काठमाडौं उपत्यकामा आईसीयू वेडको चरम अभाव, सिकिस्त बिरामी जोगाउने छैन तयारी
काठमाडौं उपत्यकामा रहेका कोरोना संक्रमितको उपचार हुने सबैजसो अस्पतालमा आईसीयू बेड भरिएपछि सिकिस्त विरामीलाई भर्ना लिन छाडिएको छ। यस्तो अवस्थाको आकलन हुँदाहुँदै पनि आवश्यक तयारी नगरेको सरकार यो अवस्थासित जुध्ने पहलमा लागेको पनि देखिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार, २० असोजसम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितकोसंख्या ९० हजार ८१४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५५१ जना थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्ममा कारोनाका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ भने संक्रमणबाट ५६३ जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहँदा सिकिस्त बिरामीको संख्या पनि बढेको छ।
अहिले २४३ बिरामी आईसीयू र ४० जना भेन्टिलेटरको सहायताले उपचाररत छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोनाका सिकिस्त बिरामीको आईसीयूु र भेन्टीलेटरमार्फत् उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा १२५ जना संक्रमितको आईसीयूमा र २९ जनाको भेन्टीलेटरमार्फत उपचार भइरहेको छ।
तर सिकिस्त बिरामीको उपचारका लागि चाहिने आईसीयू र भेन्टीलेटर अभाव हुन थालेपछि उपचार नपाएर राजधानीमै कोरोना संक्रमितको ज्यान जान थालेको छ। सोमबार मात्र काठमाडौंमा एकजना कोरोना संक्रमितको आईसीयू बेड नपाएर ज्यान गएको थियो। जनस्वास्थ्य विज्ञहरुले यसलाई अत्यन्त नाजुक र खतरनाक अवस्था भनेका छन्।
आईसीयू भरिए, अब के गर्ने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इर्मेजेन्सी तथा अपरेसन सेन्टर (एचइओसी)का अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएका २० वटा आईसीयू वेड भरिएका छन्। यस्तै, स्वास्थ्य मन्त्रालयले ‘कोभिड डेडिकेटेड’ भनेर तोकेको वीर अस्पतालका १०, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका २० र ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ आईसीयू वेड भरिएको एचइसोसिले जनाएको छ।
मन्त्रालयले सशस्त्र प्रहरिको बलम्बुस्थित अस्पताललाई पनि कोरोना संक्रमितको उपचार हुने अस्पतालका रुपमा तोकेको छ। तर यो अस्पतालमा २० वेड आईसीयू भए पनि जनशक्तिको अभावका कारण जम्मा १० वेड मात्र सञ्चालनमा आएको र त्यो पनि भरिएको एचइओसीका मेडिकल अधिकृत डा. नवराज जोशीले हिमालखबरलाई बताए। यो अवस्थाले स्वास्थ्य मन्त्रालयले आईसीयू सञ्चालनका लागि चाहिने दक्ष जनशक्तिको व्यवस्थापन गर्न समेत नसकेको देखाउँछ।
आईसीयू सञ्चालनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाउनुपर्ने हुुन्छ।
स्वास्थ्य मन्त्रालयले उपत्यकाका सर्वाङ्ग अस्पताल, मेघा अस्पताल, जनमैत्री अस्पताल, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र नोबेल अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ।
मन्त्रालयले यी नीजि अस्पताललाई तोकेको शुल्कभित्र रहेर कोरोना संक्रमितको उपचार गर्ने अनुमति दिएको हो। तर, यीमध्ये कुनै पनि अस्पतालमा आईसीयू सेवा उपलब्ध छैन। संक्रमितको उपचारका लागि वेड व्यवस्थापनमा संयोजनको काम गर्दै आइरहेका एचइओसीका डा. जोशी सिनामंगलस्थित नोबेल अस्पतालले पाँच बेडको आईसीयू सञ्चालन गर्ने भनेर स्वास्थ्य मन्त्रालयबाट अनुमति लिए पनि अहिलेसम्म सेवा सञ्चालन गर्न नसकेको बताउँछन्। उनका अनुसार अस्पतालले आईसीयूमा काम गर्ने जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न सकेको छैन।
यसबाहेक उपत्यकाका ठुला अस्पतालहरु ग्रान्डी, ह्याम्स, मेडिसिटि, नर्भिक जस्ता नीजि अस्पतालले भने स्वास्थ्य मन्त्रालयले तोकेको नभई आफै शुल्क तोकेर कोरोना संक्रमितको उपचार गरिरहेका छन्।
मन्त्रालयको अकमर्णयताले क्षति बढ्दै
क्रिटिकल केयरका विशेषज्ञ चिकित्सकहरुको छाता संगठन, नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले करिब एक महिना अघि नै स्वास्थ्य मन्त्रालयलाई कोरोनाका सिकिस्त बिरामीहरु बढ्न सक्ने आकलन गर्दै उनीहरुको उपचारका लागि सरकारले पाँच सय बेडको मेडिकल कलेज संञ्चालन गर्नुपर्ने र त्यहाँ ५० वेड आईसीयू बनाउन सुझाव दिएको थियो। तर, मन्त्रालयले उनीहरुको सुझाव अनुसार उपचारको बन्दोबस्त मिलाउने पहल गरेन। “अहिले संक्रमितहरु उपचार सेवा नपाई घरमै मर्न थालिसके”, सोसाइटीका एक जना चिकित्सक भन्छन्, “स्वास्थ्य मन्त्रालयको नेतृत्वको स्वार्थका कारण सिकिस्त बिरामीको उपचार गर्नका लागि चाहिने पूर्वाधारको व्यवस्थापन नै हुन सकेन।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले कोरोनाका सिकिस्त बिरामीको उपचारका लागि मन्त्रालय अक्सिजनको व्यवस्थापनमा जुटिरहेको बताएका छन्। डा. अधिकारी भन्छन्, “सिकिस्त बिरामीका लागि भेन्टीलेटर र आईसीयू नै चाहिन्छ भन्ने छैन। अक्सिजन अत्यावश्यक हुन्छ। त्यसैले कसरी अक्सिजनको सप्लाई गर्ने भनेर काम भइरहेको छ।” उनले संक्रमितका लागि अक्सिजन दिन सिलिन्डर, पाइप लगायतको व्यवस्थापन गर्ने काम भइरहेको बताए।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख डा. विकास देवकोटा अहिले भइरहेका अस्पतालको संरचना र जनशक्तिको व्यवस्थापन नभएका कारण पनि सिकिस्त बिरामीले उपचारका लागि वेड पाउन नसकेको बताउँछन्।
डा. देवकोटा उपचार गराइरहेका सिकिस्त बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा व्यवस्थित रुपमा रेफर गर्न नसक्दा र कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालले अक्सिजन र औषधी उपचारको राम्रो व्यवस्थापन गर्न नसक्दा सिकिस्त बिरामीले सेवा अभावका कारण ज्यान गुमाउनु परेको बताउँछन्।
उनका अनुसार सिकिस्त नभएका कोरोना संक्रमितले आईसीयू वेड ओगटेका कारण पनि वेड अभावको समस्या निम्तिएको छ।
“अब अस्पतालरुले खाली भएका भवन तथा कोठाहरुलाई प्रयोग गरेर सिकिस्त बिरामीको उपचार गर्ने अक्सिजनसहितको बन्दोबस्त मिलाउनुपर्छ,” डा. देवकोटा भन्छन्, “मन्त्रालयका तर्फबाट भएका अस्पतालहरुलाई स्तरोन्नती गरेर आईसीयू वेड थप्ने काम शुरु गर्नुपर्छ।” उनले अन्य अस्पतालमा भएका तालिमप्राप्त आईसीयूका जनशक्तिलाई कोरोना संक्रमितको उपचार हुने अस्पतालमा खटाउनु पर्ने बताए।
कोरोना संक्रमण फैलिएपछि गएको जेठ महीनायता स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आईसीयू लगायतका सेवामा काम गर्नका लागि क्रिटिकल केयरका लागि मेडिकल अफिसर, स्टाफ नर्स, विशेषज्ञ चिकित्सक लगायत ३५० भन्दा भन्दा बढी जनशक्तिलाई तालिम दिएको छ।
केन्द्रले धनगढीको सेती प्रादेशिक अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, बुटवलको लुम्बिनी अस्पताल, पोखराको गण्डकी अस्पताल, विराटनगरको कोशी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण शिक्षण अस्पताल, परोपकार प्रसुती गृह, सशस्त्र प्रहरी बलको अस्पताल लगायतमा काम गर्ने चिकित्सक तथा नर्सलाई तालिम दिएको हो। तर ती जनशक्तिलाई स्वास्थ्य मन्त्रालयले आईसियु वेड भएर पनि जनशक्ति अभाव भएका अस्पतालमा खटाउन सकेको छैन।
केन्द्रका निर्देशक यदुचन्द्र घिमिरेले अहिलेसम्म तालिम दिएका जनशक्तिको विवरण स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग लगायतका निकायलाई बुझाइसकेको र उनीहरुलाई चाहिएको ठाउँमा खटाउने काम ती निकायको जिम्मेवारीमा पर्ने बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले केही महिना अघि मन्त्रालयले सबै अस्पतालहरुलाई भेन्टीलेटर, आईसीयू वेड लगायतको पूवार्धार व्यवस्थापनका लागि बजेट पठाइसकेको र अस्तालहरुले त्यही बजेट अनुसार उपचारको बन्दोबस्त मिलाउनुपर्ने बताए।
अधिकांश अस्पतालमा अक्सिजन प्लान्टको व्यवस्थापन पनि भइसकेको डा. सिंहको दाबी छ। “अहिले जुन दरमा कोरोना संक्रमण बढिरहेको छ,” उनले भने, “त्यस अनुसार संक्रमित बिरामीको उपचारको व्यवस्थापन गर्न हामीलाई पनि कठिन भइरहेको छ।”