कोरोना उपचारमा भद्रगोल व्यवस्थापन: कतै भर्ना नपाएर बिरामीको मृत्यु, कतै बिरामी नहुँदा आईसीयू-भेन्टिलेटर प्रयोगविहीन
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको भन्दै कतिपय अस्पताल भर्ना नलिँदा बिरामीको ज्यान समेत गएको छ। तर उपत्यकाकै जिल्ला भक्तपुरमा भने पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली रहेका भेटिन्छन्।
सोमबार मात्रै काठमाडौंको बाजालुका एक जना ७० वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा उपचार सेवा पाउन नसकेका कारण ज्यान गएको थियो।
तर भक्तपुर जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने सबै १२ वटा भेन्टिलेटर पनि खाली छन्। भक्तपुर अस्पतालमा ५, केएमसी अस्पताल दुवाकोटमा ७ र नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा ८ शय्या आईसीयू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ। तीमध्ये भक्तपुर अस्पतालका आईसीयू मात्र भरिएका छन्।
भक्तपुर अस्पतालमा ४ पुरुष र १ महिलाको आईसीयूमा उपचार भइरहेको छ। अन्य दुई अस्पतालमा आईसीयू पूर्णरुपमा खाली रहेका स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।
यस्तै भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्डसमेत खाली रहेका छन्। जिल्लाको कोभिड अस्पतालका १५ मध्ये २ आइसोलेसन वार्ड खाली छन्। यहाँ ८ पुरुष र ५ महिला उपचार गराइरहेका छन्। मध्यपुर अस्पतालमा १० शय्या आइसोलेसन छन्। यहाँ २ महिला उपचार गराइरहेका छन्। केएमसी अस्पतालका १०० शय्यामध्ये ८५ शय्या खाली छन्। यहाँ १० पुरुष र ५ महिला उपचार गराइरहेका छन्।
इवामुरा अस्पतालका ४, नागरिक अस्पतालका ३, सिद्धि स्मृति अस्पतालको १, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका ९, बीपी आँखा अस्पतालको १, जनस्वास्थ्य केन्द्रका २, समिट अस्पतालका १०, आरोग्य अस्पतालको ४ र क्यान्सर अस्पतालका ६ आइसोलेसन वार्डसमेत खाली रहेका प्रमुख मिजारले जानकारी दिए।
साथै संस्थागत आइसोलेसन केन्द्रसमेत पर्याप्त मात्रामा खाली रहेका छन्। जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन्। तीमध्ये ३४४ मात्र उपयोग भएका छन्। नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन्। यहाँ ३६ पुरुष र ६ महिला गरी ४२ जना उपचार गराइरहेका छन्।
खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड सबै खाली छन्। कृषि विकास बैंकको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन्। यहाँ २७ पुरुष र ११ महिला गरी ३८ सङ्क्रमित उपचार गराइरहेका छन्। सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्डमध्ये ४५ खाली छन्। यहाँ ८८ पुरुष र १७ महिला उपचार गराइरहेका छन्। सूर्यविनायक ब्यारेकका ७५ वार्डमा ५२ पुरुष उपचार गराइरहेका छन् भने २३ वटा खाली छन्।
त्यस्तै सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन्। यहाँ ७८ पुरुष उपचार गराइरहेका छन् भने बाँकी ५२ वार्ड खाली छन्।
भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये ४६ खाली छन्। यहाँ १५ महिला र १४ पुरुषगरी २९ कोरोना सङ्क्रमित उपचार गराइरहेका छन्।