भूत आउँथ्यो, धुमधाम तर्साउँथ्यो
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको माइती, ढोकाटोलको घर, चोक र ‘आवासीय’ भूतहरूबारे, वहाँकै शब्दमाः
ढोकाटोलमा रेडियो र बत्ती थियो
ढोकाटोलको घर एकदम राम्रो थियो बा! ठूलो थियो। गुरुज्यूहरूलाई राणाहरूले दिएको। पहिले गगनसिंह पनि बस्थे ढोकाटोलमा। घरको बीच भाग अग्लो थियो। त्यहाँमाथि बुर्जाबाट ‘नेपाल’ (काठमाडौँ) को सबतिर देखिन्थ्यो। डाँडाकाँडा, तल विष्णुमती खोला सबै देखिन्थ्यो। विष्णुमतीमा बाढी आएको वेलामा त भेलले त्यो सानो काठको पुल नै उडाइहाल्थ्यो।
मूल ढोकामा त आर्मी बस्थ्यो, बडागुरुज्यू भएको हुनाले। गुरुज्यूहरूको सिपाहीको पल्टन पनि थियो। कालो लुगा लगाउने ‘गुरूज्यूको पल्टन’ डिल्लीबजारमा बस्थे। उनीहरू गोरखादेखि नै राजाहरूसित आएका। ढोकाटोलमा चाहिं आर्मी नै बस्थे।
कोठाहरूमा बाहिरबाट झिकाएको गलैंचा हुन्थ्यो। झ्यालहरूमा ऐना नै हुन्थ्यो, पर्दा हुन्थ्यो। असाध्यै राम्रो थियो ढोकाटोल। साह्रै रमाइलो थियो।
ढोकाटोलमा सबैलाई कुकुर मन पर्थ्याे। १०–१२ वटा जति हुन्थे । चराहरू पनि पालेको थियो। थरी थरीका नाच्ने, उडाउने परेवाहरू थिए। भाइले पाल्थ्यो। उसको सोख थियो। अनि सुगाहरू थिए। झुण्ड्याएर राख्ने पिंजडामा पनि थिए, ठूलो ठूलो खोरहरूमा पनि चरा हुन्थे।
पोखरीमा माछा पनि पाल्थे। रातो सेतो खैरो, सब किसिमको। घोडाहरू थिए, बग्गीहरू थिए। दोहोरा बग्गी, एहोरा बग्गी। पछि त मोटर पनि आयो। गाई थुप्रै थिए। ५–६ जना डोले हुन्थे। गाई हेर्ने बेग्लै, घोडा हेर्ने बेग्लै।
किनमेल पनि डोलेहरूले गर्थे। हामीले धेरै त किन्नु पर्दैनथ्यो। ठूलो बारी थियो। त्यैं हुन्थ्यो सबै कुरा। चामल सामल चाहिं ठीकठीक समयमा लिएर आएर भुईँतलामा राख्थे। कि खर्पनमा कि बोकाउन लगाएर ल्याउँथे सामान।
तल चोकमा डोलेहरूले भाँडा सफा गर्थे। सब चोकहरूको कुना कुनामा इनार थियो। साना साना भाँडा चैँ माथि नै माझ्थे। माथि नोल जोडेर पानी उकाल्थे हाते पम्प चलाएर। अरूले धारा राख्न नपाए पनि हामीले चैं पाउँथ्यौं। हप्ता हप्तामा धोबी आउँथ्यो। सबै जनाको लुगा सब लेखेपछि पोको पारेर लान्थ्यो धोबीघाटमा। अनि सफा गरेर ल्याउँथ्यो। रुजु गरेर लिन्थे।
हामीकहाँ त रेडियो पनि थियो। अरु दुनियाँदारले नपाउने। अनि बत्ती पनि थियो। अरु बिचराहरूले त कहाँबाट बत्ती पाउनु र !
नाटक हेर्न राणाजी आउँथे
ढोकाटोलमा तीन वटा चोक थियो। खलङ्गा चोक ठूलो थियो। पुरानो पुरानो खालको। त्यो चोक वरिपरि काम गर्नेहरू बस्थे। उनीहरूले खाने पनि त्यहीं छिंडीमुनि हुन्थ्यो। भिन्दाभिन्दै पकाउँथे। उनीहरूको पकाउन, काम गर्न, आफ्नै जातका मान्छे ल्याउँथे। उनीहरूको लागि चोकको कुना कुनामा झाडा फेर्ने ठाउँ बनाएको थियो।
बीचको चोकको वरिपरि लामो–लामो कोठाहरू थियो। दाइदाइ (कुलनाथ लोहनी) र सब लोग्ने मान्छेहरू त्यहीं सुत्थे।
दशैंमा काम गर्नेहरूको बाबुआमा टीका लगाउन आउँदा ठूलो चोकमा टन्नै हुन्थे। उनीहरू माथि आउन पाउन्नथे। त्यहीं बस्थे। अनि छोरीहरूले खूब राम्रोसित खुवाउँथे, उनीहरूलाई। ती काम गर्नेहरू आमाबाबु बिरामी भयो भने मात्र घर जान पाउँथे। घरबाट मान्छे भेट्न आउँदा त्यै ठूलो चोकमा भेट्थे।
काम गर्नेहरूलाई लाउन पुग्ने गरी राम्रै लुगा दिन्थे वर्षको दुई चोटि। कत्ति थानका थान कपडा र फरिया त कलकत्ताबाट पनि झिकाइन्थ्यो। अनि यहाँ एउटा मुसलमानको पसल थियो, उसले ठूलो बाकसमा थुप्रो सामान, लुगासुगा सबै लिएर आउँथ्यो। अनि सबै त्यै चोकमा फिंजाउँथ्यो। उनीहरूलाई ‘ल जाओ, तिमीहरू के के किन्छौ किन’ भन्यो, अनि पैसा दिन्थे। त्यो राम्रो कुरो थियो।
ओहो नाटक हेर्न त भरिभराउ हुन्थ्यो। ए क्लासका राणाजीहरू पनि आउँथे। लुगाहरू गजब गजबका लगाएका हुन्थे। सितारा हालेको। कहिले कहिले त्यस्तै खास अवसरमा नाचघरमा सिनेमा पनि हेर्थ्याैं। वरपर टोलका मान्छेहरू पनि हेर्न आउँथे।
गगनसिंहको बैठक माथितिर ठूलो कोठामा नाचघर थियो। तालिमे सुसारेहरुलाई छानेर नाच्न सिकाउन मास्टरहरू आउँथे। गीत गाउन पनि सिकाउँथे। त्यै नाचघरमा तालिमेहरूले नाटक देखाउँथे। केटीहरू केटा भएर पनि खेल्थे। गीत गाउँथे। नाटक गर्ने ठाउँ अग्लो स्टेज पनि बनाएर पर्दा पनि हालेको हुन्थ्यो। हेर्नेहरू चाहिं तल बस्थ्यौं, कोही कुर्सीमा कोही भुइँमा।
ओहो नाटक हेर्न त भरिभराउ हुन्थ्यो। ए क्लासका राणाजीहरू पनि आउँथे। लुगाहरू गजब गजबका लगाएका हुन्थे। सितारा हालेको। कहिले कहिले त्यस्तै खास अवसरमा नाचघरमा सिनेमा पनि हेर्थ्याैं। वरपर टोलका मान्छेहरू पनि हेर्न आउँथे।
दशैंमा हरेक दिन मालसिरी ती तालिमेहरूले नै गाउँथे। हार्बिन पनि बजाउँथे। दिलबहारले हार्बिन बजाउने, अनि गाउने पनि। स्वर मीठो थियो। मोतीमायाले तबला गज्जब बजाउँथिन्।
गगनसिंहको ‘भूत’ ?
खलंगा चोकमै पर्थ्याे, गगनसिंहको घर। गगनसिंह त्यहीं ढोकाटोलमा मारिए भनेको सुन्याथें। हामीले त सुनेको मात्र हो बा, देखेको होइन। बीचको चोकमा पूजा कोठा थियो। भान्छा पनि त्यैं थियो। अनि बजै भात पकाउँदै थियो रे! त्याँ माथिबाट मान्छे आएर ठिक्क परेर बसेर अनि गगनसिंहलाई हानिदियो रे!
गगनसिंह पूजा गर्न लाग्या हो क्यार। गोलीको प्वाल नै थियो। अनि त त्यहीँ मर्यो। त्यै भएर हो कि भूत आएको! हामी बच्चाहरूलाई त्यो चोक, बैठकतिर नजाउ भन्थे। हामी त सानासाना थियौं। ‘भूत आउँछ, नानीहरूलाई त्यता नपठाउनू’ भन्थे। हामी पनि डरले जाँदैजाँदैनथ्यौं।
गगनसिंहको बैठक ठूलो थियो। वरिपरि एकदम अग्गो किताबको दराज थिए। झ्यालहरू सबैमा खिड्की थियो। ठूलठूला आँखीझ्याल थिए। बैठकको भित्तामा गोलीको प्वालै प्वाल थियो। त्यहाँको दलिन ठूला थिए। मान्छे नै लुकाउन मिल्ने। त्यो लङमा माथिदेखि तलसम्म सब तर्साउने।
गगनसिंहको बैठकमाथि मालिकहरूको भान्छाखाना बनाउने बेलामा बुइँगल भत्काउन पर्यो। अँध्यारो थियो बुइँगल। सानो भर्याङ चढेर जानुपर्थ्याे। लामो थियो। त्यहाँ मालतालहरू राख्थे, अरू केही पनि थिएन।
ओहो, कस्ता पापी पहिलेका मान्छेहरू! गगनसिंहकै बेलामा पनि पहिला झगडा गर्दा रैछन, अनि त्यहीँ मारेर छोडेर जाँदा रैछन्। अनि त भूत आउँछ भन्थे। हेर, कसरी हो मान्छे मारेर त्यो दलिनहरूको अन्तरमा गाडेर राख्ने!
चण्डाल! राक्षसहरू! लासै लास– लुगा लगाएका कंकालहरू! सब ट्याक्क ट्याक्क सुताएको। किक्रिक्क परेर मरिरहेका। कठै बरा! मान्छेलाई मार्ने र त्यहीं गाड्ने रहेछ। त्यो सब झिके। बाफ्रेबाफ! ‘ल, आज यति आयो’ भन्थे। गाड्न पठाए कि पोल्न पठाए कुन्नि। बुइँगल भत्काएर भान्छा बनाएपछि, शान्तिस्वस्ति गरे। होमसोम के के गरे। अनि तर्साउने अलि कम भयो।
तर, नयाँ बनाएको भान्छामा भूत आउँथ्यो। धुमधाम तर्साउँथ्यो। राति बसेर सुन्यो भने भातै पकाउन लागेको जस्तै गरी भाँडा ठ्याङठ्याङ ठुङठुङ गरेको, पानी सारेको, घार्र घुर्र जस्तो आवाज आउने। त्यो त मैले पनि सुनेको। मान्छे देखिन्न, तलबाट काम गरेको आवाज चाहिं सब सुनिने। त्यस्तो पो!
ओहो, कस्ता पापी पहिलेका मान्छेहरू! गगनसिंहकै बेलामा पनि पहिला झगडा गर्दा रैछन्, अनि त्यहीं मारेर छोडेर जाँदा रैछन्। अनि त भूत आउँछ भन्थे। हेर, कसरी हो मान्छे मारेर त्यो दलिनहरूको अन्तरमा गाडेर राख्ने !
भोलिपल्ट बिहान भाँडाहरू यताउति छरिएको हुन्थ्यो रे! त्यहाँ राति हिंड्यो भने अठ्याउँथ्यो रे! हामी त डरले राति भान्छा नजिकै जाँदै नजाने। पछि अलि कम भयो, नत्र दिउँसो पनि भान्छा नजिक जान डर लाग्ने। हामी मात्र हो र? ठूलाहरू पनि जान नसक्ने।
खलङ्गा चोकमा मात्र होइन चोकनिरको काठको भर्याङमा पनि तर्साउँथ्यो। ख्याक हो भन्थे। गगनसिंहकै भूत हो कि, के थाहा? एकजना बूढोलाई राति झाडा आएछ। पूजा कोठातिरबाट तल चर्पीतिर जान लागेको रैछ। भूतले त गर्धनमा समातेर घिच्याउँदै ‘ट्याम न स्याम, बेट्याममा किन आइस्? राति राति हिंड्ने? लौखा!’ भन्दै भर्याङबाट तल खँगारिदिएको रे! चोटसोट लाग्यो उसलाई, झण्डै मर्या! बिरामी पर्यो धेरै।
हामी त्यता जानु पर्यो भने विस्तारै जान्थ्यौं, भूत आउँछ भनेर। राति पनि काठको भर्याङमा गड्याङ गड्याङ गरेको आवाज सुनिन्थ्यो। थुप्रो मान्छे मरेका रैछन्, पहिले। अचम्म! आफूबुवापट्टि पनि तर्साउँथ्यो रे! तर, जतिसुकै तर्साए पनि त्यो वेला साह्रै रमाइलो थियो बा। अहिले त दुःखै दुःख।
-किरणराज जोशी र रूपा जोशीसँगको कुराकानीमा आधारित