चन्द्रशमशेरकी कान्छी रानी काशी गइन्
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको काशी (बनारस) को सम्झनामा– त्यहाँको बसाइ र घटनाहरूमा केन्द्रित छ, वहाँकै शब्दमाः
आनन्द हुन्थ्यो काशीमा
हरेक जाडोमा काशी गइन्थ्यो, बुवा मुवासित। अनि मीनपचास छल्दै एक÷दुई महीना बसिन्थ्यो। त्यहाँ गएपछि आनन्द। सबै छोराछोरी, ज्वाइँहरू, काम गर्ने, डोलेसोले सब जान्थ्यौं। सब जना बुलानालाको घरमा अट्थ्यौं। बनारसमा सबै गुरुज्यूहरूको भिन्दा भिन्दै घर थियो।
बुलानालामा मुख्य गुरुज्यूको थियो, बाजेको पालादेखि नै। पछि त भाइहरूले बेचे। घरमा शौचालय पनि थियो। गुलाफी ढुंगाले बनेको थियो। गर्मी हुन्छ भनेर तलपट्टि भुइँतलामा पनि सब मिलाएको थियो। गर्मीमा जाँदा त फेरि भयंकर गर्मी हुन्थ्यो नि। अनि त्यहीं तल बस्थ्यौं। सित्तल हुन्थ्यो। लू लागेपछि बाहिर नजाने, बेलुका सित्तल भएपछि मात्र जान्थ्यौं।
काशीमा त कत्ति मन्दिर छन्, सबमा दर्शन गर्न जान्थ्यौं। सबैभन्दा पहिले विश्वनाथको मन्दिरमा दर्शन ग¥यो। अनि चार÷पाँच वटा अरू। संकटमोचन, सारनाथ। सारनाथमा त आनन्द, शान्त। नेपाली मन्दिरमा पनि जान्थ्यौं। ठाउँठाउँमा गयो, घुम्यो। गंगाजीमा नुहाउन पनि जान्थ्यौं। डुंगा चढ्थ्यौं। घाटमा लास जलाएको देख्दा भने दिक्क लाग्थ्यो।
काशीमा साह्रै रमाइलो हुन्थ्यो। सजिलो थियो। जे पनि पाइन्थ्यो। बुवा मुवासित जान्थ्यौं पसलहरूमा।
त्यहाँको खानेकुरा त खूब मीठो। सब चोखो पाइने। बिहान बिहान तात्तातो रोटी कचौडीहरू पकाउँथ्यो। सब तयार पारेर राखेको हुन्थ्यो, त्यै किनेर ल्याएर खाने। मीठो ! ठठेरी गल्लीमा मिठाई त कत्ति थरी, बाफ्रेबाफ ! रसबरी, के–के बरी, सब। फेरि कस्तो सफासँग राख्या हुन्थ्यो। किन्न पठायो, खायो। फलफूल पनि सब पाइने। अचार त कति थरीका। सिसीमा बेच्न राखेको हुन्थ्यो। मलाई मन पर्ने चाहिं अगस्तीको।
काशीमा सिनेमा हेर्ने ठाउँ धेरै थिए। हामी चाहिं एउटामा जान्थ्यौं, चित्रा हल। सबै जना जान्थ्यौं हेर्न, कि रिक्सा कि टाँगामा।
माघेसंक्रान्तिमा त धुमधाम हुन्थ्यो। सबतिर पसल थापेको। बाटोमा हिंड्ने ठाउँ हुन्नथ्यो। हूलका हूल मान्छे गंगाजीमा नुहाउन, देउतालाई पूजा गर्न जान्थे। चंगा कति उडाउँथे। आकाशमा टनाटन देखिन्थ्यो। काट्टिएर आएको चंगा बटुल्थ्यौं। त्यो दिन धागो छुनै पर्थ्याे। हामीहरू कौसीमा जान्थ्यौं। उडाएको चंगाको धागो एकै छिन समात्ने। मुवाले पनि छोइसिन्थ्यो धागो। अनि यसो दर्शन गर्यो।
हामी काशी जाँदा केशरशमशेरको घरमा पनि गएकाथ्यौं। उसको बाबु त मरिसकेको थियो। उसको भागमा परेको रहेछ, त्यो घर। असाध्यै गर्मी थियो, अनि बुवा मुवालाई खबर पठाएँ, ‘अन्त गर्मी छ, त्यहीं गएर राज हुनु’ भनेर। ठूलो राम्रो घर थियो नदीकै छेउमा। थुप्रो कोठा थिए। कोठाको ढोकामाथि उनको भित्रिनीहरूको नाम लेखेको। मूनलाइट सूनलाइट के–के लाइट के–के लाइट! हामी बुलानालामा नबसेर, त्यहीं केही दिन बसेर अनि तीर्थ गर्न हिंडेको।
काशीमा हिन्दी बोल्न पर्दैनथ्यो। पसलेहरू नेपाली पनि बोल्थे। नेपालीहरू कत्ति काशी बास जान्थे। कोठा लिन्थे, बस्थे। खानवर्न कत्ति सजिलो थियो। मेरो सासूससुरा पनि काशी बास गएका, आफूबुवा पनि काशी बास सवारी भएको।
महारानीको काशीबास
चन्द्रशमशेरको कान्छी स्वास्नी तथा मदनशमशेरकी आमा बालकुमारी देवी पनि काशीबास गएकी हुन्। उसको लोग्ने मरी हाल्यो। अनि उनलाई साह्रै दु:ख लाग्याे । नेपाल बस्न मन नलागेर काशीबास गइन्। छोराहरू पनि थिए तीन÷चार जना। सब जर्नेलहरू। उनीहरू त जन्मिनासाथ जर्नेल !
बनारस नजिकै ठूलो कम्पाउण्ड लिइकन धुमधामको राम्रो महल बनाएर बसेकी थिइन्। गज्जबको थियो, क्याम्पा। ठूलो थियो बा। कति जना त काम गर्ने मान्छे राखेको थियो, सुसारेहरू पनि। ढोकामा पनि नेपाली सिपाही। यहाँबाट थुप्रो मान्छे लगेकी रै’छन्।
मुवा बुवा भेट्न सवारी भा’थ्यो। गुरुमा पनि आएको भनेर दंग परिन्। त्यो बेला म पनि गएकी थिएँ त्यहाँ। असल थिइन् उनी। जो आए पनि भेट्ने, बोल्ने। ‘मर्न आएको, यहीं बसेर जीवन सिध्याउने’ भन्थिन्। सबै सेतो लगाएर बसेकी। बूढी भएकी थिइन्। तर, राम्रै थिइन्। अलि सानी। पोइको धुमधाम मन परेकी थिइन्। नेपाली नै थिइन्, पहाड कतातिर को। उनी आफूबुवाको चेली थिइन्।
उनले त्यहाँ ठूलो कोटि होम पनि गराएकी थिइन्, आफ्नो पोइको नाममा। हुन त वर्षेनि होम लगाउँथिन्। म पनि त्यस्तो होम लागेको बेलामा गएकी थिएँ। मुवाले लगिबक्सन्थ्यो। भव्य हुन्थ्यो।
त्यो कोटि होममा आफ्नो गुरुज्यू, हाम्रो माहिला बाबु (माहिला गुरुज्यू हेमराज पण्डित) ले सबै कुरा मिलाउने। अनि गुरुज्यूका छोरा केशरीराज चाहिं होम गराउने। सबै दान उनैले पाउने। अनि त थुप्रो, के के हो के के पाएका दानमा। घरसर पनि। गुरुज्यूका दुई छोराहरूलाई भनेर सब कुरा दुई–दुइटा दिएकी। घर पनि भिन्दाभिन्दै दुइटा, काशीमै।
मदनशमशेरले अर्डर गरेर बनाइराखेका रै’छन्, त्यै दिइन्। राम्रो थिए बंगलाहरू। मोटर, बग्गी पनि दान दिएको। सुन चाँदी त्यत्तिकै। पैसा त कति हो कति। कुरा गरेर साध्यै छैन।
उनले हरेक धाममा धर्मशाला बनाएकी थिइन्, हामी नेपालीहरूलाई बस्न। सबै कुराको बन्दोबस्त थियो। बस्ने, सुत्ने, खाने, सबै। दाल भात तरकारी सब दिने। कस्तो धर्म गरेकी।
काशीबास गर्न गएकी, कति वर्ष भएकी थिइन्, रोग लाग्यो, अनि मरी हालिन्। उनी मर्दाखेरी हामी तीनधाम जाने भनेर काशीमै थियौं। खै के भा’थ्यो, मोटै देखिन्थ्यो। ल मर्यो भनेर सुन्यौं।
घाट लाँदाखेरि ठूलो लावालस्कर थियो। हामीहरू पनि सब हेर्न गएका थियौं। कति मान्छे कति। बाटो त सब बन्द गरेको। भीड सम्हाल्न गाह्रो भएपछि सिपाही बोलाइएको थियो। थुप्रो सिपाहीहरू थिए। यता नेपालबाट पनि गएका थिए, मान्छेहरू।
ओहो ! धुमधाम गर्दै ल्याएका। कति थरी ब्याण्ड बाजा बजाएर। घरदेखि नै पैसा र असर्फी छर्दै गएका। पसलै पसलको बीचबाट लगे। छोराहरू पनि त्यहीं थिए। मदनशमशेर त कान्छो छोरो। आमालाई धुमधामै गर्यो नि। आमाले जे गर्नु भन्या छ, उही गर्नु परिहाल्यो।
उनको आमालाई चाहिं लामो फूलसुलले सजाएको पाल्की जस्तो (मेन्हा) भित्र हालेर कतिवटा बाहुनले बोकेका थिए। उनले पनि यसो छेउ समातेका थिए। आफ्नो आमाको पछि पछि मदनशमशेर रुँदै हिंडेका थिए। घाटमा त हामी गएका थिएनौं, तर त्यहाँ गएका मान्छेले सुनाएको।
जलाउने ठाउँ मणिकर्णिका घाटभन्दा वरै छ, ठूलो हुन्छ। तल चाहिं सबैको मामुली पोल्ने ठाउँ। माथितिर श्राद्ध गर्ने ठाउँ जस्तै, त्यहाँ पोल्न पैसा पनि बढी लाग्ने। कति हजार हो। पैसा तिरे जल्ले पनि पाउने। त्यहाँ मान्छे पोल्दा धुवाँ चाहिं स्वाठ्ठै विश्वनाथको मन्दिरको माथि पुग्छ भन्थे। छोराहरूले त्यहीं गर्ने भने। आमाले पनि त्यहीं गर्नू भनेकी थिइन् होली।
काशीमा त चलन छुट्टै रहेछ। लेखेकै रै’छ। डुमको त हक नै रैछ पोल्नलाई। डुमलाई त त्यहाँ राजा नै बनाइएका रै’छन्। उनीहरूले नै मुखमा हाल्ने दागबत्ती अरूलाई दिने रै’छन्। धनी होस्, गरीब होस्, उसले नै दिने रै’छ। उनीहरूसित त्यो आगो किन्नुपर्ने रै’छ।
छोराले दागबत्ती दिए। चिताको आगो त माथि माथिसम्म पुगेको रे! उनीहरू आमा मरेकै घरमा किरिया बसे। राम्रोसँग गरे आमाको काम।
किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित