हे भगवान, बल्लामलाई यस्तो गज्जबको बनाउँछु !
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाको एक्लो छोरा ‘बल्लाम’ (स्व. डा. बलराम जोशी) को मुख्यत: बालापनमा केन्द्रित छ, वहाँकै शब्दमाः
म सुत्केरी हुँदा काली मिसिनी बसेकी थिइन्, मसँग रातभरि। साल काटेको चाहिं कृष्ण (भण्डार्नी) ले हो। व्यथा धेरै लामो लागेको थिएन। बच्चा त ठूलो थियो। मेरो दुल्हा (हिमालयराज जोशी) त्यतिवेला ढोकाटोलमै थिए। छोरा पाएपछि सबै दंग। छोरा पाएपछि त खुशी लाग्छ नि बा ! बडमुवा पनि खुशी भएर मुख हेरेर पैसा दिइबक्स्यो। दुल्हा पनि खुशी थिए। अनि त हेर्न आइहाले नि ! बोक्न चैँ न्वारानपछि मात्र पाए।
बल्लाम (छोरा बलराम जोशी) गोरो, मोटो राम्रो थियाे। बच्चामा ज्ञानी थियो। राति सुत्थ्यो। मेरो दूध प्रशस्त आउँथ्यो। बढी भएर फ्याँक्नुपर्थ्याे ।
म सुत्केरी भएर ढोकाटोलमै थिएँ। मेरो दुल्हा चाहिं मेरो बुवा, मुवा, बैनीहरूसित चारधाम घुम्न गएका थिए। उनी रोज चिठ्ठी लेखिरहन्थे। छोराको बारेमा सोधिरहन्थे। चिठ्ठी हल्काराले ल्याउँथ्यो। मैले पनि सञ्चै छ भनेर लेख्थेँ।
तीनधाम घुमेर आउँदा उनले छोरालाई थुप्रो माल कोसेली ल्याइदिएका थिए। कोटसोट, के–के हो के–के, छोरालाई भनेर। जुत्ता पनि थियो कि क्या हो। मैले पछिसम्म राखेकी थिएँ। मलाई नि ल्याएकोथ्यो कोसेली।
उनी फर्केर आएपछि छोरालाई खेलाउन पाए। ‘बाबु’ भनेर बोलाउँथे। पास्नीमा उनी बाँचेकै थिए। मेरो बाबुले राम्ररी पास्नी गराइदिबक्सेको थियो।
त्यहाँबाट फर्केर आएपछि उनलाई बिफर सर्यो। बिहे थियो, काइँली मैयाको हो क्यार। त्यै बिहेमा सर्यो। बिफर लागेपछि मरिहाल्थे। कसैकसैलाई त कम पनि हुन्थ्यो।
बिफर लागेपछि उनी ढोकाटोलमै थिए । अलग्गै राखेको थियो। झ्यालहरूमा रातो पर्दा हालेको थियो। म पनि हेर्न गएकी थिएँ। बाहिरबाट सोध्ने हो। “ठीक हुन्छु” भन्थे।
बिफरबाट त बाँचेका थिए। फेरि निमोनिया भयो। अनि आफ्नै घरमा गए। म पनि जान परिगो। छोरालाई पनि लिएर गा’थेँ। भिन्दै राख्थ्यौँ। नत्र सरी हाल्ने, के गर्नु ! अलि ठीक भा’को जस्तो पनि थियो। फेरि ज्वरो आयो। अनि त के भो के !
हेर्न सब ढोकाटोलबाट आउँथे मान्छेहरू। होस थियो उनको । साह्रै माया गर्थे छोरोलाई। ‘अब मर्न लागेँ, के गर्नु !’ भन्थे। घाट लगेको थियो। म गइनँ। खबर ल्याइहाले नि ! मरे... सिद्धियो !
त्यो बेलामा मलाई असाध्यै दुस्ख भा’थ्यो। ‘के गर्ने अब, मरेका आउन्नन्’, भन्नुभयो फुपूबजैले। घरमा पनि उनी एउटै छोरा थिए। मरे! अनि मेरो दु:ख शुरु भयो। माइत बस्न नहुने, म फुपूको घरमा गएर बसेँ। दुल्हा मरेको कतिसम्म उनलाई सपनामा देख्थेँ। छोरालाई बोकेको सपना।
मेरो पनि त्यै एउटो छोरो। ऊ ढोकाटोलै बस्यो। माया गरेर राखे मेरो बाबु आमाले। धाईसाई सबै राखिदिएको थियो। जाती थिए, खूब राम्रोसित हेर्थे। म सुत्केरी भएदेखिकै बल्लामको धाई थिइन् माबुढी। गौरीले पनि हेर्थी। धाईको दूध खाएन, वाक्क गर्यो। अनि गाईको दूध खुवाए। बीचबीचमा मलाई छोरा देखाउन ल्याउँथे। काखमा लिन्थेँ, तर दूध खुवाउन मिल्थेन। सुकिसकेको थियो।
म जहाँ गए पनि बल्लाम सँगै हुन्थ्यो। के छोड्थ्यो मलाई। मैले पनि छोडिनँ। सँगै लिएर गएँ, तीन धाम होस् कि जहाँ होस्। एक्लो छोरो, फेरि उपद्र्या थियो, त्यसैले मैले छाडिनँ। मेरो बुवाले पनि मर्जी भयो, ‘छोरालाई सँगै लिएर हिंड!’ बुवा मुवासँग घुम्न जाँदा सँगै जान्थ्यो बल्लाम।
“धन्दा नमान, म मरे पनि आउँछु !”
बल्लाम आफ्नो धाई माबुढीलाई असाध्यै माया गर्थ्यो। मलाईभन्दा धेरै बढी पछ्याउँथ्यो, उसको ‘मा’लाई। माबुढीले भन्थी, ‘यो बाबुले यस्तो माया गर्छ, म मरें भने के गर्छ ?’
ऊ ११–१२ वर्ष हुँदा माबुढी बिरामी परी। ओहो! बल्लाम आफैं मन्दिरहरूमा गएर देउताको पूजा गर्यो। अनि माबुढीले, ‘हरे बा! तिमी कति माया गर्छौ ? धन्दा नमान, म मरे पनि आउँछु, तिमीलाई छोड्दिनँ, तिमीसितै बस्छु’ भनिन्।
माबुढी बितेपछि, बल्लाम कठै! असाध्यै रोयो। अनि माबुढी आउँछे भनेर रातभरि नसुतेर कोठामा कुरेर बस्यो। ‘अब त्यो आउँदिन, काँ गइसकी, बा!’ भनेर हामी सबैले भन्दा पनि मानेन। ‘आउँछ, राति आउँछ’, भनेर कुर्यो।
बल्लामलाई मा भनेपछि पुग्यो। माबुढीले नि गर्नसम्म गरी, कस्तो माया गर्थी। बद्रीमा ब्रम्हकपाली श्राद्ध गर्दा सबैभन्दा पहिले माबुढीलाई तर्पण दिएको थियो। हरे शिव शिव, कस्तो माया गर्ने!
फुर्काएको बच्चा, शेर्रा थियो
सानाेमा त बल्लाम धुमधामै छुकछुके भयो। अलि मापाको थियो। तैपनि ढोकाटोलमा सबैले माया गर्थे। सानो फुच्चे थियो। बाबु नभएको छोरा भनेर माया गर्थे। बुवा मुवाले फुर्काएको बच्चा, शेर्रा भएर बसेको थियो।
उपद्रयाहा थियो। जताततै थुक्ने। बुवाको खोपीमा कोही आयो भने, बाहिर उनीहरूको जुत्तामा थुकिदिन्थ्यो। हरे! कोई यत्तिकै बसिरा’छ भने पछाडिबाट भ्वाक्क हानिदिने। अनि सब रिसाउँथे। ‘कस्तो मापाको ! कस्तो शैतान!’ भन्थे। हामीले भनेको मान्दैनथ्यो। माबुढीले भनेपछि चाहिं खुरुक्क मान्थ्यो।
बिन्दा (बिन्दा शाक्य) को त कपाल नै काटिदियो! लामो थियो उसको कपाल। बल्लामले “ए बिन्दा आइज त, म राम्रो पारिदिन्छु” भनेर बैठकको ठूलो ऐना अगाडि लगेर कुटुकुटु काटिदिएछ। नराम्रो सित! अनि उसको आमाले मेरो छोरालाई धुमधाम सरापिन्। “चण्डाल! हातमा कीरा परिहालोस्!” भनिन्। मलाई दिक्क लाग्यो। हरे शिव! अनि मैले पनि आफ्नो छोरोलाई एक थप्पड लगाएँ। “त्यसो गर्नु हुन्छ? तैँले किन त्यसो गरेको ? त्यस्तो सराप खाइस्!” भनेँ। उ रोयो।
बिन्दालाई उसको आमाले “त्याँ जा त तँ!” भनेर थर्काइन्। आमाले गाली गरे पनि बिन्दा लुकी लुकी आउँथी। केटाकेटी त हो नि! उही उमेरका थिए बल्लाम र बिन्दा।
उसले बदमासी गरेर मलाई दु:ख भएर आँसु चुहाएको देखेपछि, चूप लागेर हेरेर बस्थ्यो। मेरो आँसु देख्नै सक्दैनथ्यो। आएर अँगालो हाल्थ्यो। अनि भोलिदेखि राम्रो गर्थ्यो।
मेरो दिदीको छोरा असाध्यै पुलपुलेको थियो। मैले त्यो देखेर बल्लामलाई त्यस्तो बदमास हुन दिन्न भन्ने लागेको थियो। मैले “हे भगवान बल्लामलाई यस्तो गज्जबको बनाउँछु!” भन्थेँ। मेरो त्यो इच्छा पुग्यो, बा!
मैले उसलाई “हेर् बल्लाम, तँ पास–पास भएर जानुपर्छ। म तँलाई यस्तो तुल्याउँछु। पीएचडी गर्न पठाउँछु! म यसैमा लागिरहेकी छु, तँ राम्रोसित विचार गर्! राम्रोसँग पढ बाबु, तेरो भविष्य त्यसमै भर पर्छ”, भन्थेँ। मान्थ्यो। पढ्थ्यो। बाठो थियो।
म फेरि उसलाई आफैं पनि पढाउँथेँ नि! अनि मेरो बुवाले मास्टर पनि राखिदिबक्सेको थियो, सब बच्चाहरूलाई। तल बैठकमा पढ्थे। पढ्न एकदम तेज थियो। पछि दरबार हाईस्कूलमा पढ्न गयो। उसलाई पुर्याउन, ल्याउन एउटा मान्छे सँगसँगै जान्थ्यो। त्यहाँ त फस्ट-फस्ट भयो।
स्कूलमा छँदै बल्लामको बिहे भो। बिहेमा मैले त के गर्न सक्थेँ र, सबै बुवाले नै गरिबक्स्यो। बुवाले हामी सब छोरीहरूलाई घर बनाउन पैसा दिइबक्सेको थियो। डिल्लीबजारको त्यै नयाँ घरबाट बिहे भएको हो। छोरा बुहारी ढोकाटोलमै बसे, पहिले। अनि दुई/तीन वर्षपछि डिल्लीबजारमा बस्न गए। उनीहरूको काम गर्ने सब मान्छेहरू मिलाएको थियो। मेरो आमा बिरामी भएकोले म त्यति बेला गइनँ। आमालाई छोडिनँ।
पछि बल्लाम त्रि–चन्द्रमा पढ्न थाल्यो। अनि जोइपोइ बनारस गए। पछि, बल्लामले छात्रवृत्ति पाएर बेलायत गयो। उसले राम्रो गर्या थियो। यसै त जान पाउने नै थिएन। असाध्यै पढ्यो। पीएचडी गरेरै आयो। जाने वेलामा बच्चाहरूको धन्दा थिएन। उनीहरूलाई हामीले राम्ररी हेरिदिन्छाैं भन्ने थाहा थियो।
उसले लेखेको किताबले मदन पुरस्कार पनि पायो। उ त थिएन यहाँ, बेलायतमा थियो। अनि म लिन गएकी पाटनको दरबारमा। जगदम्बा राणाले दिएकी। थुप्रो सिक्कै सिक्का पनि थियो पुरस्कार। घरमा आएर नातिहरूले गनेर दंग परेका थिए। गने वरे राखे। अनि मैले “अब तिमीहरू धेरै पढ्नुपर्छ, त्यसैले राम्ररी राख” भनेकी थिएँ।
छोरा बुहारी आएपछि मैले सबलाई भोज खुवाएँ। मलाई कस्तो खुशी लागेकोथ्यो, फर्केर आएर पढाउने काम गर्यो। युनिभर्सिटी ज्वाइन गर्यो। एकदम राम्रो पढाउँथे। विद्यार्थीले मन पराउँथे। पछि विदेशमा काम गर्न गयो। एडेन गयो, अनि नाइजेरिया पनि। म पनि गएँ ती ठाउँमा। छोरालाई छोडिनँ मैले। सब ठाउँ गा’थ्यो बल्लाम, चाइना, अमेरिका।
उसलाई सानो सानो प्लेन उडाउने, रेल चलाउने सोख थियो। कहाँकहाँबाट झिकाउँथ्यो, आफैं बनाउँथ्यो, रमाइलो गर्थ्यो। टुँडिखेलमा गएर उडाउँथ्यो। सब हेर्न आउँथे।
मलाई ‘दिज्जु’ भनेर बोलाउँथ्यो। उसको मामाले मलाई दिज्जु भनेकोले उसले पनि त्यसै भन्न थाल्यो।
बल्लामलाई उनका बाजे (चन्द्रकान्त जोशी) ले ‘नारायण बाबु’ भनेर बोलाउँथे। मैले चाहिं नाम ‘बलराम’ भनेर राखेँ। दुल्हा मरेपछि मेरो त बल नै त्यै छोरो त थियो नि!
किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित