ वैशाखमा आईसीयूमा उपचार गराइरहेका बिरामीको संख्या १ हजार २४१ छ। यो संख्या १२ वैशाखको भन्दा झन्डै पाँच गुणाले बढी हो। त्यसैगरी भेन्टिलेटरमा २८५ जनाको उपचार भइरहेको छ। होम आइसोलेसनमा ९४ हजार ३४३ छन् भने संस्थागत आइसोलेसनमा रहेकाहरूको संख्या ७ हजार २९१ छ।
१२–२९ वैशाखको अवधिमा बिरामीको संख्या झन्डै पाँच गुणाले बढेको देखिन्छ। बिरामीको संख्या बढ्दै गए पनि अक्सिजन आपूर्ति भने बढ्न सकेन।
सीता अक्सिजन ग्यास उद्योगका प्रोप्राइटर प्रह्लाद तिमिल्सिना माग अनुसार उत्पादन नभएका कारण अक्सिजनको संकट गहिरिएको बताउँछन्। उनका अनुसार, अहिले काठमाडौंका अस्पतालहरूमा दैनिक २२ हजार सिलिन्डर अक्सिजनको माग छ। तर, उपत्यकामा रहेका उद्योगहरूले दैनिक ८ देखि १० हजार सिलिन्डर मात्र उत्पादन गर्नसकेका छन्। यो हिसाबले करीब १२ हजार सिलिन्डर अक्सिजन अपुग देखिन्छ।
अर्को समस्या सिलिन्डरको पनि हो। अहिले अक्सिजन उद्योगहरूले अस्पतालबाहेक अन्य प्रयोजनका लागि अक्सिजन ग्यास बन्द गरेर सिलिन्डर फिर्ता गरेका छन्। उद्योगले फिर्ता गर्न नसकेका स्थानमा प्रहरी प्रशासनले फिर्ता गरिसकेको छ। तर, व्यवसायीहरू प्रहरी प्रशासन लगाएर जफत गरिएका सिलिन्डरहरू आफूखुशी चिनजानेका अस्पतालमा वितरण गरिएको र त्यसले पुनः समस्या आउने बताउँछन्।
अहिले अक्सिजन अभाव हुनुमा अस्पतालको पनि दोष छ। जब अस्पतालले बिरामी भर्ना गर्ने भए आफैं अक्सिजनको जोहो गर्नु भनेर सूचना जारी गरे, बिरामीका आफन्तले उद्योगबाट आफैं अक्सिजन उठाउन थाले। “अस्पतालहरू आफैंले पनि अक्सिजन लैजाने अनि बिरामीका आफन्तलाई आफैं अक्सिजन जोहो गर्नु भन्नुले पनि संकट निम्तिनुमा सहयोग पुग्यो,” उद्योगी तिमिल्सिना भन्छन्।
कसको दोष ?
नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना अहिले अक्सिजन अभाव हुनुमा सरकारको लापरवाही भएको ठान्छन्। उनी भन्छन्, “यो महामारी एक्कासि आएको होइन। एक वर्षअघिदेखि हामीले भोगेका थियौं, त्यसका लागि पहिल्यै नै तयारी गर्नुपर्दथ्यो।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी भने महामारीले पर्ने प्रभावको आफूहरूले पूर्वानुमान गरेर नै पटक पटक कुरा उठाउँदै आएको बताउँछन्। “हामीले भारतको ‘ट्रेन्ड’ हेरेपछि नै अहिलेको अवस्थाको पूर्वानुमान गरेर तयारीका लागि आह्वान गरेका हौं,” अधिकारी भन्छन्, “अक्सिजन व्यवस्थापन र अरू तयारी गर्ने जिम्मा हाम्रो थिएन। सम्बन्धित निकायले यसको व्यवस्थापन गर्नुपर्दथ्यो। हामीले होइन।”
महामारीविरुद्ध आवश्यक नीतिगत निर्णय गरी काम गर्ने प्रमुख निकाय हो- सीसीएमसी। तर, सीसीएमसी कोरोना भाइरस महामारीको दोस्रो लहर शुरू हुनुभन्दा अघि स्वास्थ्य मन्त्रालयले औंल्याएका सम्भावित जोखिमप्रति गम्भीर देखिएन।
अक्सिजन ग्यास उत्पादन उद्योग मन्त्रालय अन्तर्गत पर्दछ। तर, न सीसीएमसी न उद्योग मन्त्रालय कसैको ध्यान पनि यसतर्फ गएन। मुलुकमा अक्सिजन ग्यास उत्पादनको क्षमताको आकलन गरी नपुग्ने अवस्थाका लागि थप व्यवस्थापन गर्न पहल नै हुन सकेन।
सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडा अक्सिजन अभाव हुन नदिन सीसीएमसीको तयारी नपुगेको स्वीकार गर्छन्। “यति ठूलो संकट आउला भन्ने कल्पनै भएन,” उनी भन्छन्, “पोहोर कोभिड आयो अनि गयो। अब आउँदैन भन्ने सोच रह्यो। तयारी नपुगेकै हो।”
एक महीनाअघिसम्मको अवस्था पनि त्यस्तै थियो। स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने प्रस्ताव शिक्षा मन्त्रालयले नै अस्वीकार गरेको थियो।
उद्योगमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल स्वास्थ्य मन्त्रालयबाट बन्दाबन्दी गर्ने प्रस्ताव आए पनि आफूहरूले रोकेको भन्दै उद्योगी व्यवसायीलाई खुशी तुल्याउन व्यस्त थिए।
ग्याससहितका सिलिन्डर ल्याऔं
सरकारले अक्सिजन सिलिन्डरको अभाव हुन नदिन चीनबाट २० हजार सिलिन्डर ल्याउने तयारी गरेको छ। पहिलो खेपमा २ हजार सिलिन्डर ल्याइसकेको छ। तर, सरकारले सिलिन्डर मात्र थुपारेर समस्याको समाधान हुन नसक्ने देखिन्छ। उद्योगहरूले पूर्ण क्षमतामा उत्पादन गर्दा पनि दैनिक २० हजार सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्न सक्दैनन्।
मुलुकभर हाल २० वटा उद्योग छन्। ती उद्योगको उत्पादन क्षमताभन्दा माग झन्डै दोब्बर छ।
उद्योगीहरू चीनबाट खाली सिलिन्डर ल्याउनुभन्दा ग्याससहितका सिलिन्डर ल्याउन सुझाव दिन्छन्। “चीनबाट खाली सिलिन्डर ल्याउनुभन्दा ग्याससहितका सिलिन्डर ल्याउँदा केही भए पनि राहत दिन्छ,” अक्सिजन उत्पादक प्रह्लाद तिमिल्सिना भन्छन्, “नेपालका उद्योगले मात्र अहिलेको माग धान्न सक्दैनन्।”