कोरोना विशेष अस्पताल संक्रमितले भरिए, आइसियु वेड पनि अभाव हुन थाल्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार, १८ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोनाभाइरसका संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मात्र २ हजार २५३ जना कोरोना संक्रमित थपिएका छन्।
१८ असोजसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६४ हजार ९ पुगेको छ, भने ५३५ जना संक्रमितको मृत्यु भएको छ। आइतबारसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार २१९ छ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाका सिकिस्त २२६ बिरामीको आइसियुमा र ३४ बिरामीकोे भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्ला केहि दिनयता एकै दिनमा दुुई हजारभन्दा धेरै कोरोना संक्रमित भेटिन थालेका छन्। काठमाडौं उपत्यकामा संक्रमितको संख्या उच्च दरमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५९९ जना संक्रमित थपिएका छन्।
कोरोना संक्रमितहरु बढ्न थालेपछि उपत्यकाका कोरोनाका बिरामीको उपचार हुने प्रमुख अस्पतालहरु भरिएका छन्। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल कोरोनाका बिरामीले भरिन थालेपछि अहिले त्यहाँको बर्थिङ सेन्टरमा कोरोना संक्रमित राखेर उपचार गर्नु परेको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्त कुमार दासले हिमालखबरलाई बताए।
आइतबारसम्म त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित ११० बिरामीको उपचार भइरहेको छ। यीमध्ये १४ जनाको आइसियुमा उपचार भइरहेको छ।
अस्पतालले कोरोना संक्रमितको उपचार गर्न तीन वटा भवन प्रयोग गरिरहेको छ।
यस्तै, ५० जना कोरोना संक्रमितलाई अक्सिजनको सहायता आवश्यक परेको डा. दासले बताए। उनले अस्पतालमा भएका १४ वटा आइसियु वेड भरिएपछि अहिले थप बिरामी भर्ना गर्न नसकेको जानकारी दिए।
“आज साँझ मन्त्रालयबाट थप १२ जना कोरोनाका बिरामीलाई आइसियुमा राखेर उपचार गर्न भन्दै फोन आएको थियो,” डा. दासले भने, “तर अस्पतालको क्षमताले भ्याउन नसकेका कारण उनीहरुलाई भर्ना लिन सकेनौं।”
अहिले त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न सकस परेको छ। अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीको पनि उपचार भइरहेकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र उपचाररत बिरामी संक्रमणको उच्च जोखिममा छन्।
१८ असोजसम्म अस्पतालका २२० जना डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। तीमध्ये २४ जना अहिले सक्रिय संक्रमित छन्।
डा. दास स्वास्थ्य मन्त्रालयले समयमा आइसियु वेडको व्यवस्थापन गर्न नसकेका कारण अहिले कोरोनाका सिकिस्त बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नरहेको बताउँछन्।
उनले मन्त्रालयले बन्दाबन्दी र निषेधाज्ञाको समयमा आइसियु वेड लगायतको पूर्वाधार बनाउने र जनशक्तिलाई तालिम दिने काम गर्नबाट चुकेका कारण अहिले समस्या भोग्नु परेको बताए। उनले मन्त्रालयले कम्तिमा एक सय वेड आइसियु मात्र भएको एउटा छुट्टै अस्पतालको व्यवस्थापन गरेको भए अहिले खटाइएकामध्ये आधा जनशक्तिलाई मात्र काम लगाएर कोरोनाका सिकिस्त बिरामीको उपचार गर्न सकिन्थ्यो।
सरकारले कोरोना विशेष अस्पताल बनाएका वीर अस्पताल लगायतका अन्य प्रमुख अस्पतालहरु पनि कोरोना संक्रमितले भरिन थालेका छन्। सरकारी मात्र होइन, कोरोना संक्रमितको उपचारमा नीजि अस्पताललाई समेत हम्मेहम्मे पर्न थालेको छ। नीजि अस्पताल पनि कोरोना संक्रमितले भरिन थालेका छन्।
बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य मन्त्रालयले ‘लेबल–वान’को कोरोना अस्पताल तोकेको छ। यो अस्पतालमा आइतबारसम्म १०६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालले दाँत रोगका बिरामीको उपचार गर्ने बहिरंग कक्ष रहेको भवनमा कोरोना संक्रमितको उपचार शुरु गरेकामा अहिले उक्त भवन कोरोना संक्रमितले भरिएको छ।
उक्त भवन भरिएपछि आइतबारबाट अस्पतालले दन्त रोगका बिद्यार्थीको कक्षा सञ्चालन हुने एकेडेमिक भवनमा कोरोना संक्रमित भर्ना गरेर उपचार गर्न थालेको छ।
यसबाट विद्यार्थीको पढाईमा प्रत्यक्ष असर पुग्ने त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन्।
अस्पतालले भवनको एउटै तलामा कोरोना संक्रमित र कोरोना बाहेकका अन्य रोगका बिरामीको पनि उपचार गराइरहेकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र अन्य रोगका बिरामीमा संक्रमणको उच्च जोखिम छ।
“अस्पतालले व्यवस्थित रुपमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था नमिलाएकाले डरैडरमा काम गर्नु परेको छ,” त्यहाँ कार्यरत एक चिकित्सक भन्छन्, “कुन समयमा संक्रमित भइन्छ, थाहा छैन।”
ती चिकित्सक अहिले कोरोनाका बिरामी हिँडेर आफै अस्पताल आउने गरेको र एम्बुलेन्सले ओसार्न सक्ने अवस्था नरहेको बताउँछन्। कान्तिपुर अस्पतालमा आइतबारसम्ममा जनरल प्याथोलोजीका एक जना लेक्चरर, अर्थोडेन्टिक्सका एक जना एसोसियट प्रोफेसर र आरसिटि गरेका एक जना बिरामीलाई कोरोना संक्रमण भएको छ।
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुुसार कोरोना संक्रमित र संक्रमण नभएका अरु रोगका बिरामीलाई भउटै भवनमा उपचार गराइरहेका कारण संक्रमण फैलिएको हो।