उपत्यकाका अस्पतालमा भेन्टिलेटरको अभाव, अस्पताल चहार्दा चहार्दै संक्रमितको मृत्यु
कोरोना संक्रमितको संख्या बढेसँगै कोरोनाका सिकिस्त बिरामीहरू मारमा पर्न थालेका छन्। आवश्यक भेन्टिलेटर र आईसीयू वेडको अभावकै कारण समयमा उपचार नपाउँदा कोरोनाका सिकिस्त बिरामीहरू ज्यान गुमाउन थालेका छन्।
स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा र बन्दाबन्दीको समयमा स्वास्थ्यका पर्याप्त पूर्वाधार बनाउन ध्यान नदिएका कारण संक्रमितले उपयुक्त उपचार सेवाको अभावमा ज्यान गुमाउने अवस्था निम्तिएको हो।
सोमबार काठमाडौंको बाजालुका एक जना ७० वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा उपचार सेवा पाउन नसकेका कारण ज्यान गएको छ।
मृतकका नजिकका व्यक्ति सुवास अधिकारीले हिमालखबरसँग भने, “मेरो साथीको बुवालाई आज बिहान सात बजेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि दिउँसोभरी अस्पताल चहार्यौं। तर भेन्टिलेटरसहितको वेड नपाएपछि उहाँको ज्यान गयो।”
उनको सोमबार साँझ ७ बजे मृत्यु भएको हो। कोरोना संक्रमित भएपछि उनको सात दिन अघिदेखि ललितपुरको स्टार अस्पतालमा उपचार भइरहेको थियो।
तर सोमबार बिहान उनमा श्वासप्रश्वासको समस्या देखिएपछि उनका छोरा, आफन्त र छोराका साथी अधिकारीले दिनभर उपत्यका भरिका अस्पतालमा भेन्टिलेटर खोजेका थिए। यस क्रममा उनीहरूले उपत्यकाका प्रमुख अस्पतालहरू सशस्त्र, आर्मी, वीर, टिचिंग, पाटनलगायतका अस्पतालमा भेन्टिलेटरसहितको बेड खोजेका थिए। तर संक्रमितको उपचारले भरिएका कारण उनीहरूले भेन्टिलेटरसहितको खाली बेड पाएनन्।
सुवास अधिकारीका अनुसार उनीहरूलाई सोमबार साँझ करिब ७ बजे सशस्त्र प्रहरी बलको अस्पतालबाट मंगलबार बिहान साढे ८ बजे एउटा भेन्टिलेटरसहितको वेड उपलब्ध हुने खबर आएको थियो। “तर भोलि विहान बेड खाली हुने खबर आएको केही मिनेटपछि नै उहाँको मृत्यु भयो”, उनले भने।
मृतकमा कोरोना संक्रमणबाहेक अन्य कुनै रोगको समस्या नभएको अधिकारीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १९ असोजसम्मको तथ्यांक अनुसार मुलुकभर २४४ कोरोना संक्रमितको आईसीयू र ४३ जना संक्रमितको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।
सोमबारसम्म मुलुकमा कोरोनाका कारण ५५४ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।